बिहीबार, अक्टोबर १६
यहोवाको बाटो तयार पार! हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको मूलबाटो बनाऊ।—यसै. ४०:३.
बेबिलोनदेखि इस्राएलसम्मको कठिन यात्रा पूरा गर्न झन्डै चार महिना लाग्ने थियो। यहोवाले तिनीहरूको यात्रामा आइपर्ने जुनसुकै बाधा-अवरोध हटाउनेछु भनेर प्रतिज्ञा गर्नुभयो। आफूले गर्ने कुनै पनि त्यागको तुलनामा इस्राएल फर्कँदा पाइने आशिष् धेरै छन् भनेर वफादार यहुदीहरूलाई थाह थियो। सबैभन्दा ठूलो आशिष् भनेको तिनीहरूको उपासनासित सम्बन्धित थियो। बेबिलोनमा यहोवाको एउटा पनि मन्दिर थिएन। मोसाको व्यवस्थाअनुसार भेटीहरू चढाउन त्यहाँ कुनै वेदी थिएन। अनि ती भेटीहरू चढाउन पुजारीहरूको प्रबन्ध पनि थिएन। त्यहाँ परमेश्वरका मानिसहरूको भन्दा झूटा देवीदेवतालाई पुज्ने मानिसहरूको सङ्ख्या धेरै थियो। ती मूर्तिपूजकहरू यहोवा र उहाँका स्तरहरूको कुनै कदर गर्दैनथे। त्यसैले परमेश्वरको डर मान्ने हजारौँ यहुदी साँचो उपासना पुनर्स्थापित गर्न आफ्नो मातृभूमि फर्कन निकै उत्सुक थिए। w२३.०५ पृ. १४-१५ अनु. ३-४
शुक्रबार, अक्टोबर १७
ज्योतिका सन्तानझैँ हिँड।—एफि. ५:८.
“ज्योतिका सन्तानझैँ” हिँडिरहन हामीलाई परमेश्वरको पवित्र शक्ति चाहिन्छ। किन? किनभने यस अनैतिक संसारमा चोखो रहिरहन सजिलो छैन। (१ थिस्स. ४:३-५, ७, ८) पवित्र शक्तिले हामीलाई यस संसारको सोचाइविरुद्ध लड्न मदत गर्छ, जसमा परमेश्वरको सोचाइसित मेल नखाने मानव दर्शन र खोक्रा विचारधारा समावेश छन्। साथै पवित्र शक्तिले हामीलाई ‘हरकिसिमका भलाइ अनि धार्मिकताको फल’ फलाउन पनि मदत गर्छ। (एफि. ५:९) हामीले पवित्र शक्ति पाउने एउटा तरिका त्यसको लागि प्रार्थना गर्नु हो। यहोवाले ‘उहाँसित माग्नेहरूलाई पवित्र शक्ति दिनुहुन्छ’ भनेर येसुले बताउनुभएको थियो। (लुका ११:१३) साथै हामीले सभामा सँगै मिलेर यहोवाको प्रशंसा गर्दा पनि पवित्र शक्ति पाउन सक्छौँ। (एफि. ५:१९, २०) यसले हाम्रो जीवनमा प्रभाव पार्दा हामीले यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउन सक्नेछौँ। w२४.०३ पृ. २३-२४ अनु. १३-१५
शनिबार, अक्टोबर १८
मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।—लुका ११:९.
के तपाईँलाई अझ धीरज चाहिन्छ? त्यसो हो भने प्रार्थना गर्नुहोस्। धीरज पवित्र शक्तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) त्यसैले हामी पवित्र शक्तिको लागि प्रार्थना गर्न सक्छौँ र यसको फलका पक्षहरू विकास गर्न यहोवासित मदत माग्न सक्छौँ। यदि हामी धीरजको जाँच हुने परिस्थितिमा पऱ्यौँ भने धीरजी हुन पवित्र शक्ति ‘मागिरहनुपर्छ।’ (लुका ११:१३) साथै कुनै मामिलालाई यहोवाको नजरले हेर्न सकौँ भनेर उहाँसित मदत माग्न सक्छौँ। प्रार्थना गरेपछि हरेक दिन धीरजी हुन हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। हामी जत्ति धेरै धीरजको लागि प्रार्थना गर्छौँ र धीरजी हुने प्रयास गर्छौँ, त्यत्ति नै यस गुणले हाम्रो हृदयमा जरा गाड्नेछ र यो हाम्रो व्यक्तित्वको अभिन्न भाग बन्नेछ। यसले हामीलाई बाइबलका उदाहरणहरूमा मनन गर्न पनि मदत गर्छ। बाइबलमा धीरज देखाएका थुप्रै व्यक्तिको विवरण पाउँछौँ। ती विवरणहरूमा मनन गरेर हामी धीरज देखाउने तरिकाहरू सिक्न सक्छौँ। w२३.०८ पृ. २२-२३ अनु. १०-११