प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अक्टोबर pp. ६-११
  • यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो आनन्दको स्रोत
  • कुनै पनि कुराले गर्दा आफ्नो आनन्द गुम्न नदिनुहोस्‌
  • हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • अरूलाई दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अक्टोबर pp. ६-११

अध्ययन लेख ४०

गीत १११ हामी आनन्दित हुनुको कारण

यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ

‘म मेरा परमेश्‍वर, मेरो आनन्दको मूलकहाँ जानेछु।’—भज. ४३:४.

सिक्न सकिने कुरा

के-कस्ता कुराहरूले हाम्रो आनन्द खोस्न सक्छ र फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ?

१-२. (क) आज धेरैले कस्तो महसुस गर्छन्‌? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

आज थुप्रै मानिसहरू आनन्दित हुन हरप्रयास गर्छन्‌। तैपनि तिनीहरू आनन्दित हुन भने सकेका छैनन्‌। बरु उल्टै निराश भएका छन्‌ र खोक्रो महसुस गर्छन्‌। यहोवाका सेवकहरू पनि यस्ता भावनाहरूदेखि अछुतो छैनन्‌। हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ र हामीले पनि “असाध्यै कठिन” समस्याहरू भोग्नुपर्ने हुन्छ, जसले गर्दा हामी निराश र चिन्तित हुन्छौँ।—२ तिमो. ३:१.

२ के-कस्ता कुराहरूले हाम्रो आनन्द खोस्न सक्छ र फेरि आनन्दित हुन के गर्न सक्छौँ भनेर हामी यस लेखमा छलफल गर्नेछौँ। तर त्यसअघि साँचो आनन्दको स्रोत को हुनुहुन्छ, बुझौँ।

साँचो आनन्दको स्रोत

३. सृष्टिबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

३ यहोवा सधैँ आनन्दित हुनुहुन्छ र उहाँ हामी पनि आनन्दित भएको चाहनुहुन्छ। त्यसैले हाम्रो आनन्दको लागि उहाँले थुप्रै कुराहरू बनाउनुभएको छ। थरीथरीका रङ्‌गहरूले सजिएको सुन्दर पृथ्वी देख्दा हामी आनन्दित हुन्छौँ, जनावरहरू खेलिरहेको देख्दा हामीलाई रमाइलो लाग्छ अनि आफूलाई मनपर्ने खानेकुरा खान पाउँदा सन्तुष्ट हुन्छौँ। हो, परमेश्‍वर हामीलाई असाध्यै माया गर्नुहुन्छ र हामीले हाँसीखुसी जीवन बिताएको चाहनुहुन्छ।

चित्रहरूको सँगालो: खेलिरहेका जनावरहरू। १. हात्तीको छावा पानीमा खेल्दै छ। २. पेङगुइनका बचेराहरू हिउँमा हिँड्‌दै छन्‌। ३. बाख्राका पाठाहरू चउरमा उफ्रिरहेका छन्‌। ४. डल्फिनहरू पानीमा डुबुल्की मार्दै छन्‌।

Baby elephant: Image © Romi Gamit/​Shutterstock; penguin chicks: Vladimir Seliverstov/​500px via Getty Images; baby goats: Rita Kochmarjova/​stock.adobe.com; two dolphins: georgeclerk/​E+ via Getty Images

जनावरहरू खेलिरहेको देख्दा यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ भनेर सम्झन्छौँ (अनुच्छेद ३ हेर्नुहोस्‌)


४. (क) संसारमा यतिबिघ्न दुःखकष्ट देख्दा पनि यहोवा आनन्दित भइरहन सक्नुको कारण के हो? (ख) यहोवाले हामीलाई कस्तो उपहार दिनुभएको छ? (भजन १६:११)

४ अहिले मानिसहरूले भोगिरहेको दुःखकष्टलाई यहोवा बेवास्ता गर्नुहुन्‍न। त्यो देख्दा उहाँलाई पनि दुःख लाग्छ। तैपनि बाइबलमा उहाँलाई “आनन्दित परमेश्‍वर” भनिएको छ। (१ तिमो. १:११) संसारमा यतिबिघ्न दुःखकष्ट देख्दा पनि यहोवा आनन्दित भइरहन सक्नुको कारण के हो? उहाँलाई दुःखकष्ट सधैँभरि रहिरहनेछैन भनेर थाह छ र उहाँले यसलाई पूर्ण रूपमा हटाउने दिन तोकिसक्नुभएको छ। तर त्यो दिन नआउन्जेल उहाँ हाम्रो ख्याल राख्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ। त्यसैले उहाँले हामीलाई एउटा सुन्दर उपहार दिनुभएको छ। त्यो हो, आनन्द। जस्तोसुकै दुःखपीडा भोग्नुपरे पनि यहोवाको मदत पाएर हामी आनन्दित भइरहन सक्छौँ। (भजन १६:११ पढ्‌नुहोस्‌।) यहोवाले यो उपहार आफ्नो छोरा येसुलाई पनि दिनुभएको छ।

५-६. येसु किन आनन्दित हुनुहुन्छ?

५ यहोवाको सम्पूर्ण सृष्टिमध्ये येसु सबैभन्दा आनन्दित हुनुहुन्छ। किन? यसको दुई वटा कारण छन्‌। (१) उहाँ “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” हुनुहुन्छ र आफ्नो बुबाको व्यक्‍तित्व हुबहु झल्काउनुहुन्छ। (कल. १:१५; १ तिमो. ६:१५) (२) येसुले आनन्दको स्रोत यहोवासित धेरै समय बिताउनुभएको छ; यहोवासित उहाँले जत्तिको धेरै समय अरू कसैले बिताएको छैन।

६ येसु आफ्नो बुबाले अह्राउनुभएको काम पूरा गर्न पाउँदा सधैँ रमाउनुहुन्छ। (हितो. ८:३०, ३१; युह. ८:२९) येसु सधैँ वफादार रहनुभएकोले यहोवा उहाँसित खुसी हुनुहुन्छ र उहाँमा गर्व गर्नुहुन्छ।—मत्ति ३:१७.

७. हामी कसरी साँचो आनन्द पाउन सक्छौँ?

७ आनन्दका स्रोत यहोवासित नजिक भएर हामी पनि साँचो आनन्द पाउन सक्छौँ। हामी यहोवाबारे सिक्न जत्ति धेरै समय बिताउँछौँ, त्यत्ति नै उहाँको अनुकरण गर्न सक्नेछौँ। यसो गर्दा हामी खुसी हुन सक्नेछौँ। परमेश्‍वरको इच्छाअनुसार चल्दा र उहाँलाई खुसी बनाइरहेको छु भन्‍ने कुरा थाह पाउँदा पनि हामी आनन्दित हुन सक्छौँ।a (भज. ३३:१२) तर कहिलेकाहीँ हामीलाई आफ्नो आनन्द गुमेको जस्तो लाग्ला, सायद छोटो समयको लागि अथवा कहिलेकाहीँ त लामो समयसम्म त्यस्तो महसुस हुन सक्छ। तर के यसको मतलब यहोवा हामीसित खुसी हुनुहुन्‍न भन्‍ने हो? त्यसो त पक्कै होइन। हामी त्रुटिपूर्ण छौँ। त्यसैले कहिलेकाहीँ हामी दुःखी र निराश हुन्छौँ अनि डिप्रेसनको सिकारसमेत हुन सक्छौँ। यो कुरा यहोवा राम्ररी बुझ्नुहुन्छ। (भज. १०३:१४) के-कस्ता कुराहरूले गर्दा हाम्रो आनन्द गुम्न सक्छ अनि फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ, अब छलफल गरौँ।

हाम्रो आनन्द यहोवामा निर्भर छ

प्रार्थनामा यहोवाको पवित्र शक्‍ति माग्नुहोस्‌। साँच्चै आनन्दित हुन हामीलाई यहोवाको मदत चाहिन्छ। किनभने आनन्द पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२) यहोवाको पवित्र शक्‍तिले हामीलाई जस्तोसुकै परीक्षा पनि “धीरजी र आनन्दित हुँदै सहन” मदत गर्छ।—कल. १:११.

यहोवाको उपासनालाई प्रथम स्थान दिनुहोस्‌। परमेश्‍वरको वचन अनि हाम्रा प्रकाशनहरू नियमित रूपमा अध्ययन गर्नुहोस्‌। “असाध्यै आनन्दित बनाउने सुसमाचार” अरूलाई बाँड्‌ने हरेक मौकाको सदुपयोग गर्नुहोस्‌। (लुका २:१०) यहोवाको उपासनालाई प्रथम स्थान दियौँ भने हामी साँच्चै आनन्दित हुन सक्छौँ।—भज. ६५:४.

यहोवाप्रति सधैँ आज्ञाकारी हुनुहोस्‌। यहोवाले दिनुभएका आज्ञाहरूले हाम्रो स्वतन्त्रता हनन गर्दैन। बरु उहाँले ती आज्ञाहरू हाम्रै भलाइको लागि दिनुभएको हो। वास्तवमा उहाँप्रति आज्ञाकारी भयौँ भने हामी आनन्दित हुन सक्छौँ।—लुका ११:२८.

कुनै पनि कुराले गर्दा आफ्नो आनन्द गुम्न नदिनुहोस्‌

८. समस्याहरू भोग्नुपर्दा हामीलाई के हुन सक्छ?

८ १. समस्याहरू आइपर्दा। के तपाईँ खेदो, प्राकृतिक प्रकोप, गरिबी, रोगबिमार वा बुढ्यौलीको सामना गर्दै हुनुहुन्छ? हामीले यस्ता समस्याहरू भोगिरहेका छौँ भने हाम्रो आनन्द सजिलै गुम्न सक्छ। अझ त्यसमाथि यस्ता समस्याहरू हटाउन हामी आफैले केही गर्न सक्दैनौँ भने लाचार हुन सक्छौँ। त्यसैले बाइबलमा पनि यसो भनिएको छ: “हृदयको पीडाले मानिसलाई गलाउँछ।” (हितो. १५:१३) बबिस नाम गरेका एक एल्डरले एकपछि अर्को पीडा सहनुपऱ्‍यो। चार वर्षभित्रै तिनको दाइ र आमाबुबाको मृत्यु भयो। तिनी भन्छन्‌: “आमाबुबा र दाइ जिउँदो छँदा पनि एउटा कुराले मलाई सताइरहन्थ्यो। मैले उहाँहरूलाई धेरै समय दिन सकिरहेको थिइनँ। किनभने म आफ्नै कुराहरूमा अल्झिरहेको थिएँ। उहाँहरूको मृत्यु भएपछि त मैले झनै एक्लो र लाचार महसुस गरेँ।” हो, हामीले भोग्ने समस्याहरूले हामीलाई शारीरिक र भावनात्मक रूपमा एकदमै गलाउन सक्छ।

९. फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ? (यर्मिया २९:४-७, १०)

९ फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ? हामीले आफ्नो वशमा नभएको कुराको अचाक्ली चिन्ता गर्नु हुँदैन र आफूसित भएका कुराहरूको लागि कृतज्ञ हुनुपर्छ। हाम्रो जीवनमा कुनै पनि समस्या छैन भने मात्र खुसी हुन सक्छौँ भन्‍ने भ्रम संसारले फैलाएको छ। तर यो यहोवाको सोचाइसित पटक्कै मेल खाँदैन। उदाहरणको लागि, यहोवाले बेबिलोनको निर्वासनमा परेका यहुदीहरूलाई आफ्नो नयाँ परिस्थिति स्विकार्न र त्यस्तो गाह्रो अवस्थामा पनि रमाउने प्रयास गर्न निर्देशन दिनुभयो। (यर्मिया २९:४-७, १० पढ्‌नुहोस्‌।) यसबाट हामी के सिक्न सक्छौँ? हामीले आफ्नो नयाँ परिस्थिति स्विकार्न र आफूसित भएका कुराहरूको लागि कृतज्ञ हुन प्रयास गर्नुपर्छ। यो कुरा पनि कहिल्यै नबिर्सनुहोस्‌: यहोवाले तपाईँलाई सधैँ साथ दिनुहुनेछ। (भज. ६३:७; १४६:५) एफी बहिनीको अनुभव विचार गरौँ। दुर्घटनाले गर्दा तिनी हिँडडुल गर्न नसक्ने भइन्‌। तिनी भन्छिन्‌: “यहोवा, मेरो परिवार र मण्डलीका भाइबहिनीहरूले मलाई धेरै मदत दिनुभयो। मैले लत्तो छोडेँ भने त उहाँहरूप्रति कृतज्ञ नभइरहेको हुने थिएँ। त्यसैले जति नै गाह्रो भए पनि खुसी भइरहन प्रयास गर्छु। यसरी म उहाँहरूप्रति कृतज्ञ भएको देखाउन चाहन्छु।”

१०. समस्याहरू भोग्नुपरे पनि हामी किन आनन्दित भइरहन सक्छौँ?

१० परिस्थिति सधैँ हामीले सोचेको जस्तो हुँदैन अथवा हाम्रो जीवनमा वा परिवारमा कुनै अप्रिय घटना घट्‌न सक्छ। तैपनि हामी आनन्दित भइरहन सक्छौँ।b (भज. १२६:५) किन? किनभने हाम्रो आनन्द हाम्रो अवस्थामा निर्भर हुँदैन। अग्रगामी बहिनी मारिया यसो भन्छिन्‌: “जीवनमा समस्याहरू झेल्नुपरे पनि हामी आनन्दित भइरहन्छौँ किनकि हामीलाई यहोवाका प्रतिज्ञाहरू थाह छ। तर यसको अर्थ हामी कहिल्यै रुँदैनौँ वा आफ्नो भावना दबाएर राख्छौँ भन्‍ने त होइन। उहाँले हामीलाई जस्तोसुकै परिस्थितिमा पनि आनन्दित हुन मदत गर्न सक्नुहुन्छ।” यो कुरा नबिर्सनुहोस्‌: हाम्रा समस्याहरू भनेको झरीजस्तै हो। केही समयपछि झरी थामिन्छ। त्यसरी नै अहिले हामीले भोगिरहेका समस्याहरू पनि अब चाँडै हट्‌नेछ।

११. प्रेषित पावलको उदाहरणबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो?

११ कहिलेकाहीँ समस्याहरू भोग्नुपर्दा ‘यहोवा मसित खुसी हुनुहुन्‍न’ जस्तो हामीलाई लाग्न सक्छ। त्यस्तो महसुस हुँदा हाम्रोजस्तै गाह्रो परिस्थिति भोगेका यहोवाका वफादार सेवकहरूबारे विचार गर्न सक्छौँ। जस्तै, प्रेषित पावल। तिनलाई येसुले “जातिजातिका मानिसहरूलाई, राजाहरूलाई अनि इस्राएलका सन्तानलाई” सुसमाचार सुनाउन रोज्नुभएको थियो। (प्रेषि. ९:१५) यो साँच्चै ठूलो सुअवसर थियो। तर तिनले पनि जीवनमा एकपछि अर्को समस्याहरू झेल्नुपऱ्‍यो। (२ कोरि. ११:२३-२७) के यसको अर्थ यहोवा तिनीसित खुसी हुनुहुन्‍नथ्यो भन्‍ने हो? त्यसो त होइन। बरु समस्याहरू भोग्नुपरे पनि तिनी सहनशील भएको कुराबाट तिनले यहोवाबाट आशिष्‌ पाएका थिए भन्‍ने कुरा देखियो। (रोमी ५:३-५) अब तपाईँको अवस्थाबारे विचार गर्नुहोस्‌। जस्तोसुकै परीक्षाहरू भोग्नुपरे पनि तपाईँले वफादार भई यहोवाको सेवा गर्दै हुनुहुन्छ। त्यसैले यो कुरामा ढुक्क हुनुहोस्‌: यहोवा तपाईँसित खुसी हुनुहुन्छ।

१२. आशा गरेको कुरा पूरा नहुँदा के हुन सक्छ?

१२ २. आशा पूरा नहुँदा। (हितो. १३:१२) यहोवाप्रतिको प्रेम र कृतज्ञताले हामीलाई उहाँको सेवामा लक्ष्यहरू राख्न उत्प्रेरित गर्छ र ती लक्ष्यहरू पूरा गर्न हामी सक्दो प्रयास गर्छौँ। तर आफ्नो परिस्थिति परिवर्तन भएकोले ती लक्ष्यहरू पूरा गर्न नसक्दा हामी निराश हुन सक्छौँ। (हितो. १७:२२) एक अग्रगामी बहिनी हली यसो भन्छिन्‌: “म राज्य प्रचारकहरूका लागि स्कुलमा जान चाहन्थेँ, विदेशमा गएर सेवा गर्न चाहन्थेँ अनि रामापो निर्माण परियोजनामा पनि सघाउन चाहन्थेँ। तर मेरो परिस्थिति परिवर्तन भयो। त्यसैले मैले आफ्ना लक्ष्यहरू पूरा गर्न सकिनँ। म असाध्यै निराश भएँ। आफूले चाहेको कुराहरू पूरा गर्न नसक्दा एकदमै तनाव हुने रहेछ।” अरू थुप्रैले पनि यस्तै महसुस गरेका छन्‌।

१३. आफ्नो परिस्थितिले गर्दा चाहेजति गर्न सक्दैनौँ भने हामी कस्ता व्यावहारिक लक्ष्यहरू राख्न सक्छौँ?

१३ फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ? यहोवा हामीबाट बढ्‌तै माग गर्नुहुन्‍न अनि हामीले उहाँको सेवामा के-कति गरिरहेका छौँ, त्यसको आधारमा हामी उहाँको लागि कत्तिको बहुमूल्य छौँ भनेर निर्धारण गर्नुहुन्‍न। यहोवा हामीले आफ्नो सीमितता स्विकारेको र हामी आफ्नो काममा विश्‍वासयोग्य भएको चाहनुहुन्छ। (मिका ६:८; १ कोरि. ४:२) हामीले उहाँको सेवामा के-कति हासिल गर्न सक्यौँ, त्यसमा नभई हामी वास्तवमा कस्तो व्यक्‍ति हौँ, त्यो कुरामा यहोवा ध्यान दिनुहुन्छ। त्यसैले यहोवाले हामीबाट जुन कुरा आशै गर्नुभएको छैन, त्यो हासिल गर्न खोज्नु पक्कै व्यावहारिक होइन।c आफ्नो परिस्थितिले गर्दा यहोवाको सेवामा चाहेजति गर्न सक्नुभएन भने निराश नहुनुहोस्‌। बरु आफूले गर्न सक्ने कुरामा ध्यान दिनुहोस्‌। जस्तै: तपाईँ मण्डलीका जवानहरूलाई व्यावहारिक सल्लाह-सुझाव दिन सक्नुहुन्छ वा वृद्धहरूको सहारा बनिदिन सक्नुहुन्छ। तपाईँ कसैलाई भेटेरै, फोनमार्फत वा मेसेजमार्फत प्रोत्साहन दिने लक्ष्य पनि राख्न सक्नुहुन्छ। यस्ता अर्थपूर्ण र व्यावहारिक लक्ष्यहरू राखेर त्यो हासिल गर्न प्रयास गर्दा तपाईँ आनन्दित हुनुहुनेछ। तपाईँले अनुभव गर्नुहुने त्यो आनन्द यहोवाको आशिष्‌ हो। यो कुरा पनि नबिर्सनुहोस्‌: नयाँ संसारमा हामीले कल्पनै नगरेका तरिकाहरूमा यहोवाको सेवा गर्न पाउनेछौँ, त्यो पनि सधैँभरि। अगाडि उल्लेख गरिएकी हली यसो भन्छिन्‌: “निराश हुँदा म आफैलाई यसरी सम्झाउँछु, ‘नयाँ संसारमा मसित प्रशस्तै समय हुनेछ।’ अनि मेरा केही लक्ष्यहरू यहोवाको मदत पाएर पूरा गर्न सक्नेछु।”

१४. हाम्रो आनन्द खोस्न सक्ने अर्को कुरा के हो?

१४ ३. आफ्नै इच्छा-आकाङ्‌क्षालाई प्राथमिकता दिँदा। सामाजिक सञ्जालमा केही मानिसहरू एकदमै खुसी देखिन्छन्‌। किनभने तिनीहरू जतिखेर पनि रमाइलै गरिरहेका हुन्छन्‌। त्यो देख्दा हामीलाई पनि यस्तो लाग्न सक्छ, ‘आफ्नो रुचि पूरा गर्न, आफूले चाहेको कुरा किन्‍न वा विभिन्‍न ठाउँमा घुम्न जान पाएँ भने मात्र म साँच्चै खुसी हुन सक्छु।’ आफूलाई रमाइलो लाग्ने कुराहरू गर्नु आफैमा गलत होइन। किनभने यहोवाले हामीलाई थुप्रै कुराहरू दिनुभएको छ र हामीले त्यसबाट आनन्द उठाएको उहाँ चाहनुहुन्छ। तर थुप्रैले जुन कुराले आफूलाई आनन्द दिन्छ भन्‍ने सोचेका थिए, त्यही कुराले नै आफ्नो आनन्द खोसेको महसुस गरेका छन्‌। एक अग्रगामी बहिनी इभा भन्छिन्‌: “तपाईँ जहिले पनि आफ्नै इच्छा-आकाङ्‌क्षा पूरा गर्न खोज्नुहुन्छ भने कहिल्यै सन्तुष्ट हुन सक्नुहुन्‍न।” आफूलाई खुसी बनाउने कुराहरूको पछि लाग्दा हामी उल्टै निराश हुन्छौँ।

१५. हामी राजा सुलेमानबाट के सिक्न सक्छौँ?

१५ आफ्नै इच्छा-आकाङ्‌क्षाको पछि लाग्दा नतिजा दुःखदायी हुन्छ भन्‍ने कुरा राजा सुलेमानको उदाहरणबाट सिक्न सक्छौँ। तिनले साँचो आनन्दको खोजीमा थुप्रै कुराहरू गरे। जस्तै: तिनले थरीथरीका स्वादिष्ठ खानेकुराहरू खाए, मीठामीठा गीत सङ्‌गीत सुने अनि पैसाले किन्‍न सकिने दामीदामी कुराहरू हासिल गरे। तर ती कुराहरूले तिनलाई आनन्द दिएन। तिनले यसो भने: “जति हेरे पनि आँखा थाक्दैन; जति सुने पनि कान अघाउँदैन।” (उप. १:८; २:१-११) केही मानिसहरू आफूसित पैसा छ भने जे पनि गर्न सकिन्छ, त्यसपछि त खुसी भइहालिन्छ भन्‍ने सोचाइ राख्छन्‌। तर त्यस्तो सोचाइ गलत हो। त्यस्ता कुराहरूले हामीलाई साँचो आनन्द दिन सक्दैन।

१६. अरूलाई दिँदा हामी कसरी फेरि आनन्दित हुन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१६ फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ? येसुले “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भनेर सिकाउनुभयो। (प्रेषि. २०:३५) अलेकोस नाम गरेका एल्डर यसो भन्छन्‌: “म अरूको लागि ससाना कुराहरू भए पनि गरिदिने प्रयास गर्छु। अरूलाई दिँदा मैले आफ्नै कुरामा मात्र ध्यान नदिन मदत पाएको छु। यसो गर्दा म खुसी हुन सकेको छु।” तपाईँ अरूको लागि के गरिदिन सक्नुहुन्छ? कोही निराश भएको देख्नुभयो भने तिनीसित कुरा गर्नुहोस्‌। हुनत तपाईँ तिनको समस्या समाधान गर्न सक्नुहुन्‍न होला। तर तिनको कुरा सुनिदिन, तिनको भावना बुझिदिन अनि तिनलाई आफ्नो भारी यहोवामा बिसाउन प्रोत्साहन दिन सक्नुहुन्छ। (भज. ५५:२२; ६८:१९) यहोवाले तिनलाई त्याग्नुभएको छैन भन्‍ने कुरा सम्झन पनि मदत गर्नुहोस्‌। (भज. ३७:२८; यसै. ५९:१) साथै तिनलाई केही व्यावहारिक मदत दिन सक्नुहुन्छ। जस्तै: तिनको लागि खाना पकाइदिनुहोस्‌ अथवा तिनलाई कुनै काममा सघाइदिनुहोस्‌। तिनीसँगै प्रचारमा पनि जान सक्नुहुन्छ। अरूलाई सुसमाचार बाँड्‌दा तिनी फेरि आनन्दित हुन सक्छन्‌। अरूलाई मदत गर्न यहोवाले तपाईँलाई प्रयोग गर्न खोज्नुहुँदा पछि नहट्‌नुहोस्‌। आफूमा नभई अरूमा ध्यान केन्द्रित गर्दा तपाईँ साँच्चै आनन्दित हुन सक्नुहुन्छ।—हितो. ११:२५.

चित्रहरूको सँगालो: १. एउटी बहिनी क्याफेमा एक्लै बसेर मोबाइल चलाउँदै छिन्‌। तिनले किनेको थुप्रै सरसामान छेवैमा छ। २. तिनी फूल लिएर एउटी पाको दिदीलाई घरमा भेट्‌न गएकी छिन्‌ र खुसी देखिन्छिन्‌।

आफ्नै इच्छा-आकाङ्‌क्षामा नभई अरूको आवश्‍यकतामा ध्यान दिनुहोस्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)d


१७. हाम्रो आनन्द कसरी यहोवामा निर्भर छ? (भजन ४३:४)

१७ स्वर्गमा हुनुहुने हाम्रो बुबासित नजिक भइरह्‍यौँ भने हामी साँच्चै आनन्दित हुन सक्छौँ। यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ। (भजन ४३:४ पढ्‌नुहोस्‌।) त्यसैले जीवनमा जस्तोसुकै समस्या भोग्नुपरे पनि हामीले अचाक्ली चिन्ता गर्नुपर्दैन वा डराउनुपर्दैन। हाम्रो आनन्दको स्रोत यहोवातर्फ ध्यान केन्द्रित गरिरह्‍यौँ भने हामी सधैँभरि आनन्दित हुनेछौँ।—भज. १४४:१५.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवा र येसु किन आनन्दित हुनुहुन्छ?

  • के-कस्ता कुराहरूले हाम्रो आनन्द खोस्न सक्छ?

  • फेरि आनन्दित हुन हामी के गर्न सक्छौँ?

गीत १५५ खुसी सधैँभरि

a “हाम्रो आनन्द यहोवामा निर्भर छ” भन्‍ने पेटी हेर्नुहोस्‌।

b उदाहरणको लागि, jw.org मा भएको २०२३ परिचालक निकायबाट अपडेट #५ मा डेनिस र इरिना क्रिस्टेन्सनको अन्तरवार्ता हेर्नुहोस्‌।

c थप जानकारीको लागि जुलाई १, २००८ अङ्‌कको प्रहरीधरहरा-मा भएको “आफूसँग व्यावहारिक माग मात्र गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

d चित्रको व्याख्या: एक बहिनीले आफ्नो लागि थुप्रै सरसामान किनेकी छिन्‌ तर एउटी पाको दिदीलाई फूल किनेर दिँदा ती बहिनी अझ खुसी देखिन्छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने