अध्ययन लेख ४३
गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!
तपाईँ शङ्का-उपशङ्काहरूलाई कसरी हटाउन सक्नुहुन्छ?
“सबै कुरा जाँच।”—१ थिस्स. ५:२१.
सिक्न सकिने कुरा
यहोवाको सेवालाई नै असर गर्न सक्ने शङ्का-उपशङ्काहरू हामी कसरी हटाउन सक्छौँ?
१-२. (क) हाम्रो मनमा कस्ता शङ्का-उपशङ्काहरू उब्जिन सक्छन्? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
चाहे हामी जवान होऔँ या वृद्ध, हाम्रो मनमा विभिन्न शङ्का-उपशङ्काहरूa उब्जिन सक्छन्। जस्तै: कुनै जवान भाइलाई यहोवा तिनको ख्याल राख्नुहुन्छ कि राख्नुहुन्न भनेर शङ्का लाग्न सक्छ। तिनी बप्तिस्मा गरूँ कि नगरूँ भनेर दुविधामा पर्न सक्छन्। अथवा कुनै भाइले जवान छँदा आफ्नो करियर बनाउने अवसर त्यागेर राज्य गतिविधिलाई प्रथम स्थान दिने निर्णय गरेका हुन सक्छन्। तर अहिले घर खर्च चलाउनै धौधौ परिरहेकोले तिनलाई आफूले जवान छँदा सही निर्णय गरेँ कि गरिनँ जस्तो लाग्न सक्छ। अथवा एक पाको उमेरकी बहिनी यहोवाको सेवामा आफूले पहिलाजति गर्न नसकेकोले निराश भएकी हुन सक्छिन्। के तपाईँले पनि आफूलाई कहिल्यै यस्ता प्रश्नहरू सोध्नुभएको छ: ‘के यहोवा साँच्चै मेरो ख्याल राख्नुहुन्छ? के उहाँ मैले गरेका त्यागहरूको मोल गर्नुहुन्छ? के म उहाँको लागि अझै पनि उपयोगी छु?’
२ मनमा उब्जिएका यस्ता शङ्का-उपशङ्काहरूलाई त्यत्तिकै छोड्यौँ भने त्यसले यहोवामाथिको हाम्रो विश्वासलाई कमजोर बनाउन सक्छ र हामी यहोवालाई त्याग्ने हदसम्म पुग्न सक्छौँ। यस लेखमा हामी (१) यहोवा हाम्रो ख्याल राख्नुहुन्छ कि हुन्न? (२) हामीले पहिला गरेका निर्णयहरू ठीक थिए कि थिएनन् र (३) अहिले हामी यहोवाको लागि उपयोगी छौँ कि छैनौँ भन्ने जस्ता शङ्काहरू हटाउन बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छ भनेर छलफल गर्नेछौँ।
हामी कसरी शङ्का हटाउन सक्छौँ?
३. शङ्का हटाउने एउटा तरिका के हो?
३ शङ्का हटाउने एउटा तरिका आफ्ना प्रश्नहरूको जवाफ परमेश्वरको वचनमा खोज्नु हो। त्यसो गऱ्यौँ भने यहोवासितको हाम्रो सम्बन्ध अझ बलियो हुनेछ र हामी ‘विश्वासमा स्थिर भएर बस्न’ सक्नेछौँ।—१ कोरि. १६:१३.
४. हामी कसरी ‘सबै कुरा जाँच्न’ सक्छौँ? (१ थिस्सलोनिकी ५:२१)
४ पहिलो थिस्सलोनिकी ५:२१ पढ्नुहोस्। बाइबलमा हामीलाई “सबै कुरा जाँच” भनेर आग्रह गरिएको छ। हामी कसरी त्यसो गर्न सक्छौँ? यदि हामी कुनै कुरामा पक्का छैनौँ भने त्यसबारे बाइबलले के भन्छ भनेर जाँच्नुपर्छ। अनुच्छेद एकमा उल्लेख गरिएका भाइलाई यहोवाले तिनको ख्याल राख्नुहुन्छ कि हुन्न भनेर शङ्का लागेको थियो। के तिनले आफ्नो मनमा उब्जिएको त्यस शङ्कालाई त्यत्तिकै छोडिदिनु उचित हो? होइन। बरु तिनले यहोवा त्यस विषयमा कस्तो सोचाइ राख्नुहुन्छ भनेर ‘जाँच्नुपर्छ।’
५. यहोवाको कुरा सुन्न हामीले के गर्नुपर्छ?
५ बाइबल पढ्दा हामीले यहोवाको कुरा सुनिरहेका हुन्छौँ। तर कुनै खास विषयबारे उहाँ कस्तो सोचाइ राख्नुहुन्छ भनेर बुझ्न हामीले आफ्नो तर्फबाट कोसिस गर्नुपर्छ। आफूलाई शङ्का लागिरहेको विषयबारे बाइबलले कस्तो जवाफ दिन्छ भनेर हामीले अनुसन्धान गर्नुपर्छ। (हितो. २:३-६) त्यसको लागि हामी यहोवाको सङ्गठनले उपलब्ध गराएका अनुसन्धान सामग्रीहरू प्रयोग गर्न सक्छौँ। हाम्रो अनुसन्धानमा यहोवाको डोऱ्याइ रहोस् र हाम्रो मनमा उब्जिएको प्रश्नबारे उहाँको सोचाइ बुझ्न सकौँ भनेर प्रार्थना गर्न सक्छौँ। त्यसपछि हामी आफ्नो अवस्थासित मिल्ने बाइबल सिद्धान्तहरू र व्यवहारिक जानकारीहरू खोज्न सक्छौँ। साथै हाम्रो जस्तै अवस्थाको सामना गरेका बाइबल पात्रहरूबारे पनि अध्ययन गर्न सक्छौँ।
६. शङ्का हटाउन सभाहरूबाट कस्तो मदत पाउन सक्छौँ?
६ सभाहरूमा पनि हामी यहोवाको कुरा सुन्न सक्छौँ। यदि हामी नियमित रूपमा सभा जान्छौँ भने आफ्नो मनमा उब्जिएको शङ्का हटाउन चाहिएकै जवाफ कुनै भाषण वा कसैको टिप्पणीमार्फत पाउन सक्छौँ। (हितो. २७:१७) आउनुहोस्, अब हामी कुनै-कुनै शङ्का कसरी हटाउन सक्छौँ, विचार गरौँ।
यहोवा तपाईँको ख्याल राख्नुहुन्छ भन्ने कुरामा शङ्का लाग्दा
७. कसै-कसैको मनमा कस्तो प्रश्न उठ्न सक्छ?
७ तपाईँलाई कहिल्यै यस्तो लागेको छ: ‘के यहोवा साँच्चै मेरो ख्याल राख्नुहुन्छ?’ यदि तपाईँलाई आफू असाध्यै तुच्छ छु जस्तो लाग्छ भने यस ब्रह्माण्डको सृष्टिकर्ता यहोवाको साथी बन्ने कुरा तपाईँलाई असम्भवजस्तो लाग्न सक्छ। राजा दाउदलाई पनि त्यस्तै लागेको हुन सक्छ। यहोवा तुच्छ मानिसहरूको पनि ख्याल राख्नुहुन्छ भनेर थाह पाउँदा दाउदले अचम्म मान्दै यसो भने: “हे यहोवा, मानिस के हो र, जसको विषयमा तपाईँ सोच्नुहुन्छ? मरणशील मानिस के हो र, जसमा तपाईँ ध्यान दिनुहुन्छ?” (भज. १४४:३) त्यसोभए तपाईँ यस प्रश्नको जवाफ कहाँ पाउन सक्नुहुन्छ: ‘के यहोवा साँच्चै प्रत्येक मानिसको ख्याल राख्नुहुन्छ?’
८. पहिलो समुएल १६:६, ७, १०-१२ अनुसार यहोवा मानिसहरूको कस्तो कुरा याद गर्नुहुन्छ?
८ अरूले त्यत्ति याद नगर्ने मानिसहरूलाई यहोवा याद गर्नुहुन्छ भनेर हामी बाइबलबाट थाह पाउन सक्छौँ। जस्तै: यहोवाले समुएललाई यिसैका छोराहरूमध्ये एक जनालाई इस्राएलको भावी राजा अभिषेक गर्न पठाउनुभएको थियो। यिसैले आफ्ना सात जना छोराहरूलाई बोलाए तर कान्छोb छोरा दाउदलाई भने बोलाएनन्। तर यहोवाले दाउदलाई नै रोज्नुभयो। (१ समुएल १६:६, ७, १०-१२ पढ्नुहोस्।) तिनी आध्यात्मिक कुराहरूको मोल गर्छन् भनेर यहोवालाई थाह थियो।
९. यहोवा तपाईँको ख्याल राख्नुहुन्छ भनेर तपाईँ किन ढुक्क हुन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
९ यहोवाले तपाईँलाई याद गर्नुभएको कसरी देखाइसक्नुभएको छ, विचार गर्नुहोस्। उहाँ तपाईँलाई तपाईँको अवस्थासित मिल्ने सल्लाह दिनुहुन्छ। (भज. ३२:८) तपाईँलाई राम्रोसँग नचिन्नुभएको भए के उहाँले त्यस्तो सल्लाह दिन सक्नुहुन्थ्यो होला र? (भज. १३९:१) यहोवाले दिनुभएका सल्लाहहरू लागू गर्दा कस्तो फाइदा भएको छ भनेर याद गर्नुभयो भने उहाँ तपाईँको ख्याल राख्नुहुन्छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुहुनेछ। (१ इति. २८:९; प्रेषि. १७:२६, २७) यहोवाको सेवा गर्न तपाईँले गर्नुभएको मेहनत उहाँ याद गर्नुहुन्छ। अनि उहाँ तपाईँका असल गुणहरू पनि याद गर्नुहुन्छ र त्यही गुणहरूले गर्दा उहाँ तपाईँको साथी बन्न चाहनुहुन्छ। (यर्मि. १७:१०) अनि तपाईँले पनि उहाँको साथी बन्न कदम चालेको उहाँ चाहनुहुन्छ।—१ युह. ४:१९.
“तिमीले [यहोवाको] खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ।”—१ इति. २८:९ (अनुच्छेद ९ हेर्नुहोस्)c
आफूले विगतमा गरेका निर्णयहरू सही थिए कि थिएनन् भनेर शङ्का लाग्दा
१०. विगतमा गरेका निर्णयहरूबारे सोच्दा हाम्रो मनमा कस्तो प्रश्न आउन सक्छ?
१० कसै-कसैलाई आफूले विगतमा गरेका निर्णयहरू सही थिए कि थिएनन् भनेर शङ्का लाग्न सक्छ। सायद तिनीहरूले यहोवाको सेवामा अझ धेरै गर्न प्रशस्त पैसा आउने जागिर वा राम्ररी चलिरहेको व्यवसाय छोडेका हुन सक्छन्। तर अहिले वर्षौँपछि आफ्नो परिवार र साथीभाइले त्यतिबेला राम्रो पैसा आउने काम गरेकोले अहिले आरामदायी जीवन बिताएको देख्न सक्छन्। त्यसैले तिनीहरूलाई यस्तो लाग्न सक्छ: ‘मैले विगतमा यहोवाको सेवा गर्न त्यागहरू गरेर गल्ती गरेँ कि? मैले अझ धेरै पैसा कमाउने मौकाहरू गुमाएँ कि?’
११. भजन अध्याय ७३ का लेखकलाई कस्तो कुराले गर्दा छटपटी भयो?
११ तपाईँलाई पनि यस्तै प्रश्नहरूले सताइरहेको छ भने भजन अध्याय ७३ का लेखकबारे विचार गर्नुहोस्। तिनले यहोवाको सेवा नगर्ने मानिसहरू हृष्टपुष्ट र सम्पन्न भएको अनि तिनीहरूको जीवनमा चिन्तै नभएको जस्तो देखे। (भज. ७३:३-५, १२) ती मानिसहरूको फलिफाप भएको देख्दा आफूले यहोवाको सेवामा गरेको मेहनत बेकार छ जस्तो तिनलाई लाग्यो। यस्तो निराशाजनक सोचाइले गर्दा ‘तिनलाई सारा दिन छटपटी भयो।’ (भज. ७३:१३, १४) तिनले यस्ता नकारात्मक भावनाहरू कसरी हटाए?
१२. भजन अध्याय ७३ का लेखकले नकारात्मक भावनाहरू कसरी हटाए? (भजन ७३:१६-१८)
१२ भजन ७३:१६-१८ पढ्नुहोस्। भजन अध्याय ७३ का लेखक यहोवाको पवित्र स्थानमा पसे। त्यहाँको शान्त वातावरणमा तिनले राम्ररी सोच्न सके। कसै-कसैले आरामदायी जीवन बिताइरहेको भए तापनि तिनीहरूसित भविष्यको कुनै आशा छैन भनेर तिनले बुझे। त्यसैले तिनको मन शान्त भयो र यहोवाको सेवालाई जीवनमा प्रथम स्थान दिनु नै सबैभन्दा उत्तम निर्णय हो भनेर तिनले बुझे। त्यसपछि यहोवाको सेवा गरिरहने तिनको सङ्कल्प फेरि बलियो भयो।—भज. ७३:२३-२८.
१३. विगतमा गरेका निर्णयहरूको कारण मन विचलित हुँदा तपाईँ कसरी मनोशान्ति पाउन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
१३ तपाईँ परमेश्वरको वचनबाट त्यस्तै शान्ति पाउन सक्नुहुन्छ। कसरी? आफूसित भएका असल कुराहरूबारे विचार गर्नुहोस्। जस्तै: यहोवाले दिनुभएका आशिष्हरू। अनि त्यसलाई मानिसहरूले संसारबाट हासिल गरेका कुराहरूसित तुलना गर्नुहोस्। तिनीहरू आफूले हासिल गरेका उपलब्धिहरूमै भरोसा गर्छन्। किनभने तिनीहरूसित भविष्यको कुनै आशा छैन। तर तपाईँसित भने यहोवाले अहिले दिनुभएका प्रशस्तै आशिष्हरू छन् र भविष्यमा उहाँले तपाईँलाई अझ धेरै आशिष्हरू दिनुहुनेछ। (भज. १४५:१६) साथै यसबारे पनि सोच्नुहोस्: ‘मैले यहोवाको सेवालाई पहिलो स्थान दिने निर्णय नगरेर अर्कै निर्णय गरेको भए मेरो जीवन अहिले कस्तो हुने थियो भनेर के म यकिनका साथ भन्न सक्छु?’ जेहोस्, हामी एउटा कुरामा भने पक्का हुन सक्छौँ: यहोवा र छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भएर निर्णय गर्नेहरूलाई साँचो आनन्द दिने कुराहरूको कहिल्यै कमी हुनेछैन।
यहोवाले प्रतिज्ञा गर्नुभएका आशिष्हरूबारे सोच्नुहोस् (अनुच्छेद १३ हेर्नुहोस्)d
आफू यहोवाको लागि उपयोगी छु कि छैनँ भनेर शङ्का लाग्दा
१४. कसै-कसैको अवस्था कस्तो छ र तिनीहरूको मनमा कस्तो प्रश्न उठ्न सक्छ?
१४ यहोवाका केही सेवकहरू ढल्कँदो उमेर, बिग्रँदो स्वास्थ्य अवस्था वा कुनै शारीरिक अशक्तताले गर्दा यहोवाको सेवामा आफूले चाहेजति गर्न सक्दैनन्। त्यसले गर्दा तिनीहरूलाई आफू यहोवाको नजरमा बहुमूल्य छु कि छैनँ भनेर शङ्का लाग्न सक्छ। तिनीहरूको मनमा यस्तो प्रश्न उठ्न सक्छ: ‘के म यहोवाको लागि अझै पनि उपयोगी छु?’
१५. भजन अध्याय ७१ का लेखक कुन कुरामा ढुक्क थिए?
१५ भजन अध्याय ७१ का लेखकको मनमा पनि यस्तै प्रश्न उठेको थियो। तिनले प्रार्थनामा यसो भने: “मेरो बल घटे पनि मलाई हेला नगर्नुहोस्।” (भज. ७१:९, १८) तर वफादार भई यहोवाको सेवा गर्नेहरूलाई उहाँले डोऱ्याउनुहुन्छ र मदत गर्नुहुन्छ भन्ने कुरामा तिनी ढुक्क थिए। आफ्नो सीमितताको बाबजुद यहोवाको सेवामा सक्दो गर्नेहरूदेखि उहाँ प्रसन्न हुनुहुन्छ भनेर तिनले बुझेका थिए।—भज. ३७:२३-२५.
१६. वृद्धहरू कुन-कुन तरिकामा यहोवाको लागि उपयोगी छन्? (भजन ९२:१२-१५)
१६ यदि तपाईँ वृद्ध हुनुहुन्छ भने आफ्नो अवस्थालाई यहोवाको नजरबाट हेर्नुहोस्। तपाईँ शारीरिक रूपमा कमजोर हुनुभए तापनि उहाँले तपाईँलाई वफादार भई उहाँको सेवामा लागिरहन मदत गर्न सक्नुहुन्छ। (भजन ९२:१२-१५ पढ्नुहोस्।) आफूले गर्न नसक्ने कुराहरूमा ध्यान दिनुको साटो गर्न सक्ने कुराहरूमा ध्यान दिनुहोस्। जस्तै: तपाईँ वफादार रहेर अनि व्यक्तिगत चासो देखाएर अरूलाई मदत गर्न सक्नुहुन्छ। यहोवाले तपाईँलाई वर्षौँको दौडान कसरी सम्हाल्दै आउनुभएको छ भनेर तपाईँ अरूलाई बताउन सक्नुहुन्छ। तपाईँ यहोवाले गर्नुभएका के-कस्ता प्रतिज्ञाहरू पूरा हुने दिनको प्रतीक्षा गर्दै हुनुहुन्छ, त्यसबारे पनि बताउन सक्नुहुन्छ। अनि तपाईँले अरूको लागि मनैदेखि गरिदिएको प्रार्थनाले कत्ति ठूलो काम गर्छ भनेर कहिल्यै नबिर्सनुहोस्। (१ पत्रु. ३:१२) हाम्रो अवस्था जस्तोसुकै भए पनि हामी यहोवाको लागि अनि अरूको लागि केही न केही त पक्कै गर्न सक्छौँ।
१७. हामीले किन आफूलाई अरूसित तुलना गर्नु हुँदैन?
१७ यदि तपाईँ आफूले यहोवाको सेवामा अझ धेरै गर्न नसकेकोले निराश हुनुहुन्छ भने तपाईँ जे-जति गर्न सक्नुहुन्छ, यहोवा त्यसको मोल गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। तपाईँलाई ‘फलानोले यत्ति धेरै गर्न सक्यो, मैले त त्यति गर्न सकिनँ’ जस्तो लाग्न सक्छ। तर आफूलाई अरूसित तुलना नगर्नुहोस्। किन? किनभने यहोवा त्यसो गर्नुहुन्न। (गला. ६:४) जस्तै: मरियमले येसुलाई असाध्यै महँगो सुगन्धित तेल उपहारस्वरूप दिएकी थिइन्। अर्कोतर्फ एक गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का दानपात्रमा खसालेकी थिइन्। (युह. १२:३-५) येसुले यी दुवै उपहारहरूलाई तिनीहरूले देखाएको ठूलो विश्वासको प्रमाणको रूपमा हेर्नुभयो। (लुका २१:१-४) त्यसैगरि यहोवा बुबा पनि तपाईँले उहाँप्रतिको भक्ति र प्रेमले उत्प्रेरित भएर गर्नुभएको जस्तोसुकै कुराको असाध्यै मोल गर्नुहुन्छ, चाहे त्यो तपाईँको नजरमा जति नै सानो किन नदेखियोस्।
१८. शङ्का हटाउन तपाईँलाई केले मदत गर्न सक्छ? (“यहोवाको वचनले तपाईँलाई शङ्का-उपशङ्का हटाउन मदत गर्न सक्छ” भन्ने पेटी पनि हेर्नुहोस्।)
१८ हामी सबैको मनमा कहिलेकाहीँ शङ्का-उपशङ्काहरू उब्जिन्छन्। तर यस लेखमा छलफल गरिएझैँ परमेश्वरको सत्य वचनले ती शङ्का-उपशङ्काहरू हटाउन हामीलाई मदत गर्न सक्छ। त्यसैले आफ्नो मनमा उब्जिएका प्रश्नहरूको जवाफ खोज्न सक्दो गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँको शङ्का हट्छ र यहोवामाथिको विश्वास अझ बलियो हुन्छ। यहोवा तपाईँलाई याद गर्नुहुन्छ। उहाँको सेवा गर्न तपाईँले गर्नुभएका त्यागहरूको उहाँ मोल गर्नुहुन्छ र तपाईँलाई आशिष् दिने प्रतिज्ञा उहाँले पक्कै पूरा गर्नुहुनेछ। यहोवा आफ्ना सबै वफादार सेवकहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्।
गीत १११ हामी आनन्दित हुनुको कारण
a थप व्याख्या: यस लेखमा हामी यहोवा हाम्रो ख्याल राख्नुहुन्छ कि हुन्न अथवा हामीले विगतमा गरेका निर्णयहरू सही थिए कि थिएनन् भनेर पक्का हुन नसक्दा मनमा आउने शङ्काहरूबारे छलफल गर्नेछौँ। मनमा यस्ता किसिमका शङ्काहरू आउनु भनेको यहोवा र उहाँका प्रतिज्ञाहरूमाथि विश्वास नभएको चिन्ह होइन।
b यहोवाले दाउदलाई रोज्नुहुँदा तिनको उमेर ठ्याक्कै कति थियो भनेर बाइबलमा बताइएको छैन। तर तिनी किशोरावस्थाका थिए जस्तो देखिन्छ।—सान्त्वना कहाँ पाउन सक्नुहुन्छ? पुस्तिकाको पृ. ९ हेर्नुहोस्।
c चित्रको व्याख्या: एक जवान बहिनी यहोवाको सोचाइ बुझ्न बाइबलमा अनुसन्धान गर्दै छिन्।
d चित्रको व्याख्या: एक भाइ परिवारको पालनपोषणको लागि झ्याल सफा गर्ने काम गर्दै छन्। तिनी आफू प्रमोदवनमा भएको कल्पना गर्दै छन्।