पाठ २६
दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
दुःखकष्ट आइपर्दा मानिसको मनमा स्वतः यस्तो प्रश्न उठ्छ: “किन?” तर खुसीको कुरा, बाइबलले त्यस प्रश्नको सुस्पष्ट जवाफ दिन्छ।
१. सैतानले कसरी दुष्टताको सुरुवात गऱ्यो?
सैतानले परमेश्वरको विद्रोह गऱ्यो। सैतान अरूमाथि शासन गर्न चाहन्थ्यो। त्यसकारण त्यसले प्रथम मानव दम्पती आदम र हव्वालाई बहकायो अनि तिनीहरूलाई पनि परमेश्वरको विद्रोह गर्न उक्सायो। त्यसो गर्न सैतानले हव्वासित झूट बोल्यो। (उत्पत्ति ३:१-५) त्यसले हव्वालाई यहोवाले तिनलाई असल कुराबाट जानाजानी वञ्चित गर्नुभएको छ भनेर सोच्न लगायो। सैतानले के भन्न खोज्दै थियो भने परमेश्वरको आज्ञा नमान्दा मानिस अझ खुसी हुन सक्छ। त्यसले हव्वालाई तिनी मर्नेछैनन् भनेर पहिलो झूट बोल्यो। त्यसैले बाइबलमा सैतान “झूटा हो र झूटको बुबा हो” भनिएको छ।—युहन्ना ८:४४.
२. आदम र हव्वाले कस्तो छनौट गरे?
यहोवाले आदम र हव्वालाई प्रशस्तै असल कुरा दिनुभएको थियो। उहाँले तिनीहरूलाई अदनको बगैँचाको एउटा रूखको बाहेक बाँकी सबै रूखको फल खाने अनुमति दिनुभएको थियो। (उत्पत्ति २:१५-१७) तर तिनीहरूले त्यही रूखको फल खाने निर्णय गरे। हव्वाले “त्यसको फल टिपेर खाइन्” अनि पछि “[आदमले] पनि खाए।” (उत्पत्ति ३:६) तिनीहरू दुवै जनाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे। आदम र हव्वा त्रुटिरहित भएकाले जे सही छ, त्यही गर्ने तिनीहरूको स्वाभाविक झुकाव थियो। तर तिनीहरूले जानाजानी परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गरे अनि परमेश्वरको शासन गर्ने अधिकारलाई तिरस्कार गरे। त्यस निर्णयले गर्दा तिनीहरूले असाध्यै दुःखकष्ट भोग्नुपऱ्यो।—उत्पत्ति ३:१६-१९.
३. आदम र हव्वाको निर्णयले हामीलाई कस्तो असर पुऱ्याएको छ?
आदम र हव्वाले पाप गरेपछि तिनीहरू त्रुटिपूर्ण भए। तिनीहरूले गर्दा तिनीहरूका सबै सन्तान पनि त्रुटिपूर्ण भए। आदमबारे बाइबलले भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो।”—रोमी ५:१२.
हामी विभिन्न कारणले दुःखकष्ट भोग्छौँ। कहिलेकाहीँ हामीले गरेको गलत निर्णयले गर्दा दुःख भोग्छौँ। कुनै-कुनै बेला भने अरूले गरेको गलत निर्णयले गर्दा दुःख भोग्छौँ। कहिलेचाहिँ हामी गलत समयमा गलत ठाउँमा पुगेकोले पनि दुःख भोग्छौँ।—उपदेशक ९:११ पढ्नुहोस्।
अझ खोतल्नुहोस्
अहिले संसारमा व्याप्त दुष्टता र दुःखकष्ट किन परमेश्वरले गर्दा भएको होइन, बुझ्नुहोस्। हामीले दुःख भोग्दा उहाँलाई कस्तो लाग्छ, विचार गर्नुहोस्।
४. हाम्रो दुःखकष्टको लागि दोषी
धेरैजसो मानिसको विचारमा यो संसार परमेश्वरको हातमा छ। तर के यो साँचो हो? भिडियो हेर्नुहोस्।
याकुब १:१३ र १ युहन्ना ५:१९ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
के दुःखकष्ट र दुष्टताको लागि परमेश्वर दोषी हुनुहुन्छ?
५. सैतानले शासन गर्दा भएको नतिजा विचार गर्नुहोस्
उत्पत्ति ३:१-६ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
सैतानले कुन झूट बोल्यो?—पद ४ र ५ हेर्नुहोस्।
यहोवाले मानिसलाई असल कुराबाट वञ्चित गर्नुभएको छ भन्ने भान सैतानले कसरी पाऱ्यो?
सैतानले मानिस खुसी हुन यहोवालाई आफ्नो शासकको रूपमा स्विकार्नु पर्दैन भन्ने छनक कसरी दिन खोज्यो?
उपदेशक ८:९ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले शासन नगर्नुभएकोले संसारको अवस्था कस्तो भएको छ?
क. आदम र हव्वा त्रुटिरहित थिए अनि सुन्दर बगैँचामा बस्थे। तर तिनीहरूले सैतानको कुरा सुनेर यहोवाको विद्रोह गरे
ख. विद्रोहपछि संसारमा पाप, दुःखकष्ट र मृत्यु फैलियो
ग. यहोवाले पाप, दुःखकष्ट र मृत्यु हटाउनुहुनेछ। मानिसहरू फेरि त्रुटिरहित हुनेछन् अनि सुन्दर बगैँचारूपी पृथ्वीमा बस्नेछन्
६. हामीले दुःखकष्ट भोग्दा यहोवालाई दुःख लाग्छ
के हामीले दुःखकष्ट भोग्दा परमेश्वरलाई कुनै फरक पर्छ? यसको जवाफ पाउन राजा दाउद र प्रेषित पत्रुसले के लेखे, विचार गर्नुहोस्। भजन ३१:७ र १ पत्रुस ५:७ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले हाम्रो दुःखकष्ट देख्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भन्ने कुरा थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?
७. परमेश्वरले मानिसका सबै दुःखकष्ट हटाउनुहुनेछ
यसैया ६५:१७ र प्रकाश २१:३, ४ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
मानिसहरूले भोगिरहेका सबै खराब कुराको असरलाई यहोवाले सच्याउनुहुनेछ भनेर थाह पाउँदा तपाईँ किन सान्त्वना पाउनुहुन्छ?
के तपाईँलाई थाह थियो?
सैतानले पहिलो झूट बोल्दा त्यसले परमेश्वरको निन्दा गऱ्यो। त्यसले यहोवा न्यायी र मायालु शासक हुनुहुन्न भनेर उहाँको नाममा कलङ्क लगायो। यहोवाले चाँडै दुःखकष्ट हटाउनुहुँदा आफूमाथि लगाइएको आरोपलाई झूटो साबित गर्नुहुनेछ। यसरी उहाँले आफ्नो शासन नै सर्वोत्तम छ भनेर प्रमाणित गर्नुहुनेछ। यहोवाको नाममा लागेको कलङ्क हटाउनु ब्रह्माण्डकै सबैभन्दा महत्त्वपूर्ण विषय हो।—मत्ति ६:९, १०.
कोही-कोही भन्छन्: “मानिसले दुःखकष्ट भोग्नु दैवको लीला हो।”
तपाईँ के भन्नुहुन्छ?
सारांश
संसारमा व्याप्त दुष्टताको लागि मुख्यतया सैतान र पहिलो मानव दम्पती दोषी छन्। हामीले दुःखकष्ट भोग्दा यहोवालाई असाध्यै दुःख लाग्छ अनि उहाँले चाँडै सबै दुःखकष्ट हटाउनुहुनेछ।
तपाईँले के सिक्नुभयो?
सैतानले हव्वासित कुन झूट बोल्यो?
आदम र हव्वाको विद्रोहले हामी सबैलाई कस्तो असर पुऱ्याएको छ?
यहोवाले हाम्रो दुःखकष्ट देख्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?
अझ धेरै जान्नुहोस्
पापबारे बाइबलले बताउने कुरा बुझ्नुहोस्।
सैतानले अदनको बगैँचामा उठाएको विवादबारे थप कुरा पढ्नुहोस्।
“भगवान्ले किन दुःखकष्ट हटाउनुहुन्न?” (प्रहरीधरहरा, जनवरी १, २०१४)
एउटा जटिल प्रश्नको चित्तबुझ्दो जवाफ थाह पाउनुहोस्।
“नाजी नरसंहार किन भयो? परमेश्वरले किन त्यसलाई रोक्नुभएन?” (jw.org को लेख)
एक जना व्यक्तिले आफ्नो वरपर भइरहेको दुःखकष्टको कारणबारे के बुझे, हेर्नुहोस्।