दोषी भावना हटाउन बाइबलले मलाई कसरी मदत गर्छ?
बाइबलको जवाफ
बाइबलले हामीलाई बुद्धिमानीपूर्वक दोषी भावनासँग जुझ्न मदत गर्छ। (भजन ३२:१-५) यदि हामीले कुनै गल्ती गऱ्यौँ तर त्यसको लागि मनैदेखि पश्चात्ताप गऱ्यौँ भने परमेश्वरले हामीलाई क्षमा दिनुहुनेछ र त्यसको सामना गर्न मदत गर्नुहुनेछ। (भजन ८६:५) बाइबलले कुनै-कुनै अवस्थामा दोषी महसुस गर्नु फाइदाजनक छ भनेर बताउँछ। किनभने दोषी भावनाले हामीलाई आफ्नो गल्ती सच्याउन र भविष्यमा त्यो गल्ती नदोहोऱ्याउन होसियार बनाउँछ। (भजन ५१:१७; हितोपदेश १४:९) बाइबलमा हामीलाई अचाक्ली दोषी महसुस गरेर आफूलाई परमेश्वरको नजरमा अयोग्य नठान्न सल्लाह दिइएको छ। हामीले आफूमा त्यस्तो भावना आउन दियौँ भने अति नै दुःखी भएर शोकमा डुब्न सक्छौँ।—२ कोरिन्थी २:७.
हामी के-कस्ता कारणले दोषी महसुस गर्न पुग्छौँ?
हामीले दोषी महसुस गर्ने थुप्रै कारणहरू हुन सक्छन्। आफूले माया गरेको व्यक्तिलाई चित्त दुखाएकोले वा आफूले तोकेको स्तरअनुसार चल्न नसकेकोले हामीलाई दोषी महसुस हुन सक्छ। कहिलेकाहीँ कुनै गल्ती नै नगरे तापनि हामीलाई दोषी महसुस हुन सक्छ। उदाहरणको लागि, यदि हामीले आफ्नो लागि एकदमै उच्च स्तर तोकेका छौँ भने त्यो स्तरअनुसार चल्न नसक्दा हरेक पटक हामीमा दोषी भावना आउन सक्छ। त्यसैले बाइबलमा हामीलाई आफूबाट बढ्तै माग नगर्न सल्लाह दिइएको छ।—उपदेशक ७:१६.
म कसरी दोषी भावनाको सामना गर्न सक्छु?
हुनत दोषी भावनाले असाध्यै निराश बनाउन सक्छ र केही पनि गर्न सक्दिनँ जस्तो लाग्न सक्छ। तर त्यस्तो सोच्नुको साटो परिस्थिति सुधार्न जे-जति गर्न सक्नुहुन्छ, त्यही गर्ने प्रयास गर्नुहोस्। तपाईँ के गर्न सक्नुहुन्छ?
आफ्नो गल्ती स्विकार्नुहोस्। प्रार्थनामा यहोवाa परमेश्वरसित क्षमा माग्नुहोस्। (भजन ३८:१८; लुका ११:४) यदि तपाईँले पश्चात्ताप गर्नुभयो, मनैदेखि क्षमा माग्नुभयो र फेरि गल्ती नदोहोऱ्याउन प्रयास गर्नुभयो भने परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुनेछ भनेर ढुक्क हुनुहोस्। (२ इतिहास ३३:१३; भजन ३४:१८) उहाँ हाम्रो भित्री हृदय हेर्नुहुन्छ, जुन कुनै मानिसले देख्न सक्दैन। हामीले दुष्ट काम त्याग्न गरेको प्रयास देखेर “उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। परमेश्वर विश्वासयोग्य र न्यायी हुनुहुन्छ।”—१ युहन्ना १:९; हितोपदेश २८:१३.
यदि तपाईँले कसैको विरुद्धमा गल्ती गर्नुभयो भने आफ्नो गल्ती स्विकार्दै उक्त व्यक्तिसित मनैदेखि माफी माग्नुपर्ने हुन्छ, जुन पक्कै सजिलो हुँदैन। त्यसो गर्न तपाईँलाई साहस र नम्रता चाहिन्छ। तर मनैदेखि पश्चात्ताप गर्नुका दुई वटा फाइदाहरू छन्: तपाईँले आफ्नो काँधबाट गह्रौँ बोझ हटेको र मनोशान्ति पाएको महसुस गर्नुहुनेछ।—मत्ति ३:८; ५:२३, २४.
परमेश्वरको कृपासम्बन्धी शास्त्रपदहरूमा मनन गर्नुहोस्। उदाहरणका लागि, १ युहन्ना ३:१९, २० विचार गरौँ। यस शास्त्रपदमा ‘हाम्रो हृदयले हामीलाई दोषी ठहराउन सक्छ’ भनिएको छ। यसको मतलब हामीले आफैबाट बढ्तै माग गरिरहेका हुन सक्छौँ र आफू परमेश्वरको प्रेम पाउन लायकको छैन जस्तो महसुस हुन सक्छ। तर त्यही शास्त्रपदमा “परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ” भनेर लेखिएको छ। कसरी? उहाँलाई हामीबारे सबै कुरा थाह छ। उहाँ हाम्रो भावना र कमीकमजोरी राम्ररी बुझ्नुहुन्छ। हामी जन्मजातै त्रुटिपूर्ण भएकोले हामीबाट गल्ती हुन्छ भनेर पनि उहाँलाई थाह छ।b (भजन ५१:५) त्यसैले आफ्नो गल्ती नलुकाई मनैदेखि पश्चात्ताप गर्नेहरूलाई उहाँ क्षमा दिनुहुन्छ।—भजन ३२:५.
विगतका गल्तीहरूमा घोरिएर नबस्नुहोस्। विगतमा गलत काम गरे पनि पछि आफैलाई सुधारेका थुप्रै पुरुष र स्त्रीबारे बाइबलमा उल्लेख गरिएको छ। एउटा उदाहरण टार्ससका सावलको हो, जो पछि प्रेषित पावलको रूपमा चिनिए। पहिला तिनी एक फरिसी थिए र येसुका चेलाहरूको असाध्यै खेदो गर्थे। (प्रेषित ८:३; ९:१, २, ११) तर पछि तिनले आफू परमेश्वर र मसीहको विरुद्धमा उठिरहेको छु भन्ने बुझे। त्यसपछि तिनले पश्चात्ताप गरे, आफ्नो जीवन परिवर्तन गरे र एक उदाहरणीय ख्रिष्टियन बने। विगतमा गलत काम गरेकोमा पावल निकै पछुताए तर तिनी त्यसमै घोरिएर बसेनन्। पावलले परमेश्वरले देखाउनुभएको कृपामा ध्यान दिए। तिनी एक जोसिलो प्रचारक बने र आफ्नो नजर अनन्त जीवनको आशा राखिरहे।—फिलिप्पी ३:१३, १४.
दोषी भावना र क्षमाबारे लेखिएका बाइबल पदहरू
भजन ५१:१७: “हे परमेश्वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार गर्नुहुन्न।”
अर्थ: परमेश्वरको चित्त दुखाएकोमा मनैदेखि क्षमा माग्दा उहाँ हामीलाई तिरस्कार गर्नुहुन्न बरु कृपा देखाउनुहुन्छ।
हितोपदेश २८:१३: “आफ्नो गल्ती लुकाउने मानिस सफल हुँदैन तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।”
अर्थ: यदि हामी आफ्नो पाप स्वीकार्छौँ र त्यसलाई सच्याउने कोसिस गर्छौँ भने परमेश्वर हामीलाई क्षमा दिनुहुन्छ।
यर्मिया ३१:३४: “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”
अर्थ: उहाँले हाम्रो गल्ती एक चोटि क्षमा गर्नुभएपछि फेरि सम्झिरहनुहुन्न। उहाँको कृपा अपार छ।
a परमेश्वरको नाम यहोवा हो।—प्रस्थान ६:३.
b प्रथम मानव आदमको पाप हामीमा सर्दै आएको छ। नतिजास्वरूप हामी जन्मजातै पापी छौँ र हामीमा गलत काम गर्ने झुकाव छ। आदमले आफ्नी पत्नी हव्वासित मिलेर परमेश्वरको विरुद्धमा पाप गरे, जसले गर्दा तिनले र तिनका सन्तानहरूले त्रुटिरहित जीवन गुमाए।—उत्पत्ति ३:१७-१९; रोमी ५:१२.