परिवारका लागि | वैवाहिक जीवन
के विवाह गर्नुअघि नै सँगै बस्नु ठीक हो?
थुप्रै जोडीहरू विवाहअघि नै सँगै बस्छन्। किनभने आफूहरू एकअर्काको लागि कत्तिको सुहाउँदो छौँ भनेर तिनीहरू जाँच्न चाहन्छन्। यसो गर्दा भविष्यमा वैवाहिक जीवन सफल हुनेछ भनेर तिनीहरू आशा गर्छन्। के विवाहअघि सँगै बस्नु बुद्धिमानी कुरा हो?
यस लेखमा
विवाहअघि नै सँगै बस्दा के तपाईँ विवाहको लागि तयार हुन सक्नुहुन्छ?
विवाहअघि सँगै बस्दा के तपाईँ आफूलाई नसुहाउने व्यक्तिसित विवाह गर्नदेखि जोगिनुहुन्छ?
बाइबल के भन्छ?
बाइबलले विवाह नगरी राखिने यौनसम्बन्धको निन्दा गर्छ। उदाहरणको लागि, बाइबल भन्छ: “अवैध यौनसम्बन्धबाट अलग रहो।” (१ थिस्सलोनिकी ४:३; १ कोरिन्थी ६:१८) यसमा विवाह गर्ने उद्देश्य राखेर सँगै बसिरहेका जोडीहरूबीचको यौनसम्बन्ध पनि पर्छ।a बाइबलका स्तरहरूले विवाह नगरी सँगै बस्दा हुन सक्ने गर्भधारण र अरू खराब नतिजाहरू भोग्नदेखि जोगिन मदत गर्छ।
विवाहको प्रबन्ध परमेश्वरले गर्नुभएको हो। यो प्रबन्धको सुरुवात गर्नुहुँदा उहाँले यसो भन्नुभयो: “पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्।” (उत्पत्ति २:२४) पुरुष र स्त्रीले विवाह वाचा बाँध्दा सुखी र सफल पारिवारिक जीवनको लागि बलियो जग बसालिरहेका हुन्छन्।
विवाहअघि नै सँगै बस्दा के तपाईँ विवाहको लागि तयार हुन सक्नुहुन्छ?
केहीलाई सकिन्छ जस्तो लाग्छ। किनभने तिनीहरूलाई जोडीहरूले सँगै मिलेर घरायसी कामकुरा गर्दा अनि दिनहुँ एकअर्काको आनीबानी नियाल्दा राम्रो अनुभव बटुल्न सक्छन् जस्तो लाग्छ। तर सफल वैवाहिक जीवनको लागि नभई नहुने कुरा भनेको विवाह वाचा बाँध्नु हो।
कुनै जोडीले सजिलो वा गाह्रो दुवै अवस्थामा कसरी एकअर्कालाई साथ दिन सिक्न सक्छन्? विवाह नगरी सँगै बस्ने जोडीहरूले कुनै पनि बेला एकअर्कासितको सम्बन्ध तोड्न सकिन्छ भन्ने सोचाइ राखेका हुन्छन्, जसले सुखी वैवाहिक जीवनसम्म पुऱ्याउँदैन। बरु दुवै जनाले एकअर्कासित कहिल्यै नटुट्ने वाचा बाँध्दा र सँगै मिलेर समस्याको सामना गर्दा तिनीहरूको सम्बन्ध अझै बलियो हुन्छ।
निष्कर्ष: विवाह नगरी सँगै बस्ने जोडीहरूले वास्तवमा विवाह गर्नको लागि नभई एकअर्काबाट छुट्टिनको लागि आफैलाई तयार पारिरहेका हुन सक्छन्।
बाइबलको सिद्धान्त: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.
के विवाह नगरी सँगै बस्दा आर्थिक रूपमा फाइदा हुन्छ?
केहीलाई हुन्छ जस्तो लाग्छ। एउटा अध्ययनअनुसारb अमेरिकामा १० जनामध्ये ४ जनाजति वयस्कहरू विवाह नगरी सँगै बस्न थाल्नुको मुख्य कारण पैसा बचत होस् भनेर हो। तर केही समय विवाह नगरी सँगै बसे तापनि विवाह गर्नको लागि आफू तयार नहुनुको मुख्य कारण आर्थिक समस्या नै हो भनेर तीमध्ये थुप्रैले मानिलिए।
विवाह नगरी सँगै बस्दा अन्य चुनौतीहरूको पनि सामना गर्नुपर्ने हुन्छ, विशेषगरि महिलाहरूले। उदाहरणको लागि, सम्बन्ध टुटिसकेपछि बच्चाहरू हुर्काउने जिम्मेवारी अक्सर महिलाहरूले नै उठाउने गर्छन्।
निष्कर्ष: विवाह नगरी सँगै बस्नुका केही फाइदाहरू छन् जस्तो लागे तापनि बेफाइदाहरू नै कता हो कता धेरै छन्।
बाइबलको सिद्धान्त: “म यहोवा तिमीहरूका परमेश्वर हुँ। तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।”—यसैया ४८:१७.
विवाहअघि सँगै बस्दा के तपाईँ आफूलाई नसुहाउने व्यक्तिसित विवाह गर्नदेखि जोगिनुहुन्छ?
केहीलाई जोगिन सकिन्छ जस्तो लाग्छ। तर “विवाह नगरी सँगै बसेकाहरूले पछि एकअर्काबाट छुट्टिन अझै गाह्रो हुन्छ भनेर प्रायः यादै गरेका हुँदैनन्” भनी फाइटिङ् फर योर म्यारिज किताबले बताउँछ। किन? सँगै बसिरहेका जोडीहरूले आफूहरू एकअर्काको लागि त्यत्ति सुहाउँदो नभएको पछि याद गर्न सक्छन्। अनुसन्धानकर्ताहरूले बताएअनुसार सँगै बस्ने बानी परेकोले र छाँटकाँट गर्न नसकेकोले त्यस्ता जोडीहरू नछुट्टिने निर्णय गर्छन्। साथै दुवैले माया गरेर पालेको जनावर, सँगै भाडामा लिएको घर अथवा नचिताएको गर्भधारणजस्ता कारणहरूले गर्दा तिनीहरू सँगै बस्नुपर्ने बाध्यता महसुस गर्छन्। अर्को शब्दमा भन्नुपर्दा, “केही जोडीहरू विवाहअघि सम्बन्ध टुटाउन चाहे पनि विवाह गर्छन्। किनभने छुट्टिएर बस्नु भन्दा सँगै मिलेर जिम्मेवारीहरू पूरा गर्नु नै तिनीहरूलाई सजिलो लाग्छ” भनी फाइटिङ् फर योर म्यारिज किताब बताउँछ।
निष्कर्ष: विवाह नगरी सँगै बस्दा सही निर्णय गर्न मदत मिल्नुको साटो नराम्रो सम्बन्धलाई टुटाउन झनै गाह्रो हुन्छ।
बाइबलको सिद्धान्त: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्छ र दुःख पाउँछ।”—हितोपदेश २२:३.
के कुनै राम्रो विकल्प छ?
तपाईँ विवाह नगरी सँगै बस्दा हुने खतराहरूबाट जोगिन सक्नुहुन्छ र सफल वैवाहिक जीवन बिताउन सक्नुहुन्छ। कसरी? बाइबलले विवाहसम्बन्धी दिएका स्तरहरू पालन गरेर। श्रीमान्-श्रीमतीको रूपमा सँगै जीवन बिताउनुअघि तपाईँले जीवनसाथीको रूपमा रोज्न लाग्नुभएको व्यक्तिलाई राम्ररी चिन्न प्रशस्त समय लगाउनुहोस्। बाहिरी रूपरङ्ग हेरेर होइन बरु आफ्नो जस्तै विश्वास र मूल्यमान्यता भएको व्यक्तिलाई जीवनसाथीको रूपमा छान्नु सबैभन्दा राम्रो हो।
बाइबलमा सुखी र सफल वैवाहिक जीवन सुरु गर्नको लागि चाहिने मदतकारी सल्लाह पाइन्छ।c उदाहरणको लागि, बाइबलका सिद्धान्तहरूले तपाईँलाई निम्न कुराहरू गर्न मदत दिन्छ:
विश्वासघात नगर्न
असल जीवनसाथी बन्न
आफूले डेटिङ गरिरहेको व्यक्ति आफ्नो लागि सुहाउँदो छन् कि छैनन् भनेर देखाउने सङ्केतहरू जाँच्न
यी विषयहरूमा अझ धेरै जान्न jw.org मा भएको “पारिवारिक तथा वैवाहिक जीवन” अन्तर्गत हेर्नुहोस्।
बाइबलको सिद्धान्त: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन . . . उपयोगी छ।”—२ तिमोथि ३:१६.
a “मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो?” भन्ने लेख हेर्नुहोस्।
b A Pew Research Center.
c कुनै-कुनै संस्कृतिमा आमाबुबाले नै आफ्नो छोराछोरीको लागि जोडी खोजिदिने चलन छ। त्यस्तो अवस्थामा ती आमाबुबाले के-कस्ता कुराहरू विचार गर्नुपर्छ भनेर बाइबलमा बताइएको छ।