बुधबार, अक्टोबर १५
अल्फा र ओमेगा म नै हुँ।—प्रका. १:८.
“अल्फा” ग्रीक वर्णमालाको पहिलो अक्षर हो र “ओमेगा” अन्तिम अक्षर हो। “अल्फा र ओमेगा म नै हुँ” भन्नुभएको कुराबाट यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्नुहुन्छ भनेर बुझ्न सक्छौँ। आदम र हव्वालाई सृष्टि गर्नुभएपछि यहोवाले तिनीहरूलाई यसो भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।” (उत्प. १:२८) आफ्नो उद्देश्यबारे पहिलो चोटि बताउनुहुँदा यहोवाले एक अर्थमा “अल्फा” भन्नुभयो। उहाँको उद्देश्य आदम र हव्वाका त्रुटिरहित अनि आज्ञाकारी सन्तानले पृथ्वीलाई भर्ने र त्यसलाई प्रमोदवन बनाउने हो। त्यो समय आएपछि यहोवाले एक अर्थमा “ओमेगा” भन्नुहुनेछ। “आकाश र पृथ्वी अनि यिनमा भएका सबै थोक” सृष्टि गर्ने काम सिद्धिएपछि उहाँले एउटा ग्यारेन्टी दिनुभयो। यहोवाले मानिसजाति र पृथ्वीको लागि राख्नुभएको उद्देश्य पूरा गर्ने ग्यारेन्टी दिनुभयो। सातौँ दिनलाई पवित्र घोषणा गर्नुहुँदा उहाँले त्यस दिनको अन्तमा आफ्नो उद्देश्य पूरा हुने ग्यारेन्टी दिँदै हुनुहुन्थ्यो।—उत्प. २:१-३. w२३.११ पृ. ५ अनु. १३-१४
बिहीबार, अक्टोबर १६
यहोवाको बाटो तयार पार! हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको मूलबाटो बनाऊ।—यसै. ४०:३.
बेबिलोनदेखि इस्राएलसम्मको कठिन यात्रा पूरा गर्न झन्डै चार महिना लाग्ने थियो। यहोवाले तिनीहरूको यात्रामा आइपर्ने जुनसुकै बाधा-अवरोध हटाउनेछु भनेर प्रतिज्ञा गर्नुभयो। आफूले गर्ने कुनै पनि त्यागको तुलनामा इस्राएल फर्कँदा पाइने आशिष् धेरै छन् भनेर वफादार यहुदीहरूलाई थाह थियो। सबैभन्दा ठूलो आशिष् भनेको तिनीहरूको उपासनासित सम्बन्धित थियो। बेबिलोनमा यहोवाको एउटा पनि मन्दिर थिएन। मोसाको व्यवस्थाअनुसार भेटीहरू चढाउन त्यहाँ कुनै वेदी थिएन। अनि ती भेटीहरू चढाउन पुजारीहरूको प्रबन्ध पनि थिएन। त्यहाँ परमेश्वरका मानिसहरूको भन्दा झूटा देवीदेवतालाई पुज्ने मानिसहरूको सङ्ख्या धेरै थियो। ती मूर्तिपूजकहरू यहोवा र उहाँका स्तरहरूको कुनै कदर गर्दैनथे। त्यसैले परमेश्वरको डर मान्ने हजारौँ यहुदी साँचो उपासना पुनर्स्थापित गर्न आफ्नो मातृभूमि फर्कन निकै उत्सुक थिए। w२३.०५ पृ. १४-१५ अनु. ३-४
शुक्रबार, अक्टोबर १७
ज्योतिका सन्तानझैँ हिँड।—एफि. ५:८.
“ज्योतिका सन्तानझैँ” हिँडिरहन हामीलाई परमेश्वरको पवित्र शक्ति चाहिन्छ। किन? किनभने यस अनैतिक संसारमा चोखो रहिरहन सजिलो छैन। (१ थिस्स. ४:३-५, ७, ८) पवित्र शक्तिले हामीलाई यस संसारको सोचाइविरुद्ध लड्न मदत गर्छ, जसमा परमेश्वरको सोचाइसित मेल नखाने मानव दर्शन र खोक्रा विचारधारा समावेश छन्। साथै पवित्र शक्तिले हामीलाई ‘हरकिसिमका भलाइ अनि धार्मिकताको फल’ फलाउन पनि मदत गर्छ। (एफि. ५:९) हामीले पवित्र शक्ति पाउने एउटा तरिका त्यसको लागि प्रार्थना गर्नु हो। यहोवाले ‘उहाँसित माग्नेहरूलाई पवित्र शक्ति दिनुहुन्छ’ भनेर येसुले बताउनुभएको थियो। (लुका ११:१३) साथै हामीले सभामा सँगै मिलेर यहोवाको प्रशंसा गर्दा पनि पवित्र शक्ति पाउन सक्छौँ। (एफि. ५:१९, २०) यसले हाम्रो जीवनमा प्रभाव पार्दा हामीले यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउन सक्नेछौँ। w२४.०३ पृ. २३-२४ अनु. १३-१५