प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ११/१ pp. २६-२९
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना सेवकहरूलाई जोगाउनुहुन्छ
  • शैतानको विरोध गर्ने सिद्ध उदाहरण
  • “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ”
  • शैतानको विरोध गर र त्यो भाग्नेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ११/१ pp. २६-२९

येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌

“शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकू. ४:७.

१. पृथ्वीमा कस्तो विरोधको सामना गर्नुपर्छ भनी येशूलाई थाह थियो र नतिजा कस्तो हुनेथियो?

शैतानले विरोध गर्नेछ, येशू ख्रीष्टलाई यो थाह थियो। यो कुरा, सर्पले बोलेजस्तो ढोंग गरिरहेको विद्रोही दुष्ट आत्मालाई परमेश्‍वरले भन्‍नुभएको कुराबाट स्पष्ट हुन्छ: “तेरो र स्त्रीको [अर्थात्‌ यहोवाको संगठनको स्वर्गीय भागको] बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले [अर्थात्‌ येशू ख्रीष्टले] तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्प. ३:१४, १५; प्रका. १२:९) येशूको कुर्कुच्चो डस्नुको अर्थ उहाँले क्षणिक आघात मात्र भोग्ने थियो, मतलब पृथ्वीमा हुँदा उहाँलाई मारिने थियो। यसलाई क्षणिक भन्‍न सकिन्छ किनभने यहोवाले उहाँलाई स्वर्गीय महिमामा पुनरुत्थान गर्नु हुनेथियो। तर सर्पको शिर कुच्याउनुको अर्थ शैतानलाई कहिल्यै उठ्‌न नसक्नेगरि प्रहार गर्नु अर्थात्‌ मार्नु हो।—प्रेरित २:३१, ३२; हिब्रू २:१४, पढ्‌नुहोस्‌।

२. शैतानको विरोध गर्न येशू सफल हुनुहुने थियो भनेर यहोवा किन निर्धक्क हुनुहुन्थ्यो?

२ येशूले उहाँलाई सुम्पिएको काम राम्ररी पूरा गर्नुहुनेछ र पृथ्वीमा हुँदा शैतानको विरोध गर्न सफल हुनुहुनेछ भन्‍ने कुरामा यहोवा निर्धक्क हुनुहुन्थ्यो। यहोवा त्यसरी निर्धक्क हुन सक्नुको कारण के थियो? उहाँले येशूलाई धेरै पहिला स्वर्गमा सृष्टि गर्नुभएको थियो अनि नजिकबाट नियाल्नुभएको थियो। साथै उहाँलाई थाह थियो कि उहाँको “मुख्य कालिगड” र “सारा सृष्टिको जेठो” आज्ञाकारी अनि विश्‍वासी छ। (हितो. ८:२२-३१, NW; कल. १:१५) त्यसैले, येशूलाई पृथ्वीमा पठाइँदा र मृत्युको हदसम्म शैतानद्वारा परीक्षामा पर्न दिंदा आफ्ना प्यारो पुत्र शैतानको विरोध गर्न सफल हुनेछ भनेर परमेश्‍वर निर्धक्क हुनुहुन्थ्यो।—यूह. ३:१६.

यहोवा आफ्ना सेवकहरूलाई जोगाउनुहुन्छ

३. परमेश्‍वरका सेवकहरूप्रति शैतानले कस्तो दृष्टिकोण राख्छ?

३ येशूले शैतानलाई “संसारको मालिक” भन्‍नुभयो र जसरी त्यसले उहाँलाई सतायो चेलाहरूलाई पनि सताउनेछ भनी तिनीहरूलाई होसियार गराउनुभयो। (यूह. १२:३१; १५:२०) शैतानको अधीनमा परेको संसारले साँचो ख्रीष्टियानहरूलाई घृणा गर्छ किनभने तिनीहरू यहोवाको सेवा गर्छन्‌ र धार्मिकताको प्रचार गर्छन्‌। (मत्ती २४:९; १ यूह. ५:१९) विशेष गरी पछि ख्रीष्टसँगै स्वर्गीय राज्यमा शासन गर्ने बाँकी रहेका अभिषिक्‍त जनलाई शैतानले आफ्नो तारो बनाउँछ। साथै, बगैंचारूपी पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका यहोवाका थुप्रै साक्षीहरूलाई पनि शैतानले छोड्‌दैन। परमेश्‍वरको वचन बाइबलले हामीलाई यसरी होसियार गराउँछ: “तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ।”—१ पत्रु. ५:८.

४. अहिले परमेश्‍वरका जनहरू शैतानको विरोध गर्न सफल भएका छन्‌ भनी कुन कुराले देखाउँछ?

४ हाम्रो संगठनले यहोवा परमेश्‍वरको समर्थन पाएकोले शैतानको विरोध गर्न हामी सफल हुन्छौं। यो कुरा विचार गर्नुहोस्‌: विगत १०० वर्षमा अत्यन्तै क्रूर केही तानाशाहहरूले यहोवाका साक्षीहरूलाई नामेट पार्न खोजेका छन्‌। तर साक्षीहरूको संख्या वृद्धि बढ्‌दै गएको छ। अहिले संसारभरि एक लाखभन्दा धेरै मण्डलीमा तिनीहरूको संख्या झन्डै ७० लाख पुगेको छ। बरु, यहोवाका जनहरूलाई सताउने निर्दयी तानाशाहहरू पो बिलाएर गएका छन्‌!

५. यहोवाका सेवकहरूको सन्दर्भमा यशैया ५४:१७ कसरी साँचो साबित भएको छ?

५ प्राचीन इस्राएलको मण्डलीलाई उहाँकी “स्त्री” भनी सम्बोधन गर्दै यहोवाले यस्तो वाचा बाँध्नुभयो: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌। योचाहिं परमप्रभुका दासहरूको अधिकार हो, र मद्वारानै तिनीहरूको न्याय स्थापित हुनेछ।” (यशै. ५४:१, १७) यो कुरा, “आखिरी दिन”-भरि सारा संसारमा रहेका यहोवाका जनहरूको सन्दर्भमा साँचो साबित भएको छ। (२ तिमो. ३:१-५, १३) हामी शैतानको विरोध गरिनै रहन्छौं। अनि परमेश्‍वरका जनहरूलाई नामेट पार्न त्यसले जस्तोसुकै हतियार चलाए तापनि त्यो सफल हुने छैन किनभने यहोवा हाम्रो पक्षमा हुनुहुन्छ।—भज. ११८:६, ७.

६. शैतानको शासनको भविष्यबारे दानियलको पुस्तकले के बताउँछ?

६ एकदमै द्रुत गतिमा नजिक आइरहेको यस दुष्ट रीतिरिवाजको अन्तमा शैतानको शासनका सबै पक्षलाई पूरै नामेट पारिनेछ। परमेश्‍वरबाट प्रेरणा पाएर अगमवक्‍ता दानियलले यस्तो भविष्यवाणी लेखे: “ती राजाहरूका समयमा [अर्थात्‌ अहिलेका राजाहरूका समयमा] स्वर्गका परमेश्‍वरले एउटा राज्य [स्वर्गमा] खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै [वर्तमान] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।” (दानि. २:४४) त्यतिबेला शैतानको र असिद्ध मानिसहरूको शासन सबै चक्नाचूर हुनेछ। शैतानको रीतिरिवाजको सबै पक्ष सदाको लागि नामेट हुनेछ र परमेश्‍वरको राज्यले कुनै विरोधविना सारा संसारभरि शासन गर्नेछ।—२ पत्रुस ३:७, १३ पढ्‌नुहोस्‌।

७. यहोवाका प्रत्येक सेवक शैतानको विरोध गर्न सफल हुन सक्छन्‌ भनी हामी कसरी थाह पाउन सक्छौं?

७ यहोवाको संगठन सुरक्षित रहिरहनुका साथै आध्यात्मिक तवरमा फस्टाउनेछ भन्‍नेबारे दुई मत छैन। (भजन १२५:१, २ पढ्‌नुहोस्‌) हामीबारे चाहिं के भन्‍न सकिन्छ नि? बाइबल बताउँछ, येशू जस्तै हामी पनि शैतानको विरोध गर्न सफल हुन सक्छौं। वास्तवमा, ख्रीष्टले प्रेरित यूहन्‍ना मार्फत गर्नुभएको भविष्यवाणीले पार्थिव आशा भएको “ठूलो भीड” शैतानको विरोधको बाबजुद यस रीतिरिवाजको विनाशबाट बच्नेछ भनी देखाउँछ। बाइबलअनुसार तिनीहरू यसो भनेर कराउँछन्‌: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा [अर्थात्‌, येशू ख्रीष्टमा] मुक्‍ति छ।” (प्रका. ७:९-१४) अभिषिक्‍त जनहरू शैतानमाथि विजयी भएको बताइएको छ र तिनीहरूका सँगीहरू अर्थात्‌ “अरू भेडा” पनि शैतानको विरोध गर्न सफल हुन्छन्‌। (यूह. १०:१६; प्रका. १२:१०, ११) तर यसको लागि लगनशील प्रयासको खाँचो पर्छ। साथै “दुष्टबाट छुटाउनुहोस्‌” भनेर इमानदार भई प्रार्थना गर्नु आवश्‍यक छ।—मत्ती ६:१३.

शैतानको विरोध गर्ने सिद्ध उदाहरण

८. शैतानले येशू विरुद्ध उजाडस्थानमा चलाएको सबैभन्दा पहिलो प्रलोभन कुन थियो र ख्रीष्टले के गर्नुभयो?

८ शैतानले येशूको निष्ठा तोड्‌न खोज्यो। उहाँलाई यहोवाप्रति अनाज्ञाकारी बनाउने प्रयासमा शैतानले उजाडस्थानमा विभिन्‍न प्रलोभनहरू देखायो। तर येशूले शैतानको विरोध गर्ने सन्दर्भमा सिद्ध उदाहरण बसाल्नुभयो। चालीस दिन, चालीस रात उपवास बसिसकेपछि निश्‍चय नै उहाँ साह्रै भोकाउनुभएको थियो। त्यतिबेला शैतानले यसो भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुंगाहरू रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।” तर परमेश्‍वरले दिनुभएको शक्‍ति आफ्नो स्वार्थ पूरा गर्न येशूले प्रयोग गर्न मान्‍नुभएन। बरु, उहाँले यसो भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’ ”—मत्ती ४:१-४; व्यव. ८:३.

९. हाम्रो स्वाभाविक इच्छाहरूको नाजायज फाइदा उठाउन खोज्ने शैतानको प्रयासको हामीले किन प्रतिकार गर्नै पर्छ?

९ आज, शैतानले परमेश्‍वरका सेवकहरूको स्वाभाविक इच्छाको नाजायज फाइदा उठाउन खोज्छ। यसकारण हामी यौन प्रलोभनहरूको प्रतिकार गर्न कटिबद्ध हुनै पर्छ जुन प्रलोभन विशेषगरि यस अनैतिक संसारमा सामान्य छ। परमेश्‍वरको वचन बाइबल जोड दिंदै यसो भन्छ: “अधर्मीहरू परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, . . . पुरुषगामीहरू, . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरि. ६:९, १०) त्यसैले स्पष्ट छ, अनैतिक जीवन बिताइरहेका र परिवर्तन गर्न नमान्‍नेहरू परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्न पाउने छैनन्‌।

१०. मत्ती ४:५, ६ अनुसार येशूको निष्ठा तोड्‌न शैतानले अर्को कुन प्रलोभन देखायो?

१० येशूले उजाडस्थानमा सामना गर्नुभएको अर्को प्रलोभनबारे बाइबल यसो भन्छ: “दुष्टात्माले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको गजूरमाथि राख्यो, र उहाँलाई भन्यो, ‘तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्‌, किनभने यस्तो लेखिएको छ, “उहाँले तपाईंको विषयमा दूतहरूलाई खटाउनुहुनेछ, र तिनीहरूले तपाईंलाई हात-हात उचाल्नेछन्‌, नत्रता तपाईंको खुट्टा ढुंगामा बजारिनेछ।” ’ ” (मत्ती ४:५, ६) यसो गर्दा उहाँ नै मसीह हुनुहुन्छ भन्‍ने कुरा सानदार ढंगमा प्रदर्शित हुन्छ भनी शैतानले संकेत गर्दैथियो। तर वास्तवमा यो अनुचित र अहंकारी कार्य हुनेथियो। अनि यसो गर्दा परमेश्‍वरको अनुमोदन र समर्थन पाउने थिएन। येशूले यसपटक पनि यहोवाप्रतिको निष्ठा कायम राख्नुभयो र धर्मशास्त्र उद्धृत गर्दै यस्तो जवाफ दिनुभयो: “फेरि यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्‌।’ ”—मत्ती ४:७; व्यव. ६:१६.

११. शैतानले हामीलाई कसरी प्रलोभनमा पार्न सक्छ र नतिजा के हुन सक्छ?

११ शैतानले हामीलाई विभिन्‍न तरिकामा आफ्नो महिमा खोज्न लोभ्याउन सक्छ। हाम्रो कोरीबाटी र लुगाफाटा संसारको फेसनअनुसार ढाल्न वा ख्रीष्टियानहरूलाई नसुहाउने मनोरञ्जनमा भाग लिन त्यसले उक्साउन सक्छ। तर हामी जानाजानी बाइबलको सल्लाह बेवास्ता गर्छौं र संसारको नकल गर्छौं भने, के त्यसका खराब नतिजाहरूबाट स्वर्गदूतहरूले हामीलाई बचाउने आस गर्न सक्छौं? बेतशेबासँग गरेको पापको लागि राजा दाऊदले पश्‍चात्ताप गरे। तैपनि आफ्नो गलत कार्यको नतिजा तिनले भोग्नै पऱ्‍यो। (२ शमू. १२:९-१२) अनुचित तरिकामा यहोवाको परीक्षा नगरौं—सायद संसारसँग मित्रता गाँसेर।—याकूब ४:४; १ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌।

१२. मत्ती ४:८, ९ मा कुन प्रलोभनबारे बताइएको छ र परमेश्‍वरका पुत्रले कस्तो प्रतिक्रिया देखाउनुभयो?

१२ शैतानले उजाडस्थानमा चलाएको अर्को प्रलोभन थियो, येशूलाई राजनैतिक शक्‍ति दिने प्रस्ताव। त्यसले येशूलाई संसारको सबै राज्य र त्यसको गौरव देखाउँदै यसो भन्यो: “तपाईंले घोप्टेर मलाई दण्डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” (मत्ती ४:८, ९) यहोवाले पाउनुपर्ने उपासना आफूतिर मोड्‌ने र येशूलाई यहोवाप्रति अवफादार साबित गर्ने कस्तो कुटिल प्रयास! उपासना पाउने इच्छा पालिराखेकोले कुनै समय वफादार त्यो स्वर्गदूत पापी, लालची र अत्यन्तै दुष्ट शैतान बन्‍न पुग्यो। (याकू. १:१४, १५) तर त्यसको ठीक विपरीत, येशू स्वर्गमा हुनुहुने आफ्ना पिताप्रति वफादार रहिरहन कटिबद्ध हुनुहुन्थ्यो। त्यसैले उहाँले यसो भन्‍नुभयो: “ए शैतान हटी जा! किनभने यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू, औ उहाँको मात्र सेवा गर्नू।’ ” यसरी येशूले फेरि शैतानको सुस्पष्ट तरिकामा विरोध गर्नुभयो। परमेश्‍वरको पुत्र कुनै तरिकामा पनि संसारको भाग हुन चाहनुहुन्‍न थियो र उहाँले कहिल्यै त्यस दुष्टको उपासना गर्नुहुने थिएन!—मत्ती ४:१०; व्यव. ६:१३; १०:२०.

“शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ”

१३, १४. (क) संसारका सबै राज्यहरू देखाएर शैतानले येशूलाई के दिन खोज्दै थियो? (ख) शैतानले हामीलाई कसरी भ्रष्ट बनाउन खोज्छ?

१३ येशूलाई संसारको सबै राज्य देखाएर मानिसले पहिला कहिल्यै नपाएको शक्‍ति दिने प्रस्ताव शैतानले राख्दै थियो। आफूले देखेको कुरामा येशू लोभिएर संसारकै सबैभन्दा शक्‍तिशाली राजनैतिक नेता बन्‍ने कुरामा उहाँ विश्‍वस्त हुनुहुनेछ भन्‍ने आस त्यसले गरेको थियो। आज शैतानले हामीलाई राज्यहरू दिने प्रस्ताव राख्दैन तर हाम्रो आँखा, कान र मनको नाजायज फाइदा उठाउँदै हाम्रो हृदय भ्रष्ट बनाउन अवश्‍यै खोज्छ।

१४ यो संसार शैतानको अधीनमा छ। त्यसैले संसारको सञ्चार माध्यम पनि त्यसकै मुठीमा छ। यसकारण संसारमा पाइने पढ्‌ने, हेर्ने र सुन्‍ने कुरा अनैतिकता र हिंसाले भरिभराउ हुनु कुनै छक्क लाग्दो कुरा होइन। अनि संसारको विज्ञापनजगत्‌ले हामीलाई चाहिंदै नचाहिने तीनथुप्रो चीजबीज पनि किनुँ-किनुँ बनाइदिन्छ। यसरी शैतानले हाम्रो आँखा, कान र मनलाई लोभ्याउन सक्ने भौतिक आकर्षणहरूद्वारा निरन्तर प्रलोभन देखाइरहन्छ। तर धर्मशास्त्रसित मेल नखाने कुराहरू पढ्‌न, हेर्न र सुन्‍न इन्कार गर्दा हामीले वास्तवमा यसो भनिरहेका हुन्छौं: “ए शैतान हटी जा!” यसरी, शैतानको अशुद्ध संसारलाई दृढ र स्थिर भई इन्कार गर्दा हामीले येशूको अनुकरण गरिरहेका हुन्छौं। वास्तविकता के हो भने काम गर्ने ठाउँ, स्कूल, टोल-छिमेक र नातागोताबीच हामी आफूलाई कतिको निर्भयता साथ यहोवाका साक्षी र ख्रीष्टको अनुयायी भनी चिनाउँछौं त्यसबाट पनि हामी संसारको भाग होइनौं भन्‍ने कुरा देखिन्छ।—मर्कूस ८:३८, NRV पढ्‌नुहोस्‌।

१५. शैतानको विरोध गर्नुको अर्थ हरघडी सजग रहनु हो, किन?

१५ परमेश्‍वरप्रतिको येशूको निष्ठा तोड्‌ने शैतानको तेस्रो प्रयास पनि विफल भएपछि त्यो ‘दुष्टात्मा उहाँलाई छोडेर’ गयो। (मत्ती ४:११) तर यसको मतलब शैतानले येशूलाई प्रलोभनमा पार्ने कोसिस गर्नै छोड्यो भन्‍ने होइन किनभने यसो भनिएको छ: “[दियाबलले] उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोडेर गयो।” (लूका ४:१३, NRV ) हामी शैतानलाई विरोध गर्न सफल भएपछि यहोवालाई धन्यवाद दिनुपर्छ। तर उहाँलाई निरन्तर मदत पनि मागिरहनुपर्छ किनभने शैतान त्यसको अनुकूल समयमा—हुनसक्छ हामीले सोच्दै नसोचेको समयमा—प्रलोभन देखाउन फेरि आउँछ। त्यसकारण हामी हरघडी सजग रहनुपर्छ—जस्तोसुकै परीक्षा आए तापनि यहोवालाई पवित्र सेवा चढाउन निरन्तर तयार भएर।

१६. यहोवाले हामीलाई कुन शक्‍तिशाली शक्‍ति दिनुहुन्छ र यसको लागि हामीले किन प्रार्थना गर्नुपर्छ?

१६ शैतानको विरोध गर्ने प्रयासमा सफल हुन ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ र त्यो शक्‍ति हामीले पाउनेछौं पनि। अनि त्यो शक्‍ति हो—परमेश्‍वरको पवित्र आत्मा। आफ्नै शक्‍तिको भरमा गर्न असम्भव कुराहरू पवित्र आत्माको मदतले हामी गर्न सक्नेछौं। परमेश्‍वरको आत्मा पाउन सकिने कुराबारे येशूले आफ्ना अनुयायीहरूलाई यसरी आश्‍वासन दिनुभयो: “तिमीहरू [असिद्ध र तुलनात्मक रूपमा] दुष्ट भइकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) पवित्र आत्माको लागि यहोवालाई प्रार्थना गर्न नछोडौं। शैतानको विरोध गर्ने हाम्रो अठोटमा सबैभन्दा शक्‍तिशाली शक्‍तिको समर्थन पाएर हामी पक्कै विजयी हुनेछौं। “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुन” नियमित र व्यग्र प्रार्थनाको अलावा हामीले परमेश्‍वरबाट पाएको सारा आध्यात्मिक हतियार पनि धारण गर्नुपर्छ।—एफि. ६:११-१८.

१७. कस्तो आनन्दले येशूलाई शैतानको विरोध गर्न मदत गऱ्‍यो?

१७ शैतानको विरोध गर्न येशूलाई अर्को कुराले पनि मदत गऱ्‍यो र यसले हामीलाई पनि मदत गर्न सक्छ। बाइबल भन्छ: “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको [अर्थात्‌, “शासनाको खम्बामा,” NW] शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) यहोवाको सार्वभौमिकता उच्च पारेर, उहाँको पवित्र नाउँको आदर गरेर र अनन्त जीवनको इनामलाई आफ्नो सामु राखिराखेर हामीले पनि त्यस्तै आनन्द पाउन सक्छौं। शैतान अनि त्यसका सबै कामहरू सदाको लागि नामेट भएर ‘नम्रहरूले देश अधिकार गर्ने र प्रशस्त शान्तिमा आफै खुशी मनाउने’ समय आउँदा हामी कत्ति खुसी हुनेछौं! (भज. ३७:११) त्यसैले येशूले जस्तै शैतानको विरोध गरिरहनुहोस्‌।—याकूब ४:७, ८ पढ्‌नुहोस्‌। (w 08 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाले आफ्ना जनहरूलाई जोगाउनुहुन्छ भन्‍ने कस्तो प्रमाण छ?

• शैतानको विरोध गर्ने सन्दर्भमा येशूले कसरी उदाहरण बसाल्नुभयो?

• कुन-कुन तरिकामा तपाईं शैतानको विरोध गर्न सक्नुहुन्छ?

[पृष्ठ २९-मा भएको चित्र]

संसारको सबै राज्य दिने शैतानको प्रस्तावलाई येशूले इन्कार गर्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने