प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv chap. १५ pp. १९५-२०८
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सबैभन्दा महान्‌ कारिगर र मुख्य कारिगर
  • हामी आफ्नो कडा परिश्रमबाट कसरी आनन्द पाउन सक्छौं?
  • कस्तो जागिर खाने भनेर बुद्धिमानीसाथ छनौट गर्नुहोस्‌
  • कामप्रति सन्तुलित मनोभाव राखिराख्नुहोस्‌
  • सेवाको काममा कडा परिश्रम गर्नुहोस्‌
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • कामप्रति सन्तुलित दृष्टिकोण कसरी खेती गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv chap. १५ pp. १९५-२०८
Hard working women in an African land

अध्याय १५

आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌

‘आफ्नो सारा परिश्रमको फलस्वरूप . . . आनन्द उपभोग गर्नुहोस्‌।’—उपदेशक ३:१३.

१-३. (क) आफूले गरिरहेको कामबारे धेरै मानिस के सोच्छन्‌? (ख) कामलाई कसरी हेर्नुपर्छ भनेर बाइबलले प्रोत्साहन दिएको छ? (ग) हामी यस अध्यायमा कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

अहिलेको संसारमा थुप्रै मानिसले कामबाट फिटिक्कै आनन्द पाउन सकेका छैनन्‌। घण्टौं काममा दलिन मानिसहरूलाई मनै पर्दैन; तिनीहरूलाई काममा जानै मन लाग्दैन। यस्ता व्यक्‍तिहरूलाई कामप्रति रुचि जगाउन मात्र होइन कामबाट सन्तुष्टि पाउनसमेत कसरी उत्प्रेरित गर्न सकिन्छ?

२ कडा मेहनत गर्नुलाई सकारात्मक दृष्टिकोणले हेर्न बाइबलले हामीलाई प्रोत्साहन दिएको छ। काम गर्नु र त्यसको फल पाउनु आशिष्‌ हो भनेर बाइबलले बताएको छ। सुलेमानले लेखे: “आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नु नै परमेश्‍वरको दान हो।” (उपदेशक ३:१३) यहोवा हामीलाई माया गर्नुहुन्छ र जहिले पनि हाम्रो भलो चाहनुहुन्छ। हामीले काम गरेर सन्तुष्टि पाओस्‌ र मेहनतको मीठो फल पनि खाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। परमेश्‍वरको प्रेम पाउन लायक भइरहनको लागि कामको बारेमा हामीले पनि परमेश्‍वरको जस्तै सोचाइ राख्नै पर्छ र उहाँका सिद्धान्तहरू अनुसार चल्नै पर्छ।—उपदेशक २:२४; ५:१८.

३ यस अध्यायमा हामी चारवटा प्रश्‍न विचार गर्नेछौं। (१) कडा परिश्रम गरेर हामी कसरी आनन्दित हुन सक्छौं? (२) साँचो ख्रीष्टियनहरूले कस्ता काम गर्दैनन्‌? (३) उपासनासित सम्बन्धित गतिविधि र सांसारिक कामकुरालाई हामी कसरी सन्तुलनमा राख्न सक्छौं? (४) हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम के हो? सबैभन्दा पहिला यस ब्रह्‍माण्डकै सबैभन्दा महान्‌ दुई कारिगर यहोवा परमेश्‍वर र येशू ख्रीष्टबारे चर्चा गरौं।

सबैभन्दा महान्‌ कारिगर र मुख्य कारिगर

४, ५. यहोवा फलदायी कारिगर हुनुहुन्छ भनेर बाइबलले कसरी देखाएको छ?

४ यहोवा महान्‌ कारिगर हुनुहुन्छ। उत्पत्ति १:१ यसो भन्छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” जब परमेश्‍वरले पृथ्वीमा विभिन्‍न कुरा सृष्टि गर्नुभयो तब उहाँले “साह्रै राम्रो” भन्‍नुभयो (उत्पत्ति १:३१) अर्को शब्दमा भन्‍नुपर्दा पृथ्वीमा उहाँले जे-जति काम गर्नुभयो त्यसप्रति उहाँ पूरापूर सन्तुष्ट हुनुहुन्थ्यो। यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ, आफूले गरेका फलदायी कामबाट उहाँले अपार आनन्द पाउनुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—१ तिमोथी १:११.

५ हाम्रा मेहनती परमेश्‍वर काम गर्न कहिल्यै छोड्‌नुहुन्‍न। पृथ्वी र त्यसमा भएका सबै कुरा बनाएको लामो समय बितिसकेपछि येशूले यसो भन्‍नुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ।” (यूहन्‍ना ५:१७) उहाँको बुबा के काम गर्दै हुनुहुन्छ? मानिसहरूलाई डोऱ्‍याइ दिन र हेरचाह गर्न उहाँ स्वर्गबाट सक्रिय भएर काम गर्दै हुनुहुन्छ। उहाँले “नयाँ सृष्टि” गर्नुभएको छ। ती हुन्‌: पवित्र शक्‍तिले अभिषेक भएका ख्रीष्टियनहरू जसले येशूसँगै स्वर्गमा शासन गर्नेछन्‌। (२ कोरिन्थी ५:१७) आफूले मानिसहरूका लागि राखेको उद्देश्‍य पूरा गर्न उहाँ काम गर्दै हुनुहुन्छ। त्यो उद्देश्‍य हो: उहाँलाई प्रेम गर्नेहरूका लागि नयाँ संसारमा अनन्त जीवन दिनु। (रोमी ६:२३) आफ्नो यस कामको नतिजा देखेर यहोवा पक्कै पनि एकदमै खुसी हुनुहुन्छ। उहाँको राज्यबारेको सन्देश सुनेर लाखौंले विश्‍वास गरेका छन्‌। तिनीहरूलाई परमेश्‍वरले आफूतर्फ खिच्नुभएको छ। परमेश्‍वरको प्रेम पाउन लायक भइरहन तिनीहरूले आफूमा छाँटकाँट गरिरहेका छन्‌।—यूहन्‍ना ६:४४.

६, ७. येशूले लामो समयदेखि कडा मेहनत गर्ने व्यक्‍तिको रूपमा कस्तो नाम कमाउनुभयो?

६ येशूले पनि लामो समयदेखि कडा मेहनत गर्ने व्यक्‍तिको रूपमा नाम कमाउनुभएको छ। मानिस भएर जन्मनुअघि “स्वर्ग अनि पृथ्वीका अरू सबै थोक” सृष्टि गर्ने बेलामा येशूले परमेश्‍वरको मुख्य “कारिगर” भएर काम गर्नुभयो। (कलस्सी १:१५-१७; हितोपदेश ८:२२-३१ NRV) पृथ्वीमा छँदा पनि येशूले कडा मेहनत गरिरहनुभयो। सानै छँदा उहाँले निर्माणको काम सिक्नुभयो र “सिकर्मी” भनेर चिनिनुभयो। a (मर्कूस ६:३) यो काममा धेरै पसिना बगाउनुपर्थ्यो र विभिन्‍न किसिमको सीप पनि चाहिन्थ्यो—विशेषगरि काठ मिल, काठ गोदाम र बिजुलीबाट चल्ने विभिन्‍न औजार नभएको समयमा। कल्पना गर्नुहोस्‌ त येशू काँधमा बन्चरो राखेर टिम्बर खोज्न जाँदै हुनुहुन्छ, रूख ढाल्दै हुनुहुन्छ, र आफूले काम गर्ने ठाउँसम्म काठ लैजाँदै हुनुहुन्छ। येशूले घर बनाउँदै गरेको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? उहाँ छानाको काठ बनाउँदै हुनुहुन्छ, छानामा हाल्दै हुनुहुन्छ, झ्याल-ढोका र फर्निचर बनाउँदै हुनुहुन्छ। कडा मेहनत गरेर राम्ररी गरिएको कामबाट कत्ति सन्तुष्टि मिल्छ भनेर येशू आफैले अनुभव गर्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

७ प्रचारको काममा पनि येशूले उल्लेखनीय रूपमा कडा मेहनत गर्नुभयो। साढे तीन वर्षसम्म उहाँ यो एकदमै महत्त्वपूर्ण काममा लागिपर्नुभयो। जतिसक्दो धेरै मानिसकहाँ पुग्न उहाँले अलिकति पनि समय खेर फाल्नुभएन। उहाँ बिहान छिट्टै उठेर राती अबेरसम्म काम गर्नुहुन्थ्यो। (लूका २१:३७, ३८; यूहन्‍ना ३:२) उहाँ “परमेश्‍वरको राज्यको सुसमाचारको प्रचार र घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ” डुल्नुभयो। (लूका ८:१) धुलाम्मे बाटोमा हजारौं किलोमिटर पैदल यात्रा गरेर येशूले मानिसहरूलाई सुसमाचार सुनाउनुभयो।

८, ९. आफ्नो परिश्रमबाट येशूले कसरी आनन्द पाउनुभयो?

८ प्रचारको काममा कडा मेहनत गरेर के येशू आनन्दित हुनुभयो? हो, हुनुभयो। उहाँले परमेश्‍वरको राज्यको बीउ छर्नुभयो र कटनीको लागि खेत तयार पार्नुभयो। परमेश्‍वरको काम गर्दा येशूलाई यस्तो शक्‍ति र पोषण मिल्थ्यो कि त्यसले गर्दा उहाँ खाना त्याग्नसमेत इच्छुक हुनुहुन्थ्यो। (यूहन्‍ना ४:३१-३८) पृथ्वीमा आफूले पाएको जिम्मा पूरा गरिसक्ने बेलातिर आफ्नो बुबालाई इमानदारीसाथ कामको रिपोर्ट दिन सकेकोमा उहाँ निश्‍चय नै सन्तुष्ट भएको हुनुपर्छ। उहाँले यसो भन्‍नुभयो: “तपाईंले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरेको छु।”—यूहन्‍ना १७:४.

९ पक्कै पनि यहोवा र येशू आफ्नो कडा परिश्रमबाट आनन्द उठाउने सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ। यहोवाप्रतिको प्रेमले हामी “परमेश्‍वरको देखासिकी” गर्न उत्प्रेरित हुन्छौं। (एफिसी ५:१) येशूप्रतिको प्रेमले हामीलाई ‘राम्ररी उहाँको पदचिन्ह पछ्याउन’ झकझक्याउँछ। (१ पत्रुस २:२१) त्यसकारण हामी पनि आफ्नो कामबाट कसरी आनन्द पाउन सक्छौं, सो हेरौं।

हामी आफ्नो कडा परिश्रमबाट कसरी आनन्द पाउन सक्छौं?

A man cleaning windows and a woman working in an office

बाइबलका सिद्धान्त लागू गर्दा आफूले गरेको कडा परिश्रमबाट आनन्द पाउन सक्नुहुन्छ

१०, ११. आफ्नो कामप्रति सकारात्मक मनोभाव विकास गर्न हामीलाई कुन कुराले मदत दिन सक्छ?

१० साँचो ख्रीष्टियनहरूका लागि सांसारिक काम गर्नु जीवनको एउटा भाग हो। हामी आफ्नो कामबाट सन्तुष्टि र अपार खुसी पाउन चाहन्छौं। तर हामीले गरिरहेको सांसारिक काम आफूलाई मन पर्ने खालको होइन भने त्यसबाट आनन्द पाउन पक्कै पनि सजिलो नहुन सक्छ। यस्तो अवस्थामा हामीले कामबाट कसरी आनन्द पाउन सक्छौं?

११ सकारात्मक मनोभाव विकास गरेर। हामी सधैं आफ्नो परिस्थिति बदल्न सक्दैनौं। तर हाम्रो मनोभाव भने बदल्न सक्छौं। परमेश्‍वरको दृष्टिकोण मनन गऱ्‍यौं भने यसले हामीलाई कामप्रति सकारात्मक मनोभाव विकास गर्न मदत दिन सक्छ। जस्तै: तपाईं परिवारको शिर हुनुहुन्छ भने तपाईंले जतिसुकै सानोतिनो काम गरिरहेको किन नहोस्‌ यसले तपाईंको परिवारको लागि आवश्‍यक कुराहरू जुटाउन मदत गरिरहेको छ भन्‍ने तथ्यलाई नबिर्सनुहोस्‌। यसरी आफ्ना परिवारका प्यारा सदस्यहरूको हेरचाह गर्नु परमेश्‍वरको नजरमा सानो कुरा होइन। परमेश्‍वरको वचनले भनेअनुसार जसले आफ्नो परिवारको आवश्‍यकता पूरा गर्दैन त्यो “विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) तपाईंले गरेको कामले परमेश्‍वरले दिएको जिम्मेवारी पूरा गर्न मदत दिन्छ भन्‍ने कुरा मानिलिनुभयो भने तपाईं आफ्नो कामको उद्देश्‍य बुझ्न सक्नुहुन्छ र त्यस कामबाट धेरै सन्तुष्टि पाउन सक्नुहुन्छ, जुन तपाईंसँगै काम गर्ने अरू मानिसहरूले पाउन सक्दैनन्‌।

१२. काममा मेहनती र इमानदार हुँदा कस्तो इनाम पाइन्छ?

१२ मेहनती र इमानदार भएर। कडा मेहनत गर्दा र आफ्नो काम कसरी गर्ने भनेर सिक्दा हामीलाई लाभ पुग्न सक्छ। मालिकहरूले मेहनती र दक्ष कामदारको एकदमै कदर गर्छन्‌। (हितोपदेश १२:२४; २२:२९) साँचो ख्रीष्टियन भएकोले हामी काममा इमानदार हुनै पर्छ। जस्तै: मालिकको पैसा, सरसामान वा समय चोरी गर्नुहुँदैन। (एफिसी ४:२८) अघिल्लो अध्यायमा हामीले सिकेजस्तै इमानदार हुँदा इनाम पाइन्छ। इमानदार भनेर नाम कमाएको कामदारलाई भरोसायोग्य ठानिन्छ। हामी मेहनती कामदार हौं भनेर मालिकले याद गरून्‌ या नगरून्‌ “सफा अन्तस्करण” राख्दा र हामीले यहोवालाई खुसी बनाइरहेका छौं भन्‍ने कुरा महसुस गर्दा हामी सन्तुष्ट हुन सक्छौं।—हिब्रू १३:१८; कलस्सी ३:२२-२४.

१३. काम गर्ने ठाउँमा हामीले असल आचरण देखाउँदा नतिजा कस्तो हुन सक्छ?

१३ हाम्रो आचरणले गर्दा परमेश्‍वरको महिमा हुन्छ भन्‍ने कुरा बुझेर। काम गर्ने ठाउँमा हामीले ख्रीष्टियन आचरणको उच्च स्तर कायम राख्दा पक्कै पनि अरूले यो कुरा याद गर्छन्‌। यसको परिणाम कस्तो हुन्छ? यसो गर्दा हामीले “हाम्रा उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा” बढाइरहेका हुन सक्छौं। (तीतस २:९, १०) हो, हामीले गर्ने उपासना कत्ति असल छ भनेर हामी आफ्नो असल आचरणबाट अरूलाई देखाउन सक्छौं र उनीहरूलाई त्यसप्रति अझै आकर्षित गर्न सक्छौं। तपाईंले काम गर्ने ठाउँमा असल आचरण देखाएकोले तपाईंसँगै काम गर्ने साथीले बाइबल सच्चाइ सिक्न चासो देखाएमा कत्ति खुसीको कुरा हुनेछ नि, होइन र? सबैभन्दा महत्त्वपूर्ण, यो कुरा विचार गर्नुहोस्‌: तपाईंको असल आचरणले यहोवाको महिमा हुन्छ र उहाँलाई आनन्दित तुल्याउँछ भनेर थाह पाउनुभन्दा ठूलो इनाम अरू के नै हुन सक्छ र?—हितोपदेश २७:११; १ पत्रुस २:१२.

कस्तो जागिर खाने भनेर बुद्धिमानीसाथ छनौट गर्नुहोस्‌

१४-१६. कस्तो जागिर छान्‍ने भनेर निर्णय गर्नुपर्दा हामीले कुन दुइटा महत्त्वपूर्ण प्रश्‍न विचार गर्नै पर्छ?

१४ कस्तो जागिर खानु हुन्छ र कस्तो जागिर खानु हुँदैन भनेर बाइबलले एक-एक निर्देशन दिएको छैन। त्यसो भन्दैमा हामीले जुनसुकै काम गरे पनि भइहाल्छ नि भन्‍न मिल्दैन। परमेश्‍वरको वचनबाट मदत पाएर हामी सही र फलदायी जागिर छान्‍न सक्छौं जसले गर्दा यहोवा खुसी हुनुहुन्छ। साथै उहाँलाई मन नपर्ने काम गर्नदेखि पनि होसियार हुन परमेश्‍वरको वचनले हामीलाई मदत गर्छ। (हितोपदेश २:६) कस्तो जागिर छान्‍ने भनेर निर्णय गर्नुपर्ने अवस्थामा हामीले दुइटा महत्त्वपूर्ण प्रश्‍न विचार गर्नुपर्छ।

१५ के यो काम बाइबलले निषेध गरेको काम हो? चोर्नु, झूट बोल्नु र मूर्तिहरू बनाउनु जस्ता कामलाई परमेश्‍वरको वचनले प्रस्टैसँग निन्दा गरेको छ। (प्रस्थान २०:४; प्रेषित १५:२९; एफिसी ४:२८; प्रकाश २१:८) कुनै जागिरमा यस्तो काम गर्नुपर्छ भने हामी त्यस्तो जागिर खाँदैनौं। हामीले कुनै काम गर्दा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन हुन्छ भने यहोवाको प्रेमको खातिर हामी त्यस्तो काम कुनै पनि हालतमा स्वीकार गर्दैनौं।—१ यूहन्‍ना ५:३.

१६ के यो जागिर खाँदा हामीले कुनै गलत काममा भाग लिइरहेका हुन्छौं वा कुनै गलत कामलाई फैलाउन मदत पुऱ्‍याइरहेका हुन्छौं? एउटा उदाहरण विचार गर्नुहोस्‌। रिसेप्सनिस्टको रूपमा अर्थात्‌ सोधपुछ गर्ने ठाउँमा काम गर्नुमा नराम्रो कुरा केही छैन। तर यदि कुनै ख्रीष्टियनलाई गर्भपतन गराउने क्लिनिकमा रिसेप्सनिस्टको जागिर खाने प्रस्ताव आयो भने के गर्ने? पक्कै पनि त्यहाँ गर्भपतन गर्ने काममा रिसेप्सनिस्टले सीधै मदत त गर्नुपर्दैन। तैपनि त्यहाँ काम गर्दा गर्भपतन गराउने क्लिनिक चलाउन हामीले मदत गरिरहेका हुँदैनौं र? गर्भपतन गर्नु वा गराउनु परमेश्‍वरको वचन विपरीतको काम हो। (प्रस्थान २१:२२-२४) यहोवालाई प्रेम गर्ने मानिसहरू भएकोले हामी बाइबल विपरीतका काममा फिटिक्कै मुछिन चाहँदैनौं।

१७. (क) जागिर खाने निर्णय गर्दा कस्ता कुराहरूमा हामी राम्रोसँग सोचविचार गर्न सक्छौं? (पृष्ठ २०३ को पेटी हेर्नुहोस्‌।) (ख) परमेश्‍वरलाई खुसी पार्ने निर्णय गर्न हाम्रो अन्तस्करणले कसरी मदत दिन सक्छ?

१७ अनुच्छेद १५ र १६ मा उल्लिखित दुइटा महत्त्वपूर्ण प्रश्‍नका जवाफ राम्ररी केलाउँदा जागिर खाने सम्बन्धमा आइपर्ने थुप्रै समस्या समाधान गर्न सक्छौं। त्यसबाहेक जागिर खाने निर्णय गर्दा राम्रोसँग सोचविचार गर्नुपर्ने अरू कुरा पनि छन्‌। b हामीले जुन-जुन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ त्यो सबैको लागि मिल्ने खालको नियम विश्‍वासी दास वर्गले बनाइदेओस्‌ भनेर हामी आशा गर्न सक्दैनौं। यस्तो अवस्थामा हामीले बुद्धि चलाउनु आवश्‍यक छ। अध्याय २ मा सिकेजस्तै हामीले परमेश्‍वरको वचन दैनिक जीवनमा कसरी लागू गर्ने भन्‍ने विषयमा अध्ययन गरेर हाम्रो अन्तस्करणलाई सिकाउनै पर्छ र तालिम दिनै पर्छ। आफ्नो “सोच्ने-बुझ्ने क्षमता”-लाई बारम्बार “चलाएर” तालिम दियौं भने हाम्रो अन्तस्करणले परमेश्‍वरलाई खुसी पार्ने र हामीलाई उहाँको प्रेम पाउन लायक भइरहन मदत गर्ने तरिकामा निर्णय गर्न सहायता दिन सक्छ।—हिब्रू ५:१४.

मैले यो जागिर खाए हुन्छ?

A man looking in a newspaper for potential work

सिद्धान्त: “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.

आफैलाई सोध्नुहोस्‌

  • यो जागिर खाँदा बाइबलले तोकेरै गलत भनेका कामहरू गर्नुपर्ने हुन्छ कि?—प्रस्थान २०:१३-१५.

  • यो जागिर खाएँ भने के मैले गलत काममा मदत पुऱ्‍याइरहेको हुन्छु?—प्रकाश १८:४.

  • के यो एक किसिमको मानव सेवा मात्र हो जसलाई बाइबलले गलत मान्दैन?—प्रेरित १४:१६, १७.

  • मैले यो जागिर खाएँ भने अरूलाई कस्तो असर पर्छ? के त्यसले तिनीहरूको अन्तस्करणलाई ठेस पुऱ्‍याउँछ?—रोमी १४:१९-२२.

  • जागिरको लागि परिवारलाई छोडेर विदेश जाँदा के मैले तिनीहरूलाई माया अनि मदत दिन सक्छु? अनि यसले परमेश्‍वरसितको तिनीहरूको सम्बन्धमा कस्तो असर पार्छ?—एफिसी ५:२८–६:४.

कामप्रति सन्तुलित मनोभाव राखिराख्नुहोस्‌

१८. यहोवालाई मन पर्ने खालको निर्णय गर्न किन सधैं सजिलो हुँदैन?

१८ अहिलेको “असाध्यै कठिन समय”-मा यहोवालाई मन पर्ने खालको निर्णय गर्नु सधैं सजिलो हुँदैन। (२ तिमोथी ३:१) जागिर पाउनु र त्यो नगुमाउनु चुनौतीपूर्ण हुन सक्छ। साँचो ख्रीष्टियन भएकोले परिवारको पालनपोषण गर्न कडा मेहनत गर्नुपर्छ भनेर हामीले बुझेका छौं। तर यदि हामी होसियार भएनौं भने काम गर्ने ठाउँबाट आउने दबाब वा संसारको भ्रष्ट भौतिकवादी सोचाइले परमेश्‍वरको उपासनासम्बन्धी हाम्रो काममा बाधा पुऱ्‍याउन सक्छ। (१ तिमोथी ६:९, १०) हामी कसरी सन्तुलित भइरहन सक्छौं? “अझ महत्त्वपूर्ण कुराहरू” के-के हुन्‌ ती कसरी पक्का गरिरहन सक्छौं? अब यी विषयमा पनि ध्यान देऔं।—फिलिप्पी १:१०.

१९. यहोवा किन हाम्रो पूरा भरोसाको योग्य हुनुहुन्छ? यस्तो भरोसाले हामीलाई के नगर्न मदत दिन्छ?

१९ यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌। (हितोपदेश ३:५, ६) के यहोवा यस्तो भरोसा राख्न योग्यको हुनुहुन्‍न र? आखिर उहाँ नै त हाम्रो ख्याल राख्ने परमेश्‍वर हुनुहुन्छ! (१ पत्रुस ५:७) हामीलाई कुन कुराको आवश्‍यकता छ भनेर हामीलाई भन्दा उहाँलाई धेरै थाह छ र आफ्ना जनहरूलाई मदत गर्न उहाँ जहिले पनि तयार हुनुहुन्छ, उहाँ कहिल्यै हात बाँधेर बस्नुहुन्‍न। (भजन ३७:२५) त्यसैले उहाँको वचनले सम्झाएको यो कुरामा हामीले ध्यान दिनु राम्रो हो: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, बरु अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ। किनकि [परमेश्‍वरले] यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।’ ” (हिब्रू १३:५) पूर्ण-समय सेवामा लागेका थुप्रै सेवकहरू यहोवाले हाम्रो जीवनका आवश्‍यकताहरू पूरा गरिदिन सक्नुहुन्छ भन्‍ने कुराको प्रमाण दिन सक्छन्‌। यहोवाले हाम्रो हेरचाह गर्नुहुन्छ भनेर यदि हामी पूरा भरोसा राख्छौं भने हाम्रो परिवारको आवश्‍यकता पूरा गर्नको लागि हामी अनावश्‍यक रूपमा चिन्तित हुनेछैनौं। (मत्ती ६:२५-३२) सुसमाचार प्रचार गर्ने र सभाहरूमा उपस्थित हुने जस्ता आध्यात्मिक गतिविधिलाई सांसारिक कामकुराको कारण हामी पन्छाउने छैनौं।—मत्ती २४:१४; हिब्रू १०:२४, २५.

२०. आँखा निर्मल राखिराख्नु भनेको के हो? तपाईं कसरी आँखा निर्मल राखिराख्न सक्नुहुन्छ?

२० आफ्नो आँखा निर्मल राखिराख्नुहोस्‌। (मत्ती ६:२२, २३) आँखा निर्मल राखिराख्नु भनेको हाम्रो जीवनलाई सरल बनाइराख्नु हो। ख्रीष्टियनको निर्मल आँखा एउटै कुरामा अर्थात्‌ परमेश्‍वरको इच्छा गर्नुमै केन्द्रित हुन्छ। यदि हाम्रो आँखा उचित कुरामा केन्द्रित छ भने हामी अझै बढी तलब पाइने काम खोज्नेछैनौं र दुई दिने जिन्दगीमा अझै ऐस आराम गरौं भन्‍नेतर्फ लाग्नेछैनौं। खुसी हुनको लागि नयाँ-नयाँ सरसामान चाहिन्छ भनेर विज्ञापनजगत्‌ले फैलाएको कहिल्यै अन्त नहुने कुराको पछि पनि हामी लाग्नेछैनौं। तपाईं कसरी आफ्नो आँखा निर्मल राखिराख्न सक्नुहुन्छ? बिनसित्तिमा ऋण लिएर आफूलाई भारले नथिच्नुहोस्‌। अति नै सामान नथुपार्नुहोस्‌ किनभने त्यसले तपाईंको धेरै समय खाइदिन्छ, हेरचाह पनि त्यत्तिकै गर्नुपर्ने हुन्छ। “खान, लाउन र बस्न पाएपछि” सन्तुष्ट होओ भन्‍ने बाइबलको सल्लाह पालन गर्नुहोस्‌। (१ तिमोथी ६:८) आफ्नो जीवनलाई सरल बनाउन सक्दो गर्नुहोस्‌।

२१. हामीले किन प्राथमिकता छुट्ट्याउनै पर्छ? हाम्रो जीवनमा कुन कुराले पहिलो स्थान पाउनु पर्छ?

२१ परमेश्‍वरको सेवालाई पहिलो स्थान दिनुहोस्‌ र त्यसमा अडिग रहनुहोस्‌। ‘मौका आउँछ पर्खंदैन, बगेको खोलो फर्कंदैन’ भनेझैं हामीसँग सीमित समय छ। त्यसकारण कुन कुरालाई प्राथमिकता दिने भनेर हामीले छुट्ट्याउनै पर्छ। नत्र भने कम महत्त्वपूर्ण कामले हाम्रो समय स्वात्तै खाइदिन्छ र अझै महत्त्वपूर्ण कुराहरू ओझेलमा पर्छन्‌। हाम्रो जीवनमा कुन कुराले पहिलो स्थान पाउनुपर्छ? संसारमा भएका थुप्रै मानिसहरू उच्च शिक्षालाई पहिलो स्थान दिन्छन्‌ ताकि अहिलेको समयमा राम्रो काम पाएर टन्‍न पैसा कमाउन सकियोस्‌। तर येशूले आफ्ना अनुयायीहरूलाई “उहाँको राज्यलाई . . . पहिलो स्थान दिइरहो” भनेर आग्रह गर्नुभयो। (मत्ती ६:३३) हो, साँचो ख्रीष्टियन भएकोले हामी परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिन्छौं। हाम्रो जीवनशैलीले, भनौं हामीले गरेको छनौटले, हामीले राखेको लक्ष्यले र हामीले गर्ने क्रियाकलापले हामी भौतिक कुरा र सांसारिक उपलब्धिको पछि लागेका छैनौं तर परमेश्‍वरको राज्यसम्बन्धी गतिविधि र उहाँको इच्छालाई हामीले महत्त्वपूर्ण स्थान दिएका छौं भनेर देखाउनुपर्छ।

“मेरो निर्णयले मलाई खुसी अनि सन्तुष्टि दिएको छ”

“स्कूलमा म निकै राम्रो विद्यार्थी थिएँ। निकै राम्रो नाम चलेको न्यूयोर्कको निजी स्कूलमा पूरै छात्रवृत्ति पाउन सफल भएकी थिएँ। मेरो स्कूलका सल्लाहकारहरूबाट नाम चलेका थुप्रै विश्‍वविद्यालयमा आवेदन दिन मलाई दबाब आएको थियो। तीमध्ये केही विश्‍वविद्यालयबाट मेरो आवेदन स्वीकृत पनि भयो अनि अमेरिकाको सबैभन्दा नाम चलेका विश्‍वविद्यालयमध्ये एउटाबाट त मैले छात्रवृत्ति समेत पाएँ। दुइटा कुराले गर्दा मैले त्यो प्रस्ताव इन्कार गरें। घरमा नबसेर क्याम्पसमै बस्दा नैतिक रूपमा खतराहरू आइपर्नेछन्‌ भनेर मैले देखें। त्यतिमात्र होइन म अग्रगामी सेवा गर्न एकदमै इच्छुक थिएँ।

“अहिले मैले नियमित अग्रगामी सेवा गरेको २० वर्ष भन्दा धेरै भइसक्यो। सेवाका विभिन्‍न पक्षमा मैले आफूलाई व्यस्त राखेकी छु। आवश्‍यकता धेरै भएको ठाउँमा गएर, राज्यभवन निर्माणकार्यमा मदत गरेर अनि प्राकृतिक प्रकोपको बेला राहतकार्यमा टेवा पुऱ्‍याएर सेवा गरिरहेकी छु। हालसालै मात्र मैले न्यूयोर्कमा विदेशी भाषाको समूहसित सेवा गर्ने सुअवसर पाएकी छु।

“पूर्ण-समय सेवामा बिताएका दिनहरू सम्झँदा मैले कत्ति धेरै आशिष्‌पाएकी छु भनेर म महसुस गर्छु। मेरो निर्णयले मलाई खुसी अनि सन्तुष्टि दिएको छ। अहिले मैले बटुलेका अनुभवहरू अनि मैले पाएका साथीहरूलाई म संसारको अरू कुनै पनि कुरासित साट्‌न सक्दिनँ।”—जेनाइदा।

सेवाको काममा कडा परिश्रम गर्नुहोस्‌

A couple preaching

प्रचारकार्यलाई पहिलो स्थान दिएर हामी यहोवालाई प्रेम गर्छौं भनी देखाउन सक्छौं

२२, २३. (क) साँचो ख्रीष्टियनहरूको मुख्य काम के हो? हाम्रो लागि यो काम महत्त्वपूर्ण छ भनेर हामी कसरी देखाउन सक्छौं? (पृष्ठ २०६ को पेटी हेर्नुहोस्‌।) (ख) सांसारिक कामप्रति तपाईंको सङ्‌कल्प कस्तो छ?

२२ अन्तको पनि अन्तको समयमा बाँचिरहेका छौं भनेर थाह भएकोले हामी साँचो ख्रीष्टियनहरू आफ्नो मुख्य काम—प्रचार गर्ने र चेला बनाउने काममा—ध्यान लगाउँछौं। (मत्ती २४:१४; २८:१९, २०) जीवन बचाउने यस काममा हाम्रो उदाहरण येशूजस्तै हामी पनि जोडतोडले लागिरहन चाहन्छौं। यो काम हाम्रो लागि महत्त्वपूर्ण छ भनेर हामी कसरी देखाउन सक्छौं? परमेश्‍वरका धेरैजसो जनहरू मण्डलीको प्रकाशकको हैसियतले हृदयदेखि नै प्रचारकार्यमा लागेका छन्‌। कसै-कसैले भने अग्रगामी र मिसनरीको रूपमा सेवा गर्न आफ्नो जीवनशैलीमा छाँटकाँट गरेका छन्‌। यहोवाको सेवासम्बन्धी लक्ष्यहरूको महत्त्व बुझेकोले थुप्रै बुबाआमाले आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवालाई आफ्नो पेसा बनाउन प्रोत्साहन दिएका छन्‌। के परमेश्‍वरको राज्यका जोसिला प्रचारकहरूले कडा परिश्रम गरेकोमा आनन्द पाउँछन्‌? पक्कै पनि पाउँछन्‌। सारा हृदयले यहोवाको सेवा गर्दा आनन्द, सन्तुष्टि र अरू थुप्रै आशिष्‌ पाइन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—हितोपदेश १०:२२.

२३ हामीमध्ये धेरैले आफ्नो परिवारको आवश्‍यकता पूरा गर्नको लागि काममा धेरै समय बिताउनुपर्छ। नबिर्सनुहोस्‌, कडा परिश्रम गरेर हामीले आनन्द पाओस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। हाम्रो मनोभाव र कामकुरा परमेश्‍वरको दृष्टिकोण र सिद्धान्तअनुसार बनाएर हामी आफ्नो कामबाट सन्तुष्टि पाउन सक्छौं। तर आफ्नो जागिर वा सांसारिक कामले परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्ने हाम्रो मुख्य कामलाई कहिल्यै ओझेलमा नपारोस्‌ भन्‍ने कुरामा हामी सतर्क रहौं, त्यस्तो हुन नदिन सङ्‌कल्प गरौं। यो कामलाई जीवनमा पहिलो स्थान दिएर हामी यहोवालाई प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं र यसरी परमेश्‍वरको प्रेम पाउन लायक भइरहनेछौं।

a “सिकर्मी” भनेर नेपालीमा अनुवाद गरिएको ग्रीक शब्दले “काठसम्बन्धी सम्पूर्ण काम गर्ने व्यक्‍तिलाई बुझाउँछ—घर बनाउँदा काठको काम गर्ने, फर्निचर बनाउने, काठसम्बन्धी जुनसुकै काम गर्ने।”

b जागिरको सम्बन्धमा गरिएको विस्तृत छलफलको लागि प्रहरीधरहरा, अप्रिल १५, १९९९, पृष्ठ २८-३० र प्रहरीधरहरा (अङ्‌ग्रेजी), जुलाई १५, १९८२, पृष्ठ २६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने