अध्ययन लेख ४२
गीत ४४ दुःखी मानिसको प्रार्थना
मन खोलेर प्रार्थना गर्नुहोस्
“म तपाईँलाई सारा हृदयले पुकार्छु। हे यहोवा, मलाई जवाफ दिनुहोस्।”—भज. ११९:१४५.
सिक्न सकिने कुरा
बाइबलमा रेकर्ड गरिएका प्रार्थनाहरूमा मनन गर्दा हामी मन खोलेर प्रार्थना गर्न मदत पाउँछौँ।
१-२. (क) मन खोलेर प्रार्थना गर्न हामीलाई गाह्रो लाग्नुको कारण के हुन सक्छ? (ख) यहोवा हाम्रो प्रार्थना ध्यान दिएर सुन्नुहुन्छ भनेर किन भन्न सक्छौँ?
के तपाईँलाई कहिलेकाहीँ आफ्नो प्रार्थना सधैँ एकैनासको भइरहेको अनि आफूले मन खोलेर प्रार्थना नगरेको जस्तो लाग्छ? अथवा बानी परेकोले गर्ने कुराजस्तो मात्र भइरहेको छ कि? हामी सबैलाई त्यस्तो महसुस हुन सक्छ। हामी व्यस्त छौँ। त्यसैले प्रार्थना गर्दा हतार गरेर छिट्टै सिद्ध्याउन खोज्छौँ होला अथवा यहोवासित कुरा गर्न आफू अयोग्य छु जस्तो लागेकोले मन खोलेर प्रार्थना गर्न सक्दैनौँ होला।
२ हामी प्रार्थनामा कस्ता शब्दहरू प्रयोग गर्छौँ, यहोवाको लागि त्यो महत्त्वपूर्ण कुरा होइन। बरु हामीले मनैदेखि प्रार्थना गरेका छौँ कि छैनौँ, त्यो उहाँ याद गर्नुहुन्छ। उहाँ “दुःखीहरूको पुकारा सुन्नुहुन्छ।” (भज. १०:१७) हामीले प्रार्थनामा भन्ने एक-एक कुरा उहाँ ध्यान दिएर सुन्नुहुन्छ किनभने उहाँ हामीमा गहिरो चासो राख्नुहुन्छ।—भज. १३९:१-३.
३. यस लेखमा हामी कस्ता प्रश्नहरूको जवाफ पाउनेछौँ?
३ हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: हामी किन ढुक्क भई यहोवालाई प्रार्थना गर्न सक्छौँ? मन खोलेर प्रार्थना गर्न हामी के गर्न सक्छौँ? बाइबलमा रेकर्ड गरिएका प्रार्थनाहरूमा मनन गर्दा हामी कस्तो मदत पाउँछौँ? अनि असाध्यै चिन्तित भएकोले आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न नसक्दा हामी के गर्न सक्छौँ? आउनुहोस्, यी प्रश्नहरूबारे छलफल गरौँ।
ढुक्क भई यहोवालाई प्रार्थना गर्नुहोस्
४. हामी किन ढुक्क भई यहोवालाई प्रार्थना गर्न सक्छौँ? (भजन ११९:१४५)
४ यहोवा हाम्रो वफादार साथी हुनुहुन्छ र सधैँ हाम्रो हित चाहनुहुन्छ भन्ने कुरा मनमा राख्यौँ भने ढुक्क भई उहाँलाई प्रार्थना गर्न सक्छौँ। भजन ११९ का लेखकले यहोवालाई त्यस्तै घनिष्ठ मित्रको रूपमा हेर्न प्रयास गरे। हुनत तिनको जीवनमा थुप्रै समस्याहरू आइपरे। अहङ्कारीहरूले तिनीबारे नानाथरीका झूट बोले। (भज. ११९:२३, ६९, ७८) तिनले आफ्नै कमीकमजोरीविरुद्ध पनि सङ्घर्ष गर्नुपऱ्यो। (भज. ११९:५) तैपनि तिनी यहोवालाई आफ्नो मनको कुरा खुलेर बताउन हिचकिचाएनन्।—भजन ११९:१४५ पढ्नुहोस्।
५. आफूप्रति नकारात्मक सोचाइ राखेर हामी किन प्रार्थना गर्नदेखि पछि हट्नु हुँदैन? एउटा उदाहरण बताउनुहोस्।
५ यहोवा गम्भीर पाप गरेका व्यक्तिहरूलाई समेत प्रार्थना गर्न आग्रह गर्नुहुन्छ। (यसै. ५५:६, ७) त्यसैले आफैप्रति नकारात्मक सोचाइ राखेर हामी प्रार्थना गर्नदेखि पछि हट्नु हुँदैन। एउटा उदाहरण विचार गरौँ। मानौँ, तपाईँ कुनै नयाँ ठाउँमा यात्रा गर्दै हुनुहुन्छ तर बाटो बिराउनुहुन्छ। त्यस्तो अवस्थामा कुनै स्थानीय व्यक्तिले तपाईँलाई सही बाटो भेट्टाउन मदत गर्न सक्छन्। तर तपाईँले बाटो बिराएको कुरा थाह पायो भने तिनले के सोच्लान् भनेर के तपाईँ तिनलाई बाटो सोध्न अप्ठ्यारो मान्नुहुन्छ? पक्कै मान्नुहुन्न। त्यसरी नै कहिलेकाहीँ हामी कस्तो निर्णय गर्ने भनेर अलमलमा पर्न सक्छौँ वा हामीबाट गम्भीर गल्ती हुन सक्छ। त्यस्तो बेला पनि हामी ढुक्क भई यहोवालाई प्रार्थना गर्न सक्छौँ।—भज. ११९:२५, १७६.
मन खोलेर प्रार्थना गर्न हामी के गर्न सक्छौँ?
६-७. हामीले किन यहोवाका गुणहरूमा मनन गर्नुपर्छ? एउटा अनुभव बताउनुहोस्। (फुटनोट पनि हेर्नुहोस्।)
६ हामी यहोवालाई आफ्नो भित्री सोचाइ र भावना व्यक्त गर्दै उहाँलाई मन खोलेर प्रार्थना गर्न सक्छौँ। यसरी प्रार्थना गऱ्यौँ भने उहाँसित अझ नजिक हुन सक्छौँ। मन खोलेर प्रार्थना गर्न हामी के गर्न सक्छौँ?
७ यहोवाका गुणहरूमा मनन गर्नुहोस्।a हामी उहाँका गुणहरूमा जति धेरै मनन गर्छौँ, मन खोलेर प्रार्थना गर्न त्यति नै सजिलो लाग्नेछ। (भज. १४५:८, ९, १८) क्रिस्टिन बहिनीको अनुभव विचार गरौँ। तिनको बुबा असाध्यै हिंस्रक स्वभावका थिए। तिनी यसो भन्छिन्: “यहोवालाई आफ्नो बुबा ठानेर कुरा गर्न मलाई असाध्यै गाह्रो लाग्थ्यो। ममा थुप्रै कमीकमजोरी भएकोले यहोवाले पनि मलाई त्याग्नुहुन्छ होला जस्तो लाग्थ्यो।” यहोवाको कुन गुणबारे मनन गर्दा तिनले मदत पाइन्? तिनी भन्छिन्: “यहोवाको अटल प्रेमबारे मनन गर्दा उहाँ मलाई माया गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन सकेँ। उहाँ सधैँ मेरो नजिक हुनुहुन्छ भन्ने कुरामा म अहिले विश्वस्त छु। म लडेँ भने पनि उहाँले मलाई उठाउनुहुनेछ। अहिले म उहाँलाई आफ्नो सुख-दुःख सबै बताउन सक्छु।”
८-९. प्रार्थनामा के भन्ने भनेर पहिल्यै सोचविचार गर्दा कस्तो फाइदा हुन्छ? एउटा अनुभव बताउनुहोस्।
८ के भन्ने भनेर पहिल्यै सोच्नुहोस्। प्रार्थना गर्नुअघि तपाईँ आफैलाई केही प्रश्नहरू सोध्न सक्नुहुन्छ। जस्तै: ‘मैले कस्ता समस्याहरू भोगिरहेको छु? के मैले कसैलाई क्षमा दिनुपर्ने छ? हालै मैले कस्तो नयाँ चुनौतीको सामना गरिरहेको छु, जसको लागि मलाई यहोवाको मदत चाहिरहेको छ?’ (२ राजा १९:१५-१९) साथै येसुले सिकाउनुभएको नमुना प्रार्थनाबारे सोच्नुहोस् अनि यहोवाको नाम, उहाँको राज्य र उहाँको उद्देश्यबारे प्रार्थनामा के-के भन्न सकिन्छ, विचार गर्नुहोस्।—मत्ति ६:९, १०.
९ अलिस्का बहिनीको अनुभव विचार गरौँ। तिनको पतिलाई ब्रेन क्यान्सर भयो र डाक्टरले अब उनी धेरै बाँच्नेछैनन् भनेर बताए। यो कुरा थाह पाएपछि अलिस्कालाई प्रार्थना गर्न समेत असाध्यै गाह्रो भयो। तिनी भन्छिन्: “म साह्रै निराश भएँ। मैले प्रार्थनामा के भन्ने भनेर ठीकसित सोच्नै सकिनँ।” तिनलाई केले मदत गरेको छ? तिनी भन्छिन्: “प्रार्थना गर्नुअघि यहोवालाई के भन्ने भनेर एकछिन विचार गर्छु। यसो गर्दा मैले प्रार्थनामा आफू र आफ्नो श्रीमान्को अवस्थाबारे मात्रै नबताउन मदत पाएकी छु। यसरी पहिल्यै सोचविचार गर्दा मन शान्त भएको महसुस गर्छु अनि आफ्नै विषयमा मात्र होइन, अरू विभिन्न विषयमा प्रार्थना गर्न सकेकी छु।”
१०. हामीले किन समय लगाएर प्रार्थना गर्नुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
१० समय लगाएर प्रार्थना गर्नुहोस्। हुनत छोटो प्रार्थना गर्दा पनि हामी यहोवासित नजिक हुन सक्छौँ तर समय लगाएर प्रार्थना गर्दा हामी यहोवालाई आफ्नो भित्री भावनाहरूसमेत पोखाउन सक्छौँ।b अलिस्काका श्रीमान् एलाइजा यसो भन्छन्: “म दिनमा धेरै चोटि प्रार्थना गर्ने प्रयास गर्छु। समय लगाएर प्रार्थना गर्दा यहोवासित अझ नजिक भएको महसुस गर्छु। मैले लामो प्रार्थना गर्दा यहोवा दिक्क मान्नुहुन्न भनेर मलाई थाह छ। त्यसैले म हतार नगरी प्रार्थना गर्छु।” तपाईँ पनि त्यस्तै गर्न सक्नुहुन्छ। कुनै कुराले नअलमल्याउने अनि लामो प्रार्थना गर्न सकिने समय र ठाउँ रोज्नुहोस्। सायद त्यस्तो वातावरणमा तपाईँ आवाजै निकालेर पनि प्रार्थना गर्न सक्नुहुन्छ होला। यसरी समय लगाएर प्रार्थना गर्ने बानी बसाल्नुहोस्।
लामो प्रार्थना गर्न सकिने समय र ठाउँ रोज्नुहोस् (अनुच्छेद १० हेर्नुहोस्)
मनैदेखि गरिएका प्रार्थनाहरूमा मनन गर्नुहोस्
११. बाइबलमा पाइने मनैदेखि गरिएका प्रार्थनाहरूमा मनन गर्दा हामी कस्तो लाभ उठाउन सक्छौँ? (“के तपाईँ पनि तिनीहरूले जस्तै महसुस गर्नुहुन्छ?” भन्ने पेटी पनि हेर्नुहोस्।)
११ यहोवाका सेवकहरूले मनैदेखि गरेका प्रार्थना र भजनहरू बाइबलमा रेकर्ड गरिएका छन्। त्यसमा मनन गर्दा तपाईँ थुप्रै लाभ उठाउन सक्नुहुन्छ। विगतका परमेश्वरका सेवकहरूले उहाँलाई आफ्ना भित्री भावनाहरू कसरी व्यक्त गरे भनेर मनन गर्दा तपाईँ पनि मन खोलेर प्रार्थना गर्न उत्प्रेरित हुनुहुनेछ। साथै तपाईँले प्रार्थनामा चलाउन सक्ने प्रशंसाका नयाँ-नयाँ अभिव्यक्तिहरू पनि भेट्टाउन सक्नुहुनेछ। अनि तपाईँको जस्तै अवस्थामा पर्दा परमेश्वरका सेवकहरूले गरेका प्रार्थनाहरू पनि भेट्टाउन सक्नुहुनेछ।
१२. कुनै प्रार्थनाबारे पढ्दा हामी आफूलाई कस्ता प्रश्नहरू सोध्न सक्छौँ?
१२ बाइबलमा रेकर्ड गरिएको कुनै प्रार्थना पढ्दा आफैलाई सोध्नुहोस्: ‘यो प्रार्थना कसले गरेका हुन् अनि कस्तो अवस्थामा? के यसमा व्यक्त गरिएका कुराहरू मेरो अवस्थासित मिल्दोजुल्दो छ? म यसबाट के सिक्न सक्छु?’ यस्ता प्रश्नहरूको जवाफ पाउन तपाईँले थप अनुसन्धान गर्नुपर्ने हुन सक्छ। तर तपाईँको प्रयास खेर जानेछैन। आउनुहोस्, केही प्रार्थनाहरूबारे विचार गरौँ।
१३. हामीले हन्नाबाट प्रार्थनाबारे सिक्न सक्ने एउटा कुरा के हो? (१ समुएल १:१०, ११) (चित्र पनि हेर्नुहोस्।)
१३ पहिलो समुएल १:१०, ११ पढ्नुहोस्। हन्नाले यो प्रार्थना गर्दा उनले दुइटा ठूलो समस्या भोगिरहेकी थिइन्। एउटा उनी बाँझी थिइन् अनि अर्को उनको सौताले उनलाई दुःख दिइरहन्थिन्। (१ समु. १:४-७) कुनै समस्याले तपाईँलाई निकै गाह्रो बनाइरहेको छ भने तपाईँ हन्नाको प्रार्थनाबाट के सिक्न सक्नुहुन्छ? उनले समय लगाएर प्रार्थना गर्दा अनि आफ्नो मनको बह यहोवालाई पोख्दा हलुका महसुस गरिन्। (१ समु. १:१२, १८) ‘आफ्नो भारी यहोवामा बिसाउँदा’ अर्थात् आफूलाई पिरोलिरहेको चिन्ता-फिक्रीबारे उहाँलाई बताउँदा हामीले पनि हलुका महसुस गर्नेछौँ।—भज. ५५:२२.
हन्ना बाँझी भएकीले र सौताले दुःख दिइरहने भएकोले निराश थिइन्; त्यतिबेला तिनले आफ्नो मनको बह यहोवालाई पोखिन् (अनुच्छेद १३ हेर्नुहोस्)
१४. (क) हामीले हन्नाबाट सिक्न सक्ने अर्को कुरा के हो? (ख) बाइबलमा पाइने प्रार्थनाहरूमा मनन गर्दा हामी कसरी आफ्नो प्रार्थनालाई अर्थपूर्ण बनाउन सक्छौँ? (फुटनोट हेर्नुहोस्।)
१४ समुएल जन्मिएको केही वर्षपछि हन्नाले उसलाई प्रधानपुजारी एलिकहाँ लगिन्। (१ समु. १:२४-२८) त्यसपछि उनले एउटा मनै छुने प्रार्थना गरिन्। त्यस प्रार्थनामा उनले यहोवा आफ्ना वफादार सेवकहरूको रक्षा गर्नुहुन्छ र हेरचाह गर्नुहुन्छ भन्ने कुरा व्यक्त गरिन्।c (१ समु. २:१, ८, ९) हुनत उनको जीवनमा अझै पनि समस्याहरू थिए होलान्। तर उनले आफ्नो समस्यामा नभई यहोवाले दिनुभएका आशिष्हरूमा ध्यान दिइन्। यसबाट हामी के सिक्न सक्छौँ? यहोवाले हामीलाई अहिलेसम्म कसरी सम्हालिरहनुभएको छ भन्ने कुरामा ध्यान दियौँ भने आफूले भोगिरहेको समस्याको सामना गर्न बल पाउनेछौँ।
१५. अन्याय भोग्नुपर्दा हामी भविष्यवक्ता यर्मियाले गरेको प्रार्थनाबाट के सिक्न सक्छौँ? (यर्मिया १२:१)
१५ यर्मिया १२:१ पढ्नुहोस्। एकचोटि भविष्यवक्ता यर्मिया दुष्टहरू सफल भएको देखेर असाध्यै विचलित भए। साथै सङ्गी इस्राएलीहरूले गरेको व्यवहारले गर्दा तिनी निराश भए। (यर्मि. २०:७, ८) हामीलाई पनि यर्मियालाई जस्तै महसुस हुन सक्छ। बेइमान मानिसहरूको फलिफाप भएको देख्दा वा कसैले हाम्रो खिल्ली उडाउँदा हामी निराश हुन सक्छौँ। हुनत यर्मियाले यहोवासामु आफ्नो दुखेसो पोखे तर तिनले कहिल्यै पनि यहोवा अन्यायी हुनुहुन्छ भनेर आरोप लगाएनन्। पछि यहोवाले विद्रोही मानिसहरूलाई सजाय दिनुभएको देख्दा यहोवा कहिल्यै अन्याय गर्नुहुन्न भन्ने कुरामा तिनी अझ पक्का भएको हुनुपर्छ। (यर्मि. ३२:१९) हामीले भोगिरहेका सबै अन्यायहरू यहोवाले ठीक समयमा हटाउनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ। त्यसैले हामी पनि उहाँलाई प्रार्थनामा आफ्नो दुखेसो पोख्न सक्छौँ।
१६. निर्वासनमा परेको लेवीले गरेको प्रार्थनाबाट हामी के सिक्न सक्छौँ? (भजन ४२:१-४) (चित्रहरू पनि हेर्नुहोस्।)
१६ भजन ४२:१-४ पढ्नुहोस्। यो भजन निर्वासनमा परेका एक लेवीले रचेका हुन्। तिनी निर्वासनमा परेकोले सङ्गी इस्राएलीहरूसँगै मन्दिरमा गएर यहोवाको उपासना गर्न सक्दैनथे। यस भजनमा तिनले आफ्नो भावना व्यक्त गरेका छन्। हामी पनि बिरामी परेकोले घरमै थुनिएर बस्नुपर्दा वा आफ्नो विश्वासको कारण झ्यालखानामा पर्दा तिनले जस्तै महसुस गर्छौँ होला। त्यस्तो बेला हाम्रो भावना सधैँ एकैनासको हुँदैन। कहिले त ठीकै छु जस्तो लाग्ला तर कहिले भने असाध्यै निराश हुन सक्छौँ। आफूले जस्तो महसुस गरिरहेको भए तापनि आफ्नो भावना यहोवालाई पोखाउनु राम्रो हो। यसो गऱ्यौँ भने आफूले किन त्यस्तो महसुस गर्दै छु भनेर बुझ्न र आफ्नो अवस्थाप्रति उचित दृष्टिकोण राख्न सक्नेछौँ। जस्तै, निर्वासनमा परेका लेवीले अन्य तरिकाहरूमा पनि यहोवाको उपासना गर्न सकिन्छ भन्ने कुरा बुझे। (भज. ४२:५) यहोवाले कसरी आफ्नो ख्याल राखिरहनुभएको छ भन्ने कुरामा पनि तिनले मनन गरे। (भज. ४२:८) व्यग्रतासाथ प्रार्थना गऱ्यौँ भने आफूले किन त्यस्तो महसुस गर्दै छु भनेर बुझ्न सक्नेछौँ, मनोशान्ति पाउनेछौँ अनि सहने बल पनि पाउनेछौँ।
भजन ४२ रच्ने लेवीले परमेश्वरलाई आफ्नो भावना व्यक्त गरे। हामीले पनि त्यसै गऱ्यौँ भने आफ्नो अवस्थाप्रति उचित दृष्टिकोण राख्न सक्नेछौँ (अनुच्छेद १६ हेर्नुहोस्)
१७. (क) भविष्यवक्ता योनाको प्रार्थनाबाट हामी के सिक्न सक्छौँ? (योना २:१, २) (ख) गाह्रो अवस्थामा पर्दा हामीले भजनका केही अभिव्यक्तिहरू सम्झ्यौँ भने कस्तो फाइदा हुन्छ? (फुटनोट हेर्नुहोस्।)
१७ योना २:१, २ पढ्नुहोस्। भविष्यवक्ता योनाले यो प्रार्थना माछाको पेटभित्रबाट गरेका थिए। हुनत तिनले यहोवाले भन्नुभएअनुसार गरेनन् तर उहाँले तिनको पुकारा सुन्नुहुनेछ भन्ने कुरामा ढुक्क थिए। तिनले आफ्नो प्रार्थनामा भजनको किताबमा पाइने थुप्रै अभिव्यक्तिहरू चलाए।d तिनलाई ती भजनहरू राम्रोसित थाह भएको हुनुपर्छ। त्यसमा मनन गर्दा यहोवाले पक्कै मदत गर्नुहुनेछ भन्ने कुरामा तिनी ढुक्क हुन सके। त्यसैगरि हामी पनि केही बाइबल पदहरू कण्ठ गर्न सक्छौँ। त्यसो गऱ्यौँ भने गाह्रो अवस्थामा पर्दा ती पदहरू हामीलाई याद आउन सक्छ अनि सान्त्वना पाउन सक्छौँ।
प्रार्थना गरेर यहोवासित अझ नजिक हुनुहोस्
१८-१९. आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न नसक्दा रोमी ८:२६, २७ बाट हामी कस्तो सान्त्वना पाउँछौँ? एउटा अनुभव बताउनुहोस्।
१८ रोमी ८:२६, २७ पढ्नुहोस्। कहिलेकाहीँ हामी चिन्ता-फिक्रीले असाध्यै व्याकुल भएकोले आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न सक्दैनौँ। तर हाम्रो लागि एउटा मदत उपलब्ध छ। त्यस्तो अवस्थामा परमेश्वरको पवित्र शक्तिले हाम्रो तर्फबाट “बिन्ती” गरिदिन्छ। कसरी? यहोवाले आफ्ना थुप्रै सेवकहरूका प्रार्थनाहरू बाइबलमा लेख्न लगाउन पवित्र शक्ति चलाउनुभयो। ती प्रार्थनाहरू अहिले हामीले पनि पढ्न पाएका छौँ। हामीले आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न नसक्दा ती प्रार्थनाहरूमा पाइने अभिव्यक्तिहरूलाई यहोवाले हाम्रो बिन्तीको रूपमा स्विकार्नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ।
१९ यस कुराबाट रुसकी एउटी बहिनी एलेनाले निकै सान्त्वना पाइन्। प्रार्थना गरेकोले अनि बाइबल पढेकोले तिनी गिरफ्तार भइन्। त्यतिबेला तिनले कस्तो महसुस गरिन्? तिनी भन्छिन्: “तनावले गर्दा के गरूँ, कसो गरूँ भयो अनि प्रार्थनामा के भन्ने भनेर सोच्न समेत सकिनँ। मैले त्यतिबेला विगतमा यहोवाका सेवकहरूले गरेका प्रार्थनाहरूलाई उहाँले मेरै प्रार्थनाको रूपमा स्विकार्नुहुन्छ भनेर सम्झेँ। यसबाट मैले गाह्रो अवस्थामा निकै सान्त्वना पाएँ।”
२०. तनाव हुँदा प्रार्थना गर्नुअघि हामी कस्तो तयारी गर्न सक्छौँ?
२० असाध्यै तनाव भएको बेला हामीलाई एकाग्र भएर प्रार्थना गर्न गाह्रो हुन सक्छ। त्यस्तो बेला हामी के गर्न सक्छौँ? प्रार्थना गर्नुअघि हामी भजनको किताबका अडियो रेकर्डिङहरू सुन्न सक्छौँ। राजा दाउदले जस्तै हामी आफ्ना भावनाहरू लेख्न पनि सक्छौँ। (भज. १८, ३४, १४२; शिर बेहोरा) तर प्रार्थना गर्नुअघि कस्तो तयारी गर्नुपर्छ भन्ने सन्दर्भमा कुनै खास नियम छैन। (भज. १४१:२) तपाईँलाई जे गर्दा सजिलो हुन्छ, त्यही गर्नुहोस्।
२१. हामी किन मन खोलेर यहोवालाई प्रार्थना गर्न सक्छौँ?
२१ हुनत हामीले केही भन्नुअघि नै यहोवा हाम्रो भावना बुझ्नुहुन्छ र यो कुरा थाह पाउँदा हामी निकै सान्त्वना पाउँछौँ। (भज. १३९:४) तैपनि हामीले उहाँमा भरोसा राख्दै आफ्ना भावनाहरू व्यक्त गरेको उहाँ चाहनुहुन्छ। त्यसैले मन खोलेर प्रार्थना गर्नुहोस्। उहाँलाई आफ्ना भावनाहरू पोखाउन अप्ठ्यारो नमान्नुहोस्। बाइबलमा पाइने प्रार्थनाहरूमा प्रयोग गरिएका अभिव्यक्तिहरू तपाईँ पनि आफ्नो प्रार्थनामा प्रयोग गर्न सक्नुहुन्छ। उहाँलाई आफ्नो सुख-दुःख सबै बताउन सक्नुहुन्छ। यहोवा तपाईँको साँचो मित्र हुनुहुन्छ। जस्तोसुकै अवस्थामा पनि उहाँले तपाईँलाई साथ दिनुहुनेछ।
गीत ४५ मेरो चिन्तन
a ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू किताबको “यहोवा” विषयअन्तर्गत भएको “यहोवाका केही मनमोहक गुण” हेर्नुहोस्।
b सभामा गरिने प्रार्थना अक्सर छोटो हुन्छ।
c हन्नाले आफ्नो प्रार्थनामा चलाएका अभिव्यक्तिहरू मोसाका लेखोटहरूमा पनि पाइन्छ। यसबाट उनी धर्मशास्त्रमा लेखिएका कुराहरूमा मनन गर्न समय लगाउँथिन् भनेर देखिन्छ। (व्यव. ४:३५; ८:१८; ३२:४, ३९; १ समु. २:२, ६, ७) सयौँ वर्षपछि येसुकी आमा मरियमले हन्नाले प्रार्थनामा चलाएका जस्तै अभिव्यक्तिहरू प्रयोग गर्दै यहोवाको प्रशंसा गरिन्।—लुका १:४६-५५.