राजनैतिक उथलपुथल—यसले कसरी बाइबलको भविष्यवाणी पूरा गर्छ?
आजकल राजनैतिक मामिलाहरूमा मानिसहरूको भिन्नाभिन्नै धारणा छ। तिनीहरू आफ्नो दैनिक जीवनमा असर पुऱ्याउने नियम कानुनसित सहमत हुँदैनन्। बरु आक्रोशित हुँदै आफ्नो विचार प्रकट गर्छन्। नियम कानुन बनाउनेहरू र सरकारी अधिकारीहरू अक्सर एकअर्कासित पटक्कै सहमत हुँदैनन् र अरूको विचारको पनि कदर गर्दैनन्। त्यसैले राजनैतिक उथलपुथल मच्चिन्छ र सरकारले पनि आफ्नो काम राम्रोसँग पूरा गर्न सक्दैन।
अहिले अमेरिका र बेलायतमा भएको राजनैतिक उथलपुथल निकै महत्त्वपूर्ण विषय हो। किन? किनभने यी दुई राष्ट्रबीच राजनैतिक उथलपुथल हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। साथै यही समयमा परमेश्वरको राज्यले मानव सरकारलाई हटाएर पृथ्वीमा शासन गर्न थाल्नेछ भनेर पनि भविष्यवाणी गरिएको थियो।
“अन्तको दिनमा” राजनैतिक उथलपुथल
बाइबलमा भएको दानिएलको किताबमा अचम्मलाग्दो भविष्यवाणी पाइन्छ। त्यस भविष्यवाणीमा परमेश्वरले “अन्तको दिनमा के हुनेछ” भनेर स्पष्ट बताउनुभएको छ। (दानिएल २:२८) दानिएलले यी कुराहरू लेख्दा भविष्यमा हुने महत्त्वपूर्ण परिवर्तनहरूबारे बताइरहेका थिए।
परमेश्वरले यो भविष्यवाणी बेबिलोनका राजाको सपनामा प्रकट गर्नुभएको थियो। त्यस सपनामा राजाले विभिन्न धातुबाट बनेको एउटा विशाल मूर्ति देखे। पछि भविष्यवक्ता दानिएलले त्यस मूर्तिको टाउकोदेखि पाउसम्मको भागबारे व्याख्या गरे, जसले विभिन्न विश्वशक्तिलाई चित्रण गर्थ्यो।a तर अन्तमा परमेश्वरको राज्यलाई चित्रण गर्ने एउटा ढुङ्गाले त्यस मूर्तिलाई चकनाचुर पार्ने थियो।—दानिएल २:३६-४५.
भविष्यवाणीअनुसार परमेश्वरको राज्यले सम्पूर्ण मानव सरकारलाई हटाउने थियो र पृथ्वीमा शासन गर्ने थियो। येसुले आफ्ना चेलाहरूलाई “तपाईँको राज्य आओस्” भनेर प्रार्थना गर्न सिकाउनुहुँदा यही राज्यबारे कुरा गर्दै हुनुहुन्थ्यो।—मत्ति ६:१०.
तर भविष्यवाणीको कुन भागमा राजनैतिक उथलपुथलबारे बताइएको छ? याद गर्नुहोस्, त्यस मूर्तिका पाउहरू “केही भाग फलाम र केही भाग माटो” मिसिएर बनेका थिए। (दानिएल २:३३) यो भाग मूर्तिका अरू भागहरू भन्दा फरक थियो। यसले एउटा विश्वशक्ति चाहिँ अरू विश्वशक्तिभन्दा फरक हुने कुरालाई सङ्केत गर्थ्यो। कसरी? दानिएलको भविष्यवाणी यसो भन्छ:
भविष्यवाणीअनुसार मूर्तिका पाउहरूले सङ्केत गर्ने विश्वशक्तिमा राजनैतिक उथलपुथल मच्चिने थियो। यसको अधीनमा रहेका मानिसहरूको कामकुराले गर्दा यो कमजोर हुने थियो।
दानिएलको भविष्यवाणी अहिले पूरा हुँदै
मूर्तिका पाउहरूले अहिलेको शक्तिशाली विश्वशक्ति अर्थात् अमेरिका र बेलायतबीचको गठबन्धनलाई सङ्केत गर्छ। अहिले भइरहेका घटनाहरूबाट यो कुरा कसरी प्रस्ट हुन्छ?
मूर्तिका पाउहरू “केही भाग फलाम र केही भाग माटो” मिसिएर बनेका थिए। (दानिएल २:४२) यस्तो मिश्रणले पाउहरूलाई कमजोर बनाउने थियो। अहिले अमेरिका र बेलायत आफ्नै मानिसहरूबीचको विभाजनले गर्दा कमजोर भएको छ। जस्तै, दुवै देशका नागरिकहरू आ-आफ्नै देशका मानिसहरूसित लड्छन्। आफ्नो अधिकारको लागि आक्रोशित हुँदै जुलुस निकाल्छन्। मानिसहरूले छानेका शासकहरू नै विभिन्न मामिलाहरूमा अक्सर सहमत हुँदैनन्। मानिसहरूबीचको विभाजनले गर्दा कहिलेकाहीँ दुवै सरकारहरूले आफूले पारित गरेका नीतिनियमहरू लागू गर्न सकिरहेका छैनन्।
सरकारहरूको अवस्था यस्तो हुनेछ भनेर दानिएल अध्याय दुईमा भविष्यवाणी गरिएको थियो
दानिएलको भविष्यवाणीका बाँकी भागको अर्थबारे र त्यो अहिले कसरी पूरा भइरहेको छ भन्नेबारे विचार गरौँ।
भविष्यवाणी: “त्यो राज्य . . . विभाजित हुनेछ। तर त्यो केही मात्रामा फलामजस्तो कडा हुनेछ।”—दानिएल २:४१.
अर्थ: हुनत अमेरिका र बेलायतको विभिन्न राजनैतिक मामिलाहरूमा आन्तरिक विभाजन छ। तर ती दुवै राज्यसित शक्तिशाली सैन्य दल छ। त्यसैले तिनीहरूले फलामरूपी शक्ति प्रदर्शन गर्न सकेका छन्।
पूर्ति
सन् २०२३ मा अमेरिका र बेलायतले मिलेर सैन्य शक्तिमा धेरै पैसा खर्च गऱ्यो। त्यो पैसा त्यसपछिका १२ वटा शक्तिशाली राष्ट्रले खर्च गरेको पैसा जोड्दा जति हुन्छ, त्योभन्दा पनि धेरै थियो।—स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट।
“बेलायत र अमेरिकाबीचको सम्बन्ध . . . अरू कुनै पनि राष्ट्रबीचको सम्बन्धभन्दा मजबुत छ। हामी आधुनिक प्रविधि र नीतिहरू प्रयोग गर्छौँ। . . . हामी सँगै काम गर्छौँ, एकअर्कालाई साथ दिन्छौँ र एकअर्काको लागि लड्छौँ।”—स्ट्राटेजिक कमान्ड, बेलायत रक्षा मन्त्रालय, अप्रिल २०२४।
भविष्यवाणी: “अनि जसरी खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए, त्यसरी नै त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ।”—दानिएल २:४२.
अर्थ: अमेरिका र बेलायतसँग शक्तिशाली सैन्य दल भए तापनि प्रजातान्त्रिक सरकार भएकोले गर्दा तिनीहरूले आफूले चाहेजति गर्न सकेका छैनन्। अधिकांश मानिसहरूको समर्थनविना यी सरकारहरूले आफ्नो योजनाअनुसार काम अघि बढाउन सक्दैनन्।
पूर्ति
“अमेरिकी सरकारमा भएको विभाजनले गर्दा त्यसले आफूले दाबी गरेको काम पूरा गर्न सकेको छैन भनी केही राजनैतिक विशेषज्ञहरूले बताएका छन्। जस्तै, सुरक्षा र व्यापार-व्यवसायको मामिलामा।”—“द वल स्ट्रीट जर्नल।”
“बेलायतमा नयाँ-नयाँ राजनैतिक समस्याहरू निम्तिएकोले राजनितिज्ञहरू अलमलिरहेका छन्। नतिजास्वरूप सरकारी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई मदत दिन आवश्यक परिवर्तनसमेत गर्न सकेका छैनन्।”—इन्स्टिच्युट फर गभर्मेन्ट।
भविष्यवाणी: ‘यस राज्यको केही भाग आम मानिसहरूसित मिल्नेछ। तर यिनीहरू आपसमा टाँसिँनेछैनन्।’—दानिएल २:४३, फुटनोट।
अर्थ: प्रजातान्त्रिक सरकारमा हुने कामकुरामा केही हदसम्म आम मानिसहरूको पनि हात हुन्छ। तर त्यसले ल्याएको नतिजासित सरकारी अधिकारीहरू र भोट खसाल्नेहरू पूर्णतया सन्तुष्ट छैनन्।
पूर्ति
“अहिले अमेरिकाका धेरैजसो मानिसहरू राजनीति र राजनीतिज्ञहरूप्रति नकारात्मक भएका छन्।”—पिउ रिसर्च सेन्टर।
“बेलायतका मानिसहरूमा सरकार, राजनीतिज्ञहरू र तिनीहरूले काम गर्ने तरिकाप्रतिको भरोसा विगत पचास वर्षभन्दा निकै कम भएको छ।”—“नेसनल सेन्टर फर सोसियल रिसर्च।”
दानिएलको भविष्यवाणी कसरी पूरा हुनेछ?
दानिएलको भविष्यवाणीअनुसार एङ्ग्लो-अमेरिकी गठबन्धन विश्वशक्ति भएकै बेलामा परमेश्वरको राज्यले सबै मानव सरकारहरूलाई हटाउनेछ र पृथ्वीमाथि शासन गर्नेछ।—दानिएल २:४४.
प्रकाशको किताबमा यही समयबारे “पृथ्वीभरिका राजाहरू” यहोवाविरुद्धb लडाइँ गर्न जम्मा हुनेछन् भनेर भविष्यवाणी गरिएको छ। त्यस लडाइँलाई आरमागेडोनको युद्ध अर्थात् “सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँ” भनिएको छ। (प्रकाश १६:१४, १६; १९:१९-२१) त्यस युद्धमा यहोवाले सबै मानव सरकारहरूलाई नाश गर्नुहुनेछ र दानिएलको भविष्यवाणीको मूर्तिले सङ्केत गर्ने कुनै पनि विश्वशक्ति बाँकी रहनेछैन।
यसबारे अझ धेरै जान्न “आरमागेडोनको युद्ध भनेको के हो?” भन्ने लेख हेर्नुहोस्।
राजनैतिक उथलपुथलबारे दानिएलको भविष्यवाणीबाट लाभ उठाउनुहोस्
बाइबलमा अमेरिका र बेलायतमा भइरहेको राजनैतिक उथलपुथलबारे पहिल्यै भविष्यवाणी गरिएको थियो। यसबारे बुझ्दा तपाईँले अहिले भइरहेका घटनाहरूलाई फरक दृष्टिकोणले हेर्न सक्नुहुनेछ।
येसुले किन आफ्ना चेलाहरूलाई राजनैतिक मामिलाहरूमा तटस्थ रहन भन्नुभयो भनेर तपाईँले बुझ्नुहुनेछ। (युहन्ना १७:१६) साथै परमेश्वरको राज्यको राजा येसुले “मेरो राज्य यस संसारको होइन” भनेर किन भन्नुभयो, त्यो पनि बुझ्नुहुनेछ।—युहन्ना १८:३६.
परमेश्वरको राज्यले कदम चाल्ने समय नजिकै छ र उहाँले आफ्नो प्रतिज्ञाअनुसारै मानिसजातिलाई अपार आशिष् दिनुहुनेछ भन्ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुनेछ।—प्रकाश २१:३, ४.
तपाईँ भविष्यबारे निश्चिन्त हुन सक्नुहुन्छ। विभिन्न देशहरूबीचको समस्याले गर्दा पृथ्वी ध्वस्त हुने हो कि भनेर चिन्तित हुनुपर्ने छैन।—भजन ३७:११, २९.
दानिएलको भविष्यवाणीले देखाएअनुसार मूर्तिका पाउहरूले सङ्केत गर्ने एङ्ग्लो-अमेरिकी गठबन्धन अन्तिम विश्वशक्ति हुनेछ। त्यसपछि कुनै खोट नभएको परमेश्वरको राज्यले स्वर्गबाट पृथ्वीमा शासन गर्नेछ।
परमेश्वरको राज्यले मानिसजातिको लागि के गर्नेछ भनेर थाह पाउन परमेश्वरको राज्य के हो? भन्ने भिडियो हेर्नुहोस्।
a “दानिएलको भविष्यवाणीमा बताइएका विश्वशक्तिहरू” भन्ने पेटी हेर्नुहोस्।
b परमेश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।