प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१५ pp. १०-१४
  • शरण-नगरहरू —परमेश्‍वरको दयालु प्रबन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शरण-नगरहरू —परमेश्‍वरको दयालु प्रबन्ध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हत्याराहरूका लागि शरण?
  • यहोवाको दयालु प्रबन्ध
  • शरणको लागि पलायन
  • हत्याराहरूको पुर्पक्ष हुँदा
  • शरण-नगरमा जीवन
  • चिरकालीन असरहरू
  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “शरण-नगर[मा]” बस्नुहोस्‌ र बाँच्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवामा शरण लिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “यहोवाको नाममा शरण लिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१५ pp. १०-१४

शरण-नगरहरू —परमेश्‍वरको दयालु प्रबन्ध

“छवटा शरण-नगरहरू हुनेछन्‌। औ अन्जानमा कसैको ज्यान लिने व्यक्‍ति त्यहाँ भागेर जानसक्छ।”—गन्ती ३५:१५.

१. परमेश्‍वरले जीवन र रक्‍तदोषलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

यहोवा परमेश्‍वरले मानव जीवनलाई पवित्र ठान्‍नुहुन्छ। अनि जीवन रगतमा हुन्छ। (लेवी १७:११, १४) त्यसैकारण, पृथ्वीमा जन्मिएको प्रथम मानव, कयिनले आफ्नो भाइ हाबिलको हत्या गर्दा तिनी रक्‍तदोषी भए। फलतः परमेश्‍वरले कयिनलाई यसो भन्‍नुभयो: “तेरो भाइको रगतले भूमिबाट मलाई दुहाइ दिइरहेछ।” यस हत्याले मौन तर वाक्‌पटुशैलीमा अल्प जीवनको साक्षी दिइरहेको थियो। हाबिलको रगतले त्यसको बदला लिन परमेश्‍वरसित बिन्ती गरिरहेको थियो।—उत्पत्ति ४:४-११.

२. जलप्रलयपश्‍चात्‌ यहोवाले जीवनलाई आदर गर्नुपर्ने महत्त्वमाथि कसरी जोड दिनुभयो?

२ विश्‍वव्यापी जलप्रलयबाट बचेर धर्मी नूह र तिनको परिवार जहाजबाट बाहिर निस्कँदा परमेश्‍वरले मानव जीवनलाई कतिको आदर गर्नुहुन्छ भनेर पुनः जोड दिनुभयो। त्यतिबेला यहोवाले मानिसलाई भोजनको रूपमा जनावरको मासु पनि दिनुभयो तर रगत चाहिं होइन। उहाँले यस्तो आज्ञा दिनुभयो: “तिमीहरूको रगत, अर्थात्‌ प्राणको रगतको निम्ति म निश्‍चय लेखा लिनेछु। हरेक पशु र मानिसदेखि र हरेक मानिसका दाज्यू-भाइदेखि पनि म मानिसको प्राणको साटो लिनेछु। जसले मानिसको रक्‍तपात गर्छ मानिसबाटै त्यसको रक्‍तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” (उत्पत्ति ९:५, ६) मृतकको निकटतम नातेदारले हत्यारालाई भेट्‌नेबित्तिकै त्यसलाई मार्नसक्ने अधिकार यहो- वाले मानि लिनुभयो।—गन्ती ३५:१९.

३. मोशाको व्यवस्थाले जीवनको पवित्रतामा कस्तो जोड दियो?

३ मोशा अगमवक्‍ताद्वारा इस्राएललाई दिइएको व्यवस्थामा जीवनको पवित्रतालाई बारम्बार दोहोऱ्‍याइयो। उदाहरणको लागि, परमेश्‍वरले यस्तो आज्ञा दिनुभयो: “तैंले हत्या नगर्नू।” (प्रस्थान २०:१३) गर्भवती स्त्रीलाई घातक चोट पुऱ्‍याउने व्यक्‍तिको सन्दर्भ- मा दिइएको मोशाको व्यवस्थाले पनि जीवनप्रति आदरलाई स्पष्ट पार्छ। व्यवस्थामा स्पष्टसित उल्लिखित थियो, दुइ मानिसबीच लडन्त हुँदा गर्भवती स्त्रीलाई चोट लागेर त्यसको गर्भ तुह्‍यो भने न्यायकर्ताहरूले त्यसो हुनुको परिस्थिति र जानाजानी भएको हो कि होइन केलाउनुपर्थ्यो। तर दण्ड चाहिं “प्राणको सट्टा प्राण” वा जीवनको साटो जीवन हुनसक्थ्यो। (प्रस्थान २१:२२-२५) तथापि, के इस्राएली हत्यारा आफ्नो हिंसात्मक कार्यको प्रतिफल नभोगी उम्कन सक्थ्यो?

हत्याराहरूका लागि शरण?

४. इस्राएलबाहिर पहिले पहिले कस्ता शरण-स्थलहरू थिए?

४ इस्राएलबाहेक अन्य राष्ट्रहरूमा हत्यारा र अन्य अपराधीहरूलाई शरण दिइन्थ्यो। पुरातन एफिससमा आर्टेमिस देवीको मन्दिरको हातामा यस्तै प्रबन्ध थियो। त्यस्तैप्रकारका ठाउँहरूबारे यस्तो रिपोर्ट गरिएको छ: “केही पवित्र स्थलहरूमा अपराधीहरूको संख्या बिगबिगी भयो। अनि प्रायजसो यी शरणस्थानहरूको संख्यालाई सीमित राख्नु आवश्‍यक पऱ्‍यो। एथेन्समा केही शरणस्थानहरू मात्र कानुनन्‌ स्वीकृतिप्राप्त थिए (उदाहरणको लागि, दासहरूका लागि थेससको मन्दिर)। टाइबेरियसको समयमा ती पवित्र स्थलहरूमा अपराधीहरूको समूह यति खतरनाक भइसकेको थियो, शरणस्थानको अधिकार केही शहरहरूमा मात्र सीमित गरियो (२२ सालमा)।” (द जुविश इन्साइक्लोपीडिया, १९०९, खण्ड २, पृष्ठ २५६) पछि मसीहीजगतका चर्चहरू शरणस्थान हुन गए। तर यसो हुँदा सरकारी अख्तियारबाट पौरोहित्यतर्फ शक्‍ति स्थानान्तरण हुन गयो र न्यायको सही परिचालन हुन सकेन। अन्ततः, चर्चका शरणस्थानहरूको दुरुपयोगले यो प्रबन्ध खारेज भयो।

५. कसैको मृत्यु लापरवाहीको कारणले भयो भने, दयाको बिन्ती गर्न व्यवस्थाले छुट दिंदैनथियो भन्‍ने के प्रमाण छ?

५ इस्राएलीहरूले जानाजानी हत्या गर्ने हत्याराहरूलाई शरण दिंदैनथे। परमेश्‍वरको वेदीमा सेवारत लेवी पूजाहारीसमेत धूर्ततापूर्वक कसैको हत्या गरेको अभियोगमा दोषी ठहरिएमा उनलाई मृत्युदण्ड दिइन्थ्यो। (प्रस्थान २१:१२-१४) यसबाहेक, कसैको मृत्यु भयो भने हेलचेक्राइँलाई निहुँ बनाएर दयाको माग गर्ने छुट व्यवस्थाले दिएन। उदाहरणको लागि, नयाँ घरको छतमा चारैतिर बार लगाउनुपर्थ्यो। त्यसो नगर्दा त्यहाँबाट कोही खसेर मऱ्‍यो भने त्यो घर रक्‍तदोषी हुनेथियो। (व्यवस्था २२:८) यसबाहेक, जोधाहा गोरुको मालिकलाई चेताउनी दिंदा दिंदै पनि तिनले त्यस जनावरलाई बाँधेनन्‌ र त्यसले कसैलाई माऱ्‍यो भने त्यो मालिक रक्‍तदोषी हुन्थ्यो अनि मृत्युदण्ड पाउन सक्थ्यो। (प्रस्थान २१:२८-३२) परमेश्‍वरले जीवनलाई निकै आदर गर्नुहुन्छ भन्‍ने थप प्रमाण पाइन्छ। त्यो हो, चोरले दिउँसो घर फोर्दै गरेको बेला त्यसलाई पिट्‌दा मऱ्‍यो भने त्यसरी हिर्काउने व्यक्‍ति हत्याको दोषी हुन्थ्यो। (प्रस्थान २२:२, ३) अतः स्पष्ट छ, परमेश्‍वरको पूर्ण सन्तुलित नियमहरूले जानाजानी हत्या गर्ने हत्याराहरूलाई मृत्युदण्डबाट उम्कने छुट दिएन।

६. ‘जीवनको साटो जीवन’ भन्‍ने व्यवस्था कसरी पुरातन इस्राएलमा पूरा भयो?

६ पुरातन इस्राएलमा कसैको हत्या हुँदा मृतकको रगतको बदला लिनुपर्थ्यो। “खूनको साटो फेर्न चाहने व्यक्‍तिलेनै” हत्याराको हत्या गर्दा ‘जीवनको साटो जीवनसम्बन्धी’ व्यवस्था पूरा हुन्थ्यो। (गन्ती ३५:१९) बदला लिने व्यक्‍ति मृतकको सबैभन्दा निकटतम पुरुष नातेदार हुन्थ्यो। तर अनजानमा गरिएका हत्याहरू नि?

यहोवाको दयालु प्रबन्ध

७. अनजानमा कसैको हत्या गर्नेहरूका लागि परमेश्‍वरले कस्तो प्रबन्ध गर्नुभयो?

७ दुर्घटनावश वा अनजानमा हत्या गर्ने व्यक्‍तिको लागि परमेश्‍वरले मायालुपूर्वक शरण-नगरहरूको प्रबन्ध गर्नुभयो। यी शहरहरूबारे मोशालाई यसो भनिएको थियो: “इस्राएलीहरूलाई भन्‌, ‘तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुगेपछि, त्यहाँ शरण-नगर छानेर नियुक्‍त गर्नू, र अन्जानमा कसैले मान्छे माऱ्‍यो भने ज्यानमारा त्यहाँ भागोस्‌। ती शहरहरू तिमीहरूका निम्ति प्रतिशोधीबाट शरण लिनलाई हुनेछन्‌, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खड़ा नहोउञ्जेल नमारियोस्‌। तिमीहरूले दिने शरण-नगरहरूका संख्या छवटा होस्‌। यर्दनको पूर्वपट्टि तीनवटा शहर, कनान देशमा तीनवटा शहर शरण-नगरको निम्ति छुट्याउनू। . . . [ती] शरण-नगरहरू हुनेछन्‌। औ अन्जानमा कसैको ज्यान लिने व्यक्‍ति त्यहाँ भागेर जानसक्छ।’”—गन्ती ३५:९-१५.

८. शरण-नगरहरू कहाँ अवस्थित थिए र अनजानमा हत्या गर्ने हत्यारालाई त्यहाँ पुग्न कसरी मदत दिइन्थ्यो?

८ इस्राएलीहरू प्रतिज्ञा गरेको देशमा प्रवेश गरेपछि तिनीहरूले आज्ञाकारीपूर्वक छवटा शरण-नगरहरू बनाए। यिनीहरूमध्ये तीनवटा—केदेस, शकेम र हेब्रोन यर्दन नदीको पश्‍चिमी क्षेत्रमा अवस्थित थिए। यर्दन नदीको पूर्वपट्टि पर्ने शरण-नगरहरू गोलान, रामोत र बेसेर थिए। राम्ररी मर्मत गरिएका सडकहरूको छेऊमा ती छवटा शरण-नगरहरू अवस्थित थिए। यी सडकहरूका उपयुक्‍त ठाउँहरूमा “शरण” लेखिएका संकेतहरू राखिएका थिए। यी संकेतहरूले शरण-नगरको दिशालाई औंल्याउँथ्यो र अनजानमा मार्ने हत्यारा सबैभन्दा नजीकको शरण-नगरमा भाग्थे। त्यहाँ उसले प्रतिशोधीबाट सुरक्षा पाउनसक्थ्यो।—यहोशू २०:२-९.

९. यहोवाले शरण-नगरहरूको प्रबन्ध किन गर्नुभयो र ती कसको लाभको लागि थियो?

९ परमेश्‍वरले किन शरण-नगरहरूको प्रबन्ध गर्नुभयो? त्यहाँको भूमि निर्दोष रगतले दूषित नहोस्‌ र त्यहाँका मानिसहरूमाथि रक्‍तदोष नआई परोस्‌ भनेर ती शरण-नगरहरू प्रबन्ध गरिएका थिए। (व्यवस्था १९:१०) यी शरण-नगरहरू कसको लाभको निम्ति प्रबन्ध गरिएको थियो? व्यवस्थामा यसो भनिएको थियो: “इस्राएलीहरू, परदेशीहरू र तिनीहरूका बीचमा प्रवास गर्नेहरूका निम्ति छवटा शरण-नगरहरू हुनेछन्‌। औ अन्जानमा कसैको ज्यान लिने व्यक्‍ति त्यहाँ भागेर जानसक्छ।” (गन्ती ३५:१५) तसर्थ, निष्पक्ष न्यायअलावा दया देखाउन अनजानमा हत्या गर्ने निम्न समूहहरूका लागि शरण-नगरहरू बनाउन यहोवाले इस्राएलीहरूलाई भन्‍नुभयो। तिनीहरू थिए, (१) स्थानीय इस्राएलीहरू, (२) इस्राएलमा बसोबास गर्ने परदेशीहरू, वा (३) प्रवासीहरू।

१०. शरण-नगरहरू परमेश्‍वरको दयालु प्रबन्ध थियो भनेर किन भन्‍न सकिन्छ?

१० अनजानमा हत्या गरेको भए तापनि परमेश्‍वरको आज्ञाअनुसार त्यस हत्यारालाई मृत्युदण्ड दिनु उल्लेखनीय कुरा हो: “जसले मानिसको रक्‍तपात गर्छ मानिसबाटै त्यसको रक्‍तपात हुनेछ।” यसर्थ, यहोवा परमेश्‍वरको दयालु प्रबन्धले गर्दा मात्रै अनजानमा हत्या गर्ने हत्यारा शरण-नगरमा भाग्न सक्थे। प्रतिशोधीबाट भाग्ने व्यक्‍तिप्रति साधारणतया मानिसहरूले सहानुभूति देखाएको स्पष्ट देखिन्छ। किनभने आफूबाट पनि अनजानमा त्यस्तो गल्ती हुँदा शरण तथा दयाको खाँचो पर्नसक्छ भनेर तिनीहरूलाई थाह थियो।

शरणको लागि पलायन

११. पुरातन इस्राएलमा दुर्घटनावश सँगी कामदारको हत्या भयो भने तिनले के गर्नसक्थे?

११ शरणको लागि परमेश्‍वरले गर्नुभएको दयालु प्रबन्धलाई अझ बढी मूल्यांकन गर्न तपाईंलाई यो उदाहरणले मदत दिनसक्छ। यसो कल्पना गर्नुहोस्‌, तपाईं पुरातन इस्राएलमा दाउरा काट्‌दै हुनुहुन्छ। मानी लिनुहोस्‌, बिंडबाट फुत्केको बञ्चरोले लागेर सँगी कामदारको मृत्यु भयो। तपाईं के गर्नुहुनेछ? व्यवस्थाले यस्तै प्रकारको परिस्थितिको लागि त्यो प्रबन्ध गरेको थियो। निस्सन्देह, तपाईंले परमेश्‍वरको यस प्रबन्धको उपयोग गर्नुहुनेछ: “दुश्‍मनी नभई कसैले कसैलाई मारिहाल्यो भने त्यस्तो ज्यानमारा चाहिं त्यहाँ भागेर गई आफ्नो ज्यान बचाउसक्छ—जस्तै, दाउरा काट्‌न जाँदा अथवा रूख ढाल्न जाँदा बिड़बाट बञ्चरो खुस्केर लाग्दा साथी मऱ्‍यो भने त्यस्तो ज्यानमारा सबैभन्दा नजीकको शरण-नगरमा भागेर जानसक्छ।” (व्यवस्था १९:४, ५) यद्यपि, तपाईं शरण-नगरमा पुगिहाल्नुभयो भने पनि त्यस घटनाको सम्पूर्ण जिम्मेवारीबाट मुक्‍त हुनुहुन्‍न।

१२. अनजानमा हत्या गर्ने हत्यारा शरण-नगरमा पुगेपछि कस्तो प्रक्रिया अपनाइन्थ्यो?

१२ तपाईंको राम्रो अतिथि सत्कार गरिने भए तापनि त्यहाँ शरण-नगरको ढोकामा बसेका बूढा-प्रधानहरूसमक्ष आफ्नो दोष पेश गर्नुपर्थ्यो। शहरभित्र पसेपछि हत्या भएको क्षेत्रसित सम्बन्धित इस्राएलको मण्डलीको प्रतिनिधि, बूढा-प्रधानहरूसमक्ष आफ्नो न्याय सुन्‍न खडा हुनुपर्थ्यो। त्यहाँ तपाईंले आफ्नो निर्दोषता प्रमाणित गर्ने मौका पाउनु हुनेथियो।

हत्याराहरूको पुर्पक्ष हुँदा

१३, १४. हत्याराको पुर्पक्ष हुँदा बूढा-प्रधानहरूले जान्‍न चाहने केही कुराहरू के थिए?

१३ त्यस अधिकार क्षेत्रको ढोकामा बसेका बूढा-प्रधानहरूसमक्ष पुर्पक्षको लागि खडा हुँदा तपाईंको पहिलेको आचरणलाई निकै महत्त्व दिइन्छ। त्यसो गरेको लागि तपाईं निस्सन्देह कृतज्ञ हुनु हुनेथियो। बूढा-प्रधानहरूले मृतकसित तपाईंको सम्बन्धलाई होशियारीपूर्वक केलाउनेथिए। के तपाईंले त्यो मानिसलाई घृणा गर्नुहुन्थ्यो? त्यो मानिस कहिले आउँछ भनी ढुकेर त्यसलाई जानाजानी मार्नुभएको हो? हो भने, ती बूढा-प्रधानहरूले तपाईंलाई प्रतिशोधीको हातमा सुम्पनुपर्थ्यो र तपाईं मर्नु हुनेथियो। व्यवस्थाको आवश्‍यकताअनुसार ‘निर्दोषहरूको हत्या इस्राएलमा बन्द गर्नुपर्ने कुरा’ यी जिम्मेवार पुरुषहरूलाई थाह हुन्थ्यो। (व्यवस्था १९:११-१३) त्यतिबेलाजस्तै आज पनि न्याय गर्दा मसीही प्राचीनहरूलाई शास्त्र राम्ररी थाह हुनु खाँचो छ र गल्ती गर्ने व्यक्‍तिको पहिलेको मनोवृत्ति तथा आचरणलाई ध्यानमा राख्दै शास्त्रअनुरूप कदम चाल्नुपर्छ।

१४ हत्याराले उक्‍त व्यक्‍तिलाई ढुकेर बसेको हो कि होइन, शहरका बूढा-प्रधानहरूले मायालुपूर्वक जाँचपड्‌ताल गरेर त्यो जान्‍न चाहनेछन्‌। (प्रस्थान २१:१२, १३) त्यसलाई आक्रमण गर्न के तपाईं कतै लुकेर बस्नुभएको थियो? (व्यवस्था २७:२४) के तपाईं त्यस व्यक्‍तिप्रति साह्रै क्रोधित भएर त्यसलाई मार्न कुनै धूर्त चाल रच्नुभएको थियो? त्यसो हो भने, तपाईं मृत्युदण्ड पाउने योग्यको हुनुहुनेथियो। (प्रस्थान २१:१४) विशेषगरि, मृतक र तपाईंबीच कुनै दुस्मनी वा शत्रुता थियो कि थिएन भनेर बूढा-प्रधानहरूले थाह पाउनुपर्थ्यो। (व्यवस्था १९:४, ६, ७; यहोशू २०:५) मानौं, बूढा-प्रधानहरूले तपाईं निर्दोष पाए र शरण-नगरमा फर्काइदिए। यसरी दया देखाइएकोमा तपाईं कति कृतज्ञ हुनु हुनेथियो!

शरण-नगरमा जीवन

१५. अनजानमा हत्या गर्ने हत्याराले कस्ता आवश्‍यकताहरू पूरा गर्नुपर्थ्यो?

१५ अनजानमा हत्या गर्ने हत्यारा शरण-नगरभित्रै वा शहरको पर्खालबाट १,००० हातको (लगभग ४३५ मिटर) परिधिभित्र बस्नुपर्थ्यो। (गन्ती ३५:२-४) त्यस इलाकाबाहिर डुलेर हिंड्‌दा तिनको प्रतिशोधीसित भेट हुनसक्थ्यो। यस्तो परिस्थितिमा प्रतिशोधीले त्यस हत्यारालाई मार्न सक्थ्यो र कुनै दण्ड भोग्ने थिएन। तर हत्यारालाई सांग्लाले बाँधेर वा कैदमा राखिंदैनथियो। शरण-नगरको बासिन्दाको हैसियतमा तिनले कामधन्दा सिकेर कारिन्दा हुनुपर्थ्यो। अनि त्यस समाजको उपयोगी सदस्य हुनुपर्थ्यो।

१६. (क) अनजानमा हत्या गर्ने हत्यारा कतिञ्जेल शरण-नगरमा बस्नुपर्थ्यो? (ख) प्रधानपूजाहारीको मृत्युपछि हत्याराले किन शरण-नगर छोड्‌न सक्थ्यो?

१६ अनजानमा हत्या गर्ने हत्यारा कतिञ्जेल शरण-नगरमा बस्नुपर्थ्यो? सम्भवतः आजीवन। जेसुकै भए तापनि व्यवस्थामा यसो भनिएको थियो: “प्रधान पूजाहारीको मृत्यु नहोऊञ्जेल त्यो शहरभित्र रहनुपर्नेथियो। प्रधान पूजाहारीको मृत्युपछि त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्‌।” (गन्ती ३५:२६-२८) अनजानमा हत्या गर्ने हत्याराले किन प्रधानपूजाहारीको मृत्युपश्‍चात्‌ शरण-नगर छोड्‌न सक्थ्यो? वास्तवमा, प्रधानपूजाहारी त्यस राष्ट्रको सबैभन्दा प्रतिष्ठित व्यक्‍तिहरूमध्ये हुन्थ्यो। तसर्थ, तिनको मृत्यु असाध्यै महत्त्वपूर्ण घटना हुनेथियो र इस्राएलका सारा कुलहरूले यसबारे थाह पाउनेथिए। शरण-नगरका सबै शरणार्थीहरू प्रतिशोधीहरूबाट खतरामुक्‍त भएर आ-आफ्नो घर फर्कन सक्थे। किन? किनभने परमेश्‍वरको व्यवस्थाअनुसार प्रधानपूजाहारीको मृत्युपछि प्रतिशोधीले हत्यारालाई मार्न पाउँदैनथियो भनेर सबैलाई थाह थियो। त्यसपछि मृतकको निकटतम नातेदारले त्यस हत्यारालाई माऱ्‍यो भने तिनी हत्यारा हुनेथिए र अन्ततः हत्याको अभियोगमा मृत्युदण्ड पाउनेथिए।

चिरकालीन असरहरू

१७. अनजानमा हत्या गर्ने हत्यारामाथि राखिएका प्रतिबन्धहरूको सम्भाव्य असरहरू के थिए?

१७ अनजानमा हत्या गर्ने हत्यारामाथि राखिएका प्रतिबन्धहरूको सम्भाव्य असरहरू के थिए? तिनले कसैको हत्या गरेको छ भनेर ती प्रतिबन्धहरूले सम्झौटा दिनेथियो। सम्भवतः त्यसपर्यन्त तिनले मानव जीवनलाई पवित्र ठान्‍नेछ। यसबाहेक, तिनीप्रति दयापूर्वक व्यवहार गरिएको थियो भनेर तिनले कहिल्यै भुल्नेछैनन्‌। तिनलाई दया देखाइएको हुँदा तिनी पक्कै पनि अरूप्रति दयालु हुन चाहनेथिए। शरण-नगरहरूको प्रबन्धलगायत त्यसका प्रतिबन्धहरूले साधारणतः मानिसहरूलाई पनि लाभ पुऱ्‍याउँथ्यो। तर कसरी? निस्सन्देह, यसले मानव जीवनप्रति लापरवाही वा भावशून्य हुनुहुँदैन भनेर अमेट छाप पारेको हुनुपर्छ। यसकारण आकस्मिक मृत्यु हुनसक्ने लापरवाहीबाट मसीहीहरू जोगिन यसले सम्झौटा प्रदान गर्नुपर्ने हो। साथै, परमेश्‍वरले शरण-नगरहरू बनाउनुभएर गर्नुभएको दयालु प्रबन्धले हामीलाई उपयुक्‍त अवसरमा दया देखाउन प्रेरित गर्नुपर्ने हो।—याकूब २:१३.

१८. परमेश्‍वरले प्रबन्ध गर्नुभएका शरण-नगरहरू कुन कुन तरिकामा लाभकारी थिए?

१८ यहोवा परमेश्‍वरले प्रबन्ध गर्नुभएका शरण-नगरहरू अन्य तरिकामा पनि लाभकारी थिए। हत्याराको पुर्पक्ष हुनुअघि नै तिनी दोषी ठहरिएको अनुमान लगाएर मानिसहरू समाजमा अपराध नियन्त्रण समूह गठन गर्दैनथे। बरु, तिनीहरूले तिनलाई जानाजानी गरिएको हत्याबाट निर्दोष ठान्थे र तिनलाई भाग्नसमेत मदत गर्थे। यसबाहेक, शरण-नगरहरूको प्रबन्ध वर्तमान समयमा हत्याराहरूलाई झ्यालखानामा राखेझैं पटक्कै होइन। किनभने अहिले सर्वसाधारणले झ्यालखानामा बस्ने ती हत्याराहरूलाई वित्तीय सहयोग पुऱ्‍याइरहेको हुन्छ र गलत काम गर्ने अन्य व्यक्‍तिहरूसित घनिष्ठ हुँदा यी हत्याराहरू प्रायजसो झनै बिग्रन्छन्‌। शरण-नगरको प्रबन्धअन्तर्गत कैदीहरू नभागोस्‌ भनेर निकै पैसा खर्च गरेर तारले बारिएका ठूल-ठूला झ्यालखानाहरू बनाउनु र त्यसको स्याहार-सम्भार गर्नु पर्दैनथियो। बरु, हत्यारा स्वयंले “झ्यालखाना” खोज्थ्यो र निर्दिष्ट समयसम्म त्यहीं बस्थ्यो। तिनले काम पनि गर्नुपर्ने भएकोले सँगी मानवहरूको लागि केही न केही लाभ पुऱ्‍याउँथ्यो।

१९. शरण-नगरहरूसम्बन्धी कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

१९ निस्सन्देह, परमेश्‍वरले इस्राएलमा प्रबन्ध गर्नुभएका शरण-नगरहरू अनजानमा हत्या गर्ने हत्याराहरूको लागि दयालु प्रबन्ध थियो। यो प्रबन्धले पक्कै पनि जीवनको आदरलाई प्रवर्धन गऱ्‍यो। तथापि, आज २० औं शताब्दीका मानिसहरूको लागि पुरातन शरण-नगरहरूले के कुनै अर्थ राख्छ? के हामी यहोवा परमेश्‍वरसमक्ष रक्‍तदोषी हुँदा हुँदै पनि उहाँको दया चाहिन्छ भनेर हामीलाई होशै नहुनसक्छ? इस्राएलका शरण-नगरहरूले आधुनिक समयमा हाम्रोलागि के कुनै महत्त्व राख्छ?

तपाईंले कस्तो जवाफ दिनुहुनेछ?

◻ यहोवाले मानव जीवनलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्छ?

◻ अनजानमा हत्या गर्ने हत्याराहरूका लागि परमेश्‍वरले कस्तो दयालु प्रबन्ध गर्नुभयो?

◻ शरण-नगरसम्म हत्यारा कसरी पुग्न सक्थ्यो र त्यहाँ कतिञ्जेल बस्नुपर्थ्यो?

◻ अनजानमा हत्या गर्ने हत्यारामाथि राखिएका प्रतिबन्धहरूको सम्भाव्य असरहरू के थिए?

[पृष्ठ १२-मा भएको नक्सा]

इस्राएलका शरण-नगरहरू सुविधाजनक स्थानमा थिए

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

केदेश यर्दन नदी गोलान

शेकेम रामोत

हेब्रोन बेजेर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने