प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. १ pp. ८-९
  • म मर्न चाहन्‍नथें!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म मर्न चाहन्‍नथें!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचन अध्ययन गर्नुअघि र पछिको जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “म कहिल्यै नभरिने घ्याम्पो थिएँ”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. १ pp. ८-९

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म मर्न चाहन्‍नथें!

इभोन क्वारीको वृत्तान्तमा आधारित

  • जन्म मिति सन्‌ १९६४

  • जन्म स्थान बेलायत

  • विगतमा किशोरावस्थामा नै आमा बनेकी अविवाहित महिला

किशोरावस्थामा नै आमा बनेकी इभोन क्वारी

मेरो विगत

मेरो जन्म बेलायतको घना बस्ती भएको सहर प्याडिङ्‌टनमा भयो। म तीन जना दिदी र आमासँगै बस्थें। बुबा त हुनुहुन्थ्यो तर रक्सी पिउने बानीले गर्दा उहाँ भएको र नभएकोमा कुनै फरक थिएन।

म सानै छँदा आमाले हरेक रात प्रार्थना गर्नुपर्छ भनेर सिकाउनुभयो। मसित भजनको किताब मात्र भएको सानो बाइबल थियो अनि गाउन सकियोस्‌ भनेर त्यसको लय बनाएकी थिएँ। मैले पढेको अर्को एउटा किताबको यी शब्दहरू मलाई अझै सम्झना छ: “कुनै दिन भोलि भन्‍ने कुरा देख्नै पाइने छैन।” भविष्यबारे सोच्दा-सोच्दा राती निद्रै लाग्दैनथ्यो। जीवन यति मात्रै त होइन होला जस्तो लाग्थ्यो। म यहाँ किन छु भन्‍ने प्रश्‍न पनि उठ्‌थ्यो। म मर्न चाहन्‍नथें!

तन्त्रमन्त्रसित सम्बन्धित कुरामा मलाई औधी चासो लाग्न थाल्यो। म मरेका मान्छेहरूसित कुरा गर्न खोज्थें, स्कुलका साथीहरूसित चिहानमा जान्थें, तिनीहरूसितै मिलेर भूतको फिल्म पनि हेर्थें। डरलाग्दो भए पनि एकदमै रमाइलो हुन्छ भनेर सोच्थ्यौं।

दस वर्षको छँदादेखि नै मैले छाडा जीवन बिताउन थालें। चुरोट तान्‍न थालें, पछि त लतै बस्यो। बिस्तारै गाँजा पनि तान्‍न थालें। एघार वर्षको उमेरमा त रक्सी पिउन सुरु गरिसकेकी थिएँ। स्वाद मन नपरे पनि झुम्म हुनको लागि पिउँथें। मलाई नाच्न गाउन खुब मन पर्थ्यो। मैले भ्याएजति सबै पार्टी र नाइट क्लबहरू धाएँ। प्रायजसो राती लुकीछिपी घरबाट बाहिर निस्कन्थें अनि भोलिपल्ट उज्यालो हुनअघि लुकीछिपी फर्कन्थें। भोलिपल्ट निकै थकाइ लागेको हुन्थ्यो। त्यसैले स्कुलबाट भाग्ने गर्थें। स्कुल गएको बेला पनि एउटा कक्षा सकिएपछि अर्को कक्षा सुरु हुने समयमा रक्सी पिइहाल्थें।

स्कुलको अन्तिम वर्षको जाँचमा लाजमर्दो नतिजा आयो। म कुन हदसम्म छाडा भइसकेकी थिएँ भन्‍ने कुरा आमालाई थाहै थिएन। मेरो जाँच बिग्रेपछि मात्र उहाँलाई यो कुरा थाह भयो र उहाँ निकै रिसाउनुभयो। हामीबीच झगडा भयो, त्यसैले घर छोडेर गएँ। केही समय मेरो केटा साथी टोनीसित बसें। तिनी लामो कपाल पाल्ने र गाँजा खाने धार्मिक समूहका सदस्य थिए। तिनी डकैती गर्ने, लागू पदार्थको कारोबार गर्ने र एकदमै हिंस्रक स्वभावका व्यक्‍ति थिए। तिनीसँग बस्दै गर्दा म गर्भवती भएँ र १६ वर्षको उमेरमै छोरो जन्माएँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

अविवाहित आमा र तिनका बच्चालाई राखिने होस्टेलमा बसेको बेला पहिलो पटक यहोवाका साक्षीहरूसित मेरो भेट भयो। स्थानीय प्रशासनले त्यहाँ बस्न एउटा कोठा दिएको थियो। दुई जना महिला यहोवाका साक्षीहरू त्यहाँ बस्ने केही अविवाहित आमाहरूलाई भेट्‌न नियमित आउँदा रहेछन्‌। एक दिन म पनि छलफलमा बसें। मेरो उद्देश्‍य यहोवाका साक्षीहरूलाई झूटो साबित गर्नु थियो। तर तिनीहरूले मेरो हरेक प्रश्‍नको जवाफ शान्तपूर्वक र चित्तबुझ्दो तरिकामा बाइबलबाटै दिए। तिनीहरू एकदमै भद्र-भलादमी थिए। त्यसैले म पनि बाइबल अध्ययन गर्न राजी भएँ।

बाइबल अध्ययन गर्न थालेको केही समयमै मेरो जीवन परिवर्तन भयो। म सानैदेखि मृत्युसँग डराउँथें। तर अध्ययन गर्दै जाँदा येशूले सिकाउनुभएको पुनर्जीवनको शिक्षाबारे थाह पाएँ। (यूहन्‍ना ५:२८, २९) साथै परमेश्‍वरले मेरो ख्याल राख्नुहुन्छ भनेर पनि बुझें। (१ पत्रुस ५:७) यर्मिया २९:११ मा लेखिएको कुराले मेरो मन छोयो। त्यहाँ यस्तो लेखिएको छ: “किनभने परमप्रभु भन्‍नुहुन्छ, जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती म जान्दछु। ती तिमीहरूका भलाइको निम्ति हुन्‌, बुराइको निम्ति होइन। तिमीहरूलाई भविष्य सुधार्न र एउटा आशा दिनलाई हो।” त्यसैले सुन्दर पृथ्वीमा सधैंभरि बाँच्न पाउने आशामा विश्‍वास गर्न सकें।—भजन ३७:२९.

मैले यहोवाका साक्षीहरूबाट साँचो माया पाएँ। पहिलो पटक तिनीहरूको सभामा जाँदा त्यहाँको मायालु वातावरणले मलाई मोहित बनायो। सबै जना मसित कुराकानी गर्न आए। (यूहन्‍ना १३:३४, ३५) मैले चर्चमा अनुभव गरेको भन्दा कता हो कता फरक वातावरण! मजस्तो मान्छेलाई पनि तिनीहरूले न्यानो स्वागत गरे। समय दिए, ख्याल राखे अनि सक्दो व्यावहारिक मदत पनि गरे। मलाई आफू ठूलो र मायालु परिवारको सदस्य भएको महसुस भयो।

बाइबल अध्ययन गर्दै जाँदा, परमेश्‍वरले तोक्नुभएको स्तरअनुसार जीवन बिताउने हो भने आफ्नो आनीबानीमा परिवर्तन ल्याउनुपर्छ भन्‍ने कुरा महसुस गरें। वास्तवमा चुरोट खाने बानी हटाउन सजिलो थिएन। कुनै-कुनै सङ्‌गीत सुन्दा गाँजाको तलतल झनै बढेको महसुस हुन्थ्यो। त्यसैले त्यस्ता सङ्‌गीत सुन्‍न छोडें। रक्सी पिउने प्रलोभनमा नपर्न पार्टी र नाइट क्लब जान बन्द गरें। नयाँ साथीहरूसित सङ्‌गत गरें, तिनीहरूसित सङ्‌गत गर्दा आफ्नो आनीबानीलाई राम्रो बनाउन मदत पाएँ।—हितोपदेश १३:२०.

अर्कोतर्फ, टोनी पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्थ्यो। साक्षीहरूले उहाँका प्रश्‍नहरूको जवाफ बाइबलबाटै दिएकाले आफूले सत्य सिकिरहेको छु भन्‍ने कुरामा उहाँ पक्का हुनुभयो। उहाँले आफ्नो जीवनमा ठूलो परिवर्तन गर्नुभयो। जस्तै: हिंस्रक साथीहरूसित सङ्‌गत गर्न, डकैती गर्न, गाँजा खान छोड्‌नुभयो। यहोवालाई प्रसन्‍न पार्न र छोरालाई राम्रो वातावरणमा हुर्काउन हामी दुवैले नैतिक तवरमा स्वच्छ जीवन बिताउनुपर्छ भन्‍ने कुरा महसुस गऱ्‍यौं। हामीले सन्‌ १९८२ मा विवाह गऱ्‍यौं।

“मलाई अहिले भविष्यको वा मृत्युको डर नभएकोले मीठो निद्रा लाग्छ”

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!a पत्रिकामा छापिएका जीवनीहरू पढेको मलाई अझै सम्झना छ। मेरोजस्तै आनीबानी भएकाहरू आफ्नो आनीबानी परिवर्तन गर्न सफल भएका थिए। तिनीहरूको अनुभव पढ्‌दा म पनि तिनीहरूले जस्तै गर्न जुरमुरिएँ। साँच्चै! ती अनुभवहरूले मलाई प्रयास गरिरहन र कहिल्यै हार नमान्‍न बल दियो। मलाई नत्याग्नुहोस्‌ भनेर यहोवालाई निरन्तर प्रार्थना गरें। सन्‌ १९८२ जुलाईमा टोनी र मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गऱ्‍यौं।

इभोन क्वारी

मैले कस्तो लाभ उठाएकी छु?

यहोवासित घनिष्ठ सम्बन्ध भएकोले मेरो जीवन जोगियो। टोनी र मैले गाह्रो अवस्था सामना गर्नुपर्दा यहोवाले मदत गर्नुभएको अनुभव गरेका छौं। गाह्रो अवस्थामा हामीले यहोवामा भर पर्न सिकेका छौं अनि हाम्रो परिवारलाई यहोवाले सधैं मदत गर्नुभएको र जोगाउनुभएको महसुस गरेका छौं।—भजन ५५:२२.

छोराछोरीलाई पनि यहोवाबारे सिकाउन पाएकोमा एकदमै खुसी छु। अहिले तिनीहरूका छोराछोरीले पनि यहोवाबारे सिकिरहेको देख्न पाउँदा मेरो हृदय आनन्दले गद्‌गद हुन्छ।

मलाई अहिले भविष्यको वा मृत्युको डर नभएकोले मीठो निद्रा लाग्छ। टोनी र म हरेक हप्ता यहोवाका साक्षीहरूको विभिन्‍न मण्डलीमा भ्रमण गर्दै मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिने काममा व्यस्त छौं। येशूमा विश्‍वास गर्दा अनन्त जीवन पाइन्छ भन्‍ने कुरा तिनीहरूसँगै मिलेर अरूलाई सिकाउँदै छौं।

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने