परिचालक निकायका दुई नयाँ सदस्य
अक्टोबर ५, २०२४ मा भाइ जोडि जेड्लि र जेकब रम्फ यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य नियुक्त हुनुभएको छ भनेर एउटा विशेष घोषणा गरिएको थियो। उहाँहरूले लामो समयदेखि वफादार भई यहोवाको सेवा गर्दै आउनुभएको छ।
जोडि जेड्लि र उहाँकी पत्नी डामारिस
भाइ जेड्लि अमेरिकाको मिसोरीमा जन्मनुभयो र उहाँ सत्यमै हुर्कनुभयो। उहाँको परिवार त्यत्ति प्रचार नभएको इलाकामा बस्थ्यो। त्यसैले उहाँले प्रचारको लागि विभिन्न ठाउँबाट आएका भाइबहिनीलाई भेट्ने मौका पाउनुभयो। तिनीहरूबीचको प्रेम अनि एकता देखेर उहाँमा गहिरो प्रभाव पऱ्यो। उहाँले अक्टोबर १५, १९८३ मा बप्तिस्मा गर्नुभयो। उहाँलाई प्रचारकार्य निकै रमाइलो लाग्थ्यो। त्यसैले हाई स्कुल सिद्धिएपछि सेप्टेम्बर १९८९ मा नियमित अग्रगामी थाल्नुभयो।
सानो छँदा भाइ जेड्लि आफ्नो आमाबुबा र बहिनीसँगै बेथेल घुम्न जानुहुन्थ्यो। यसले गर्दा उहाँ र उहाँकी बहिनीले बेथेल सेवा गर्ने लक्ष्य राख्न प्रोत्साहन पाउनुभयो र त्यो लक्ष्य पूरा पनि गर्नुभयो। भाइ जेड्लिले सेप्टेम्बर १९९० देखि वाल्किल बेथेलमा सेवा गर्न थाल्नुभयो। उहाँले सुरुमा सरसफाइ विभाग अनि त्यसपछि स्वास्थ्य उपचार सेवामा काम गर्नुभयो।
त्यतिबेला नजिकैको स्पेनिश भाषाका मण्डलीहरूमा निकै वृद्धि हुँदै थियो र भाइहरूको पनि खाँचो थियो। त्यसैले भाइ जेड्लि स्पेनिश भाषाको मण्डलीमा जानुभयो अनि त्यो भाषा सिक्न थाल्नुभयो। त्यसको केही समयपछि एक जना अग्रगामी बहिनी डामारिससित उहाँको भेट भयो। उहाँहरू एउटै क्षेत्रको हुनुहुन्थ्यो। पछि उहाँहरूले विवाह गर्नुभयो अनि सँगै बेथेल सेवा गर्न थाल्नुभयो।
सन् २००५ मा आमाबुबाको हेरविचार गर्न उहाँहरूले बेथेल छोड्नुभयो। उहाँहरूले आमाबुबाको हेरविचार गर्दै नियमित अग्रगामी पनि गर्नुभयो। भाइ जेड्लिले केही पटक अग्रगामी सेवा स्कुलमा पढाउनुभयो अनि अस्पताल सम्पर्क समिति र क्षेत्रीय निर्माण समितिमा पनि सेवा गर्नुभयो।
सन् २०१३ मा भाइ र बहिनी जेड्लिलाई वारविक निर्माण परियोजनामा सघाउन फेरि बेथेल बोलाइयो। त्यसदेखि यता उहाँहरूले प्याटर्सन र वाल्किलमा पनि सेवा गर्नुभएको छ। साथै भाइ जेड्लिले स्थानीय डिजाइन/निर्माण विभाग अनि अस्पताल सूचना सेवामा पनि काम गर्नुभएको छ। मार्च २०२३ मा उहाँलाई सेवा समितिका सहयोगीको रूपमा नियुक्त गरियो। आफूले पाएका विभिन्न असाइनमेन्टलाई फर्केर हेर्दा उहाँ यसो भन्नुहुन्छ: “नयाँ असाइनमेन्ट पाउँदा कहिलेकाहीँ हामी आत्तिन सक्छौँ। तर त्यस्तो बेला हामीले गर्नै पर्ने कुरा भनेको यहोवामाथि भरोसा राख्नु हो। किनभने बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ।”
जेकब रम्फ र उहाँकी पत्नी इङ्गा
भाइ रम्फ अमेरिकाको क्यालिफोर्नियामा जन्मनुभयो। उहाँ सानो छँदा उहाँको आमा निष्क्रिय हुनुहुन्थ्यो। तैपनि छोरालाई बाइबल सत्य सिकाउन निकै प्रयास गर्नुभयो। भाइ रम्फ हरेक वर्ष आफ्नो हजुरआमालाई भेट्न जानुहुन्थ्यो, जो एक जना वफादार ख्रिष्टियन हुनुहुन्थ्यो। उहाँको मदतले गर्दा सत्यप्रति भाइ रम्फको चासो बढ्दै गयो अनि १३ वर्षको छँदा उहाँले बाइबल अध्ययन गर्न चाहेको कुरा बताउनुभयो। सेप्टेम्बर २७, १९९२ मा उहाँले बप्तिस्मा गर्नुभयो। खुसीको कुरा, पछि उहाँकी आमा फेरि सक्रिय हुनुभयो अनि परिवारका अरू सदस्यहरूले पनि प्रगति गरेर बप्तिस्मा गरे।
किशोरावस्थामा भाइ रम्फले अग्रगामी भाइबहिनीहरू कत्ति आनन्दित छन् भनेर याद गर्नुभयो। त्यसैले हाई स्कुलको पढाइ सिद्धिएपछि सेप्टेम्बर १९९५ मा उहाँले पनि अग्रगामी थाल्नुभयो। सन् २००० मा उहाँ आवश्यकता धेरै भएको ठाउँ इक्वेडरमा सर्नुभयो। त्यहाँ उहाँको भेट क्यानाडाकी अग्रगामी बहिनी इङ्गासँग भयो अनि पछि उहाँहरूले विवाह गर्नुभयो। विवाहपछि उहाँहरूले इक्वेडरको एउटा सानो सहरमा सेवा गर्न थाल्नुभयो। त्यतिबेला त्यहाँ थोरै मात्र प्रकाशक थिए तर अहिले त्यहाँ एउटा ठूलो मण्डली भइसकेको छ।
पछि भाइ र बहिनी रम्फ विशेष अग्रगामीको रूपमा नियुक्त हुनुभयो अनि उहाँहरूले परिभ्रमण कार्य पनि गर्नुभयो। सन् २०११ मा उहाँहरूलाई गिलियडको १३२ औँ कक्षामा निम्तो दिइयो। स्नातक भएपछि उहाँहरूले विभिन्न देशमा गएर सेवा गर्नुभयो। उहाँहरूले बेथेल सेवक, मिसनरी अनि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुभयो। भाइ रम्फले राज्य प्रचारकहरूका लागि स्कुलको प्रशिक्षकको रूपमा पनि सेवा गर्नुभयो।
कोभिड-१९ महामारीले गर्दा भाइ र बहिनी रम्फ अमेरिका फर्कनुभयो। उहाँहरूलाई वाल्किल बेथेलमा बोलाइयो। त्यहाँ भाइ रम्फले सेवा विभागमा तालिम पाउनुभयो। पछि उहाँहरूलाई फेरि इक्वेडर शाखामा खटाइयो। त्यहाँ भाइ रम्फले शाखा समितिको सदस्यको रूपमा सेवा गर्नुभयो। सन् २०२३ मा उहाँहरूलाई वारविकमा बोलाइयो अनि जनवरी २०२४ मा भाइ रम्फलाई सेवा समितिका सहयोगीको रूपमा नियुक्त गरियो। आफूले गरेको सेवालाई फर्केर हेर्दा उहाँ यसो भन्नुहुन्छ: “हामी कहाँ सेवा गर्दै छौँ, कस्तो असाइनमेन्ट सम्हाल्दै छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन। बरु कोसित सेवा गर्दै छौँ, त्यो महत्त्वपूर्ण हो।”
हामी यी भाइहरूको कडा मेहनतको निकै कदर गर्छौँ अनि ‘त्यस्ता भाइहरूलाई अनमोल ठान्छौँ।’—फिलि. २:२९.