मङ्गलबार, नोभेम्बर ४
ए मृत्यु, तेरो खील खोइ?—होसे १३:१४.
के यहोवासित मरेकाहरूलाई जीवित पार्ने इच्छा छ? पक्कै छ! उहाँले फेरि जीवित पार्ने प्रतिज्ञाबारे केही बाइबल लेखकलाई लेख्न लगाउनुभयो। (यसै. २६:१९; प्रका. २०:११-१३) उहाँले कुनै प्रतिज्ञा गर्नुभएपछि त्यो सधैँ पूरा गर्नुहुन्छ। (यहो. २३:१४) हो, यहोवा मरेकाहरूलाई जीवित पार्न उत्सुक हुनुहुन्छ। कुलपिता अय्युबले भनेका शब्दहरू विचार गरौँ। तिनी मरिहाले भने पनि यहोवाले तिनलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्ने कुरामा तिनी ढुक्क थिए। (अय्यु. १४:१४, १५) मरिसकेका आफ्ना सबै उपासकलाई पनि यहोवा जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ। उहाँ तिनीहरू फेरि स्वस्थ र आनन्दित भएको हेर्न चाहनुहुन्छ। यहोवाबारे सत्य कुरा सिक्ने मौका नपाई मरेका करोडौँ मानिसबारे चाहिँ के भन्न सकिन्छ? हाम्रो मायालु परमेश्वर तिनीहरूलाई पनि जीवित पार्न चाहनुहुन्छ। (प्रेषि. २४:१५) उहाँ तिनीहरूलाई आफ्नो साथी बन्ने र पृथ्वीमा सधैँभरि जीवन बिताउने मौका दिन चाहनुहुन्छ।—युह. ३:१६. w२३.०४ पृ. ९ अनु. ५-६
बुधबार, नोभेम्बर ५
परमेश्वरबाटै हामीले बल पाउनेछौँ।—भज. १०८:१३.
तपाईँ आफ्नो आशालाई कसरी बलियो बनाउन सक्नुहुन्छ? तपाईँको आशा पृथ्वीमा सधैँभरि जिउने हो भने प्रमोदवनबारे बाइबलमा पाइने विवरणहरू पढ्नुहोस् र त्यसमा मनन गर्नुहोस्। (यसै. २५:८; ३२:१६-१८) नयाँ संसारमा जीवन कस्तो हुनेछ भनेर सोच्नुहोस्। आफू त्यहीँ भएको कल्पना गर्नुहोस्। नियमित रूपमा नयाँ संसारबारे सोच्नुभयो भने तपाईँलाई आफ्ना समस्याहरू “क्षणिक र हलुका” लाग्नेछ। (२ कोरि. ४:१७) हो, यहोवा तपाईँलाई भविष्यको आशामार्फत बलियो पार्नुहुन्छ। उहाँले हामीलाई बल दिन चाहिने सबै कुराको प्रबन्ध गरिसक्नुभएको छ। त्यसैले असाइनमेन्ट पूरा गर्न, परीक्षा सहन वा आफ्नो आनन्द कायम गर्न यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस् र व्यक्तिगत अध्ययन गरेर उहाँको डोऱ्याइ खोज्नुहोस्। भाइबहिनीले दिने प्रोत्साहन स्विकार्नुहोस्। आफ्नो आशालाई धमिलो हुन नदिनुहोस्। ‘अनि महिमाले भरिपूर्ण परमेश्वरको सामर्थ्यबाट ठूलो बल पाएर तपाईँहरूले सबै कुरा धीरजी र आनन्दित हुँदै सहन सक्नुहुनेछ।’—कल. १:११. w२३.१० पृ. १७ अनु. १९-२०
बिहीबार, नोभेम्बर ६
सबै कुराको निम्ति धन्यवाद चढाओ।—१ थिस्स. ५:१८.
हामीसित यहोवालाई धन्यवाद चढाउन सक्ने थुप्रै कारण छन्। हामीसँग भएको जुनसुकै असल कुराको लागि हामी उहाँलाई धन्यवाद चढाउन सक्छौँ किनकि हरेक असल वरदान उहाँबाट नै आएको हो। (याकु. १:१७) जस्तै: हामी सुन्दर पृथ्वी र यसमा भएका अचम्मका कुराहरूको लागि कृतज्ञता व्यक्त गर्न सक्छौँ। साथै हामीले पाएको जीवन, परिवार, साथीभाइ र भविष्यको आशाको लागि धन्यवाद दिन सक्छौँ। परमेश्वरसित अनमोल मित्रता गाँस्न पाएकोमा पनि हामी आभार व्यक्त गर्न सक्छौँ। यहोवाप्रति कृतज्ञ हुन सक्ने कारणहरूबारे सोच्न हामीले अझ धेरै प्रयास गर्नुपर्ने हुन सक्छ। किनकि हामी बैगुनी संसारमा बाँचिरहेका छौँ। मानिसहरू प्रायजसो आफूसँग भएका कुराहरूप्रति कृतज्ञ हुनुको साटो आफ्ना चाहनाहरू पूरा गर्ने कुरामा केन्द्रित छन्। यस्तो मनोभावले हामीलाई पनि असर गर्न सक्छ, जसले गर्दा हामी हरेक चोटि प्रार्थना गर्दा आफूलाई चाहिएको कुरा मात्र मागिरहेका हुन सक्छौँ। यस्तो मनोभावदेखि जोगिन यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूप्रति कृतज्ञ हुन सिकिरहनुपर्छ र त्यसलाई व्यक्त गरिरहनुपर्छ।—लुका ६:४५. w२३.०५ पृ. ४ अनु. ८-९