अध्याय ११
परमेश्वरले दुष्टता रहिरहने अनुमति किन दिनु भएको?
१. (क) पृथ्वीमा आज के स्थिति छ? (ख) कसै कसैको के गुनासो छ?
संसारमा तपाईं जता हेर्नुहोस्, अपराध, घृणा, र विपत्ति देख्नुहुने छ। अक्सर निर्दोषलेनै दु:ख पाउँछन्। केही मानिसहरू परमेश्वरलाई दोष दिन्छन्। तिनीहरू भन्न सक्छन्: ‘परमेश्वर हुनुहुन्छ भने, यस्ता भयङ्कर कुराहरू हुन किन अनुमति दिनु हुन्छ?’
२. (क) दुष्ट कामहरू कसले गरिरहेको छ? (ख) पृथ्वीमा भइरहेको धेरैजसो दु:खको रोकथाम कसरी हुनसक्छ?
२ तापनि अरूहरूलाई यस्तो दुष्ट कुराहरू कसले गरिरहेछ? मानिसहरूले, परमेश्वरले होइन। दुष्ट कामको परमेश्वर भर्त्सना गर्नु हुन्छ। वास्तवमा, मानिसहरूले परमेश्वरका नियमहरू पालन गरेको भए संसारका धेरै दु:खहरू रोकिने थिए। अरूलाई प्रेम गर्नु भन्ने उहाँको आज्ञा छ। उहाँले हत्या, चोरी, व्यभिचार, लोभ, मतवालापन, र मानवलाई दु:ख दिने अरू गलत कामहरू गर्न मनाही गर्नुभएको छ। (रोमी १३:९; एफिसी ५:३, १८) आदम र हव्वालाई एउटा अद्भुत मस्तिष्क र शरीरका साथ परमेश्वरले बनाउनु भयको थियो र पूर्ण रूपले जीवनको आनन्द उठाउने क्षमता पनि दिनु भएको थियो। तिनीहरू र तिनका सन्तानले कहिले दु:ख वा परेशानी उठाउनु नपरोस भन्ने चाहना परमेश्वरको थियो।
३. (क) दुष्टताकालागि को जिम्मेवार छन्? (ख) शैतानको प्रलोभनलाई आदम र हव्वाले मुकाविला गर्न सक्दथिए भनेर के ले प्रदर्शित हुन्छ?
३ पृथ्वीमा दुष्टता शुरू गर्ने शैतान अर्थात दियाबल थियो। तर आदम र हव्वा पनि दोषी थिए। दियाबलले तिनीहरूलाई परीक्षामा हाल्दा त्यसको मुकाविला गर्ने शक्ति नभएका त्यत्ति कमजोर तिनीहरू थिएनन्। तिनीहरूले शैतानलाई भन्न सक्थिए, “हटी जा”, जस्तो कि पछि गएर सिद्ध मानव येशूले गर्नु भयो। (मत्ती ४:१०) तर तिनीहरूले त्यसो गरेनन्। फल:स्वरूप, तिनीहरू असिद्ध हुन गए। हामीहरू समेत तिनका सबै सन्तानले वंशानुगत असिद्धता पाएकाछन्, जसले गर्दा बिमारी, दु:ख, र मृत्यु समेत आएको छ। (रोमी ५:१२) तर परमेश्वरले पीड़ा किन रही रहन दिनु भएको छ?
४. एउटा मायालु परमेश्वरले अल्पकालकालागि दुष्टतालाई अनुमति दिनु भएको हो भनेर बुझ्न हामीलाई के ले मदद दिन्छ?
४ यसरी सदियों सम्म मानव कष्ट रहन दिने कुनै त्यस्तो कारण परमेश्वरसँग हुन सक्दैन भनेर कसैले सोंच्न सक्दछ। तथापि त्यो निष्कर्षमा पुग्नु उचित हो ता? धेरैनै मायागर्ने आमा-बाबुले पनि कहिलेकाहीं आफ्ना छोरा-छोरीको कुनै शारीरिक समस्यालाई समाधान गर्न कष्टमय शल्य-चिकित्साका लागि अनुमति दिंदैनन् र? हो, यो अल्पकालीन कष्टको अनुमतिद्वारा भविष्यमा छोरा-छोरीले राम्रो स्वास्थ्यकर जीवन बिताउँन पाउनेछन्। परमेश्वरले दुष्टतालाई अनुमति दिनु भएर के फायदा भएको छ?
एउटा महत्वपूर्ण विवादको फैसला हुनु परेकोछ
५. (क) शैतानले परमेश्वरको कुरालाई कसरी खण्डन गर्यो? (ख) हव्वालाई शैतानले के वचन दियो?
५ अदनको बगैंचामा परमेश्वरको विरुद्ध भएको विद्रोहले एउटा महत्वपूर्ण विवाद वा प्रश्न खड़ा गऱ्यो। परमेश्वरले दुष्टतालाई किन अनुमति दिनु भयो भन्ने कुरालाई बुझ्न त्यस विषयको जाँच गर्नु आवश्यक छ। बगैंचाको एउटा खास रूखबाट नखानु भनेर यहोवाले आदमलाई भन्नुभयो। आदमले खायो भने, के हुने थियो? परमेश्वरले भन्नुभयो: “तँ मर्नेछस्।” (उत्पत्ति २:१७) तर, शैतानले त्यसको ठीक विपरीत भन्यो। उसले आदमकी पत्नी हव्वालाई मनाही गरिएको त्यो रूखबाट खाए हुन्छ भन्यो। शैतानले भन्यो: “तिमीहरू कदापि मर्दैनौ,” उसले हव्वालाई अझ अगाड़ि यसो भन्यो: “किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वर जस्तै हुनेछौ।”—उत्पत्ति ३:१-५.
६. (क) हव्वाले परमेश्वरको आज्ञा किन उल्लङ्घन गरी? (ख) निषेध गरिएको रूखको फल खानुको अर्थ के थियो?
६ हव्वाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी र खाइ। किन? हव्वाले शैतानलाई विश्वास गरी। परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेर उसलाई फायदा हुने रहेछ भन्ने विचार उसको मनमा आयो। उ र आदम, परमेश्वर प्रति जवाफदेह अब हुनुपर्ने छैन भनेर तर्क गरी। उहाँका नियमहरूको पालन अब तिनीहरूले गर्नुपर्ने छैन। के “असल” हो र के “खराब” हो तिनीहरूले आफै निर्णय गर्न सक्नेछन्। आदमले हव्वाको साथ दियो र उसले पनि खायो। परमेश्वरको विरुद्धमा मनुष्यको प्रारम्भिक पाप वारे छलफल गर्दै, दी यरूसेलम बाइबल को पाद-टिप्पणीले यसो भन्दछ: “आफ्नालागि के असल हो र के खराब हो भन्ने कुराको निर्णय गरेर सोही गर्ने शक्ति हो यो, अर्थात नैतिक स्वतंत्रताको दावा हो . . . यो प्रथम पाप परमेश्वरको सार्वभौमिकता माथि आक्रमण थियो।” यसको अर्थ, निरपेक्ष शासक वा अधिकारी हुने परमेश्वरको अधिकारमाथि मनुष्यबाट यो एउटा आक्रमण थियो।
७. (क) मानव अनाज्ञाकारिताले के विवाद खड़ा गरेको थियो? (ख) यस विवादसँग सम्बन्धित कुन् प्रश्नको उत्तर हुनु जरूरी छ?
७ अत: निषेध गरिएको फल खाएर आदम र हव्वाले आफूलाई परमेश्वरको प्रभुत्वबाट अलग्ग पारे। तिनीहरू आफ्नै मर्जीका मालिक भए र आफ्नै निर्णय अनुसार आफ्नालागि के “असल” वा के “खराब” हो सोही गर्न थाले। अत: उठेको महत्वपूर्ण विवाद वा प्रश्न यो थियो: मानवजातिको निरपेक्ष शासक हुने अधिकार के परमेश्वरलाई छ? अर्को शब्दमा भन्ने हो भने, मनुष्यकालागि के असल र के खराब हो भन्ने कुराको निर्णय के यहोवा परमेश्वरले मात्र गर्ने हो? उचित आचरण के हो वा के होइन भन्न के उहाँले मात्र सक्नु हुन्छ? अथवा के मनुष्यले आफूमाथि अझ राम्ररी शासन गर्न सक्दछ? शासन गर्ने तरीका कसको उत्तम छ? शैतानको अदृश्य निर्देशनमा, के मानिसले यहोवाको निर्देशन बिना सफलतापूर्वक शासन गर्न सक्छ? अथवा पृथ्वीमा स्थायी शान्ति ल्याउँने एउटा न्याययुक्त सरकारको स्थापनाका लागि, के परमेश्वरको निर्देशनको आवश्यकता छैन? परमेश्वरको सार्वभौमिकता, अर्थात मानवजाति माथि निरपेक्ष शासक हुने उहाँको अधिकारमाथि गरिएको यो आक्रमणले गर्दा यी सबै प्रश्नहरू उठे।
८. यहोवाले विद्रोहीहरूलाई तुरून्तै किन नष्ट गर्नु भएन?
८ निश्चय, यो बिद्रोह उठ्ना साथै परमेश्वरले ती तीनै बिद्रोहीहरूलाई नाशगर्न सक्नु हुनेथियो। उहाँ शैतान अथवा आदम र हव्वा भन्दा शक्तिशाली हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्कानै छैन। तर ती उठेका विषयहरूको उत्तम फैसला गर्ने तरीका तिनीहरूलाई नाश गरेर हुने थिएन। उदाहरणकालागि, मानिसहरूले बिना परमेश्वरको मददले सफलतापूर्वक आफ्नो शासन चलाउन सक्थिए वा सक्दैन थिए भन्ने प्रश्नको उत्तर यसबाट हुने थिएन। अत: यो उठाइएको विवादको निर्णय हुनकालागि यहोवाले समय को अनुमति दिनु भएको हो।
विवादको फैसला गर्न
९, १०. परमेश्वरको पथ-प्रर्दशन बिना आफूहरूलाई शासन गर्ने मानव प्रयत्नहरूको के परिणाम भयो?
९ अब यत्तिका समय बिति सके पछि, परिणाम के भयो ता? तपाईं यस विषयमा के भन्नुहुन्छ? परमेश्वरको निर्देशन बिना मानिसहरूले सफलतापूर्वक आफ्नो शासन गर्न सकेकाछन् भन्ने कुरा, के बितेका ६,००० वर्षको इतिहासले देखाउँछ? सबैका आशिष र खुशीकालागि के मनुष्यले राम्रो सरकारको व्यवस्था मिलाउन सकेकोछ? अथवा अगमवक्ता यर्मियाका शब्दहरू सही छन् भन्ने कुरालाईनै इतिहासले साबित गरेको छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।”?—यर्मिया १०:२३.
१० इतिहासभरि अनेक प्रकारका सरकारहरूको प्रयोग भयो, तर कसैले पनि तिनीहरूका शासन मनि बस्ने मानिसहरूकालागि सुरक्षा र वास्तविक आनन्द ल्याउन सकेनन्। कसै कसैले प्रगतिका चिन्हहरू तर्फ सङ्केत गर्न सक्छन्। धनुष-बाणको सट्टा आणविक बम तैयार पारेको र संसार अर्को विश्व-युद्धको ठूलो भयले ग्रसित भएको बेलामा, के साँचो प्रगतिको कुरा गर्न मिल्छ र? यो कस्तो प्रगति हो जब मानिस चन्द्रमामा ता हिंड्न सक्छ तर पृथ्वीमा चाहिं एकसाथ शान्तपूर्वक बस्न सक्दैन? हर प्रकारका आधुनिक साजो-सामानले सुसज्जित घर मानिसहरूले बनाएर के फायदा जबकि त्यस घरमा बस्नेहरू समस्याहरूले गर्दा आपसमा फाटो भएर बस्दछन्? सड़कहरूमा हुने दङ्गाहरू, धन-जनको नोकसानी र विस्तृत अराजकताहरू जस्ता परिस्थितिहरू के गर्व गर्न सक्ने कुराहरू हुन्? कदापि पनि होइन! तर ती जम्मै कुराहरू परमेश्वरबाट अलग्ग भएर आफ्नो शासन चलाउने मानिसहरूले गरेका प्रयत्नहरूको परिणाम हो।—हितोपदेश १९:३.
११. अत:, प्रत्यक्षत:, मानवलाई कुन कुराको आवश्यकता छ?
११ यो प्रमाण सबैका सामने स्पष्ट हुनु पर्छ। परमेश्वरबाट स्वतंत्र भएर आफूलाई शासन गर्ने मनुष्यको प्रयत्न भयङ्कर रूपले असफल भएको छ। यसबाट अत्यधिक मानव दु:ख उत्पन्न भएको छ। बाइबलले व्याख्या गरेको छ: “एउटा मानिसले अर्को मानिसलाई दु:ख दिने अधिकारको समय थियो।” (उपदेशक ८:९) स्पष्ट छ, मानिसहरूलाई आफ्नो व्यवस्था संचालन गर्न परमेश्वरको निर्देशनको आवश्यकता पर्दछ। परमेश्वरले जसरी मानिसलाई भोजन खाने र पानी पिउँने आवश्यकताका साथ सृष्टि गर्नु भयो, त्यसरीनै परमेश्वरको नियमहरूको पालन गर्नुपर्ने आवश्यकताका साथ मानिसलाई बनाइएको हो। जसरी आफ्नो शरीरलाई चाहिने भोजन र पानीको आवश्यकतालाई उसले अवहेलना गर्दा दु:ख पाउँदछ, त्यसरीनै परमेश्वरका नियमहरूलाई अवहेलना गर्दा उ कठिनाइमा पर्ने छ।—हितोपदेश ३:५, ६.
यत्ति अबेर किन?
१२. त्यस विवादको समाधानकालागि परमेश्वरले यत्तिका समयको अनुमति किन दिनु भयो?
१२ तथापि, कसैले यो सोधन सक्छ, ‘यो विवादको फैसला गर्न लगभग ६,००० वर्ष समय परमेश्वरले किन अनुमति दिनु भयो? चित्त बुझ्दो ढ़ङ्गले के धेरै पहिलेनै यसको फैसला हुन सक्दैन थियो र?’ हुन सक्दैन थियो। यदि परमेश्वरले धेरै पहिलेनै हस्तक्षेप गर्नु भएको भए, प्रयोग गर्न हामीहरूले यथेष्ट समय पाएनौं भनेर मानिसहरूले दोषारोपण गर्न सक्दथिए। तर अहिले, आफ्ना नागरिकहरूका आवश्यकताहरू पूर्तिगर्ने प्रशस्त समय मानिसहरूले पाएका छन्, र साथै सबैका सम्बृद्धिकालागि योगदान दिन सक्ने बैज्ञानिक आविष्कारहरू गर्ने मौका पनि पाएकाछन्। अनेकौं शताब्दी सम्म मानिसहरूले प्राय: सबै प्रकारका सरकारहरूको प्रयोग गर्ने प्रयास गरेका छन्। र विज्ञानको क्षेत्रमा तिनीहरूको प्रगति उल्लेखनीय छ। अणुलाई काममा ल्याएका छन् र चन्द्रमामा पुगेका छन्। तर परिणाम के भएको छ? के यसले मानवजातिका आशिषकालागि एउटा महान नया व्यवस्था ल्याएको छ?
१३. (क) मनुष्यले गरेको सारा बैज्ञानिक प्रगति हुँदा हुँदै पनि आज के स्थिति छ? (ख) यसबाट स्पष्ट रूपमा के प्रमाण हुन्छ?
१३ कदापि पनि छैन! बरू, पहिले भन्दा अझ बढ़ी अशान्ति र दु:ख आज यस पृथ्वीमा छ। यथार्थमा, अपराध, प्रदूषण, युद्ध, पारिवारिक विभाजन र अन्य समस्याहरू यस्तो खतरनाक अवस्थामा पुगिसकेको छ कि मानव अस्तित्वनै खतरामा परेकोछ भनेर बैज्ञानिकहरू विश्वास गर्दछन्। हो, लगभग ६,००० वर्षसम्मको आफ्नो शासनको अनुभव पछि, र बैज्ञानिक “प्रगतिको” चरम-बिन्दुमा पुगिसके पछि, मानवजाति अब आत्म-संहारको सामुन्ने खड़ा छ! परमेश्वरबाट अलग्ग भएर मानवले सफलतापूर्वक आफूलाई शासन गर्न सक्दैन भन्ने कुरा कत्ति स्पष्ट छ! यो विवाद समाधान गर्न प्रशस्त समय परमेश्वरले दिनु भएन भनेर गुनासो गर्ने अब कसैलाई ठाउँ छैन।
१४. शैतान द्वारा खड़ा गरिएको अर्को महत्वपूर्ण विवादलाई जाँच गर्न हामीहरू किन प्रोत्साहित हुनु पर्छ?
१४ शैतानी शासनको अधीनमा यत्तिका समयसम्म दुष्टता उत्पन्नगर्न मानवलाई अनुमति दिनु भएकोमा निश्चयनै परमेश्वरसँग उचित कारण रहेछ। आफ्नो विद्रोह द्वारा शैतानले एउटा अर्को विवाद उठाएको थियो जसको समाधानका लागि पनि समय चाहिएको थियो। त्यस विवादलाई जाँच गर्नाले पनि, परमेश्वरले दुष्टताको अनुमति किन दिनु भएछ भन्ने कुरा बुझ्न अझ मदद हामीलाई मिल्ने छ। यस विवादमा तपाईंको खास दिलचस्पी हुनु पर्छ किनभने तपाईं त्यसमा व्यक्तिगत रूपमा बिथोलित हुनुहुन्छ।
[पृष्ठ १००-मा भएको चित्र]
उचित कारणले गर्दा आमा-बाबुले आफ्नो प्यारो बच्चालाई एउटा कष्टमय शल्य-चिकित्सा गर्ने अनुमति दिन्छन्। मानवले अल्पकालीन दु:ख उठाउने अनुमति दिनु भएकोमा पनि परमेश्वरसँग एउटा राम्रो कारण छ
[पृष्ठ १०१-मा भएको चित्र]
आदम र हव्वाले निषेध गरिएको रूखको फल खाएर, परमेश्वरको प्रभुत्वलाई त्यागे। के असल हो र के खराब हो भन्ने निर्णय तिनीहरूले आफै गर्न थाले
[पृष्ठ १०३-मा भएको चित्र]
जसरी मनुष्य खाने र पिउँने आवश्यकताका साथ सृजिएको हो, त्यसरीनै परमेश्वरको पथ-प्रदर्शन लिने आवश्यकताका साथ उसलाई सृष्टि गरिएको हो