प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 मे pp. १४-१९
  • “पवित्र मार्ग”-मा हिँडिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पवित्र मार्ग”-मा हिँडिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “पवित्र मार्ग”—पहिले र अहिले
  • बाटो तयार पार्ने
  • “पवित्र मार्ग” अझै खुला छ
  • “यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ‘तिमीहरू पवित्र होओ किनभने म पवित्र छु’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 मे pp. १४-१९

अध्ययन लेख २२

“पवित्र मार्ग”-मा हिँडिरहनुहोस्‌

“त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ।” —यसै. ३५:८.

गीत ३१ परमेश्‍वरसित हिँडौँ!

परिचयa

१-२. बेबिलोनमा बसिरहेका यहुदीहरूले कस्तो महत्त्वपूर्ण निर्णय गर्नुपर्ने थियो? (एज्रा १:२-४)

राजाले एउटा उर्दी जारी गरेका छन्‌। झन्डै ७० वर्ष बेबिलोनको निर्वासनमा रहेका यहुदीहरू अब आफ्नो मातृभूमि इस्राएल फर्कन सक्छन्‌। (एज्रा १:२-४ पढ्‌नुहोस्‌।) यहोवाले मात्र यो सम्भव तुल्याउन सक्नुहुन्थ्यो। हामी किन यसो भन्‍न सक्छौँ? किनभने बेबिलोनीहरू आफ्ना कैदीहरूलाई मुक्‍त नगर्ने मानिसहरू भनेर चिनिन्थे। (यसै. १४:४, १७) तर अहिले बेबिलोन परास्त भएको छ र नयाँ शासकले यहुदीहरू बेबिलोन छोडेर जान सक्छन्‌ भनेर घोषणा गरेका छन्‌। त्यसैले प्रत्येक यहुदीले र अझ विशेषगरि परिवारका शिरहरूले एउटा निर्णय गर्नुपर्ने थियो: बेबिलोन छोडेर जाने वा त्यहीँ बस्ने? यो निर्णय गर्न तिनीहरूलाई पक्कै सजिलो भएन होला। किन?

२ वृद्धवृद्धाहरूलाई त्यो लामो यात्रा गर्न धेरै गाह्रो हुने थियो। अनि थुप्रै यहुदी त्यहीँ बेबिलोनमा जन्मिएका थिए, त्यसैले त्यो नै तिनीहरूको लागि आफ्नो घर थियो। इस्राएल त तिनीहरूको लागि केवल आफ्ना पुर्खाहरूको देश थियो। कोही-कोही यहुदी बेबिलोनमा धेरै धनी भएका हुन सक्छन्‌। त्यसैले तिनीहरूलाई आफ्नो सुविधा-सम्पन्‍न घर वा व्यापार-व्यवसाय छोड्‌ने र अपरिचित ठाउँमा बसोबास गर्ने कुरा सोच्दा मात्र पनि गाह्रो लागेको हुन सक्छ।

३. इस्राएल फर्कने वफादार यहुदीहरूले कस्तो आशिष्‌ पाउने थिए?

३ आफूले गर्ने कुनै पनि त्यागको तुलनामा इस्राएल फर्कँदा पाइने आशिष्‌ धेरै छन्‌ भनेर वफादार यहुदीहरूलाई थाह थियो। सबैभन्दा ठूलो आशिष्‌ भनेको तिनीहरूको उपासनासित सम्बन्धित थियो। बेबिलोनमा झूटा देवीदेवताका ५० वटाभन्दा धेरै मन्दिर थिए तर यहोवाको भने एउटा पनि थिएन। मोसाको व्यवस्थाअनुसार भेटीहरू चढाउन त्यहाँ कुनै वेदी थिएन। अनि ती भेटीहरू चढाउन पुजारीहरूको प्रबन्ध पनि थिएन। त्यहाँ परमेश्‍वरका मानिसहरूको भन्दा झूटा देवीदेवतालाई पुज्ने मानिसहरूको सङ्‌ख्या धेरै थियो। ती मूर्तिपूजकहरू यहोवा र उहाँका स्तरहरूको कुनै कदर गर्दैनथे। त्यसैले परमेश्‍वरको डर मान्‍ने हजारौँ यहुदी साँचो उपासना पुनर्स्थापित गर्न आफ्नो मातृभूमि फर्कन निकै उत्सुक थिए।

४. यहोवाले इस्राएल फर्कने यहुदीहरूलाई कस्तो प्रतिज्ञा गर्नुभयो?

४ बेबिलोनदेखि इस्राएलसम्मको कठिन यात्रा पूरा गर्न झन्डै चार महिना लाग्ने थियो। यहोवाले तिनीहरूको यात्रामा आइपर्ने जुनसुकै बाधा-अवरोध हटाउनेछु भनेर प्रतिज्ञा गर्नुभयो। यसैयाले यस्तो लेखे: “यहोवाको बाटो तयार पार! हाम्रा परमेश्‍वरका लागि मरुभूमिमा सम्म परेको मूलबाटो बनाऊ। . . . खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्‌ र खल्ड्‌याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्‌।” (यसै. ४०:३, ४) यो दृश्‍य कल्पना गर्नुहोस्‌: मरुभूमिमा सम्म परेको मूलबाटो। यात्रीहरूलाई कत्ति सजिलो हुने थियो! तिनीहरूले डाँडाकाँडामा उकालो-ओरालो गर्नुपर्दैनथ्यो; तिनीहरू आरामले सोझो बाटोमा हिँड्‌न सक्थे। साथै आफ्नो गन्तव्यमा छिट्टै पुग्न सक्थे।

५. बेबिलोनदेखि इस्राएलसम्मको प्रतीकात्मक मूलबाटोलाई कुन नाम दिइएको थियो?

५ आज राजमार्गहरूलाई चिनाउन कुनै नाम वा सङ्‌ख्या दिइएको हुन्छ। यसैयाले लेखेको प्रतीकात्मक मूलबाटोको पनि नाम थियो, जसबारे यसैया ३५:८ मा यस्तो लेखिएको छ: “त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ; अशुद्ध मानिस त्यसमा हिँड्‌नेछैन।” यस प्रतिज्ञाले इस्राएलीहरूको लागि कस्तो अर्थ राख्थ्यो? अनि आज हाम्रो लागि नि?

“पवित्र मार्ग”—पहिले र अहिले

६. यस मार्गलाई किन पवित्र भनिएको हो?

६ “पवित्र मार्ग”—कत्ति सुन्दर नाम! यस मार्गलाई किन पवित्र भनिएको? किनभने पुनर्स्थापना गरिएको इस्राएलमा अवैध यौनसम्बन्ध राख्ने, मूर्तिपूजा गर्ने वा गम्भीर पाप गर्ने “अशुद्ध मानिस”-को लागि कुनै ठाउँ हुने थिएन। मातृभूमि फर्कने यहुदीहरू परमेश्‍वरको निम्ति “एक पवित्र जाति” हुनुपर्थ्यो। (व्यव. ७:६) तर यसको मतलब बेबिलोनबाट निस्केर आएकाहरूले यहोवालाई खुसी तुल्याउन कुनै परिवर्तन नै गर्नुपर्दैन भन्‍ने त होइन।

७. केही यहुदीले कस्ता परिवर्तनहरू गर्नुपर्थ्यो? एउटा उदाहरण बताउनुहोस्‌।

७ माथि बताइएझैँ धेरैजसो यहुदीको जन्म बेबिलोनमा भएको थियो। तिनीहरूको सोचाइ अनि मूल्यमान्यता धेरै हदसम्म बेबिलोनीहरूको जस्तै भइसकेको हुनुपर्छ। यहुदीहरूको पहिलो समूह इस्राएलमा फर्केको ६९ वर्षपछि तिनीहरूले मूर्तिपूजक स्त्रीहरूसित वैवाहिक सम्बन्ध गाँसेको कुरा एज्राले थाह पाए। (प्रस्थ. ३४:१५, १६; एज्रा ९:१, २) अझ त्यसमाथि इस्राएलमै जन्मेका सन्तानले यहुदी भाषा बोल्न समेत नसिकेको कुरा थाह पाउँदा त राज्यपाल नहेम्याह तीनछक परे। (व्यव. ६:६, ७; नहे. १३:२३, २४) परमेश्‍वरको वचन मुख्यतः हिब्रू भाषामा लेखिएको थियो। ती केटाकेटीले हिब्रू भाषा नै बुझ्दैनथे भने तिनीहरूले कसरी यहोवालाई प्रेम गर्न र उहाँको उपासना गर्न सिक्न सक्थे र? (एज्रा १०:३, ४४) त्यसैले ती यहुदीहरूले ठूला परिवर्तनहरू गर्नुपर्थ्यो। यसो गर्न इस्राएलमा तिनीहरूलाई अझै सजिलो हुने थियो किनभने त्यहाँ शुद्ध उपासना क्रमिक रूपमा पुनर्स्थापित हुँदै थियो।—नहे. ८:८, ९.

सन्‌ १९१९ देखि यहोवाका उपासकहरूले विभिन्‍न तरिका चलाएर सुसमाचार सुनाउँदै आएका छन्‌।

सन्‌ १९१९ देखि लाखौँ पुरुष, स्त्री र केटाकेटी महान्‌ बेबिलोनबाट निस्केर “पवित्र मार्ग”-मा हिँड्‌न थालेका छन्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. शताब्दियौँअघि भएका घटनाहरूमा हामीले किन चासो लिनुपर्छ? (आवरण चित्र हेर्नुहोस्‌।)

८ कसै-कसैले यसो भन्लान्‌: ‘यो कुरा रोचक छ तर धेरै वर्षअघि यहुदीहरूलाई जे भयो, त्यसले आज हामीलाई कुनै फरक पार्छ र?’ पक्कै पार्छ। किनभने एक अर्थमा हामी पनि “पवित्र मार्ग”-मा हिँडिरहेका छौँ। चाहे हामी अभिषिक्‍त जन हौँ वा “अरू भेडा”-को सदस्य, हामी “पवित्र मार्ग”-मा हिँडिरहनुपर्छ किनभने यसले आध्यात्मिक प्रमोदवनको बाटो हुँदै नयाँ संसारतर्फ डोऱ्‍याउँछ।b (युह. १०:१६) सन्‌ १९१९ देखि लाखौँ पुरुष, स्त्री र केटाकेटी झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनबाट निस्केर यस प्रतीकात्मक मार्गमा हिँड्‌न थालेका छन्‌। सायद तपाईँ पनि तिनीहरूमध्ये एक हुनुहुन्छ। यो पवित्र मार्ग खुलेको सय वर्षभन्दा धेरै भइसक्यो। तर यो मार्ग तयार पार्ने काम शताब्दियौँअघि नै सुरु भइसकेको थियो।

बाटो तयार पार्ने

९. यसैया ५७:१४ मा “पवित्र मार्ग”-को तयारीबारे के बताइएको छ?

९ यहुदीहरू बेबिलोनबाट निस्केर आउँदा यहोवाले तिनीहरूको बाटोमा आएका अवरोधहरू हटाउनुभयो। (यसैया ५७:१४ पढ्‌नुहोस्‌।) आधुनिक समयको “पवित्र मार्ग”-बारे के भन्‍न सकिन्छ? सन्‌ १९१९ भन्दा सयौँ वर्षअघिदेखि यहोवाले मानिसहरूलाई महान्‌ बेबिलोनबाट निस्केर आउन मदत गर्न वफादार पुरुषहरूलाई प्रयोग गर्नुभयो। (यसैया ४०:३ तुलना गर्नुहोस्‌।) ती पुरुषहरूले आध्यात्मिक बाटो निर्माण गर्न आवश्‍यक तयारी गरे। यसले गर्दा पछि निष्कपट मानिसहरूलाई बेबिलोनबाट निस्केर आउन र आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्न सजिलो हुने थियो, जहाँ शुद्ध उपासना पुनर्स्थापित भएको थियो। यस आध्यात्मिक बाटोको निर्माणकार्यमा कस्ता कुराहरू समावेश थिए? आउनुहोस्‌, तीमध्ये केही विचार गरौँ।

सुरु-सुरुतिर प्रयोग गरिएको छापाखाना र एक बाइबल अनुवादक।

सयौँ वर्षअघिदेखि यहोवाको भय मान्‍ने पुरुषहरूले मानिसहरूलाई महान्‌ बेबिलोनबाट निस्केर आउन मदत गर्न बाटो तयार पार्ने काम गरे (अनुच्छेद १०-११ हेर्नुहोस्‌)

१०-११. बाइबलको छपाइ र अनुवादले बाइबलको ज्ञान फैलाउन कसरी मदत गऱ्‍यो? (चित्र पनि हेर्नुहोस्‌।)

१० छपाइ। करिब १४५० सम्म बाइबलका प्रतिहरू हातैले सारेर बनाइन्थे। यसरी बनाउन धेरै समय लाग्थ्यो। त्यसैले बाइबल सजिलै पाइँदैन थियो र पाइहाले पनि धेरै महँगो हुन्थ्यो। तर छाप्ने मेसिन (मुभेबल टाइप) आविष्कार भएपछि बाइबल धेरै सङ्‌ख्यामा उत्पादन र वितरण हुन थाल्यो।

११ अनुवाद। शताब्दियौँसम्म बाइबल मुख्यगरि ल्याटिन भाषामा मात्र उपलब्ध थियो, जुन शिक्षित मानिसहरूले मात्र बुझ्न सक्थे। छापाखानाको प्रयोग बढ्‌न थालेपछि परमेश्‍वरको भय मान्‍ने मानिसहरू बोलीचालीका भाषाहरूमा बाइबल अनुवाद गर्न जोडतोडले लाग्न थाले। अब भने बाइबलका पाठकहरूले पादरीहरूले सिकाउने कुरा र बाइबलले सिकाउने कुरा दाँजेर हेर्न सक्थे।

भाइ रसल र उहाँका सहयोगीहरू बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्दै आफूले पत्ता लगाएका कुराहरू छलफल गर्दै हुनुहुन्छ।

यहोवाको भय मान्‍ने पुरुषहरूले मानिसहरूलाई महान्‌ बेबिलोनबाट निस्केर आउन मदत गर्न बाटो तयार पार्ने काम गरे (अनुच्छेद १२-१४ हेर्नुहोस्‌)c

१२-१३. उन्‍नाइसौँ शताब्दीमा परमेश्‍वरको डर राख्ने व्यक्‍तिहरूले कसरी झूटा शिक्षाहरूको पर्दाफास गर्न थाले? एउटा उदाहरण बताउनुहोस्‌।

१२ बाइबल अध्ययन सामग्रीहरू। परमेश्‍वरको वचन लगनशील भई अध्ययन गर्ने निष्कपट मानिसहरूले त्यसबाट धेरै कुरा सिके। तिनीहरूले सिकेको कुरा अरू मानिसहरूलाई पनि बताउन थाल्दा थुप्रै पादरी रिसले चुर भए। केही निष्कपट पुरुषले १९ औँ शताब्दीमा चर्चका झूटा शिक्षाहरूको पर्दाफास गर्ने पर्चाहरू प्रकाशित गर्न थाले।

१३ सन्‌ १८३५ तिर परमेश्‍वरको डर राख्ने व्यक्‍ति हेन्री ग्रूले मरिसकेकाहरूको अवस्थाबारे एउटा पर्चा प्रकाशित गरे। त्यसमा तिनले बाइबलमार्फत कुनै पनि मानिस जन्मँदै अमर हुँदैन बरु अमरता भनेको परमेश्‍वरले वफादार मानिसहरूलाई दिनुहुने इनाम हो भनेर प्रमाणित गरे। सन्‌ १८३७ मा रेलमा यात्रा गर्दा चर्चका पादरी जर्ज स्टोर्सले त्यो पर्चा पाए। त्यो पढेपछि आफूले महत्त्वपूर्ण सत्य भेट्टाएको कुरामा तिनी विश्‍वस्त भए। तिनले यो कुरा अरूलाई पनि बताउने निर्णय गरे। सन्‌ १८४२ मा तिनले “के कुकर्मीहरू अमर छन्‌—एउटा खोज?” भन्‍ने रोचक विषयमा शृङ्‌खलाबद्ध भाषणहरू दिए। जर्ज स्टोर्सका लेखहरूबाट जवान चार्ल्स टेज रसलले पनि बाइबलका थुप्रै कुरा सिकेका थिए।

१४. आध्यात्मिक बाटोको निर्माणकार्यबाट भाइ रसल र उहाँका सहयोगीहरूले कस्तो लाभ उठाउनुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

१४ विगतमा गरिएको आध्यात्मिक बाटोको निर्माणकार्यबाट भाइ रसल र उहाँका सहयोगीहरूले कस्तो लाभ उठाउनुभयो? उहाँहरूले बाइबलको अध्ययन गर्न आफ्नो समयभन्दा अघि तयार पारिएका बाइबलसम्बन्धी शब्दकोश, अनुक्रमणिका र विभिन्‍न बाइबल अनुवाद प्रयोग गर्नुभयो। उहाँहरूले हेन्री ग्रू, जर्ज स्टोर्स र अरू व्यक्‍तिहरूले गरेका बाइबलसम्बन्धी अनुसन्धानबाट धेरै कुरा सिक्नुभयो। भाइ रसल र उहाँका सहयोगीहरूले पनि बाइबलका विभिन्‍न विषयमा थुप्रै किताब तथा पर्चाहरू प्रकाशित गरेर आध्यात्मिक बाटोको निर्माणकार्यमा योगदान पुऱ्‍याउनुभयो।

१५. सन्‌ १९१९ मा कस्ता महत्त्वपूर्ण घटनाहरू भए?

१५ सन्‌ १९१९ मा परमेश्‍वरका मानिसहरू महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भए। सोही वर्षदेखि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले निष्कपट मानिसहरूलाई भर्खरै खुलेको “पवित्र मार्ग”-मा हिँड्‌न मदत गर्न थाल्यो। (मत्ति २४:४५-४७ पढ्‌नुहोस्‌।) विगतमा वफादार सेवकहरूले आध्यात्मिक बाटो तयार पार्न मेहनत गरेकोले यसमा हिँड्‌न थालेका मानिसहरूले यहोवा र उहाँको उद्देश्‍यबारे सिक्न सके। (हितो. ४:१८) तिनीहरूले यहोवाको स्तरअनुरूप आफ्नो जीवनमा छाँटकाँट पनि गर्न सके। यहोवा आफ्ना मानिसहरूले रातारात त्यस्ता परिवर्तनहरू गरेको आशा गर्नुहुन्‍न। उहाँले तिनीहरूलाई क्रमिक रूपमा शुद्ध पार्नुभएको छ। (“यहोवा आफ्ना मानिसहरूलाई क्रमिक रूपमा शुद्ध पार्नुहुन्छ” भन्‍ने पेटी हेर्नुहोस्‌।) आफ्नो हर कामले यहोवालाई प्रसन्‍न तुल्याउन पाउँदा हामी कत्ति खुसी हुनेछौँ!—कल. १:१०.

यहोवा आफ्ना मानिसहरूलाई क्रमिक रूपमा शुद्ध पार्नुहुन्छ

मूलबाटो क्रमिक रूपमा सम्म र सोझो हुँदै गएको छ। वरपरका बोटबिरुवा पनि फस्टाइरहेका छन्‌।

१९२७-१९२८: क्रिसमस मूर्तिपूजासित सम्बन्धित छ भनेर स्पष्ट पारिन्छ

१९२८-१९३६: क्रमिक रूपमा क्रसको प्रयोग गर्न बन्द गरिन्छ

१९३१: ‘यहोवाका साक्षीहरू’ भन्‍ने नाम वहन गरिन्छ

१९३८: निर्वाचन गरेर एल्डरहरू नियुक्‍त गर्ने प्रक्रिया खारेज गरिन्छ

१९४४-१९४५: रगतसम्बन्धी परमेश्‍वरको आज्ञा स्पष्ट पारिन्छ

१९५२: बहिष्कार गरिनुको मुख्य कारण प्रस्ट पारिन्छ

१९५६: वैवाहिक सम्बन्धको पवित्रतालाई जोड दिइन्छ

१९७२: पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका एल्डरहरूको निकायलाई मण्डलीको हेरचाह गर्ने जिम्मा सुम्पिइन्छ

१९७३: सुर्तीजन्य पदार्थको प्रयोग गर्नु गम्भीर पाप हो भनेर प्रस्ट पारिन्छ

१९७६: ख्रिष्टियनहरूका लागि कस्ता किसिमका जागिरहरू स्वीकार्य छन्‌ भन्‍नेबारे निर्देशन दिइन्छ

२०००: रगतका सूक्ष्म तत्त्वहरूको प्रयोगबारे विस्तृत रूपमा जानकारी दिइन्छ

२००६, २०१२: घृणित खालका अश्‍लील सामग्री हेर्नु गम्भीर पाप हो भनेर प्रस्ट पारिन्छ

“पवित्र मार्ग” अझै खुला छ

१६. सन्‌ १९१९ देखि “पवित्र मार्ग”-मा मर्मतसम्भारको कस्तो काम भइरहेको छ? (यसैया ४८:१७; ६०:१७)

१६ बाटोलाई ठीक अवस्थामा राख्न नियमित रूपमा मर्मतसम्भार गर्नुपर्छ। महान्‌ बेबिलोनबाट धेरैभन्दा धेरै मानिस निस्केर आउन सकून्‌ भनेर १९१९ देखि “पवित्र मार्ग” बनाउने काम चलिरहेको छ। यस काममा भर्खरै नियुक्‍त विश्‍वासी र बुद्धिमान्‌ दास जोडतोडले लाग्न थाल्यो र १९२१ मा नयाँ मानिसहरूलाई मदत गर्न एउटा बाइबल अध्ययन सामग्री प्रकाशित गऱ्‍यो। त्यो थियो, परमेश्‍वरको वीणा (अङ्‌ग्रेजी)। यो पुस्तक ३६ भाषामा झन्डै ६० लाख प्रति वितरण गरियो र थुप्रैले यसबाट सत्य सिके। हालसालै बाइबल अध्ययन सञ्चालन गर्न हामीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! भन्‍ने नयाँ प्रकाशन पाएका छौँ। अन्तको दिनमा हामीलाई “पवित्र मार्ग”-मा हिँडिरहन मदत गर्न यहोवाले आफ्नो सङ्‌गठनमार्फत प्रशस्त मात्रामा आध्यात्मिक भोजनको प्रबन्ध गर्नुभएको छ।—यसैया ४८:१७; ६०:१७ पढ्‌नुहोस्‌।

१७-१८. “पवित्र मार्ग”-ले कहाँ डोऱ्‍याउनेछ?

१७ कुनै व्यक्‍तिले बाइबल अध्ययन स्विकार्दा तिनले “पवित्र मार्ग”-मा हिँड्‌ने मौका पाउँछन्‌। कोही-कोही यस मार्गमा केही समयको लागि मात्र हिँड्‌छन्‌। अरू भने गन्तव्यसम्म पुग्ने लक्ष्य राख्दै यसैमा हिँडिरहने सङ्‌कल्प गर्छन्‌। यस मार्गले कहाँ डोऱ्‍याउनेछ?

१८ स्वर्गीय आशा भएकाहरूलाई “पवित्र मार्ग”-ले “परमेश्‍वरको प्रमोदवनमा” डोऱ्‍याउनेछ। (प्रका. २:७) पार्थिव आशा भएकाहरूलाई ख्रिष्टको हजार वर्षीय शासनको अन्तसम्म डोऱ्‍याउनेछ र त्यतिबेला सबै मानिस त्रुटिरहित हुनेछन्‌। तपाईँ यस मूलबाटोमा हिँड्‌दै हुनुहुन्छ भने आफूले छोडेर आएका कुराहरूलाई फर्केर नहेर्नुहोस्‌। नयाँ संसारसम्मको यात्रा पूरा नहोउन्जेल यस बाटोमा हिँडिरहनुहोस्‌! तपाईँहरूको यात्रा शुभ रहोस्‌!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • पुरातन समयका यहुदीहरूले “पवित्र मार्ग”-मा हिँड्‌न के गर्नुपर्थ्यो?

  • आधुनिक समयमा “पवित्र मार्ग” कहिले खोल्यो र प्रतीकात्मक मूलबाटो तयार पार्न के-कस्ता कामहरू गरिएका थिए?

  • “पवित्र मार्ग”-मा आज को-को हिँडिरहेका छन्‌ र त्यस मार्गले तिनीहरूलाई कहाँ पुऱ्‍याउनेछ?

गीत २४ आऊ न यहोवाको पर्वतमा

a यहोवाले बेबिलोनदेखि इस्राएलसम्मको प्रतीकात्मक मूलबाटोलाई “पवित्र मार्ग” भन्‍नुभयो। के उहाँले आधुनिक समयमा पनि बाधा-अवरोध हटाएर आफ्ना मानिसहरूको लागि बाटो तयार पार्नुभएको छ? छ। सन्‌ १९१९ देखि लाखौँ मानिस महान्‌ बेबिलोनबाट निस्किएर “पवित्र मार्ग”-मा हिँड्‌न थालेका छन्‌। हामी सबै अन्तिम गन्तव्यसम्म यही मार्गमा हिँडिरहनुपर्छ।

b यसैयाको भविष्यवाणी—सारा मानवजातिको लागि ज्योति, खण्ड २ (अङ्‌ग्रेजी), पृ. ५६-५७ हेर्नुहोस्‌।

c चित्रको व्याख्या: भाइ रसल र उहाँका सहयोगीहरूले आफ्नो समयभन्दा अघि तयार पारिएका बाइबल अध्ययन सामग्रीहरू प्रयोग गरे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने