तिनीहरूले यहोवाको इच्छा गरे
क्षमादानले उद्धारको बाटो खोल्छ
याकूबका दस छोराहरू मिश्रका प्रधानमन्त्री सामु खडा हुनुपर्दा तिनीहरू सबैले एउटा डरलाग्दो कुरा मनमा लुकाई राखेका थिए। वर्षौंअघि उनीहरूले आफ्नो सौतेनी भाइ यूसुफलाई दासत्वमा बेचेका थिए। अनि उसलाई जंगली जनावरले माऱ्यो भनेर बुबालाई झूटो बयान दिने सल्लाह तिनीहरूले गरेका थिए।—उत्पत्ति ३७:१८-३५.
त्यस घटनाको करिब २० वर्ष पश्चात्, देशमा परेको भयंकर अनिकालले गर्दा ती दस जना दाजुहरूले मिश्रमा अनाज किन्न नगई सुखै पाएनन्। तर उनीहरूले अनाज सजिलैसँग पाउन सकेनन्। मिश्रका प्रधानमन्त्री तथा खाद्य प्रशासकले तिनीहरूलाई जासुसीको आरोप लगाए। साथै तिनीहरूमध्ये एक जनालाई कैद गरेर बाँकीलाई घर फर्काई कान्छो भाइ बिन्यामीनलाई ल्याउने आज्ञा गरे। तिनीहरूले त्यसै गरे, पछि प्रधानमन्त्रीले बिन्यामीनलाई गिरफ्तार गर्ने उपाय रचे।—उत्पत्ति ४२:१–४४:१२.
याकूबका छोरा यहूदाले बिन्ती गर्दै भने, ‘यदि हामी बिन्यामीनलाई नलिई घर फर्क्यौं भने ‘हाम्रा बाबु मरिजान्छन्।’ त्यहाँ यहूदा तथा उनको सँगीहरू कसैले पनि आशा नगरेको घटना भयो। यी सबै घटनाहरूपछि याकूबका छोराहरूबाहेक सबैलाई बाहिर जाने हुकुम दिएर मिश्रका प्रधानमन्त्री ठूलो सोरले रोए। त्यसपछि, आफैलाई सम्हाल्दै शान्त भएर तिनले भने: “म यूसुफ हुँ।”—उत्पत्ति ४४:१८–४५:३.
दया अनि छुटकारा
यूसुफले आफ्ना सौतेनी दाजुहरूलाई सोधे “के मेरा बाबु जीवितै हुनुहुन्छ?” तर तिनका दाजुहरूले जवाफै दिएनन्। वास्तवमा, यूसुफका दाजुहरूलाई के भनौं-भनौं भइरहेको थियो। रमाउने कि डराउने भनेर तिनीहरू बिलखबन्दमा परिरहेका थिए। जे भए तापनि, तिनीहरूले २० वर्ष अघि उनलाई दासत्वमा बेचेका थिए। यूसुफले चाहेका भए तिनीहरूलाई कैद गरेर राख्न पनि सक्थे अनाजै नदिएर घर पठाउन सक्थे र अझ भनौं भने ज्यान सजायसम्म दिन सक्थे। सायद यिनै कारणहरूले गर्दा होला यूसुफका दाजुहरूले “तिनलाई जवाफै दिनसकेनन्, किनकि तिनका सामने तिनीहरू घबराएका थिए।”—उत्पत्ति ४५:३.
तर यूसुफले तुरन्तै तिनीहरूको बोझ हल्का गरिदिए। अनि उनले आफ्ना दाजुभाइहरूलाई भने, “कृपागरी मेरो नजिक आओ” तब तिनीहरू नजिक गए। अनि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेका तिमीहरूका भाइ मनै हुँ। तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान। आफैमाथि रिस पनि नगर, किनकि हामी सबैको प्राण रक्षाको निम्ति परमेश्वरले मलाई तिमीहरूको अघि यहाँ पठाउनुभएको हो।”—उत्पत्ति ४५:४, ५.
यूसुफको दया आधारहीन कदाचित् थिएन। उनले तिनीहरूले देखाएको पश्चात्तापको प्रशस्त प्रमाणहरू अघिबाटै देखिसकेका थिए। उदाहरणको निम्ति, यूसुफले उनका दाजुहरूलाई जासुसीको दोष लगाउँदा उनीहरू आपसमा यसरी कुराकानी गरिरहेका उनले सुनेका थिए “साँच्चिनै हाम्रो भाइको विषयमा हामी दोषी छौं . . . यसकारण यो संकष्ट हामीमाथि पर्नआएको हो।” (उत्पत्ति ४२:२१) त्यसैगरि, आफ्नो भाइ बिन्यामीन बुबाकहाँ फर्केर जान सकोस् भनेर यहूदा तिनको सट्टामा दास भएर बस्न राजी भएका थिए।—उत्पत्ति ४४:३३, ३४.
अतः यूसुफले देखाएको दया न्यायसंगत थियो। उनले वास्तवमा बुझिसकेका थिए कि त्यसो गर्दा उनको सारा परिवारको उद्धार हुनसक्छ। त्यसैकारण, यूसुफले आफ्ना दाजुहरूलाई बुबा याकूबकहाँ गएर यसो भन्न लगाए, “तपाईंको छोरो यूसुफ यसो भन्छ, ‘परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्। तपाईं गोशेन प्रदेशमा बसोबासो गर्नुहोला तपाईं र तपाईंका बाल-बच्चाहरू औ तपाईंका नाति-नातिनीहरू र तपाईंको बगालहरू र तपाईंसँग भएका जे जति सबै मेरो नजिकै हुनेछन्। त्यहाँ म तपाईंको पालन-पोषण गर्नेछु,।’ ”—उत्पत्ति ४५:९-११.
महान् यूसुफ
येशू ख्रीष्टलाई महान् यूसुफ पनि भन्न सकिन्छ, किनभने यी दुई व्यक्तिहरूबीच काटीकुटी मेल खाने कुराहरू पाइन्छ। यूसुफलाई जस्तै येशूलाई पनि उनका दाजुभाइहरू अर्थात् अब्राहामको वंशले कुव्यवहार गरे। (प्रेरित २:१४, २९, ३७ तुलना गर्नुहोस्।) यद्यपि, दुवैले असाधारण ढंगमा विपरीत घटनाहरू अनुभव गरे। समय बित्दै जाँदा, यूसुफ एउटा दासबाट फिरऊनपछिका मुख्य व्यक्ति, प्रधानमन्त्री हुनपुगे। त्यस्तै किसिमले, येशूलाई पनि यहोवाले मृत अवस्थाबाट उठाउनुभएर उहाँलाई “परमेश्वरका दाहिने बाहुलीबाट” उच्च पार्नुभयो।—प्रेरित २:३३; फिलिप्पी २:९-११.
प्रधानमन्त्री भएपछि, यूसुफले मिश्रमा अनाज किन्न आउने सबैलाई ठीक ठीक तरिकाले आहार वितरण गर्नसक्थे। आज हाम्रो समयमा पनि महान् यूसुफले विश्वासी र बुद्धिमान् दासवर्ग मार्फत पृथ्वीमा “ठीक ठीक समयमा” आत्मिक आहार वितरण गरिरहनुभएको छ। (मत्ती २४:४५-४७; लूका १२:४२-४४) साँच्चै, येशूको नजिक आउने कोही पनि “कहिल्यै भोकाउने र तिर्खाउने छैनन् . . . किनकि सिंहासनको बीचमा हुने थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ।”—प्रकाश ७:१६, १७.
हाम्रोनिम्ति पाठ
यूसुफले दयाको असामान्य उदाहरण कायम गरे। न्याय नै खोज्ने हो भने, ज-जसले उनलाई दासत्वमा बेचेका थिए उनीहरूलाई कठोर न्याय गरेर उनले सजाय दिन सक्थे। अर्कोतिर भावनामा बहेर उनीहरूको भूललाई बिर्सन सक्थे। यूसुफले दुवै गरेनन् बरु उनले आफ्नो दाजुहरू पश्चात्तापी छन् कि छैनन् जाँचे। जब उनले तिनीहरूको साँचो पश्चात्ताप देखे, तब उनले तिनीहरूलाई क्षमा गरे।
हामीले पनि यूसुफको अनुकरण गर्नसक्छौं। यदि कसैले हाम्रो विरुद्ध पाप गऱ्यो र उसले हृदयदेखि नै साँचो पश्चात्ताप देखायो भने, हामीले उसलाई क्षमा दिनुपर्छ। निस्सन्देह, हामीले भावनामा बहेर घोर अपराधलाई हल्का सम्झिनु हुन्न र अर्कोतिर द्वेष भावनाले ग्रसित भई साँचो पश्चात्तापको भावनालाई पनि लत्याउनु हुन्न। त्यसकारण, हामी सबैले “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गरौं।” (कलस्सी ३:१३) यसो गऱ्यौं भने, हामीले सधैं “क्षमा गर्न तयार” हुनुहुने हाम्रो परमेश्वर यहोवाको अनुकरण गरिरहेको हुनेछौं।—भजन ८६:५; मीका ७:१८, १९.