तपाईंको भविष्य कस्तो हुनेछ?
सर्वशक्तिमान् परमेश्वर सर्वज्ञ हुनुहुन्छ अनि भूत, वर्तमान तथा भविष्य जान्नुहुन्छ भने परमेश्वरले पूर्वानुमान गर्नुभएबमोजिम नै सबै कुराहरू हुँदैनन् र? परमेश्वरले एक एक मानिसको जीवन चक्र तथा अन्तिम अवस्था पूर्वानुमान र फैसला गर्नुभइसकेको छ भने के हामीले स्वेच्छासाथ आफ्नो जीवनपद्धति अर्थात् भविष्य छनौट गर्नसक्छौं र?
उक्त प्रश्नहरूबारे शताब्दीयौंदेखि विवाद हुँदै आएको छ। यस्तो विवादले गर्दा अहिले पनि ठूलठूला धर्महरू विभाजित भइरहेका छन्। पहिल्यै भविष्य थाह पाउनसक्ने परमेश्वरको क्षमतासित मानिसको स्वतन्त्र इच्छा मिलान गर्न सकिन्छ? यसको जवाफ कहाँ पत्ता लगाउने?
परमेश्वरले आफ्नो वचनको माध्यमद्वारा मानिसजातिसँग सञ्चार कायम गर्नुभएको छ र उहाँले त्यो वचन आफ्ना प्रवक्ताहरू अर्थात् अगमवक्ताहरूद्वारा दिनुभएको छ भनी संसारभरिका करोडौं मानिसहरू स्वीकार्छन्। उदाहरणका लागि, कुरानले दर्शनहरू परमेश्वरबाट आएका हुन् भनी औंल्याउँछ: तौरह (तोरह, व्यवस्थाको पुस्तक वा मोशाको पाँचवटा पुस्तक), जबुर (भजनसंग्रह) र इन्जिल-का (सुसमाचारको पुस्तक, मसीही युनानी धर्मशास्त्र वा “नयाँ नियम”) साथै इस्राएलका अगमवक्ताहरूलाई दिइएका दर्शनहरू।
मसीही युनानी धर्मशास्त्रमा हामी यस्तो पढ्छौं: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई . . . उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) अतः हामीले पाउने निर्देशन तथा ज्ञान मूलतः परमेश्वरबाट आएको हुनुपर्छ। त्यसोभए, परमेश्वरका प्रारम्भिक अगमवक्ताहरूका लेखोटहरू केलाएर हेर्नु बुद्धिमानी नहोला त? ती लेखोटहरूले हाम्रो भविष्यबारे के बताउँछन्?
पूर्व लिखित भविष्य
पवित्र धर्मशास्त्र बाइबल पढ्ने व्यक्तिले त्यसमा सयौं भविष्यवाणीहरू छन् भनेर थाह पाएको हुन्छ। प्राचीन बाबेलको पतन, यरूशलेमको पुननिर्माण (सा.यु.पू. छैटौंदेखि पाँचौं शताब्दीसम्म), प्राचीन समयका मादी-फारसी र ग्रीसका राजाहरूको उत्थान अनि पतन जस्ता ऐतिहासिक घटनाहरूबारे विस्तृत रूपमा भविष्यवाणी गरिएका थिए। (यशैया १३:१७-१९; ४४:२४–४५:१; दानियल ८:१-७, २०-२२) पवित्र धर्मशास्त्र साँच्चै परमेश्वरको वचन हो भन्ने अचूक प्रमाणहरूमध्ये ती भविष्यवाणीहरूको पूर्ति पनि एक हो। किनकि भविष्यमा हुने कुराहरू पूर्वानुमान तथा निर्धारण गर्ने शक्ति त परमेश्वरसँग मात्र हुन्छ। यस अर्थमा, पवित्र धर्मशास्त्रमा निस्सन्देह पूर्व लिखित भविष्यको रेकर्ड छ।
परमेश्वर आफै घोषणा गर्नुहुन्छ: “म परमेश्वर हुँ, औ मबाहेक अरू कोही छैन। म परमेश्वर हुँ, म जस्तै अरू कोही छैन। म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू यसो भनेर घोषणा गर्छु, ‘मेरो उद्देश्य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु’ . . . मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।” (यशैया ४६:९-११; ५५:१०, ११) प्राचीन समयका अगमवक्ताहरूलाई आफ्नो नाउँ यहोवा हो भनेर परमेश्वरले चिनाउनुभयो जसको अक्षरशः अर्थ “उहाँले हुन दिनुहुन्छ” हो।a (उत्पत्ति १२:७, ८; प्रस्थान ३:१३-१५; भजन ८३:१८) उहाँले आफूलाई वचन पूरा गर्नुहुने, उद्देश्यहरू पूर्ति गर्नुहुने व्यक्तिको रूपमा प्रकट गर्नुहुन्छ।
यसप्रकार, आफ्नो उद्देश्य पूरा गर्न परमेश्वरले पूर्वज्ञानको शक्ति प्रयोग गर्नुहुन्छ। उहाँले यो शक्ति अक्सर दुष्टहरूलाई आउँदै गरेको न्यायको चेताउनी दिन र आफ्ना सेवकहरूलाई उद्धारको आशा प्रदान गर्न प्रयोग गर्नुभएको छ। तर के परमेश्वरले यो शक्तिलाई अनियन्त्रित ढंगमा प्रयोग गर्नुहुन्छ? के परमेश्वरले पहिल्यै जान्न नचाहनुभएको कुनै घटनाको प्रमाण पवित्र धर्मशास्त्रमा छ?
के परमेश्वरले सबै कुरा पहिल्यै थाह पाउनुहुन्छ?
पूर्वनिर्धारित भविष्यलाई समर्थन गर्ने तमाम तर्कहरू यही अनुमानमा आधारित छन् कि परमेश्वरले भविष्यका घटनाहरू पूर्वानुमान तथा निर्धारण गर्न सक्नुहुन्छ भने उहाँले हरेक मानिसको भविष्यका कार्यहरूलगायत सबै कुरा जान्नुहुन्छ। तथापि, के यस्तो अनुमान सही हो? परमेश्वरले आफ्नो पवित्र धर्मशास्त्रमा प्रकट गर्नुभएका कुराले बेग्लै तथ्य प्रकट गर्छ कि?
उदाहरणका लागि, आफ्नो छोरो इसहाकलाई बलिदान चढाउन लगाउनुभएर “परमेश्वरले अब्राहामलाई ठूलो जाँच गर्नुभयो” भनी धर्मशास्त्र बताउँछ। अब्राहामले इसहाकलाई बलिदान चढाउनै लाग्दा परमेश्वरले रोकेर यसो भन्नुभयो: “अब मैले थाह पाएँ तँ परमेश्वरसँग डराउँदो रहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।” (उत्पत्ति २२:१-१२) अब्राहामले आज्ञा पालन गर्नेछन् भनी परमेश्वरलाई पहिल्यै थाह भएको भए के उक्त कुरा उहाँले भन्नुहुँदा उहाँ इमानदार हुनुहुने थियो र? के अब्राहामलाई गरिएको जाँच इमानदारी हुने थियो?
यसबाहेक, उहाँले गुर्नभएका वा गर्ने विचार गर्नुभएका कुनै कुनै कुराप्रति ‘पछुतो लागेको’ परमेश्वरले दोहऱ्याइ तेहऱ्याइ बताउनुभयो भनी प्राचीन अगमवक्ताहरू वर्णन गर्छन्। उदाहरणका लागि, ‘शाऊललाई इस्राएलमाथि राजा तुल्याएकोमा पछुताएको [हिब्रू नेकेम] छु’ भनी परमेश्वरले भन्नुभयो। (१ शमूएल १५:११, ३५; तुलना गर्नुहोस् यर्मिया १८:७-१०; योना ३:१०) उक्त पदहरूले शाऊललाई इस्राएलको प्रथम राजा छान्नुभएर परमेश्वरले गल्ती गर्नुभयो भनी औंल्याउँदैन किनकि उहाँ सिद्ध हुनुहुन्छ। बरु, शाऊल अविश्वासी र अनाज्ञाकारी भएकोले परमेश्वर दुःखित हुनुभयो भनेर उक्त पदहरूले संकेत गर्छ। शाऊलको कार्यबारे पूर्वज्ञान भएको हुँदो हो त पछुताएँ भन्नु परमेश्वरको लागि अर्थहीन हुनेथियो।
धर्मशास्त्रको सबैभन्दा पुरानो पुस्तकमा नूहको समयबारे चर्चा गर्दा त्यही शब्द प्रयोग गरिएको छ। त्यहाँ यसो भनिएको छ: “पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयो। तब परमप्रभुले भन्नुभयो, ‘मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु . . . किनभने ती बनाएकोमा मलाई अफसोस लाग्यो।’ ” (उत्पत्ति ६:६, ७) परमेश्वरले मानिसका कार्यहरू पूर्वनिर्धारित गर्नुभएको हुँदैन भनेर पनि यसले देखाउँछ। उहाँका कार्यहरू त्रुटीपूर्ण भएकोले होइन तर मानिसहरू अति दुष्ट भएकोले परमेश्वर पछुताउनुभयो, दुःखित हुनुभयो र उहाँलाई चोटसमेत पुग्यो। नूह र तिनका परिवारबाहेक सम्पूर्ण मानिसजातिलाई नाश नगरी नहुने भयो भनेर सृष्टिकर्ता पछुताउनुभयो। परमेश्वर यस्तो आश्वासन दिनुहुन्छ: “दुष्टको मृत्यु म चाहन्नँ।”—इजकिएल ३३:११; तुलना गर्नुहोस् व्यवस्था ३२:४, ५.
अतः के आदम पापमा फस्नुअघि तथा फसेपछि मानव परिवारमाथि आइपर्ने विपत्तिजनक परिणामहरू परमेश्वरले पहिल्यै जान्नु अनि फैसला गर्नुभएको थियो? हामीले छलफल गरेका कुराहरूले त्यसो हुन सक्दैन भनी देखाउँछन्। साँच्चै, त्यो कुरा परमेश्वरले पहिल्यै थाह पाउनुभएको हुँदो हो त मानिसको सृष्टिसँगसँगै उहाँले पापको पनि रचना गर्नुभयो अनि मानिसले भोग्नुपरेका सबै दुष्टता तथा दुःखकष्टको जिम्मेवार परमेश्वर नै हुनुहुन्छ। स्पष्टतया, परमेश्वरले आफ्नो विषयमा धर्मशास्त्रमा प्रकट गर्नुभएका कुराहरूसँग उक्त कुरा मेल खाँदैन। उहाँ प्रेम तथा न्यायको परमेश्वर हुनुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ।—भजन ३३:५; हितोपदेश १५:९; १ यूहन्ना ४:८.
मानिसको दुइटा भविष्य
परमेश्वरले हाम्रो भविष्य एक वा अर्को तरिकामा पहिल्यै निर्णय वा पूर्वनिर्धारित गर्नुभएको छ भनेर पवित्र धर्मशास्त्रले कदापि औंल्याउँदैन। बरु, पवित्र धर्मशास्त्रले त मानिससमक्ष दुइटा भविष्य छ भनेर पो औंल्याउँछ। परमेश्वरले हरेक मानिसलाई कुन चाहिं भविष्य रोज्ने हो, उनीहरूको आफ्नै स्वेच्छामा छोड्नुभएको छ। अगमवक्ता मोशाले प्राचीन कालमा इस्राएलीहरूसामु यस्तो घोषणा गरे: “मैले तिमीहरूका अगि जीवन र मृत्यु . . . राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो किनकि यसो गर्नुनै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ।” (व्यवस्था ३०:१९, २०) परमेश्वरका अगमवक्ता येशूले अग्रिम चेताउनी दिनुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) बाटो दुइटा छ, त्यसैले भविष्य पनि दुइटै छ। हाम्रो भविष्य हाम्रै कार्यमा निर्भर छ। परमेश्वरको आज्ञा पालन गऱ्यौं भने जीवन पाउनेछौं, अनाज्ञाकारी भयौं भने मृत्यु भोग्नेछौं।—रोमी ६:२३.
परमेश्वरले “सबै ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। यतिसम्म कि, उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा [उहाँले] . . . धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।” (प्रेरित १७:३०, ३१) नूहको समयमा धेरैजसो मानिसहरू अनाज्ञाकारी भएर विनाश भएझैं आज पनि धेरैजसो मानिसहरू परमेश्वरका आज्ञाहरू पालन गर्दैनन्। यद्यपि, कसले विनाश भोग्नेछ अनि कसले उद्धार पाउनेछ, परमेश्वरले पूर्वनिर्धारित गरिसक्नुभएको छैन। वास्तवमा, परमेश्वरले ‘कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गर्नुभएको छ’ भनी परमेश्वरको वचनले बताउँछ। (२ पत्रुस ३:९) असाध्यै दुष्ट मानिसहरू पनि पश्चात्ताप गरेर आज्ञाकारी बन्नसक्छन् र परमेश्वरको अनुमोदन प्राप्त गर्न जीवनमा आवश्यक काँटछाँट गर्नसक्छन्।—यशैया १:१८-२०; ५५:६, ७; इजकिएल ३३:१४-१६; रोमी २:४-८.
परमेश्वरले आज्ञाकारीहरूका लागि शान्तिमय प्रमोदवनमा अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। त्यतिखेर पृथ्वी दुष्टता, हिंसा तथा युद्धरहित हुनेछ। भोक, दुःखकष्ट, बिमारी र मृत्युको नामोनिसान हुनेछैन। (भजन ३७:९-११; ४६:९; यशैया २:४; ११:६-९; २५:६-८; ३५:५, ६; प्रकाश २१:४) मरेकाहरूसमेत पुनरुत्थान हुनेछन् र तिनीहरूले परमेश्वरको सेवा गर्ने सुअवसर पाउनेछन्।—दानियल १२:२; यूहन्ना ५:२८, २९.
भजनरचयिता यसो भन्छन्: “सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्मालाई हेर्, किनभने त्यस्ता मानिसको अखिरको अवस्था शान्तिमय हुन्छ। अपराधीहरू चाहिं सबै सँगसँगै नाश हुनेछन्, दुष्टको आखिर अवस्था सर्वनाशको हुनेछ।” (भजन ३७:३७, ३८) तपाईंको भविष्य कस्तो हुनेछ? त्यो तपाईंमै निर्भर छ। शान्तिमय तथा सुखद भविष्य बनाउनको लागि तपाईंलाई अझ बढी जानकारी प्रदान गर्न यस पत्रिकाका प्रकाशक खुसी हुनेछन्।
[फुटनोट]
a पवित्र धर्मशास्त्रमा ७,००० पटकभन्दा बढी यहोवा नाउँ प्रयोग गरिएको छ; वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित सबैभन्दा महान् नाउँ (अंग्रेजी) पर्चा हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
आफ्नो उद्देश्य पूरा गर्न परमेश्वरले पूर्वज्ञानको शक्ति प्रयोग गर्नुहुन्छ
[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वर ‘कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गर्नुहुन्छ।’ २ पत्रुस ३:९
[पृष्ठ ७-मा भएको चित्र]
आफ्नो छोरोलाई बलिदान चढाउन अब्राहाम पछि पर्ने छैनन् भनी परमेश्वरलाई पहिल्यै थाह भएको भए के त्यो जाँच इमानदारीपूर्ण हुने थियो र?