प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अगस्त pp. १३-१७
  • मैले हरेस खाइनँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले हरेस खाइनँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो आमाबुबा र दाजुभाइ दिदीबहिनी
  • पूर्ण-समय सेवाको सुरुवात
  • मैले विभिन्‍न कुरा सिकेँ
  • क्युबेकको मुद्दा
  • भाइहरूलाई उनीहरूकै भाषामा तालिम दिँदै
  • मध्य अफ्रिकी गणतन्त्रमा निर्माणको काम
  • जोसिलो सहयोगीसँगको वैवाहिक जीवन
  • अरू अफ्रिकी देशहरूमा पनि सेवा गऱ्‍यौँ
  • मैले यहोवाको सेवामा थुप्रै इनाम पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मैले महान्‌ शिक्षक यहोवाबाट जिन्दगीभर सिक्न पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • असल उदाहरणहरूबाट सिकेर मैले प्रशस्त आशिष्‌ पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अगस्त pp. १३-१७

जीवनी

मैले हरेस खाइनँ

माक्सिम दानिलेकोको वृत्तान्तमा आधारित

“ड्याडी,” “पापा,” “अङ्‌कल।” बेथेलका थुप्रै जवान भाइबहिनीहरूले मलाई त्यसै भनेर बोलाउँछन्‌। मलाई त्यसरी बोलाएको मन पर्छ। हुन पनि मेरो उमेर ८९ वर्ष भइसक्यो। जवानहरूले त्यसरी माया गरेर बोलाउनु भनेको विगत ७२ वर्षदेखि पूर्ण-समय सेवा गरेकोमा यहोवाले मलाई दिनुभएको एउटा आशिष्‌जस्तो लाग्छ। अनि परमेश्‍वरको सेवा गर्दा मैले जे-जति अनुभव गरेँ, त्यसको आधारमा म ती जवानहरूलाई ढुक्क भएर यसो भन्‍न सक्छु: ‘हरेस खाएनौ भने तिमीहरूले आफ्नो कामको इनाम पाउनेछौ।’—२ इति. १५:७.

मेरो आमाबुबा र दाजुभाइ दिदीबहिनी

माक्सिम दानिलेको

मेरो आमाबुबा युक्रेनबाट क्यानाडामा बसाइँ सर्नुभएको थियो। उहाँहरू मनिटोबा प्रान्तको रसबर्न भन्‍ने सहरमा बस्नुभयो। मेरी प्यारी आमाले आठ छोरा र आठ छोरी जन्माउनुभयो। म चौधौँ सन्तान थिएँ। मेरो बुबालाई बाइबलको कुरा मन पर्थ्यो अनि हरेक आइतबार बिहान हामीलाई बाइबल बढेर सुनाउनुहुन्थ्यो। तर उहाँलाई धर्म भनेको पैसा कमाउने बाटो मात्र हो जस्तो लाग्थ्यो। उहाँ गिज्याउने पारामा कहिलेकाहीँ भन्‍नुहुन्थ्यो: “हैन, त्यत्रो प्रचार गरेकोमा अनि मान्छेहरूलाई सिकाएकोमा येशूलाई चाहिँ कसले पैसा दिन्थ्यो?”

मेरा चार दाजुभाइ र चार दिदीबहिनी यहोवाको साक्षी बन्‍नुभयो। मेरी दिदी रोजले मृत्यु हुनुअघिसम्मै अग्रगामी सेवा गर्नुभयो। आफ्नो जीवनका अन्तिम दिनहरूमा उहाँले सबैलाई परमेश्‍वरको वचन अध्ययन गर्न प्रोत्साहन दिनुभयो र यसो भन्‍नुभयो: “म तिमीहरूलाई नयाँ संसारमा भेट्‌न चाहन्छु।” पहिला मेरो दाइ टेड नरकको आगोबारे अरूलाई सिकाउनुहुन्थ्यो। हरेक आइतबार बिहान उहाँ रेडियोबाट त्यसबारे प्रचार गर्नुहुन्थ्यो। अनि पापीहरू कहिल्यै ननिभ्ने नरकको आगोमा सधैँभरिको लागि जाकिनेछन्‌ भनेर उहाँ आफ्ना श्रोताहरूलाई ठूलठूलो स्वरमा भनिरहनुहुन्थ्यो। तर पछि उहाँ यहोवाको वफादार अनि जोसिलो सेवक बन्‍नुभयो।

पूर्ण-समय सेवाको सुरुवात

सन्‌ १९४४ को जुन महिनाको कुरा हो, म स्कुलबाट घर फर्किँदा भान्छा-कोठाको टेबुलमा आउँदै गरेको नयाँ संसारa (अङ्‌ग्रेजी) विषयको पुस्तिका राखिएको रहेछ। मैले पहिलो पाना पढेँ, त्यसपछि दोस्रो अनि त पुस्तिका नसिध्याई छोड्‌नै सकिनँ। त्यो पुस्तिका सुरुदेखि अन्तसम्म पढेपछि मैले एउटा सङ्‌कल्प गरेँ: म पनि येशूले जस्तै यहोवाको सेवा गर्न चाहन्छु।

त्यो पुस्तिका कसरी हाम्रो टेबुलसम्म आइपुग्यो? किताब र पुस्तिकाहरू बेचिरहेका दुई जना मानिस हाम्रो घरमा आएका थिए भनेर मेरो दाइ स्टिभले बताउनुभयो। त्यो पुस्तिकाचाहिँ सस्तो भएकोले त्यही किनेँ भनेर उहाँले भन्‍नुभयो। त्यसपछिको आइतबार ती मानिसहरू फेरि आए। आफूहरू यहोवाका साक्षी भएको र मानिसहरूको मनमा उठ्‌ने प्रश्‍नको जवाफ बाइबलबाट दिने गरेको कुरा तिनीहरूले बताए। त्यो कुरा हामीलाई पनि मन पऱ्‍यो किनभने हाम्रो आमाबुबाले हामीलाई सानैदेखि परमेश्‍वरको वचनको आदर गर्न सिकाउनुभएको थियो। यहोवाका साक्षीहरूले विनिपेग सहरमा चाँडै अधिवेशनको आयोजना गर्दैछन्‌ भनेर पनि तिनीहरूले बताए। मेरी दिदी एल्सी पनि त्यही सहरमा बस्नुहुन्थ्यो। मैले त्यो अधिवेशन जाने निर्णय गरेँ।

म साइकलमा लगभग ३२० किलोमिटर यात्रा गरेर विनिपेग गएँ। तर बीचमा केलवुड सहरमा रोकिएँ। हाम्रो घरमा प्रचार गर्न आउने दुई जना साक्षीहरू त्यहीँ बस्थे। त्यहाँ हुँदा म सभामा गएँ अनि मण्डली भनेको कस्तो हुँदो रहेछ भनेर थाह पाएँ। अनि सबै पुरुष, स्त्री र युवाहरू येशूजस्तै घरघरको प्रचारक बन्‍नुपर्छ भनेर पनि बुझेँ।

विनिपेगमा मैले मेरो दाइ ज्याकलाई भेटेँ। उहाँ अधिवेशनमा उपस्थित हुन ओन्टारियोको उत्तरी भागदेखि आउनुभएको थियो। त्यस अधिवेशनमा बप्तिस्मा पनि गराइन्छ भनेर अधिवेशनको पहिलो दिन एक जना भाइले घोषणा गर्नुभयो। ज्याक र मैले त्यो अधिवेशनमा बप्तिस्मा गर्ने निर्णय गऱ्‍यौँ। बप्तिस्मा गरेपछि सकेसम्म चाँडो अग्रगामी सेवा गर्ने निर्णय हामीले गरेका थियौँ। अधिवेशनको लगत्तै ज्याक दाइले पूर्ण-समय सेवा सुरु गर्नुभयो। मेरो उमेर १६ वर्ष भएकोले मचाहिँ पढाइ पूरा गर्न स्कुलमै फर्किएँ। तर त्यसको अर्को वर्ष मैले पनि नियमित अग्रगामी सेवा सुरु गरेँ।

मैले विभिन्‍न कुरा सिकेँ

मैले स्टान निकल्सनसँगै मिलेर मनिटोबा प्रान्तको सुरिस सहरमा अग्रगामी सेवा सुरु गरेँ। अग्रगामी सेवा गर्नु सधैँ सोचेजस्तो सजिलो हुँदैन भनेर मैले चाँडै महसुस गरेँ। हाम्रो खर्च रित्तिने अवस्थामा पुगेको थियो तैपनि हामीले जेनतेन काम चलायौँ र प्रचार गरिरह्‍यौँ। एक चोटि दिनभरि प्रचार गरेर घर फर्किँदा साह्रै भोक लागिरहेको थियो अनि खल्तीमा एक पैसा पनि थिएन। तर हाम्रो ढोकैमा कसैले बोराभरि खानेकुरा राखिदिएको रहेछ! त्यो कसले राखेको थियो भनेर हामीलाई आजसम्म पनि थाह छैन। त्यो साँझ हामीले राजाले जस्तै भव्य खाना खायौँ। हरेस नखाएकोमा हामीले कत्ति राम्रो इनाम पायौँ! अझ भन्‍नुपर्दा, त्यो महिनाको अन्तमा मेरो वजन बढेर जति पुगेको थियो, त्यति त पहिला कहिल्यै पुगेको थिएन।

त्यसको केही महिनापछि हामीलाई गिल्बर्ट प्लेन्स्‌ सहरमा खटाइयो, जुन सुरिस सहरदेखि लगभग २४० किलोमिटर उत्तरतिर पर्थ्यो। त्यतिबेला प्रत्येक मण्डलीको मञ्चमा एउटा ठूलो सूची राखिएको हुन्थ्यो अनि त्यसमा मण्डलीको हरेक महिनाको क्षेत्र सेवाको गतिविधि लेखिएको हुन्थ्यो। एउटा महिना मण्डलीको क्षेत्र सेवा अलि कम भएको थियो। त्यसैले भाइबहिनीले अझै मेहनत गर्नुपर्छ भनेर जोड दिँदै मैले भाषण दिएँ। सभापछि एक जना वृद्ध अग्रगामी, जसको श्रीमान्‌ यहोवाको साक्षी हुनुहुन्‍न थियो, उहाँ आखाँभरि आँसु लिएर मकहाँ आउनुभयो र यसो भन्‍नुभयो: “मैले निकै कोसिस गरेँ तर योभन्दा बढी गर्नै सकिनँ।” यो सुनेपछि मैले पनि आँसु थाम्नै सकिनँ र उहाँसित माफी मागेँ।

जवान अनि जल्दोबल्दो जोस भएका मजस्तै भाइहरू कहिलेकाहीँ यसरी नै गल्ती गर्न पुग्छन्‌ अनि आफ्नो गल्ती सम्झेर निराश हुन्छन्‌। तर गल्ती सम्झेर हरेस खानुभन्दा त्यसबाट पाठ सिकेर अघि बढ्‌नु अनि सिकेको पाठलाई नबिर्सनु बुद्धिमानी हो भनेर मैले अनुभव गरेको छु। वफादार भई सेवा गरिरह्‍यौँ भने त्यसको इनाम पाउनेछौँ।

क्युबेकको मुद्दा

मैले २१ वर्षको उमेरमै गिलियड स्कुलको १४ औँ कक्षामा भाग लिने मौका पाएँ। यो मेरो लागि निकै ठूलो सुअवसर थियो। सन्‌ १९५० फेब्रुअरीमा स्कुलबाट स्नातक गरेपछि उपस्थित १०३ विद्यार्थीमध्ये लगभग २५ जनालाई क्यानाडाको क्युबेक प्रान्तमा खटाइयो। त्यहाँका मानिसहरू फ्रान्सेली भाषा बोल्थे। त्यहाँ यहोवाका साक्षीहरूले निकै सतावटको सामना गरिरहनु परेको थियो। मलाई क्युबेकको भाल्डोर सहरमा खटाइयो र त्यो सुन खानी भएको इलाकामा पर्थ्यो। एक दिन भाइबहिनीहरूको एउटा समूह मिलेर हामी नजिकैको भाल-सेन्भिल गाउँमा प्रचार गर्न गयौँ। त्यहाँका एक जना पादरीले हामीलाई तुरुन्तै त्यो गाउँ छोडेर जानू भने र नमानेको खण्डमा कुटपिट गर्ने धम्की दिए। त्यो मामिला पछि अदालतसम्म पुग्यो। त्यसको उजुरी मैले नै गरेको थिएँ। ती पादरीलाई जरिमाना तिराइयो।b

त्यो घटना र त्यतिबेला भएका अरू थुप्रै घटनाहरूलाई “क्युबेकको मुद्दा” भन्‍ने नाम दिइयो। रोमन क्याथोलिक चर्चले विगत ३०० वर्षभन्दा लामो समयदेखि क्युबेक प्रान्तलाई आफ्नो नियन्त्रणमा राखेको थियो। त्यहाँ पादरीहरू अनि तिनीहरूको पक्ष लिने राजनैतिक पार्टीहरू मिलेर यहोवाका साक्षीहरूलाई दुःख दिन्थे। त्यसको सामना गर्नु हाम्रो लागि सजिलो कुरा थिएन अनि हामी थोरै थियौँ। तैपनि हामीले हरेस खाएनौँ। असल मन भएका क्युबेकवासीहरूले राम्रो प्रतिक्रिया देखाए। मैले थुप्रै मानिसहरूलाई अध्ययन गराउने र यहोवाको साक्षी बन्‍न मदत गर्ने सुअवसर पाएँ। मैले अध्ययन गराएको एउटा परिवारमा दस जना सदस्य थिए। पूरै परिवारले यहोवाको सेवा गर्न थाल्यो। तिनीहरूले देखाएको साहसले गर्दा अरू थुप्रै मानिसले पनि क्याथोलिक चर्च छोड्‌ने आँट गर्न सके। हामीले प्रचार गर्न छोडेनौँ र अन्ततः मुद्दा जित्यौँ।

भाइहरूलाई उनीहरूकै भाषामा तालिम दिँदै

सन्‌ १९५६ मा मलाई हाइटीमा सेवा गर्न खटाइयो। त्यहाँ भएका धेरैजसो मिसनरीहरूलाई फ्रान्सेली भाषा बोल्न त्यति राम्ररी आउँदैनथ्यो। तर मानिसहरू हाम्रो कुरा सुन्थे। स्टान्ली बोगस नाम गरेका एक मिसनरीले यसो भने: “मानिसहरूले हामीलाई उनीहरूसित कुराकानी गर्न सकेजति मदत गरेको देखेर हामी छक्कै पऱ्‍यौँ।” क्युबेकमा छँदा फ्रान्सेली भाषा सिकेकोले सुरु-सुरुमा त मलाई सजिलै भयो। तर धेरैजसो स्थानीय भाइहरू हाइटियन क्रिओल भाषा मात्रै बोल्दा रहेछन्‌ भनेर हामीले थाह पाइहाल्यौँ। त्यसैले हामी मिसनरीहरू साँच्चै प्रभावकारी हुने हो भने हामीले स्थानीय भाषा सिक्नुपर्ने थियो। हामीले स्थानीय भाषा सिक्यौँ र मेहनतको फल पनि पायौँ।

हामीले परिचालक निकायबाट हाइटियन क्रिओल भाषामा प्रहरीधरहरा र अन्य प्रकाशनहरू अनुवाद गर्ने अनुमति पनि पायौँ। यसले त्यहाँका भाइहरूलाई थप मदत पुग्ने थियो। देशभरि सभाको उपस्थिति ह्वात्तै बढ्यो। सन्‌ १९५० मा हाइटीमा ९९ जना प्रकाशकहरू थिए तर १९६० सम्ममा प्रकाशकहरूको सङ्‌ख्या ८०० भन्दा धेरै पुग्यो! त्यसबेला मलाई बेथेलमा सेवा गर्न खटाइयो। सन्‌ १९६१ मा मैले राज्य सेवा स्कुल सञ्चालन गर्ने सुअवसर पाएँ। हामीले एल्डरहरू र विशेष अग्रगामीहरू गरेर ४० जनालाई तालिम दियौँ। जनवरी १९६२ मा भएको अधिवेशनमा हामीले स्थानीय योग्य भाइहरूलाई सेवाको काम विस्तार गर्न प्रोत्साहन दियौँ अनि केही भाइहरू विशेष अग्रगामीको रूपमा नियुक्‍त भए। यसो गर्नु एकदमै उपयुक्‍त साबित भयो किनकि विरोध र सतावटको बादल मडारिँदै थियो।

अधिवेशन भएलगत्तै जनवरी २३, १९६२ मा शाखा कार्यालयमै आएर एन्ड्रिउ डामिको नाम गरेका मिसनरी र मलाई गिरफ्तार गरियो अनि जनवरी ८, १९६२ अङ्‌कको ब्यूँझनुहोस्‌! (फ्रान्सेली भाषाको) पनि सबै जफत गरियो। हाइटीमा प्रेतवाद (भुडु) व्याप्त छ भनेर फ्रान्सेली पत्रिकाहरूले दिएको रिपोर्ट त्यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा उद्धरण गरिएको थियो। केही मानिसहरूलाई त्यो कुरा मन परेन र हामीले शाखा कार्यालयमै त्यो लेख लेखेका हौँ भनेर तिनीहरूले दाबी गरे। त्यसको केही हप्तापछि मिसनरीहरूलाई देशनिकाला गरियो।c तर त्यहाँका तालिमप्राप्त स्थानीय भाइहरूले सेवाको कामलाई राम्रोसँग अघि बढाए। ती भाइहरूको सहनशीलता र तिनीहरूले गरेको आध्यात्मिक प्रगति देख्दा आज म पनि तिनीहरूसितै रमाइरहेको छु। अहिले त त्यहाँका भाइबहिनीहरूले हाइटियन क्रिओल भाषामै पवित्र बाइबल—नयाँ संसार अनुवाद पनि पाए! त्यतिबेला त यो सपनाको कुरा जस्तै थियो।

मध्य अफ्रिकी गणतन्त्रमा निर्माणको काम

हाइटीपछि मलाई मिसनरीको रूपमा मध्य अफ्रिकी गणतन्त्रमा सेवा गर्न खटाइयो। त्यहाँ मैले परिभ्रमण निरीक्षक र शाखाको निरीक्षकको रूपमा पनि सेवा गर्ने सुअवसर पाएँ।

त्यतिबेला थुप्रै राज्यभवनहरू एकदमै साधारण किसिमका थिए। मैले जङ्‌गलबाट खर बटुल्न अनि छाना लगाउन सिकेँ। मैले मरिमेटी यो काम गरेको देखेर आउने-जानेहरू निकै अचम्म मानेर हेर्थे। यसले गर्दा भाइहरूले आफ्नै राज्यभवन निर्माण गर्ने अनि स्याहार सम्भार गर्ने काममा अझ भाग लिने हौसला पनि पाए। पादरीहरू हाम्रो खिसी गर्थे किनकि तिनीहरूको चर्चमा टिनको छाना थियो तर हाम्रो भने थिएन। तैपनि हामी खरको छाना भएको साधारण राज्यभवनमै भेला भइरह्‍यौँ। राजधानी बाङ्‌गुईमा ठूलो आँधीबेहरी आएपछि भने उनीहरूले हामीलाई गिज्याउन छोडे किनकि त्यो आँधीबेहरीले एउटा चर्चको टिनको छाना उडाएर बाटोमा पुऱ्‍याइदियो। तर हाम्रो राज्यभवनहरूको खरको छाना भने केही पनि भएन। राज्य गतिविधिको अझ राम्रोसँग निरीक्षण गर्न सकियोस्‌ भनेर हामीले नयाँ शाखा कार्यालय र मिसनरीहरूको लागि भवन निर्माण गऱ्‍यौँ। त्यो काम ठ्याक्क पाँच महिनामा सकियो।d

जोसिलो सहयोगीसँगको वैवाहिक जीवन

माक्सिम र ह्‍यापी दानिलेकोको विवाहको दिन

हाम्रो विवाहको दिन

सन्‌ १९७६ मा मध्य अफ्रिकी गणतन्त्रमा राज्य गतिविधिमाथि प्रतिबन्ध लगाइयो अनि मलाई छिमेकी देश चादको राजधानी उन्जामिनामा खटाइयो। खुसीको कुरा, त्यहाँ मैले ह्‍यापीलाई भेटेँ। तिनी क्यामरूनबाट आएकी जोसिलो विशेष अग्रगामी थिइन्‌। हामीले अप्रिल १, १९७८ मा विवाह गऱ्‍यौँ। त्यही महिना गृहयुद्ध चर्कियो अनि हामी चादको दक्षिणी भागतिर भाग्नुपऱ्‍यो। युद्ध सकिएपछि घर फर्किँदा के थाह भयो भने, हाम्रो घरलाई एउटा हतियारधारी समूहले आफ्नो प्रमुख केन्द्र बनाएको रहेछ। घरबाट साहित्यहरूको साथै ह्‍यापीको विवाहको लुगा र विवाहमा हामीले पाएका उपहारहरू पनि गायब भएछ। तर हामीले हरेस खाएनौँ किनभने हामीसित अझै पनि एक-अर्काको साथ थियो अनि हामीले सँगै मिलेर यहोवाको सेवामा अघि बढिरहने आशा मारेका थिएनौँ।

त्यसको लगभग दुई वर्षपछि मध्य अफ्रिकी गणतन्त्रमा यहोवाका साक्षीहरूमाथि लगाइएको प्रतिबन्ध हट्यो। हामी त्यहाँ फर्कियौँ अनि परिभ्रमण कार्यमा लाग्यौँ। हामीले एउटा गाडीलाई आफ्नो घर बनाएका थियौँ। त्यसमा एउटा फोल्डिङ बेड, २०० लिटर जति पानी अट्‌ने एउटा ड्रम, एउटा फ्रिज अनि एउटा ग्याँस चुलो थियो। यात्रा गर्न गाह्रो थियो। एक पटकको यात्रामा प्रहरीहरूले हामीलाई कम्तीमा ११७ ठाउँमा रोकेर सोधपुछ गरे।

तापक्रम बढेर अक्सर ५० डिग्री सेल्सियससम्म पुग्थ्यो। सम्मेलनहरूमा कहिलेकाहीँ बप्तिस्मा गराउने पानीको अभाव हुन्थ्यो। त्यसैले भाइहरूले सुकेका खोलाहरू भएको ठाउँमा खाडल खन्थे अनि अलि-अलि गर्दै बप्तिस्मा गर्न पुग्ने पानी जम्मा गर्थे। पानी अक्सर ड्रममा जम्मा गरिन्थ्यो र त्यसैमा बप्तिस्मा गराइन्थ्यो।

अरू अफ्रिकी देशहरूमा पनि सेवा गऱ्‍यौँ

सन्‌ १९८० मा हामीलाई नाइजेरियामा खटाइयो। त्यहाँ साढे दुई वर्षसम्म हामीले शाखा कार्यालयको नयाँ भवन बनाउने कामको तयारी गर्न मदत गऱ्‍यौँ। भाइहरूले दुई तलाको गोदाम किनेका थिए। त्यो गोदामलाई भत्काउनुपर्ने थियो अनि त्यसकै सामानहरू चलाएर शाखा कार्यालयको जग्गामा गोदाम बनाउनुपर्ने थियो। गोदाम भत्काउने काम गर्दै गर्दा एक दिन बिहान म त्यो गोदाममा निकै माथिसम्म चढेको थिएँ। दिउँसोतिर म जहाँबाट चढेको थिएँ, त्यहीँबाट ओर्लिन थालेँ। तर भत्काउने काम गर्दै जाँदा ओर्लिने बाटो पनि भत्काइसकेको रहेछ। मैले त हावामा पो टेकेछु! त्यसपछि म सिधै तल खसेँ। मेरो अवस्था निकै गम्भीर देखिन्थ्यो तर अस्पतालमा जँचाएपछि अनि एक्सरे गरेर हेरेपछि डाक्टरले ह्‍यापीलाई यसो भने: “चिन्ता नगर्नुस्‌, उहाँको केही ठाउँको मासु च्यातिएको मात्रै हो। एक हप्ता जतिमा उहाँ ठीक हुनुहुनेछ।”

माक्सिम र ह्‍यापी दानिलेको सम्मेलन जान यात्रा गर्दै

सार्वजनिक यातायात चढेर सम्मेलनमा जाँदै

सन्‌ १९८६ मा हामी कोट डे’भ्वामा सऱ्‍यौँ। त्यहाँ हामीले परिभ्रमण कार्य गऱ्‍यौँ। त्यस दौडान हामी छिमेकी देश बुर्किना फासोसम्म पुग्यौँ। बुर्किना फासोमा पनि हामी केही समय बस्नेछौँ भनेर मैले कहिल्यै सोचेको थिइनँ।

माक्सिम दानिलेको परिभ्रमण कार्यमा छँदा आफूले प्रयोग गरेको गाडीसँगै बसिरहेका

परिभ्रमण कार्य गर्दा हामीले एउटा गाडीलाई आफ्नो घर बनाएका थियौँ

मैले सन्‌ १९५६ मा क्यानाडा छोडेको थिएँ। त्यसको ४७ वर्षपछि सन्‌ २००३ मा म क्यानाडा फर्किएँ अनि बेथेलमा सेवा गर्न थालेँ। तर यसपटक मसित ह्‍यापी पनि थिइन्‌। कानुनअनुसार हामी क्यानाडाको नागरिक थियौँ तर हामीलाई आफू अफ्रिकाकै हौँ जस्तो लाग्थ्यो।

माक्सिम दानिलेको बाइबल अध्ययन सञ्चालन गर्दै

बुर्किना फासोमा बाइबल अध्ययन सञ्चालन गर्दै

त्यसपछि सन्‌ २००७ मा ७९ वर्षको उमेरमा म फेरि अफ्रिका गएँ! हामीलाई बुर्किना फासोमा सेवा गर्न खटाइयो। त्यहाँ मैले उपशाखा समितिको सदस्यको रूपमा सेवा गरेँ। त्यहाँको उपशाखा कार्यालयलाई पछि अनुवाद कार्यालय बनाइयो र बेनिन शाखाको सुपरिवेक्षणमा राखियो। अनि अगस्त २०१३ मा हामीलाई बेनिन बेथेलमा खटाइयो।

माक्सिम र ह्‍यापी दानिलेको बेनिन शाखामा

ह्‍यापीसित बेनिन शाखामा सेवा गर्दा

अहिले मेरो स्वास्थ्य पहिलेजस्तो राम्रो नभए पनि मलाई प्रचारकार्य एकदमै मन पर्छ। बितेको तीन वर्षको दौडान दयालु एल्डरहरूको मदत र मेरी प्यारी पत्नीको साथ पाएकोले मैले आफ्ना दुई जना बाइबल विद्यार्थीहरू गिदोन र फ्राजिसले बप्तिस्मा गरेको देख्न पाएँ। उनीहरू अहिले जोसिलो भई यहोवाको सेवा गरिरहेका छन्‌।

हालै मेरी पत्नी र मलाई दक्षिण अफ्रिका शाखामा पठाइयो। त्यहाँको बेथेल परिवारले मेरो स्वास्थ्यको मायालु हेरचाह गरिदिनुहुन्छ। अफ्रिकी महादेशमा मैले सेवा गर्ने सुअवसर पाएका देशहरूमध्ये दक्षिण अफ्रिका सातौँ देश हो। त्यसपछि अक्टोबर २०१७ मा हामीले सोच्दै नसोचेको आशिष्‌ पायौँ। हामी न्यु योर्कको वारविकमा रहेको विश्‍व मुख्यालयको समर्पण कार्यक्रममा उपस्थित हुन पायौँ। त्यो बिर्सनै नसकिने क्षण थियो!

यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९४, (अङ्‌ग्रेजी) पृष्ठ २५५ मा यस्तो लेखिएको छ: “हार नमानी निरन्तर यस काममा लागिरहनुभएका सबैलाई हामी यो आग्रह गर्न चाहन्छौँ: ‘तिमीहरू शक्‍तिशाली हुनुपर्छ, र तिमीहरूको साहस घट्‌नुहुँदैन। किनभने तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ।’—२ इति. १५:७.” ह्‍यपी र म यसैअनुसार गर्न दृढ छौँ अनि अरूलाई पनि त्यसै गर्ने प्रोत्साहन दिन चाहन्छौँ।

a यहोवाका साक्षीहरूद्वारा १९४४ मा प्रकाशित। अहिले छापिँदैन।

b नोभेम्बर ८, १९५३ को ब्यूँझनुहोस्‌!, पृष्ठ ३-५ मा (अङ्‌ग्रेजी) भएको “यहोवाका साक्षीहरूमाथि आक्रमण गरेकोमा क्युबेकका पादरीलाई दोषी ठहऱ्‍याइयो” भन्‍ने लेख हेर्नुहोस्‌।

c यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९४, (अङ्‌ग्रेजी) पृष्ठ १४८-१५० मा यसबारे विस्तृत जानकारी दिइएको छ।

d मे ८, १९६६ को ब्यूँझनुहोस्‌!, पृष्ठ २७ मा (अङ्‌ग्रेजी) भएको “बलियो जगमाथि निर्माण गर्दै” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने