प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ७/१ pp. २१-२६
  • वफादारी साथ यहोवासँग काम गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादारी साथ यहोवासँग काम गर्ने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसका लागि काम गरिरहेछौं?
  • विरोधीहरू आफ्नो काममा लागेकाछन्‌
  • निष्फल कामहरू
  • आज “असल कामहरू” गर्न
  • सबै भन्दा मूल्यवान काम
  • मण्डलीसँग काम गर्न
  • परमेश्‍वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ७/१ pp. २१-२६

वफादारी साथ यहोवासँग काम गर्ने?

“हे परमेश्‍वर, बाल्यकाल देखिनै तपाईंले मलाई शिक्षा दिनु भएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु।”—भजनसंग्रह ७१:१७.

१. काम यहोवाले दिनु भएको एउटा वरदान हो भनेर हामी किन भन्‍न सक्‍तछौं?

काम ईश्‍वरले मानिसलाई दिनु भएको एउटा वरदान हो। हाम्रा प्रथम आम-बाबु, आदम र हव्वालाई, यहोवाले भन्‍नु भएको थियो: “पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” यो एउटा चुनौतीपूर्ण काम भए तापनि, यो मानिसले भ्याउन सक्नेसम्मको थियो। त्यसका लागि चाहिने शारीरिक र मानसिक प्रयासले मानिसको आनन्दलाई वृद्धि गराउने थियो, जुन आनन्द यस पार्थिव घरमा बस्ने जनावरहरूले कहिले उठाउन पाउने थिएनन्‌।—उत्पत्ति १:२८.

२, ३. (क) आज धेरैका लागि कामले के रूप धारण गरेको छ? (ख) कुन विशेष काम गर्ने मौका तिर हामीले ध्यान दिनु आवश्‍यक छ?

२ हाम्रो असिद्ध अवस्थामा पनि, बुद्धिमान मानिस सुलेमानले लेखे झैं, “आनन्ददायी परिश्रम, परमेश्‍वरको वरदान हो।” (उपदेशक ३:१३) मानिसले अहिले पनि आफ्नो मानसिक र शारीरिक क्षमताहरूलाई व्यस्त राख्नु पर्ने आवश्‍यकता छ। काम नगरी बस्नु नैराश्‍यपूर्ण हुन्छ। तर सबै नै काम स्वस्थकर अथवा काम लाग्ने किसिमको हुँदैन। धेरैका लागि, जीविका चलाउनका निम्ति गर्नै पर्ने काम, झर्को लाग्दो लन्ठा हो।

३ तथापि, एउटा साँच्चै नै इनामदायी कार्य पनि छ जसमा भाग लिन सबैलाई निम्तो छ। तर त्यसमा भाग लिनेहरूले अनेक प्रकारको विरोध र समस्याहरूलाई जित्नु पर्नेछ। यस कामका लागि हामी योग्यको हुन किन महत्वपूर्ण छ? हामी योग्यको कसरी बन्‍न सक्छौं? यी प्रश्‍नहरूको उत्तर दिनु भन्दा अघि, हामी सर्वप्रथम यस विषयलाई ध्यान दिउँ:

हामी कसका लागि काम गरिरहेछौं?

४. कुन प्रकारको कामबाट येशूले आनन्द र सन्तोष प्राप्त गर्नु भयो?

४ येशू ख्रीष्टले भन्‍नु भयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४) वफादारीका साथ यहोवाको सेवा गर्नु हुँदा, येशूले धेरै नै आनन्द र सन्तोष अनुभव गर्नु भयो। यसले उहाँको जीवनमा एउटा उद्देश्‍य दियो र साड़े तीन वर्ष लामो आफ्नो सेवकाई पछि, उहाँले आफ्ना पितालाई सत्यतासाथ एसो भन्‍न सक्नु भयो: “तपाईंले मलाई गर्न दिनु भएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरें।” (यूहन्‍ना १७:४) शारीरिक आहारले जस्तै, आध्यात्मिकतासँग सम्बन्धित कामले पनि जीवन धान्‌नु सक्दछ। एउटा अर्को अवसरमा येशूले यस कुरालाई जोड दिंदै भन्‍नु भयो: “नष्ट हुने खानेकुराको निम्ति होइन तर अनन्त जीवनसम्म रहने खानेकुराको निम्ति काम गर।” (यूहन्‍ना ६:२७) यसको विपरीत, आध्यात्मिक तौरमा निष्फल हुने कामले, नैराश्‍य र मृत्यु तर्फ लैजान्छ।

५. येशूले गर्नु भएको असल कामको विरोध कसले गरे?

५ “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि गर्छु।” यहाँ येशूले उहाँको आलोचना गरिरहेका यहूदीहरूलाई सम्बोधन गर्दै हुनु हुन्थ्यो किनभने ३८ वर्ष देखिन्‌ बिरामी परेको मानिसलाई उहाँले विश्रामको दिनमा निको पारि दिनु भएको थियो। (यूहन्‍ना ५:५-१७) येशूले यहोवाकै काम गर्नु भएको भएतापनि, धर्म-गुरुहरूले यो कुरा स्वीकार्न चाहेनन्‌ र उहाँलाई रोक्न हर प्रयास गरे। किन? किनभने तिनीहरू तिनीहरूका पिता दियावल अर्थात्‌ शैतानबाट आएका थिए र शुरू देखि नै त्यसले यहोवाको कामको विरोध गर्दै आएको छ। (यूहन्‍ना ८:४४) शैतानले “सबै अधर्मको धोकाबाजीका साथ” “आफैले आफैलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन” गर्न सकेको हुनाकारण, हामीमा आध्यात्मिक समझ र स्पष्ट सोंचाई हुन खाँचो छ। नत्र, हामीहरू यहोवाको विपरीत काम गरिरहेका हुन सक्‍तछौं।—२ कोरिन्थी ११:१४; २ थिस्सलोनिकी २:९, १०.

विरोधीहरू आफ्नो काममा लागेकाछन्‌

६. धर्मत्यागीहरू किन “छल काम गर्नेहरू” हुन्‌? उदाहरण दिनु होस्‌।

६ आजका कुनै कुनै धर्मत्यागीहरूले झैं, केही मानिसहरूले मसीही मण्डलीमा भर्खरै आएका व्यक्‍तिहरूको विश्‍वासलाई गुप्त रूपमा ढलपल पार्न, बेवफादारीसाथ शैतानका प्रतिनिधिहरू जस्तै भएर काम गरिरहेकाछन्‌। (२ कोरिन्थी ११:१३) बाइबललाई साँचो शिक्षाको एउटा आधार मान्‍नुको सट्टा तिनीहरूको ध्यान न्यु वर्ल्ड ट्रान्सेलेशन आफ दी होली स्क्रिचर्सलाई गलत साबित गर्नमा केन्द्रित हुन्छ। तर यहोवाका साक्षीहरू त्यस अनुवादमा मात्र भरपर्दैनन्‌। प्रायः एक शताब्दीसम्मै यहोवाका साक्षीहरूले धेरै जसो किंग जेम्स अनुवाद, रोमन कैथोलिक डूवे वर्सन र अरू जे अनुवादहरू तिनीहरूको भाषामा उपलव्ध थिए, त्यही नै प्रयोग गरेर यहोवा र उहाँका उद्देश्‍यहरूबारेको सच्चाइलाई सिके। तिनीहरूले त्यही पुराना अनुवादहरू नै प्रयोग गर्दै, मरेकाहरूको अवस्था, परमेश्‍वर र उहाँका पुत्रको बीचको सम्बन्ध र किन एउटा सानो झुण्डमात्र स्वर्ग जान्छन्‌ जस्ता विषयहरूबारे सत्यताको घोषणा गरे। यथेष्ट जानकारी भएका मानिसहरूलाई थाह छ कि आज पनि यहोवाका साक्षीहरूले तिनीहरूको विश्‍वभरि सुसमाचार सुनाउने अभियानमा बाइबलका अन्य अनुवादहरूको प्रयोग गर्नेगर्छन्‌। तथापि, १९६१ देखिन्‌ न्यु वर्ल्ड ट्रान्सलेशन अनुवादको प्रयोग गर्न पाएकोमा तिनीहरू आनन्दित्‌ छन्‌ किनभने हाल हुनु पर्ने सबै सुधारहरू यसमा पाईन्छ र यसको अनुवाद सही छ र पढ़नलाई सजिलो हुने किसिमको भाषा यसमा छ।

७. (क) येशूले उहाँमाथि विश्‍वास गर्छु भनेर दाबी गर्ने धेरैलाई किन अस्विकार गर्नु हुन्छ? (ख) १ यूहन्‍ना ४:१ मा उल्लेखित्‌ सल्लाहलाई मान्‍न किन महत्वपूर्ण छ?

७ उहाँमाथि विश्‍वास गर्ने दाबी गरेर हिड़ने धेरै अस्वीकृत हुनेछन्‌ भनेर येशूले भन्‍नु भएको थियो। तिनीहरूले शायद अगमवाणी गर्लान्‌, भूतहरू धपाउलान्‌ र उहाँका नाउँमा “धेरै सामर्थ्यका काम” गर्न सक्षम पनि होलान्‌ भनेर येशूले मानी लिनु भयो। तापनि, उहाँले यस प्रकारका कामहरूलाई “अधर्मका कामहरू” ठान्‍नु हुन्छ। (मत्ती ७:२१-२३) किन? किनभने तिनीहरूले उहाँको स्वर्गमा हुनुहुने पिताको काम गेरका हुने छैनन्‌ र यहोवा परमेश्‍वरको नजरमा यी कामहरू व्यर्थका हुने छन्‌। आज पनि चमत्कार जस्तै देखिने कामहरू प्रमुख धोकेबाज, शैतानबाट आउन सक्छ। प्रेरित यूहन्‍नाले, येशूको मृत्यु र पुनरुत्थानको करिब ६० वर्ष पश्‍चात्‌, आम भाइहरूका लागि लेखेको प्रथम पत्रमा मसीहीहरूलाई यो चेताउनी दिनु भयो: “जुन सुकै आत्माको पत्यार नगर, तर परमेश्‍वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर।” आज हामीले पनि यसै गर्नु आवश्‍यक छ।—१ यूहन्‍ना ४:१.

निष्फल कामहरू

८. शरीरका कार्यहरू बारे हामीले के विचार राख्नु पर्छ?

८ हाम्रा कामहरू आध्यात्मिकताको विरुद्धमा न भएता पनि, तिनीहरू यी पतित शारीरिक अभिलाषाहरूलाई निरन्तर पूरागर्नका निम्ति हुन्‌ भने, हाम्रा मेहनत जम्मै व्यर्थ हुनेछन्‌। हामीहरूले “अन्यजातिहरूको इच्छा अनुसार काम गर्ने, . . . लुच्चाइँ, अभिलाषा, मतवालापन, मोज-मजा, मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरूमा” चल्न प्रशस्त समय बिताइ सक्यौं भनेर, प्रेरित पत्रुसले भने। (१ पत्रुस ४:३, ४) यसको अर्थ यो होइन कि, आजका सबै समर्पित मसीहीहरूले पहिले यस प्रकारका कामहरूमा भाग लिनेगर्दथिए। तर यसको अर्थ यो जरूर हो कि जस जसले यस किसिमका कामहरूमा भाग लिएका थिए, तिनीहरूको आफ्नो आध्यात्मिक दृष्टिकोणमा वृद्धिका साथ साथै, आफ्नो मनोवृत्तिमा पनि तिनीहरूले तीब्र गतिले परिवर्तन ल्याइ सकेको हुनुपर्दछ। तिनीहरू बदलिएको देखेर, संसारले तिनीहरू बारे खराब कुरा गर्नेछन्‌; र यो आशा गरेकै कुरा हो। तापनि, यहोवाको सेवामा वफादार सेवकहरू हुने हो भने, तिनीहरूले आफूमा परिवर्तन ल्याउनै पर्छ।—१ कोरिन्थी ६:९-११.

९. अपेरा गायिका हुन प्रशिक्षण लिन शुरू गरेकी साक्षीको अनुभवबाट हामी के सिक्न सक्‍तछौं?

९ यहोवाले हाम्रो आनन्दका लागि धेरै वरदानहरू दिनु भएको छ र ती मध्य एउटा सङ्‌गीत हो। तथापि, “सारा संसार त्यस दुष्टको अधीनमा परेको” हुनाकारण, शैतान अर्थात्‌ दियाबलले सङ्‌गीतलाई पनि आफ्नो वशमा ल्याएको हुनु पर्दछ, होइन र? (१ यूहन्‍ना ५:१९) हो, सङ्‌गीत थाहै न पाइने किसिमको जाल हुन सक्दछ र यस कुराको अनुभव सिलवानाले गरिन्‌। फ्रान्समा अपेरा गायिका हुने प्रशिक्षण पाउने मौका तिनलाई थियो। तिनी भन्छिन्‌: “मेरो हृदयमा यहोवाको सेवा गर्ने एउटा जबरजस्त इच्छा थियो। म सहायक अग्रगामी सेवकाईबाट धेरै नै आनन्द उठाइरहेकी थिएँ र जीवनमा यी दुई कुराहरूलाई मिलाएर हिंड़ने मेरो विचार थियो। तर मेरो गाउने व्यवसायमा, सर्व प्रथम मैले अनैतिकताको सामना गर्नु पर्‌यो। शुरू शुरूमा ता म मेरा सहकर्मीहरूको अनैतिक कुरा-कानी र उदाहरणमा न लागेको देख्दा, तिनीहरूले मलाई एउटा सोझो व्यक्‍ति ठान्दथिए। तर केही समय पछि, त्यहाँको भ्रष्ट वातावरणले मलाई लट्ठ्याउन थाल्यो र यहोवाले घृणा गर्नु हुने कुराहरू प्रति मेरो कता कता सहानुभूति भएको जस्तो मैले महसुस गर्न लागें। त्यहाँको एक जना शिक्षकले सङ्‌गीतलाई नै आफ्नो धर्म बनाउनु भनेर मलाई उस्काइ रहन्थे। साथै, मञ्चमा गए पछि, जोधाहा प्रवृत्तिको हुनु र आफूलाई सबैभन्दा श्रेष्ठ ठान्‍नु भनेर मलाई शिक्षा दिइयो। यी सबै कुराहरू सुने पछि मलाई अफ्ठ्यारो लागेर आयो। अन्तत्वगत्वा एउटा विशेष जाँचको निम्ति मैले तयारी गर्न पर्‌यो। मैले कुन बाटो लिनु पर्ने हो, सो मलाई स्पष्ट पारिदिन यहोवासँग मैले प्रार्थना गरें। मैले राम्रोसँग गाएँ र म विश्‍वस्त थिएँ। तरैपनि, छानिएकाहरूमध्य मेरो नाउँ थिएन। नाउँ ननिस्केको कारण, मलाई पछि मात्र थाह भयो—प्रतियोगिताको धेरै नै अघि, परिणामको फैसला गरिसकेका रहेछन्‌। मेरो प्रार्थनाको मैले स्पष्ट जवाफ पाएँ र अपेराको मञ्च छाड़ेर घरमै सङ्‌गीत सिकाउने फैसला गरें।” यी बहिनीले पछि, मसीही मण्डलीको एक जना प्राचीनसँग विवाह गरिन्‌ र आज दुवै जना त्यो मण्डलीमा वफादारीसाथ राज्यको निम्ति काम गरिरहेकाछन्‌।

१०. यूहन्‍ना ३:१९-२१ मा पाइने येशूका शब्दहरूबाट तपाईं कुन निष्कर्षमा पुग्नु हुन्छ?

१० येशूले भन्‍नु भयो: “जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ।” तर अर्को तिर “त्यसका काम परमेश्‍वरमा भएका हुन्‌ भनी प्रकट होस्‌ भनेर सत्य काम गर्ने चाहिं ज्योतिमा आउँछ।” (यूहन्‍ना ३:१९-२१) यहोवाको इच्छा र उद्देश्‍य बमोजिम काम गर्नु कति धन्य हो! तर त्यो सफलतापूर्वक गर्नका लागि, हामीले सधैं परमेश्‍वरको वचनको ज्योतिमा आफ्नो काम कुराको जाँच गर्नु पर्दछ। उमेर जति नै पाको भइ सकेको भएतापनि, आफ्नो जीवन-पद्धतिमा परिवर्तन ल्याउन र यहोवाको अर्थपूर्ण सेवा अपनाउनका लागि, कहिले पनि अबेर भएको हुँदैन।

आज “असल कामहरू” गर्न

११. धेरैले कुन किसिमका “असल कार्यहरू” गर्ने गर्छन्‌ र यस प्रकारका कार्यहरूले मानिसलाई किन निराश तुल्याउन सक्छ?

११ जुन काम आज अर्थपूर्ण छ, त्यसले हाम्रा समयका आवश्‍यकताहरूको प्रतिबिम्ब गर्नु पर्दछ। सरल हृदय भएका धेरै मानिसहरू यस कुरासँग सहमत छन्‌ र आम मानिसका हितका लागि अथवा कुनै एउटा विशेष कुराको निदानका लागि, आफूलाई ती कामहरू गर्नमा व्यस्त राख्छन्‌ जसलाई अकसर “असल कामहरू” भनिन्छ। तर, यस प्रकारको काम पनि कस्तो नैराश्‍यपूर्ण हुन सक्दछ। ब्रिटेनमा, काफोडले (कैथोलिक फन्ड फर ओवरसिस डिवेलपमेन्ट) अनिकाल उद्धार कार्यका लागि गरिएको आफ्नो अभियानबारे भने: “चार वर्ष अघि . . . परोपकारको निम्ति लाखौं पाउण्ड चन्दा उठाइयो। त्यस द्वारा हजारौंको ज्यान बच्यो। तर आज फेरि तिनीहरूकै ज्यान खतरामा छ . . . किन? के भयो?” काफोड जरनलले आफ्नो विवरणमा अगाड़ि भन्छ कि पछि आउन सक्ने समस्याहरूको वास्तै गरिएन र “मानव समाजको विकासका लागि खर्च गर्नु पर्ने रकम, देशको गृह-युद्धको आगो दन्काउन खर्च भइ रहेछ।” निःसन्देह, परोपकार गर्नमा लागेका विभिन्‍न सङ्‌गठनहरूबाट यस प्रकारको प्रतिक्रिया तपाईंले पनि सुन्‍नु भएकै होला।

१२. संसारले आज सामना गर्नु परेका समस्याहरूका एक मात्र समाधान के हो?

१२ अनिकाल एउटा महत्वपूर्ण समस्या हो। तर अनिकाल र युद्ध जस्ता वर्तमान आपत-विपतहरू देख्दा, येशू ख्रीष्टले अन्तको समय बारे गर्नु भएको भविष्यवाणी पूरा भइरहेको छ भनेर कसले घोषणा गरिरहेकाछन्‌? (मत्ती २४:३) यी घटनाहरू र बाइबलको प्रकाशितवाक्यको पुस्तकको छैठौं अध्यायमा उल्लेखित्‌ चार जना घोड़सवारहरू सम्बन्धित्‌ हुन भनेर कसले प्रमाण प्रस्तुत गरेका छन्‌? यस पत्रिका द्वारा, यहोवाका साक्षीहरूले निरन्तर वफादारीकासाथ गर्दै आएका छन्‌। किन? कुनै पनि स्थायी समाधान ल्याउन, मानिसको शक्‍ति बाहिरको कुरा हो भनेर देखाउन। यसको अर्थ, हामी मसीहीहरूले संसारका समस्याहरूको वास्तै गर्दैनौं भनेको होइन। पटक्कै होइन। मसीहीहरू दयावन्त छन्‌ र दुःख कम गर्न, आफूले सक्दोभर काम गर्ने छन्‌। तापनि, तिनीहरूले यो एउटा वास्तविकता स्वीकार गर्दछन्‌ कि ईश्‍वरीय हस्तक्षेप बिना विश्‍वका समस्याहरूको समाधान हुन सक्ने छैन। जबसम्म शैतानलाई यो संसारको शासक हुने अनुमति दिइएको हुनेछ, तब सम्म, गरीबहरू झैं, यी समस्याहरू पनि रहिनै रहनेछन्‌।—मर्कूस १४:७; यूहन्‍ना १२:३१.

सबै भन्दा मूल्यवान काम

१३. आज हामी सबैले गर्नु पर्ने सबै भन्दा महत्वपूर्ण काम के हो र त्यो कसले गर्दैछन्‌?

१३ चाँड़ै नै सबै सांसारिक सरकारहरूको ठाउँमा यहोवा परमेश्‍वरको राज्य द्वारा, ईश्‍वरको भय मान्‍ने मानिसहरूले चाहेको आराम आउनेछ भन्‍ने सुसमाचारको प्रचार गर्नु नै आजको सबै भन्दा महत्वपूर्ण काम हो। (दानियल २:४४; मत्ती २४:१४) येशूले आफ्नो काम प्यालेस्टिनमा मात्र सीमित राख्नु भएतापनि, स्वर्गीय राज्यको प्रचार गर्ने कामलाई उहाँले आफ्नो जीवनमा प्राथमिकता दिनु भयो। तर आज यो प्रचारको काम विश्‍वव्यापी ढङ्‌गमा भइरहेछ र यस्तो हुनेछ भनेर, येशूले स्वयं भविष्यवाणी गर्नु भएको थियो। (यूहन्‍ना १४:१२; प्रेरित १:८) परमेश्‍वरको काममा एउटा सानो भाग लिन पाउनु पनि एउटा अनुपम सौभाग्यको कुरा हो। लोग्ने मानिसहरू, स्वास्नी मानिसहरू, बूढ़ा, जवान, जसले सुसमाचारको प्रचारक हुने पहिला कहिले सपनामा पनि सोंचेका थिएनन्‌, आज यहोवाका साक्षीहरू द्वारा सम्पन्‍न भइरहेको सुसमाचारको प्रचारको अभियानमा अघि अघि हिंड़दै छन्‌। नूह र तिनका परिवार झैं, तिनीहरू वफादारीसाथ परमेश्‍वरले खटाउनु भएको काम, उहाँकै बलमा, यो रीतिरिवाजको अन्त हुनु अघि, गरिरहेकाछन्‌।—फिल्लिपी ४:१३; हिब्रू ११:७.

१४. प्रचारको काम द्वारा मानिसहरूको प्राण कसरी बाँच्न सक्‍तछ र प्रचारगर्नेहरू पनि कसरी सुरक्षित्‌ रहन सक्नेछन्‌?

१४ यी अन्तिम दिनहरूमा यहोवाका साक्षीहरूले गरिरहेका गवाही दिने काम, सो सामचार सुन्‍ने र त्यस अनुसार काम गर्नेहरूका लागि, प्राण दायक हुन सक्छ। (रोमी १०:११-१५) साथै, यो काम प्रचारकहरूका निम्ति पनि एउटा बचाउ हो। आफ्नो भन्दा ठूला समस्याहरू भएका मानिसहरूमा हामीले साँचो हृदयसाथ चासो लिने गर्दा, हामी आफ्नै समस्याहरूलाई आवश्‍यकता भन्दा बढ़ी ध्यान दिने छैनौं। तल झर्दो सिद्धान्तहरूले भरिएको यस संसारले हामीलाई पनि त्यसकै साँचामा ढाल्न चाहन्छ भनी हामी जान्दछौं। यसैकारण, प्रचारको कामगर्दा, ईश्‍वरीय सोंच-विचारले हाम्रो मनलाई भरिभराउ पार्दछ र हामी विश्‍वासमा दह्रो हुन्छौं; यो हाम्रै हितका लागि हो। यस विषयमा एउटा साक्षीले एसो भनी: “मैले भेटेका मानिसहरूलाई मैले बद्‌लन कोशिश गरिन भने, तिनीहरूले मलाई बद्‌लन सक्नेछन्‌।”—२ पत्रुस २:७-९ सँग तुलना गर्नुहोस्‌.

मण्डलीसँग काम गर्न

१५. आज उप-गोठालाहरूले कुन कुन जिम्मेवारीहरू पूरा गर्नु पर्छ र १ तिमोथी ३:१ लाई मनमा राख्दै, मण्डलीका लोग्ने मानिस सदस्यहरूको कस्तो विचार हुनु पर्छ?

१५ भर्खर भर्खर चासो लिएर मण्डलीमा आउने व्यक्‍तिहरू, महान गोठालो, यहोवा परमेश्‍वर र असल गोठालो, येशू ख्रीष्टको हेरचाहको अधीनमा आउँछन्‌। (भजनसंग्रह २३:१; यूहन्‍ना १०:११) यी स्वर्गीय गोठालाहरूको प्रतिनिधित्व, यहाँ पृथ्वीमा वफादार उप-गोठालाहरू अथवा मण्डली भित्र नियुक्‍त गरिएका पुरूषहरूले गर्छन्‌। (१ पत्रुस ५:२, ३) यस प्रकारको जिम्मेवारी पाउनु यी अन्तिम दिनहरूमा एउटा अमूल्य सौभाग्य हो। गोठालाहरूले एउटा गहकिलो काम गर्नु पर्छ। मण्डली भित्र सिकाउने काम र सुसमाचार प्रचार गर्ने काममा मात्र अगुवाइ लिएर पुग्दैन। तिनीहरूले झुण्डलाई आत्मिक भक्षकहरू र यो संसारको आँधीबेहरी सरहको वातावरणको चुटाइबाट पनि बचाउनु पर्दछ। मण्डलीका पुरूषहरूले बढ़दो मसीही मण्डलीका सदस्यहरूको आध्यात्मिक हेरचाह गर्ने काममा मद्दत पुर्‌यान अघि सर्नु भन्दा अझ अर्थपूर्ण अरू कुनै कामै छैन।—१ तिमोथी ३:१; यशैया ३२:१, २ सँग तुलना गर्नु होस्‌.

१६. मसीही गोठालाहरूले एक अर्काको कमीलाई कसरी पूरा गर्दछन्‌?

१६ तर यी गोठालाहरू पनि आखिर मानिसहरू नै हुन्‌ र झुण्डका अन्य सदस्यहरू झैं, तिनीहरूका पनि बेग्ला बेग्लै व्यक्‍तित्वहरू र कमजोरीहरू छन्‌ भन्‍ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। गोठालो कामको कुनै एउटा क्षेत्रमा एक जना गोठालो अति नै सिपालु होला तर अर्को गोठालोको गुणहरूले मण्डलीलाई अर्कै ढङ्‌गमा फायदा पुर्‌याउन सक्छ। मसीही प्राचीनहरू मिलेर काम गर्दा, एउटाले अर्कोको कमीलाई पूरा गर्दछन्‌ र मण्डलीलाई बलियो बनाउन सक्दछन्‌। (१ कोरिन्थी १२:४, ५) तर तिनीहरूको माझमा एउटा प्रतियोगितात्मक भावना कहिले पनि उठनु भएन। तिनीहरू एक साथ राज्यका कामहरूको रक्षा र वृद्धिको निम्ति काम गर्दछन्‌ र यहोवासँग प्रार्थना गर्दा “वफादार [न्यु.व.] हातहरू” उठाउँदै, तिनीहरूका सबै फैसलाहरू र कामहरूमा यहोवाको आशिष र निर्देशनको चाहना गर्दछन्‌।—१ तिमोथी २:८.

१७. (क) हाम्रो के कर्तव्य छ? (ख) हाम्रा कर्तव्य सम्पूर्णतया पूरा गर्नका लागि, हामी कुन कुराबाट अलग्ग बस्नु पर्दछ?

१७ जसै शैतानको साम्राज्यको अन्त झन झन नजिक आउँदैछ, प्रचारको काम अझ महत्वपूर्ण हुँदै गएको छ। यहोवा परमेश्‍वरको वचनको सच्चाइ, हामी उहाँका साक्षीहरूसँग भएको हुनाकारण, हर मौकामा सुसमाचारको प्रचार गर्ने हाम्रो कर्तव्य हो। आज हामीले गर्नु परेको काम, हामीलाई अन्त सम्मै व्यस्त राख्नको निम्ति प्रशस्त छ। कहिले पनि अनैतिक, सुख-विलास अथवा भौतिकबादको कारणबाट हामीले आफूलाई तल भासिएर जान दिनु भएन। हामी कहिले पनि काल्पनिक सोंचाई र शब्दहरूको विवादमा ग्रस्त हुनु भएन किनभने यसबाट समयको नोक्सान बाहेक, केही लाभ हुनेछैन। (२ तिमोथी २:१४; तितस १:१०; ३:९) चेलाहरूले येशूलाइ सोधे: “प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनु हुनेछ?” यसको जवाफमा, येशूले तिनीहरूको ध्यानलाई सामुन्‍ने भएको महत्वपूर्णकाम तर्फ लैजानु हुँदै, भन्‍नु भयो: “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” उहाँले त्यति बेला खटाउनु भएको काम आजसम्म पनि चली रहेको छ।—प्रेरित १:६-८.

१८. यहोवासँग काम गर्न यति लाभदायी किन छ?

१८ यहोवासँग कामगर्दै, उहाँको विश्‍वाव्यापी मण्डलीसँग प्रचारको काममा भाग लिनेगर्दा, हाम्रो जीवनमा सुख, सन्तोष र साँचो आनन्द अनुभव गर्न सकिन्छ। यहोवाका प्रत्येक प्रेमीले उहाँ प्रति आफ्नो वफादारी र भक्‍ति व्यक्‍त गर्ने यो एउटा मौका हो। यो काम, यसका सम्पूर्ण विशेषताहरूका साथ, फेरि कहिले दोहोरिने छैन। अनन्त जीवनको आशा आफ्नो सामुन्‍ने स्पष्ट गरी राखेर, हामी सधैं वफादारीका साथ “परमेश्‍वरलाई मनपर्ने सेवा, भक्‍ति र डरले चढ़ाउनसकौं” जसबाट उहाँको प्रशंसा र हाम्रो मुक्‍ति होस्‌।—हिब्रू १२:२८. (w90 8/15)

तपाईंको जवाफ के हो?

◻ येशूले कुन कामबाट आनन्द र सन्तोष पाउनु भयो?

◻ यहोवाको कामलाई आज कसले विरोध गर्दछन्‌ र किन?

◻ सांसारिक “असल कार्यहरू” र परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने कामलाई तुलना गरेर हेर्दा, के देखिन्छ?

[पृष्ठ २४-मा भएको चित्र]

येशूले आफ्ना चेलाहरूलाई प्रचार गर्न अह्राउनु भयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने