यहोवा—गोप्य कुरा प्रकट गर्नुहुने परमेश्वर
“स्वर्गमा एक जना परमेश्वर हुनुहुन्छ, जसले गोप्य कुराहरू प्रकट गर्नुहुन्छ।”—दानियल २:२८, NW.
१, २. (क) यहोवा आफ्नो परमशत्रु शैतानभन्दा कसरी भिन्न हुनुहुन्छ? (ख) मानिसहरूले यो भिन्नता कसरी प्रतिबिम्बित गरेका छन्?
ब्रह्माण्डको सर्वोच्च, मायालु अनि एक मात्र सृष्टिकर्ता, बुद्धि एवं न्यायको परमेश्वर हुनुहुन्छ। उहाँ आफ्नो परिचय, काम अनि उद्देश्य सबै कुरा बताउनुहुन्छ। उहाँलाई ती लुकाउनुपर्ने जरुरी छैन। आफ्नो समयमा आफ्नो विवेक चलाउनुभएर उहाँले आफैलाई प्रकट गर्नुहुन्छ। यस कुरामा उहाँ आफ्ना शत्रु शैतान अर्थात् दियाबलभन्दा भिन्न हुनुहुन्छ। किनकि शैतान आफ्नो साँचो परिचय अनि मनसाय लुकाउन खोज्छ।
२ यहोवा र शैतान विपरीत भएजस्तै यहोवा अनि शैतानका उपासकहरू पनि विपरीत छन्। शैतानपछि लाग्नेहरू छल र कपटले भरिएका हुन्छन्। तिनीहरू देख्न त असलै देखी टोपल्छन् तर भित्रभित्रै अन्धकारका कामहरू गरिरहेका हुन्छन्। कोरिन्थका मसीहीहरूलाई यो कुरा जानेर छक्क नपर्नू भनिएको थियो। “किनभने त्यस्ता मानिसहरू झूटा प्रेरित, छल काम गर्ने, ख्रीष्टका प्रेरितहरूको भेषमा आफूलाई परिवर्त्तन गर्नेहरू हुन्। औ यो केही अचम्म होइन, किनकि शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ।” (२ कोरिन्थी ११:१३, १४) अर्कोतर्फ मसीहीहरू ख्रीष्टलाई आफ्नो नेताको रूपमा हेर्छन्। यस पृथ्वीमा हुनुहुँदा उहाँले आफ्नो पिता यहोवा परमेश्वरको व्यक्तित्व हुबहु झल्काउनुभयो। (हिब्रू १:१-३) अतः ख्रीष्टको अनुसरण गरेर मसीहीहरू सत्यता, निष्कपटता अनि ज्योतिको परमेश्वरको अनुकरण गर्छन्। तिनीहरूले पनि आफ्नो परिचय, काम वा आफ्ना उद्देश्यहरू लुकाउनुपर्ने जरुरी छैन।—एफिसी ४:१७-१९; ५:१, २.
३. यहोवाका साक्षी बन्ने जति करकापमा परेर “गोप्य गुटमा” भर्ती भएका हुन् भनेर आरोप लगाउनेहरूको खण्डन कसरी गर्नसक्छौं?
३ कहिलेकाहीं आफूलाई उपयुक्त लागेको बेला यहोवा आफ्ना उद्देश्यहरू अनि मानिसजातिलाई थाह नभएका भावी कुराहरू सविवरण बताउनुहुन्छ। यस अर्थमा उहाँ गोप्य कुराहरू प्रकट गर्नुहुने परमेश्वर हुनुहुन्छ। अतः जो जो उहाँको सेवा गर्न चाहन्छन्, तिनीहरूलाई उहाँले प्रकट गर्नुभएका जानकारीहरू सिक्ने निमन्त्रणा दिनुका साथै आग्रह पनि गरिन्छ। सन् १९९४ मा एक युरोपेली मुलुकका १,४५,००० साक्षीहरूको सर्वेक्षण लिंदा तिनीहरूमध्ये सबैजसोले सालाखाला तीन वर्षसम्म यहोवाका साक्षीहरूका शिक्षाहरू व्यक्तिगत तवरमा जाँचेपछि मात्र आफू साक्षी बनेको उल्लेख गरे। तिनीहरूले कसैको करकापमा परेर निर्णय गरेका थिएनन्। बरु सम्झी बुझी आफ्नै इच्छाले साक्षी बन्ने निर्णय गरेका थिए। साक्षी बनेपछि पनि कसैको करकापमा तिनीहरू साक्षी भइरहनुपर्ने जरुरत छैन। उदाहरणका लागि, मसीहीहरूले पालन गर्नुपर्ने उच्चस्तरीय नैतिक नियमहरू चित्त नबुझेर केही व्यक्तिहरूले पछि साक्षी भएर नबस्ने निर्णय गरेका छन्। तथापि, चाखलाग्दो कुरा के छ भने, साक्षी हुन छाडिसकेका थुप्रै मानिसहरूले गत पाँच वर्षमा साक्षीहरूसँग फेरि संगत गरेर साक्षीहरूले गर्नुपर्ने काम गरेका छन्।
४. विश्वासी मसीहीहरू कुन कुरादेखि विचलित हुनु आवश्यक छैन र किन?
४ निस्सन्देह, पहिले साक्षी भइसकेका सबै जना फर्केर आउँदैनन् र यसरी फर्केर नआउनेमा तिनीहरू पनि पर्छन्, जो कुनै समय मसीही मण्डलीका जिम्मेवारीपूर्ण पदहरू सँभाल्थे। तथापि, यो कुरा सुनेर हामी छक्क पर्नु पर्ने जरुरत छैन किनभने येशूका घनिष्ठ अनुयायीहरूमध्ये एक, प्रेरित यहूदासमेतले धोका दिएका थिए। (मत्ती २६:१४-१६, २०-२५) तर के यो मसीहीधर्मदेखि विचलित हुनुपर्ने कारण हो त? यहोवाका साक्षीहरूले आफ्नो शैक्षिक अभियानमा पाइरहेको सफलतालाई के यसले नाकाम साबित गर्छ? गर्दैन। धोकेबाज यहूदा इस्करयोतीले यहोवाका उद्देश्यहरूलाई रोक्न नसकेझैं, यस्ता कुराहरूले उहाँको उद्देश्यमा बाधा पुऱ्याउन सक्दैन।
सर्वशक्तिमान् तर मायालु
५. यहोवा तथा येशू दुवैले मानिसहरूलाई प्रेम गर्नुहुन्छ भनेर हामी कसरी भन्नसक्छौं र उहाँहरूले कसरी आफ्नो प्रेम प्रदर्शन गर्नुभएको छ?
५ यहोवा प्रेमको परमेश्वर हुनुहुन्छ। उहाँ मानिसहरूको ख्याल राख्नुहुन्छ। (१ यूहन्ना ४:७-११) महान् भइकन पनि उहाँ मानिसहरूलाई आफ्नो मित्र बनाउन रुचाउनुहुन्छ। उहाँको एक पुरातन सेवकबारे हामी यस्तो लेखिएको पाउँछौं: “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो, र उनी परमेश्वरका मित्र कहलिए।” (याकूब २:२३; २ इतिहास २०:७; यशैया ४१:८) मानव मित्रहरूले एकअर्कासित गोप्य कुराहरू बाँडेझैं यहोवा पनि आफ्ना मित्रहरूसित गोप्य कुराहरू बाँड्नुहुन्छ। यस पक्षमा हामी येशूले आफ्नो पिताको अनुकरण गर्नुभयो भन्नसक्छौं। किनभने उहाँले आफ्ना चेलाहरूलाई मित्र बनाउनुभयो र गोप्य कुराहरू बाँड्नुभयो। उहाँले भन्नुभयो, “अबदेखि म तिमीहरूलाई दास भन्दिनँ, किनकि दासले त्यसका मालिकले के गर्दछ जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले तिमीहरूलाई सबै थाह दिएको छु।” (यूहन्ना १५:१५) यहोवा, पुत्र येशू र उहाँहरू दुवैका मित्रहरूले जानेका खास अथवा “गोप्य कुरा[ले]” सबैलाई प्रेम र भक्तिको अटुट बन्धनमा बाँध्छ।—कलस्सी ३:१४.
६. यहोवाले आफ्ना मनसायहरू लुकाउनुपर्ने जरुरत किन छैन?
६ यहोवा नाउँको अर्थ नै “उहाँ बन्नुहुन्छ” भएकोले उहाँ आफ्नो उद्देश्य पूरा गर्न आवश्यकतानुसार जे पनि बन्नुहुन्छ भन्ने संकेत त्यसले गर्छ। मानिसहरूजस्तो अरूले आफ्नो मनसाय थाह पाउलान्, टाँग अडाउलान् भनेर डराउँदै यहोवा आफ्ना मनसायहरू लुकाउनुहुन्न। उहाँ कुनै हालतमा पनि असफल हुनुहुन्न। अतः आफूले ठान्नुभएका कामहरू आफ्नो वचन बाइबलमा उहाँले प्रस्टै लेख्नुभएको छ। उहाँ यस्तो प्रतिज्ञासमेत गर्नुहुन्छ: “मेरो मुखबाट निस्कने मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.
७. (क) यहोवाले अदनको बगैंचामा के अगमवाणी गर्नुभयो र शैतानले कसरी परमेश्वर साँचो हुनुहुन्छ भनेर प्रमाणित गरे? (ख) दोस्रो कोरिन्थी १३:८ को सिद्धान्त कसरी सधैं सत्य साबित हुन्छ?
७ अदनको बगैंचामा सुरु भएको विद्रोहलाई नै लिऊँ। आफ्नो शत्रु शैतानसित बढ्दै गएको विवादले अन्ततः कहाँ पुऱ्याउनेछ भनेर यहोवाले उत्तिनैखेर सविवरण प्रकट गर्नुभयो। परमेश्वरले प्रतिज्ञा गर्नुभएको वंशलाई पीडाजनक चोट पुगे पनि त्यसले घात भने गर्न सक्नेछैन तर शैतानलाई अन्ततः पूरै खतम पारिनेछ भनेर यहोवाले बताउनुभयो। (उत्पत्ति ३:१५) सा.यु. ३३ मा वंश अर्थात् ख्रीष्ट येशूको प्राण लिएर शैतानले साँच्चै उहाँलाई पीडाजनक चोट पुऱ्यायो। यसप्रकार शैतानले उल्टो धर्मशास्त्रको वचन पूरा गऱ्यो र फलतः यहोवा साँच्चै सत्यको परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गऱ्यो। यद्यपि, शैतानले त्यसो होस् भनेर कहिल्यै चाहेको थिएन। सत्य र धार्मिकताप्रतिको घृणाका साथै घमन्डी अनि अपश्चात्तापी मनोवृत्तिले गर्दा शैतान त्यही काम गर्न पुग्यो, जुन काम त्यसले गर्नेछ भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो। हो, शैतानले नकार्न नसकेझैं सत्यको कुनै पनि विरोधीले यो कुरा नकार्न सक्दैन: “हामी सत्यको विरुद्धमा केही गर्नसक्तैनौं, केवल सत्यको निम्ति मात्र।”—२ कोरिन्थी १३:८.
८, ९. (क) शैतानलाई के थाह छ र त्यसलाई त्यो थाह हुँदैमा के यहोवाका उद्देश्यहरूमा बाधा पुग्छ? (ख) यहोवाका विरोधीहरू कुन सुस्पष्ट चेताउनीको वास्ता गर्दैनन् र किन?
८ सन् १९१४ मा परमेश्वरको राज्य अदृश्य रूपमा स्थापित भइसकेको हुँदा अहिले प्रकाश १२:१२ मा उल्लिखित निम्न शब्दहरू लागू हुन्छन्: “हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” तर के आफ्नो समय छोटो रहेछ भनेर थाह पाएपछि शैतानले मन फिराउला त? शैतानले साँच्चै त्यसो गरेमा यहोवा सत्यको परमेश्वर हुनुका साथै सर्वोच्च शासक र उपासना गर्न योग्य एक मात्र व्यक्ति हुनुहुन्छ भनेर त्यसले मानिलिएको ठहर्नेछ। तथापि, शैतान यहोवाको विषयमा सबै कुरा जान्दाजान्दै पनि हार मान्न तयार छैन।
९ येशू ख्रीष्ट शैतानको सांसारिक रीतिरिवाजलाई दण्ड दिन आउनुहुँदा के हुनेछ, यहोवाले त्यो पनि खुलाउनुभएको छ। (मत्ती २४:२९-३१; २५:३१-४६) यसै सन्दर्भमा उहाँको वचन सांसारिक शासकहरूबारे यस्तो घोषणा गर्छ: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” (१ थिस्सलोनिकी ५:३) शैतानको पछि लाग्नेहरू यो सुस्पष्ट चेताउनी सुन्दा सुन्दै पनि टेरपुच्छर लगाउँदैनन्। आफ्नो दुष्ट हृदयले गर्दा तिनीहरू अन्धा भएका छन्। अतः तिनीहरू न आफ्नो दुष्ट कामहरूको पश्चात्ताप गर्नसक्छन् नता यहोवाका उद्देश्यहरू असफल पार्ने योजना र रणनीतिहरूलाई परिवर्तन गर्नसक्छन्।
१०. (क) पहिलो थिस्सलोनिकी ५:३ कुन हदसम्म पूरा भएको हुनसक्छ तर यहोवाका जनहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्ने हो? (ख) विश्वास नहुनेहरू भविष्यमा झन् झन् आक्रमक हुँदै किन परमेश्वरका जनहरूको विरोध गर्नेछन्?
१० संयुक्त राष्ट्र संघले सन् १९८६ लाई अन्तरराष्ट्रिय शान्ति वर्ष घोषणा गरेदेखि यो संसारमा शान्ति र सुरक्षाका निकै होहल्ला सुनिन्छन्। विश्वशान्ति ल्याउन मानिसहरूले ठोस कदमहरू चाले र केही हदसम्म सफल भए जस्तो पनि देखियो। के भविष्यवाणीको पूर्ति यति नै हो त वा भविष्यमा कुनै अनौठो घोषणा हुने हामी आशा गर्नसक्छौं? यहोवाले आफ्नो समयमा त्यो प्रस्ट पार्नुहुनेछ। तर त्यतिञ्जेल हामी चाहिं आध्यात्मिक तवरमा जागा रहौं र “परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ” पर्खौं। (२ पत्रुस ३:१२) समयसँगसँगै शान्ति र सुरक्षाको कुरा बढ्दै जाँदा यो चेताउनी थाह हुँदाहुँदै पनि इन्कार गर्ने कसै कसैले यहोवाले आफ्नो वचन पूरा गर्नुहुन्न वा गर्न सक्नुहुन्न भनेर झन् लल्कार्लान्। (तुलना गर्नुहोस्, उपदेशक ८:११-१३; २ पत्रुस ३:३, ४) तर साँचो मसीहीहरूलाई थाह छ कि यहोवाले आफ्नो उद्देश्य जरुर पूरा गर्नुहुनेछ।
यहोवाले चलाउनुहुने माध्यमको उचित कदर
११. दानियल र यूसुफले यहोवाबारे के सिके?
११ एक पटक नवविश्वशक्ति बाबेलको साम्राज्यका शासक राजा नबूकदनेसर आफूले देखेको सपनाले गर्दा विचलित भएका थिए र सपना के हो, त्यो पनि सम्झन सकेका थिएनन्। तिनले मदत मागे। तर तिनका पूजाहारी, जादुगर, विजुवाहरूले नता सपना बताउन सके न त्यसको अर्थै। तथापि, परमेश्वरको सेवक दानियलले सपना बताउनुका साथै अर्थ पनि खोल्न सके। यद्यपि, आफ्नै बुद्धिको भरमा त्यसो गर्न सकेको होइन भनी तिनले स्वेच्छापूर्वक स्वीकारे। दानियलले भने: “स्वर्गमा एक ईश्वर हुनुहुन्छ, औ अन्तका दिनमा के के हुनेछन् सो उहाँलेनै महाराज नबूकदनेसरलाई बताइदिनु भएको छ।” (दानियल २:१-३०) यो घटना हुनुभन्दा निकै शताब्दीअघि परमेश्वरका अर्को अगमवक्ता यहोशूले पनि यहोवा गोप्य कुराहरू प्रकट गर्नुहुने परमेश्वर हुनुहुन्छ भनेर अनुभव गरेका थिए।—उत्पत्ति ४०:८-२२; आमोस ३:७, ८.
१२, १३. (क) परमेश्वरको महान् अगमवक्ता को हुनुहुन्थ्यो र तपाईं किन त्यसो भन्नुहुन्छ? (ख) कसले आज “विश्वासी र बुद्धिमान दास[को]” रूपमा सेवा गरिरहेको छ र हामीले तिनीहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?
१२ पृथ्वीमा सेवा गर्ने यहोवाका अगमवक्ताहरूमध्ये सबैभन्दा महान् येशू हुनुहुन्थ्यो। (प्रेरित ३:१९-२४) पावलले वर्णन गरे: “पूरानो समयमा परमेश्वर पितापुर्खाहरूसँग कैयौं भाग भाग र कैयौं रीतिले अगमवक्ताद्वारा बोल्नुभयो, औ यी दिनका अन्तमा आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराका हकदार नियुक्त गर्नुभयो, जसद्वारा उहाँले जगत्हरू पनि बनाउनुभयो।”—हिब्रू १:१, २.
१३ आफ्नो पुत्र येशूद्वारा यहोवाले प्रारम्भिक मसीहीहरूसँग कुरा गर्नुभयो। येशूले ती प्रारम्भिक मसीहीहरूलाई ईश्वरीय गोप्य कुराहरू बताउनुभयो। उहाँले यसो भन्नुभयो: “तिमीहरूलाई ता परमेश्वरको राज्यको भेद जान्न दिइएको छ।” (लूका ८:१०) त्यसैकारण पछि पावलले मसीहीहरूलाई “ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यका कारिन्दाहरू” भनी सम्बोधन गरे। (१ कोरिन्थी ४:१) आज, अभिषिक्त मसीहीहरू त्यही हैसियतमा सेवा गर्दैछन्। विश्वासी र बुद्धिमान् दासको रूपमा तिनीहरूले आफ्नो परिचालक निकायद्वारा ठीक ठीक समयमा आध्यात्मिक आहार बाँडिरहेका छन्। (मत्ती २४:४५-४७) विगतका ईश्वर प्रेरित अगमवक्ताहरू र अझ तिनीहरूमध्ये परमेश्वरको पुत्रको अति आदर गर्छौं भने, यस डरलाग्दो संसारमा हामीलाई नभई नहुने बाइबलका जानकारीहरू प्रकट गर्न यहोवाले चलाउनुभइरहेको मानव माध्यमको त्यत्तिकै आदर गर्नुपर्दैन र?—२ तिमोथी ३:१-५, १३.
पर्दाफास वा गोप्य
१४. मसीहीहरूले कहिले गोप्य रूपमा काम गर्छन् र त्यसो गरेर कसको अनुकरण गरिरहेका हुन्छन्?
१४ यहोवाले गोप्य कुराहरू पर्दाफास गर्नुहुन्छ भन्नुको अर्थ के मसीहीहरूले कुनै कुरा कहिल्यै लुकाउनु हुँदैन भनेको हो? यस सन्दर्भमा यो कुरा सम्झनु बेस होला, मसीहीहरू येशूले आफ्ना प्रेरितहरूलाई भन्नुभएअनुसार “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” भएर चल्छन्। (मत्ती १०:१६) आफ्नो अन्तस्करण विरुद्ध कसैले परमेश्वरको उपासना गर्न रोक लगाउँदा मसीहीहरू ‘परमेश्वरको आज्ञा मान्न’ छाड्दैनन्। किनकि यहोवाको उपासना गर्ने हक खोस्ने अधिकार कुनै मानव माध्यमको छैन भनी तिनीहरूले बुझेका छन्। (प्रेरित ५:२९) र त्यसो गर्नु ठीक छ भनेर स्वयं येशूले पनि देखाउनुभयो। हामी यस्तो लेखिएको पाउँछौं: “यी कुरापछि येशू गालीलमानै घुमफिर गर्नुभयो, तर उहाँले यहूदियामा घुमफिर गर्ने इच्छा गर्नुभएन, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजेका थिए। अब यहूदीहरूको डेराबासको चाड़ नजीकै थियो। यसकारण येशूले तिनीहरूलाई [विश्वास नभएका आफ्ना झड्केला भाइहरूलाई] भन्नुभयो, . . . ‘तिमीहरू यस चाड़मा जाओ, म यस चाड़मा जान्नँ, किनभने मेरो बेला अझ पूरा भएको छैन।’ अनि तिनीहरूलाई यी कुरा भनेर उहाँ गालीलमै रहनुभयो। तर जब उहाँका भाइहरू चाड़मा माथि गए, तब उहाँ पनि प्रकट गरी होइन, तर गुप्तमा जानुभयो।”—यूहन्ना ७:१, २, ६, ८-१०.
भन्ने कि नभन्ने?
१५. गोप्य राख्नु कहिलेकाहीं मायालु कुरा हो भनेर यूसुफले कसरी देखाए?
१५ कहिलेकाहीं कुनै कुनै कुरा गोप्य राख्नु बुद्धिमानी मात्र नभई मायालु कुरा पनि हो। उदाहरणका लागि, येशूको धर्मपिता यूसुफले आफ्नो मंगेतर, मरियम गर्भवती भएकी थिइन् भनेर थाह पाउँदा के गरे? त्यसको जवाफ हामी यसरी लेखिएको पाउँछौं: “तर तिनका पति यूसुफ धार्मिक मानिस भएका हुनाले, तिनलाई खुल्लमखुल्ला दोष दिने मन नगरी गुप्तमै त्याग्ने इच्छा गरे।” (मत्ती १:१८, १९) कल्पना गर्नुहोस्, यूसुफले खुलेआम मरियमलाई त्यागेको भए कत्ति निष्ठुर काम हुनेथियो!
१६. गोप्य कुराहरू गोप्य राख्ने सन्दर्भमा प्राचीनहरूका साथै मण्डलीका सदस्यहरूको के जिम्मेवारी छ?
१६ अरूलाई अप्ठ्यारो स्थितिमा पार्न सक्ने वा चित्त दुखाउनसक्ने गोप्य कुराहरू सम्बन्धित व्यक्तिलाई बाहेक अरूलाई नबताउनु राम्रो हो। सँगी मसीहीलाई व्यक्तिगत सल्लाह वा सान्त्वना दिंदा र यहोवाको विरुद्धमा गम्भीर पाप गरेको हुनाले अनुशासन दिनुपर्दा समेत मसीही प्राचीनहरू यो कुराको ख्याल राख्छन्। धर्मशास्त्रको आधारमा त्यस्ता समस्याहरू समाधान गर्नु आवश्यक छ। तर गोप्य कुराहरू अरूलाई बताउनु अनावश्यक मात्र होइन निर्दयी कुरा पनि हो। निस्सन्देह, मसीही मण्डलीका सदस्यहरू प्राचीनहरूको मुखबाट गोप्य कुराहरू फुत्काउन खोज्दैनन् बरु प्राचीनहरूले गोप्य कुरा गोप्यै राख्नु जरुरी छ भनी सम्झेर गोपनीयताको कदर गर्नेछन्। गोपनीयताकै सन्दर्भमा हितोपदेश २५:९ यसो भन्छ: “तेरो छिमेकीसितको झगड़ा तँ आफै छलफल गर्, तर अरू मानिसको गुप्त [ “कुरा कहिल्यै प्रकट नगर।” NW]।”
१७. मसीहीहरू गोप्य कुराहरूलाई प्रायः किन गोप्य राख्छन् तर कुनै कुनै कुरा भने किन गोप्य राख्दैनन्?
१७ पारिवारिक दायरा वा साथीहरूबीच पनि यही सिद्धान्त लागू हुन्छ। गलतफहमी हुन नदिन र सम्बन्ध बिग्रन नदिन कुनै कुनै कुरा गोप्य राख्नु अति नै आवश्यक छ। “उत्तरी बतासले वृष्टि ल्याएझैं निन्दाले [“अर्काको गोप्य कुरा खोल्नेले,” NW] क्रोध जन्माउँछ।” (हितोपदेश २५:२३) निस्सन्देह, यहोवा र उहाँका धार्मिक सिद्धान्तहरूप्रति वफादार रहनुका साथै गलत काम गर्ने व्यक्तिप्रतिको प्रेमको खातिर कहिलेकाहीं आमाबाबु, मसीही प्राचीन वा सम्बन्धित व्यक्तिलाई गोप्य कुराहरू बताउनु आवश्यक पर्नसक्छ।a तर सधैं त्यस्तो स्थिति आउँदैन। अतः मसीहीहरूले आफ्नो गोप्य कुरा गोप्य राखेजस्तै अरूको कुरा पनि गोप्य राख्नुपर्छ।
१८. कुन कुरा भन्ने वा कुन नभन्ने, यस सन्दर्भमा कुन तीन मसीही गुनहरूले हामीलाई निर्णय गर्न मदत गर्छ?
१८ सारांशमा भन्ने हो भने, मसीहीहरू यहोवाको अनुकरण गर्दै गोप्य राख्न आवश्यक कुराहरूलाई गोप्य राख्छन् र उपयुक्त भएमा मात्र प्रकट गर्छन्। कुनै कुरा गोप्य राख्ने वा नराख्ने सन्दर्भमा निर्णय गर्नुपरेमा तिनीहरू विनम्रता, विश्वास र प्रेम चलाउँछन्। किनकि विनम्रताले आफ्नो बढाइचढाइ गरेर आफूलाई थाह भएजति सबै कुरा बताएर अरूलाई प्रभावित पार्न वा भन्न नहुने गोप्य कुरा बताएर अरूलाई सकसक पार्नदेखि रोक्छ। यहोवाको वचन अनि मसीही मण्डलीमाथिको विश्वासले उसलाई ईश्वरप्रदत्त बाइबलीय जानकारीहरू प्रचार गर्न उत्प्रेरित गर्छ भने, अरूलाई चिढ्याउने कुराहरू भन्नदेखि होशियार बनाउँछ। हो, अनि प्रेमले तिनलाई परमेश्वरको महिमा हुने कुरा बोल्न र जीवन प्राप्त गर्न अरू मानिसहरूले जान्नुपर्ने कुरा बताउन उत्प्रेरित गर्छ। अर्कोतर्फ व्यक्तिगत गोप्य कुराहरूलाई उसले प्रकट गर्दैन। किनकि प्रायजसो स्थितिमा गोप्य कुरा प्रकट नगर्नु नै प्रेम देखाउनु हो भनेर उसले बुझेको हुन्छ।
१९. कुन कुराले साँचो मसीहीहरू चिन्न मदत गर्छ र त्यसको नतिजा के हुन्छ?
१९ यस्तो सन्तुलित दृष्टिकोणले साँचो मसीहीहरू चिन्न मदत गर्छ। तिनीहरू बेनामी मुखौटा लगाइदिएर वा रहस्यमय, कसैले वर्णन गर्न नसक्ने त्रिएक सिद्धान्त चलाएर परमेश्वरको परिचय लुकाउन खोज्दैनन्। नाउँ, परिचय केही नहुने ईश्वर, झूटा धर्मको मात्र हुन्छ, साँचोको होइन। (प्रेरित १७:२२, २३ हेर्नुहोस्।) यहोवाका अभिषिक्त साक्षीहरू “परमेश्वरका रहस्यका कारिन्दाहरू” हुन पाएकोमा गर्व गर्छन्। यस्ता गोप्य कुराहरू अरूलाई खुलेआम बताएर तिनीहरू इमानदार हृदय हुने मानिसहरूलाई परमेश्वरसितको मित्रता खोज्न मदत गर्छन्।—१ कोरिन्थी ४:१, १४:२२-२५; जकरिया ८:२३; मलाकी ३:१८.
[फुटनोट]
a हेर्नुहोस् प्रहरीधरहरा (अंग्रेजी), नोभेम्बर १५, १९८५ “अरूको पापको भागीदार नहुनुहोस्।”
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ यहोवाले आफ्ना मनसायहरू लुकाउनुपर्ने जरुरत किन छैन?
◻ यहोवाले कसलाई आफ्ना गोप्य कुराहरू बताउनुहुन्छ?
◻ गोप्य कुराहरूको सन्दर्भमा मसीहीहरूको के जिम्मेवारी छ?
◻ कुन तीन गुनहरूले मसीहीहरूलाई कुन कुरा भन्ने कुन नभन्ने छुटाउन मदत गर्छ?
[पृष्ठ ८,९-मा भएको चित्र]
यहोवाले आफ्नो वचनद्वारा गोप्य कुराहरू प्रकट गर्नुहुन्छ