प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 २/१ pp. ७-१२
  • ईश्‍वरीय शिक्षा विजयी हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय शिक्षा विजयी हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बुद्धिको खोज
  • यहोवाको महान पाठ्यपुस्तक
  • प्रगतिशील समझ
  • परमेश्‍वरको अद्‌भुत ज्योतितर्फ
  • आत्मा अनि सत्यतामा पुज्नु
  • परीक्षा तथा संसारमाथि विजय
  • ईश्‍वरीय शिक्षाका फाइदाहरूको आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • ईश्‍वरीय शिक्षाको जोरदार प्रभाव
    हाम्रो राज्य सेवकाई—१९९४
  • “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • आजसम्म यहोवाबाट शिक्षा पाउनेहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 २/१ pp. ७-१२

ईश्‍वरीय शिक्षा विजयी हुन्छ

“तिमीहरूको आँखाले तिमीहरूका गुरुलाई देख्नेछ। तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’”—यशैया ३०:२०, २१.

१. यहोवाको निर्देशनलाई किन औचित्यका साथ ईश्‍वरीय शिक्षा भन्‍न मिल्छ?

मानिसले पाउन सक्ने सर्वोत्तम शिक्षाको श्रोत यहोवा नै हुनुहुन्छ। विशेषगरि आफ्नो पवित्र वचनद्वारा बोल्नु हुँदा हामीले सुन्‍ने गऱ्‍यौं भने, उहाँ हाम्रो महान शिक्षक हुनुहुनेछ। (यशैया ३०:२०) बाइबलको हिब्रू शास्त्रमा उहाँलाई “ईश्‍वरीय जन” पनि भनिएको छ। (भजनसंग्रह ५०:१ न्यु व०) अतः यहोवाको शिक्षा ईश्‍वरीय शिक्षा हो।

२. कुन अर्थमा परमेश्‍वर मात्र बुद्धिमान हुनुहुन्छ?

२ यो संसार आफ्नो थुप्रै शैक्षिक संस्थानहरूको गर्व गर्छ। तर तीमध्ये कुनैले पनि ईश्‍वरीय शिक्षा प्रदान गर्दैन। यहोवाको असीमित बुद्धिमा आधारित ईश्‍वरीय शिक्षाको तुलनामा संसारले युगौंदेखि थुपारेको बुद्धि पानीको थोपो जस्तो मात्र छ। रोमी १६:२७ भन्छ, परमेश्‍वर मात्र बुद्धिमान हुनुहुन्छ। अनि यो कुरा साँचो पनि हो किनभने सम्पूर्ण बुद्धि यहोवामा नै निहित छ।

३. येशू ख्रीष्ट किन यस पृथ्वीको महान शिक्षक हुनुहुन्छ?

३ परमेश्‍वरको पुत्र, येशू बुद्धिको अनुपम आदर्श अनि पृथ्वीको सबैभन्दा महान शिक्षक पनि हुनुहुन्छ। नहोस्‌ पनि कसरी? किनभने युगानुयुगदेखि स्वर्गमा येशूको शिक्षक यहोवा नै हुनुहुन्थ्यो। भनौं भने परमेश्‍वरले आफ्नो प्रथम सृष्टि, आफ्नो एक मात्र पुत्रलाई उपदेश दिन थाल्नु भएदेखि नै ईश्‍वरीय शिक्षा सुरु भएको हो। त्यसैकारण येशूले यसो भन्‍न सक्नु भयो: “जसो पिताले मलाई सिकाउनु भयो तिनै कुरा बोल्दछु।” (यूहन्‍ना ८:२८; हितोपदेश ८:२२, ३०) बाइबलमा लिखित येशूका वाणीहरूले ईश्‍वरीय शिक्षासम्बन्धी हाम्रो ज्ञान बढाउँछ। येशूले सिकाउनु भएका कुराहरूलाई सिकाएर अभिषिक्‍त मसीहीहरूले महान शिक्षकको आज्ञा पालन गर्छन्‌। अनि महान शिक्षकको इच्छा मण्डलीभरि “परमेश्‍वरका नानाप्रकारका ज्ञान”-को प्रचार गर्नु हो।—एफिसी ३:१०, ११; ५:१; लूका ६:४०.

बुद्धिको खोज

४. मस्तिष्कको क्षमताबारे के भनिएको छ?

४ साँचो बुद्धि हासिल गर्न हाम्रो ईश्‍वर-प्रदत्त सोच्ने क्षमतालाई लगनशीलताका साथ प्रयोग गर्नु आवश्‍यक छ। यो सम्भव पनि छ किनभने मानवीय मस्तिष्कको कार्यक्षमता धेरै विस्तृत छ। द इनक्रेडिबल मशीन भन्‍ने पुस्तक यसो भन्छ: “मानवीय मस्तिष्कको लगभग असीमित जटिलता, कार्यकुशलता र त्यसका विद्युतीय रसायनिक सङ्‌केत प्रणालीको सामुन्‍ने हामीले कल्पना गर्न सक्ने सबैभन्दा आधुनिक कम्प्युटर पनि साधारण देखिन्छ। . . . हर समय हाम्रो मस्तिष्क भित्र लाखौं सङ्‌केतहरू द्वारा अनगिन्ती जानकारीहरूको ओसार-पसार भइरहेको हुन्छ। ती सङ्‌केतहरूले तपाईंको शरीर भित्र अनि बाहिरका वातावरणबारे समाचार दिने गर्छन्‌। उदाहरणका लागि ती सङ्‌केतहरूले तपाईंको खुट्टाको औंला बाउँडिएको, कफीको मगमग बास्ना अथवा साथीको हाँस उठ्‌दो टिप्पणीबारे खबर दिन्छन्‌। अन्य सङ्‌केतहरूले जानकारीको छानबिन तथा विश्‍लेषण गर्दा विशेष प्रकारको भावना, स्मृति, सोचविचार वा आयोजनाहरूको सृजना गर्छ र एउटा निश्‍चित निर्णयमा पुऱ्‍याउँछ। त्यसपछि तुरुन्तै तपाईंका मस्तिष्कका सङ्‌केतहरूले तपाईंको शरीरका अन्य भागहरूलाई औंला खुम्चाउने, कफी पिउने, हाँस्ने अथवा प्रत्युत्तरको रूपमा एउटा बाठो जवाफ दिने जस्ता निर्देशनहरू दिन्छन्‌। यसका साथै तपाईंको श्‍वास-प्रश्‍वास, रक्‍त रसायन प्रक्रिया, तापक्रम र तपाईंले चालै नपाउनेगरि सञ्चालन भइरहेका अन्य अत्यावश्‍यक कार्यहरूको देखरेख पनि तपाईंको मस्तिष्कले गर्ने गर्छ। तपाईं वरपरको वातावरणमा अदलबदल भइ रहे तापनि तपाईंको शरीर सुव्यवस्थित ढङ्‌गमा सञ्चालन होस्‌ भनेर तपाईंको मस्तिष्कले निर्देशनहरू दिने गर्छ। त्यसले भविष्यका मागहरूलाई पूरा गर्ने तयारी पनि गर्ने गर्छ।”—पृष्ठ ३२६.

५. शास्त्रीय आधारअनुसार बुद्धि के हो?

५ मानवीय मस्तिष्कको अद्‌भुत क्षमता साँच्चै निर्विवाद छ। तर हामी आफ्नो मनको सबैभन्दा राम्रो प्रयोग कसरी गर्न सक्छौं? भाषा, इतिहास, विज्ञान, मनोविज्ञान अथवा धर्महरूको तुलनात्मक अध्ययनमा आफूलाई चुर्लुम्म डुबाएर त अवश्‍य होइन। हामीले आफ्नो सोच्ने क्षमतालाई प्रथमतः ईश्‍वरीय शिक्षा प्राप्त गर्न चलाउनु पर्छ। यसबाट मात्र साँचो बुद्धि पाउन सकिन्छ। तर साँचो बुद्धि के हो? शास्त्रीय आधारमा भन्‍ने हो भने, “बुद्धि” मुख्यतः सही ज्ञान र समझअनुसार ठीक-ठीक फैसला गर्ने क्षमता हो। बुद्धिले हामीलाई समस्याहरूको समाधान गर्ने, खतराहरूलाई पन्छाउने वा तीबाट जोगिने, अरूहरूलाई सल्लाह दिने र लक्ष्यहरू प्राप्त गर्ने मदत दिन्छ। चाखलाग्दो कुरा, बाइबलले बुद्धि र अज्ञान वा मूर्खताबीच भिन्‍नता छुट्ट्याएको छ। अवश्‍य हामी यस्ता गुणहरूदेखि टाढै बस्न चाहन्छौं।—व्यवस्था ३२:६; हितोपदेश ११:२९; उपदेशक ६:८.

यहोवाको महान पाठ्यपुस्तक

६. साँचो बुद्धि प्रकट गर्ने हो भने हामीले कुन कुराको सदुपयोग गर्नुपर्छ?

६ हाम्रो वरिपरि सांसारिक बुद्धिको कुनै अभाव छैन। (१ कोरिन्थी ३:१८, १९) संसारभरि जताततै स्कूलहरू तथा लाखौं किताबहरू भएका पुस्तकालयहरू पाइन्छन्‌! तीमध्ये धेरैले भाषा, गणित, विज्ञान र ज्ञानका अन्य क्षेत्र सम्बन्धी शिक्षा दिन्छन्‌। तर यी सबै पुस्तकहरूलाई माथ गर्ने पाठ्यपुस्तक हाम्रो महान शिक्षकले दिनु भएको छ र त्यो हो उहाँको प्रेरित वचन बाइबल। (२ तिमोथी ३:१६, १७) इतिहास, भूगोल र वनस्पति-विज्ञानको क्षेत्रमा मात्र नभई भविष्यबारे गरेका अग्रिमवाणीहरूको सन्दर्भमा समेत यो भरपर्दो छ। यसले हामीलाई अहिले पनि सबैभन्दा आनन्दमय र फलदायी जीवन बिताउने मदत दिन्छ। तथापि सांसारिक स्कूलका विद्यार्थीहरूले आफ्ना पाठ्यपुस्तक प्रयोग गर्नु आवश्‍यक भएझैं परमेश्‍वरको महान पाठ्यपुस्तकसँग हामी सुपरिचित हुनैपर्छ। तब मात्र हामीले “यहोवाबाट सिकाइएका”-हरूलेझैं साँचो बुद्धि प्रदर्शित गर्न सक्नेछौं।—यूहन्‍ना ६:४५.

७. बाइबलमा भएका कुराहरूको दिमागी ज्ञान मात्र पर्याप्त छैन भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ?

७ तर कसैसित बाइबलबारे दिमागी ज्ञान छ भन्दैमा ऊ साँचो बुद्धि र ईश्‍वरीय शिक्षाअनुसार हिंड्‌छ भन्‍न मिल्दैन। उदाहरणका लागि सा०यु० १७-औं शताब्दीमा कर्निलियस वान डेर श्‍टेन नाउँ भएको क्याथोलिक मानिस जेस्वीट हुन चाहन्थे, तर ज्यादै पुड्‌को भएकोले अस्वीकृत भए। यस घटनाबारे म्यानफ्रेड बार्थेलले आफ्नो पुस्तक द जेस्वीट्‌स—हिस्ट्री एन्ड लेजेन्ड अफ द सोसाइटी अफ जिजस-मा यसो भन्छन्‌: “तर वान डेर श्‍टेनले सम्पूर्ण बाइबल मुखस्त गर्न मन्जुर गरेमा चाहिं उनी पुड्‌को भए तापनि स्वीकृत हुने फैसला समितिले गरे। यति दुस्साहसी अनुरोधलाई वान डेर श्‍टेनले पूरा नगरी दिएका भए शायद यो कथा भन्‍न लायक हुने थिएन होला।” सम्पूर्ण बाइबल मुखस्त पार्न उनले कत्रो प्रयास गर्नु पऱ्‍यो! तर परमेश्‍वरको वचनलाई मुखस्त गर्नुभन्दा त्यसलाई बुझ्नु निस्सन्देह ठूलो कुरा हो।

८. ईश्‍वरीय शिक्षाको फाइदा उठाउन अनि साँचो बुद्धि प्रकट गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

८ साँचो बुद्धि हासिल गरेर ईश्‍वरीय शिक्षाबाट यथार्थमा लाभ उठाउने हो भने हामीसित शास्त्रमा आधारित सही ज्ञान हुनु आवश्‍यक छ। हामीलाई यहोवाको पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍तिले डोऱ्‍याएको हुनु पर्छ। यस्तो भएमा हामीले सत्यका गहकिला कुराहरू अर्थात्‌ “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” सिक्न सक्नेछौं। (१ कोरिन्थी २:१०) यसकारण हामी यहोवाले दिनु भएको महान पाठ्यपुस्तकलाई लगनशीलताका साथ अध्ययन गरौं र उहाँको पवित्र आत्माको निर्देशनका निम्ति प्रार्थना गरौं। हितोपदेश २:१-६-मा भने बमोजिम हामी बुद्धिलाई ध्यान दिऔं, आफ्नो हृदयलाई अन्तरदृष्टि तर्फ लगाऔं र समझशक्‍तिको खोजी गरौं। यी कुराहरूलाई हामीले गाढ धनझैं खोज्यौं भने मात्र ‘यहोवाको भय’ बुझ्नेछौं र ‘परमेश्‍वरको ज्ञान’ पाउनेछौं। ईश्‍वरीय शिक्षाले विजय पाएका केही कुराहरू र त्यसका फाइदाहरूमाथि विचार गऱ्‍यौं भने ईश्‍वर-प्रदत्त बुद्धिप्रति हाम्रो मूल्याङ्‌कन बढ्‌नेछ।

प्रगतिशील समझ

९, १०. उत्पत्ति ३:१५-मा उल्लिखित शब्दअनुसार परमेश्‍वरले के भन्‍नुभयो अनि ती शब्दहरूको सही अर्थ के हो?

९ यहोवाका जनहरूलाई प्रगतिशील ढङ्‌गमा धर्मशास्त्रको समझ प्रदान गरेर ईश्‍वरीय शिक्षा विजयी भइरहेको छ। उदाहरणका लागि हामीले सिक्यौं, अदनको बगैंचामा साँपद्वारा बोल्ने व्यक्‍ति शैतान अर्थात्‌ दियाबल थियो। निषेधित फल खाएमा मृत्यु हुनेछ भनेर परमेश्‍वरले भन्‍नु भएको कुरा झुट्टा हो भन्‍ने आरोप पनि त्यसैले लगाएको थियो। तर यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नाले मानवजातिमाथि साँच्चै नै मृत्यु आइ पऱ्‍यो। (उत्पत्ति ३:१-६; रोमी ५:१२) तापनि, परमेश्‍वरले मानवजातिलाई आशा प्रदान गर्नु हुँदै शैतानलाई यसो भन्‍नु भयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।”—उत्पत्ति ३:१५.

१० रहस्य लुकेको उक्‍त शब्दहरूलाई ईश्‍वरीय शिक्षाद्वारा क्रमिक रूपमा प्रकट गरिंदै लगियो। बाइबलको मुख्य ध्येय प्रतिज्ञा गरिएको त्यो सन्तान अर्थात्‌ अब्राहाम र दाऊदको वंशबाट आएको राज्याधिकारप्राप्त व्यक्‍तिद्वारा यहोवाको सार्वभौमिकताको औचित्यलाई स्थापना गर्नु हो भनी यहोवाले आफ्ना जनहरूलाई सिकाउनु भएको छ। (उत्पत्ति २२:१५-१८; २ शमूएल ७:१२, १३; इजकिएल २१:२५-२७) “स्त्री” अर्थात्‌ परमेश्‍वरको विश्‍वव्यापी सङ्‌गठनको मुख्य सन्तान येशू ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा पनि हाम्रा महान शिक्षकले सिकाउनु भएको छ। (गलाती ३:१६) शैतानले ल्याएको हर परीक्षाको बावजूद येशूले मृत्युसम्मै अर्थात्‌ स्त्रीको सन्तानको कुर्कुच्चोमा साँपले डसुन्जेलसम्म पनि आफ्नो निष्ठा कायम राख्नु भयो। त्यो “पुरानो सर्प,” शैतानको शिर कुच्याउने काममा मानिसजातिमध्येबाटका १,४४,००० राजकीय सहशासकहरूले ख्रीष्टलाई साथ दिनेछन्‌ भनेर पनि हामीले सिक्यौं। (प्रकाश १४:१-४; २०:२; रोमी १६:२०; गलाती ३:२९; एफिसी ३:४-६) परमेश्‍वरको वचनमा आधारित यी ज्ञानहरूको हामी कति मोल गर्छौं!

परमेश्‍वरको अद्‌भुत ज्योतितर्फ

११. मानिसहरूलाई आध्यात्मिक ज्योतिमा ल्याएर ईश्‍वरीय शिक्षा विजयी हुन्छ भनेर किन भन्‍न सकिन्छ?

११ मानिसहरूलाई आध्यात्मिक ज्योतिमा ल्याएर पनि ईश्‍वरीय शिक्षा विजयी हुन्छ। यस कुरालाई अभिषिक्‍त मसीहीहरूले १ पत्रुस २:९-का यी शब्दहरूको पूर्तिद्वारा अनुभव गरेका छन्‌: “तर तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजाहरू हौं, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरूले देखाओ।” पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राख्ने “ठूलो भीड”-का मानिसहरूले पनि आज यस ईश्‍वर-प्रदत्त ज्योतिको आनन्द उठाइरहेका छन्‌। (प्रकाश ७:९; लूका २३:४३) जसै आफ्ना जनहरूलाई परमेश्‍वरले शिक्षा प्रदान गर्नु हुन्छ, हितोपदेश ४:१८ पनि सत्य साबित हुन्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।” व्याकरण, इतिहास अथवा अन्य कुनै विषय अध्ययन गर्ने विद्यार्थीहरूले शिक्षकबाट पाएको राम्रो मदतद्वारा उन्‍नति गर्न सकेझैं यस्तो क्रमानुसार शिक्षा प्रदान गर्ने प्रणालीद्वारा हामीले ईश्‍वरीय शिक्षा अझ स्पष्टसित बुझ्छौं।

१२, १३. कुन सैद्धान्तिक खतराहरूदेखि ईश्‍वरीय शिक्षाले यहोवाका जनहरूलाई जोगाएको छ?

१२ ईश्‍वरीय शिक्षाले आफ्ना नम्र ग्राहीहरूलाई “भूतात्माहरूको सिद्धान्त”-बाट बचाउँछ। यो ईश्‍वरीय शिक्षाको अर्को विजय हो। (१ तिमोथी ४:१) तर अर्कोतिर, मसीहीजगतलाई हेर्नुहोस्‌! धेरै वर्षअघि, १८७८ मा रोमन क्याथोलिक पादरी जोन हेन्री न्युम्यानले यसरी लेखे: “प्रेतपूजासित सम्बन्धित हर चीज र चलनको रूपान्तरण गरेर त्यसलाई सुसमाचार प्रचारको निम्ति प्रयोग गर्ने र खराबीमाथि विजयी हुने शक्‍ति मसीही धर्ममा छ भन्‍ने विश्‍वास राख्दै . . . आवश्‍यक भएमा शिक्षित वर्गका दर्शन लगायत जनसाधारणका रीतिथिति र चलनहरू अपनाउन, नकल गर्न वा स्वीकार गर्न प्राचीन समयदेखि नै चर्चका शासक वर्ग तयार थिए।” न्युम्यानको भनाइअनुसार पवित्र-जल, पादरीवर्गले लाउने विशेष पोशाक र मूर्तिहरूको प्रयोग जस्ता जम्मै कुराहरू “गैरमसीही हुन्‌ र यी कुराहरूलाई चर्चले अपनाएर पवित्र तुल्याएका हुन्‌।” हर प्रकारको प्रेतवाद मुछिएको धर्मत्यागबाट बचाएकोमा परमेश्‍वरका जनहरू ईश्‍वरीय शिक्षाप्रति कृतज्ञ छन्‌।—प्रेरित १९:२०.

१३ निश्‍चय नै, ईश्‍वरीय शिक्षा धार्मिक झूटमाथि हर तवरमा विजयी हुन्छ। उदाहरणका लागि हामी परमेश्‍वरबाट शिक्षा पाएकाहरू, झुट्टा धर्मका अनुयायीहरूलेझैं त्रिएकमा विश्‍वास गर्दैनौं बरु यहोवा सर्वोच्च हुनुहुन्छ, येशू उहाँको पुत्र हुनुहुन्छ र पवित्र आत्मा चाहिं परमेश्‍वरको सक्रिय शक्‍ति हो भनेर विश्‍वास गर्छौं। नरक-कुण्डसित डराउँदैनौं किनभने बाइबलमा नरक भनेको मानवजातिको चिहान हो भनेर हामीलाई थाहा छ। झुट्टा धर्मावलम्बीहरूले मानिसको आत्मा अमर छ भने तापनि, मरेका मानिसहरू सम्पूर्णतया अचेत हुन्छन्‌ भनी हामीलाई थाहा छ। यसप्रकार ईश्‍वरीय शिक्षाद्वारा हासिल गरिएका कुराहरूको बयान गरेर साध्य छैन। महान बेबिलोन अर्थात्‌ झुट्टा धर्मको विश्‍व साम्राज्यबाट आध्यात्मिक तवरमा मुक्‍त हुनु साँच्चै नै कति ठूलो आशिष हो!—यूहन्‍ना ८:३१, ३२; प्रकाश १८:२, ४, ५.

१४. परमेश्‍वरका सेवकहरू कसरी आध्यात्मिक ज्योतिमा हिंडिरहन सक्छन्‌?

१४ गलत धर्मसिद्धान्त र सोचाइमाथि ईश्‍वरीय-शिक्षा विजयी हुने हुँदा परमेश्‍वरका जनहरू आध्यात्मिक ज्योतिमा निरन्तर हिंड्‌न सक्छन्‌। अझ भनौं भने तिनीहरू आफ्नोपछाडि कसैले यसो भनिरहेका सुन्छन्‌: “बाटो यही हो, यसैमा तिमीहरू हिंड़।” (यशैया ३०:२१) परमेश्‍वरको शिक्षाले झुट्टा तर्कणाहरूदेखि पनि आफ्ना सेवकहरूलाई जोगाउँछ। प्राचीन कोरिन्थको मसीही मण्डलीमा “झुट्टा प्रेरितहरूले” फूट उत्पन्‍न गरिरहेको बेला प्रेरित पावलले यी कुरा लेखे: “हाम्रो युद्धका हतियार शारीरिक होइनन्‌, तर किल्लाहरू भत्काउनसक्नेझैं छन्‌, ती परमेश्‍वरका सामने शक्‍तिमान छन्‌, परमेश्‍वरको ज्ञानको विरुद्धमा खड़ा हुने कल्पना र हरेक उच्च कुरालाई हामी खण्डन गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्‍नालाई अधीनमा पार्छौं।” (२ कोरिन्थी १०:४, ५; ११:१३-१५) मण्डलीमा नम्रतापूर्वक दिइएको उपदेश तथा बाहिरका मानिसहरूलाई प्रचार गरिने सुसमाचारद्वारा ईश्‍वरीय शिक्षाको विपरीत जाने हरेक सोचविचारलाई खण्डन गर्न सकिन्छ।—२ तिमोथी २:२४-२६.

आत्मा अनि सत्यतामा पुज्नु

१५, १६. आत्मा र सत्यतामा यहोवालाई पुज्नु भनेको के हो?

१५ जसै राज्यसम्बन्धी प्रचार कार्य अघि बढ्‌दै जान्छ, नम्र जनहरूलाई “आत्मा र सत्यतामा” परमेश्‍वरको उपासना गर्न सिकाउँदै ईश्‍वरीय शिक्षा विजयी हुन्छ। सुखार शहरको नजिक, याकूबको इनारनिर येशूले एउटी सामरी स्त्रीलाई आफूले अनन्त जीवन दिने पानी प्रदान गर्न सक्नु हुन्छ भन्‍नु भयो। सामरीहरूलाई सङ्‌केत गर्नु हुँदै उहाँले यसो पनि भन्‍नु भयो: “तिमीहरू जे जान्दैनौं, त्यो पुज्दछौ . . . तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।” (यूहन्‍ना ४:७-१५, २१-२३) त्यसपछि येशूले आफूलाई मसीह भनेर चिनाउनु भयो।

१६ तर हामी परमेश्‍वरलाई आत्मामा कसरी पुज्न सक्छौं? परमेश्‍वरप्रतिको प्रेमले भरिएको कृतज्ञ हृदयबाट शुद्ध उपासना चढाएर। अनि परमेश्‍वरप्रतिको हाम्रो यो प्रेम, उहाँको वचनको सही ज्ञानमा आधारित हुनुपर्छ। त्यस्तैगरि झुट्टा धर्मसिद्धान्तहरूलाई त्यागेर तथा परमेश्‍वरको महान पाठ्यपुस्तकमा प्रकाशित ईश्‍वरीय इच्छा पालन गरेर हामी उहाँलाई सत्यतामा पुज्न सक्छौं।

परीक्षा तथा संसारमाथि विजय

१७. ईश्‍वरीय शिक्षाले यहोवाका सेवकहरूलाई परीक्षाहरूको सामना गर्न मदत दिएको छ भनेर तपाईं के प्रमाण दिनसक्नुहुन्छ?

१७ परमेश्‍वरका जनहरूले परीक्षाहरूको सामना गर्दा ईश्‍वरीय शिक्षा बारम्बार विजयी हुन्छ। उदाहरणको लागि यसलाई विचार गर्नुहोस्‌: दोस्रो विश्‍व युद्धको सुरु, सेप्टेम्बर १९३९-मा यहोवाका सेवकहरूलाई उहाँको महान पाठ्यपुस्तकमाथि विशेष अन्तदृष्टि चाहिएको थियो। मसीही तटस्थताबारे स्पष्टसित ईश्‍वरीय शिक्षा प्रदान गर्न त्यतिखेर नोभेम्बर १, १९३९-को द वाचटावर-मा प्रस्तुत लेखले ठूलो मदत पुऱ्‍यायो। (यूहन्‍ना १७:१६) यस्तैगरि सरकारी “अख्तियारवालाहरू” प्रति सापेक्षिक अधीनता देखाउने विषयमा १९६०-को दशकमा सुरु सुरुतिर निकै वाचटावर-का लेखहरू प्रकाशित भए। यी लेखहरूले परमेश्‍वरका सेवकहरूलाई सामाजिक उथलपुथलको माझमा ईश्‍वरीय शिक्षाअनुसार काम गर्ने ठूलो मदत दियो।—रोमी १३:१-७; प्रेरित ५:२९.

१८. सा०यु० दोस्रो अनि तेस्रो शताब्दीमा मसीही हुँ भनी दाबी गर्नेहरूले निम्नस्तरीय मनोरञ्जनलाई कुन दृष्टिले हेर्थे र यस सम्बन्धमा ईश्‍वरीय शिक्षाले आज कस्तो मदत दिन्छ?

१८ ईश्‍वरीय शिक्षाले हामीलाई निम्नस्तरीय मनोरञ्जनतिर झुक्ने जस्ता प्रलोभनमाथि पनि विजयी हुने मदत दिन्छ। सामान्य युग दोस्रो र तेस्रो शताब्दीमा मसीही धर्म मान्‍ने दाबी गर्नेहरूले के भने, यसो विचार गर्नुहोस्‌। टर्टुल्यनले यसप्रकार लेखे: “बोली, हेराइ वा सुनाइमा हामी सर्कसको पागलपना, रङ्‌गमञ्चको निर्लज्जता र खेलकुद मैदानको हिंसासित केही सम्बन्ध राख्दैनौं।” त्यही समयावधिका अर्को लेखकले यो प्रश्‍न गरे: “यस्ता निम्नस्तरीय कुराहरूसित विश्‍वासिलो मसीहीको के वास्ता? जो दुष्ट कुराहरूबारे सोच्दा पनि नसोच्ला। कामुकताको प्रदर्शनमा उसले आनन्द लिने त प्रश्‍नै उठ्‌दैन।” यी लेखकहरू प्रथम शताब्दीका मसीहीहरूभन्दा केही वर्षपछिकै भए तापनि, तिनीहरू निम्नस्तरीय मनोरञ्जनबाट टाढै बस्थे। आज पनि ईश्‍वरीय शिक्षाले हामीलाई अश्‍लील, अनैतिक र हिंसात्मक मनोरञ्जनबाट अलग बस्ने बुद्धि प्रदान गर्छ।

१९. संसारमाथि विजयी हुन ईश्‍वरीय शिक्षाले हामीलाई कसरी मदत गर्छ?

१९ ईश्‍वरीय शिक्षाअनुसार हिंड्यौं भने हामी संसारमाथि नै विजयी हुन सक्छौं। हो, हाम्रा महान शिक्षकको शिक्षालाई प्रयोगमा ल्यायौं भने शैतान अधीनस्थ संसारका दुष्प्रभावहरूमाथि हामी विजयी हुन्छौं। (२ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९) एफिसी २:१-३ ले पनि हामी आकाशको मालिकको शक्‍तिअनुसार हिंड्‌दा हामी दुष्कर्म र पापमा मरेका थियौं भन्छ। तापनि परमेश्‍वरले हामीलाई जीवित पार्नु भयो। यसको अलावा सांसारिक इच्छाहरू र परमेश्‍वर अनि हाम्रो दुश्‍मन—त्यो प्रमुख ठगाह—शैतानको आत्मामाथि विजयी हुन हामीलाई ईश्‍वरीय शिक्षाले मदत दिन्छ र यसका लागि हामी यहोवालाई धन्यवाद चढाउँछौं!

२०. कुन प्रश्‍नहरू अझ विचारणीय छन्‌?

२० अतः कुरा स्पष्ट छ, ईश्‍वरीय शिक्षा थुप्रै तरिकाहरूमा विजयी हुन्छ। वास्तवमा त्यसका सबै विजयहरूको उल्लेख गर्न असम्भव छ भने पनि हुन्छ। संसारभरिका मानिसहरूको जीवनमा यसले असर गर्छ। तर तपाईंको जीवनमा यसले के गर्दैछ? ईश्‍वरीय शिक्षाले तपाईंको जीवनलाई कसरी असर गर्दैछ? (w94 2/1)

तपाईंले के सिक्नु भयो?

▫ साँचो बुद्धिलाई कसरी परिभाषित गर्न सकिन्छ?

▫ उत्पत्ति ३:१५-सम्बन्धी कुन कुरालाई परमेश्‍वरले क्रमानुसार प्रकट गर्नुभयो?

▫ आध्यात्मिक कुराहरूमा ईश्‍वरीय शिक्षा कसरी विजयी भएको छ?

▫ आत्मा र सत्यतामा परमेश्‍वरलाई पुज्नु भनेको के हो?

▫ परीक्षाहरू तथा यस संसारमाथि विजयी हुन ईश्‍वरीय शिक्षाले यहोवाका सेवकहरूलाई कसरी मदत गरेको छ?

[पृष्ठ १०-मा भएको चित्र]

वंशको कुर्कुच्चोमा डसुन्जेल अर्थात्‌ आफ्नो मृत्युसम्मै येशू निष्ठावान रहनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने