प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 मे pp. २०-२५
  • “याहको ज्वाला” निभ्न नदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “याहको ज्वाला” निभ्न नदिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाउनुहोस्‌
  • सँगै समय बिताउनुहोस्‌
  • एकअर्कालाई आदर गर्नुहोस्‌
  • विवाहलाई परमेश्‍वरको वरदानको रूपमा आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग १
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 मे pp. २०-२५

अध्ययन लेख २३

“याहको ज्वाला” निभ्न नदिनुहोस्‌

“प्रेम दन्केको आगो हो, याहको ज्वाला हो।”—श्रेष्ठ. ८:६.

गीत १३१ “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ”

परिचयa

१. बाइबलअनुसार साँचो प्रेमको परिभाषा दिनुहोस्‌।

“प्रेम दन्केको आगो हो, याहको ज्वाला हो। यसलाई उर्लेको भेलले निभाउन सक्दैन, नदीले बगाउन सक्दैन।”b (श्रेष्ठ. ८:६, ७) साँचो प्रेमको कत्ति राम्रो परिभाषा! यी शब्दहरू विवाहित दम्पतीका लागि साँच्चै प्रोत्साहनदायी छन्‌। हो, तपाईँहरू एकअर्कालाई प्रगाढ प्रेम गर्न सक्नुहुन्छ।

२. पतिपत्नीले आपसी प्रेम सेलाउन नदिन के गर्न सक्छन्‌?

२ पतिपत्नीले एकअर्कालाई आजीवन प्रेम गर्न प्रयास गरिरहनुपर्छ। जस्तै: आगोलाई कहिल्यै निभ्न नदिने हो भने त्यसमा दाउरा थपिरहनुपर्छ। तर कसैले दाउरा थपेन भने आगो बिस्तारै निभ्छ। त्यस्तैगरि पतिपत्नीबीचको प्रेमलाई आजीवन बलियो बनाइराख्ने हो भने दुवैले आ-आफ्नो तर्फबाट कोसिस गरिरहनुपर्छ। कहिलेकाहीँ आर्थिक कठिनाइ, स्वास्थ्य समस्या वा छोराछोरीलाई हुर्काउँदा आइपर्ने चुनौतीहरूले गर्दा पतिपत्नीले आपसी प्रेम सेलाएको महसुस गर्न सक्छन्‌। आफ्नो वैवाहिक सम्बन्धमा “याहको ज्वाला” निभ्न नदिन तपाईँ के गर्न सक्नुहुन्छ? यस लेखमा हामी वैवाहिक सम्बन्धलाई बलियो र आनन्दित बनाइराख्ने तीन तरिकाबारे विचार गर्नेछौँ।c

यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाउनुहोस्‌

पतिपत्नी एकअर्काको हात समातेर प्रार्थना गर्दै छन्‌। बायाँतिर युसुफ र मरियम एकअर्काको हात समातेर प्रार्थना गरिरहेको देखाइएको छ।

युसुफ र मरियमले जस्तै पतिपत्नीले यहोवासितको सम्बन्धलाई बलियो बनाउनुपर्छ (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. यहोवासितको बलियो सम्बन्धले पतिपत्नीलाई आपसी प्रेम सेलाउन नदिन कसरी मदत गर्छ? (उपदेशक ४:१२) (चित्र पनि हेर्नुहोस्‌।)

३ “याहको ज्वाला” निभ्न नदिन पतिपत्नीले यहोवासितको सम्बन्धलाई बलियो बनाउन आ-आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। उहाँसितको सम्बन्धले तपाईँको वैवाहिक सम्बन्धलाई बलियो बनाउन कसरी मदत गर्छ? स्वर्गमा बस्नुहुने बुबासितको मित्रताको मोल गर्ने पतिपत्नीले राजीखुसीले उहाँको सल्लाह लागू गर्छन्‌। यसो गर्दा तिनीहरू आपसी प्रेमलाई कमजोर बनाउन सक्ने समस्याहरूको सफलतापूर्वक सामना गर्न र त्यसदेखि जोगिन सक्छन्‌। (उपदेशक ४:१२ पढ्‌नुहोस्‌।) आध्यात्मिक व्यक्‍तिले यहोवाको देखासिकी गर्न सक्दो प्रयास गर्छ। अनि उहाँले देखाउनुहुने दया, धीरज र क्षमाजस्ता गुणहरू आफूमा विकास गर्छ। (एफि. ४:३२–५:१) पतिपत्नीले यस्ता गुणहरू देखाउँदा तिनीहरूबीचको प्रेम अझ बलियो हुन्छ। विवाह गरेको २५ वर्षभन्दा धेरै भइसकेको लिना बहिनी यसो भन्छिन्‌: “आध्यात्मिक व्यक्‍तिलाई प्रेम र आदर गर्न सजिलो हुन्छ।”

४. यहोवाले मसीहको आमाबुबा हुन किन युसुफ र मरियमलाई रोज्नुभयो?

४ एउटा बाइबल उदाहरण विचार गरौँ। यहोवाले मसीहको आमाबुबा रोज्नुपर्दा दाउदका थुप्रै सन्तानमध्ये युसुफ र मरियमलाई रोज्नुभयो। किन? किनकि तिनीहरू दुवैको यहोवासितको सम्बन्ध बलियो थियो र तिनीहरूले आफ्नो वैवाहिक जीवनमा उहाँलाई पहिलो स्थान दिनेछन्‌ भनेर यहोवालाई थाह थियो। पतिपत्नी हो, तपाईँ युसुफ र मरियमबाट कस्तो पाठ सिक्न सक्नुहुन्छ?

५. पतिहरूले युसुफबाट के सिक्न सक्छन्‌?

५ युसुफले राजीखुसीले यहोवाको निर्देशन पालन गरे, जसले तिनलाई असल पति हुन मदत गऱ्‍यो। तिनले परिवारको सन्दर्भमा परमेश्‍वरबाट निर्देशनहरू पाए। प्रत्येक चोटि ठूलै परिवर्तन गर्नुपरे तापनि तिनले तुरुन्तै ती निर्देशन पालन गरे। (मत्ति १:२०, २४; २:१३-१५, १९-२१) परमेश्‍वरको निर्देशन पालन गर्दै युसुफले मरियमलाई सुरक्षा दिए, साथ दिए र उनको ख्याल राखे। युसुफको यस्तो मायालु व्यवहारले मरियमलाई आफ्नो पतिको अझ धेरै आदर गर्न र तिनलाई प्रेम गर्न मदत गरेको हुनुपर्छ। पतिहरू हो, परिवारको ख्याल राख्ने सन्दर्भमा बाइबलआधारित सल्लाह लागू गरेर युसुफको अनुकरण गर्नुहोस्‌।d बाइबलको सल्लाह लागू गर्न ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्छ। तर यसो गर्दा तपाईँले आफ्नी पत्नीलाई प्रेम गरिरहनुभएको हुनेछ र यसले तपाईँको वैवाहिक सम्बन्ध बलियो बनाउनेछ। विवाह गरेको २० वर्षभन्दा धेरै भइसकेको भानुआटुकी एक बहिनी यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ले यहोवाको निर्देशन पालन गर्नुभएकोले मैले उहाँलाई अझ धेरै आदर गर्न सकेकी छु। म सुरक्षित महसुस गर्छु र उहाँले गर्नुभएका निर्णयहरूलाई मैले विश्‍वस्त भएर समर्थन गर्न सकेकी छु।”

६. पत्नीहरूले मरियमबाट के सिक्न सक्छन्‌?

६ मरियमको यहोवासितको सम्बन्ध बलियो थियो। यहोवामाथिको उनको विश्‍वास युसुफमा निर्भर थिएन। उनलाई धर्मशास्त्रको राम्रो ज्ञान थियो। (लुका १:४६)e उनी मनन गर्न पनि समय निकाल्थिन्‌। (लुका २:१९, ५१) यहोवासितको सम्बन्धले मरियमलाई असल पत्नी हुन मदत गरेको थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। आज थुप्रै पत्नीले मरियमले जस्तै यहोवासितको सम्बन्ध बलियो बनाउन सक्दो कोसिस गर्छन्‌। जस्तै, एमिको बहिनी यसो भन्छिन्‌: “म अविवाहित छँदा मेरो व्यक्‍तिगत अध्ययन गर्ने तालिका थियो। तर विवाहपछि मेरो श्रीमान्‌ले हाम्रो लागि प्रार्थना गर्नुहुन्थ्यो र उपासनामा पनि नेतृत्व लिनुहुन्थ्यो। यसले गर्दा उपासनासित सम्बन्धित कामकुरा गर्न म उहाँमै भर पर्न थालेको याद गरेँ। यहोवासितको मेरो सम्बन्ध बलियो बनाउन म आफैँले कदम चाल्नुपर्छ भनेर मैले महसुस गरेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गर्न, बाइबल पढ्‌न र त्यसमा मनन गर्न समय निकाल्न थालेँ।” (गला. ६:५) पत्नीहरू हो, यहोवासितको मित्रता बलियो बनाइरहने कोसिस गर्दा तपाईँले पतिबाट अझ धेरै प्रशंसा र प्रेम पाउनुहुनेछ।—हितो. ३१:३०.

७. एकसाथ मिलेर उपासना गर्ने सन्दर्भमा दम्पतीहरूले युसुफ र मरियमबाट के सिक्न सक्छन्‌?

७ युसुफ र मरियमले एकसाथ मिलेर पनि यहोवासितको सम्बन्ध बलियो बनाइराख्न प्रयास गरे। परिवारै मिलेर यहोवाको उपासना गर्नु महत्त्वपूर्ण छ भनेर तिनीहरूले बुझेका थिए। (लुका २:२२-२४, ४१; ४:१६) विशेषगरि परिवार ठूलो हुँदै गएपछि तिनीहरूलाई यसो गर्न चुनौतीपूर्ण भएको हुनुपर्छ। तैपनि तिनीहरूले परिवारै मिलेर उपासना गर्न समय निकाले। आजका विवाहित दम्पतीहरूको लागि कत्ति राम्रो उदाहरण! तपाईँहरूको पनि छोराछोरी छन्‌ भने सभामा उपस्थित हुन र पारिवारिक उपासनाको लागि समय मिलाउन चुनौतीपूर्ण हुन सक्छ। अनि पतिपत्नीलाई सँगै मिलेर अध्ययन र प्रार्थना गर्नको लागि समय निकाल्न अझ गाह्रो हुन सक्छ। तर यो कुरा नबिर्सनुहोस्‌, एकसाथ मिलेर यहोवाको उपासना गर्दा तपाईँ उहाँ र आफ्नो जीवनसाथीसित अझ नजिक हुनुहुनेछ। त्यसैले यहोवाको उपासनालाई पहिलो स्थानमा राख्नुहोस्‌।

८. वैवाहिक सम्बन्ध राम्रो नभएको दम्पतीले पारिवारिक उपासनाबाट लाभ उठाउन के गर्न सक्छ?

८ तपाईँहरूको सम्बन्ध राम्रो छैन भने नि? तपाईँहरूलाई सँगै मिलेर पारिवारिक उपासना गरौँ जस्तो नलाग्न सक्छ। त्यसो हो भने सुरुमा दुवैलाई मन पर्ने विषय रोज्नुहोस्‌। अनि छलफललाई छोटो र रमाइलो बनाउने कोसिस गर्नुहोस्‌। यस्तो कदम चाल्नुभयो भने तपाईँहरूको सम्बन्ध सुध्रिन सक्छ र दम्पतीको रूपमा आध्यात्मिक गतिविधिमा भाग लिने इच्छा बढ्‌न सक्छ।

सँगै समय बिताउनुहोस्‌

९. पतिपत्नीले किन सँगै समय बिताउनुपर्छ?

९ पतिपत्नी हो, तपाईँहरूले सँगै समय बिताएर पनि आपसी प्रेम बलियो बनाउन सक्नुहुन्छ। यसो गर्दा तपाईँले जीवनसाथीको सोचाइ र भावना बुझ्न सक्नुहुनेछ। (उत्प. २:२४) विवाह गरेको १५ वर्षभन्दा धेरै भइसकेको लिलिया र रुस्लानले आफ्नो विवाहको केही समयपछि कुन कुरा याद गरे, विचार गरौँ। तिनी भन्छिन्‌: “हामीले पहिलाजस्तो धेरै समय सँगै बिताउन सकिँदैन रहेछ भनेर महसुस गऱ्‍यौँ। किनभने हाम्रो धेरैजसो समय जागिर, घरायसी काम र छोराछोरीले नै खान्थ्यो। यदि एकअर्कासित समय बिताएनौँ भने हाम्रो सम्बन्ध चिसिन सक्छ भनेर हामीले याद गऱ्‍यौँ।”

१०. पतिपत्नीले एफिसी ५:१५, १६ को सिद्धान्त कसरी लागू गर्न सक्छन्‌?

१० पतिपत्नीले सँगै समय बिताउन के गर्न सक्छन्‌? यसको लागि तपाईँहरूले समय छुट्ट्याउनुपर्ने हुन सक्छ। (एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌।) नाइजेरियाका उजोन्डु भाइ यसो भन्छन्‌: “मैले आफ्नो कामकुराको तालिका बनाउँदा श्रीमतीसित समय बिताउन पनि समय छुट्ट्याउँछु र त्यो समयलाई प्राथमिकता दिन्छु।” (फिलि. १:१०) मोल्डोभाका क्षेत्रीय निरीक्षककी पत्नी आनास्तासिया आफ्नो समय कसरी सदुपयोग गर्छिन्‌, विचार गरौँ। तिनी भन्छिन्‌: “श्रीमान्‌ आफ्नो जिम्मेवारी पूरा गर्न व्यस्त हुँदा म पनि आफ्नो काम सकाउने कोसिस गर्छु। यसो गर्दा पछि हामी सँगै समय बिताउन सक्छौँ।” तपाईँ व्यस्त भएकोले समय निकाल्न गाह्रो छ भने नि?

पतिपत्नी सँगै मिलेर बगैँचामा काम गर्दै छन्‌। बायाँतिर अक्विला र प्रिस्किला सँगै मिलेर पाल सिलाइरहेको देखाइएको छ।

पतिपत्नीले सँगै मिलेर के-के गर्न सक्छन्‌? (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)

११. अक्विला र प्रिस्किला सँगै मिलेर के-के गर्थे?

११ विवाहित दम्पतीहरूले अक्विला र प्रिस्किलाको उदाहरणबाट सिक्न सक्छन्‌। त्यतिबेलाका थुप्रै ख्रिष्टियन तिनीहरूलाई धेरै माया गर्थे। (रोमी १६:३, ४) हुनत बाइबलमा तिनीहरूको वैवाहिक सम्बन्धबारे धेरै कुरा बताइएको छैन। तर तिनीहरू सँगै मिलेर काम गर्थे, साक्षीकार्यमा भाग लिन्थे र अरूलाई मदत गर्थे भनेर चाहिँ बताइएको छ। (प्रेषि. १८:२, ३, २४-२६) भनौँ भने अक्विला र प्रिस्किलाको नाम बाइबलमा सधैँ सँगै उल्लेख गरिएको पाउछौँ।

१२. पतिपत्नीले सँगै समय बिताउन के गर्न सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१२ पतिपत्नीले कसरी अक्विला र प्रिस्किलाको अनुकरण गर्न सक्छन्‌? दम्पतीहरूले गर्नुपर्ने कामहरू थुप्रै हुन्छन्‌। तपाईँहरूले तीमध्ये केही काम एक्लै गर्नुको साटो दुई जना मिलेर गर्न सक्नुहुन्छ कि? जस्तै: अक्विला र प्रिस्किलाले सँगै साक्षीकार्यमा भाग लिए। के तपाईँहरू पनि नियमित रूपमा त्यसै गर्ने योजना बनाउनुहुन्छ? अक्विला र प्रिस्किलाले सँगै काम पनि गरे। तपाईँहरू दुवैको काम एउटै नहुन सक्छ तर तपाईँहरू सँगै मिलेर घरायसी काम गर्न सक्नुहुन्छ कि? (उप. ४:९) तपाईँहरूले कुनै काम गर्न एकअर्कालाई सघाउँदा टिमको रूपमा काम गरिरहनुभएको हुनेछ। अनि एकअर्कासित कुरा गर्ने मौका पनि पाउनुहुनेछ। रोबर्ट र लिन्डाले विवाह गरेको ५० वर्षभन्दा धेरै भइसक्यो। तिनी भन्छन्‌: “साँच्चै भन्‍ने हो भने मनोरञ्जनको लागि हामीसित धेरै समय नै हुँदैन। तर मैले भाँडा माझिरहेको बेला मेरी श्रीमतीले त्यो पुछिदिन्छिन्‌ र बगैँचामा काम गरिरहेको बेला मलाई सघाउन आउँछिन्‌; मलाई धेरै खुसी लाग्छ। यसरी विभिन्‍न काम सँगै मिलेर गर्दा हाम्रो सम्बन्ध अझै बलियो भएको छ र हाम्रो प्रेम पनि बढ्‌दै गएको छ।”

१३. पतिपत्नीले आपसी सम्बन्ध बलियो बनाउन के गर्नुपर्छ?

१३ तर याद गर्नुपर्ने कुरा, पतिपत्नी सँगै हुँदैमा एकअर्कासितको सम्बन्ध बलियो हुन्छ भन्‍ने होइन। ब्राजिलमा बस्ने एक विवाहित बहिनी यसो भन्छिन्‌: “एउटै छानामुनि बसेकोले हामीलाई सँगै समय बिताउँदै छौँ जस्तो लाग्न सक्छ। तर आजकाल अलमलाउने कुराहरू धेरै छन्‌, त्यसैले सँगै हुनु मात्र पर्याप्त छैन। श्रीमान्‌सित नजिक हुन मैले उहाँको ख्याल पनि राख्नुपर्छ।” ब्रुनो र तिनकी पत्नी टाइज एकअर्काको ख्याल राखेको कसरी देखाउँछन्‌, याद गरौँ। तिनी भन्छन्‌: “दुवैको फुर्सद हुँदा हामी मोबाइल चलाउँदैनौँ बरु एकअर्कासित समय बिताउँछौँ।”

१४. पतिपत्नीलाई सँगै समय बिताउन मन पर्दैन भने के गर्न सक्छन्‌?

१४ तर तपाईँहरूलाई सँगै समय बिताउन मन पर्दैन भने नि? तपाईँहरूको रुचि फरक-फरक होला अथवा तपाईँहरूबीच खटपट परिरहन्छ होला। त्यसोभए तपाईँ के गर्न सक्नुहुन्छ? हामी फेरि आगोको उदाहरण विचार गरौँ। आगो बाल्नेबित्तिकै दन्किहाल्दैन। त्यसको लागि तपाईँले सुरुमा सानो अनि पछि ठूलठूला दाउरा थप्दै जानुपर्छ। त्यसैगरि तपाईँहरूले पनि हरेक दिन एकअर्कासित थोरै समय बिताउनुभए कसो होला? एकअर्कालाई रिस उठाउने खालको होइन बरु दुवैलाई मन पर्ने कुनै काम गर्न सक्नुहुन्छ। (याकु. ३:१८) यसरी सानो सुरुवात गरेर तपाईँहरूले सेलाइसकेको प्रेमलाई फेरि न्यानो बनाउन सक्नुहुन्छ।

एकअर्कालाई आदर गर्नुहोस्‌

१५. पतिपत्नीको प्रेमलाई बलियो बनाइराख्न आदर देखाउनु किन एकदमै महत्त्वपूर्ण छ?

१५ वैवाहिक सम्बन्धमा एकअर्कालाई आदर गर्नु एकदमै महत्त्वपूर्ण छ। यो आगो बलिरहन चाहिने अक्सिजनजस्तै हो। अक्सिजन भएन भने आगो तुरुन्तै निभ्छ। त्यसैगरि एकअर्कालाई आदर नगर्ने पतिपत्नीबीचको प्रेम पनि तुरुन्तै सेलाउन सक्छ। अर्कोतर्फ, एकअर्कालाई आदर देखाउन सक्दो कोसिस गर्नेहरूको आपसी प्रेम बलियो हुँदै जान्छ। हुनत तपाईँलाई आफ्नो जीवनसाथीलाई आदर देखाइरहेको छु जस्तो लाग्न सक्छ। तर महत्त्वपूर्ण कुरा, तपाईँको जीवनसाथीले आदर पाएको महसुस गरिरहेको छ कि छैन भन्‍ने हो। पेनी र आरेटले विवाह गरेको २५ वर्षभन्दा धेरै भइसक्यो। तिनी भन्छिन्‌: “हामीले एकअर्कालाई आदर गर्ने भएकोले हाम्रो परिवारमा न्यानो वातावरण छ। हामी एकअर्काको विचारको कदर गर्छौँ, त्यसैले नहिचकिचाईकन आफ्नो विचार व्यक्‍त गर्न सक्छौँ।” त्यसोभए आफ्नो जीवनसाथीलाई आदर पाएको महसुस गराउन तपाईँ के गर्न सक्नुहुन्छ? आउनुहोस्‌, अब्राहाम र साराको उदाहरण विचार गरौँ।

पतिले पत्नीको कुरा ध्यान दिएर सुनिरहेका छन्‌। बायाँतिर अब्राहामले साराको कुरा ध्यान दिएर सुनिरहेको देखाइएको छ।

पतिले पत्नीको कुरा ध्यान दिएर सुनेर तिनको भावनाको कदर गरेको देखाउनुपर्छ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. अब्राहामको उदाहरणबाट पतिहरूले के सिक्न सक्छन्‌? (१ पत्रुस ३:७) (चित्र पनि हेर्नुहोस्‌।)

१६ अब्राहाम साराको आदर गर्थे। साराले आफूलाई लागेको कुरा बताउँदा तिनी ध्यान दिएर सुन्थे। एकचोटि सारा एकदमै उदास भएको बेला उनले अब्राहामलाई आफ्नो रिस पोखिन्‌। यहाँसम्म कि उनले सबै समस्या अब्राहामले गर्दा नै भएको हो भनेर दोषसमेत लगाइन्‌। के तिनले पनि सारालाई झर्किँदै जवाफ दिए? दिएनन्‌। सारा अधीनमा बस्छिन्‌ र सधैँ आफूलाई साथ दिन्छिन्‌ भनेर अब्राहामलाई थाह थियो। अब्राहामले उनको कुरा सुने र मामिला सुल्झाउन कोसिस गरे। (उत्प. १६:५, ६) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? पतिहरू हो, परिवारको लागि निर्णय गर्ने अधिकार तपाईँसित छ। (१ कोरि. ११:३) विशेषगरि, तपाईँको निर्णयले पत्नीलाई असर गर्न सक्छ भने निर्णय गर्नुअघि तिनको कुरा सुन्‍नु मायालु कुरा हो। (१ कोरि. १३:४, ५) कहिलेकाहीँ तपाईँकी पत्नी तनावमा हुन सक्छिन्‌ र आफ्नो मनको कुरा बताउन चाहिरहेकी हुन सक्छिन्‌। के तपाईँ तिनको कुरा ध्यान दिएर सुनेर तिनको भावनाको कदर गर्नुहुन्छ? (१ पत्रुस ३:७ पढ्‌नुहोस्‌।) एन्जेला र डेमिट्रिले विवाह गरेको लगभग ३० वर्ष भइसक्यो। एन्जेला आफूले पतिबाट आदर पाएको महसुस गर्छिन्‌। यसबारे तिनी यसो भन्छिन्‌: “म रिसाएको बेला होस्‌ वा कुरा गर्न चाहँदा, उहाँ सधैँ मेरो कुरा ध्यान दिएर सुन्‍नुहुन्छ। मैले रिसाएर आफ्नो भावना व्यक्‍त गर्दा पनि धीरजी भएर सुन्‍नुहुन्छ।”

१७. साराको उदाहरणबाट पत्नीहरूले के सिक्न सक्छन्‌? (१ पत्रुस ३:५, ६)

१७ साराले अब्राहामका निर्णयहरूलाई समर्थन गरेर तिनको आदर गर्थिन्‌। (उत्प. १२:५) एकचोटि अब्राहामले अचानक आएका पाहुनाहरूलाई आफ्नो घरमा बोलाए। तिनले सारालाई उनले गरिरहेको काम छोडेर धेरै रोटी बनाउन भने। (उत्प. १८:६) साराले अब्राहामको निर्णयलाई समर्थन गर्दै तुरुन्तै खानेकुरा पकाउन थालिन्‌। पत्नीहरू हो, तपाईँहरूले आफ्नो पतिले गरेको निर्णयलाई समर्थन गरेर साराको अनुकरण गरेको देखाउन सक्नुहुन्छ। यसो गर्दा तपाईँहरूको पनि वैवाहिक सम्बन्ध बलियो हुनेछ। (१ पत्रुस ३:५, ६ पढ्‌नुहोस्‌।) अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका डेमिट्रि पनि पत्नीबाट आदर पाएको महसुस गर्छन्‌। डेमिट्रि भन्छन्‌: “एन्जेलालाई मेरो कुरा चित्त नबुझे पनि उनी मेरो निर्णयलाई समर्थन गर्छिन्‌ र नतिजा सोचेको जस्तो भएन भने पनि मेरो आलोचना गर्दिनन्‌।” हो, हाम्रो आदर गर्ने व्यक्‍तिलाई प्रेम गर्न सजिलो हुन्छ!

१८. दम्पतीहरूले आपसी प्रेम बलियो बनाइरहने प्रयास गर्दा कस्तो लाभ हुन्छ?

१८ ख्रिष्टियन पतिपत्नीले आफ्नो जीवनसाथीलाई प्रेम गरेको सैतान चाहँदैन। पतिपत्नीबीचको प्रेम सेलायो भने तिनीहरू यहोवादेखि टाढिन सक्छन्‌ भनेर त्यसलाई थाह छ। तर साँचो प्रेमको आगो कहिल्यै निभ्दैन! त्यसैले तपाईँ पतिपत्नीबीचको प्रेम श्रेष्ठगीतको किताबमा बताइएझैँ होस्‌। आफ्नो वैवाहिक सम्बन्धमा यहोवालाई प्रथम स्थानमा राख्नुहोस्‌। एकअर्काको लागि समय निकाल्नुहोस्‌, एकअर्काको भावना र आवश्‍यकताको कदर गर्नुहोस्‌। यसो गर्नुभयो भने प्रेमका स्रोत यहोवालाई पनि आदर देखाइरहनुभएको हुनेछ र मज्जाले बलिरहेको आगोजस्तै तपाईँहरूबीचको प्रेम पनि सधैँ दन्किरहनेछ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवासितको बलियो सम्बन्धले वैवाहिक जीवनलाई सुखी बनाउन कसरी मदत गर्छ?

  • पतिपत्नीले एकअर्कासित समय बिताउन के-के गर्न सक्छन्‌?

  • पतिपत्नीले एकअर्कालाई के-कस्ता तरिकामा आदर देखाउन सक्छन्‌?

गीत १३२ हामी एउटै शरीर भयौँ!

a यहोवाले मानिसहरूलाई वैवाहिक जीवन उपहारस्वरूप दिनुभएको हो। विवाहपछि पतिपत्नीले एकअर्कालाई गहिरो प्रेम व्यक्‍त गर्न सक्छन्‌। कहिलेकाहीँ त्यस्तो प्रेम सेलाउन सक्छ। यस लेखले विवाहित दम्पतीलाई आपसमा प्रेम गरिरहन र वैवाहिक जीवनको आनन्द उठाउन मदत गर्नेछ।

b साँचो प्रेमलाई “याहको ज्वाला” भनिएको छ किनभने यहोवा यस्तो प्रेमको मूल हुनुहुन्छ। यस्तो प्रेम अपरिवर्तनीय र चिरस्थायी हुन्छ।

c तपाईँको जीवनसाथी यहोवाको साक्षी होइनन्‌ भने पनि यी सुझावहरू तपाईँको वैवाहिक सम्बन्धलाई बलियो बनाउन मदतकारी हुन सक्छ।—१ कोरि. ७:१२-१४; १ पत्रु. ३:१, २.

d जस्तै: jw.org र JW लाइब्रेरी-मा उपलब्ध “परिवारका लागि” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूमा पाइने व्यावहारिक सल्लाह हेर्नुहोस्‌।

e फेब्रुअरी २०१६ अङ्‌कको प्रहरीधरहरा, पृ. १७, अनु. १७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने