-
आशा—के यसको कुनै महत्त्व छ?ब्यूँझनुहोस्!—२००४ | मे ८
-
-
आशा—के यसको कुनै महत्त्व छ?
डानिएलले भर्खर दस वर्षमा पाइला टेकेका थिए तर उनले क्यान्सरसित जुधेको एक वर्ष भइसकेको थियो। उनका साथीभाइ अनि आफन्तहरूले जस्तै उनको डाक्टरले पनि आशा मारिसकेका थिए। तर डानिएलको मनमा भने आशा जीवितै थियो। आफू हुर्किसकेपछि अनुसन्धाता बन्ने र कुनै दिन क्यान्सरको उपचार पत्ता लगाउने उनको विश्वास थियो। उनी विशेष गरेर आफूलाई लागेको क्यान्सर रोगको विशेषज्ञ आउने खबरले आशावादी थिए। जब विशेषज्ञ आइपुग्ने दिन आयो, खराब मौसमको कारण बाध्य भएर विशेषज्ञले आफ्नो भ्रमण रद्द गर्नुपऱ्यो। डानिएलको मन मऱ्यो। जीवनमा पहिलो पटक डानिएल उत्साहहीन बन्न पुगे। केही दिनमै उनको मृत्यु भयो।
डानिएलको यो कथा एक जना स्वास्थ्य कार्यकर्ताले बताएका थिए जसले स्वास्थ्यमा आशा र आशाविहीनताको भूमिकाबारे अध्ययन गरेका थिए। तपाईंले पनि यस्तै कथाहरू सुन्नुभएको होला। उदाहरणको लागि, कुनै एक वृद्ध जीवन-मरणसित सङ्घर्ष गर्दैछन् तर उनी धेरै लामो समयदेखि व्यग्रतासाथ आफ्नो जीवनको कुनै महत्त्वपूर्ण घडीको प्रतीक्षामा छन्—सम्भवतः त्यो कुनै प्रियजनसितको भेट अथवा कुनै वार्षिकोत्सव हुन सक्छ। जब त्यो महत्त्वपूर्ण घडी उनको जीवनमा आउँछ अनि जान्छ, तुरुन्तै उक्त वृद्धिमाथि मृत्यु आइपर्छ। यस्ता घटनाहरूमा कुन कुराले भूमिका खेलेको हुन्छ? कसै-कसैले विश्वास गरेजस्तै के आशा साँच्चिकै शक्तिशाली हुन सक्ला?
आशावादी हुनु, आशा र सकारात्मक भावनाहरूले वास्तवमा मानव जीवन तथा स्वास्थ्यमा शक्तिशाली असर पार्न सक्छ भन्ने चिकित्सासम्बन्धी अनुसन्धाताहरू दिन-प्रतिदिन बढ्दै छन्। तर यस्ता धारणाहरूमा त्यत्ति एकमत छैन। केही अनुसन्धाताहरूले यस्ता सबै दाबीहरूलाई अवैज्ञानिक दन्त्यकथाको संज्ञा दिंदै नकार्ने गरेका छन्। तिनीहरू शारीरिक रोगव्याधिको लागि शारीरिक कारण मात्र हुन सक्ने विचारधारा राख्न रुचाउँछन्।
निस्सन्देह, आशाको महत्त्वबारे उठ्ने गरेका शङ्का उपशङ्काहरू नौला भने होइनन्। हजारौं वर्ष पहिले युनानी दर्शनशास्त्री अरस्तुलाई आशाको परिभाषा दिन आग्रह गरियो र उनले यसो भने: “यो एउटा दिवास्वप्न मात्र हो।” अनि अमेरिकी राजनीतिज्ञ बेन्जामिन फ्रान्कलीनले “आशामा बाँच्ने मानिस भोकभोकै मर्नेछ” भनी तीखो व्यङ्ग गरेको धेरै समय भएको छैन।
त्यसोभए, आशाबारे तथ्य कुरा चाहिं के हो त? के यो सधैं मनले चिताउने कुरा अर्थात् कुनै व्यक्तिले कल्पनामा खोज्ने सान्त्वना मात्र हो? यीबाहेक आशालाई अझै फराकिलो दृष्टिकोणले हेर्ने अर्थात् हाम्रो सुस्वास्थ्य अनि खुसीको लागि यसको आवश्यकता छ भनेर भन्न सक्ने के कुनै जायज कारण हामीसित छ? (g04 4/22)
-
-
हामीलाई आशा किन चाहिन्छ?ब्यूँझनुहोस्!—२००४ | मे ८
-
-
हामीलाई आशा किन चाहिन्छ?
अघिल्लो लेखको सुरुमा उल्लिखित कलिलो उमेरमै क्यान्सरको सिकार भएका डानिएलले यदि आफ्ना बलिया आशाहरूलाई जीवितै राखेका भए के हुन्थ्यो होला? के उनले क्यान्सरलाई जित्न सक्थे? के उनी आज जीवितै हुन्थे? आशाका कट्टर पक्षधरहरूले समेत यस्तो दाबी गर्ने छैनन्। यहाँ एउटा महत्त्वपूर्ण बुँदा लुकेको छ। आशालाई चाहिनेभन्दा बढी महत्त्व दिनु हुँदैन। यो रोगको अचूक औषधी होइन।
सी बी एस न्युजलाई अन्तरवार्ता दिंदा डा. नेथन चर्नीले बिरामीहरूसित व्यवहार गर्दा आशाको प्रभावलाई बढाइचढाइ गर्नुका खतराबारे चेतावनी दिंदै यसो भने: “यहाँ यस्ता परिस्थितिहरू छन्, जहाँ पतिहरूले आफ्ना पत्नीहरूलाई पर्याप्त मनन नगरेको अनि पर्याप्त सकारात्मक सोच नराखेको भनी हप्काएका छन्।” डा. चर्नीले अझ यसो भने, “यस्तो सोचाइले रोगलाई नियन्त्रण गर्नेसम्बन्धमा भ्रम सृजना गर्छ, यसो गर्नु भनेको स्वास्थ्यस्थिति खस्कँदा ट्युमर राम्ररी नियन्त्रण नहुनुको दोष रोगीलाई दिए जस्तै हो, यो त न्याय भएन नि।”
वास्तवमा भन्ने हो भने, प्राणघातक रोगसित सङ्घर्ष गरिरहेकाहरूले एकदमै थकाइलाग्दो अनि कठिन युद्ध लडिरहेका हुन्छन्। तिनीहरूका प्रियजनहरू, तिनीहरूमाथि पहिले नै लादिएको गह्रौं बोझमाथि थप दोषी भावनाको बोझ थुपार्न त पक्कै पनि चाहँदैनन्। त्यसोभए आशाको कुनै महत्त्व छैन भनी हामी भन्न सक्छौं त?
अवश्य सक्दैनौं। उदाहरणका लागि, माथि उल्लिखित डाक्टर, प्यालिएटिभ केयरका विशेषज्ञ पनि हुन् र प्यलिएटिभ केयर भनेको रोगसित प्रत्यक्ष लड्न अथवा जीवनलाई लम्ब्याउन नभई बिरामी बाँचुन्जेल आराम र सुबिस्तासित राख्ने उपचार हो। यस्ता डाक्टरहरू एकदमै सिकिस्त अवस्थामा समेत बिरामीको मनलाई खुसी राख्ने खालका उपचारको महत्त्वमाथि बलियो विश्वास राख्छन्। आशाले बिरामीको मनलाई खुसी राख्नुका साथै अन्य धेरै कुराहरू गर्न सक्छ भन्ने उल्लेखनीय प्रमाणहरू छन्।
आशाको महत्त्व
चिकित्सासम्बन्धी पत्रकार डा. डब्लु. गिफर्ड-जोन्स यसो भन्छन्, “आशा एउटा प्रभावकारी उपचार हो।” उनले प्राणघातक रोग लागेका बिरामीहरूलाई दिइने भावनात्मक सहयोगको महत्त्व कत्तिको छ भनी थाह पाउन गरिएका विभिन्न अध्ययनहरूको पुनरावलोकन गरे। भावनात्मक सहयोगले मानिसहरूलाई अझ बढी आशावादी अनि सकारात्मक मनोवृत्ति कायम राख्न मदत गर्छ भन्ने अनुमान गरिन्छ। सन् १९८९ मा गरिएको एउटा अध्ययनले भावनात्मक सहयोग पाएकाहरू लामो समयसम्म बाँच्ने कुरा पत्ता लगाएका छन् तर हालैका अनुसन्धानहरूले यसलाई त्यति तथ्य मानेका छैनन्। यद्यपि, भावनात्मक सहयोग पाएका बिरामीहरूलाई यस्तो सहयोग नपाएकाहरूको तुलनामा डिप्रेशन अर्थात् नैराश्य अनि पीडाले कमै मात्र सताएको कुरा अध्ययनहरूले देखाउँछ।
मुटुको धमनीसम्बन्धी रोगमा आशावादी अनि निराशावादी दृष्टिकोणले खेल्ने भूमिकाबारे गरिएको अर्को अध्ययनलाई विचार गर्नुहोस्। जीवनप्रति मानिसहरूले कस्तो दृष्टिकोण राख्छन्, आशावादी या निराशावादी भनी १,३०० जना भन्दा धेरै समावेश भएको एउटा समूहलाई एकदमै होसियारसाथ विश्लेषण गरियो। दस वर्षपछि तिनीहरूमध्ये १२ प्रतिशतभन्दा धेरै मुटुको धमनीसम्बन्धी रोगबाट पीडित भएको कुरा पत्ता लाग्यो। तिनीहरूमध्ये निराशावादीहरूको संख्या आशावादीहरूको भन्दा झन्डै दुई गुणा बढी थियो। हार्डबर्ड स्कूल अफ पब्लिक हेल्थ-मा स्वास्थ्य तथा सामाजिक व्यावहारका सहायक प्राध्यापक लोरा कुबजानस्की यस्तो टिप्पणी गर्छिन्: “ ‘सकारात्मक सोच राख्नु’ स्वास्थ्यको लागि राम्रो हो भन्ने विचारलाई पुष्टि गर्ने प्रायजसो प्रमाणहरू कथाकै रूपमा मात्र सीमित रहेका छन्—तर मुटुसम्बन्धी रोगको क्षेत्रमा गरिएको यो अध्ययनले यस विचारलाई पुष्टि गर्ने तथ्यपरक चिकित्सकीय प्रमाण उपलब्ध गराएको छ।”
आफ्नो स्वास्थ्यप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू सकारात्मक दृष्टिकोण राख्नेहरूको तुलनामा शल्यक्रिया पश्चात् ढिलो निको हुने तथ्य केही अध्ययनहरूबाट पत्ता लागेको छ। आशावादी दृष्टिकोणको सम्बन्ध दीर्घजीवनसित समेत गाँसिएको छ! वृद्धावस्थाबारे राखिने सकारात्मक तथा नकारात्मक दृष्टिकोणबाट वृद्धहरू कसरी प्रभावित हुन्छन् भन्नेबारे एउटा अनुसन्धान गरियो। वृद्धहरूलाई, वृद्धावस्थासित गाँसिएको पाको बुद्धि र अनुभवी जस्ता सन्देशहरूलाई समय-समयमा प्रवाहित गरिदिंदा तिनीहरू बढी तागतिलो अनि फूर्तिलो भएर हिंडेको पाइयो। वास्तवमा, तिनीहरूमा आएको यस्तो किसिमको प्रगति १२ हप्ते व्यायाम कार्यक्रमबाट हासिल हुने नतिजा बराबरको थियो।
आशा, आशावादी तथा सकारात्मक दृष्टिकोण जस्ता भावनाहरूले स्वास्थ्यलाई लाभ पुऱ्याएजस्तो देखिनुको कारण के हो? यकिनकासाथ यही हो भनेर जवाफ दिन सम्भवतः वैज्ञानिक तथा डाक्टरहरूले मानव मस्तिष्क तथा शरीरलाई पूर्णतया नबुझेका हुन सक्छन्। यद्यपि, यसै विषयमा अध्ययन गर्ने विशेषज्ञहरूले बौद्धिक अनुमान भने गर्न सक्छन्। उदाहरणको लागि स्नायुशास्त्रका एक प्राध्यापक यस्तो सल्लाह दिन्छन्: “आनन्दित अनि आशावादी हुनु साह्रै सुखद कुरा हो। यो एउटा आनन्ददायक अवस्था हो जसले तनाव हुन दिंदैन अनि यस्तो अवस्थामा शरीर फस्टाउँछ। स्वस्थ्य रहनको लागि मानिसले गर्न सक्ने यो एउटा अर्को उपाय हो।”
यस्तो विचार केही डाक्टर, मनोचिकित्सक अनि वैज्ञानिकहरूलाई नयाँ र बिलकुलै सृजनात्मक लागे तापनि बाइबलका विद्यार्थीहरूको लागि भने यो कुनै नौलो कुरा होइन। करिब ३,००० वर्षअघि बुद्धिमान राजा सुलेमान यस्ता भावनाहरू लेख्न प्रेरित भए: “प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।” (हितोपदेश १७:२२, नयाँ संशोधित संस्करण) यहाँ दिइएको सन्तुलनलाई विचार गर्नुहोस्। यो शास्त्रपदले प्रसन्न हृदयले जुनसुकै रोग पनि निको पार्नेछ भनी भनेको छैन तर यसले केवल “प्रसन्न हृदय असल औषधी हो” भनी बताउँछ।
वास्तवमा यस्तो प्रश्न सोध्नु जायज छ, यदि आशा साँच्चै औषधी हो भने कुन चाहिं डाक्टरले पो यसलाई सिफारिस गर्दैनन् र? यसको अतिरिक्त, आशाले स्वास्थ्य क्षेत्रबाहेक अन्य धेरै क्षेत्रहरूमा पनि लाभ पुऱ्याएको छ।
आशावादी हुनु, निराशावादी हुनु अनि तपाईंको जीवन
आशावादीहरूले आफ्नो सकारात्मक दृष्टिकोणले धेरै पक्षमा लाभ उठाउँछन् भनी अनुसन्धाताहरूले पत्ता लगाएका छन्। तिनीहरूले स्कूल, काम गर्ने ठाउँ अनि खेलकुदको क्षेत्रमा समेत राम्रो गर्न सक्छन्। उदाहरणका लागि, एउटा महिला एथेलेटिक्स टोलीमाथि अध्ययन गरियो। प्रशिक्षकहरूले महिलाहरूको खेल दक्षताबारे मात्र विस्तृत मूल्याङ्कन प्रस्तुत गरे। त्यति नै बेला, महिलाहरू कत्तिको आशावादी छन् भन्ने थाह पाउन होसियारसाथ सर्वेक्षण गरियो। तिनीहरूको क्षमताबारे प्रशिक्षकहरूद्वारा गरिएको मूल्याङ्कनको तथ्याङ्कभन्दा तिनीहरू कत्तिको आशावादी छन् भनी गरिएको सर्वेक्षण नै तिनीहरूको भावी प्रदर्शन निर्धारण गर्ने प्रमुख तत्त्व बनेको कुरा परिणामबाट पत्ता लाग्यो। आशाको प्रभाव किन यत्तिको सशक्त भएको?
आशावादी दृष्टिकोणको ठीक विपरीत निराशावादी दृष्टिकोणलाई अध्ययन गरेर धेरै तथ्यहरू पत्ता लागेका छन्। सन् १९६० को दशकमा गरिएका परीक्षणहरूमा जनावरहरूको स्वभावहरूबारे अप्रत्याशित तथ्यहरू फेलापरे जसले गर्दा अनुसन्धाताहरूले “आफै सिकिने निस्सहायपन” भन्ने टुक्का निकाले। मानवहरू पनि यस्तै प्रकारका लक्षणहरूबाट पीडित हुन सक्ने कुरा तिनीहरूले पत्ता लगाए। उदाहरणको लागि, परीक्षणमा सहभागी व्यक्तिहरूलाई कानै खाने आवाज सुनाइयो अनि लहरै राखिएका बटनहरूलाई थिचेर ती आवाजहरूलाई बन्द गर्न सकिने कुरा बताइयो। तिनीहरू त्यस आवाजलाई बन्द गर्न सफल भए।
दोस्रो समूहलाई पनि त्यसै गर्न लगाइयो—तर बटन थिच्दा कुनै असर देखिएन। तपाईं कल्पना गर्न सक्नुहुन्छ, दोस्रो समूहका धेरैजसो व्यक्तिले निस्सहायपनको भावना विकास गरे। दोस्रो परीक्षणमा तिनीहरूले कुनै पनि कदम चाल्न मानेनन्। जे जस्तो गरे तापनि केही फाइदा हुनेछैन भन्ने कुरामा तिनीहरू विश्वस्त थिए। यद्यपि, त्यस दोस्रो समूहका आशावादी दृष्टिकोण राख्नेहरू भने त्यस्तो निस्सहाय भावना आउँदासमेत हरेस खाएनन्।
पहिले-पहिले गरिएका यस्ता केही परीक्षणहरू तयार गर्न मदत गर्ने डा. मार्टिन सेलिगमेन आशावादी अनि निराशावादी अध्ययनमै आफ्नो जीवन बिताउन उत्प्रेरित भए। आफूले आफैलाई निस्सहाय ठान्ने झुकाव भएका व्यक्तिहरूको सोच्ने तरिकाबारे उनले गहन अनुसन्धान गरे। निराशावादी सोचाइले जीवनका सङ्घर्षहरूमा वाधा पुऱ्याउँछ अनि कुनै पनि काम गर्न दिंदैन भन्ने निष्कर्षमा उनी पुगे। सेलिगमेन निराशावादी सोचाइ तथा यसका असरबारे निचोडमा यसरी बताउँछन्: “कुनै पनि विपत्तिको दोष आफ्नै टाउकोमा थुपार्ने निराशावादी सोचाइ राख्ने हाम्रो बानी परिसकेको छ भने यस्ता सोचाइहरूले जरा गाडेर बस्छ अनि हामीले गर्ने हरेक कामकुरालाई यसले असर गर्छ, त्योभन्दा दुःखलाग्दो कुरा त हामीले चिताउँदै नचिताएको बेला विपत्तिहरू हामीमाथि आइपर्नेछ भन्ने कुरा मेरो पच्चीस वर्षको अध्ययनबाट मैले बुझेको छु।”
माथि पनि उल्लेख गरेझैं, आज कुनै-कुनै व्यक्तिहरूको लागि यस्ता निचोडहरू नौला हुन सक्छन् तर बाइबलका विद्यार्थीहरूको लागि यो कुनै नौलो कुरो होइन। यस हितोपदेशलाई ध्यान दिनुहोस्: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्को दिनमा तँ झन् कति असहाय हुनेछस्।” (हितोपदेश २४:१०) हो, बाइबलले स्पष्टसित भन्छ, नकारात्मक विचारधारा अनि निरुत्साहले तपाईंको काम गर्ने शक्तिलाई क्षीण बनाइदिन्छ। यद्यपि, तपाईं निराशा विरुद्ध लड्न अनि आफ्नो जीवनमा आशावादी दृष्टिकोण र आशा ल्याउन के गर्न सक्नुहुन्छ? (g04 4/22)
[पृष्ठ ४-मा भएको चित्र]
आशाले धेरै ठूलो फाइदा पुऱ्याउन सक्छ
-
-
तपाईं निराशावादी सोचाइसित लड्न सक्नुहुन्छब्यूँझनुहोस्!—२००४ | मे ८
-
-
तपाईं निराशावादी सोचाइसित लड्न सक्नुहुन्छ
आफूले भोग्नुपरेका असफलताहरूलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ? तपाईं आशावादी हुनुहुन्छ या निराशावादी भन्ने कुरा धेरै हदसम्म यो प्रश्नको जवाफले निर्धारण गर्छ भनी धेरै विशेषज्ञहरू विश्वास गर्छन्। हामी सबैले जीवनमा विभिन्न कठिन परीक्षाहरूको सामना गर्छौं, कसैले कम त कसैले बढी। त्यसोभए किन कोही-कोही कठिनाइबाट उठ्दै फेरि प्रयास गर्छन् जबकि कोही-कोही सानातिना कठिनाइहरूमै लत्तो छाड्छन्?
उदाहरणका लागि, मानौं तपाईं जागिरको खोजीमा हुनुहुन्छ। तपाईं अन्तरवार्ताको लागि जानुहुन्छ तर तपाईंलाई अस्वीकार गरिन्छ। अब यस घटनालाई तपाईं कसरी लिनुहुन्छ? तपाईं यसलाई अत्यन्तै व्यक्तिगत रूपमा लिन सक्नुहुन्छ अनि यसलाई आफ्नो स्थायी समस्या ठान्दै आफैलाई यसो भन्न सक्नुहुन्छ: ‘मजस्तोलाई कसैले जागिर दिंदैन। मैले कहिले पनि जागिर पाउन सक्दिनँ।’ अथवा त्यसभन्दा पनि जीवनमा एक पटक भोग्नुपरेको यस असफलतालाई आफ्नो जीवनको हरेक पक्षसित गाँस्दै यस्तो सोच्न सक्नुहुन्छ, ‘म त बेकार छु। म कसैलाई पनि काम नलाग्ने भइसकें।’ हरेक चोटि हाम्रो मनमा आउने यस्ता सोचाइहरू हाम्रा निराशावादी सोचाइका उपज हुन्।
निराशावादी सोचाइसित लड्ने
निराशावादी सोचाइसित तपाईं कसरी लड्न सक्नुहुन्छ? यस्ता नकारात्मक विचारहरूलाई चिन्नु अत्यन्तै महत्त्वपूर्ण पहिलो कदम हो। दोस्रो कदमचाहिं यस्तो सोचाइ विरुद्ध लड्नु हो। आफू असफल हुनुको अन्य व्यावहारिक वैकल्पिक कारणहरू खोज्नुहोस्। उदाहरणको लागि, तपाईं अस्वीकृत हुनुको कारण मानिसहरूले तपाईंलाई जागिर दिन नचाहेको कारणले नै हो त? अथवा जागिरदाताले अर्कै योग्यता भएको व्यक्तिलाई खोजेको पो होला कि?
वास्तविक तथ्यहरूमा ध्यान केन्द्रित गर्दा यस्ता निराशावादी सोचाइहरू तिललाई पहाड बनाएझैं मात्र हुन् भन्ने कुरा स्पष्ट हुन्छ। एउटा क्षेत्रमा तपाईं अस्वीकृत हुनुभयो भन्दैमा के तपाईं आफूलाई पूर्णतया असफल ठान्नुहुन्छ अथवा आफू केही हदसम्म सफल भएका क्षेत्रहरू जस्तै आध्यात्मिक गतिविधि, पारिवारिक सम्बन्ध अथवा मित्रताबारे तपाईं सोच्नुहुन्छ? कुनै पनि कामको सम्भाव्य परिणाम ‘बरबादी’ मात्र हुनेछ भन्ने सोचाइ हटाउनुहोस्। आखिर, तपाईंले कहिल्यै जागिर पाउन सक्नुहुन्न भनेर के तपाईं साँच्चै थाह पाउन सक्नुहुन्छ? नकारात्मक विचारहरूलाई हटाउन तपाईंले गर्न सक्ने केही कुराहरू छन्।
सकारात्मक, लक्ष्यसहितको सोचाइ
हालैका वर्षहरूमा अनुसन्धाताहरूले आशाको रोचक तर साँघुरो परिभाषा दिएका छन्। तिनीहरूको विचारमा आशामा लक्ष्य हासिल गर्न सक्छु भन्ने विश्वास समावेश छ। अर्को लेखले आशामा समावेश अन्य धेरै कुराहरूबारे बताउने त छ नै तर अनुसन्धाताहरूले दिएको यो परिभाषा अन्य धेरै पक्षहरूमा उपयोगी देखिन्छ। आशाको यस पक्षमा ध्यान केन्द्रित गर्दा यसले हामीलाई अझ बढी सकारात्मक अनि लक्ष्यसहितको सोच विकास गर्न मदत गर्न सक्छ।
भावी लक्ष्यहरू हासिल गर्न सक्छु भन्ने विश्वास बनाउनको लागि हामीसित लक्ष्यहरू राखेको अनि प्राप्त गरेको अनुभव हुनु आवश्यक छ। यदि तपाईंलाई आजसम्म आफूले त्यस्तो अनुभव हासिल गरेको छैन जस्तो लाग्छ भने आफ्ना लक्ष्यहरूलाई गम्भीरतासाथ सोच्नु उपयोगी हुन सक्छ। सबैभन्दा पहिले, के तपाईंको कुनै लक्ष्य छ? जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात् जीवनबाट आफूले साँच्चै चाहेको कुरा नखुट्याइ हामी जीवनका भागदौडहरूमै व्यस्त भइरहन सक्छौं। स्पष्ट प्राथमिकता निर्धारण गर्ने व्यावहारिक सिद्धान्तबारे बाइबलले फेरि एक पटक धेरै राम्रो सल्लाह दिएको छ, “जे उत्तम छ सो तिमीहरू खुट्याउन सक।”—फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण.
एकपटक प्राथमिकता निर्धारण गरिसकेपछि आध्यात्मिकता, पारिवारिक जीवन, कामधन्दा जस्ता विभिन्न क्षेत्रहरूभित्र पनि केही मुख्य लक्ष्यहरू छनौट गर्न सजिलो हुन्छ। यद्यपि, सुरुमै धेरै लक्ष्यहरू नराख्नु अनि कुनै पनि लक्ष्य राख्नुअघि आफूले उक्त लक्ष्य हासिल गर्न सक्छु भन्ने कुरा बुझेर मात्र लक्ष्यहरू छनौट गर्नु नितान्त आवश्यक छ। यदि लक्ष्य प्राप्त गर्न निकै कठिन छ भने यसले हामीलाई निरुत्साहित तुल्याउन सक्छ र हामी लत्तो छाड्न सक्छौं। त्यसैले, ठूल्ठूला अर्थात् हासिल गर्न धेरै लामो समय लाग्ने लक्ष्यहरूलाई स-साना भाग गरी अर्थात् छोटो समयमा हासिल गर्न सक्ने गरी विभाजन गर्नु अक्सर बेस हुन्छ।
एउटा पुरानो उखानले भन्छ, “जहाँ इच्छा, त्यहाँ उपाय।” यसमा केही हदसम्म सत्यता पाइन्छ। हामीले मनमा मुख्य लक्ष्यहरू निर्धारण गरिसकेपछि ती लक्ष्यहरू हासिल गर्न हामीसित इच्छा-शक्ति अर्थात् इच्छुकता र अठोट हुनुपर्छ। आफ्नो लक्ष्यको महत्त्व तथा उक्त लक्ष्य हासिल गर्दा पाइने इनामहरूमा मनन गऱ्यौं भने हामी आफ्नो अठोटलाई अझ बलियो बनाउन सक्छौं। हो, वाधा-अड्चनहरू त अवश्य नै आउनेछन् तर त्यसलाई पन्छाउनै नसकिने अवरोध नठानी एउटा चुनौतीको रूपमा लिनुपर्छ।
तथापि, हामीले आफ्ना लक्ष्यहरू हासिल गर्ने व्यावहारिक तरिकाहरूबारे सोच्नु पनि आवश्यक छ। आशाको महत्त्वमाथि बृहत् अध्ययन गर्ने लेखक सी.आर. स्नाइडर कुनै पनि लक्ष्यलाई हासिल गर्न एउटा मात्र नभई विभिन्न बाटोहरू खोज्ने सल्लाह दिन्छन्। त्यसैले एउटा तरिकाले काम नगर्दा हामीले दोस्रो, तेस्रो अनि त्यस्तै अन्य तरिकाहरू खोज्न सक्छौं।
स्नाइडर, एउटा लक्ष्यलाई अर्को लक्ष्यसित साट्ने पनि सल्लाह दिन्छन्। कुनै लक्ष्य हासिल गर्न यदि तपाईंसामु साँच्चै वाधा-अड्चन छ भने त्यसलाई मनमा खेलाउँदै चिन्तित भइरहेमा यसले तपाईंलाई केवल निरुत्साहित बनाउनेछ। अर्कोतिर उक्त लक्ष्यको ठाउँमा कुनै अझ व्यावहारिक लक्ष्यलाई राख्दा यसले हामीलाई आशा गर्ने कारण दिनेछ।
यस सन्दर्भममा बाइबलमा एकदमै उपयोगी उदाहरण पाइन्छ। यहोवा परमेश्वरको लागि एउटा मन्दिर बनाउने राजा दाऊदको धोको थियो। तर उनको सट्टा उनको छोरा सुलेमानले उक्त सुअवसर पाउने कुरा परमेश्वरले दाऊदलाई बताउनुभयो। खिन्न हुनु र यस निराशाजनक परिस्थितिमै हठपूर्वक अडिग रहिरहनुको सट्टा दाऊदले आफ्नो लक्ष्य नै परिवर्तन गरे। उक्त आयोजना पूरा गर्न आफ्नो छोराको लागि चाहिने सरसामग्री तथा खर्च जम्मा गर्न उनले आफ्नो सारा शक्ति लगाए।—१ राजा ८:१७-१९; १ इतिहास २९:३-७.
निराशावादी सोचाइसित लडेर अनि सकारात्मक अर्थात् लक्ष्यसहितको सोचाइ विकास गरेर आफ्नो आशा बढाउन हामी केही हदसम्म सफल भए तापनि—हामीमा आशाको अभाव देखिन सक्छ। किन? यस संसारमा हामीले भोग्ने धेरैजसो निराशाहरू पूर्णतया हाम्रो नियन्त्रणभन्दा बाहिरबाट आउँछन्। जब हामी गरिबी, युद्ध, अन्याय अनि हामीलाई सधैं लखेटिरहने मृत्युको डर जस्ता ठूलठूला समस्याहरूमा घोरिन्छौं—हामी कसरी आशावादी मनोवृत्ति राख्न सक्छौं? (g04 4/22)
[पृष्ठ ७-मा भएको चित्र]
आफूले खोजेको जागिरबाट अस्वीकृत भएमा के तपाईं कहिल्यै जागिर नपाउने अनुमान गर्नुहुन्छ?
[पृष्ठ ८-मा भएको चित्र]
लक्ष्य राख्ने सन्दर्भमा राजा दाऊदले लचिलोपन देखाए
-
-
साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?ब्यूँझनुहोस्!—२००४ | मे ८
-
-
साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
तपाईंको घडी बन्द छ र कामै गर्न छोडेजस्तो देखिन्छ। बनाउन खोज्दा तपाईंसामु धेरै छनौटहरू देखापर्छन्। जताततै घडी मर्मत गर्ने विज्ञापन छ, सबैले घडी बनाइदिने दाबी गर्छन् र कुनै-कुनै दाबी त विवादास्पद पनि छन्। तर वर्षौं पहिले उक्त घडी डिजाइन गर्ने प्रतिभाशाली व्यक्ति तपाईंको आफ्नै छिमेकी भएको कुरा थाह पाउनुभयो भने तपाईं के गर्नुहुन्छ? अनि, तपाईंलाई थाह छ, त्यस व्यक्तिले तपाईंको घडी बनाउन एक पैसा पनि लिंदैन। अब तपाईंको रोजाइ स्पष्ट छ नि, होइन र?
अब त्यो घडीलाई तपाईंको आशा राख्न सक्ने क्षमतासित तुलना गर्नुहोस्। यस संकटग्रस्त संसारमा अरू धेरैले जस्तै तपाईंले पनि आशा गुमेको महसुस गर्नुभएको छ भने मदतको लागि तपाईं कसको मुख ताक्नुहुन्छ? धेरै मानिसहरूले समस्या समाधान गर्ने दाबी गर्छन् तर त्यस्ता धेरैजसो सल्लाहहरूले अलमल्लमा पार्छन् अनि कतिपय त विवादास्पद पनि हुन्छन्। त्यसोभए, किन मानिसजातिलाई आशाको क्षमता राखेर सृष्टि गरिदिने सृष्टिकर्ताको मुख नताक्ने त? बाइबलले “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्न” भनी बताउँछ अनि उहाँ हामीलाई मदत गर्न अति इच्छुक हुनुहुन्छ।—प्रेरित १७:२७; १ पत्रुस ५:७.
आशाको गहन परिभाषा
आशाको सन्दर्भमा आजका डाक्टर, वैज्ञानिक अनि मनोचिकित्सकहरूले राख्ने साधारण धारणाभन्दा बाइबलले राख्ने धारणा धेरै फराकिलो अनि गहन छ। “आशा” भनी अनुवाद गरिएको बाइबलको मूल शब्दको अर्थ उत्सुकतासाथ प्रतीक्षा गर्नु अनि असल कुराको अपेक्षा गर्नु हो। साधारणतया आशा दुई तत्त्वहरू मिलेर बनेको हुन्छ। यसमा असल कुराको इच्छा अनि भविष्य असलै हुनेछ भनेर भन्न सक्ने आधार समावेश छ। बाइबलमा दिइएको आशा मनले चिताउने इच्छा मात्र होइन। यो तथ्य अनि प्रमाणमा आधारित हुन्छ।
यस सन्दर्भमा आशा र विश्वास उस्तै-उस्तै हो जुन प्रमाणमा आधारित हुनै पर्छ केवल सहज धार्मिक विश्वासमा होइन। (हिब्रू ११:१) यद्यपि, बाइबलले आशा र विश्वासबीचको भिन्नतालाई छुट्याउँछ।—१ कोरिन्थी १३:१३.
उदाहरणको लागि: जब तपाईं आफ्नो कुनै भरोसायोग्य साथीको मदत माग्नुहुन्छ उसले तपाईंलाई मदत गर्ला भनी तपाईं आशा राख्नुहुन्छ। तपाईंको आशा आधारहीन छैन किनकि तपाईंलाई आफ्नो साथीमाथि विश्वास छ—तपाईं उसलाई राम्ररी चिन्नुहुन्छ अनि विगतमा उसले दया अनि उदारता देखाएको तपाईंले देखिसक्नुभएको छ। तपाईंको विश्वास र आशाको एक-अर्कामा नजिकको सम्बन्ध छ, अझ भन्नुपर्दा अभिन्न सम्बन्ध छ तर तिनीहरू फरक छन्। तपाईं कसरी यहोवामा त्यस्तो आशा राख्न सक्नुहुन्छ?
आशाको आधार
यहोवा साँचो आशाको स्रोत हुनुहुन्छ। बाइबलको समयमा यहोवालाई “इस्राएलको आशा” भनी सम्बोधन गरिन्थ्यो। (यर्मिया १४:८) आफ्ना जनहरूको लागि कुनै पनि भरपर्दो आशा उहाँमार्फत आउने गर्थ्यो; तसर्थ, उहाँ तिनीहरूको आशा हुनुहुन्थ्यो। यस्तो आशा केवल मनले चिताएको इच्छा थिएन। परमेश्वरले तिनीहरूलाई आशा राख्न सक्ने ठोस आधार दिनुभयो। शताब्दीयौंको दौडान तिनीहरूसित व्यवहार गर्नुहुँदा उहाँले प्रतिज्ञाहरू गर्नुभएको अनि ती पूरा गरेको रेकर्ड बसाल्नुभयो। तिनीहरूका नेता यहोशूले इस्राएलीहरूलाई यसो भने: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन।”—यहोशू २३:१४.
हजारौं वर्षपछि पनि यो रेकर्ड अझ कायमै रहेको छ। बाइबलमा परमेश्वरका उल्लेखनीय प्रतिज्ञाहरू अनि ती प्रतिज्ञाहरू पूरा भएका तथ्यपूर्ण ऐतिहासिक रेकर्डहरू थुप्रै पाइन्छ। उहाँका भविष्यसूचक प्रतिज्ञाहरू यति भरपर्दा छन् कि कहिलेकाहीं ती भविष्यवाणी गरिएकै समयमा पूरा भएजस्तो गरी लेखिएका छन्।
त्यसैले हामी बाइबललाई आशाको पुस्तक भन्न सक्छौं। जब तपाईं परमेश्वरले मानिसजातिसित गर्नुभएका व्यवहारहरूको रेकर्ड अध्ययन गर्नुहुन्छ, उहाँमाथि आशा राख्ने आधार बलियो हुँदै जानेछ। प्रेरित पावलले यस्तो लेखे: “किनकि जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।”—रोमी १५:४.
परमेश्वरले हामीलाई कस्तो आशा दिनुहुन्छ?
हामीलाई कतिबेला सबैभन्दा बढी आशा चाहिन्छ? के मृत्युको सामना गर्दा नै होइन र? हो, आफ्नो प्रियजनलाई मृत्युले खोसेर लाँदा नै धेरैको लागि आशा भेट्टाउन सबैभन्दा कठिन हुन्छ। आखिर, मृत्यु जत्तिको आशाविहीन अवस्था अरू के हुन सक्ला र? यसले हामी कसैलाई पनि छाड्दैन। केही समयको लागि मात्र हामी यसबाट पर भाग्न सक्छौं अनि यसलाई फेरि फर्काएर ल्याउने क्षमता हामीसित छैन। त्यसैले बाइबलले यसलाई “सबैभन्दा पछि[को] . . . शत्रु” भन्नु उपुयक्त छ।—१ कोरिन्थी १५:२६.
त्यसोभए हामी मृत्युको मुखमा पनि कसरी आशा पाउन सक्छौं? मृत्युलाई सबैभन्दा पछिको शत्रु भन्ने त्यस बाइबल पदले यो ‘नामेट हुनेछ’ भनेर पनि बताउँछ। यहोवा परमेश्वर मृत्युभन्दा शक्तिशाली हुनुहुन्छ। उहाँले असंख्य अवसरहरूमा यो प्रमाणित गरिसक्नुभएको छ। कसरी? मृत्युबाट पुनरुत्थान गरेर। परमेश्वरले मरेका व्यक्तिहरूलाई पुनः जीवित पार्न आफ्नो शक्ति प्रयोग गर्नुभएका नौवटा फरक-फरक अवसरहरूबारे बाइबलले बताउँछ।
एक चोटि, मरेको चार दिन भइसकेको लाजरस नाउँ गरेका येशूको एक जना प्रिय मित्रलाई पुनरुत्थान गर्न यहोवाले आफ्नो पुत्रलाई शक्ति दिनुभयो। येशूले यो गुप्तमा होइन तर भीडसामु खुल्लमखुल्ला नै गर्नुभयो।—यूहन्ना ११:३८-४८, ५३; १२:९, १०.
तपाईं सोध्नुहोला, ‘किन मानिसहरूको पुनरुत्थान गरियो? के तिनीहरू बूढा भएर पछि फेरि मरेनन् र? हो, तिनीहरू मरे। तर पुनरुत्थानको यस्ता भरपर्दो विवरणहरूको कारण हामीसित हाम्रा प्रियजनहरू फेरि बाँच्नेछन् भन्ने इच्छा मात्र होइन तर तिनीहरू पुनरुत्थान हुनेछन् भन्ने ठोस आधार पनि छ। अर्को शब्दमा भन्नुपर्दा, हामीसित साँचो आशा छ।
येशूले यसो भन्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ।” (यूहन्ना ११:२५) उहाँलाई मात्र यहोवाले सारा संसारमा पुनरुत्थान गर्नको लागि अख्तियार दिनुहुनेछ। येशूले यसो भन्नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [ख्रीष्टको] सोर सुन्नेछन्।” (यूहन्ना ५:२८, २९) हो, चिहानमा सुतिरहने सबैको पार्थिव प्रमोदवनमा पुनरुत्थान हुने प्रत्याशा छ।
अगमवक्ता यशैयाले पुनरुत्थानको यस हृदयस्पर्शी चित्र वर्णन गरे: “मरिगाएका तपाईंका जनहरू जिउनेछन्। तिनीहरूको शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठेर आऊ। तपाईंको शीत ज्योतिको शीतझैं झर्छ, अधलोकमा तपाईंले त्यो झार्नुहुनेछ।”—यशैया २६:१९.
के यो प्रतिज्ञा सान्त्वनादायी छैन र? नाबालक बच्चा आमाको गर्भभित्र सुरक्षित रहेजस्तै मृतकहरू अत्यन्तै सुरक्षित अवस्थामा रहेका छन्। वास्तवमा, चिहानमा आराम गरिरहेकाहरू सर्वशक्तिमान् परमेश्वरको असीमित स्मरणमा जस्ताको तस्तै सुरक्षित रहन्छन्। (लूका २०:३७, ३८) नयाँ जन्मने बच्चालाई प्रतीक्षारत मायालु परिवारले स्वागत गरेजस्तै सुखी अनि स्वागतयोग्य संसारमा प्रवेश गर्न तिनीहरूलाई अब छिट्टै पुनः जीवित तुल्याइनेछ! त्यसैले, मृत्युको मुखमा समेत आशा छ।
आशाले तपाईंको लागि के गर्न सक्छ
पावल हामीलाई आशाको महत्त्वबारे धेरै कुरा सिकाउँछन्। उनले आशालाई आध्यात्मिक कवचको मुख्य भाग अर्थात् टोप भनी बताए। (१ थिस्सलोनिकी ५:८) उनले आशालाई टोप भन्नुको अर्थ के हो? बाइबलको समयमा एक जना सिपाहीले लडाइँमा जानको निम्ति मोटो ऊनी कपडा अथवा छालाको टोपीमाथि धातुको टोप लगाउँथ्यो। टोपले गर्दा प्रायजसो प्रहारहरूले घातक चोट पार्नुको सट्टा ती प्रहारहरू टोपमा लागी अन्तै उछिट्टिन्थ्यो। पावलले भन्न खोजेको मुख्य कुरा? टोपले टाउकोको सुरक्षा गरेजस्तै आशाले मस्तिष्क अर्थात् सोच्ने क्षमताको सुरक्षा गर्छ। यदि तपाईंसित बाइबल उद्देश्य अनुरूपको ठोस आशा छ भने कठिनाइहरूको सामना गर्नुपर्दा डर अथवा नैराश्यले तपाईंको मनोशान्ति खलबलिने छैन। हामीमध्ये कसलाई पो यस्तो टोप चाहिंदैन र?
पावलले परमेश्वरको इच्छासित गाँसिएको आशाको अर्को जीवन्त उदाहरण प्रस्तुत गरे। उनले यस्तो लेखे: “[यो आशा] हामीलाई प्राणको लङ्गर जस्तो छ, अर्थात् . . . जो स्थिर र दृढ़ दुवै।” (हिब्रू ६:१९) एक पटक मात्र होइन धेरै पटक जहाज डुब्दा भएको दुर्घटनाबाट बचेका पावललाई लङ्गरको महत्त्व कत्तिको हुन्छ भनेर राम्ररी थाह थियो। आँधी आउँदा नाविकले जहाजको लङ्गर तल झार्नेछन्। यदि यो समुद्रीधरातलमा बलियो गरी अड्केको छ भने जहाज समुद्री तटतिर हुँइकिएर चट्टानमा बज्रदैन र आँधीबाट पनि बच्न सफल हुन्छ।
त्यसरी नै यदि परमेश्वरका प्रतिज्ञाहरू हाम्रो लागि “स्थिर र दृढ़” आशाको रूपमा रहेका छन् भने त्यस्तो आशाले हामीलाई यस संसारको आँधीग्रस्त समयको सामना गर्न तथा त्यसबाट बच्न मदत गर्न सक्छ। त्यस्तो समय छिट्टै आउनेछ जतिबेला मानिसहरू युद्ध, अपराध, पीडा अथवा मृत्युबाट समेत मुक्त हुनेछन् भनी यहोवा प्रतिज्ञा गर्नुहुन्छ। (पृष्ठ १० को पेटी हेर्नुहोस्।) त्यो आशालाई बलियो गरी पक्रिराखेको खण्डमा विपत्तिले हाम्रो स्थिरतामा कुनै हानि पुऱ्याउन सक्दैन अनि त्यो आशाले आजको संसारमा व्याप्त अशान्त र अनैतिक आत्मामा भुल्न नदिई परमेश्वरको स्तर अनुरूप बाँच्न उत्प्रेरणा दिन्छ।
यहोवाले दिनुहुने आशामा तपाईं पनि व्यक्तिगत रूपमा मुछिनुभएको छ। उहाँले तपाईंको लागि जुन जीवन सोच्नुभएको छ, तपाईं त्यही जीवन लिएर बाँचेको उहाँ चाहनुहुन्छ। “सबै मानिसहरूले उद्धार पाऊन्” भन्ने उहाँको इच्छा छ। तर यो कसरी सम्भव छ? सबैभन्दा पहिले, हामी सबै जना ‘सत्यको ज्ञानमा आउनै’ पर्छ। (१ तिमोथी २:४) यस पत्रिकाका प्रकाशकहरू परमेश्वरको वचनको सत्यबारे बताउने उक्त जीवनदायी ज्ञान हासिल गर्न तपाईंलाई आग्रह गर्छन्। उक्त ज्ञानमार्फत परमेश्वरले तपाईंलाई दिनुहुने आशा यस संसारमा तपाईंले पाउन सक्ने कुनै पनि आशाभन्दा कता हो कता उत्कृष्ट छ।
यस्तो आशा पाइसकेपछि तपाईंले कहिल्यै निस्सहाय महसुस गर्नुपर्दैन किनकि परमेश्वरले उहाँको इच्छा अनुरूप तपाईंले राख्नुहुने कुनै पनि लक्ष्य हासिल गर्न आवश्यक बल दिन सक्नुहुन्छ। (२ कोरिन्थी ४:७; फिलिप्पी ४:१३) के तपाईंलाई चाहिएको यस्तै आशा होइन र? त्यसैले यदि तपाईंलाई आशाको खाँचो छ अनि तपाईं यसको खोजीमा हुनुहुन्छ भने, साहस गर्नुहोस्। आशा तपाईंको सामने छ। हो, तपाईंले त्यो भेट्टाउन सक्नुहुन्छ! (g04 4/22)
[पृष्ठ १०-मा भएको पेटी/चित्र]
आशा राख्न सक्ने कारणहरू
निम्न धर्मशास्त्रीय सोचहरूले आशा बढाउन तपाईंलाई मदत गर्न सक्छ
◼ परमेश्वरले आनन्दित भविष्यको प्रतिज्ञा गर्नुहुन्छ।
उहाँको वचनले पृथ्वी सुखी अनि एकताबद्ध मानव परिवारहरू बसोबास गर्ने विश्वव्यापी प्रमोदवनमा परिणत हुनेछ भनी बताउँछ।—भजन ३७:११, २९; यशैया २५:८; प्रकाश २१:३, ४.
◼ परमेश्वरको लागि झूट बोल्नु असम्भव छ।
उहाँ जुनसुकै झूटलाई पनि घृणा गर्नुहुन्छ। यहोवा पूर्णतया पवित्र र शुद्ध हुनुहुन्छ त्यसैले झूट बोल्नु उहाँको लागि असम्भव छ।—हितोपदेश ६:१६-१९; यशैया ६:२, ३; तीतस १:२; हिब्रू ६:१८.
◼ परमेश्वरसित असीमित शक्ति छ।
यहोवा मात्र सर्वशक्तिमान हुनुहुन्छ। यस बह्माण्डमा भएका कुनै पनि कुराले उहाँका प्रतिज्ञाहरू पूरा गर्नबाट उहाँलाई रोक्न सक्दैन।—प्रस्थान १५:११; यशैया ४०:२५, २६.
◼ परमेश्वर तपाईं सधैंभरि बाँचेको चाहनुहुन्छ।
—यूहन्ना ३:१६; १ तिमोथी २:३, ४.
◼ परमेश्वरले हामीमाथि आशा राख्नुहुन्छ।
उहाँले हाम्रा गल्ती अनि असफलताहरूमा मात्र नभई हाम्रा असल गुण अनि प्रयासहरूमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ। (भजन १०३:१२-१४; भजन १३०:३; हिब्रू ६:१०) हामीले असल गर्नेछौं भनी उहाँ आशा राख्नुहुन्छ अनि हामीले असल गर्दा उहाँ प्रसन्न हुनुहुन्छ।—हितोपदेश २७:११.
◼ परमेश्वरले ईश्वरीय लक्ष्यहरू हासिल गर्न मदत दिने प्रतिज्ञा गर्नुहुन्छ।
उहाँका सेवकहरूले कहिल्यै असहाय महसुस गर्नु पर्दैन। परमेश्वरले हामीलाई मदत गर्न उदारतासाथ आफ्नो पवित्र आत्मा दिनुहुन्छ र यो सबैभन्दा शक्तिशाली छ।—फिलिप्पी ४:१३.
◼ परमेश्वरमा राखिएको आशा कहिल्यै व्यर्थ जाँदैन।
एकदमै भरपर्दो अनि भरोसायोग्य हुनुभएकोले उहाँले तपाईंलाई कहिल्यै निराश पार्नुहुनेछैन।—भजन २५:३.
[पृष्ठ १२-मा भएको चित्र]
जसरी टोपले टाउकोको सुरक्षा गर्छ त्यस्तै गरी आशाले हाम्रो मस्तिष्कलाई सुरक्षा दिन्छ
[पृष्ठ १२-मा भएको चित्र]
लङ्गरले जस्तै बलियो आशाले स्थिरता दिन सक्छ
[स्रोत]
Courtesy René Seindal/Su concessione del Museo Archeologico Regionale A. Salinas di Palermo
-