प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 सेप्टेम्बर pp. २-७
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले कहिले ‘एल्डरहरूलाई बोलाउनुपर्छ’?
  • हामीले किन एल्डरहरूलाई बोलाउनुपर्छ?
  • एल्डरहरू हामीलाई कसरी मदत गर्छन्‌?
  • हाम्रो दायित्व
  • एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्‍तिलाई कसरी प्रेम र कृपा देखाउन सक्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 सेप्टेम्बर pp. २-७

अध्ययन लेख ३६

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’

“उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस्‌।”—याकु. ५:१४.

सिक्न सकिने कुरा

हामीले किन मण्डलीका एल्डरहरूसित आध्यात्मिक मदत माग्नुपर्छ?

१. यहोवाले आफ्ना भेडाहरूलाई अनमोल ठानेको कसरी देखाउनुभएको छ?

यहोवाका भेडाहरू उहाँको लागि अनमोल छन्‌। उहाँले तिनीहरूलाई येसुको रगतद्वारा किन्‍नुभयो अनि तिनीहरूको हेरचाह गर्न एल्डरहरू नियुक्‍त गर्नुभयो। (प्रेषि. २०:२८) एल्डरहरूले उहाँको बगालसित कोमल व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ। ख्रिष्टको निर्देशन पछ्याउँदै तिनीहरू भाइबहिनीलाई प्रोत्साहन दिन्छन्‌ र आध्यात्मिक खतराबाट जोगाउँछन्‌।—यसै. ३२:१, २.

२. यहोवा कसको अझ धेरै ख्याल राख्नुहुन्छ? (इजकिएल ३४:१५, १६)

२ हुनत यहोवा आफ्ना प्रत्येक भेडामा गहिरो चासो राख्नुहुन्छ तर आध्यात्मिक रूपमा घाइते भएकाहरूको उहाँ अझ धेरै ख्याल राख्नुहुन्छ। उहाँ तिनीहरूलाई एल्डरहरूद्वारा मदत गर्नुहुन्छ। (इजकिएल ३४:१५, १६ पढ्‌नुहोस्‌।) तर आवश्‍यक पर्दा हामी आफैले मदत खोजेको पनि उहाँ चाहनुहुन्छ। त्यस्तो बेला हामीले परमेश्‍वरलाई प्रार्थना गर्नुको साथै मण्डलीका “गोठालो र शिक्षक”-हरूको पनि मदत खोज्नुपर्छ।—एफि. ४:११, १२.

३. एल्डरहरूको भूमिका थाह पायौँ भने हामी सबैले कसरी लाभ उठाउन सक्छौँ?

३ यस लेखमा हामीलाई आध्यात्मिक मदत दिन यहोवाले एल्डरहरूलाई कसरी चलाउनुहुन्छ भनेर विचार गर्नेछौँ। हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: हामीले कहिले एल्डरहरूसित मदत माग्नुपर्छ? हामीले किन त्यसो गर्नुपर्छ? अनि तिनीहरू हामीलाई कसरी मदत गर्छन्‌? हुनत अहिले यहोवासितको हाम्रो सम्बन्ध बलियो होला अनि एल्डरहरूको मदत चाहिने अवस्था छैन होला। तैपनि यस लेखले हामीलाई यहोवाले गर्नुभएको प्रबन्धप्रति कृतज्ञ हुन र भविष्यमा एल्डरहरूको मदत चाहियो भने हामीले के गर्नुपर्छ भनेर थाह पाउन मदत गर्नेछ।

हामीले कहिले ‘एल्डरहरूलाई बोलाउनुपर्छ’?

४. याकुबले आध्यात्मिक रूपमा बिरामी भएका व्यक्‍तिबारे कुरा गर्दै थिए भनेर हामी किन भन्‍न सक्छौँ? (याकुब ५:१४-१६, १९, २०) (चित्रहरू पनि हेर्नुहोस्‌।)

४ हामीलाई मदत गर्न यहोवाले एल्डरहरूलाई कसरी चलाउनुहुन्छ भनेर चेला याकुबले बताए। तिनले यस्तो लेखे: “के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस्‌।” (याकुब ५:१४-१६, १९, २० पढ्‌नुहोस्‌।) यस पदको प्रसङ्‌गबाट याकुबले यहाँ शारीरिक रूपमा नभई आध्यात्मिक रूपमा बिरामी भएका व्यक्‍तिबारे कुरा गर्दै थिए भनेर थाह पाउँछौँ। किनभने तिनले बिरामी व्यक्‍तिलाई डाक्टरलाई होइन बरु एल्डरहरूलाई बोलाउन भनेका छन्‌। साथै याकुबले उक्‍त बिरामी निको हुनुमा उनको पाप क्षमा हुनु पनि समावेश छ भनेर बताए। आध्यात्मिक रूपमा बिरामी परेको होस्‌ वा शारीरिक रूपमा, बिरामी व्यक्‍तिले चाल्नुपर्ने केही कदमहरू उस्तै हुन्छ। जस्तै, हामी शारीरिक रूपमा बिरामी पर्दा डाक्टरकहाँ जान्छौँ, लक्षणहरूबारे बताउँछौँ अनि तिनले भनेअनुसारै गर्छौँ। त्यसरी नै आध्यात्मिक रूपमा बिरामी पर्दा हामी एल्डरकहाँ जानुपर्छ, आफ्नो अवस्थाबारे बताउनुपर्छ अनि तिनले बाइबलबाट दिएको सल्लाहअनुसारै गर्नुपर्छ।

चित्रहरूको सँगालो: १. एक पुरुष डाक्टरलाई आफ्नो कुम दुखेको कुरा बताउँदै छन्‌। २. एक भाइ बाहिर बेन्चमा बसेर एल्डरलाई आफ्नो अवस्थाबारे बताउँदै छन्‌।

हामी बिरामी पर्दा डाक्टरकहाँ जान्छौँ; त्यसरी नै आध्यात्मिक रूपमा बिरामी पर्दा हामी एल्डरहरूकहाँ जानुपर्छ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. आध्यात्मिक रूपमा बिरामी पर्न लागेको सङ्‌केत के हुन सक्छ?

५ याकुब अध्याय ५ मा हामीलाई आध्यात्मिक रूपमा बिरामी पर्न थालेको जस्तो लाग्दा एल्डरहरूसित मदत माग्न प्रोत्साहन दिइएको छ। तर परमेश्‍वरसितको सम्बन्धमा नराम्रो असर पुग्नुअगाडि नै एल्डरहरूसित मदत माग्नु बुद्धिमानी हो। हामी आफैप्रति इमानदार हुनुपर्छ। किनभने आफ्नो आध्यात्मिक स्वास्थ्यको सन्दर्भमा कहिलेकाहीँ हामीले आफैलाई धोका दिइरहेका हुन्छौँ भनेर बाइबल बताउँछ। (याकु. १:२२) सार्डिस मण्डलीका केही ख्रिष्टियनले पनि त्यस्तै गल्ती गरे। तर येसुले तिनीहरूको आध्यात्मिक अवस्था कस्तो छ भनेर स्पष्टसित बताइदिनुभयो। (प्रका. ३:१, २) त्यसैले हामीले पनि आफ्नो आध्यात्मिक स्वास्थ्य बेलाबेलामा जाँच्नुपर्छ। त्यसो गर्ने एउटा तरिका हाम्रो जोस पहिला कस्तो थियो र अहिले कस्तो छ भनेर तुलना गर्नु हो। (प्रका. २:४, ५) तपाईँ आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के मलाई बाइबल पढ्‌न अनि मनन गर्न पहिलाजत्तिको रमाइलो लाग्न छोडेको छ? के म बेलाबेलामा सभा छुटाउँछु अनि सभा गएँ भने पनि तयारीविनै जान्छु? के प्रचारकार्यमा मेरो जोस सेलाएको छ? के मेरो धेरैजसो समय पैसा कमाउन र मोजमज्जा गर्नमै बितिरहेको छ? अनि के म ती कुराहरूबारे नै सोचिरहन्छु?’ यदि तपाईँ यीमध्ये कुनै पनि प्रश्‍नको जवाफ ‘हो’ भनेर दिनुहुन्छ भने यसले तपाईँ आध्यात्मिक रूपमा बिरामी पर्न लागेको सङ्‌केत दिन्छ। समयमै कदम चाल्नुभएन भने यसले गम्भीर रूप लिन सक्छ। यदि तपाईँले यहोवासितको सम्बन्ध सुधार्न आफैले केही गर्न सक्नुभएको छैन वा उहाँको स्तर उल्लङ्‌घन गरिसक्नुभएको छ भने एल्डरहरूसित मदत माग्नुहोस्‌।

६. गम्भीर पाप गरेको व्यक्‍तिले के गर्नुपर्छ?

६ गम्भीर पाप गरेको कुनै व्यक्‍तिले पश्‍चात्ताप नगरेको खण्डमा तिनलाई मण्डलीबाट हटाइन पनि सक्छ। त्यसैले हामीले त्यस्तो पाप गरेका छौँ भने मण्डलीको कुनै एल्डरसित कुरा गर्नुपर्छ। (१ कोरि. ५:११-१३) गम्भीर पाप गरेको व्यक्‍तिले आफ्नै भरमा यहोवासितको सम्बन्ध सुधार्न सक्दैनन्‌। फिरौतीको बलिदानको आधारमा यहोवाको क्षमा पाउन तिनले “पश्‍चात्ताप गरेको देखिने कामहरू” गर्नै पर्छ। (प्रेषि. २६:२०) यी कामहरूमा एल्डरहरूसामु आफ्नो पाप स्विकार्नु पनि समावेश छ।

७. अरू कसले पनि एल्डरहरूसित मदत माग्नुपर्छ?

७ एल्डरहरूले गम्भीर पाप गरेकाहरूलाई मात्र होइन, आध्यात्मिक रूपमा कमजोर भएकाहरूलाई पनि मदत गर्छन्‌। (प्रेषि. २०:३५) जस्तै, तपाईँलाई कुइच्छाहरूविरुद्ध लड्‌न गाह्रो भइरहेको हुन सक्छ। सत्य सिक्नुअघि तपाईँ लागूपदार्थको कुलतमा फस्नुभएको थियो, तपाईँले अश्‍लील सामग्री हेर्ने गर्नुभएको थियो वा अनैतिक जीवन बिताउनुभएको थियो भने यस्ता कुइच्छाहरूविरुद्ध लड्‌न अझ गाह्रो हुन सक्छ। तर तपाईँ एक्लैले यो लडाइँ लड्‌नु पर्दैन। तपाईँ कुनै एल्डरसित कुरा गर्न सक्नुहुन्छ। तिनले तपाईँको कुरा सुन्‍नेछन्‌, तपाईँलाई व्यावहारिक सुझाव दिनेछन्‌ अनि कुइच्छाहरूलाई काबूमा राखेर तपाईँ यहोवालाई खुसी बनाउन सक्नुहुन्छ भन्‍ने कुरा सम्झाउनेछन्‌। (उप. ४:१२) कुइच्छाहरूलाई वशमा राख्न नसकेकोले तपाईँ निराश हुनुभएको छ होला तर तपाईँले मदत खोज्नुभएकोमा यहोवा खुसी हुनुहुन्छ भनेर एल्डरहरूले तपाईँलाई सम्झाउनेछन्‌। यसरी एल्डरहरूको मदत माग्दा तपाईँ आफूमा बढ्‌तै भरोसा गर्नुहुन्‍न र यहोवालाई खुसी बनाउन चाहनुहुन्छ भन्‍ने देखिन्छ।—१ कोरि. १०:१२.

८. के हामीले स-सानो कुराको लागि पनि एल्डरहरूसित मदत माग्नुपर्छ? व्याख्या गर्नुहोस्‌।

८ हामीले स-सानो कुराको लागि पनि एल्डरहरूसित मदत माग्नु आवश्‍यक छैन। उदाहरणको लागि, मानौँ तपाईँले कोही भाइबहिनीको चित्त दुखाउनुभयो। हुन सक्छ तपाईँले रिसको झोकमा तिनलाई चाहिने नचाहिने कुरा भन्‍नुभयो। यस्तो बेला एल्डरकहाँ जानुको साटो येसुको सल्लाह लागू गर्दै ती भाइबहिनीकहाँ गएर शान्ति कायम गर्नु राम्रो हुन्छ। (मत्ति ५:२३, २४) तपाईँ कोमलता, धीरज अनि आत्मसंयमजस्ता गुणहरूबारे अध्ययन गर्न सक्नुहुन्छ। यसो गर्दा भविष्यमा यी गुणहरू अझ राम्ररी देखाउन सक्नुहुनेछ। तर समस्या समाधान भएन भने तपाईँ पक्कै एल्डरहरूको मदत माग्न सक्नुहुन्छ। इयोदिया र सिन्तकेबीच मतभेद हुँदा तिनीहरूलाई मदत गर्न पावलले एक जना भाइलाई आग्रह गरे। आज पनि एल्डरहरूले तपाईँलाई त्यसरी नै मदत गर्न सक्छन्‌।—फिलि. ४:२, ३.

हामीले किन एल्डरहरूलाई बोलाउनुपर्छ?

९. हामीले एल्डरहरूसित मदत माग्न किन हिचकिचाउनु हुँदैन? (हितोपदेश २८:१३)

९ गम्भीर पाप गर्दा वा कुइच्छाहरूविरुद्ध लड्‌न गाह्रो हुँदा एल्डरहरूसित मदत माग्न हामीलाई विश्‍वास र साहस चाहिन्छ। एल्डरहरूले मबारे के सोच्लान्‌ भनेर तिनीहरूसित मदत माग्न नहिचकिचाउनुहोस्‌। किन? किनभने हामीलाई आध्यात्मिक रूपमा बलियो र स्वस्थ राख्न यहोवाले नै एल्डरहरूको प्रबन्ध गर्नुभएको हो। त्यसैले एल्डरहरूसित मदत माग्दा हामी यहोवामा भरोसा गर्छौँ अनि उहाँप्रति आज्ञाकारी छौँ भनेर देखाइरहेका हुन्छौँ। जे सही छ, त्यो गरिरहन यहोवाको मदत चाहिन्छ भनेर हामीलाई थाह छ। (भज. ९४:१८) हामीले पाप गरे तापनि पश्‍चात्ताप गऱ्‍यौँ र गलत काम गर्न छोड्यौँ भने यहोवाले हामीलाई कृपा देखाउनुहुनेछ।—हितोपदेश २८:१३ पढ्‌नुहोस्‌।

१०. हामीले आफ्नो पाप लुकाउन खोज्यौँ भने के हुन सक्छ?

१० हामीले एल्डरहरूलाई आफूले गरेको पापबारे बतायौँ भने यहोवाबाट क्षमा पाउनेछौँ अनि उहाँसितको सम्बन्ध फेरि बलियो बनाउन सक्नेछौँ। तर आफ्नो पाप लुकाउन खोज्यौँ भने हामीले दुःखदायी नतिजा भोग्नुपर्ने हुन सक्छ। एकचोटि राजा दाउदले पनि आफ्नो पाप लुकाउन खोजेका थिए। तर त्यसो गर्दा तिनलाई आध्यात्मिक, भावनात्मक अनि शारीरिक रूपमा निकै गाह्रो भएको थियो। (भज. ३२:३-५) बिरामी पर्दा वा चोटपटक लाग्दा उपचार गरेनौँ भने पछि झनै गाह्रो हुन सक्छ। त्यसरी नै गम्भीर पाप गर्दा एल्डरहरूसित मदत माग्न ढिलासुस्ती गऱ्‍यौँ भने यहोवासितको सम्बन्ध नै बिग्रन सक्छ। यहोवा त्यसो भएको चाहनुहुन्‍न। त्यसैले उहाँले हामीलाई एल्डरहरूको मदत स्विकारेर उहाँसितको ‘मामिला सुल्झाउन’ आग्रह गर्नुभएको छ।—यसै. १:५, ६, १८.

११. गम्भीर पाप लुकायौँ भने के हुन सक्छ?

११ हामीले आफूले गरेको गम्भीर पाप लुकायौँ भने यसले अरूलाई पनि नराम्रो असर पुऱ्‍याउन सक्छ। यसो गऱ्‍यौँ भने पवित्र शक्‍तिले मण्डलीमा राम्रोसित काम गर्न सक्दैन अनि भाइबहिनीबीचको शान्ति र एकता पनि खतरामा पर्न सक्छ। (एफि. ४:३०) अर्कोतर्फ मण्डलीमा कसैले गम्भीर पाप गरेको थाह पायौँ भने हामीले तिनलाई एल्डरहरूकहाँ गएर त्यसबारे कुरा गर्न भन्‍नुपर्छ। तर केही समय बितिसक्दा पनि तिनी गएनन्‌ भने हामी आफैले एल्डरहरूलाई त्यो कुरा बताउनुपर्छ। किनकि अरूको पाप लुकाउनु भनेको पनि पाप गर्नुसरह नै हो। (लेवी ५:१) यहोवाप्रतिको प्रेम अनि वफादारीले हामीलाई आफै अग्रसर भएर सत्य कुरा बोल्न उत्प्रेरित गर्छ। यसो गऱ्‍यौँ भने मण्डली स्वच्छ रहन्छ अनि गल्ती गर्ने व्यक्‍तिले पनि यहोवासितको सम्बन्ध फेरि सुधार्न सक्छन्‌।

एल्डरहरू हामीलाई कसरी मदत गर्छन्‌?

१२. एल्डरहरू आध्यात्मिक रूपमा कमजोर भएकाहरूलाई कसरी मदत दिन्छन्‌?

१२ आध्यात्मिक रूपमा कमजोर भएकाहरूलाई मदत गर्न बाइबलले एल्डरहरूलाई निर्देशन दिएको छ। (१ थिस्स. ५:१४) तपाईँले गल्ती गर्नुभएको छ भने तपाईँको भित्री सोचाइ अनि भावना ‘तानेर निकाल्न’ एल्डरहरूले तपाईँलाई केही प्रश्‍न सोध्न सक्छन्‌। (हितो. २०:५) हुनत तपाईँलाई आफ्नो पृष्ठभूमि वा व्यक्‍तित्वले गर्दा अथवा आफूले गरेको पापको कारण लज्जित महसुस भएकोले एल्डरहरूसित कुरा गर्न अप्ठ्यारो लाग्न सक्छ। तर आफ्नो कुरा खुलेर बताउनुभयो भने एल्डरहरूले तपाईँलाई राम्ररी मदत दिन सक्नेछन्‌। एल्डरहरूसित कुरा गर्दा ‘आफ्नो बोली सम्हाल्न नसकिएला’ अनि बोल्न नहुने कुरा पनि बोलिएला भनेर चिन्ता नगर्नुहोस्‌। (अय्यु. ६:३) एल्डरहरू तुरुन्तै कुनै निष्कर्ष निकाल्दैनन्‌। बरु तपाईँको कुरा ध्यान दिएर सुनेपछि र सबै सत्यतथ्य राम्ररी बुझेपछि मात्र सल्लाह दिन्छन्‌। (हितो. १८:१३) एल्डरहरू बगालको राम्ररी हेरविचार गर्न चाहन्छन्‌। त्यसैले तिनीहरू पर्याप्त समय दिन्छन्‌; एउटै भेटमा सबै कुरा सल्टाउन खोज्दैनन्‌।

१३. एल्डरहरूले हाम्रो लागि प्रार्थना गर्दा अनि बाइबलबाट सल्लाह दिँदा हामीलाई कस्तो लाभ हुन्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१३ तपाईँ एल्डरहरूकहाँ कुरा गर्न जानुहुँदा तिनीहरू तपाईँको घाउमा नुनचुक छर्कने काम गर्दैनन्‌। बरु तिनीहरू तपाईँको लागि प्रार्थना गर्छन्‌। यस्तो प्रार्थनाले साँच्चै “ठूलो काम” गर्छ। तपाईँले सोच्दै नसोचेको तरिकामा बल अनि सान्त्वना पाएको महसुस गर्नुहुनेछ। साथै एल्डरहरूले तपाईँलाई ‘यहोवा परमेश्‍वरको नाममा तेल घसिदिनेछन्‌।’ (याकु. ५:१४-१६) यहाँ “तेल”-ले परमेश्‍वरको वचनमा पाइने सत्य कुरालाई बुझाउँछ। एल्डरहरूले तपाईँसित बाइबल पदहरू चलाउँदै कुराकानी गर्नेछन्‌, जसले गर्दा तपाईँले हलुका महसुस गर्नुहुनेछ, सान्त्वना पाउनुहुनेछ र यहोवासितको सम्बन्ध फेरि बलियो बनाउन सक्नुहुनेछ। (यसै. ५७:१८) तिनीहरूले बाइबलबाट दिने सल्लाहले तपाईँलाई जे सही छ, त्यो गर्न बल दिनेछ। यहोवाले तिनीहरूमार्फत तपाईँलाई यसो भनिरहनुभएको हुनेछ: “बाटो यही हो। यसैमा हिँड।”—यसै. ३०:२१.

चित्रहरूको सँगालो: १. अगाडिको चित्रका डाक्टर ती पुरुषको कुम जाँच्दै छन्‌। भित्तामा ती पुरुषको कुमको एक्सरे राखिएको छ। २. अगाडिको चित्रका एल्डर र अर्का एल्डर ती भाइको घरमा गएर तिनलाई बाइबलबाट प्रोत्साहन दिँदै छन्‌। ती भाइ खुसी भएर एल्डरहरूको कुरा सुन्दै छन्‌।

एल्डरहरूले आध्यात्मिक रूपमा बिरामी परेकाहरूलाई बाइबलबाट सान्त्वना दिन्छन्‌ (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)


१४. “गलत कदम” चालेको व्यक्‍तिलाई एल्डरहरू कसरी मदत गर्छन्‌? (गलाती ६:१) (चित्रहरू पनि हेर्नुहोस्‌।)

१४ गलाती ६:१ पढ्‌नुहोस्‌। “गलत कदम” चाल्ने ख्रिष्टियन यहोवाको धार्मिक स्तरबमोजिम चलिरहेका हुँदैनन्‌। तिनले कुनै गलत निर्णय गरेका हुन सक्छन्‌ वा गम्भीर पाप गरेका हुन सक्छन्‌। एल्डरहरू बगाललाई प्रेम गर्छन्‌। त्यसैले “कोमलताको भावले यस्तो मानिसलाई सच्याउने” कोसिस गर्छन्‌। यहाँ ‘सच्याउनु’ भनी अनुवाद गरिएको ग्रीक शब्दले भाँचिएको हड्डीलाई फेरि जोड्‌नु भन्‍ने अर्थ पनि दिन्छ। एक जना अनुभवी डाक्टरले हड्डी भाँचिएको व्यक्‍तिलाई धेरै पीडा नहुने तरिकामा तिनको उपचार गर्छन्‌। त्यसैगरि एल्डरहरू पनि आध्यात्मिक रूपमा घाइते भएको व्यक्‍तिलाई मदत दिँदा तिनको पीडामाथि पीडा थप्दैनन्‌। साथै एल्डरहरूलाई “आफू पनि परीक्षामा नपर्न होसियार होओ” भन्‍ने सल्लाह दिइएको छ। त्यसैले हामीलाई आध्यात्मिक रूपमा मदत गर्दा एल्डरहरू आफू पनि त्रुटिपूर्ण छु र आफूबाट पनि गल्ती हुन सक्छ भन्‍ने कुरा सम्झन्छन्‌। तिनीहरू आफूलाई श्रेष्ठ ठान्दैनन्‌ वा आफूलाई बढ्‌तै धर्मी देखाउन खोज्दैनन्‌। बरु नम्र हुँदै हाम्रो पीडा महसुस गर्ने प्रयास गर्छन्‌।—१ पत्रु. ३:८.

१५. कुनै समस्या आइपर्दा हामी के गर्न सक्छौँ?

१५ हामी मण्डलीका एल्डरहरूलाई भरोसा गर्न सक्छौँ। तिनीहरूले गोपनीयता कायम गर्ने, आफ्नै विचारमा नभई बाइबलमा आधारित सल्लाह दिने अनि हामीलाई आफ्नो बोझ बोक्न मदत दिने तालिम पाएका हुन्छन्‌। (हितो. ११:१३; गला. ६:२) हुनत तिनीहरूको अनुभव र व्यक्‍तित्व फरक-फरक होला तर हामी कुनै पनि एल्डरसित खुलेर आफ्नो समस्याबारे कुराकानी गर्न सक्छौँ। तर कसैले आफूले सुन्‍न चाहेको कुरा बताउलान्‌ भन्‍ने आशाले हामीले सबै एल्डरलाई आफ्नो समस्याबारे बताउँदै हिँड्‌नु हुँदैन। यसो गऱ्‍यौँ भने हामी त्यस्ता व्यक्‍तिहरूजस्तो भइरहेका हुन्छौँ, जसले “साँचो शिक्षालाई तिरस्कार” गर्छन्‌ र “आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र” सुन्छन्‌। (२ तिमो. ४:३) कुनै एल्डरलाई आफ्नो समस्याबारे बताउनुहुँदा तिनले तपाईँलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌: ‘तपाईँले यसबारे अरू एल्डरहरूसित पनि कुरा गर्नुभयो कि? उहाँहरूले तपाईँलाई कस्तो सुझाव दिनुभयो?’ अनि तिनले आफ्नो सीमितता स्विकार्दै अर्को कुनै एल्डरसित पनि सल्लाह गर्न सक्छन्‌।—हितो. १३:१०.

हाम्रो दायित्व

१६. हामी सबैको दायित्व के हो?

१६ हुनत एल्डरहरू परमेश्‍वरको बगालमाथि निगरानी गर्छन्‌ तर तिनीहरू हामीलाई ‘यसो गर उसो गर’ भन्दैनन्‌। परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउनु हाम्रो आफ्नै दायित्व हो। हामी आफ्नो बोली र कामको लागि परमेश्‍वरसामु जबाफदेही छौँ। परमेश्‍वरको मदत पाएर हामी बुद्धिमानी निर्णय गर्न र उहाँप्रति वफादार रहन सक्छौँ। (रोमी १४:१२) त्यसैले एल्डरहरू हामीलाई ‘यसो गर उसो गर’ भन्दैनन्‌। बरु बाइबल प्रयोग गर्दै परमेश्‍वरको सोचाइ बुझ्न मदत गर्छन्‌। त्यस्ता बाइबलआधारित सल्लाह सुन्यौँ भने हामीले “सोच्ने-बुझ्ने क्षमता”-लाई तालिम दिन सक्नेछौँ र बुद्धिमानी निर्णय गर्न सक्नेछौँ।—हिब्रू ५:१४.

१७. तपाईँले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१७ यहोवाको बगालको भाग हुन पाउनु साँच्चै ठूलो सुअवसर हो। यहोवाले हाम्रो लागि “असल गोठालो” येसुलाई पठाउनुभयो। (युह. १०:११) येसुले फिरौतीको बलिदान दिनुभएकोले हामीले अनन्त जीवनको आशा पाएका छौँ अनि यहोवाले मण्डलीमा एल्डरहरू दिनुभएर आफ्नो यो प्रतिज्ञा पूरा गर्नुभएको छ: “म तिमीहरूलाई मेरो मनले रुचाएका गोठालाहरू दिनेछु र तिनीहरूले तिमीहरूलाई ज्ञान र अन्तर्दृष्टि दिनेछन्‌।” (यर्मि. ३:१५) त्यसैले आध्यात्मिक रूपमा कमजोर हुँदा वा बिरामी पर्दा मदतको लागि एल्डरहरूलाई बोलाउन नहिचकिचाउनुहोस्‌। बरु यस प्रबन्धबाट पूरापूर लाभ उठाउने सङ्‌कल्प गर्नुहोस्‌।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले कहिले ‘एल्डरहरूलाई बोलाउनुपर्छ’?

  • हामीले किन एल्डरहरूलाई बोलाउनुपर्छ?

  • एल्डरहरू हामीलाई कसरी मदत गर्छन्‌?

गीत ३१ परमेश्‍वरसित हिँडौँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने