शनिबार, नोभेम्बर १
तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो।—मत्ति २१:१६.
हामी सभामा थप कुन तरिकामा अरूलाई प्रोत्साहन दिन सक्छौँ? तपाईँ आमाबुबा हुनुहुन्छ भने साना छोराछोरीलाई तिनीहरूको उमेरलाई सुहाउने टिप्पणी तयार पार्न मदत गर्नुहोस्। कुनै-कुनै लेख वैवाहिक समस्या, अवैध यौनसम्बन्ध वा नैतिक स्वच्छताजस्ता गम्भीर विषयहरूमा हुन सक्छन्। यस्तो लेखमा पनि तपाईँको छोराछोरीले टिप्पणी दिन सक्ने एउटा वा दुइटा अनुच्छेद हुन सक्छन्। साथै छोराछोरीलाई तिनीहरूले हात उठाएपिच्छे मौका नपाउन सक्छन् भनेर बुझाउनुहोस्। यसो गर्दा तिनीहरूको सट्टा अरूले मौका पाउँदा तिनीहरू निराश हुनेछैनन्। (१ तिमो. ६:१८) हामीले यहोवाको महिमा हुने र दाजुभाइ दिदीबहिनीको उत्थान हुने टिप्पणीहरू तयार पार्न सक्छौँ। (हितो. २५:११) कहिलेकाहीँ हामी आफ्नो अनुभव छोटकरीमा बताउन सक्छौँ तर आफूतर्फ बढ्तै ध्यान खिच्नदेखि होसियार हुनुपर्छ। (हितो. २७:२; २ कोरि. १०:१८) बरु हामीले यहोवा, उहाँको वचन र उहाँका जनहरूतर्फ ध्यान खिच्ने प्रयास गर्नुपर्छ।—प्रका. ४:११. w२३.०४ पृ. २४-२५ अनु. १७-१८
आइतबार, नोभेम्बर २
आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं बरु जागा बसौँ अनि सचेत रहौँ।—१ थिस्स. ५:६.
सचेत रहिरहन मदत गर्ने महत्त्वपूर्ण गुण प्रेम हो। (मत्ति २२:३७-३९) सुसमाचारको निम्ति जस्तोसुकै कष्ट भोग्नुपरे पनि परमेश्वरप्रतिको प्रेमले हामीलाई त्यसमा लागिरहन मदत गर्छ। (२ तिमो. १:७, ८) हामी यहोवाको सेवा नगर्ने व्यक्तिहरूलाई पनि प्रेम गर्छौँ। त्यसैले हामी टेलिफोन र चिठीमार्फत अनि अरू तरिकामा मानिसहरूलाई साक्षी दिने प्रयास गर्छौँ। ती मानिसहरूले कुनै दिन आफ्नो मन परिवर्तन गर्नेछन् र सही काम गर्नेछन् भनेर हामी आशा गरिरहन्छौँ। (इज. १८:२७, २८) हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई पनि प्रेम गर्छौँ। हामी ‘एकअर्कालाई प्रोत्साहन दिएर अनि एकअर्काको उत्थान गरेर’ यस्तो प्रेम देखाउँछौँ। (१ थिस्स. ५:११) रणभूमिमा सिपाहीहरूले एकअर्कालाई साथ दिएजस्तै हामी पनि एकअर्कालाई प्रोत्साहन दिन्छौँ। हामी पनि भाइबहिनीलाई जानाजानी चोट पुऱ्याउँदैनौँ न त खराबीको बदला खराबी गर्छौँ। (१ थिस्स. ५:१३, १५) साथै मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूलाई आदर गरेर पनि हामी प्रेम गरेको देखाउँछौँ।—१ थिस्स. ५:१२ w२३.०६ पृ. १० अनु. ६; पृ. ११ अनु. १०-११
सोमबार, नोभेम्बर ३
[यहोवाले] भनेपछि के त्यो गर्नुहुन्न र?—गन्ती २३:१९.
हाम्रो विश्वासलाई बलियो बनाउन मदत गर्ने एउटा तरिका फिरौतीको बलिदानमा मनन गर्नु हो। फिरौतीको बलिदान परमेश्वरका प्रतिज्ञाहरू पूरा हुनेछन् भन्ने कुराको ग्यारेन्टी हो। हामीले फिरौतीको प्रबन्ध किन गरियो र यसको लागि यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो भन्ने कुरामा गहिरिएर मनन गर्नुपर्छ। यसो गऱ्यौँ भने अनन्त जीवन दिने परमेश्वरको प्रतिज्ञा पूरा हुनेछ भन्ने कुरामाथिको हाम्रो विश्वास बलियो हुनेछ। हामी किन यसो भन्न सक्छौँ? फिरौतीको बलिदानको प्रबन्ध गर्न यहोवाले के-के गर्नुभयो? उहाँले आफ्नो एक मात्र प्यारो छोरा, जो उहाँको सबैभन्दा मिल्ने साथी पनि हुनुहुन्थ्यो, उहाँलाई पृथ्वीमा मानिसको रूपमा जन्मिन पठाउनुभयो। पृथ्वीमा हुनुहुँदा येसुले अनेक कठिनाइहरू सहनुभयो। अन्तमा मानिसहरूले उहाँलाई दिनुसम्म सास्ती दिएर यातनाको खम्बामा झुन्ड्याए। यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो! हामीलाई छोटो समयको लागि मात्र उत्तम जीवन दिन उहाँले आफ्नो प्यारो छोरालाई यस्तो पीडादायी मृत्यु भोग्न कहिल्यै पठाउनुहुने थिएन। (युह. ३:१६; १ पत्रु. १:१८, १९) हो, यहोवाले हाम्रो लागि ठूलो मोल चुकाउनुभयो। त्यसैले उहाँले नयाँ संसारमा हामीलाई पक्कै अनन्त जीवन दिनुहुनेछ। w२३.०४ पृ. २७ अनु. ८-९