शुक्रबार, नोभेम्बर ७
रतीभर शङ्का नगरी विश्वाससहित मागिरहोस्।—याकु. १:६.
हाम्रो मायालु बुबा यहोवा हामी दुःखमा परेको चाहनुहुन्न। (यसै. ६३:९) त्यसो भन्दैमा उहाँ हामीलाई सबै परीक्षाबाट जोगाउनुहुन्न। हामीले भोग्ने परीक्षाहरूलाई नदी र ज्वालासित तुलना गर्न सकिन्छ। (यसै. ४३:२) तर उहाँले हामीलाई परीक्षाहरू छिचोल्दै अघि ‘जान’ मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हामीलाई परीक्षाहरूले गर्दा उहाँको सेवा गर्नै नसक्ने हदसम्म पुग्न दिनुहुनेछैन। साथै परीक्षाहरू सहन उहाँ हामीलाई पवित्र शक्ति दिनुहुन्छ। (लुका ११:१३; फिलि. ४:१३) त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौँ: उहाँले हामीलाई परीक्षाहरू सहन र वफादार रहन चाहिएकै मदत दिनुहुन्छ। यहोवा हामीले उहाँमाथि भरोसा गरेको चाहनुहुन्छ। (हिब्रू ११:६) कहिलेकाहीँ हामीलाई आफूले सामना गरिरहेको परीक्षा पार गर्नै नसकिनेजस्तो लाग्न सक्छ। अनि यहोवाले मदत गर्नुहुने कुरामा पनि शङ्का उब्जिन सक्छ। तर परमेश्वरको शक्ति पाएर हामी समस्याहरूको “पर्खाल नाघ्न” सक्छौँ भनेर बाइबलमा आश्वासन दिइएको छ। (भज. १८:२९) त्यसैले शङ्कालाई बढ्न दिनुको साटो यहोवाले जवाफ दिनुहुन्छ भन्ने कुरामा पूरा भरोसा राख्दै प्रार्थना गर्नुपर्छ।—याकु. १:६, ७. w२३.११ पृ. २२ अनु. ८-९
शनिबार, नोभेम्बर ८
प्रेम दन्केको आगो हो, याहको ज्वाला हो। यसलाई उर्लेको भेलले निभाउन सक्दैन, नदीले बगाउन सक्दैन।—श्रेष्ठ. ८:६, ७.
साँचो प्रेमको कत्ति राम्रो परिभाषा! यी शब्दहरू विवाहित दम्पतीका लागि साँच्चै प्रोत्साहनदायी छन्। हो, तपाईँहरू एकअर्कालाई प्रगाढ प्रेम गर्न सक्नुहुन्छ। पतिपत्नीले एकअर्कालाई आजीवन प्रेम गर्न प्रयास गरिरहनुपर्छ। जस्तै: आगोलाई कहिल्यै निभ्न नदिने हो भने त्यसमा दाउरा थपिरहनुपर्छ। तर कसैले दाउरा थपेन भने आगो बिस्तारै निभ्छ। त्यस्तैगरि पतिपत्नीबीचको प्रेमलाई आजीवन बलियो बनाइराख्ने हो भने दुवैले आ-आफ्नो तर्फबाट कोसिस गरिरहनुपर्छ। कहिलेकाहीँ आर्थिक कठिनाइ, स्वास्थ्य समस्या वा छोराछोरीलाई हुर्काउँदा आइपर्ने चुनौतीहरूले गर्दा पतिपत्नीले आपसी प्रेम सेलाएको महसुस गर्न सक्छन्। त्यसैले “याहको ज्वाला” निभ्न नदिन पतिपत्नीले यहोवासितको सम्बन्धलाई बलियो बनाउन आ-आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। w२३.०५ पृ. २० अनु. १-३
आइतबार, नोभेम्बर ९
नडराऊ।—दानि. १०:१९.
साहस विकास गर्न हामीले के गर्नुपर्छ? आमाबुबाले हामीलाई साहसी हुन प्रोत्साहन दिन सक्नुहुन्छ तर आफूसित भएको साहस हामीलाई पैतृक सम्पत्तिको रूपमा दिन सक्नुहुन्न। साहस विकास गर्नु भनेको नयाँ सीप सिक्नुजस्तै हो। कुनै सीप तिखार्ने एउटा तरिका भनेको प्रशिक्षकले गरेको कामलाई नजिकबाट नियाल्नु र तिनले गरेजस्तै गर्नु हो। त्यसैगरि हामीले पनि अरूले यो गुण कसरी देखाउँछन् भन्ने कुरा नजिकबाट नियालेर अनि तिनीहरूको उदाहरण अनुकरण गरेर साहसी हुन सिक्न सक्छौँ। दानिएलजस्तै हामी परमेश्वरको वचनसित राम्ररी परिचित हुनुपर्छ। यहोवासित नियमित रूपमा अनि खुलस्त कुराकानी गरेर हामीले उहाँसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यहोवाले हामीलाई सधैँ मदत गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएर उहाँमाथि भरोसा गर्नुपर्छ। यसो गऱ्यौँ भने विश्वासको जाँच हुँदा हामी साहसी हुन सक्छौँ। साहसी मानिसहरूले अरूको आदर कमाउँछन्। उनीहरूले असल हृदय भएका व्यक्तिहरूलाई यहोवाबारे सिक्न मदत गर्न पनि सक्छन्। हो, हामीसित साहस विकास गर्नुपर्ने जायज कारणहरू छन्। w२३.०८ पृ. २ अनु. २; पृ. ४ अनु. ८-९