अध्ययन लेख ४९
गीत ४४ दुःखी मानिसको प्रार्थना
सल्लाह दिनुपर्दा अय्युबको किताबले हामीलाई कसरी मदत गर्न सक्छ?
“बिन्ती छ अय्युब, मेरो कुरा सुन्नुहोस्।”—अय्यु. ३३:१.
सिक्न सकिने कुरा
सल्लाह दिँदा के भन्ने र कसरी भन्ने भनेर अय्युबको किताबबाट सिक्नेछौँ।
१-२. अय्युबका तीन जना साथीहरू र एलिहु कस्तो अप्ठ्यारो अवस्थामा परे?
अय्युब असाध्यै धनी थिए र टाढा-टाढाका मानिसहरूले पनि यो कुरा सुनेका थिए। तर अब भने तिनले आफ्नो सबै धनसम्पत्ति गुमाइसकेका थिए। यो कुरा मानिसहरूमाझ डढेलोसरी फैलियो। अय्युबका तीन जना साथीहरू एलिपज, बिल्दद र जोपरले पनि तिनीबारे सुने। त्यसैले तिनीहरू अय्युबलाई भेटेर सान्त्वना दिन उज देशमा आए। तर अय्युबको अवस्था देखेपछि तिनीहरू अक्क न बक्क भए।
२ अय्युबको अवस्था कल्पना गर्नुहोस्। तिनीसित भएको सबै कुरा खोसिएको छ। तिनको वस्तुभाउ, भेडाबाख्रा, ऊँट र गधाहरू सबै सखाप भए। तिनका थुप्रै नोकरचाकरहरू मारिए। तिनका छोराछोरीहरू भेला भएको घर गर्ल्यामगुर्लुम ढल्यो र तिनीहरू सबै मारिए। त्यति मात्र कहाँ हो र! अय्युब आफै पनि दयनीय अवस्थामा थिए। तिनको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो। अय्युबका साथीहरूले तिनी झोक्राएर खरानीको थुप्रोमा बसिरहेको टाढैबाट देखे। तिनीहरू सात दिनसम्म अय्युबसँगै भुईँमा बसे। अय्युबलाई साह्रै पीडा भइरहेको देख्दादेख्दै पनि तिनीहरूमध्ये कसैले एक शब्द बोलेनन्। (अय्यु. २:१२, १३) एलिहु पनि अय्युबलाई भेट्न आए र छेवैमा बसे। त्यसपछि अय्युबले मुख खोले र आफू जन्मेको दिनलाई धिक्कार्न थाले। तिनले बरु आफू जन्मँदै नजन्मेको भए हुन्थ्यो भने। (अय्यु. ३:१-३, ११) यस्तो अवस्थामा अय्युबलाई सान्त्वना चाहिएको थियो। अय्युबका साथीहरूले तिनलाई सान्त्वना दिन सक्थे र आफू तिनको साँचो मित्र हो भनेर देखाउन सक्थे। तर तिनीहरूले के गरे, अब हेरौँ।
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ अय्युबका तीन जना साथीहरू र एलिहुले भनेका र गरेका कुराहरू यहोवाले मोसालाई लेख्न लगाउनुभयो। एलिपजले भनेका कुनै-कुनै कुरा दुष्ट स्वर्गदूतबाट आएको थियो जस्तो देखिन्छ। तर एलिहुले भनेका कुराहरू भने यहोवाबाटै आएको थियो। (अय्यु. ४:१२-१६; ३३:२४, २५) त्यसैले अय्युबको किताबमा राम्रो र नराम्रो दुवै किसिमको सल्लाह पाइन्छ। त्यसोभए अरूलाई सल्लाह दिनुपर्दा हामी अय्युबको किताबबाट कस्तो मदत पाउन सक्छौँ, अब बुझौँ। सुरुमा हामी अय्युबका तीन जना साथीको नराम्रो उदाहरण छलफल गर्नेछौँ। त्यसपछि एलिहुको राम्रो उदाहरण छलफल गर्नेछौँ। साथै अय्युबको किताबबाट इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे र हामी पनि कस्तो लाभ उठाउन सक्छौँ भनेर पनि बुझ्नेछौँ।
अय्युबका तीन जना साथीले तिनलाई कसरी सल्लाह दिए?
४. अय्युबका तीन जना साथीहरूले भनेका कुराहरू किन सान्त्वनादायी थिएनन्? (चित्र पनि हेर्नुहोस्।)
४ बाइबलमा बताइएअनुसार अय्युबमाथि आइपरेको विपत्तिबारे सुनेपछि तिनका तीन जना साथीहरू ‘तिनलाई सहानुभूति र सान्त्वना दिन’ आएका थिए। (अय्यु. २:११) तर तिनीहरूले अय्युबलाई भनेका कुराहरू पटक्कै सान्त्वनादायी थिएनन्। किन? यसको कम्तीमा पनि तीन वटा कारण छ। पहिलो, तिनीहरू तुरुन्तै गलत निष्कर्षमा पुगिहाले। जस्तै, तिनीहरूले अय्युबले आफ्नै पापको सजाय पाएका हुन् भन्ने गलत अनुमान लगाए।a (अय्यु. ४:७; ११:१४) दोस्रो, तिनीहरूले दिएका प्रायजसो सल्लाह कामै नलाग्ने अनि फोस्रो उपदेश मात्र थियो। (अय्यु. १३:१२) तिनीहरूले अय्युबको साह्रै चित्त दुख्ने कुराहरू पनि भने। जस्तै, बिल्ददले अय्युब व्यर्थै बरबराइरहेका छन् भनेर दुई चोटिसम्म भने। (अय्यु. ८:२; १८:२) जोपरले अय्युब ‘दिमाग नभएको’ मूर्ख मानिसजस्तै छन् समेत भने। (अय्यु. ११:१२) अय्युबले सान्त्वना नपाउनुको तेस्रो कारण विचार गरौँ। तिनीहरूले ठूलठूलो आवाजले त बोलेनन् होला तर तिनीहरूले बोलेका शब्दहरू र बोलेको तरिकाबाट अय्युबलाई हेपेको, घोचपेच गरेको र दोष लगाएको भने प्रस्टै देखिन्थ्यो। (अय्यु. १५:७-११) तिनीहरूले अय्युबलाई सान्त्वना दिन वा तिनको विश्वासलाई बलियो बनाउन कुनै प्रयास गरेनन्। बरु तिनीहरूले जसरी भए पनि अय्युबलाई गलत साबित गर्न खोजे।
कसैलाई सल्लाह दिँदा तिनलाई बेकामको महसुस नगराउनुहोस्। तपाईँको लक्ष्य तिनलाई मदत गर्ने हुनुपर्छ (अनुच्छेद ४ हेर्नुहोस्)
५. अय्युबका साथीहरूले दिएको सल्लाहको नतिजा कस्तो भयो?
५ अय्युबका साथीहरूले दिएको सल्लाहबाट तिनलाई कुनै फाइदा भएन। बरु उल्टै त्यसले तिनलाई निकै घोच्यो। (अय्यु. १९:२) तिनका साथीहरूले तिनलाई एकपछि अर्को आरोप लगाइरहेकोले तिनले पनि आफ्नो सफाइ दिन खोजे। अनि तिनले आफ्नो सोचाइ र बोलीलाई सम्हाल्नै सकेनन्। (अय्यु. ६:३, २६) अय्युबका साथीहरूले भनेका कुराहरू यहोवाको सोचाइसित पटक्कै मेल खाएन र तिनीहरूले अय्युबसित दयालु व्यवहार पनि गरेनन्। त्यसैले तिनीहरू चालै नपाई सैतानको कठपुतली बने। (अय्यु. २:४, ६) यो विवरणबाट इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे र आज हामी कस्तो लाभ उठाउन सक्छौँ?
६. अय्युबका तीन जना साथीहरूको नराम्रो उदाहरणबाट इस्राएलका नाइकेहरूले कस्तो पाठ सिक्न सक्थे?
६ इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे? इस्राएल राष्ट्र स्थापना भएपछि यहोवाले नाइकेहरू नियुक्त गर्नुभयो। ती नाइकेहरूले परमेश्वरको धार्मिक स्तरअनुसार मानिसहरूको न्याय गर्नुपर्थ्यो। (व्यव. १:१५-१८; २७:१) तिनीहरूले सल्लाह दिनु वा न्याय गर्नुअघि मानिसहरूको कुरा ध्यान दिएर सुन्नुपर्थ्यो। (२ इति. १९:६) तिनीहरूले आफूलाई सबै कुरा थाह छ भन्ठान्नुको साटो सत्यतथ्य राम्ररी बुझ्न प्रश्नहरू पनि सोध्नुपर्थ्यो। (व्यव. १९:१८) साथै कोही इस्राएली सल्लाह माग्न आउँदा तिनीहरूले दयालु ढङ्गमा बोल्नुपर्थ्यो र झर्को मान्नु हुँदैनथ्यो। किन? किनभने त्यसरी झर्को मानेको देख्दा तिनले मन खोलेर आफ्नो सबै कुरा बताउन सक्दैनथे। (प्रस्थ. २२:२२-२४) अय्युबको विवरण मनन गर्दा ती नाइकेहरूले यस्ता महत्त्वपूर्ण पाठहरू सिक्न सक्थे।
७. इस्राएलमा नाइकेहरूबाहेक अरू कसले पनि सल्लाह दिन सक्थे? तिनीहरूले अय्युबको विवरणबाट के सिक्न सक्थे? (हितोपदेश २७:९)
७ इस्राएलमा नाइकेहरूले मात्रै सल्लाह दिनुपर्छ भन्ने थिएन। बरु जवान होस् या वृद्ध, पुरुष होस् या स्त्री, जो-कोहीले पनि आवश्यक सल्लाह दिन सक्थे। जस्तै, सङ्गी इस्राएलीलाई यहोवासित अझ नजिक हुन मदत गर्न सक्थे अथवा कसैले गलत कदम चाल्दा तिनलाई सच्याउन सक्थे। (भज. १४१:५) यसरी साँचो मनले सल्लाह दिनु भनेको साँचो मित्रताको चिनारी हो। (हितोपदेश २७:९ पढ्नुहोस्।) अय्युबका तीन जना साथीहरूको नराम्रो उदाहरण मनन गर्दा इस्राएलीहरूले सल्लाह दिँदा के भन्नु हुँदैन र के गर्नु हुँदैन भनेर सिक्न सक्थे।
८. सल्लाह दिँदा हामीले कस्ता कुराहरूमा होस पुऱ्याउनुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
८ हामी कस्तो लाभ उठाउन सक्छौँ? हाम्रा भाइबहिनीले गाह्रो अवस्था भोगिरहेको देख्दा हामी तिनीहरूलाई मदत गर्न अग्रसर हुन्छौँ। तर हामीले अय्युबका तीन जना साथीहरूले जस्तै बोल्यौँ र व्यवहार गऱ्यौँ भने तिनीहरूले हामीबाट सान्त्वना पाउनेछैनन्। त्यसैले हामीले होस पुऱ्याउनुपर्ने केही कुराहरू छन्। पहिलो, तुरुन्तै निष्कर्ष निकाल्नुको साटो सल्लाह दिनुअघि हामीले सबै सत्यतथ्य राम्ररी बुझ्नुपर्छ। दोस्रो, एलिपजले जस्तै हामीले आफ्नै अनुभवको आधारमा मात्र सल्लाह दिनु हुँदैन। बरु हाम्रो सल्लाह परमेश्वरको वचनमा आधारित हुनुपर्छ। (अय्यु. ४:८; ५:३, २७) तेस्रो, हाम्रो बोली कठोर वा अरूलाई दोष लगाउने किसिमको हुनु हुँदैन। हुनत एलिपज र तिनका साथीहरूले भनेका केही कुराहरू सही थिए। किनभने तिनीहरूले भनेको कुरा अर्को एक जना बाइबल लेखकले पनि उद्धरण गरे। (अय्युब ५:१३ लाई १ कोरिन्थी ३:१९ सित तुलना गर्नुहोस्।) तर तिनीहरूले परमेश्वरबारे भनेका प्रायजसो कुराहरू सही थिएनन् र ती कुराहरू सुन्दा अय्युबको असाध्यै चित्त दुख्यो। त्यसैले यहोवाले तिनीहरूलाई दण्ड पाउन योग्य ठहराउनुभयो। (अय्यु. ४२:७, ८) हामीले दिने सल्लाह यहोवा अव्यावहारिक हुनुहुन्छ अथवा उहाँका सेवकहरू उहाँको प्रेम पाउन लायक छैनन् भन्ने भान पार्ने किसिमको कहिल्यै हुनु हुँदैन। अब हामी एलिहुको राम्रो उदाहरणबाट के सिक्न सक्छौँ, छलफल गरौँ।
कसैलाई सल्लाह दिँदा (१) सत्यतथ्य राम्ररी बुझ्नुहोस्, (२) परमेश्वरको वचन प्रयोग गर्नुहोस् अनि (३) मायालु तरिकामा बोल्नुहोस् (अनुच्छेद ८ हेर्नुहोस्)
एलिहुले अय्युबलाई कसरी सल्लाह दिए?
९. अय्युबलाई किन अझै पनि मदत चाहिएको थियो र यहोवाले तिनलाई कसरी मदत गर्नुभयो?
९ अय्युब र तिनका साथीहरूले लामै बहस गरे। अय्युबको किताबको २८ वटा अध्याय त तिनीहरूकै कुराकानीले भरिएको छ। तिनीहरूले भनेका कुराहरूमा तिनीहरूको रिस र आक्रोश प्रस्टै झल्किन्छ। यस्तो कुराकानीबाट अय्युबले सान्त्वना पाउने त कुरै भएन! हो, तिनलाई सान्त्वना चाहिएको थियो तर तिनको सोचाइ पनि सच्याउनुपर्ने थियो। त्यसोभए यहोवाले अय्युबलाई कसरी मदत गर्नुभयो? उहाँले तिनलाई सल्लाह दिन एलिहुलाई चलाउनुभयो। तर एलिहु किन यतिन्जेल चुपचाप बसे? तिनले यसो भने: “म त कलिलै छु तर तपाईँहरू पाको उमेरको हुनुहुन्छ। त्यसैले तपाईँहरूको अनादर नहोस् भनेर म चुपचाप बसेँ।” (अय्यु. ३२:६, ७) एलिहुले यो कुरा राम्ररी बुझेका थिए: जवानहरूभन्दा पाको उमेरका व्यक्तिहरू अक्सर बुद्धिमान् हुन्छन्। किनभने तिनीहरूले जीवनमा धेरै कुरा भोगिसकेका हुन्छन्। तर अय्युब र तिनका साथीहरूको कुरा लामो समयसम्म सुनिसकेपछि एलिहु चुप लागेर बस्न सकेनन्। तिनले यसो भने: “उमेर खाँदैमा मानिस बुद्धिमान् हुँदैन रहेछ अनि बूढो हुँदैमा सही कुरा थाह हुन्छ भन्ने छैन रहेछ।” (अय्यु. ३२:९) त्यसपछि एलिहुले अय्युबलाई के भने र कसरी भने?
१०. अय्युबलाई सल्लाह दिनुअघि एलिहुले के गरे? (अय्युब ३३:६, ७)
१० अय्युबलाई सल्लाह दिनुअघि एलिहुले राम्रो माहोल तयार पारे। कसरी? सुरुमा तिनले आफ्नै भावनाहरूलाई काबूमा राखे। हामी किन त्यसो भन्न सक्छौँ? अय्युब र तिनका साथीहरूको कुरा सुनेर एलिहुलाई असाध्यै रिस उठेको थियो भनेर बाइबलमा बताइएको छ। (अय्यु. ३२:२-५) तर तिनले रिसको झोकमा अय्युबलाई केही पनि भनेनन्। बरु आफ्नो रिस शान्त भएपछि मात्र बोले। तिनले अय्युबलाई ढाडस दिँदै यसो भने: “हेर्नुहोस्, परमेश्वरको नजरमा म पनि तपाईँजस्तै छु।” (अय्युब ३३:६, ७ पढ्नुहोस्।) त्यसपछि एलिहुले भनेका कुराहरूबाट तिनले अय्युबको कुरा ध्यान दिएर सुनेका थिए भनेर देखियो। अय्युबले घरीघरी भनेका केही कुराहरू एलिहुले फेरि दोहोऱ्याए। (अय्यु. ३२:११; ३३:८-११) तिनले अर्को पटक अय्युबलाई सल्लाह दिँदा पनि त्यसै गरे।—अय्यु. ३४:५, ६, ९; ३५:१-४.
११. एलिहुले अय्युबलाई कसरी सल्लाह दिए? (अय्युब ३३:१)
११ एलिहुले अय्युबलाई सल्लाह दिँदा बेकामको महसुस गराएनन्। बरु तिनले अय्युबसित आदरभावसहित बोले। (अय्युब ३३:१ पढ्नुहोस्।) अय्युब र तिनका तीन जना साथीहरूबीच बहस चलिरहेको बेला एलिहुलाई आफ्नो कुरा पनि राख्न पाए हुन्थ्यो जस्तो लागेको थियो। सायद त्यही कुरा सम्झँदै तिनले अय्युबलाई पनि बोल्ने मौका दिए। (अय्यु. ३२:४; ३३:३२) साथै अय्युबले भनेका कुनै-कुनै कुराहरू किन गलत थिए भनेर पनि एलिहुले स्पष्टसित बताइदिए। अनि यहोवाको बुद्धि, शक्ति, न्याय र अटल प्रेमबारे पनि मायालु तरिकामा सम्झाए। (अय्यु. ३६:१८, २१-२६; ३७:२३, २४) एलिहुबाट पाएको राम्रो सल्लाहले गर्दा अय्युबले ठीक तरिकाले सोच्न मदत पाए अनि सीधै यहोवाबाट आउने थप सल्लाह स्विकार्न तयार हुन सके। (अय्यु. ३८:१-३) एलिहुको राम्रो उदाहरणबाट इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे र आज हामी कस्तो लाभ उठाउन सक्छौँ?
१२. यहोवाले आफ्ना जनहरूलाई मदत गर्न भविष्यवक्ताहरूलाई कसरी चलाउनुभयो? इस्राएलीहरूले एलिहुको राम्रो उदाहरणबाट के सिक्न सक्थे?
१२ इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे? यहोवाले इस्राएलीहरूलाई सिकाउन र सच्याउन अक्सर भविष्यवक्ताहरू चलाउनुभयो। जस्तै, न्यायकर्ताहरूको समयमा दबोराले इस्राएल राष्ट्रलाई एउटी आमाले झैँ आध्यात्मिक डोऱ्याइ दिइन्। अनि समुएलले जवान छँदादेखि नै यहोवाको प्रवक्ताको रूपमा सेवा गरे। (न्याय. ४:४-७; ५:७; १ समु. ३:१९, २०) पछि राजाहरूको समयमा यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक रूपमा बलियो बनाउन अनि साँचो उपासनाबाट तर्किएकाहरूलाई फर्काउन एकपछि अर्को भविष्यवक्ताहरू चलाउनुभयो। (२ समु. १२:१-४; प्रेषि. ३:२४) यी वफादार पुरुष तथा स्त्रीहरूले एलिहुको राम्रो उदाहरणबाट सल्लाह दिने बेला के भन्ने र कसरी भन्ने भनेर सिक्न सक्थे।
१३. हामी भाइबहिनीलाई कसरी प्रोत्साहन दिन सक्छौँ?
१३ हामी कस्तो लाभ उठाउन सक्छौँ? हामी पनि मानिसहरूलाई परमेश्वरको इच्छा के हो भनेर बुझ्न मदत गर्छौँ। त्यसो गर्ने एउटा तरिका भनेको बाइबलमा पाइने सन्देश सुनाएर हो। साथै हामी आफ्नो बोलीद्वारा भाइबहिनीको उत्थान गर्छौँ र प्रोत्साहन दिन्छौँ। (१ कोरि. १४:३) बोलीको सन्दर्भमा एल्डरहरू अझ होसियार हुनुपर्छ। कहिलेकाहीँ भाइबहिनीहरू असाध्यै निराश भएकोले ‘आफ्नो बोलीलाई सम्हाल्नै सकिरहेका’ हुँदैनन्। त्यस्तो अवस्थामा पनि एल्डरहरूले तिनीहरूसित “सान्त्वनादायी” ढङ्गमा कुरा गर्नुपर्छ।—१ थिस्स. ५:१४; अय्यु. ६:३.
१४-१५. सल्लाह दिँदा एल्डरहरूले कसरी एलिहुको अनुकरण गर्न सक्छन्? एउटा उदाहरण बताउनुहोस्।
१४ यो अवस्था कल्पना गर्नुहोस्। एक जना एल्डरले आफ्नो मण्डलीको एउटी बहिनी निराश भएको कुरा थाह पाउँछन्। तिनी र अर्को एक जना भाइ त्यस बहिनीलाई प्रोत्साहन दिन जान्छन्। ती बहिनीले आफू सभा अनि प्रचारमा गइरहे तापनि खुसी हुन नसकेको कुरा बताउँछिन्। अब एल्डरले के गर्नेछन्?
१५ सुरुमा एल्डरले ती बहिनीलाई त्यस्तो लाग्नुको कारण के हो भनेर बुझ्न प्रयास गर्नेछन्। त्यसो गर्न तिनले प्रश्नहरू सोध्दै ती बहिनीको जवाफ ध्यान दिएर सुन्नु पनि पर्नेछ। के उनलाई आफू यहोवाको प्रेम पाउन लायकको छैनँ जस्तो लागिरहेको छ? अथवा के उनी “जीवनको फिक्रीको बोझले” दबिएकी छिन्? (लुका २१:३४) त्यसपछि एल्डरले उनले गरिरहेका असल कामहरूको लागि प्रशंसा पनि गर्नेछन्। किनभने आफू निराश भए पनि उनले सभामा जान अनि प्रचारमा भाग लिन छोडेकी छैनन्। साथै एल्डरले उनको अवस्था र उनी निराश हुनुको कारण अझ राम्ररी बुझेपछि बाइबल प्रयोग गर्दै यहोवा उनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन मदत गर्नेछन्।—गला. २:२०.
अय्युबको किताबबाट सिकिरहनुहोस्
१६. अय्युबको किताबबाट सिकिरहन हामी के गर्न सक्छौँ?
१६ अय्युबको किताबबाट हामीले थुप्रै कुरा सिक्न सक्यौँ। अघिल्लो लेखबाट हामीले परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ भन्ने कुरा मात्र होइन तर हामी कसरी दुःखकष्ट वफादार भई सहन सक्छौँ भनेर पनि बुझ्यौँ। अनि यस लेखबाट सल्लाह दिने सन्दर्भमा अय्युबका तीन जना साथीहरूको नराम्रो उदाहरण र एलिहुको राम्रो उदाहरणबाट के सिक्न सक्छौँ भनेर बुझ्यौँ। भविष्यमा कसैलाई सल्लाह दिनुपर्दा अय्युबको किताबबाट सिकेका महत्त्वपूर्ण पाठहरू फेरि एक चोटि केलाउनुभए कसो होला? अय्युबको किताब नपढेको लामो समय भइसक्यो भने फेरि पढ्नुहोस्। तपाईँले अरू पनि थुप्रै बहुमूल्य पाठहरू सिक्न सक्नुहुनेछ।
गीत १२५ ‘आनन्दित हुन् कृपालुहरू!’
a एलिपजले कोही पनि मानिस यहोवाको नजरमा धर्मी ठहरिन सक्दैन र उहाँलाई खुसी पार्न सक्दैन भने। यो कुरा तिनलाई एउटा दुष्ट स्वर्गदूतले भन्न सुऱ्याएको थियो जस्तो देखिन्छ। एलिपज यही गलत सोचाइको सिकार भए। त्यसैले तीन-तीन चोटिसम्म तिनले यही कुरा दोहोऱ्याए।—अय्यु. ४:१७; १५:१५, १६; २२:२.