युद्ध र हिंसाले हामी सबैलाई कसरी असर पुऱ्याएको छ?
“दोस्रो विश्वयुद्धदेखि यता सबैभन्दा धेरै कलह अनि युद्ध अहिलेको समयमा नै भइरहेको छ। यी युद्धहरूबाट विश्व जनसङ्ख्याकै एक चौथाइ अर्थात् दुई अरब मानिसहरू प्रभावित छन्।”
संयुक्त राष्ट्र सङ्घका उप-महासचिव, अमिना जे. मोहम्मद, जनवरी २६, २०२३
हामीले सोच्दै नसोचेको ठाउँमा समेत अचानक युद्ध वा हिंसा मच्चिन सक्छ। युद्ध भइरहेको ठाउँबाट टाढा बसिरहेकाहरूलाई पनि यसले कुनै न कुनै तरिकामा असर पुऱ्याइरहेको हुन्छ। साथै युद्ध सिद्धिए पनि यसले पुऱ्याउने क्षति भने लामो समयसम्म रहिरहन्छ। यसको केही उदाहरण विचार गरौँ:
खानेकुराको अभाव। विश्व खाद्य कार्यक्रमअनुसार “भोकमरीको एउटा प्रमुख कारण राष्ट्रहरूबीचको विवाद हो। भोकमरीको चपेटामा परेका ७० प्रतिशत मानिसहरू युद्ध अनि दङ्गाफसादले असर गरेका ठाउँहरूमा बस्छन्।”
शारीरिक र मानसिक स्वास्थ्य समस्या। युद्धको त्रासले गर्दा मानिसहरूलाई अचाक्ली चिन्ता र तनाव हुने गर्छ। अनि युद्धग्रस्त क्षेत्रमा बसोबास गर्नेहरूलाई भने गम्भीर चोटपटक लाग्नुका साथै मानसिक तवरमा पनि ठूलो असर पुग्छ। त्यसमाथि औषधी-उपचार पाउन पनि कठिन हुन्छ।
घरबार छोड्न बाध्य। शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तअनुसार सेप्टेम्बर २०२३ सम्ममा विश्वभरि ११ करोड ४० लाख मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्। मानिसहरूको यस्तो दयनीय अवस्थाको मुख्य कारण युद्ध र हिंसा नै हो।
आर्थिक कठिनाइ। युद्धले गर्दा मानिसहरूले चर्को महङ्गीजस्ता आर्थिक कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ। साथै सरकारहरूले शिक्षा र स्वास्थ्य सेवामा प्रयोग गरिने खर्च सैन्य सेवामा लगाउने गर्छन्, जसले गर्दा मानिसहरू थप मारमा पर्छन्। युद्ध सिद्धिएपछि क्षतिग्रस्त ठाउँहरूमा पुनर्निर्माणको काम गर्न पनि ठूलो रकम खर्च हुन्छ।
वातावरणीय समस्याहरू। युद्धको कारण हावा, पानी र माटोजस्ता प्राकृतिक स्रोतहरू दूषित हुन्छन्। यसले गर्दा मानिसहरूमा दीर्घकालीन स्वास्थ्य समस्याहरू देखा पर्न सक्छ। युद्धको दौडान जमिनमुनि विष्फोटक पदार्थहरू बिछ्याइने गरिन्छ अनि युद्धपछि पनि त्यस्ता विष्फोटक पदार्थहरूले गर्दा मानिसहरू गम्भीर घाइते हुन सक्छन् वा तिनीहरूको ज्यानै जान सक्छ।
हो, युद्ध विनाशकारी हुन्छ र यसले आर्थिक सङ्कट निम्त्याउँछ।