आइतबार, अक्टोबर २६
परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।—याकु. ४:६.
बाइबलमा यहोवालाई प्रेम गरेका र उहाँको सेवा गरेका थुप्रै उदाहरणीय स्त्रीको विवरण पाइन्छ। तिनीहरूको “आनीबानी सन्तुलित” थियो र तिनीहरू “सबै कुरामा विश्वासयोग्य” थिए। साथै जवान बहिनीहरूले आफ्नै मण्डलीका परिपक्व दिदीबहिनीबाट पनि सिक्न सक्छन्। जवान बहिनीहरू हो, के तपाईँ आफूले अनुकरण गर्न सक्ने कुनै परिपक्व दिदीबहिनीलाई चिन्नुहुन्छ? तिनीहरूका सुन्दर गुणहरू याद गर्नुहोस्। अनि ती गुणहरू कसरी देखाउन सकिन्छ, विचार गर्नुहोस्। परिपक्व ख्रिष्टियन हुनलाई नभई नहुने एउटा गुण नम्रता हो। कुनै स्त्री नम्र छिन् भने यहोवा र अरूसितको तिनको सम्बन्ध राम्रो हुन्छ। जस्तै: यहोवालाई प्रेम गर्ने स्त्रीले नम्र भई शिरत्वको प्रबन्धको अधीनमा बस्ने छनौट गर्छिन्। (१ कोरि. ११:३) त्यस प्रबन्धमा यहोवाले मण्डली र परिवारमा नेतृत्व लिने जिम्मेवारी कसको हो भनेर बताउनुभएको छ। w२३.१२ पृ. १८-१९ अनु. ३-५
सोमबार, अक्टोबर २७
पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।—एफि. ५:२८.
पतिले पत्नीलाई प्रेम गरेको अनि पत्नीको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्यकताको ख्याल यहोवा राखेको चाहनुहुन्छ। सोच्ने क्षमता विकास गर्ने, स्त्रीहरूको आदर गर्ने र भरोसायोग्य हुनेजस्ता गुण तथा सीपहरूले तपाईँलाई असल पति हुन मदत गर्नेछ। विवाह गरेपछि तपाईँको छोराछोरी जन्मिन पनि सक्छ। असल बुबा हुने सन्दर्भमा तपाईँ यहोवाबाट के सिक्न सक्नुहुन्छ? (एफि. ६:४) यहोवाले आफ्नो छोरा येसुलाई प्रेम गरेको र स्विकारेको कुरा खुलस्त बताउनुभयो। (मत्ति ३:१७) तपाईँ बुबा बन्नुभयो भने छोराछोरीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा तिनीहरूलाई विश्वस्त पारिरहनुहोस्। तिनीहरूले गरेका असल कामहरूको खुलेर प्रशंसा गर्नुहोस्। यहोवाको अनुकरण गर्ने बुबाहरूले आफ्ना छोराछोरीलाई परिपक्व बन्न मदत गर्न सक्छन्। परिवारका सदस्यहरू र मण्डलीका भाइबहिनीलाई प्रेम गरेको देखाएर र तिनीहरूको राम्रोसँग हेरविचार गरेर तपाईँ अहिल्यैदेखि असल बुबा बन्ने तयारी गर्न सक्नुहुन्छ। त्यसैले तिनीहरूलाई प्रेम गरेको र अनमोल ठानेको कुरा बताउन सिक्नुहोस्।—युह. १५:९. w२३.१२ पृ. २८-२९ अनु. १७-१८
मङ्गलबार, अक्टोबर २८
[यहोवाले] तिमीहरूलाई स्थिर गराउनुहुनेछ।—यसै. ३३:६.
हामीले पनि अरू मानिसहरूले जस्तै गाह्रो अवस्था र रोगबिमारको सामना गर्नुपर्छ। अनि ख्रिष्टियन भएकोले हामीले विरोधीहरूबाट खेदोको पनि सामना गर्नुपर्ने हुन सक्छ। यहोवाले हामीमाथि यस्ता गाह्रा अवस्थाहरू आइपर्नै दिनुहुन्न भन्ने त होइन तर उहाँले हामीलाई मदत गर्ने वाचा भने गर्नुभएको छ। (यसै. ४१:१०) उहाँको मदत पाएर हामी आफ्नो आनन्द कायम राख्न सक्छौँ, सही निर्णयहरू गर्न सक्छौँ र एकदमै गाह्रो अवस्थामा पनि उहाँप्रति वफादार रहिरहन सक्छौँ। यहोवाले हामीलाई शान्ति दिने वाचा गर्नुभएको छ र त्यस शान्तिलाई बाइबलमा “परमेश्वरको शान्ति” भनिएको छ। (फिलि. ४:६, ७) हामीले त्यस्तो शान्ति उहाँसित अनमोल सम्बन्ध गाँस्यौँ भने मात्र पाउन सक्छौँ अनि त्यसले हाम्रो हृदय र दिमागलाई शान्त बनाउँछ। यस्तो शान्ति “मानिसको समझभन्दा बाहिरको” हुन्छ। भन्नुको मतलब त्यो शान्ति कत्ति उत्कृष्ट हुन्छ भनेर हामी मानिसहरूले कल्पनासमेत गर्न सक्दैनौँ। के तपाईँले पनि व्यग्र प्रार्थना गरेपछि आफ्नो हृदय र दिमाग शान्त भएको महसुस गर्नुभएको छ? छ भने त्यो नै “परमेश्वरको शान्ति” हो। w२४.०१ पृ. २० अनु. २; पृ. २१ अनु. ४