प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 डिसेम्बर pp. ८-१३
  • भविष्यको आशा साकार हुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यको आशा साकार हुनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो गौरवशाली आशा
  • हाम्रो आशालाई कसरी बलियो बनाउन सक्छौँ?
  • अझै बलियो आशा
  • यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • आशामा रमाऔं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 डिसेम्बर pp. ८-१३

अध्ययन लेख ५१

भविष्यको आशा साकार हुनेछ

“आशाले निराश तुल्याउँदैन।”—रोमी ५:५.

गीत १४२ आशालाई पक्रिराखौँ!

परिचयa

१. अब्राहामले आफ्नो छोरा जन्मनेछ भनेर किन आशा गरिरहे?

यहोवाले आफ्नो मित्र अब्राहामलाई तिनकै सन्तानमार्फत पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो। (उत्प. १५:५; २२:१८) अब्राहाम परमेश्‍वरमाथि पूरा भरोसा गर्थे। त्यसैले उहाँको प्रतिज्ञा पक्कै पूरा हुनेछ भन्‍ने कुरामा तिनी ढुक्क थिए। तर अब्राहाम १०० वर्ष अनि सारा ९० वर्ष पुगिसक्दा पनि तिनीहरूको कुनै छोरा थिएन। (उत्प. २१:१-७) तैपनि बाइबल यसो भन्छ: “[अब्राहामलाई] भनिएबमोजिमै थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्‍वास गरे।” (रोमी ४:१८) अब्राहामको आशा साकार भयो। तिनले लामो समयदेखि प्रतीक्षा गरेको तिनको छोरा इसहाकको जन्म भयो। अब्राहामले परमेश्‍वरको प्रतिज्ञामाथि किन भरोसा गर्न सके?

२. यहोवाको प्रतिज्ञा पूरा हुने कुरामा अब्राहाम किन विश्‍वस्त थिए?

२ अब्राहामले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका थिए। त्यसैले “उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा गर्न सक्नुहुन्छ भनेर तिनी पूर्णतया विश्‍वस्त” थिए। (रोमी ४:२१) अब्राहामको विश्‍वासको कारण यहोवाले तिनलाई अनुमोदन दिनुभयो र धर्मी ठहराउनुभयो। (याकु. २:२३) रोमी ४:१८ मा सङ्‌केत गरिएअनुसार अब्राहामको आशा र तिनको विश्‍वास सम्बन्धित थियो। अब हामी रोमी अध्याय ५ मा प्रेषित पावलले आशाबारे के भने, विचार गरौँ।

३. पावलले हाम्रो आशाबारे के बताएका छन्‌?

३ “आशाले निराश तुल्याउँदैन” भनेर किन भन्‍न सकिन्छ, त्यसबारे पावलले बताएका छन्‌। (रोमी ५:५) तिनले आशा कसरी बलियो हुँदै जान्छ भनेर बुझ्न पनि मदत गरेका छन्‌। रोमी ५:१-५ मा बताइएका कुराहरू छलफल गर्दा समयको दौडान तपाईँको आशा कसरी बलियो हुँदै गएको छ भनेर विचार गर्नुहोस्‌। यस लेखबाट आफ्नो आशालाई कसरी अझै बलियो बनाउन सकिन्छ भनेर पनि तपाईँले बुझ्नुहुनेछ। तर त्यसअघि पावलले बताएको निराश नतुल्याउने गौरवशाली आशाबारे छलफल गरौँ।

हाम्रो गौरवशाली आशा

४. रोमी ५:१, २ मा कस्तो कुरा बताइएको छ?

४ रोमी ५:१, २ पढ्‌नुहोस्‌। पावलले यी शब्दहरू रोमको मण्डलीलाई लेखेका थिए। त्यहाँका भाइबहिनीले यहोवा र येसुबारे सिके, उहाँहरूमाथि विश्‍वास गरे र ख्रिष्टियन बने। त्यसैले परमेश्‍वरले तिनीहरूको ‘विश्‍वासले गर्दा तिनीहरूलाई धर्मी ठहराउनुभयो’ र पवित्र शक्‍तिले अभिषेक गर्नुभयो। हो, तिनीहरूले सुन्दर आशा पाए, जुन पक्कै पूरा हुने थियो।

५. अभिषिक्‍त जनहरूले कस्तो आशा पाएका छन्‌?

५ पछि पावलले एफिससका अभिषिक्‍त ख्रिष्टियनहरूलाई तिनीहरूले पाएको आशाबारे बताए। त्यो आशा “पवित्र जनहरूले पाउने उत्तराधिकार” थियो। (एफि. १:१८) अनि पावलले कलस्सीका ख्रिष्टियनहरूलाई तिनीहरूले आफ्नो इनाम कहाँ पाउनेछन्‌ भनेर पनि सङ्‌केत गरे। तिनले त्यो “आशा तिमीहरूको निम्ति स्वर्गमा साँचिएको छ” भने। (कल. १:४, ५) त्यसैले फेरि जीवित भएपछि अभिषिक्‍त जनहरूले स्वर्गमा अनन्त जीवन पाउनेछन्‌ र येसुसितै शासन गर्नेछन्‌।—१ थिस्स. ४:१३-१७; प्रका. २०:६.

भाइ फ्रेडरिक फ्रान्ज। छेउमा उहाँले भन्‍नुभएको कुरा उद्धरण गरिएको छ: “हाम्रो आशा पक्कै पूरा हुनेछ . . . त्यसको लागि हामी १० लाख वर्ष पर्खन पनि तयार छौँ।”

भाइ एफ. डब्ल्यु. फ्रान्जले बताउनुभएको कुराबाट अभिषिक्‍त ख्रिष्टियनहरू आफ्नो आशा साकार हुने कुरामा विश्‍वस्त छन्‌ भन्‍ने देखिन्छ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. एक अभिषिक्‍त भाइले आफ्नो आशाबारे के भन्‍नुभयो?

६ अभिषिक्‍त ख्रिष्टियनहरू त्यस आशाको मोल गर्छन्‌। उहाँहरूमध्ये एक भाइ फ्रेडरिक फ्रान्ज हुनुहुन्छ। उहाँले दशकौँसम्म वफादार भई परमेश्‍वरको सेवा गर्नुभयो। उहाँले १९९१ मा आफ्नो आशाबारे यसो भन्‍नुभयो: “हाम्रो आशा पक्कै पूरा हुनेछ र हामी १ लाख ४४ हजारमध्येका प्रत्येकले यहोवाले प्रतिज्ञा गर्नुभएको कुरा पाउनेछौँ। हामीले पाउने इनाम हामीले सोचेको भन्दा कता हो कता उत्तम हुनेछ। . . . हामीले त्यस आशालाई सधैँ मूल्यवान्‌ ठानेका छौँ। . . . हामीले जत्ति धेरै पर्खेका छौँ, त्यस आशाप्रतिको हाम्रो कदर पनि त्यत्ति नै बढेको छ। त्यसको लागि हामी १० लाख वर्ष पर्खन पनि तयार छौँ। त्यस आशालाई म पहिलेभन्दा धेरै मूल्यवान्‌ ठान्छु।”

७-८. हामीमध्ये थुप्रैले कस्तो आशा पाएका छौँ? (रोमी ८:२०, २१)

७ अहिले यहोवाको उपासना गर्ने थुप्रैले यसै पृथ्वीमा सधैँभरि बाँच्ने आशा पाएका छन्‌। अब्राहामले पनि यही आशा पाएका थिए। (हिब्रू ११:८-१०, १३) पावलले यस सुन्दर आशाबारे बताए। (रोमी ८:२०, २१ पढ्‌नुहोस्‌।) बाइबलमा गरिएका प्रतिज्ञाहरूबारे पहिलो चोटि सुन्‍नुहुँदा कुन कुराले तपाईँको मन छोएको थियो? मानिसहरू त्रुटिरहित हुने अनि पापबाट छुटकारा पाउने कुराले मन छोएको थियो कि? वा मरिसकेका प्रियजनहरू फेरि जीवित हुनेछन्‌ भन्‍ने कुराले गर्दा उत्साहित हुनुभएको थियो कि? यही ‘आशाले’ गर्दा तपाईँले अरू थुप्रै सुन्दर कुराको प्रतीक्षा गर्न थाल्नुभएको हुनुपर्छ।

८ चाहे हामीले स्वर्गमा अनन्त जीवन बिताउने आशा पाएका होऔँ वा पृथ्वीमा, हामी आफ्नो गौरवशाली आशामा रमाउन सक्छौँ। अनि आफ्नो सुन्दर आशालाई अझै बलियो बनाउँदै लैजान सक्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ भनेर पावलले बताएका छन्‌। आउनुहोस्‌, हाम्रो आशाबारे पावलले के लेखे, विचार गरौँ। यसरी विचार गर्दा आफूले पाएको आशा पक्कै पूरा हुनेछ भनेर हामी अझै विश्‍वस्त हुन सक्नेछौँ।

हाम्रो आशालाई कसरी बलियो बनाउन सक्छौँ?

तस्बिरहरूको सँगालो: सङ्‌कष्ट भोगिरहेका दाजुभाइ दिदीबहिनी। १. एक जवान बहिनी स्कुलमा खाजा खानुअघि प्रार्थना गर्न लागेकी छिन्‌; तिनको पछाडि दुई जना केटी तिनको कुरा काट्‌दै छन्‌। २. एक बहिनीलाई सत्यमा नभएका तिनका पतिले गाली गर्दै छन्‌। ३. एक भाइ काम गर्ने ठाउँमा घुस लिन इन्कार गर्दै छन्‌। ४. एक भाइ झ्यालखानाबाट बाहिर हेर्दै छन्‌।

सबै ख्रिष्टियनलाई आफूमाथि सङ्‌कष्ट आइपर्न सक्छ भनेर थाह छ (अनुच्छेद ९-१० हेर्नुहोस्‌)

९-१०. पावलले जस्तै हामी ख्रिष्टियनहरूले पनि केको सामना गर्नुपर्ने हुन सक्छ? (रोमी ५:३) (तस्बिरहरू पनि हेर्नुहोस्‌।)

९ रोमी ५:३ पढ्‌नुहोस्‌। सङ्‌कष्ट आइपर्दा हाम्रो आशा अझै बलियो हुन सक्छ। यो कुरा सुन्दा हामीलाई अचम्म लाग्ला। तर ख्रिष्टका सबै अनुयायीले सङ्‌कष्ट भोग्नुपर्ने हुन सक्छ। पावलको उदाहरण विचार गरौँ। तिनले थिस्सलोनिकीहरूलाई यस्तो लेखे: “हामीले सङ्‌कष्ट भोग्नुपर्नेछ भनेर तिमीहरूसित हुँदा हामीले पहिल्यै भन्‍ने गरेका थियौँ र ठीक त्यस्तै भएको छ।” (१ थिस्स. ३:४) अनि तिनले कोरिन्थीहरूलाई यस्तो लेखे: ‘भाइहरू हो, हामीले भोगेको सङ्‌कष्टबारे तिमीहरू अनजान रहो भन्‍ने हामी चाहँदैनौँ। हाम्रो ज्यानको समेत ठेगान थिएन।’—२ कोरि. १:८; ११:२३-२७.

१० आज पनि ख्रिष्टियनहरूलाई आफूमाथि कुनै न कुनै किसिमको सङ्‌कष्ट आइपर्न सक्छ भनेर थाह छ। (२ तिमो. ३:१२) येसुमाथि विश्‍वास गरेकोले र उहाँको पछि लागेकोले तपाईँमाथि कस्तो सङ्‌कष्ट आइपरेको छ? साथीभाइ र आफन्तहरूले तपाईँको गिल्ला गरेका छन्‌ होला। तिनीहरूले तपाईँसित कठोर व्यवहारसमेत गरेका होलान्‌। सबै कुरामा इमानदार हुने सङ्‌कल्प गर्नुभएकोले तपाईँको काम गर्ने ठाउँमा पनि विभिन्‍न समस्या आइरहेको छ कि? (हिब्रू १३:१८) आफ्नो आशाबारे अरूलाई बताएकोले सरकारबाट विरोधको सामना गर्नुपरेको छ कि? जस्तोसुकै सङ्‌कष्ट आइपरे पनि पावलले हामीलाई रमाउन आग्रह गरेका छन्‌। किन?

११. जस्तोसुकै परीक्षा आइपरे पनि सहनशील हुन हामी किन कटिबद्ध हुनुपर्छ?

११ सङ्‌कष्ट आइपरे पनि हामी रमाउन सक्छौँ किनभने यसले हामीलाई एउटा महत्त्वपूर्ण गुण विकास गर्न मदत गर्छ। रोमी ५:३ भन्छ: “सङ्‌कष्टले सहनशीलता उत्पन्‍न गराउँछ।” सबै ख्रिष्टियनमाथि सङ्‌कष्ट आइपर्नेछ। त्यसैले ख्रिष्टियनहरूलाई सहनशीलता भन्‍ने गुण चाहिन्छ। हामी जस्तोसुकै परीक्षा आइपरे तापनि सहनशील भई त्यसको सामना गर्न कटिबद्ध हुनुपर्छ। त्यसपछि मात्र हामीले आफ्नो आशा साकार भएको देख्न पाउनेछौँ। येसुले बिउ छर्ने मानिसको उदाहरणमा केही बिउ चट्टानमा परेको कुरा बताउनुभयो। यसले कोही-कोही मानिस खुसीसाथ वचन स्विकारिहाल्छन्‌ तर “सङ्‌कष्ट वा खेदो आउनेबित्तिकै ठेस” खान्छन्‌ भन्‍ने कुरालाई बुझाउँछ। हामी ती मानिसहरूजस्तो हुन चाहँदैनौँ। (मत्ति १३:५, ६, २०, २१) हुनत हो, विरोध वा परीक्षा भोग्नुपर्दा हामीलाई खुसी लाग्दैन तर सहनशील भई त्यसको सामना गऱ्‍यौँ भने हामीलाई थुप्रै लाभ हुन्छ। कस्तो लाभ?

१२. परीक्षाहरू सहँदा हामी कस्तो लाभ उठाउन सक्छौँ?

१२ चेला याकुबले सहनशील भई परीक्षाहरूको सामना गर्दा हुने लाभबारे बताए। तिनले यस्तो लेखे: “सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ, तब तिमीहरू हरक्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ अनि तिमीहरूमा कुनै कुराको अभाव हुनेछैन।” (याकु. १:२-४) याकुबले “सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ” भने। सहनशीलताले कस्तो काम पूरा गर्छ? सहनशील भयौँ भने हामी अझै धीरजी हुन सक्छौँ। साथै परमेश्‍वरमाथिको विश्‍वास र भरोसालाई अझै बलियो बनाउन सक्छौँ। यसबाहेक अर्को एउटा लाभ पनि उठाउन सक्छौँ।

१३-१४. सहनशीलताबाट के प्राप्त हुन्छ र यो आशासित कसरी सम्बन्धित छ? (रोमी ५:४)

१३ रोमी ५:४ पढ्‌नुहोस्‌। पावलले यस्तो लेखे: “सहनशीलताबाट परमेश्‍वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ।” सहनशील हुँदा तपाईँले यहोवाको अनुमोदन पाउनुहुनेछ। तर यसको मतलब तपाईँले परीक्षा वा समस्या भोग्दा यहोवा खुसी हुनुहुन्छ भन्‍ने त पटक्कै होइन। बरु तपाईँले वफादार भई सहनुभएकोमा उहाँ खुसी हुनुहुन्छ र तपाईँलाई अनुमोदन दिनुहुन्छ। योभन्दा ठूलो आशिष्‌ अरू के नै होला र?—भज. ५:१२.

१४ नबिर्सनुहोस्‌, अब्राहामले परीक्षाहरू सहे र परमेश्‍वरको अनुमोदन पाए। यहोवाले तिनलाई आफ्नो मित्र ठान्‍नुभयो र धर्मी ठहराउनुभयो। (उत्प. १५:६; रोमी ४:१३, २२) हाम्रो सन्दर्भमा पनि त्यसै भन्‍न सक्छौँ। परमेश्‍वरको सेवामा के-कति गरेका छौँ वा कस्ता सुअवसरहरू पाएका छौँ भन्‍ने आधारमा उहाँले हामीलाई अनुमोदन दिनुहुने होइन। बरु वफादार भई सह्‍यौँ भने उहाँ हामीलाई अनुमोदन दिनुहुन्छ। हाम्रो उमेर, परिस्थिति वा क्षमता जस्तोसुकै भए पनि हामी सहनशील हुन सक्छौँ। के तपाईँ अहिले वफादार भई कुनै परीक्षा सहँदै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँले परमेश्‍वरको अनुमोदन पाउनुभएको छ। यस कुरामा ढुक्क हुनुभयो भने तपाईँको आशा अझ बलियो हुनेछ।

अझै बलियो आशा

१५. पावलले अझै के भने र यस कुराले किन कसै-कसैलाई अलमल्लमा पार्न सक्छ?

१५ पावलले बताएअनुसार यदि हामीले परीक्षाहरू वफादार भई सह्‍यौँ भने हामीले यहोवाको अनुमोदन पाउनेछौँ। त्यसपछि पावलले के भने, याद गर्नुहोस्‌: “परमेश्‍वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्‍न गराउँछ अनि आशाले निराश तुल्याउँदैन।” (रोमी ५:४, ५) यस कुराले कसै-कसैलाई अलमल्लमा पार्न सक्छ। किन? किनभने हामीले अगाडि पनि छलफल गरेझैँ रोमी ५:२ मा पावलले रोमका ख्रिष्टियनहरूसित “परमेश्‍वरले दिनुहुने महिमाको आशा” छ भनेर बताइसकेका थिए। त्यसैले कसै-कसैले यस्तो प्रश्‍न सोध्न सक्छन्‌: ‘यदि ती ख्रिष्टियनहरूसित पहिल्यैदेखि आशा थियो भने पावलले किन फेरि आशा उत्पन्‍न हुने कुरा बताए?’

तस्बिरहरूको सँगालो: अघिल्लो तस्बिरका दाजुभाइ दिदीबहिनी। १. ती जवान बहिनी आफूसँगै पढ्‌ने साथीलाई साक्षी दिँदै छिन्‌। २. ती विवाहित बहिनी बाइबलमा पढेको कुरामा मनन गर्दै छिन्‌। ३. घुस लिन इन्कार गरेका भाइ सभामा टिप्पणी दिँदै छन्‌। ४. झ्यालखानामा परेका भाइ प्रार्थना गर्दै छन्‌।

सत्य सुनेको बेलाभन्दा अहिले तपाईँको आशा अझै बलियो भएको छ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६. आशा कसरी बलियो हुँदै जान्छ? (तस्बिरहरू पनि हेर्नुहोस्‌।)

१६ आशा बलियो हुँदै जाने कुरा हो भनेर मनमा राख्यौँ भने पावलले आशाबारे फेरि बताउनुको कारण बुझ्न सक्छौँ। जस्तै: बाइबलमा पाइने सुन्दर आशाबारे पहिलो चोटि सुनेको क्षण के तपाईँलाई याद छ? त्यतिबेला तपाईँलाई प्रमोदवनमा सधैँभरि बाँच्ने आशा हुनै नसक्ने कुरा हो जस्तो लागेको थियो होला। तर यहोवाबारे अनि बाइबलका प्रतिज्ञाहरूबारे सिक्दै गएपछि त्यो आशा पक्कै पूरा हुनेछ भन्‍ने कुरामा तपाईँ अझ विश्‍वस्त हुनुभयो होला।

१७. समर्पण र बप्तिस्मापछि पनि तपाईँको आशा कसरी बलियो हुँदै जान्छ?

१७ समर्पण र बप्तिस्मा गरिसकेपछि पनि तपाईँले यहोवाबारे सिक्न छोड्‌नुभएन। त्यसैले तपाईँ आध्यात्मिक रूपमा परिपक्व हुँदै जानुभयो र तपाईँको आशा पनि बलियो हुँदै गयो। (हिब्रू ५:१३–६:१) तपाईँले रोमी ५:२-४ मा बताइएको कुरा आफैले अनुभव गर्नुभयो होला। तपाईँको जीवनमा विभिन्‍न सङ्‌कष्ट आए होलान्‌ तर तपाईँले ती सहनुभयो र परमेश्‍वरको अनुमोदन पाएको महसुस गर्नुभयो। त्यसैले उहाँका प्रतिज्ञाहरू पूरा हुने कुरामा तपाईँ अझ विश्‍वस्त हुनुभयो र तपाईँको आशा पहिलाको भन्दा झनै बलियो भयो। त्यो आशा तपाईँको लागि झनै वास्तविक भयो, तपाईँले त्यसको अझै मोल गर्न थाल्नुभयो र त्यसले तपाईँलाई जीवनको हरेक पक्षमा परिवर्तन ल्याउन उत्प्रेरित गऱ्‍यो। जस्तै: परिवारसित गर्ने व्यवहार, तपाईँले गर्ने निर्णयहरू र समय प्रयोग गर्ने तरिका।

१८. यहोवाले कस्तो ग्यारेन्टी दिनुभएको छ?

१८ परमेश्‍वरको अनुमोदन पाएपछि उत्पन्‍न भएको आशाबारे प्रेषित पावलले अर्को एउटा महत्त्वपूर्ण कुरा पनि बताए। तिनले त्यो आशा पक्कै पूरा हुनेछ भनेर आश्‍वासन दिए। हामी यस कुरामा किन ढुक्क हुन सक्छौँ? पावलले परमेश्‍वरको प्रेरणा पाएर ख्रिष्टियनहरूलाई यस्तो ग्यारेन्टी दिए: “आशाले निराश तुल्याउँदैन किनकि हामीलाई दिइएको पवित्र शक्‍तिद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।” (रोमी ५:५) परमेश्‍वरले तपाईँलाई दिनुभएको आशा पक्कै पूरा हुनेछ भनेर विश्‍वास गर्ने हरकारण तपाईँसित छ।

१९. तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?

१९ यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञाबारे अनि तिनलाई अनुमोदन दिनुभएको र मित्रको रूपमा स्विकार्नुभएको कुराबारे मनन गर्नुहोस्‌। अब्राहामको आशा साकार भयो। बाइबल भन्छ: “अब्राहामले धैर्य गरेपछि परमेश्‍वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभएको थियो।” (हिब्रू ६:१५; ११:९, १८; रोमी ४:२०-२२) तिनी निराश हुनुपरेन। तपाईँ पनि वफादार रहिरहनुभयो भने तपाईँको आशा साकार हुनेछ भनेर अब्राहामजस्तै ढुक्क हुन सक्नुहुन्छ। तपाईँको आशा वास्तविक हो अनि यो निराश हुने होइन, खुसी हुने कारण हो! (रोमी १२:१२) पावलले यस्तो लेखे: “आशा दिनुहुने परमेश्‍वरले तिमीहरूलाई सारा खुसी र शान्तिले भरिदिऊन्‌ किनकि तिमीहरूले उहाँमा भरोसा गऱ्‍यौ र यसरी पवित्र शक्‍तिको तागतद्वारा तिमीहरूको आशा बढ्‌दै जाओस्‌।”—रोमी १५:१३.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • रोमी ५:२ मा पावलले कुन आशाबारे बताइरहेका थिए?

  • रोमी ५:३, ४ मा बताइएअनुसार तपाईँको आशा के हुँदै जान्छ?

  • सत्य सिक्नुभएको समयभन्दा अहिले तपाईँको आशा कसरी बलियो भएको छ?

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

a यस लेखमा भविष्यको आशाबारे र त्यो आशा साकार हुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ भन्‍नेबारे छलफल गर्नेछौँ। रोमी अध्याय ५ ले सत्य सिकेको समयभन्दा अहिले हाम्रो आशा कसरी बलियो भएको छ भनेर बुझ्न मदत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने