प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १/१ pp. ३०-३१
  • इसहाकको लागि पत्नी खोज्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इसहाकको लागि पत्नी खोज्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौतीपूर्ण कार्य
  • हाम्रोलागि पाठ
  • यहोवालाई माया गर्ने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • प्रार्थनाको शक्‍ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • इसहाकले असल पत्नी पाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

इसहाकको लागि पत्नी खोज्ने

इनारको छेउमा एक वृद्ध मानिस लखतरान भएर बसिरहेका थिए। तिनी, तिनका चाकरहरू तथा तिनीहरूको दशवटा ऊँटले नजीकको बेर्शेबादेखि उत्तरी मेसोपोटामियासम्म ८०० किलोमिटरभन्दा लामो दूरी पार गरिसकेका थिए।a अब आफ्नो गन्तव्यस्थान पुगेपछि यस थकित यात्रु आफ्नो जटिल कार्यबारे सोच्न थाल्छन्‌। यस मानिस को थिए र तिनले यस्तो कठिन यात्राको अभिभारा किन लिए?

त्यस मानिस अब्राहामको “घरको सबैभन्दा पूरानो” नोकर थिए। (उत्पत्ति २४:२) यस विवरणमा तिनको नाउँ उल्लेख नगरिए तापनि तिनी सम्भवतः एलीएजर हुनुपर्छ जसलाई अब्राहामले एक चोटि “मेरो उत्तराधिकारी हुने मेरो घरमा जन्मेको दास” भने। (उत्पत्ति १५:२, ३) निस्सन्देह, त्यो समयमा अब्राहाम र सारा निस्सन्तान थिए। अहिले तिनीहरूका छोरा इसहाक ४० वर्ष पुगिसकेका थिए र अब एलीएजर अब्राहामको प्रमुख उत्तराधिकारी नभए तापनि अझै तिनको नोकर भने थिए। त्यसकारण अब्राहामको चुनौतीपूर्ण आग्रह स्वीकार्न राजी भए। त्यो आग्रह के थियो?

चुनौतीपूर्ण कार्य

अब्राहामको समयमा विवाहले परिवारलाई मात्रै नभई सम्पूर्ण कुल वा कुलपिताको समुदायलाई नै असर पार्थ्यो। तसर्थ आमाबाबुले आफ्ना छोराछोरीको लागि पति या पत्नी खोज्ने चलन थियो। तथापि आफ्नो छोरा इसहाकको लागि पत्नी खोज्ने सन्दर्भमा चाहिं अब्राहामलाई फसाद नै परेको थियो। स्थानीय कनानीहरूको अभक्‍त जीवनशैलीले गर्दा तिनीहरूसित विवाह गर्ने त कुरै उठ्‌दैन थियो। (व्यवस्था १८:९-१२) अनि केटाले आफ्नै कुलकी केटीसँग विवाह गर्ने चलन भए तापनि अब्राहामका नातेदारहरू सयौं किलोमिटर टाढा उत्तरी मेसोपोटामियामा बसोबास गर्थे। तिनले इसहाकलाई त्यहाँ बसाइँ सर्न पठाउन पनि सक्दैनन्‌ थिए किनभने यहोवाले अब्राहामलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “म तेरै सन्तानलाई यो देश दिनेछु,” अर्थात्‌ कनानको देश। (उत्पत्ति २४:७) यसर्थ अब्राहामले एलीएजरलाई यसो भने: “मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि स्वास्नी ल्याउनू।”—उत्पत्ति २४:४.

लामो यात्रा पार गरेपछि इनारको छेउमा थकाइ मार्दै एलीएजरले आफ्नो कार्यबारे मनन गरे। रातको लागि पानी भर्न स्त्रीहरू इनारमा आउने बेला हुनै लागेको एलीएजरले सम्झे। त्यसैले तिनले यहोवालाई यस्तो बिन्ती गरे: “जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनूँला, र जसले मलाई, ‘खानुहोस्‌, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्‌, तिनलाईनै तपाईंले आफ्नो दास इसहाकको निम्ति रोज्नुभएको रहेछ, र तपाईंले मेरो मालिकलाई आफ्नो अटुट प्रेम देखाउनुभएको रहेछ भन्‍ने म त्यसैबाट थाह पाउनेछु।”—उत्पत्ति २४:१४.

तिनको प्रार्थना नसिद्धिंदै रिबेका नाउँ गरेकी एक आकर्षक युवती आइपुगिन्‌। एलीएजरले तिनलाई भने, “कृपागरी तिम्रो गाग्रोबाट मलाई अलिकति पानी पिउन देऊ।” रिबेकाले त्यसै गरिन्‌ र यसो भनिन्‌: “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकूञ्जेल म पानी उघाएर दिनेछु।” यो एकदमै दयालु प्रस्ताव थियो किनभने एउटा तिर्खाएको ऊँटले मात्र दश मिनेटमा ९५ लिटरभन्दा बढी पानी पिउनसक्छ! एलीएजरका ऊँटहरू त्यत्तिको तिर्खाएका भए पनि नभए पनि आफूले गर्न लागेको सेवा कति कठिन हुनेछ भनी रिबेकालाई पक्कै थाह भएको हुनुपर्छ। वास्तवमा तिनले “झट्टै आफ्नो गाग्रोको पानी डूँड़मा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्‌। औ तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्‌।”—उत्पत्ति २४:१५-२०.

यहोवाको डोऱ्‍याइ महसुस गर्दै एलीएजरले रिबेकालाई अहिलेको मूल्यमा झन्डै १,४०० अमेरिकी डलर पर्ने सुनको नत्थ र सुनको दुइटा बाला दिए। जब रिबेकाले एलीएजरलाई आफू अब्राहामको भाइ नाहोरकी नातिनी हुँ भनिन्‌, एलीएजरले परमेश्‍वरलाई धन्यवाद दिंदै प्रार्थना चढाए। “परमप्रभुलेनै मलाई बाटोमा डोऱ्‍याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभयो,” तिनले भने। (उत्पत्ति २४:२२-२७) एलीएजरलाई रिबेकाको परिवारमा लगियो। समयमा रिबेका इसहाककी पत्नी भइन्‌ र तिनले मसीह अर्थात्‌ येशूको पुर्खा हुने विशेष अवसर पाइन्‌।

हाम्रोलागि पाठ

इसहाकको निम्ति ईश्‍वरभीरु पत्नी खोज्नसकूँ भन्दै एलीएजरले प्रार्थनापूर्वक गरेको प्रयासमा यहोवाले आशिष्‌ दिनुभयो। स्मरण रहोस्‌, अब्राहाम मार्फत वंश उत्पादन गर्ने परमेश्‍वरको उद्देश्‍यसित इसहाकको विवाह प्रत्यक्षतः सम्बन्धित थियो। अतः यस विवरण पढेपछि पति या पत्नीको लागि प्रार्थना गर्ने हरेकले चमत्कारपूर्ण ढंगमा जोडी पाउनेछन्‌ भन्‍ने निष्कर्ष निकाल्न नहुने हो। तैपनि, हामी विवाहित हौं या अविवाहित, हामीले यहोवाका सिद्धान्तहरू पछ्यायौं भने जीवनमा आइपर्ने जस्तोसुकै परिस्थितिहरू सामना गर्न उहाँले बल दिनुहुनेछ।—१ कोरिन्थी ७:८, ९, २८; तुलना गर्नुहोस्‌ फिलिप्पी ४:११-१३.

एलीएजरले यहोवाको इच्छा गर्न निकै प्रयास गर्नुपऱ्‍यो। यहोवाको स्तरहरूअनुसार गर्न सधैं सजिलो नभएको हामी पनि महसुस गर्छौं होला। उदाहरणका लागि, ईश्‍वरतान्त्रिक क्रियाकलापमा बाधा नपुऱ्‍याउने जागिर, ईश्‍वरभीरु पति या पत्नी, उत्थानदायी संगति, स्वास्थ्यकर मनोरञ्जन पाउन गाह्रो हुनसक्छ। (मत्ती ६:३३; १ कोरिन्थी ७:३९; १५:३३; एफिसी ४:१७-१९) तैपनि, बाइबल सिद्धान्तहरू सम्झौता गर्न इन्कार गर्नेहरूलाई यहोवाले सँभाल्नुहुन्छ। बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

[फुटनोट]

a ऊँटको सामान्य गतिलाई विचार गर्दा यो यात्रा पूरा गर्न २५ दिनभन्दा बढी लागेको हुनसक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने