प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 जुलाई pp. २६-३०
  • “लडाइँ यहोवा परमेश्‍वरकै हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “लडाइँ यहोवा परमेश्‍वरकै हो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरा जोसिला आमाबुबाको प्रभाव
  • मुख्यालयमा मेरो सेवाको सुरुवात
  • कानुन विभागको सेवा
  • सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दै
  • धन्यवाद छ यहोवा!
  • धार्मिक स्वतन्त्रताको निम्ति सङ्‌घर्ष गर्दै
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिनीहरू परमेश्‍वरको राज्यलाई मात्रै वफादार भई समर्थन गर्छन्‌
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 जुलाई pp. २६-३०
फिलिप ब्रम्ले।

जीवनी

“लडाइँ यहोवा परमेश्‍वरकै हो”

फिलिप ब्रम्लेको वृत्तान्तमा आधारित

जनवरी २८, २०१० को कुरा हो। त्यो दिन एकदमै जाडो थियो। म फ्रान्सको रमणीय सहर स्ट्रासबर्गमा थिएँ। तर म त्यहाँ घुम्न गएको थिइनँ। मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा (ECHR) यहोवाका साक्षीहरूको तर्फबाट मुद्दा लड्‌न एउटा टोली त्यहाँ गएको थियो र म पनि त्यही टोलीको एक जना सदस्य थिएँ। फ्रान्स सरकारले त्यहाँका यहोवाका साक्षीहरूलाई ८ करोड ९० लाख अमेरिकी डलरबराबरको कर तिर्न आदेश दिएको थियो। हामी यो मुद्दा लड्‌न त्यहाँ गएका थियौँ तर कुरा पैसाको मात्र थिएन। बरु हामीले यो मुद्दा जितेको खण्डमा यहोवाको महिमा हुने थियो, उहाँका जनहरूले कमाएको राम्रो नाममा कुनै आँच आउने थिएन अनि तिनीहरूले स्वतन्त्र भई उहाँको उपासना गरिरहन सक्ने थिए। अदालतमा हाम्रो मुद्दाको सुनुवाइ हुँदा “लडाइँ यहोवा परमेश्‍वरकै हो” भनेर साबित भयो। (१ समु. १७:४७) वास्तवमा के भएको थियो, म तपाईँहरूलाई बताउँछु।

सन्‌ १९९९ मा फ्रान्स सरकारले हामीले अनुदानस्वरूप पाएको रकममा कर लगाउने निर्णय गऱ्‍यो। त्यसैले फ्रान्स शाखालाई १९९३ देखि १९९६ बीच पाएको अनुदानमा लागेको कर सरकारलाई बुझाउन आदेश दिइयो। हामीले फ्रान्सका अदालतहरूमा मुद्दा दायर गऱ्‍यौँ। तर हाम्रो निष्पक्ष सुनुवाइ भएन। हामीले पुनरावेदन अदालतमा पनि मुद्दा हाल्यौँ। त्यसपछि सरकारले फ्रान्स शाखाको बैङ्‌क खाताबाट ६३ लाख अमेरिकी डलरबराबरको रकम जफत गऱ्‍यो। अब हामीसित भएको एउटै मात्र उपाय भनेको युरोपेली अदालतलाई गुहार्नु नै थियो। हाम्रो मुद्दाको सुनुवाइ हुनुअघि युरोपेली अदालतका एक जना प्रतिनिधिसँगै फ्रान्सका सरकारी वकिलहरूलाई भेट्‌न अनि कुनै सहमतिमा आउन सकिन्छ कि भनेर विचार गर्न आदेश दिइयो।

युरोपेली अदालतको प्रतिनिधिले हामीलाई फ्रान्स सरकारलाई केही रकम तिरेर सहमतिमा आउन दबाब दिनेछिन्‌ भनेर अनुमान गरेका थियौँ। तर हामी एक पैसा तिर्न पनि तयार थिएनौँ किनभने त्यसो गरेको खण्डमा हामीले बाइबलको सिद्धान्त उल्लङ्‌घन गरिरहेका हुने थियौँ। भाइबहिनीले त्यो अनुदान राज्य गतिविधिलाई अघि बढाउन दिएका थिए। त्यसैले सरकारलाई त्यो बुझाउने कुरै थिएन। (मत्ति २२:२१) तैपनि युरोपेली अदालतको नियमअनुसारै हामी सरकारी वकिलहरूलाई भेट्‌न तयार भयौँ।

सन्‌ २०१० मा युरोपेली अदालतअगाडि

हामीले तिनीहरूलाई युरोपेली अदालतकै एउटा भव्य कन्फरेन्स रुममा भेट्यौँ। तर कुराकानी हाम्रो पक्षमा अघि बढिरहेको थिएन। युरोपेली अदालतको प्रतिनिधिले सुरुमै हामीमाथि लगाइएको करको केही अंश भए पनि तिर्नै पर्ने कुरा बताइन्‌। त्यो सुनेपछि पवित्र शक्‍तिले हामीलाई यस्तो प्रश्‍न सोध्न झकझकायो: “सरकारले हाम्रो खाताबाट ६३ लाख अमेरिकी डलर जफत गरिसकेको छ भनेर तपाईँलाई थाह त छ?”

तिनलाई यो थाह थिएन भन्‍ने कुरा तिनको अनुहारमै देखिन्थ्यो। त्यहाँ उपस्थित सरकारी वकिलहरूले पैसा जफत गरिसकेको कुरा स्विकारेपछि तिनको सोचाइ पूरै परिवर्तन भयो। तिनले ती वकिलहरूलाई गाली गरिन्‌ अनि त्यत्तिकैमा मिटिङ टुङ्‌ग्याइन्‌। यहोवाले हामीले आशै नगरेको तरिकामा परिस्थिति उल्ट्याइदिनुभयो। हाम्रो मुद्दाले यस्तो मोड लिएको देख्दा हामी छक्क पऱ्‍यौँ तर हामी असाध्यै खुसी पनि थियौँ।

जून ३०, २०११ मा युरोपेली अदालतले हाम्रो पक्षमा सर्वसम्मत फैसला सुनायो। अदालतले कर रद्द गर्ने अनि सरकारले जफत गरेको सबै रकम ब्याजसहित फिर्ता गर्ने आदेश दियो। त्यतिबेला गरिएको त्यो ऐतिहासिक निर्णयले फ्रान्समा अहिले पनि हाम्रो शुद्ध उपासनालाई सुरक्षा दिइरहेको छ। हामीले एक्कासि सोधेको त्यो प्रश्‍न दाउदले गोल्यतलाई हिर्काएको ढुङ्‌गाजस्तै साबित भयो। त्यसले मुद्दालाई अर्कै मोड दियो। हाम्रो जितको श्रेय कसलाई जान्छ? यहोवालाई जान्छ किनभने दाउदले गोल्यतलाई भनेझैँ “लडाइँ यहोवा परमेश्‍वरकै हो।”—१ समु. १७:४५-४७.

हामीले जित हासिल गरेको यो एक पटक मात्र होइन। विभिन्‍न शक्‍तिशाली सरकार अनि धार्मिक विरोधको बाबजुद हामीले थुप्रै मुद्दाहरू जितेका छौँ। अहिलेसम्म ७० वटा देशका सर्वोच्च अदालतहरू र अरू अन्तरराष्ट्रिय अदालतहरूले हाम्रो पक्षमा १,२२५ वटा फैसला सुनाएको छ। यी कानुनी जितहरूले गर्दा हाम्रो आधारभूत अधिकार सुनिश्‍चित भएको छ। जस्तै: हामीले धार्मिक समूहको रूपमा कानुनी मान्यता पाएका छौँ, साक्षीकार्यमा भाग लिन पाएका छौँ अनि देशभक्‍ति झल्किने गतिविधिमा भाग नलिने र रगत अस्वीकार गर्ने अधिकार पाएका छौँ।

हुनत म अमेरिकामा भएको विश्‍व मुख्यालयमा सेवा गर्छु। तर म युरोपको यो मुद्दा लड्‌ने टोलीमा कसरी सामेल भएँ?

मेरा जोसिला आमाबुबाको प्रभाव

मेरो बुबा जर्ज र आमा लुसिल गिलियडको १२ औँ कक्षाबाट स्नातक हुनुभयो। अनि उहाँहरूलाई इथियोपियामा सेवा गर्न खटाइयो। उहाँहरू त्यहीँ छँदा १९५६ मा म जन्मिएँ। उहाँहरूले प्रथम शताब्दीको प्रचारक फिलिपबाटै मेरो नाम राख्नुभयो। (प्रेषि. २१:८) सन्‌ १९५७ मा सरकारले हाम्रो काममा प्रतिबन्ध लगायो। हुनत म त्यतिबेला सानै थिएँ। तर हाम्रो परिवारले लुकीछिपी यहोवाको उपासना गरेको मलाई अझै याद छ। सानो भएकोले होला, त्यसरी उपासना गर्न रमाइलो लाग्थ्यो। तर १९६० मा हामीलाई देशनिकाला गरियो।

सन्‌ १९५९ मा नेथन एच. नोर (सबैभन्दा बायाँ) इथियोपियामा हाम्रो परिवारलाई भेट्‌न आउनुहुँदा

त्यसपछि हामी अमेरिकाको क्यान्सस्‌मा बस्न थाल्यौँ। हामी तीन भाइबहिनी थियौँ। मेरो दिदी जुडी र भाइ लेस्लि पनि इथियोपियामै जन्मेका थिए। मेरो आमाबुबाले इथियोपियामा छँदाको आफ्नो मिसनरी जोस कायमै राख्नुभयो। उहाँहरू सत्यलाई निकै प्रेम गर्नुहुन्थ्यो र त्यसैअनुरूप जीवन बिताउनुभयो। उहाँहरूले हामी छोराछोरीलाई पनि त्यसै गर्न सिकाउनुभयो। मैले १३ वर्षको छँदा बप्तिस्मा गरेँ। अनि त्यसको तीन वर्षपछि हाम्रो परिवार आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न पेरूमा सऱ्‍यो।

म १८ वर्षको छँदा १९७४ मा पेरू शाखाले म अनि चार जना भाइहरूलाई विशेष अग्रगामीको रूपमा खटायो। हामीले एन्डिज पर्वतमालाको इलाकामा प्रचार गर्नुपर्ने थियो, जहाँ पहिला कहिल्यै राज्य सन्देश सुनाइएको थिएन। हामीले त्यहाँको केचुवा अनि आएमारा भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्नुपर्ने थियो। हाम्रो घर भनेकै हाम्रो गाडी थियो। त्यो ठूलो बाकसजस्तो देखिन्थ्यो। त्यसैले हामी मायाले त्यसलाई “नुहको जहाज” भन्थ्यौँ। हामी प्रचार गर्न त्यही गाडीमा जान्थ्यौँ। अब चाँडै यहोवाले गरिबी, रोगबिमार अनि मृत्यु सदाको लागि नामेट पार्नुहुनेछ भनेर हामी मानिसहरूलाई बताउँथ्यौँ। (प्रका. २१:३, ४) धेरैले त्यो सुन्थे पनि! त्यतिबेलाको मीठा सम्झनाहरू अझै पनि मेरो मनमा ताजै छन्‌।

पानीमा गुडिरहेको गाडी।

“नुहको जहाज,” १९७४

मुख्यालयमा मेरो सेवाको सुरुवात

सन्‌ १९७७ मा भाइ अल्बर्ट श्रोडर पेरू आउनुभयो। उहाँ परिचालक निकायको सदस्य हुनुहुन्थ्यो। उहाँले मलाई मुख्यालयमा सेवा गर्नको लागि आवेदन भर्न प्रोत्साहन दिनुभयो। मैले तुरुन्तै उहाँले भन्‍नुभएझैँ गरेँ। त्यसको केही समयपछि नै जून १७, १९७७ देखि ब्रुक्लिन बेथेलमा सेवा गर्न थालेँ। सुरुको चार वर्ष मैले सरसफाइ र मर्मतसम्भार विभागमा सेवा गरेँ।

हाम्रो विवाहको दिन, १९७९

जून १९७८ मा मैले न्यु ओर्लिन्समा भएको अन्तरराष्ट्रिय अधिवेशनमा एलिजाबेथ एभालोनलाई भेटेँ। तिनले नियमित अग्रगामी सुरु गरेको चार वर्ष भइसकेको थियो। तिनी पूर्ण-समय सेवाको निकै मोल गर्थिन्‌। तिनले त्यसरी सत्यलाई प्रेम गर्न आफ्नो आमाबुबाबाट सिकेकी थिइन्‌। हामीले एकअर्कासित चिनजान गर्न थाल्यौँ र हाम्रो माया बसिहाल्यो। अक्टोबर २०, १९७९ मा हामीले विवाह गऱ्‍यौँ र दम्पतीको रूपमा बेथेल सेवा सुरु गऱ्‍यौँ।

विवाहपछिको हाम्रो पहिलो मण्डली ब्रुक्लिनको स्पेनिश मण्डली थियो। त्यहाँका भाइबहिनीहरू एकदमै मायालु हुनुहुन्थ्यो। त्यसपछिका वर्षहरूमा हामीले तीन वटा अरू मण्डलीहरूमा पनि सेवा गऱ्‍यौँ। त्यहाँका भाइबहिनीले पनि हामीलाई न्यानो स्वागत गर्नुभयो र हाम्रो बेथेल सेवालाई विभिन्‍न तरिकामा सघाउनुभयो। ती मण्डलीका भाइबहिनी, साथीहरू अनि परिवारप्रति हामी निकै आभारी छौँ। किनकि उहाँहरूले हाम्रो आमाबुबा वृद्ध हुनुहुँदा उहाँहरूको ख्याल राख्न हामीलाई मदत गर्नुभयो।

फिलिप अरू बेथेल सेवकहरूसित मण्डलीको सभामा।

ब्रुक्लिनको स्पेनिश मण्डलीका बेथेल सेवकहरू, १९८६

कानुन विभागको सेवा

जनवरी १९८२ मा मलाई कानुन विभागमा सेवा गर्न खटाइयो। मलाई त अचम्मै लाग्यो! त्यसको तीन वर्षपछि मलाई विश्‍वविद्यालयमा गएर कानुन विषय पढ्‌न अनि वकिलको डिग्री हासिल गर्न भनियो। हामीले अमेरिका अनि अरू देशहरूमा पाइरहेका कतिपय आधारभूत अधिकारहरूको मानिसहरू खासै मोल गर्दैनन्‌। तर मैले विश्‍वविद्यालयमा पढ्‌दा के थाह पाएँ भने तीमध्ये कतिपय अधिकारहरू त यहोवाका साक्षीहरूले जितेको मुद्दाले गर्दा सुनिश्‍चित भएका रहेछन्‌। हामी कक्षामा ती मुद्दाहरूबारे विस्तृत तवरमा अध्ययन गर्थ्यौँ।

सन्‌ १९८६ मा म ३० वर्षको छँदा मलाई कानुन विभागको निरीक्षक नियुक्‍त गरियो। यो सुअवसर पाउँदा म खुसी भएँ। तर त्यतिबेला म जवानै थिएँ र यो असाइनमेन्ट पूरा गर्न मैले के-के गर्नुपर्ने हो, त्यो बुझेको थिइनँ। त्यसैले म निकै आत्तिएँ पनि!

सन्‌ १९८८ मा म लाइसेन्सप्राप्त वकिल भएँ। तर यसले मेरो आध्यात्मिकतालाई कुन हदसम्म असर गरेको थियो भनेर मैले चालै पाएको थिइनँ। उच्च शिक्षा हासिल गरेपछि मानिस घमन्डी हुन्छ र आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍न थाल्छ। म पनि त्यस्तै हुन थालेँ। त्यतिबेला मलाई एलिजाबेथले पहिलाको जस्तै आध्यात्मिक तालिकामा फर्कन निकै मदत गरिन्‌। हुनत समय लाग्यो तर म फेरि यहोवासित नजिक हुन थालेँ। म आफ्नै अनुभवबाट यो कुरा भन्‍न सक्छु: सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कुनै विषयबारे धेरै ज्ञान हासिल गर्नु होइन। बरु यहोवासित नजिक हुनु अनि उहाँ र उहाँका मानिसहरूलाई गहिरो प्रेम गर्नु हो।

सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दै

विश्‍वविद्यालयको पढाइ सिद्धिएपछि मैले बेथेलको कानुन विभागको काममा अनि हाम्रो प्रचार गर्ने अधिकारलाई कसरी सुनिश्‍चित गर्न सकिन्छ भन्‍ने कुरामा ध्यान दिन थालेँ। मेरो काम एकदमै रमाइलो तर चुनौतीपूर्ण पनि थियो। किनभने हाम्रो सङ्‌गठन एकदमै तीव्र गतिमा अघि बढिरहेको थियो। पहिला-पहिला हामी मानिसहरूलाई साहित्य दिएपछि त्यसको शुल्क लिने गर्थ्यौँ। तर पछि त्यसो नगर्ने निर्णय गरियो। त्यसको लागि के-के गर्नुपर्छ भनेर अनुसन्धान गर्न १९९० तिर कानुन विभागलाई भनियो। त्यसपछि भने साहित्यहरूको शुल्क नलिन निर्देशन दिइयो। यसले गर्दा बेथेलमा अनि क्षेत्रमा हाम्रो काम सजिलो भएको छ। अनि अहिलेसम्म पनि करको झमेलाविना काम अघि बढाउन सकिएको छ। कसै-कसैलाई अब सङ्‌गठनले कसरी खर्च धान्छ होला र प्रचारकार्यमा कस्तो असर पुग्ला भनेर चिन्ता लागेको थियो। तर त्यसको ठीक उल्टो भयो। सन्‌ १९९० देखि यता यहोवाका उपासकहरूको सङ्‌ख्या दुई गुणाभन्दा धेरैले बढेको छ। अनि मानिसहरूले कुनै शुल्क नतिरी जीवन जोगाउने आध्यात्मिक भोजन प्रचुर मात्रामा पाइरहेका छन्‌। सङ्‌गठनमा भएका ठूलठूला छाँटकाँटहरू सफल भएको मैले आफ्नै आँखाले देखेको छु। तर त्यो यहोवाको मदत अनि विश्‍वासी र बुद्धिमान्‌ दासले दिएको निर्देशनले गर्दा मात्र सम्भव भएको हो।—प्रस्थ. १५:२; मत्ति २४:४५.

हामीसित निपुण वकिलहरू भएकोले मात्र हामीले मुद्दाहरू जितेका होइनौँ। बरु प्रायजसो अवस्थामा यहोवाका जनहरूको असल आचरणले नै महत्त्वपूर्ण भूमिका खेल्छ। जस्तै, १९९८ मा क्युबामा भएका विशेष अधिवेशनहरूमा परिचालक निकायका तीन जना सदस्यहरू र उहाँहरूका पत्नीहरू आउनुभएको थियो। क्युबाका अख्तियारवालाहरूले उहाँहरूको दयालु र आदरपूर्ण व्यवहार याद गरे। हुनत हाम्रो तटस्थताबारे तिनीहरूसित कुरा गरिसकेका थियौँ। तर उहाँहरूलाई भेटेपछि हामी राजनीतिमा भाग लिँदैनौँ भन्‍ने कुरामा तिनीहरू पक्का भए।

तर कहिलेकाहीँ त्यतिले मात्र पुग्दैन। हामीले ‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्न’ मुद्दा नै लड्‌नुपर्ने हुन्छ। (फिलि. १:७) जस्तै, युरोपका १८ हजारजति भाइहरू अनि दक्षिण कोरियाका १९ हजारभन्दा धेरै भाइहरू सैन्य सेवामा भाग लिन इन्कार गरेकोले जेल जानुपरेको थियो। किनकि ती ठाउँहरूमा सैन्य सेवामा भाग लिन इन्कार गर्ने हाम्रो अधिकारलाई वर्षौँसम्म मान्यता दिइएन।

जुलाई ७, २०११ मा बायाटानविरुद्ध आर्मेनिया मुद्दामा युरोपेली अदालतले हाम्रो पक्षमा एउटा ऐतिहासिक निर्णय गऱ्‍यो। त्यो निर्णयले गर्दा युरोपभरिका हाम्रा भाइहरूले वैकल्पिक निजामती सेवा गर्ने अधिकार पाए। यस्तै किसिमको फैसला जून २८, २०१८ मा दक्षिण कोरियाको संवैधानिक अदालतले पनि सुनायो। केही भाइहरूले मात्र सम्झौता गरेको भए पनि हामीले यी जितहरू हासिल गर्न सक्ने थिएनौँ।

विश्‍व मुख्यालय अनि अरू शाखाहरूको कानुन विभाग हाम्रो उपासना गर्ने अनि प्रचार गर्ने अधिकार सुनिश्‍चित गर्न दिनरात नभनी मेहनत गरिरहेका छन्‌। सरकारबाट विरोध भोगिरहेका भाइबहिनीको पक्षमा खडा हुन पाउनु हाम्रो लागि सम्मानको कुरा हो। हामीले मुद्दा जितेनौँ भने पनि येसुले भन्‍नुभएझैँ राज्यपालहरू, राजाहरू र जातिजातिका मानिसहरूलाई साक्षी दिइरहेका हुन्छौँ। (मत्ति १०:१८) हामीले हाम्रा कानुनी कागजातहरूमा उद्धरण गरेका र वकालत गर्दा भनेका बाइबल पदहरू न्यायाधीशहरू, अख्तियारवालाहरू, सञ्चार माध्यम र आम जनताले सुन्छन्‌। अनि नम्र हृदय भएका व्यक्‍तिहरूले यहोवाका साक्षीहरू वास्तवमा को हुन्‌ र तिनीहरूको विश्‍वासको आधार के हो भनेर थाह पाउँछन्‌। तिनीहरूमध्ये कोही-कोही यहोवाको साक्षीसमेत भएका छन्‌।

धन्यवाद छ यहोवा!

गत ४० वर्षको दौडान मैले विभिन्‍न देशमा भएका कानुन विभागहरूसित मिलेर काम गर्ने अनि थुप्रै उच्च अदालत र अख्तियारवालाहरूसामु मुद्दा लड्‌ने मौका पाएको छु। मुख्यालय अनि अरू देशहरूमा कानुन विभागमा सेवा गर्ने भाइबहिनीहरूलाई म निकै प्रेम अनि कदर गर्छु। मैले थुप्रै आशिष्‌हरू पाएको छु र मेरो जीवन अर्थपूर्ण भएको छ।

फिलिप र एलिजाबेथ ब्रम्ले।

हामीले विवाह गरेको ४५ वर्ष भयो। जीवनका उकाली-ओरालीहरूमा एलिजाबेथले मलाई सधैँ वफादार भई साथ दिएकी छिन्‌। तर उनलाई सजिलो छैन; एउटा रोगले उनको शरीर निकै गालेको छ। तैपनि उनी मलाई सधैँ साथ दिन्छिन्‌ र म यसको निकै कदर गर्छु।

हामी आफ्नै क्षमता र बलबर्कतमा जित हासिल गर्न सक्दैनौँ भनेर म आफैले देखेको छु। दाउदले भनेझैँ “यहोवा आफ्ना मानिसहरूको लागि बल हुनुहुन्छ।” (भज. २८:८) म पक्का छु, “लडाइँ यहोवा परमेश्‍वरकै हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने