अध्ययन लेख ४३
गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्
अरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्
“एकअर्काका लागि प्रार्थना गर . . . धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।”—याकु. ५:१६.
सिक्न सकिने कुरा
हामीले अरूको लागि किन प्रार्थना गर्नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ?
१. यहोवा हाम्रो प्रार्थनालाई महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर किन भन्न सक्छौँ?
प्रार्थना एउटा विशेष उपहार हो। सोच्नुहोस् त, यहोवाले कुनै-कुनै काम स्वर्गदूतहरूलाई सुम्पनुभएको छ। (भज. ९१:११) उहाँले आफ्नो छोरालाई पनि गहन जिम्मेवारीहरू दिनुभएको छ। (मत्ति २८:१८) तर प्रार्थना सुन्ने काम नि? यो काम उहाँले अरू कसैलाई सुम्पनुभएको छैन। उहाँ “प्रार्थना सुन्नुहुने परमेश्वर” हुनुहुन्छ र उहाँ आफैले हाम्रो प्रार्थना सुन्नुहुन्छ।—भज. ६५:२.
२. प्रेषित पावलले अरूको लागि प्रार्थना गर्नेबारे कस्तो उदाहरण बसाले?
२ हुनत हामी यहोवालाई आफ्ना चिन्ता-फिक्रीहरूबारे मन खोलेर बताउन सक्छौँ। तर हामीले अरूको लागि पनि प्रार्थना गर्नुपर्छ। प्रेषित पावलले पनि त्यसै गरे। उदाहरणको लागि, तिनले एफिससको मण्डलीलाई लेखेको पत्रमा यसो भने: “म तिमीहरूलाई आफ्नो प्रार्थनामा सम्झिरहन्छु।” (एफि. १:१६) पावलले व्यक्तिविशेषको लागि पनि प्रार्थना गरे। उदाहरणको लागि, तिनले तिमोथिलाई यसो भने: “म परमेश्वरप्रति कृतज्ञ छु, . . . मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ।” (२ तिमो. १:३) हुनत पावलले आफ्नै चिन्ता-फिक्रीहरूबारे पनि प्रार्थना गरे। (२ कोरि. ११:२३; १२:७, ८) तर तिनले अरूको लागि प्रार्थना गर्न पनि समय निकाले।
३. हामी किन अरूको लागि प्रार्थना गर्न बिर्सन सक्छौँ?
३ हामी कहिलेकाहीँ अरूको लागि प्रार्थना गर्न बिर्सन सक्छौँ। किन? त्यसको एउटा कारण सब्रिनाa बहिनीले बताइन्। उनी भन्छिन्: “हामी सबै जना एकदमै व्यस्त छौँ अनि हाम्रो आफ्नै समस्याहरू पनि छन्। त्यसैले आफ्नै चिन्ता-फिक्रीहरूबारे मात्र प्रार्थना गरिरहेका हुन सक्छौँ।” के तपाईँलाई पनि त्यस्तै भएको छ? त्यसो हो भने यस लेखले तपाईँलाई यी दुई वटा कुरा बुझ्न मदत गर्नेछ: (१) हामीले किन अरूको लागि प्रार्थना गर्नुपर्छ? अनि (२) हामी कसरी त्यसो गर्न सक्छौँ?
अरूको लागि किन प्रार्थना गर्नुपर्छ?
४-५. हामीले अरूको लागि गर्ने प्रार्थनाले कसरी “ठूलो काम गर्छ”? (याकुब ५:१६)
४ अरूको लागि गर्ने प्रार्थनाले “ठूलो काम गर्छ।” (याकुब ५:१६ पढ्नुहोस्।) अरूको लागि प्रार्थना गर्दा के तिनको परिस्थितिले नयाँ मोड लिन सक्छ? लिन सक्छ। प्रेषित पत्रुसले तिरस्कार गर्नेछन् भनेर थाह भएकोले येसुले तिनलाई यसो भन्नुभयो: “तिम्रो विश्वास नडगमगाओस् भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु।” (लुका २२:३२) पावललाई पनि अरूको लागि गर्ने प्रार्थनाले ठूलो काम गर्छ भनेर थाह थियो। त्यसैले गलत आरोपमा रोमको झ्यालखानामा थुनिँदा तिनले फिलेमोनलाई यस्तो लेखे: “तिमीहरूको प्रार्थनाले गर्दा म तिमीहरूकहाँ आउन सक्नेछु भनेर आशा गर्दै छु।” (फिले. २२) हुन पनि त्यस्तै भयो। पावल चाँडै झ्यालखानाबाट मुक्त भए र फेरि प्रचारकार्यमा लाग्न सके।
५ तर यसको मतलब हामीले प्रार्थना गरेर यहोवालाई दबाब दिन सक्छौँ भन्ने होइन। बरु हामीले जुन कुराको लागि बिन्ती गरिरहेका छौँ, त्यो हाम्रो लागि कत्ति महत्त्वपूर्ण छ भनेर यहोवा याद गर्नुहुन्छ। अनि कहिलेकाहीँ त हाम्रो बिन्ती पूरा पनि गरिदिनुहुन्छ। यो कुरा थाह पाउँदा हामी आफ्नो अवस्थाबारे प्रार्थना गर्न उत्प्रेरित हुन्छौँ अनि ढुक्क भएर बाँकी कुरा यहोवाकै हातमा छोडिदिन्छौँ।—भज. ३७:५; २ कोरि. १:११.
६. अरूको लागि प्रार्थना गर्दा हामी तिनीहरूप्रति कस्तो महसुस गर्छौँ? (१ पत्रुस ३:८)
६ अरूको लागि गर्ने प्रार्थनाले हामीलाई “कोमलताले भरिएको करुणा” विकास गर्न मदत गर्छ। (१ पत्रुस ३:८ पढ्नुहोस्।) करुणाले भरिनु भनेको अर्को व्यक्तिको दुःख याद गर्नु र तिनलाई कुनै न कुनै तरिकामा मदत गर्न इच्छुक हुनु हो। (मर्कु. १:४०, ४१) माइकल नाम गरेका एल्डर यसो भन्छन्: “म अरूको लागि पनि प्रार्थना गर्ने गर्छु। यसो गर्दा उहाँहरूले के-कस्ता चुनौतीहरू भोग्दै हुनुहुन्छ भनेर बुझ्न सक्छु र उहाँहरूप्रतिको प्रेम पनि अझ बढ्छ। हुनत उहाँहरूले याद गर्नुभएको छैन होला तर मचाहिँ उहाँहरूसित अझ नजिक भएको महसुस गर्छु।” रिचर्ड नाम गरेका एल्डरले अरूको लागि प्रार्थना गर्दा हुने अर्को फाइदाबारे बताए। उनी भन्छन्: “अरूको लागि प्रार्थना गर्दा तिनीहरूलाई कुनै न कुनै तरिकामा मदत गर्न उत्प्रेरित हुन्छौँ।” तिनी यसो पनि भन्छन्: “हामीले जसको लागि प्रार्थना गरेका हौँ, तिनलाई मदत गर्दा एक अर्थमा यहोवाले हामीलाई नै चलाएर हाम्रो प्रार्थनाको जवाफ दिइरहनुभएको हुन्छ।”
७. अरूको लागि गर्ने प्रार्थनाले आफ्ना समस्याहरूप्रति उचित दृष्टिकोण राख्न कसरी मदत गर्छ? (फिलिप्पी २:३, ४) (चित्रहरू पनि हेर्नुहोस्।)
७ अरूको लागि गर्ने प्रार्थनाले आफ्ना समस्याहरूप्रति उचित दृष्टिकोण राख्न मदत गर्छ। (फिलिप्पी २:३, ४ पढ्नुहोस्।) सैतानको संसारमा बाँचिरहेकोले हामी सबैले कुनै न कुनै समस्या भोगिरहेका छौँ। (१ युह. ५:१९; प्रका. १२:१२) अरूको लागि प्रार्थना गर्ने बानी बसाल्दा ‘संसारभरिका हाम्रा सबै भाइबहिनीले हामीले जस्तै दुःखकष्ट भोगिरहेका छन्’ भन्ने कुरा सम्झन मदत पाउँछौँ। (१ पत्रु. ५:९) एक अग्रगामी बहिनी क्याथरिन यसो भन्छिन्: “अरूको लागि प्रार्थना गर्दा तिनीहरूले पनि समस्या भोगिरहेका छन् भनेर सम्झन्छु। यसले गर्दा मैले आफ्नै समस्याहरूमा घोरिएर नबस्न मदत पाएकी छु।”
अरूको लागि गर्ने प्रार्थनाले हामीलाई आफ्ना समस्याहरूप्रति उचित दृष्टिकोण राख्न मदत गर्छ (अनुच्छेद ७ हेर्नुहोस्)d
हामी क-कसको लागि प्रार्थना गर्न सक्छौँ?
८. हामी आफ्नो प्रार्थनामा क-कसलाई समावेश गर्न सक्छौँ?
८ हामी आफ्नो प्रार्थनामा क-कसलाई समावेश गर्न सक्छौँ? हामी कुनै खास समस्याको सामना गरिरहेका भाइबहिनीहरूको लागि प्रार्थना गर्न सक्छौँ। जस्तै: बिरामीहरूको लागि, स्कुलमा गिल्ला र साथीहरूको दबाब भोगिरहेका जवानहरूको लागि वा वृद्धावस्थाका चुनौतीहरूसित लडिरहेकाहरूको लागि। हाम्रा थुप्रै भाइबहिनीहरूले परिवारका सदस्यहरू वा सरकारबाट विरोध पनि भोगिरहेका छन्। (मत्ति १०:१८, ३६; प्रेषि. १२:५) कोही-कोही भने देशको राजनैतिक अवस्थाले गर्दा आफ्नो घर छोडेर भाग्नुपरेको छ। कोही-कोहीचाहिँ प्राकृतिक प्रकोपको चपेटामा परेका छन्। हुनत हामी ती भाइबहिनीहरूलाई व्यक्तिगत रूपमा चिन्दैनौँ होला। तैपनि तिनीहरूको लागि प्रार्थना गर्दा “आपसमा प्रेम गर” भन्ने येसुको आज्ञा पालन गरिरहेका हुन्छौँ।—युह. १३:३४.
९. हामीले यहोवाको सङ्गठनमा नेतृत्व लिइरहेका भाइहरू र तिनीहरूका पत्नीहरूको लागि किन प्रार्थना गर्नुपर्छ?
९ हामी यहोवाको सङ्गठनमा नेतृत्व लिइरहेका भाइहरूको लागि पनि प्रार्थना गर्न सक्छौँ। जस्तै: परिचालक निकाय र यसका सहयोगीहरू, शाखा समितिहरू, बेथेलको विभिन्न विभागका निरीक्षकहरू, क्षेत्रीय निरीक्षकहरू, मण्डलीका एल्डरहरू र सहायक सेवकहरू। तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन् तर तिनीहरूको पनि आफ्नै चिन्ता-फिक्रीहरू छन्। (२ कोरि. १२:१५) उदाहरणको लागि, मार्क नाम गरेका एक क्षेत्रीय निरीक्षक यसो भन्छन्, “मैले सामना गरिरहेको एउटा चुनौती भनेको म आफ्नो वृद्ध आमाबुबाबाट धेरै टाढा बस्छु। उहाँहरू दुवै जना बिरामी हुनुहुन्छ। हुनत मेरो दिदी र भिनाजुले उहाँहरूको हेरविचार गर्दै हुनुहुन्छ। तैपनि उहाँहरूको लागि आफूले चाहेजति गर्न नसक्दा नमज्जा लाग्छ।” हुनत हामीलाई यी मेहनती भाइहरूले के-कस्ता चुनौतीहरू भोग्दै छन् भनेर थाह नहुन सक्छ। तैपनि हामीले तिनीहरूको लागि प्रार्थना गर्न बिर्सनु हुँदैन। (१ थिस्स. ५:१२, १३) हामी तिनीहरूका पत्नीहरूको लागि पनि प्रार्थना गर्न सक्छौँ। किनभने उनीहरूको साथ पाएर नै ती भाइहरूले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सकिरहेका छन्।
१०-११. हामीले धेरै भाइबहिनीलाई समेटेर गर्ने प्रार्थना के यहोवालाई मन पर्छ? व्याख्या गर्नुहोस्।
१० हामीले भर्खरै छलफल गरेझैँ हामी अक्सर कुनै एक जना खास भाइ वा बहिनीको लागि नभई भाइबहिनीहरूको लागि साझा प्रार्थना गर्छौँ। उदाहरणको लागि, हामी झ्यालखानामा परेका भाइबहिनीहरूलाई मदत गर्नुहोस् वा प्रियजन गुमाएकाहरूलाई सान्त्वना दिनुहोस् भनेर प्रार्थना गर्छौँ। डोनल्ड नाम गरेका एल्डर यसो भन्छन्: “संसारभरका हाम्रा थुप्रै भाइबहिनीले विभिन्न किसिमका परीक्षाहरू भोगिरहेका छन्। त्यसैले कहिलेकाहीँ हामी उहाँहरू सबैलाई समेटेर एउटा साझा प्रार्थना गर्छौँ।”
११ के यहोवालाई यस्ता प्रार्थनाहरू मन पर्छ? पक्कै मन पर्छ। हामीले थुप्रै भाइबहिनीलाई समेटेर प्रार्थना गर्नु उचित हो किनभने हामीलाई प्रत्येक भाइबहिनीले के-कस्ता समस्याहरू भोगिरहेका छन् भनेर थाह छैन। (युह. १७:२०; एफि. ६:१८) यस्ता प्रार्थनाहरूले हामी “सबै भाइहरूलाई प्रेम” गर्छौँ भनेर देखाउँछ।—१ पत्रु. २:१७.
व्यक्तिविशेषको लागि प्रार्थना गर्दा
१२. अरूको अवस्था याद गऱ्यौँ भने हामीलाई तोकेरै प्रार्थना गर्न किन सजिलो हुन्छ?
१२ अरूको अवस्था याद गर्नुहोस्। धेरै भाइबहिनीलाई समेटेर प्रार्थना गर्नुको अलावा हामी व्यक्तिविशेषको लागि तिनीहरूको नामै तोकेर पनि प्रार्थना गर्न सक्छौँ। के तपाईँको मण्डलीको कसैलाई गम्भीर रोगले सताइरहेको छ? के कुनै जवान भाइ वा बहिनी निराश देखिन्छन्? सायद तिनलाई स्कुलमा कुनै दबाब आइरहेको छ कि? कुनै आमा वा बुबालाई एक्लैले “परमेश्वरको डोऱ्याइबमोजिम” छोराछोरी हुर्काउन गाह्रो भइरहेको छ कि? (एफि. ६:४) यसरी अरूको अवस्था याद गऱ्यौँ भने हामीले तिनीहरूको पीडा महसुस गर्न सक्नेछौँ र तिनीहरूको लागि प्रार्थना गर्न उत्प्रेरित हुनेछौँ।b—रोमी १२:१५.
१३. कहिल्यै नभेटेका भाइबहिनीहरूको लागि प्रार्थना गर्न हामी के गर्न सक्छौँ?
१३ नामै उल्लेख गरेर प्रार्थना गर्नुहोस्। हामी कहिल्यै नभेटेका भाइबहिनीहरूको लागि पनि नामै उल्लेख गरेर प्रार्थना गर्न सक्छौँ। जस्तै: क्राइमिया, एरिट्रिया, रुस र सिङ्गापुरजस्ता देशमा झ्यालखानामा परेका भाइबहिनीहरू। यस्ता भाइबहिनीहरूको नाम तपाईँ jw.org मा पाउन सक्नुहुन्छ।c ब्रायन नाम गरेका एक क्षेत्रीय निरीक्षक यसो भन्छन्: “म झ्यालखानामा परेका कोही भाइ वा बहिनीको नाम लेख्छु अनि त्यो नाम आवाज निकालेर भन्छु। यसो गर्दा तिनको नाम सम्झन अनि नामै उल्लेख गरेर तिनको लागि प्रार्थना गर्न सजिलो लाग्छ।”
१४-१५. अरूको लागि तोकेरै प्रार्थना गर्न हामी के गर्न सक्छौँ?
१४ तोकेरै प्रार्थना गर्नुहोस्। अगाडि उल्लेख गरिएका माइकल यसो भन्छन्: “jw.org मा झ्यालखानामा परेका भाइबहिनीहरूबारे पढ्दा उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ होला भनेर सोच्छु अनि आफू त्यो अवस्थामा भएको भए कस्तो हुन्थ्यो होला भनेर कल्पना गर्छु। मलाई आफ्नो श्रीमतीको चिन्ता लाग्थ्यो होला अनि तिनलाई कुनै पनि कुराको अभाव नहोस् भन्ने चाहन्थेँ होला। यस्तो कुरा विचार गर्दा झ्यालखानामा परेका विवाहित भाइहरूको लागि तोकेरै प्रार्थना गर्न सजिलो लाग्छ।”—हिब्रू १३:३, फुटनोट।
१५ हामी पनि झ्यालखानामा भएका भाइबहिनीहरूको दिन कसरी बित्छ होला भनेर कल्पना गर्न सक्छौँ। यसो गऱ्यौँ भने अरू के-कस्ता कुराहरूको लागि तोकेरै प्रार्थना गर्न सकिन्छ भनेर थाह पाउन सक्छौँ। जस्तै: झ्यालखानाका गार्डहरूले तिनीहरूसित दयालु व्यवहार गरून् अनि उच्च पदाधिकारीहरूले तिनीहरूलाई यहोवाको उपासना गर्न कुनै रोकटोक नगरून् भनेर प्रार्थना गर्न सक्छौँ। (१ तिमो. २:१, २) साथै तिनीहरूको वफादारी देखेर मण्डलीका भाइबहिनीहरूले प्रोत्साहन पाऊन् वा विश्वासमा नभएकाहरूले तिनीहरूको राम्रो आचरण याद गरून् र हाम्रो सन्देश सुनून् भनेर पनि प्रार्थना गर्न सक्छौँ। (१ पत्रु. २:१२) अरू परीक्षा भोगिरहेका भाइबहिनीहरूको लागि पनि हामी यसरी नै प्रार्थना गर्न सक्छौँ। अरूको अवस्था याद गर्दा, प्रार्थनामा नामै उल्लेख गर्दा अनि तोकेरै प्रार्थना गर्दा हामीले ‘एकअर्कालाई प्रशस्तगरि प्रेम’ गरेको देखाइरहेका हुन्छौँ।—१ थिस्स. ३:१२.
प्रार्थनाप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्
१६. हामी प्रार्थनाप्रति कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छौँ? (मत्ति ६:८)
१६ अगाडि छलफल गरिएझैँ हामीले अरूको लागि प्रार्थना गर्दा तिनीहरूको परिस्थितिले नयाँ मोड लिन पनि सक्छ। तर हामीले प्रार्थनाप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्छ। हामीले प्रार्थना गर्दा यहोवालाई थाहै नभएको कुरा बताइरहेका हुँदैनौँ अनि परिस्थितिलाई कसरी सम्हाल्ने भनेर हामीले उहाँलाई सुझाव दिइराख्नु पनि पर्दैन। यहोवालाई आफ्ना प्रत्येक सेवकको आवश्यकता राम्ररी थाह छ; त्यसबारे तिनीहरू आफैले वा हामीले प्रार्थनामा बताउनुअघि नै उहाँलाई थाह हुन्छ। (मत्ति ६:८ पढ्नुहोस्।) त्यसोभए हामीले किन अरूको लागि प्रार्थना गर्ने त? यसका केही कारणहरू हामीले यस लेखमा छलफल गरिसक्यौँ। त्यसबाहेक हामीले अरूको लागि प्रार्थना गर्दा तिनीहरूमा गहिरो चासो राख्छौँ भनेर देखाइरहेका हुन्छौँ। प्रेमले हामीलाई एकअर्काको लागि प्रार्थना गर्न उत्प्रेरित गर्छ। अनि हामीले यहोवाको अनुकरण गर्दै एकअर्कालाई प्रेम देखाउँदा उहाँ खुसी हुनुहुनेछ।
१७-१८. हामीले अरूको लागि गर्ने प्रार्थना यहोवालाई कस्तो लाग्छ? उदाहरणसहित बुझाउनुहोस्।
१७ हाम्रो प्रार्थनाले परिस्थितिलाई नयाँ मोड नदिएको जस्तो देखिए पनि त्यस्तो प्रार्थनाबाट हामी भाइबहिनीलाई प्रेम गर्छौँ भन्ने देखिन्छ। अनि यहोवा त्यो याद गर्नुहुन्छ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, एउटा परिवारमा एक जना सानो छोरा र छोरी छन्। छोरालाई सन्चो छैन अनि छोरीले बुबालाई यसो भन्छे: “ड्याडी! दाइलाई कस्तो दुखिरहेको छ। केही गर्नु न!” छोरालाई गाह्रो भइरहेको कुरा बुबालाई थाह छ। तिनी छोरालाई माया गर्छन् र उसको राम्ररी ख्याल राख्दै छन्। तर सोच्नुहोस् त, आफ्नो सानी छोरीले त्यसरी दाइको चिन्ता गरेको देख्दा ती बुबालाई कत्ति खुसी लाग्छ होला!
१८ यहोवा हामीलाई पनि एकअर्काप्रति गहिरो चासो राख्न अनि एकअर्काको लागि प्रार्थना गर्न प्रोत्साहन दिनुहुन्छ। हामीले त्यसरी प्रार्थना गर्दा अरूप्रति निष्कपट चासो राखेको देखिन्छ अनि यहोवा त्यो कुरा याद गर्नुहुन्छ। (२ थिस्स. १:३; हिब्रू ६:१०) साथै कुनै-कुनै अवस्थामा हाम्रो प्रार्थनाले परिस्थितिलाई नयाँ मोड दिन पनि सक्छ भनेर हामीले सिक्यौँ। त्यसैले एकअर्काको लागि प्रार्थना गर्न कहिल्यै नबिर्सौँ!
गीत १०१ एकतामा बाँधिएर गरौँ काम!
a केही नाम परिवर्तन गरिएका छन्।
b jw.org मा ताकेसी सिमिजु: यहोवा “प्रार्थना सुन्नुहुने परमेश्वर” हुनुहुन्छ भिडियो हेर्नुहोस्।
c अहिले झ्यालखानामा भएका हाम्रा भाइबहिनीहरूको नाम थाह पाउन jw.org मा “आफ्नो विश्वासको कारण थुनिएका यहोवाका साक्षीहरू—देशअनुसार” (अङ्ग्रेजी) हेर्नुहोस्।
d चित्रको व्याख्या: आफैले पनि समस्याहरू भोगिरहेका भाइबहिनीहरू अरूको लागि प्रार्थना गर्दै छन्।