पाठकहरूको प्रश्न
हितोपदेश ३०:१८, १९ का लेखकले ‘तरुनी केटीसित हुँदा पुरुषको चाल बुझ्नै नसकिने हुन्छ’ भनेर लेखे। तिनले किन त्यस्तो लेखे?
केही बाइबलविद्हरूलगायत अरू थुप्रै मानिस यसको अर्थ के होला भनेर अलमलमा परेका छन्। नयाँ संसार अनुवाद-मा यसलाई यसरी अनुवाद गरिएको छ: “मैले बुझ्नै नसकेका [वा “मलाई साह्रै अचम्म लागेका,” फुटनोट] तीन वटा कुरा छन्; वास्तवमा चार वटा छन्, जुन मैले बुझ्नै सकेको छैनँ: आकाशमा चीलको चाल, पहरामा सर्पको चाल, समुद्रमा जहाजको चाल अनि तरुनी केटीसित हुँदा पुरुषको चाल।”—हितो. ३०:१८, १९.
पहिला हामीले “तरुनी केटीसित हुँदा पुरुषको चाल” भन्ने अभिव्यक्तिले नराम्रो कुरालाई बुझाउँछ भनेर सोचेका थियौँ। किन? यस पदको प्रसङ्गमा कहिल्यै “भो! पुग्यो” नभन्ने केही नराम्रा कुराहरूबारे उल्लेख गरिएको छ। (हितो. ३०:१५, १६) अनि पद २० मा “परपुरुषसित लाग्ने स्त्री”-बारे उल्लेख गरिएको छ, जसले आफूले कुनै गल्ती नगरेको दाबी गर्छे। यस्तो प्रसङ्गलाई आधार बनाएर हामीले यस्तो तर्क गर्दै आएका थियौँ: आकाशमा उड्ने चील, पहरामा घस्रने सर्प वा समुद्रमा चल्ने जहाजले आफ्नो पछाडि कुनै निसानी नछोडेझैँ एक जना पुरुषले पनि आफूले गरेको कामको कुनै निसानी छोड्दैन। अनि यही तर्कको आधारमा “तरुनी केटीसित हुँदा पुरुषको चाल” भन्ने अभिव्यक्तिले नराम्रो कुरालाई बुझाउँछ भनेर हामीले सोचेका थियौँ। अर्थात्, एक जना फटाहा केटोले एउटी सोझी केटीलाई फकाइफुस्ल्याइ आफ्नो माया जालमा पार्छ र ऊसित अवैध यौनसम्बन्ध राख्छ।
तर यी अभिव्यक्तिहरूले राम्रो कुरालाई बुझाउँछ भन्न सकिने आधार छ। वास्तवमा लेखकले आफूलाई एकदमै अचम्म वा अद्भुत लागेका कुराहरूबारे उल्लेख गर्दै थिए।
यी अभिव्यक्तिहरूले राम्रो कुरालाई बुझाउँछ भन्ने तर्कलाई हिब्रू पाण्डुलिपिहरूले पनि समर्थन गर्छ। एउटा शब्दकोशअनुसारa हितोपदेश ३०:१८ मा “मैले बुझ्नै नसकेका” भनेर अनुवाद गरिएको हिब्रू शब्द “एकदमै अचम्मलाग्दो, अद्भुत वा असम्भव” कुरालाई बुझाउन प्रयोग गरिन्थ्यो।
अमेरिकाको हारवर्ड विश्वविद्यालयका एक प्राध्यापक क्रफोर्ड एच. टोएले पनि हितोपदेश ३०:१९ मा चलाइएका अभिव्यक्तिहरूले नराम्रो कुरालाई बुझाएको होइन भनेर बताए। तिनले यसो भने: “वास्तवमा लेखकले यी कुराहरू कत्ति अद्भुत छन् भनेर बताउन खोज्दै थिए।”
स्पष्ट छ, हितोपदेश ३०:१८, १९ मा साँच्चै अद्भुत र बुझ्नै नसकिने कुराहरूबारे वर्णन गरिएको हो। ती बाइबल लेखकलाई जस्तै हामीलाई पनि यस पदमा उल्लेख गरिएका कुराहरू देख्दा अचम्म लाग्छ। जस्तै, चील खुला आकाशमा माथि-माथिसम्म उडिरहेको, हातखुट्टा नभएको सर्प पहराबाट सुलुल्ल झरिरहेको, टनाटन सामान बोकेको मालवाहक जहाज समुद्रमा मजाले तैरिरहेको अनि एक जना केटा र केटी एकअर्काको मायामा परेर हाँसीखुसी जीवन बिताइरहेको। यी सबै साँच्चै अद्भुत कुराहरू हुन्।
a Theological Lexicon of the Old Testament