इन्डियानाको इन्डियानापोलिस सहरमा भएको अधिवेशन, १९२५
१९२५—एक सय वर्षअघि
जनवरी १, १९२५ को द वाच टावर-मा यस्तो लेखिएको थियो, “हामी यो वर्षको निकै प्रतीक्षा गर्दै थियौँ। तर हामीले यो वर्ष के होला भन्ने कुरामा बढ्तै ध्यान दिनु हुँदैन। त्यसो गऱ्यौँ भने हाम्रो ध्यान खलबलिन सक्छ र हामी प्रभुको काममा रमाइरहन सक्नेछैनौँ।” बाइबल स्टुडेन्ट्सले १९२५ मा के हुन्छ भन्ने आशा गरेका थिए? त्यो आशा पूरा नभए तापनि तिनीहरू कसरी प्रभुको काममा व्यस्त भइरहे?
आशा गरेको कुरा छिट्टै पूरा नहुँदा
थुप्रै बाइबल स्टुडेन्ट्सले १९२५ मा पूरै पृथ्वी प्रमोदवन हुनेछ भन्ने आशा राखेका थिए। किन? भाइ अल्बर्ट श्रोडर जो पछि परिचालक निकायको सदस्य हुनुभयो, उहाँले यसो भन्नुभएको थियो: “हामीले यस्तो सोचेका थियौँ, ‘१९२५ मा पृथ्वीमा बाँकी रहेका ख्रिष्टका अभिषिक्त भाइहरूलाई स्वर्ग लगिनेछ र तिनीहरूले येसुसँगै शासन गर्नेछन्। अनि पुरातन समयका अब्राहाम र दाउदजस्ता वफादार पुरुषहरू यसै पृथ्वीमा जीवित हुनेछन् र पृथ्वीको काममा नेतृत्व लिनेछन्।’” त्यो वर्षको अन्तसम्म पनि आफूले आशा गरेको कुरा पूरा नहुँदा कोही-कोही निराश भए।—हितो. १३:१२.
तैपनि धेरैजसो बाइबल स्टुडेन्ट्स प्रचारकार्यमा व्यस्त भइरहे। तिनीहरूले यहोवाबारे साक्षी दिनु सबैभन्दा महत्त्वपूर्ण काम हो भनेर झन्झन् बुझ्दै गए। त्यसैले तिनीहरूले टाढा-टाढासम्म सत्य फैलाउन रेडियो स्टेसनहरूको व्यापक प्रयोग गरे।
रेडियो स्टेसनको विस्तार
सन् १९२४ मा डब्ल्यु बि बि आर (WBBR) रेडियो स्टेसनबाट प्रसारण भएका कार्यक्रमहरू थुप्रैले सुने। त्यसैले बाइबल स्टुडेन्ट्सले इलेनोइको सिकागो सहरनजिकै अर्को एउटा रेडियो स्टेसन बनाए। त्यो नयाँ स्टेसनको नाम डब्ल्यु ओ आर डि (WORD) थियो। त्यो रेडियो स्टेसन बनाउने काममा भाग लिएका राल्फ लेफ्लरले यसो भने: “एकदमै चिसो मौसमहरूमा टाढा-टाढाका मानिसहरूले राती यो स्टेसनबाट प्रसारण हुने कार्यक्रमहरू सुन्ने गर्थे।” जस्तै, ५,००० किलोमिटरभन्दा टाढा अलास्कामा बस्ने एउटा परिवारले सुरु-सुरुमा प्रसारण भएको एउटा कार्यक्रम सुन्यो। कार्यक्रम सुनेपछि त्यो परिवारले स्टेसनमा काम गर्नेहरूलाई एउटा पत्र लेख्यो र यस्तो राम्रो आध्यात्मिक कार्यक्रम प्रसारण गरेकोमा धन्यवाद दियो।
बायाँ: इलेनोइमा डब्ल्यु ओ आर डि रेडियो स्टेसनको टावर
दायाँ: राल्फ लेफ्लर रेडियो स्टेसनमा काम गर्दै
यो स्टेसनबाट प्रसारण हुने कार्यक्रमहरू टाढा-टाढाका मानिसहरूले पनि सुन्न सक्नुको कारणबारे डिसेम्बर १, १९२५ को द वाच टावर-मा यस्तो लेखिएको थियो: “यो स्टेसन अमेरिकाको सुपर स्टेसनहरूमध्ये एउटा हो र यसमा प्रयोग गरिएको ट्रान्समिटर ५,००० वाटको छ। त्यसैले यसबाट प्रसारण हुने कार्यक्रम पूर्वमा आन्द्र महासागरको तटदेखि पश्चिममा प्रशान्त महासागरको तटसम्म अनि दक्षिणमा क्युबादेखि उत्तरमा अलास्काको पल्लो छेउसम्म राम्ररी सुन्न सकिन्छ। बाइबल सत्यबारे कहिल्यै नसुनेका मानिसहरू पनि यस स्टेसनबाट प्रसारण भएका कार्यक्रमहरू सुनेपछि सत्य सिक्न इच्छुक भएका छन्।”
जर्ज नाइस
यही समयतिर बाइबल स्टुडेन्ट्सले क्यानाडामा पनि रेडियोमार्फत सुसमाचार प्रचार गर्न प्रयास गरिरहेका थिए। सन् १९२४ मा सास्काचेवानको सास्काटुनमा एउटा रेडियो स्टेसन निर्माण गरियो। त्यसको नाम सी एच यु सी (CHUC) थियो र त्यो क्यानाडामा धार्मिक कार्यक्रमहरू प्रसारण गरिने सुरु-सुरुतिरका स्टेसनहरूमध्ये एउटा थियो। सन् १९२५ मा त्यो स्टेसनलाई अर्को ठूलो ठाउँमा सार्नुपर्ने भयो। त्यसैले वाच टावर सोसाइटीले त्यो स्टेसनको स्वामित्व लियो र सास्काटुनको रिजेन्ट बिल्डिङ भनिने एउटा पुरानो थिएटर किनेर मर्मतसम्भार गऱ्यो। त्यसपछि स्टेसनलाई त्यहाँ सारियो।
यो रेडियो स्टेसनले गर्दा सास्काचेवानको विभिन्न इलाकामा फैलिएर बसेका मानिसहरूले पहिलो चोटि सुसमाचार सुन्ने मौका पाए। उदाहरणको लागि, एकदमै टाढा पर्ने सानो सहरको एउटी महिलाले हाम्रो रेडियो स्टेसनबाट प्रसारण भएको कार्यक्रम सुनिन्। त्यसपछि तिनले पत्रमार्फत साहित्यहरू मगाइन्। त्यसबारे भाइ जर्ज नाइसले यसो भन्नुभयो: “तिनले ठूलो स्वरमा ‘हामीलाई सिकाउनुहोस्!’ भनेर पुकारिरहेको जस्तो लाग्यो। त्यसैले हामीले तिनलाई धर्मशास्त्रको अध्ययन (अङ्ग्रेजी) किताबको सबै खण्डहरू पठायौँ।” त्यसपछि तिनले आफूले सुनेको कुरा अझ टाढा-टाढाका मानिसहरूलाई बताउन थालिन्।
नयाँ बुझाइ
मार्च १, १९२५ अङ्कको द वाच टावर-मा “राष्ट्रको जन्म” शीर्षक भएको एउटा महत्त्वपूर्ण लेख प्रकाशित भयो। त्यो लेख किन महत्त्वपूर्ण थियो? स्वर्गका प्रेतहरू अनि पृथ्वीका धार्मिक, राजनैतिक र व्यापारिक प्रणालीहरू मिलेर सैतानको एउटा सङ्गठन बनेको छ र यो सङ्गठन त्यसको अधीनमा छ भनेर बाइबल स्टुडेन्ट्सले बुझेका थिए। तर “विश्वासी र बुद्धिमान् दास”-ले भाइबहिनीहरूलाई यस लेखमार्फत यहोवाको पनि एउटा सङ्गठन छ भनेर बुझ्न मदत गऱ्यो, जुन सैतानको सङ्गठनभन्दा बिलकुलै फरक छ र त्यसको विरुद्धमा खडा छ। (मत्ति २४:४५) साथै विश्वासी दासले १९१४ मा परमेश्वरको राज्य स्थापना भयो र त्यही वर्ष ‘स्वर्गमा लडाइँ भएपछि’ सैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट पृथ्वीमा हुर्ऱ्याइयो भनेर पनि प्रस्ट पाऱ्यो।—प्रका. १२:७-९.
कसै-कसैलाई यो नयाँ बुझाइ स्विकार्न गाह्रो भयो। त्यसैले उक्त लेखमा पहिल्यै यसो भनिएको थियो: “यहाँ बताइएको कुरा स्विकार्न तपाईँलाई गाह्रो लागिरहेको छ भने धीरजी हुनुहोस् अनि प्रभुमा भरोसा राख्दै उहाँको सेवा गरिरहनुहोस्।”
ब्रिटेनका टम एर नाम गरेका कल्पोर्टरले (अहिले अग्रगामी भनिन्छ) त्यो लेख पढेपछि थुप्रै बाइबल स्टुडेन्ट्सले कस्तो महसुस गरे भनेर बताए। तिनले यसो भने: “प्रकाश अध्याय १२ को व्याख्या भाइबहिनीलाई निकै मन पऱ्यो। स्वर्गमा राज्य स्थापना भयो भनेर थाह पाउँदा यो सुसमाचार अरूले पनि सुन्नुपर्छ भनेर हामीले महसुस गऱ्यौँ। त्यसैले हामीले प्रचारकार्यमा अझ धेरै भाग लिन थाल्यौँ अनि यहोवाले कसरी आफ्ना मानिसहरूलाई डोऱ्याउँदै हुनुहुन्छ भनेर देख्न सक्यौँ।”
यहोवाबारे साक्षी दिँदै
आज यहोवाका साक्षीहरूलाई यसैया ४३:१० मा लेखिएका यी शब्दहरू राम्ररी थाह छ: “यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी हौ . . . मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।’” तर १९२५ अगाडि हाम्रा प्रकाशनहरूमा यो पदबारे खासै छलफल गरिँदैनथ्यो। त्यसपछिका वर्षहरूमा भने उक्त पदबारे थुप्रै लेखहरू प्रकाशित भए। जस्तै, १९२५ मा द वाच टावर-को ११ वटा अङ्कमा यसैया ४३:१० र १२ बारे छलफल गरिएको थियो।
सन् १९२५ को अगस्त महिनाको अन्ततिर बाइबल स्टुडेन्ट्स इन्डियानाको इन्डियानापोलिस सहरमा अधिवेशनको लागि भेला भए। कार्यक्रम पर्चीमा जोसेफ एफ रदरफोर्डले अधिवेशनमा आएका सबैलाई स्वागत गर्दै यस्तो सन्देश लेख्नुभएको थियो: “हामी यहाँ प्रभुबाट बल पाउन भेला भएका छौँ ताकि हामी आ-आफ्नो क्षेत्रमा फर्केर नयाँ जोसजाँगरका साथ उहाँबारे साक्षी दिन सकौँ।” आठ दिन लामो त्यस अधिवेशनमा उपस्थित भएका सबैले हरेक मौकामा यहोवाबारे साक्षी दिन प्रोत्साहन पाए।
अगस्त २९, शनिबार भाइ रदरफोर्डले “कम्मर कस्ने आह्वान” विषयमा भाषण दिनुभयो। उहाँले साक्षीकार्यको महत्त्वलाई यसरी जोड दिनुभयो: “यहोवा आफ्ना मानिसहरूलाई यसो भन्नुहुन्छ . . . ‘म साँचो परमेश्वर हुँ र तिमीहरू मेरा साक्षी हौ।’ त्यसपछि परमेश्वरले यस्तो स्पष्ट आज्ञा दिनुभयो: ‘जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्याओ।’ यसरी पृथ्वीमा झन्डा ठड्याउन सक्ने अर्थात् प्रभुबारे साक्षी दिन सक्ने मानिसहरू उहाँका सेवकहरू मात्रै हुन्, जसलाई उहाँले आफ्नो पवित्र शक्तिद्वारा डोऱ्याइरहनुभएको छ।”—यसै. ४३:१२; ६२:१०.
आशाको सन्देश पर्चा
भाषणपछि भाइ रदरफोर्डले “आशाको सन्देश” भन्ने प्रस्तावना प्रस्तुत गर्नुभयो। त्यस प्रस्तावनामा “शान्ति, सुख, सुस्वास्थ्य, जीवन, स्वतन्त्रता र अनन्तकालीन आनन्दका आशिष्हरू” ल्याउने एक मात्र आशा परमेश्वरको राज्य हो भनेर लेखिएको थियो। त्यहाँ उपस्थित सबैले त्यस प्रस्तावनामा सहमति जनाए। त्यो प्रस्तावना विभिन्न भाषामा अनुवाद गरियो र पर्चाको रूपमा छापियो। त्यसको लगभग चार करोड प्रति वितरण गरियो।
हुनत बाइबल स्टुडेन्ट्सले केही वर्षपछि मात्र यहोवाका साक्षीहरू भन्ने नामले आफूलाई चिनाउन थाले तर तिनीहरूले उहाँबारे साक्षी दिनु कत्ति महत्त्वपूर्ण छ भनेर बुझ्न थालिसकेका थिए।
चासो देखाएकाहरूलाई फेरि भेट्दै
संसारभरि बाइबल स्टुडेन्ट्सको सङ्ख्या बढ्दै जाँदा सुसमाचारमा चासो देखाएकाहरूलाई फेरि भेट्न जान पनि प्रोत्साहन दिइयो। आशाको सन्देश विषयको पर्चा वितरण गर्ने अभियानपछि बुलेटिन-माa यस्तो निर्देशन दिइयो: “आशाको सन्देश पर्चा छोडिएका घरहरूमा फेरि जाने प्रबन्ध मिलाउनुहोस्।”
जनवरी १९२५ को बुलेटिन-मा टेक्ससको एक जना बाइबल स्टुडेन्ट्सले बताएको यो रिपोर्ट छापिएको थियो: “नयाँ ठाउँमा प्रचार गर्दा भन्दा पहिला प्रचार गरिसकेको ठाउँमा फेरि फर्केर जाँदा, त्यो एकदमै फलदायी भएको पायौँ। हाम्रो इलाकाको एउटा सानो सहरमा हामीले गत १० वर्षको दौडान पाँचचोटि पूरै इलाका ढाक्यौँ। . . . हालै बहिनी हेन्ड्रिक्स र मेरी आमाले त्यहाँ फेरि प्रचार गर्नुभयो र पहिलाभन्दा निकै धेरै किताबहरू पनि वितरण गर्नुभयो।”
पानामाका एक जना कल्पोर्टरले यस्तो लेखे: “मैले प्रचार गरेका कतिपय मानिसहरू पहिलो भेटमा मेरो कुरा सुन्न चाहँदैनथे तर दोस्रो वा तेस्रो चोटि जाँदा भने मेरो कुरा सुन्न इच्छुक हुन्थे। यो वर्ष म प्रचारकार्यमा जाँदा धेरैजसो पहिला भेटेका मानिसहरूलाई नै फेरि भेट्न गएँ। अनि कोही-कोहीले एकदमै राम्रो प्रतिक्रिया देखाउनुभयो।”
भविष्यतर्फ ध्यान दिँदै
भाइ रदरफोर्डले कल्पोर्टरहरूलाई लेख्नुभएको वार्षिक पत्रमा त्यो वर्ष कस्तो भयो अनि आउँदो वर्ष तिनीहरूले के-के गर्नुपर्नेछ भनेर बताउनुभयो। उहाँले पत्रमा यस्तो लेख्नुभएको थियो: “गत वर्षको दौडान तपाईँले निराश भएका थुप्रैलाई सान्त्वना दिन सक्नुभयो। यस्तो काम गर्न पाउँदा तपाईँ निकै आनन्दित हुनुभयो। . . . आगामी वर्ष पनि तपाईँले परमेश्वर र उहाँको राज्यबारे साक्षी दिने र उहाँका साँचो उपासकहरू वास्तवमा को हुन् भनेर देखाउने थुप्रै मौका पाउनुहुनेछ। . . . आउनुहोस्, हामी सबै मिलेर स्वरमा स्वर मिलाउँदै हाम्रा परमेश्वर र राजाको जयजयकार गरौँ।”
सन् १९२५ को अन्ततिरदेखि भाइहरूले ब्रुक्लिन बेथेल अझै विस्तार गर्ने योजना बनाउन थाले। सन् १९२६ मा त्यतिबेलासम्मकै सबैभन्दा ठूलो निर्माण परियोजना सुरु हुने थियो।
न्यु योर्कको ब्रुक्लिनमा भएको निर्माणकार्य, १९२६
a अहिले हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका भनिन्छ।