अध्ययन लेख ५०
गीत ४८ दिनहुँ परमेश्वरसित हिँडौँ!
यहोवाको नम्रता देखासिकी गर्नुहोस्
“परमेश्वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू होओ।”—एफि. ५:१.
सिक्न सकिने कुरा
यहोवाको नम्रता देखासिकी गर्ने चार वटा तरिका।
१. यहोवाको नम्रता तपाईँलाई किन उल्लेखनीय लाग्छ?
अख्तियारमा भएका व्यक्तिहरू कस्ता हुन्छन्? के तिनीहरू नम्र हुन्छन्? प्रायजसो हुँदैनन्। तर यहोवा भने सर्वशक्तिमान् हुनुभए तापनि नम्र हुनुहुन्छ। (भज. ११३:५-८) यहोवाजस्तो नम्र अरू कोही छैन। उहाँमा अलिकति पनि घमन्ड छैन। यस लेखमा यहोवाको व्यक्तित्वको चार वटा सुन्दर पक्षहरूबारे छलफल गर्नेछौँ। अनि ती प्रत्येकमा उहाँको नम्रता कसरी झल्किन्छ भनेर बुझ्नेछौँ। साथै येसुले आफ्नो बुबाको नम्रता कसरी देखासिकी गर्नुभयो, त्यो पनि बुझ्नेछौँ। यी कुराहरू विचार गर्दा यहोवासित अझ नजिक हुन र उहाँको नम्रता अझ राम्ररी देखासिकी गर्न सक्नेछौँ।
यहोवा नजिकिन सजिलो परमेश्वर हुनुहुन्छ
२. भजन ६२:८ बाट हामी यहोवाबारे के थाह पाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
२ घमन्डी मानिसहरूसित नजिकिन अक्सर गाह्रो हुन्छ। घमन्डी मानिसहरूले आफू को-को न हुँ भन्ठान्छन् र अरूलाई हेपेर व्यवहार गर्छन्। त्यसैले अरू मानिसहरू त्यस्तो व्यक्तिको नजिकै पर्न चाहँदैनन् तर यहोवा भने पटक्कै त्यसो हुनुहुन्न। उहाँ नम्र हुनुहुन्छ। त्यसैले हामी प्रार्थनामा उहाँसामु जान सक्छौँ अनि आफ्नो चिन्ता-फिक्री सबै उहाँलाई पोखाउन सक्छौँ। (भजन ६२:८ पढ्नुहोस्।) एक जना मायालु बुबा आफ्ना छोराछोरीको कुरा सुन्न सधैँ तयार हुन्छन्। त्यसरी नै यहोवा पनि आफ्ना उपासकहरूको प्रार्थना सुन्न सधैँ तयार हुनुहुन्छ। यहोवा नजिकिन सजिलो परमेश्वर हुनुभएकोले विगतमा पनि उहाँका उपासकहरूले कुनै अप्ठ्यारो नमानी उहाँलाई प्रार्थना गर्थे। त्यस्ता थुप्रै प्रार्थनाहरू बाइबलमा लेखिएका छन्। (यहो. १०:१२-१४; १ समु. १:१०-१८) तर कहिलेकाहीँ हामीलाई केही कारणले गर्दा आफू यहोवालाई प्रार्थना गर्न योग्य छैनँ जस्तो लाग्न सक्छ।
छोराले खेल्दै गर्दा फूलदानी फुटाउँछ तर बुबाले यहोवाको नम्रता देखासिकी गर्दै उसको कुरा ध्यान दिएर सुन्छन् (अनुच्छेद २ हेर्नुहोस्)
३. आफू यहोवाको माया पाउन लायकको छैनँ जस्तो लागे पनि हामी किन उहाँलाई प्रार्थना गर्न सक्छौँ?
३ आफू यहोवाको माया पाउन लायकको छैनँ जस्तो लागे पनि हामी प्रार्थनामा उहाँसामु जान सक्छौँ। किन? येसुले बताउनुभएको हराएको छोराको उदाहरण विचार गरौँ। यस उदाहरणको छोराले पश्चात्ताप गरिसकेपछि पनि आफू परिवारमा फर्कन लायकको छैनँ भन्ने महसुस गऱ्यो। तर छोरा फर्कँदा बुबाले के गऱ्यो? बुबाले टाढैबाट ऊ आउँदै गरेको देखेपछि “दौडँदै गएर उसलाई अङ्गालो हाल्यो र चुम्बन गऱ्यो।” (लुका १५:१७-२०) यहोवा पनि त्यो बुबाजस्तै मायालु र नम्र हुनुहुन्छ। दोषी भावनाले गर्दा मन भाँचिएकाहरू वा चिन्ता-फिक्रीले गर्दा दबिएकाहरूले आफ्नो भावना पोखाउँदा यहोवा ध्यान दिएर सुन्नुहुन्छ। (विला. ३:१९, २०) उहाँ टिठाउनुहुन्छ अनि तिनीहरूलाई मदत गर्न दौडेर जानुहुन्छ। (यसै. ५७:१५) उहाँ तिनीहरूकहाँ कसरी “दौडेर” जानुहुन्छ? उहाँले अक्सर एल्डरहरू अनि आफ्नो उपासना गर्ने परिवार र साथीभाइलाई चलाएर तिनीहरूलाई ढाडस र सान्त्वना दिनुहुन्छ। (याकु. ५:१४, १५) यहोवा किन हामीलाई यसरी मदत गर्नुहुन्छ? किनभने हामी उहाँसित नजिक भएको उहाँ चाहनुहुन्छ।
४. मानिसहरू येसुकहाँ आउन किन अप्ठ्यारो मान्दैनथे?
४ येसु आफ्नो बुबाको देखासिकी गर्नुहुन्छ। उहाँ आफ्नो बुबाजस्तै नम्र हुनुहुन्छ। त्यसैले मानिसहरू उहाँकहाँ आउन अप्ठ्यारो मान्दैनथे। तिनीहरू उहाँलाई प्रश्नहरू सोध्न पनि डराउँदैनथे। (मर्कु. ४:१०, ११) अनि येसुले कुनै विषयमा तिनीहरूको विचार सोध्नुहुँदा धक नमानी आफ्नो कुरा बताउँथे। (मत्ति १६:१३-१६) साथै आफूबाट कुनै गल्ती हुँदा येसुले अब के गर्नुहुने होला भनेर डराएर बस्दैनथे। किनभने उहाँ दयालु, कृपालु र धीरजी हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। (मत्ति १७:२४-२७) येसुले आफ्नो बुबाको राम्ररी देखासिकी गर्नुभयो। त्यसैले चेलाहरूले उहाँलाई हेरेर यहोवालाई अझ राम्ररी चिन्न सके। (युह. १४:९) तिनीहरूले यहोवा क्रुर, घमन्डी र अरूको वास्तै नगर्ने धर्मगुरूहरूजस्तो हुनुहुन्न बरु नम्र र नजिकिन सजिलो हुनुहुन्छ भनेर बुझे।
५. हामी नम्र छौँ भने अरूलाई हामीसित कुरा गर्न किन सजिलो लाग्नेछ?
५ हामी कसरी यहोवाको देखासिकी गर्न सक्छौँ? हामीले यहोवाजस्तै नम्र हुन सिक्नुपर्छ। यदि नम्र छैनौँ भने ईर्ष्यालु र घमन्डी हुनेछौँ अनि अरूलाई क्षमा दिन पनि सक्नेछैनौँ। यसले गर्दा अरूलाई हामीसित नजिक हुन गाह्रो लाग्नेछ। अर्कोतर्फ हामी नम्र छौँ भने दयालु, धीरजी र क्षमाशील हुनेछौँ अनि अरूलाई हामीसित नजिक हुन सजिलो लाग्नेछ। (कल. ३:१२-१४) विशेषगरि एल्डरहरूले नजिकिन सजिलो व्यक्ति बन्न प्रयास गर्नुपर्छ। यदि एल्डरहरूलाई देख्नै गाह्रो छ भने भाइबहिनीहरूलाई तिनीहरूसित नजिक हुन पनि गाह्रो हुन्छ। त्यसैले कुनै खास कारण छैन भने एल्डरहरू सभाको लागि अनलाइनमा जोडिनुभन्दा सभाभवनमै उपस्थित हुन प्रयास गर्नुपर्छ। अनि सम्भव भएसम्म भाइबहिनीहरूसँगै घरघरको प्रचारकार्यमा भाग लिनुपर्छ। यसो गर्दा भाइबहिनीहरूले मण्डलीका एल्डरहरूलाई अझ राम्रोसँग चिन्न सक्नेछन् र आवश्यक पर्दा तिनीहरूसित कुरा गर्न सजिलो मान्नेछन्।
यहोवा व्यावहारिक हुनुहुन्छ
६-७. यहोवा आफ्नो निर्णय बदल्न तयार हुनुभएको घटनाहरूबारे बताउनुहोस्।
६ घमन्डी मानिसहरू अक्सर अव्यावहारिक हुन्छन्। तिनीहरू आफैलाई सबै कुरा थाह छ भन्ने सोचाइ राख्छन् र आफ्नो सोचाइ परिवर्तन गर्न चाहँदैनन्। अर्कोतर्फ यहोवा सबै पक्षमा उत्कृष्ट हुनुभए तापनि नम्र र व्यावहारिक हुनुहुन्छ। उहाँ अरूको कुरा सुन्नुहुन्छ र आवश्यक पर्दा आफ्नो निर्णय बदल्न पनि तयार हुनुहुन्छ। यहोवाले मोसाकी दिदी मरियमसित कस्तो व्यवहार गर्नुभयो, विचार गरौँ। तिनी र हारुनले यहोवाको प्रतिनिधि मोसाविरुद्ध गनगन गरे। यसरी गनगन गरेर मरियमले यहोवाकै अनादर गरिरहेकी थिइन्। यसकारण तिनीमाथि यहोवाको क्रोध दन्क्यो र तिनलाई कुष्ठरोग लाग्यो। यो देखेपछि मरियमलाई यस्तो सजाय नदिन हारुनले मोसालाई बिन्ती गरे। अनि मोसाले दिदीलाई निको पारिदिनुहोस् भनेर यहोवालाई पुकारे। यहोवाले के गर्नुभयो? उहाँ नम्र हुनुभएकोले आफूले गरिसकेको निर्णय बदल्नुभयो र मरियमलाई निको पारिदिनुभयो।—गन्ती १२:१-१५.
७ यहोवाले राजा हिजकियाहसित गर्नुभएको व्यवहारमा पनि नम्रता देखाउनुभयो। उहाँले आफ्नो भविष्यवक्ता पठाउनुभएर तिनी अब चाँडै मर्नेछन् भन्ने खबर सुनाउनुभयो। त्यसपछि हिजकियाहले रुँदै आफूलाई निको पारिदिन यहोवालाई बिन्ती गरे। उहाँले तिनको बिन्ती सुन्नुभयो र तिनको आयु अझै १५ वर्ष लम्ब्याइदिनुभयो। (२ राजा २०:१, ५, ६) हो, यहोवा मानिसहरूको भावना बुझ्नुहुन्छ अनि उहाँ नम्र हुनुभएकोले तिनीहरूको कुरा सुन्न पनि तयार हुनुहुन्छ।
८. येसु व्यावहारिक हुनुहुन्छ भनेर हामी किन भन्न सक्छौँ? (मर्कुस ३:१-६)
८ येसु आफ्नो बुबाको देखासिकी गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसुले सम्भव भएसम्म अरूको लागि असल कामहरू गरिदिएर आफू व्यावहारिक भएको देखाउनुभयो। उदाहरणको लागि, धर्मगुरुहरूले आपत्ति जनाए पनि येसुले विश्राम दिनमा बिरामीहरूलाई निको पार्नुभयो। किनकि उहाँ ती धर्मगुरुहरूजस्तो कठोर र अव्यावहारिक हुनुहुन्नथ्यो। (मर्कुस ३:१-६ पढ्नुहोस्।) अहिले मण्डलीको शिरको रूपमा आफ्नो भूमिका निभाउनुहुँदा पनि येसुले त्यस्तै व्यावहारिकता देखाउँदै हुनुहुन्छ। जस्तै, मण्डलीमा कसैले गम्भीर पाप गर्दा येसुले तिनीप्रति धीरज देखाउनुहुन्छ। अनि तिनलाई आफ्नो मार्ग सुधारेर सही बाटोमा फर्कन पर्याप्त मौका दिनुहुन्छ।—प्रका. २:२-५.
९. हामी कसरी यहोवाजस्तै व्यावहारिक हुन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
९ हामी कसरी यहोवाको देखासिकी गर्न सक्छौँ? हामीले आफ्नो सोचाइ र व्यवहारमा यहोवाजस्तै व्यावहारिक हुन सिक्नुपर्छ। (याकु. ३:१७) उदाहरणको लागि, यहोवाको देखासिकी गर्ने आमाबुबाले आफ्ना साना छोराछोरीबाट तिनीहरूले गर्नै नसक्ने कुराको आशा गर्दैनन्। छोराछोरीहरूप्रति यस्तो व्यावहारिकता देखाउने सन्दर्भमा याकुबले राम्रो उदाहरण बसाले। (उत्प. ३३:१२-१४) नम्र र व्यावहारिक आमाबुबाले आफ्ना छोराछोरीहरूबीच तुलना गर्दैनन्। एल्डरहरू पनि व्यावहारिक हुन प्रयास गर्छन्। जस्तै, एल्डरहरूको निकायमा कुनै विषयबारे छलफल हुँदा तिनी आफ्नै कुरामा ढिपी कसेर बस्नेछैनन्। बरु अधिकांश एल्डरहरू कुनै निर्णयमा सहमत छन् र बाइबल सिद्धान्त पनि उल्लङ्घन भएको छैन भने तिनले नम्र हुँदै त्यो निर्णयलाई समर्थन गर्नेछन्। (१ तिमो. ३:२, ३) कुनै विषयमा हाम्रो विचार फरक छ भने पनि अरूको सोचाइ बुझ्ने प्रयास गर्नुपर्छ। (रोमी १४:१) हो, मण्डलीको सबैले व्यावहारिक हुन प्रयास गर्नुपर्छ। यसो गर्दा ‘तिनीहरूको व्यावहारिकता सबै मानिसलाई थाह हुनेछ।’—फिलि. ४:५.
प्रचारकार्यमा बुबा छोराछोरीप्रति व्यावहारिक हुन्छन् (अनुच्छेद ९ हेर्नुहोस्)
यहोवा धीरजी हुनुहुन्छ
१०. यहोवाले कसरी धीरज देखाउनुभएको छ?
१० घमन्डी मानिसहरू अक्सर अधीर हुन्छन्। तिनीहरू कसैलाई वा कुनै कुरालाई पर्खेर बस्न सक्दैनन् तर यहोवा भने त्यस्तो हुनुहुन्न। उहाँजस्तो धीरजी अरू कोही छैन। जस्तै, नुहको समयमा यहोवाले दुष्टहरूलाई तुरुन्तै नाश गर्नुभएन बरु १२० वर्ष पर्खनुभयो। (उत्प. ६:३) यसले गर्दा नुहले छोराहरू हुर्काउन अनि परिवारसँगै मिलेर जहाज बनाउन पर्याप्त समय पाए। पछि अब्राहामले सदोम र गमोराको विनाशबारे एकपछि अर्को प्रश्न सोध्दा एक जना स्वर्गदूतले धीरजी भई तिनको कुरा सुने। ती स्वर्गदूत घमन्डी भएको भए यसो भन्ने थिए होलान्, “मलाई प्रश्न गर्ने तेरो यत्रो हिम्मत!” तर ती स्वर्गदूतले यहोवाको देखासिकी गर्दै अब्राहामप्रति धीरज देखाए।—उत्प. १८:२०-३३.
११. यहोवा किन धैर्य गर्दै हुनुहुन्छ? (२ पत्रुस ३:९)
११ यहोवाले अहिले पनि धीरज देखाउँदै हुनुहुन्छ। उहाँले संसारको विनाश गर्न आफूले तोकेको समय पर्खँदै हुनुहुन्छ। उहाँले किन यसरी धैर्य गर्दै हुनुहुन्छ? “किनकि उहाँ कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।” (२ पत्रुस ३:९ पढ्नुहोस्।) के यहोवाले यसरी धैर्य गर्नु बेकार भएको छ? पटक्कै छैन! बरु निष्कपट मन भएको लाखौँ मानिसले उहाँलाई चिन्न पाएका छन् र उहाँसित नजिक हुन सकेका छन्। अनि अझ थुप्रैले उहाँलाई चिनून् भन्ने हामी आशा गर्छौँ। यहोवाको धीरजको पनि सीमा छ। उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ तर तिनीहरूलाई सधैँभरि आफूखुसी गरिरहन दिनुहुनेछैन। उहाँले दुष्ट मानिसहरूलाई पक्कै नाश गर्नुहुनेछ।—हब. २:३.
१२. येसुले यहोवाको धीरज कसरी देखासिकी गर्दै हुनुहुन्छ?
१२ येसु आफ्नो बुबाको देखासिकी गर्नुहुन्छ। येसुले यहोवाको धीरज देखासिकी गर्दै आउनुभएको हजारौँ वर्ष भइसक्यो। सैतानले यहोवा र वफादार मानिसहरूबारे झूट फैलाइरहेको येसुले देख्नुभएको छ। (उत्प. ३:४, ५; अय्यु. १:११; प्रका. १२:१०) मानिसहरूले लामो समयदेखि दुःखकष्ट भोग्दै आएको पनि देख्नुभएको छ। उहाँ “दियाबलका कामहरू नष्ट” गर्न कत्ति आतुर हुनुहुन्छ होला, सोच्नुहोस् त! (१ युह. ३:८) यहोवाले त्यसो गर्ने अनुमति नदिउन्जेल येसुलाई धैर्य गर्न केले मदत गरेको छ? उहाँको नम्रताले। यो दुष्ट संसारलाई कहिले नाश गर्ने भनेर तोक्ने अधिकार यहोवाकै हो भनेर उहाँले बुझ्नुभएको छ।—प्रेषि. १:७.
१३. येसुले आफ्ना प्रेषितहरूप्रति कसरी धीरज देखाउनुभयो र किन?
१३ पृथ्वीमा हुनुहुँदा पनि येसुले धीरज देखाउनुभयो। जस्तै, उहाँका प्रेषितहरूले आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर बेलाबेलामा बहस गरिरहन्थे। तर येसुले यिनीहरू कहिल्यै नसुध्रने भए भनेर हरेस खानुभएन। बरु तिनीहरूप्रति धीरजी भइरहनुभयो। (लुका ९:४६; २२:२४-२७) पछि तिनीहरूले नम्र हुन सिक्नेछन् भन्ने कुरामा येसुले भरोसा गर्नुभयो। त्रुटिपूर्ण भएकोले हामीबाट पनि बारम्बार एउटै गल्ती भइरहन सक्छ। तर हाम्रा राजा येसु हामीप्रति धीरजी भइरहनुभएको छ। यस्तो नम्र र धीरजी राजा पाएकोमा के तपाईँ कृतज्ञ हुनुहुन्न र?
१४. हामी कसरी अझ धीरजी हुन सक्छौँ?
१४ हामी कसरी यहोवाको देखासिकी गर्न सक्छौँ? हामीले “ख्रिष्टको सोचाइ” राख्न सिक्यौँ भने हाम्रो सोचाइ र व्यवहार पनि यहोवाको जस्तै हुँदै जानेछ। (१ कोरि. २:१६) त्यसोभए ख्रिष्टको जस्तै सोचाइ राख्न हामीले के गर्नुपर्छ? हामीमा रातारात ख्रिष्टको सोचाइ विकास हुने त होइन। यसको लागि हामीले सुसमाचारका किताबहरू नियमित रूपमा पढ्नुपर्छ। अनि आफूले पढेको विवरणमा ख्रिष्टको सोचाइ कसरी झल्किन्छ भनेर समय लगाएर मनन गर्नुपर्छ। साथै येसुजस्तै नम्र र धीरजी हुन सकौँ भनेर यहोवालाई प्रार्थना गर्नुपर्छ। यसरी ख्रिष्टको सोचाइ राख्न सिक्दा हामीले अझ राम्ररी यहोवाको देखासिकी गर्न सक्नेछौँ। अनि आफैप्रति र अरू भाइबहिनीप्रति उहाँजस्तै धीरजी हुन सक्नेछौँ।—मत्ति १८:२६-३०, ३५.
यहोवा नम्रहरूको कदर गर्नुहुन्छ
१५. यहोवा नम्रहरूको कदर गर्नुहुन्छ भनेर देखाउने केही उदाहरण बताउनुहोस्। (भजन १३८:६)
१५ भजन १३८:६ पढ्नुहोस्। सोच्नुहोस् त, ब्रह्माण्डकै सर्वोच्च परमेश्वरले नम्रहरूलाई याद गर्नुहुन्छ! केही उदाहरण विचार गरौँ। विगतमा पनि यहोवाले नम्र व्यक्तिहरूको कदर गरेको देखाउनुभयो। सायद तिनीहरूलाई मानिसहरूले यादै गरेनन्। तर यहोवाले भने तिनीहरूको विवरण बाइबलमा लेख्न लगाउनुभयो। जस्तै, दबोरा नाम गरेकी धाईआमा। उनले इसहाक र याकुबको परिवारमा लगभग १२५ वर्ष वफादार भई धाईआमाको रूपमा सेवा गरिन्। हुनत यी वफादार स्त्रीबारे बाइबलमा धेरै कुरा उल्लेख गरिएको छैन। तर यहोवाले मोसालाई उनीबारे एउटा मन छुने कुरा भने लेख्न लगाउनुभएको छ। त्यसबाट उनी यहोवाको लागि अनि याकुब र तिनको परिवारको लागि कत्ति प्रिय थिइन् भन्ने कुरा देखिन्छ। (उत्प. २४:५९; ३५:८, फुटनोट) त्यसको सयौँ वर्षपछि यहोवाले दाउद नाम गरेको एक गोठालो ठिटोलाई पछि इस्राएल राष्ट्रको राजा बन्न रोज्नुभयो। (२ समु. २२:१, ३६) येसुको जन्म भएपछि परमेश्वरले केही स्वर्गदूतहरूलाई बाहिर चौरमा बसिरहेका गोठालाहरूकहाँ पठाउनुभयो। अनि ती स्वर्गदूतहरूले गोठालाहरूलाई बेतलेहेममा मसीहको जन्म भएको छ भन्ने सुसमाचार सुनाए। यसरी यहोवाले यो विशेष खबर सुरुमा ती गोठालाहरूलाई सुनाउनुभएर उनीहरूको कदर गरेको देखाउनुभयो। (लुका २:८-११) युसुफ र मरियमले बालक येसुलाई मन्दिरमा ल्याउँदा यहोवाले वृद्ध भइसकेका सिमियोन र हन्नालाई आफ्नो छोरासित भेट्ने मौका दिनुभयो। यसरी यहोवाले उनीहरूको कदर गरेको देखाउनुभयो। (लुका २:२५-३०, ३६-३८) हो, “यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ।”
१६. येसुले अरूसित व्यवहार गर्दा आफ्नो बुबाको देखासिकी गरेको कसरी देखाउनुभयो?
१६ येसु आफ्नो बुबाको देखासिकी गर्नुहुन्छ। येसुले आफ्नो बुबाले जस्तै नम्र मानिसहरूको कदर गर्नुभयो। उहाँले “अशिक्षित अनि साधारण” मानिसहरूलाई परमेश्वरको राज्यबारे सिकाउनुभयो। (प्रेषि. ४:१३; मत्ति ११:२५) साथै उहाँले बिरामीहरूलाई निको पार्नुभयो। उहाँले तिनीहरूलाई निको पार्नुभएको तरिकाबाट तिनीहरूलाई माया र कदर गरेको पनि देखाउनुभयो। (लुका ५:१३) उहाँले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात प्रेषितहरूको खुट्टा धोइदिनुभयो, जुन काम अक्सर नोकरहरूले गर्थे। (युह. १३:५) स्वर्ग जानुअघि येसुले त्यतिबेलाका चेलाहरू र हामीलाई पनि एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभयो। त्यो हो, मानिसहरूलाई अनन्त जीवन दिने सुसमाचार सुनाउने। यस्तो महत्त्वपूर्ण काम दिनुभएर येसुले ती चेलाहरूको र हाम्रो कदर गरेको देखाउनुभयो।—मत्ति २८:१९, २०.
१७. हामी कसरी अरूको कदर गरेको देखाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१७ हामी कसरी यहोवाको देखासिकी गर्न सक्छौँ? मानिसहरूको पृष्ठभूमि, छालाको रङ्ग वा शैक्षिक स्तर जस्तोसुकै भए पनि सबैलाई सुसमाचार सुनाएर हामी तिनीहरूको कदर गरेको देखाउँछौँ। अनि हामीसित जस्तोसुकै क्षमता वा सुअवसर भए तापनि भाइबहिनीहरूलाई आफूभन्दा श्रेष्ठ ठानेर उनीहरूको कदर गरेको देखाउँछौँ। (फिलि. २:३) हामीले नम्र हुँदै यी तथा अन्य तरिकाहरूमा “एकअर्काको आदर गर्नमा अगुवाइ” लियौँ भने यहोवा खुसी हुनुहुनेछ।—रोमी १२:१०; सप. ३:१२.
सबै प्रकारका मानिसलाई सुसमाचार सुनाउँदा हामीले यहोवाको नम्रता देखासिकी गरिरहेका हुन्छौँ (अनुच्छेद १७ हेर्नुहोस्)a
१८. तपाईँ किन यहोवाको नम्रता देखासिकी गर्न चाहनुहुन्छ?
१८ यहोवाको नम्रता देखासिकी गर्न जति धेरै प्रयास गर्छौं, हामी त्यति नै नजिकिन सजिलो, व्यावहारिक र धीरजी व्यक्ति बन्न सक्नेछौँ। साथै यहोवाले जस्तै अरूको अझ धेरै कदर गर्न सक्नेछौँ। यो कुरा कहिल्यै नबिर्सौँ: हामी यहोवाको देखासिकी गर्न जति धेरै प्रयास गर्छौँ, उहाँको नजरमा त्यति नै अनमोल हुनेछौँ!—यसै. ४३:४.
गीत १५९ महिमा गर्छु यहोवाको
a चित्रको व्याख्या: झ्यालखानामा कैदीहरूलाई सिकाएर बहिनीहरूले यहोवाको नम्रता देखासिकी गर्दै छन्।