परमेश्वरका प्रारम्भिक सेवकहरूको माझ स्त्रीहरूको मर्यादापूर्ण भूमिका
“परमप्रभु परमेश्वरले, भन्नुभयो ‘मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।’”—उत्पत्ति २:१८.
१. एउटा बाइबल शब्दकोशले पुरातन समयमा स्त्रीहरूको भूमिकालाई कसरी वर्णन गरेको छ?
“आधुनिक पश्चिमी समाजमा स्त्रीहरूलाई दिइने स्वतन्त्रता पुरातन भूमध्य सागर वरपरका देशहरू वा दक्षिण पश्चिम एसिया र उत्तर पूर्वी अफ्रिकाका मुलुकहरूमा कतै पाईंदैन थियो। त्यहाँको साधारणतया पद्धतिअनुसार स्वाधीन मानिसहरूले दासहरूलाई तुच्छ ठानेझैं पुरुषहरूले स्त्रीहरूलाई र वृद्धहरूले जवानहरूलाई तुच्छ ठान्थे। . . . बालिकाहरूभन्दा बालकहरू श्रेष्ठ ठानिन्थ्यो र बच्चीहरूलाई मरोस् भनेर कहिलेकाहीं यत्तिकै छाडिन्थ्यो।” पुरातन समयमा स्त्रीहरूको अवस्थालाई एक बाइबल शब्दकोशले त्यसरी वर्णन गरेको छ।
२, ३. (क) एउटा प्रतिवेदनअनुसार आज अधिकांश स्त्रीहरूको परिस्थिति कस्तो छ? (ख) कस्ता प्रश्नहरू उठ्छन्?
२ आज संसारका धेरैजसो भागहरूमा परिस्थिति त्यस्तै छ। सन् १९९४ मा प्रथम चोटि यु.एस. स्टेट डिपार्टमेन्टको मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनले स्त्रीहरूप्रति गरिने व्यवहारमा ध्यानाकर्षण गऱ्यो। त्यस प्रतिवेदनबारे न्यु योर्क टाइम्स-को मुख्य समाचारले यसो भन्यो, “१९३ देशहरूको तथ्यांकअनुसार स्त्रीहरूले दिनानुदिन भोग्ने भेदभाव वास्तविकता हो।”
३ विश्वभरि यहोवाका जनहरूका मण्डलीहरूमा विभिन्न जातीय पृष्ठभूमिका थुप्रै स्त्रीहरू भएकोले केही प्रश्नहरू खडा हुन्छन्: के परमेश्वरले स्त्रीहरूप्रति त्यस्तै व्यवहार होस् भन्ने चाहनुभएको हो? यहोवाका बाइबलकालीन उपासकहरूको माझ स्त्रीहरूप्रति कस्तो व्यवहार गरिन्थ्यो? अनि आज स्त्रीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ?
“सहयोगी” तथा “पूरक”
४. अदनको बगैंचामा प्रथम पुरुष अलिक समय एक्लै बसिसकेपछि यहोवाले के अवलोकन गर्नुभयो र परमेश्वरले त्यसपछि के गर्नुभयो?
४ आदमले अदनको बगैंचामा अलिक समय एक्लै बिताइसकेपछि यहोवाले यो देख्नुभयो: “मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” (उत्पत्ति २:१८) आदम एक सिद्ध पुरुष भए तापनि सृष्टिकर्ताको उद्देश्य पूरा गर्न अरू केही चाहिएको थियो। त्यो आवश्यकता पूरा गर्न यहोवाले स्त्री बनाउनुभयो र प्रथम विवाह सम्पन्न गर्नुभयो।—उत्पत्ति २:२१-२४.
५. (क) बाइबल लेखकहरूले “सहयोगी” भनेर अनुवाद गरेको हिब्रू संज्ञालाई प्रायजसो कसरी प्रयोग गरेका छन्? (ख) यहोवाले प्रथम स्त्रीलाई “पूरक” भनेर सम्बोधन गर्नुहुँदा कुन तथ्य स्पष्ट हुन्छ?
५ “सहयोगी” तथा “पूरक” भन्ने शब्दहरूले के परमेश्वरले स्त्रीलाई दिनुभएको भूमिका तुच्छ थियो भन्ने संकेत दिन्छ? पटक्कै दिंदैन। बाइबल लेखकहरूले “सहयोगी” भनेर अनुवाद गरेको हिब्रू संज्ञा (इजेर) प्रायजसो परमेश्वरलाई बुझाउन प्रयोग गरिन्छ। उदाहरणको लागि, यहोवा हाम्रो “सहायता र हाम्रो ढाल” हुनुहुन्छ। (भजन ३३:२०; प्रस्थान १८:४; व्यवस्था ३३:७) होशे १३:९ मा यहोवाले आफूलाई इस्राएलको ‘सहयोगी’ समेत भन्नुभएको छ। “पूरक” भनेर अनुवाद गरिएको हिब्रू शब्दलाई (नेगेध) एक बाइबल शास्त्रज्ञ यसरी वर्णन गर्छन्: “दैनिक कार्यमा सहयोग पुऱ्याउन वा सन्तानोत्पादनको लागि मात्र होइन . . . तर पारस्परिक मैत्री समर्थनको लागि मदतको आशा गरिन्थ्यो।”
६. स्त्रीको सृष्टिपश्चात् के भनियो र किन?
६ तसर्थ, यहोवाले स्त्रीलाई “सहयोगी” तथा “पूरक” भनेर वर्णन गर्नुमा तुच्छता छैन। स्त्रीको भिन्दै प्रकारको मानसिक, भावनात्मक तथा शारीरिक बनोट थियो। तिनी पुरुषको निम्ति सुहाउँदो जोडी थिइन्। दुवै भिन्न थिए, यद्यपि सृष्टिकर्ताको उद्देश्यअनुरूप ‘पृथ्वीलाई भर्न’ दुवैको खाँचो थियो। स्पष्टतः, पुरुष र स्त्री दुवैलाई सृष्टि गरिसक्नुभएपछि “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्पत्ति १:२८, ३१.
७, ८. (क) अदनमा पापपश्चात् स्त्रीको भूमिकामाथि कस्तो प्रभाव पर्नेथियो? (ख) यहोवाका उपासकहरूको माझ उत्पत्ति ३:१६ को पूर्तिसम्बन्धी कस्ता प्रश्नहरू खडा हुन्छन्?
७ पाप गरिसकेपछि पुरुष र स्त्रीको अवस्थामा परिवर्तन भयो। यहोवाले दुवैलाई पापी घोषित गर्नुभयो। आफूले अनुमति दिनु भएजस्तो देखिने गरी यहोवाले हव्वालाई यसो भन्नुभयो, “तेरो दुःख र सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु।” उहाँले अझै यसो भन्नुभयो: “दुःखसँग तैंले बालक जन्माउनेछस्, तापनि तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) त्यस समयदेखि थुप्रै पतिहरूले आफ्ना पत्नीहरूलाई प्रायजसो कठोरतापूर्वक दमन गरेका छन्। तिनीहरूलाई सहयोगी तथा पूरक ठान्नुको साटो प्रायजसो नोकर तथा दासलाई जस्तो व्यवहार गरिन्छ।
८ त्यसोभए, यहोवाका स्त्री उपासकहरूको निम्ति उत्पत्ति ३:१६ को पूर्तिको अर्थ के थियो? के तिनीहरू निम्न दर्जा वा अपमानजनक स्थानमा झारिए? पटक्कै होइन! तर स्त्रीहरूसित सम्बन्धित बाइबलका केही विवरणहरू त्यस्ता छन्, जुन आज केही समाजहरूमा अस्वीकार्य देखिन सक्छन्। त्यसबारे के भन्न सकिन्छ?
बाइबल आधारित रीतिथितिहरूलाई बुझ्ने
९. बाइबलकालीन स्त्रीहरूका रीतिरिवाजहरूलाई विचार गर्दा कुन तीनवटा बुँदाहरू बिर्सनु हुँदैन?
९ परमेश्वरका बाइबलकालीन सेवकहरूको माझ स्त्रीहरूप्रति राम्रो व्यवहार गरिन्थ्यो। निस्सन्देह, स्त्रीहरूसित सम्बन्धित तत्कालीन रीतिथितिहरू छलफल गर्नुअघि केही बुँदाहरू मनमा राख्नु मदतकारी हुन्छ। सर्वप्रथम, दुष्ट पुरुषहरूले स्वार्थी प्रभुता जमाएकोले विकास भएको अप्रिय अवस्थाबारे बाइबलले बताउँदैमा स्त्रीहरूप्रति त्यस्तो व्यवहारलाई परमेश्वरले अनुमोदन गर्नुहुन्थ्यो भन्ने होइन। दोस्रो, यहोवाले आफ्ना सेवकहरूबीच केही रीतिथितिहरूलाई अलिक समयको लागि अनुमति दिनुभए तापनि त्यसलाई स्त्रीहरूको सुरक्षा गर्न चलाउनुभयो। तेस्रो, पुरातन रीतिथितिहरूलाई आधुनिक स्तरहरूको आधारमा तौलनदेखि सतर्क हुनुपर्छ। अहिलेका मानिसहरूको निम्ति अप्रिय लाग्नसक्ने केही रीतिथितिहरू त्यतिबेलाका स्त्रीहरूलाई पनि तुच्छ लाग्थ्यो नै भन्ने छैन। आउनुहोस्, केही उदाहरणहरू ध्यान देऔं।
१०. यहोवाले बहुविवाहको प्रचलनलाई कस्तो दृष्टिकोणले हेर्नुभयो र उहाँले एक जना मात्र विवाह गर्ने मौलिक स्तरलाई कहिल्यै त्याग्नुभएन भनेर कुन कुराले संकेत गर्छ?
१० बहुविवाह:a यहोवाको मौलिक उद्देश्यअनुसार एउटी स्त्रीको एउटै पति हुनुपर्थ्यो। परमेश्वरले आदमको निम्ति एउटै मात्र पत्नी सृष्टि गर्नुभयो। (उत्पत्ति २:२१, २२) अदनमा विद्रोहपश्चात् कयिनको वंशमा सर्वप्रथम बहुविवाहको प्रचलन देखा पऱ्यो। अन्ततः त्यो एउटा रीति बन्न गयो र यहोवाका केही उपासकहरूले त्यसलाई स्वीकार्न थाले। (उत्पत्ति ४:१९; १६:१-३; २९:२१-२८) यहोवाले बहुविवाहलाई अनुमति दिनु हुँदा इस्राएलको जनसंख्या बढाउन मदत दियो। तर उहाँले पत्नीहरू तथा तिनीहरूका छोराछोरीहरूको सुरक्षा होस् भनेर त्यस प्रचलनलाई नियन्त्रणमा राख्नुभएर स्त्रीहरूप्रति चासो देखाउनुभयो। (प्रस्थान २१:१०, ११; व्यवस्था २१:१५-१७) यसबाहेक, यहोवाले एक जना मात्र विवाह गर्ने आफ्नो मौलिक स्तरलाई कहिल्यै त्याग्नुभएन। नूह तथा तिनका छोराहरूलाई “फल्दै फुल्दै पृथ्वीमा भरिंदै जाऊ” भन्ने आज्ञा दोहोऱ्याइएको थियो र ती सबैले एक एक जना पत्नी विवाह गरेका थिए। (उत्पत्ति ७:७; ९:१; २ पत्रुस २:५) परमेश्वरले इस्राएलसितको आफ्नो सम्बन्धलाई चित्रण गर्न आफूलाई एउटै स्त्रीको पति भनेर देखाउनुभयो। (यशैया ५४:१, ५) त्यसपछि, येशू ख्रीष्टले एक जना मात्र विवाह गर्ने परमेश्वरको मौलिक स्तरलाई पुनस्थापित गर्नुभयो र प्रारम्भिक मसीही मण्डलीले त्यही प्रचलन अपनायो।—मत्ती १९:४-८; १ तिमोथी ३:२, १२.
११. बाइबल समयमा दुलहीको मोल किन दिइन्थ्यो, के यो स्त्रीहरूको निम्ति अपमानजनक कुरा थियो?
११ दुलहीको मोल: एन्शियन्ट इज्रेल—इट्स लाइफ एण्ड इन्स्टिच्युशन्स् यसो भन्छ: “केटीको परिवारलाई एकमुस्ट रकम वा त्यो बराबरको मालताल तिर्नुपर्ने दायित्वले गर्दा इस्राएली विवाह झट्ट हेर्दा किनबेचजस्तो देखिन्छ। तर [दुलहीको मोल] स्त्रीलाई दिइने कुनै रकम नभई परिवारलाई तिर्ने क्षतिपूर्तिजस्तो देखिन्छ।” (तेर्सो अक्षर हाम्रो।) अतः दुलहीको मोलस्वरूप दिइने रकम त्यस स्त्रीले परिवारमा पुऱ्याइएकी योगदानहरू र उनको हेरचाह गर्न परिवारले गरेको प्रयास तथा खर्च बापत दिइने क्षतिपूर्ति हो। त्यसले स्त्रीलाई तुच्छ तुल्याउनुको साटो उनी परिवारमा कतिको मूल्यवान् थिइन् भनेर पुष्टि गर्छ।—उत्पत्ति ३४:११, १२; प्रस्थान २२:१६; जनवरी १५, १९८९ द वाचटावर-को पृष्ठ २१-४ हेर्नुहोस्।
१२. (क) शास्त्रमा विवाहित स्त्री तथा पुरुषहरूलाई कहिलेकाहीं कसरी सम्बोधन गरिन्थ्यो र के यी पदावलीहरू स्त्रीहरूको निम्ति अपमानजनक थियो? (ख) यहोवाले अदनमा प्रयोग गर्नुभएका पदहरूको उल्लेखनीय पक्ष के हो? (पादटिप्पणी हेर्नुहोस्।)
१२ “मालिक”-को हैसियतमा पतिहरू: अब्राहाम र साराको जीवनमा सा.यु.पू. १९१८ तिर भएको एउटा घटनाले तिनीहरूको समयसम्म विवाहित पुरुषलाई “मालिक” (हिब्रू, बाआल) र विवाहित स्त्रीलाई ‘मालिकको’ (हिब्रू, बेउला) भन्ने प्रचलन सामान्य भइसकेको थियो भनेर स्पष्ट संकेत गर्छ। (उत्पत्ति २०:३) त्यसपछि शास्त्रमा यी अभिव्यक्तिहरू कहिलेकाहीं प्रयोग गरिएका छन्। तर मसीही पूर्व स्त्रीहरूले त्यसलाई अपमानजनक ठान्थे भन्ने कुनै संकेत पाईंदैन।b (व्यवस्था २२:२२) तर पत्नीहरूलाई घडेरीजस्तो व्यवहार गर्नु हुँदैन थियो। घडेरी वा धन किनबेच गर्न वा पुर्खौलीको रूपमा आर्जन गर्न सकिन्थ्यो तर पत्नी भने त्यस्तो सम्पत्ति होइन। बाइबलको एउटा हितोपदेशले यसो भन्छ: “घर-बारी र धन-सम्पत्ति पुर्खादेखिनै आएको हुन्छ, तर बुद्धिमती पत्नी परमप्रभुको वरदान हो।”—हितोपदेश १९:१४; व्यवस्था २१:१४.
मर्यादापूर्ण भूमिका
१३. ईश्वरभीरु पुरुषहरूले यहोवाको उदाहरण अनुकरण गर्दा र उहाँको व्यवस्था पालन गर्दा स्त्रीहरूले कस्तो नतिजा भोगे?
१३ उसोभए मसीही पूर्व समयमा परमेश्वरका सेवकहरू माझ स्त्रीहरूको भूमिका कस्तो थियो? तिनीहरूलाई कस्तो दृष्टिकोणले हेरिन्थ्यो र तिनीहरूप्रति कस्तो व्यवहार गरिन्थ्यो? सरल अर्थमा भन्ने हो भने, ईश्वरभीरु पुरुषहरूले यहोवाको उदाहरण पछ्याउँदा र उहाँको व्यवस्था पालन गर्दा स्त्रीहरूको भूमिका मर्यादापूर्ण हुन्थ्यो। साथै तिनीहरूले धेरै अधिकार तथा सुअवसरहरूको आनन्द उठाउँथे।
१४, १५. इस्राएलमा स्त्रीहरूलाई आदर गरिन्थ्यो भन्ने के संकेत पाइन्छ र यहोवाले आफ्ना पुरुष उपासकहरूले तिनीहरूलाई आदर गरेको आशा गर्नु किन औचित्यपूर्ण थियो?
१४ स्त्रीहरूको आदर गरिनुपर्थ्यो। परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्थाअनुसार आमा र बुबा दुवैलाई आदर गर्नुपर्थ्यो। (प्रस्थान २०:१२; २१:१५, १७) लेवी १९:३ यसो भन्छ, “तिमीहरू हरेकले आफ्ना आमाबाबुको डर मान्नू।” एक चोटि बेतशेबा आफ्नो छोरा सुलेमानकहाँ जाँदा आदरका साथ “राजा तिनलाई स्वागत गर्नलाई उठे।” (१ राजा २:१९) इन्साइक्लोपीडिया जुडाइका यस्तो टिप्पणी गर्छ: “स्त्रीहरूलाई आदर गरिएको समाजमा मात्र इस्राएलप्रति परमेश्वरको प्रेमलाई पत्नीप्रति पतिको प्रेमसित भविष्यसूचक ढंगमा तुलना गर्नसकिन्थ्यो।”
१५ यहोवाले स्त्रीहरूलाई आदर गर्नुहुने भएकोले उहाँका पुरुष उपासकहरूले पनि त्यसै गरेको आशा गर्नुहुन्छ। परमेश्वरले स्त्रीहरूलाई आदर गर्नुहुन्छ भन्ने संकेतहरू शास्त्रमा पाइन्छन् जहाँ यहोवाले स्त्रीहरूका अनुभवहरूलाई उदाहरणको रूपमा प्रयोग गर्नुभएको छ र आफ्ना भावनाहरूलाई स्त्रीहरूका भावनाहरूसित मिलान गर्नुभएको छ। (यशैया ४२:१४; ४९:१५; ६६:१३) यहोवाले कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न यसले पाठकहरूलाई मदत दिन्छ। चाखलाग्दो कुरा के हो भने, यहोवाले आफ्नो सम्बन्धमा प्रयोग गर्नुहुने हिब्रू पद्यांश, “दया” वा “कृपा” र “गर्भ” बुझाउने शब्द झन्डै झन्डै उस्तै छ र त्यसलाई “मातृवात्सल्य” भनेर वर्णन गर्न सकिन्छ।—प्रस्थान ३३:१९; यशैया ५४:७.
१६. ईश्वरभीरु स्त्रीहरूको सल्लाहलाई मूल्यवान् ठानिन्थ्यो भनेर कुन उदाहरणहरूले देखाउँछ?
१६ ईश्वरभीरु स्त्रीहरूको सल्लाहलाई मूल्यवान् ठानिन्थ्यो। एक पटक ईश्वरभीरु अब्राहाम आफ्नी ईश्वरभीरु पत्नी, साराको सल्लाह सुन्न हिचकिचाउँदा यहोवाले तिनलाई यसो भन्नुभयो: “साराले तँलाई जसो भन्छ सोही बमोजिम गर्।” (उत्पत्ति २१:१०-१२) एसावका हित्ती पत्नीहरूले गर्दा “इसहाक र रिबेकाको जीवन अमिलो हुनगयो।” तिनीहरूको छोरा याकूबले हित्तीलाई विवाह गरेमा कति हैरान हुनेछिन् भनेर रिबेकाले अन्तमा व्यक्त गरी हालिन्। इसहाकको प्रतिक्रिया कस्तो थियो? विवरणले यसो भन्छ, “इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, ‘तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू।’” हो, रिबेकाले प्रत्यक्ष सल्लाह नदिएको भए तापनि उनका भावनाहरूलाई कदर गर्दै उनको पतिले निर्णय गरे। (उत्पत्ति २६:३४, ३५; २७:४६; २८:१) अबिगेलको बिन्ती सुनेकोले राजा दाऊद रक्तदोषबाट बचे।—१ शमूएल २५:३२-३५.
१७. परिवारमा स्त्रीहरूको केही हदसम्म अख्तियार हुन्थ्यो भनेर कुन कुराले देखाउँछ?
१७ परिवारमा स्त्रीहरूको केही हदसम्म अधिकार हुन्थ्यो। छोराछोरीहरूलाई यस्तो आग्रह गरिएको थियो: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्, र आफ्नी आमाको अर्ती इन्कार नगर्।” (हितोपदेश १:८) हितोपदेश ३१ अध्यायमा “सुयोग्य पत्नी[को]” वर्णनले प्रकट गरेअनुसार विवाहित स्त्री घरायसी कामधन्दा सँभाल्न मात्र होइन तर घडेरीको किनबेच, खेतलाई उत्पादनशील बनाउन, सानो व्यापार चलाउन सक्षम र बुद्धिमान हुन्थी। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण चाहिं, प्रशंसनीय स्त्रीले यहोवाप्रति राख्ने श्रद्धेय डर हो। अतः त्यस्तो स्त्रीको मूल्य “मूगा-मोतीभन्दा पनि ज्यादा” हुनु छक्कलाग्दो कुरा होइन! गरगहना र श्रृंगारको रूपमा रातो मूगा असाध्यै बहुमूल्य ठानिन्थ्यो।—हितोपदेश ३१:१०-३१.
परमेश्वरको विशेष अनुग्रह प्राप्त गर्ने स्त्रीहरू
१८. बाइबलकालीन केही स्त्रीहरूलाई कुन तरिकाहरूद्वारा विशेष अनुग्रह प्रदान गरिएको थियो?
१८ यहोवाले स्त्रीहरूप्रति राख्नुहुने चासो उहाँले बाइबलकालीन केही स्त्रीहरूलाई दिनुभएको विशेष अनुग्रहबाट झल्किन्थ्यो। हागार, सारा र मानोहकी पत्नीलाई स्वर्गदूतद्वारा ईश्वरीय निर्देशन प्रदान गरिएको थियो। (उत्पत्ति १६:७-१२; १८:९-१५; न्यायकर्त्ता १३:२-५) पवित्रस्थानमा “सेवा गर्ने स्त्रीहरू” र सुलेमानको चोकमा गायिकाहरू हुन्थे।—प्रस्थान ३८:८; १ शमूएल २:२२; उपदेशक २:८.
१९. यहोवाले कहिलेकाहीं आफ्नो प्रतिनिधित्व गर्न स्त्रीहरूलाई कुन ढंगमा प्रयोग गर्नुभयो?
१९ इस्राएलको इतिहासमा धेरै चोटि यहोवाले आफ्नो प्रतिनिधि वा प्रवक्ताको रूपमा स्त्रीलाई चलाउनुभयो। अगमवादिनी दबोराको सन्दर्भमा हामी यसो भनिएको पाउँछौं: “इस्राएलीहरू तिनीकहाँ इन्साफको निम्ति आउँदथिए।” (न्यायकर्त्ता ४:५) कनानी राजा, याबीनमाथि इस्राएलको विजयपश्चात् दबोराले साँच्चै विशेष सुअवसर पाएकी थिइन्। स्पष्टतः, तिनले विजय गानको केही अंश भए पनि संरचना गरेकी थिइन्, जुन अन्ततः यहोवाको प्रेरित विवरणको भाग हुन गयो।c (न्यायकर्त्ता, अध्याय ५) शताब्दीयौंपछि राजा योशियाहले यहोवाको सल्लाह लिन प्रधानपूजाहारीलगायत एउटा प्रतिनिधिमण्डल अगमवादिनी हुल्दाकहाँ पठाए। हुल्दाले यस्तो आधिकारिक जवाफ दिन सकिन्: “परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ।” (२ राजा २२:११-१५) त्यही अवसरमा राजाले यहोवाको निर्देशन प्राप्त गर्न त्यस प्रतिनिधिमण्डललाई एउटी अगमवादिनीकहाँ जाने आज्ञा दिए।—मलाकी २:७ तुलना गर्नुहोस्।
२०. स्त्रीहरूका भावना र हितप्रति यहोवाको चासोलाई कुन उदाहरणहरूले देखाउँछ?
२० यहोवाले आफ्ना स्त्री उपासकहरूको खातिर गर्नुभएका घटनाहरूबाट तिनीहरूप्रति उहाँको चासो प्रष्ट हुन्छ। उहाँले अब्राहामकी सुन्दर पत्नी सारालाई बिटुलो हुनदेखि जोगाउन दुइ पटक हस्तक्षेप गर्नुभयो। (उत्पत्ति १२:१४-२०; २०:१-७) याकूबले कम माया गरेका पत्नी, लेआले छोरा जन्माओस् भनेर ‘तिनको कोख खोलिदिनुभएर’ परमेश्वरले अनुग्रह देखाउनुभयो। (उत्पत्ति २९:३१, ३२) दुइ ईश्वरभीरु इस्राएली सुँडेनीहरूले मिश्रमा हिब्रू छोराहरूको बालहत्या हुनदेखि बचाउन आफ्नो ज्यान खतरामा मोल्दा यहोवाले मूल्यांकनसरह “तिनीहरूलाई सन्तान दिनुभयो।” (प्रस्थान १:१७, २०, २१) उहाँले हन्नाको व्यग्र प्रार्थना पनि सुन्नुभयो। (१ शमूएल १:१०, २०) अनि एक साहुले अगमवक्ताकी विधवाका छोराछोरीहरूलाई ऋण भुक्तानीसरह लिन खोज्दा यहोवाले त्यस विधवालाई त्याग्नुभएन। तिनले ऋण तिर्न सकोस् भनेर परमेश्वरले मायालु ढंगमा तिनका भाँडाहरूमा तेल भरिदिन अगमवक्ता एलीशालाई चलाउनुभयो। यसप्रकार तिनले आफ्नो परिवार र मर्यादालाई जोगाइन्।—प्रस्थान २२:२२, २३; २ राजा ४:१-७.
२१. हिब्रू शास्त्रले स्त्रीहरूको कस्तो सन्तुलित चित्र प्रदान गर्छ?
२१ तसर्थ, हिब्रू शास्त्रले स्त्रीहरूप्रति तुच्छ दृष्टिकोणलाई प्रोत्साहन दिनुको साटो परमेश्वरका जनहरूको माझमा तिनीहरूको सन्तुलित स्थान प्रस्तुत गर्छ। उत्पत्ति ३:१६ को पूर्तिबाट यहोवाले आफ्ना स्त्री उपासकहरूलाई नजोगाउनु भए तापनि यहोवाको उदाहरण अनुकरण गर्ने र उहाँको व्यवस्था पालन गर्ने ईश्वरभीरु पुरुषहरूले स्त्रीहरूसित मर्यादापूर्ण र आदरपूर्ण व्यवहार गर्थे।
२२. येशू पृथ्वीमा आउनुहुँदासम्म स्त्रीहरूको भूमिकामा कस्तो परिवर्तन आइसकेको थियो र कस्ता प्रश्नहरू उठ्छन्?
२२ हिब्रू शास्त्र पूरा भएपछिका शताब्दीहरूमा यहूदीहरूको माझ स्त्रीहरूको भूमिका परिवर्तन हुन थाल्यो। येशू यस पृथ्वीमा आउनुहुँदासम्म रब्बीहरूका परम्पराहरूले स्त्रीहरूका धार्मिक सुअवसरहरू तथा सामाजिक जीवनमा निकै प्रतिबन्ध लगाइसकेको थियो। येशूले स्त्रीहरूप्रति गर्नुहुने व्यवहारलाई के त्यस्ता परम्पराहरूले असर गऱ्यो? आज मसीही स्त्रीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ? यी प्रश्नहरू आउँदो लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a वेब्स्टर्स नाइन्थ न्यु कोलिजियट डिक्शनरी-अनुसार “बहुविवाह”-ले “कुनै एउटा समयमा पति या पत्नीको एकभन्दा बढी पति वा पत्नी हुने विवाहलाई” संकेत गर्छ। अझ स्पष्ट अर्थ बुझाउने “पोलिग्नी” भन्ने अंग्रेजी पदलाई “कुनै समयमा एकभन्दा बढी पत्नी वा स्त्री राख्ने प्रचलन” भनी परिभाषित गरिएको छ।
b सम्पूर्ण हिब्रू शास्त्रभरि विवाहित पुरुष तथा स्त्रीहरूलाई प्रायजसो “पति” (हिब्रू, इश) र “पत्नी” (हिब्रू, इश्शाह) भनेर सम्बोधन गरिएको छ। उदाहरणको लागि, अदनमा यहोवाले प्रयोग गर्नुभएका पदावलीहरू “मालिक” र ‘मालिकको’ नभई “पति” र “पत्नी” थियो। (उत्पत्ति २:२४; ३:१६, १७) होशेले भविष्यवाणी गरेअनुसार निर्वासनबाट फर्केपछि इस्राएलले पश्चात्ताप गरेर यहोवालाई “मेरो मालिक” नभई “मेरो पति” भनेर पुकार्ने थियो। यसबाट “मालिक”-भन्दा “पति” भन्ने पदावलीले कोमल अर्थ बुझाएको संकेत दिनसक्छ।—होशे २:१६.
c न्यायकर्त्ता ५:७ मा दबोरालाई संकेत गर्न प्रथम पुरुष प्रयोग गरिनु उल्लेखनीय छ।
तपाईं कस्तो जवाफ दिनुहुनेछ?
◻ परमेश्वरले स्त्रीहरूलाई दिनुभएको भूमिकाको सन्दर्भमा “सहयोगी” तथा “पूरक” भन्ने पदावलीहरूले के संकेत गर्छ?
◻ हामीले बाइबलकालीन स्त्रीहरूका रीतिरिवाजहरूलाई विचार गर्दा कुन कुरा बिर्सनु हुँदैन?
◻ परमेश्वरका प्रारम्भिक सेवकहरूको माझ स्त्रीहरूको भूमिका मर्यादापूर्ण हुन्थ्यो भनेर कुन कुराले देखाउँछ?
◻ मसीही पूर्व स्त्रीहरूमाथि यहोवाले कुन ढंगहरूद्वारा विशेष अनुग्रह प्रदान गर्नुभयो?