शनिबार, नोभेम्बर ८
प्रेम दन्केको आगो हो, याहको ज्वाला हो। यसलाई उर्लेको भेलले निभाउन सक्दैन, नदीले बगाउन सक्दैन।—श्रेष्ठ. ८:६, ७.
साँचो प्रेमको कत्ति राम्रो परिभाषा! यी शब्दहरू विवाहित दम्पतीका लागि साँच्चै प्रोत्साहनदायी छन्। हो, तपाईँहरू एकअर्कालाई प्रगाढ प्रेम गर्न सक्नुहुन्छ। पतिपत्नीले एकअर्कालाई आजीवन प्रेम गर्न प्रयास गरिरहनुपर्छ। जस्तै: आगोलाई कहिल्यै निभ्न नदिने हो भने त्यसमा दाउरा थपिरहनुपर्छ। तर कसैले दाउरा थपेन भने आगो बिस्तारै निभ्छ। त्यस्तैगरि पतिपत्नीबीचको प्रेमलाई आजीवन बलियो बनाइराख्ने हो भने दुवैले आ-आफ्नो तर्फबाट कोसिस गरिरहनुपर्छ। कहिलेकाहीँ आर्थिक कठिनाइ, स्वास्थ्य समस्या वा छोराछोरीलाई हुर्काउँदा आइपर्ने चुनौतीहरूले गर्दा पतिपत्नीले आपसी प्रेम सेलाएको महसुस गर्न सक्छन्। त्यसैले “याहको ज्वाला” निभ्न नदिन पतिपत्नीले यहोवासितको सम्बन्धलाई बलियो बनाउन आ-आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। w२३.०५ पृ. २० अनु. १-३
आइतबार, नोभेम्बर ९
नडराऊ।—दानि. १०:१९.
साहस विकास गर्न हामीले के गर्नुपर्छ? आमाबुबाले हामीलाई साहसी हुन प्रोत्साहन दिन सक्नुहुन्छ तर आफूसित भएको साहस हामीलाई पैतृक सम्पत्तिको रूपमा दिन सक्नुहुन्न। साहस विकास गर्नु भनेको नयाँ सीप सिक्नुजस्तै हो। कुनै सीप तिखार्ने एउटा तरिका भनेको प्रशिक्षकले गरेको कामलाई नजिकबाट नियाल्नु र तिनले गरेजस्तै गर्नु हो। त्यसैगरि हामीले पनि अरूले यो गुण कसरी देखाउँछन् भन्ने कुरा नजिकबाट नियालेर अनि तिनीहरूको उदाहरण अनुकरण गरेर साहसी हुन सिक्न सक्छौँ। दानिएलजस्तै हामी परमेश्वरको वचनसित राम्ररी परिचित हुनुपर्छ। यहोवासित नियमित रूपमा अनि खुलस्त कुराकानी गरेर हामीले उहाँसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यहोवाले हामीलाई सधैँ मदत गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएर उहाँमाथि भरोसा गर्नुपर्छ। यसो गऱ्यौँ भने विश्वासको जाँच हुँदा हामी साहसी हुन सक्छौँ। साहसी मानिसहरूले अरूको आदर कमाउँछन्। उनीहरूले असल हृदय भएका व्यक्तिहरूलाई यहोवाबारे सिक्न मदत गर्न पनि सक्छन्। हो, हामीसित साहस विकास गर्नुपर्ने जायज कारणहरू छन्। w२३.०८ पृ. २ अनु. २; पृ. ४ अनु. ८-९
सोमबार, नोभेम्बर १०
सबै कुरा जाँच।—१ थिस्स. ५:२१.
‘जाँच्नु’ भनेर अनुवाद गरिएको ग्रीक शब्द सुन र चाँदीजस्ता बहुमूल्य धातु सकली हो कि होइन भनेर परीक्षण गर्ने सन्दर्भमा प्रयोग गरिन्थ्यो। त्यसैले हामीले सुन्ने वा पढ्ने कुराहरू साँचो हो कि होइन भनेर जाँच्नुपर्छ। महासङ्कष्ट नजिकिँदै जाँदा हामीले त्यसो गर्नु अझै महत्त्वपूर्ण हुनेछ। कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामी कागको पछि दौड्नु हुँदैन। हो, हामीले बाइबल र यहोवाको सङ्गठनले के भन्छ भनेर जाँचेर हेर्नुपर्छ। यसो गऱ्यौँ भने हामी प्रेतहरूले फैलाउने झूटा अफवाहहरू वा भ्रामक कुराहरूको बहकाउमा पर्नेछैनौँ। (हितो. १४:१५; १ तिमो. ४:१) महासङ्कष्टमा यहोवाका सेवकहरू समूहको रूपमा बच्नेछन्। तर हामी प्रत्येकको जीवनमा भोलि के हुने हो, हामीलाई थाह छैन। (याकु. ४:१४) हामीले जीवितै महासङ्कष्ट पार गर्न सक्छौँ वा त्यसअघि नै हाम्रो मृत्यु हुन सक्छ तर वफादार रह्यौँ भने इनामस्वरूप अनन्त जीवन पाउनेछौँ। त्यसैले हाम्रो सुन्दर आशामा ध्यान केन्द्रित गरिरहौँ र यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहौँ! w२३.०६ पृ. १३ अनु. १५-१६