शनिबार, अक्टोबर २५
सापानले राजासामु त्यो पुस्तक पढ्न थाले।—२ इति. ३४:१८.
छब्बीस वर्षको हुँदा राजा योसियाहले यहोवाको भवन मर्मतसम्भार गर्न थाले। त्यतिबेला “यहोवा परमेश्वरले मोसामार्फत दिनुभएको व्यवस्थाको पुस्तक” भेटियो। त्यसमा लेखिएको कुरा सुनेपछि राजा योसियाहले कदम चालिहाले। (२ इति. ३४:१४, १९-२१) के तपाईँलाई दिनहुँ बाइबल पढ्न मन पर्छ? तपाईँ त्यसो गर्ने कोसिस गर्दै हुनुहुन्छ भने तपाईँको पढाइ कस्तो हुँदै छ? के तपाईँ आफूलाई मदत गर्ने बाइबल पदहरू लेखेर राख्नुहुन्छ? लगभग ३९ वर्षको हुँदा तिनले एउटा गम्भीर गल्ती गरे र आफ्नो ज्यान गुमाए। तिनले यहोवाको डोऱ्याइ खोज्नुको साटो आफैमाथि भरोसा गरे। (२ इति. ३५:२०-२५) यसबाट हामी एउटा पाठ सिक्न सक्छौँ। हामी उमेरमा जत्ति नै पाको भए पनि वा परमेश्वरको वचन अध्ययन गर्न थालेको जत्ति नै लामो समय भए पनि हामीले यहोवाको खोजी गरिरहनुपर्छ। यसमा नियमित रूपमा डोऱ्याइको लागि उहाँलाई प्रार्थना गर्नु, उहाँको वचन अध्ययन गर्नु र परिपक्व ख्रिष्टियनहरूको सल्लाह सुन्नु समावेश छ। यसो गऱ्यौँ भने हामीबाट गम्भीर गल्ती हुने सम्भावना कम हुनेछ र हामी अझ आनन्दित हुन सक्नेछौँ।—याकु. १:२५. w२३.०९ पृ. १२ अनु. १५-१६
आइतबार, अक्टोबर २६
परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।—याकु. ४:६.
बाइबलमा यहोवालाई प्रेम गरेका र उहाँको सेवा गरेका थुप्रै उदाहरणीय स्त्रीको विवरण पाइन्छ। तिनीहरूको “आनीबानी सन्तुलित” थियो र तिनीहरू “सबै कुरामा विश्वासयोग्य” थिए। साथै जवान बहिनीहरूले आफ्नै मण्डलीका परिपक्व दिदीबहिनीबाट पनि सिक्न सक्छन्। जवान बहिनीहरू हो, के तपाईँ आफूले अनुकरण गर्न सक्ने कुनै परिपक्व दिदीबहिनीलाई चिन्नुहुन्छ? तिनीहरूका सुन्दर गुणहरू याद गर्नुहोस्। अनि ती गुणहरू कसरी देखाउन सकिन्छ, विचार गर्नुहोस्। परिपक्व ख्रिष्टियन हुनलाई नभई नहुने एउटा गुण नम्रता हो। कुनै स्त्री नम्र छिन् भने यहोवा र अरूसितको तिनको सम्बन्ध राम्रो हुन्छ। जस्तै: यहोवालाई प्रेम गर्ने स्त्रीले नम्र भई शिरत्वको प्रबन्धको अधीनमा बस्ने छनौट गर्छिन्। (१ कोरि. ११:३) त्यस प्रबन्धमा यहोवाले मण्डली र परिवारमा नेतृत्व लिने जिम्मेवारी कसको हो भनेर बताउनुभएको छ। w२३.१२ पृ. १८-१९ अनु. ३-५
सोमबार, अक्टोबर २७
पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।—एफि. ५:२८.
पतिले पत्नीलाई प्रेम गरेको अनि पत्नीको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्यकताको ख्याल यहोवा राखेको चाहनुहुन्छ। सोच्ने क्षमता विकास गर्ने, स्त्रीहरूको आदर गर्ने र भरोसायोग्य हुनेजस्ता गुण तथा सीपहरूले तपाईँलाई असल पति हुन मदत गर्नेछ। विवाह गरेपछि तपाईँको छोराछोरी जन्मिन पनि सक्छ। असल बुबा हुने सन्दर्भमा तपाईँ यहोवाबाट के सिक्न सक्नुहुन्छ? (एफि. ६:४) यहोवाले आफ्नो छोरा येसुलाई प्रेम गरेको र स्विकारेको कुरा खुलस्त बताउनुभयो। (मत्ति ३:१७) तपाईँ बुबा बन्नुभयो भने छोराछोरीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा तिनीहरूलाई विश्वस्त पारिरहनुहोस्। तिनीहरूले गरेका असल कामहरूको खुलेर प्रशंसा गर्नुहोस्। यहोवाको अनुकरण गर्ने बुबाहरूले आफ्ना छोराछोरीलाई परिपक्व बन्न मदत गर्न सक्छन्। परिवारका सदस्यहरू र मण्डलीका भाइबहिनीलाई प्रेम गरेको देखाएर र तिनीहरूको राम्रोसँग हेरविचार गरेर तपाईँ अहिल्यैदेखि असल बुबा बन्ने तयारी गर्न सक्नुहुन्छ। त्यसैले तिनीहरूलाई प्रेम गरेको र अनमोल ठानेको कुरा बताउन सिक्नुहोस्।—युह. १५:९. w२३.१२ पृ. २८-२९ अनु. १७-१८