प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 फेब्रुअरी pp. १-३२
  • प्राचीन इस्राएलमा प्रेम र न्याय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राचीन इस्राएलमा प्रेम र न्याय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेममा आधारित व्यवस्था
  • न्यायी हुन सिकाउने व्यवस्था
  • अख्तियार पाएकाहरूले व्यवस्थाका आज्ञाहरू कसरी लागू गर्नुपर्थ्यो?
  • व्यवस्थाले खासगरि कसको रक्षा गर्थ्यो?
  • व्यवस्था—“आउन लागेका असल कुराहरूको छाया”
  • ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “यहोवाको व्यवस्था पूर्ण छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • मोशाको व्यवस्थाले तपाईंका निम्ति के अर्थ राख्तछ?
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • के हामीहरू दस आज्ञाका अधीनमा छौं?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 फेब्रुअरी pp. १-३२

अध्ययन लेख ९

प्राचीन इस्राएलमा प्रेम र न्याय (४ भागको शृङ्‌खलाको भाग १)

“उहाँ धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ। पृथ्वी यहोवाको अटल प्रेमले भरिपूर्ण छ।”—भज. ३३:५.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचयa

१-२. (क) हामी सबै के चाहन्छौँ? (ख) हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

हामी मानिसहरूले हामीलाई प्रेम गरेको चाहन्छौँ। अनि तिनीहरूले हामीसित निष्पक्ष व्यवहार गरेको चाहन्छौँ। हामी घरीघरी कठोर व्यवहारको अनि अन्यायको शिकार हुँदा हामीलाई आफ्नो कुनै मोल छैन जस्तो लाग्न सक्छ अनि हामी निराश हुन सक्छौँ।

२ अरूले हामीलाई प्रेम गरेको चाहन्छौँ अनि हामी अन्यायको शिकार हुन चाहँदैनौँ भनेर यहोवालाई थाह छ। (भज. ३३:५) परमेश्‍वर हामीलाई असाध्यै माया गर्नुहुन्छ र कसैले पनि हामीलाई पक्षपात गरेको उहाँ चाहनुहुन्‍न भनेर हामी ढुक्क हुन सक्छौँ। यहोवाले मोसामार्फत इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थाबारे राम्ररी विचार गऱ्‍यौँ भने यो कुरा स्पष्ट हुन्छ। अरूले तपाईँसित निर्दयी व्यवहार गरेकोले वा तपाईँमाथि अन्याय गरेकोले यदि तपाईँको मन छियाछिया भएको छ भने मोसाको व्यवस्थालेb यहोवा आफ्ना मानिसहरूको ख्याल राख्नुहुन्छ भनेर कसरी देखाउँछ, त्यसबारे विचार गर्नुहोस्‌।

३. (क) रोमी १३:८-१० मा बताइएझैँ मोसाको व्यवस्था अध्ययन गऱ्‍यौँ भने हामीले के थाह पाउँछौँ? (ख) यस लेखले कुन-कुन प्रश्‍नको जवाफ दिनेछ?

३ मोसाको व्यवस्था अध्ययन गऱ्‍यौँ भने हाम्रा मायालु बुबा यहोवा कोमल भावनाले भरिपूर्ण हुनुहुन्छ भनेर थाह पाउँछौँ। (रोमी १३:८-१० पढ्‌नुहोस्‌) यस लेखमा हामी इस्राएल राष्ट्रलाई दिइएका केही आज्ञाहरू विचार गर्नेछौँ र यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: मोसाको व्यवस्था प्रेममा आधारित थियो भनेर हामी किन भन्‍न सक्छौँ? त्यसले मानिसहरूलाई न्यायी हुन सिकाउँथ्यो भनेर किन भन्‍न सक्छौँ? अख्तियार पाएकाहरूले व्यवस्थाका आज्ञाहरू कसरी लागू गर्नुपर्थ्यो? अनि व्यवस्थाले खासगरि कसको रक्षा गर्थ्यो? यी प्रश्‍नहरूको जवाफले हामीलाई सान्त्वना र आशा दिन्छ अनि हाम्रा मायालु बुबासित अझ नजिक बनाउँछ।—प्रेषि. १७:२७; रोमी १५:४.

प्रेममा आधारित व्यवस्था

४. (क) मोसाको व्यवस्था प्रेममा आधारित थियो भनेर हामी किन भन्‍न सक्छौँ? (ख) मत्ति २२:३६-४० मा बताइएअनुसार येसुले कुन-कुन आज्ञामा जोड दिनुभयो?

४ मोसाको व्यवस्था प्रेममा आधारित थियो भनेर हामी भन्‍न सक्छौँ किनभने यहोवा सबै काम प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। (१ युह. ४:८) उहाँले दिनुभएको व्यवस्थाका सम्पूर्ण आज्ञा यी दुई वटा आज्ञामा आधारित थिए: परमेश्‍वरलाई प्रेम गर्नू र आफ्नो छिमेकीलाई प्रेम गर्नू। (लेवी १९:१८; व्यव. ६:५; मत्ति २२:३६-४० पढ्‌नुहोस्‌) त्यसकारण व्यवस्थामा भएका ६०० भन्दा धेरै आज्ञामा प्रत्येकले यहोवाको प्रेमबारे कुनै न कुनै कुरा प्रकट गरेको हामी आशा गर्न सक्छौँ। केही उदाहरण विचार गरौँ।

५-६. विवाहित जोडीहरूले के गरेको यहोवा चाहनुहुन्छ अनि उहाँलाई कुन कुरा थाह हुन्छ? उदाहरण दिनुहोस्‌।

५ आफ्नो जीवनसाथीप्रति वफादार रहनुहोस्‌ र छोराछोरीको हेरचाह गर्नुहोस्‌। विवाहित जोडीहरूले एकअर्कालाई जिन्दगीभर गहिरो प्रेम गरेको यहोवा चाहनुहुन्छ। (उत्प. २:२४; मत्ति १९:३-६) व्यभिचार गर्नु भनेको जघन्य अपराधहरूमध्ये एउटा हो। त्यसैले दस आज्ञामध्ये सातौँ आज्ञाले व्यभिचार गर्न निषेध गर्नुको कारण हामी बुझ्न सक्छौँ। (व्यव. ५:१८) यो “परमेश्‍वरको विरुद्धमा” गरिने पाप हो र यसले निर्दोष जोडीलाई ठूलो आघात पुऱ्‍याउँछ। (उत्प. ३९:७-९) यस्तो धोकाले निर्दोष पति वा पत्नीलाई वर्षौँसम्म पीडा दिइरहन सक्छ।

६ विवाहित जोडीहरूले एकअर्कासित कस्तो व्यवहार गर्छन्‌, यहोवा त्यो नियालेर हेर्नुहुन्छ। इस्राएल राष्ट्रमा खासगरि पतिले पत्नीसित राम्रो व्यवहार गरेको यहोवा चाहनुहुन्थ्यो। व्यवस्थाको आदर गर्ने पतिले आफ्नी पत्नीलाई माया गर्थे र सानोतिनो कारण देखाएर तिनीसित सम्बन्धविच्छेद गर्दैनथे। (व्यव. २४:१-४; मत्ति १९:३, ८) तर गम्भीर समस्या खडा भयो र पतिले तिनीसित सम्बन्धविच्छेद गरिहाले भने पतिले तिनलाई छोडपत्र दिनुपर्थ्यो। त्यो छोडपत्रले त्यस स्त्रीलाई यौन अनैतिकताको झूटो आरोप लाग्नबाट जोगाउँथ्यो। त्यति मात्र होइन, पतिले पत्नीलाई छोडपत्र दिनुअघि तिनले सहरका नाइकेहरूसित सल्लाह गर्नुपर्थ्यो जस्तो देखिन्छ। यसले गर्दा नाइकेहरूले ती पति-पत्नीको वैवाहिक सम्बन्धलाई जोगाउने मौका पाउने थिए। कुनै इस्राएली पुरुषले आफ्नै स्वार्थी कारणले पत्नीसित सम्बन्धविच्छेद गर्दा यहोवाले नाइकेहरू वा भविष्यवक्‍ताहरूलाई चलाएर हरेक चोटि त्यसलाई रोक्नुभएन। तैपनि, निर्दोष पत्नीले बगाएको आँसु भने उहाँले देख्नुभयो अनि तिनको पीडा महसुस गर्नुभयो।—मला. २:१३-१६.

एउटी इस्राएली आमा छोरीहरूसित कुराकानी गर्दै खाना तयार गर्छिन्‌; बुबाले चाहिँ छोरालाई भेडाको हेरचाह गर्न सिकाउँदै छन्‌

केटाकेटीहरूले ढुक्क र सुरक्षित महसुस गरेको, आमाबुबाले तिनीहरूलाई माया गर्दै हुर्काएको अनि शिक्षा दिएको यहोवा चाहनुहुन्थ्यो (अनुच्छेद ७-८ हेर्नुहोस्‌)

७-८. (क) यहोवाले आमाबुबालाई कस्तो आज्ञा दिनुभयो? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌) (ख) यसबाट हामी कस्ता पाठ सिक्छौँ?

७ यहोवा केटाकेटीको पनि निकै ख्याल राख्नुहुन्छ भनेर व्यवस्थामा भएका आज्ञाहरूले देखाउँछ। यहोवाले आमाबुबालाई छोराछोरीको भौतिक आवश्‍यकता मात्र होइन, आध्यात्मिक आवश्‍यकता पनि पूरा गर्न आज्ञा दिनुभयो। आमाबुबाले हरेक मौकामा आफ्ना छोराछोरीलाई यहोवाको व्यवस्थाको कदर गर्न अनि उहाँलाई प्रेम गर्न सिकाउनुपर्थ्यो। (व्यव. ६:६-९; ७:१३) यहोवाले इस्राएलीहरूलाई सजाय दिनुको एउटा कारण, तिनीहरूमध्ये कोही-कोहीले आफ्ना छोराछोरीलाई घोर दुर्व्यवहार गरेकोले थियो। (यर्मि. ७:३१, ३३) आमाबुबाले आफ्ना छोराछोरीलाई बेवास्ता गरे पनि हुने वा लापरबाही गरे पनि हुने सामानजस्तो मात्र ठान्‍नु हुँदैनथ्यो। बरु यहोवाबाट पाएको वरदानको रूपमा हेर्नुपर्थ्यो अनि त्यसलाई उहाँले दिनुभएको बहुमूल्य उपहार ठान्‍नुपर्थ्यो।—भज. १२७:३.

८ पाठ: विवाहित जोडीहरू एकअर्कासित कस्तो व्यवहार गर्छन्‌ भनेर यहोवा नियालेर हेर्नुहुन्छ। आमाबुबाले छोराछोरीलाई माया गरेको उहाँ चाहनुहुन्छ अनि आमाबुबाले तिनीहरूसित कस्तो व्यवहार गर्छन्‌, त्यसको लेखा लिनुहुन्छ।

९-११. यहोवाले लोभ नगर्नू भन्‍ने आज्ञा किन दिनुभयो?

९ लोभ नगर्नू। दस आज्ञामध्ये अन्तिम आज्ञाले लोभ गर्न अर्थात्‌ जे कुरा आफ्नो होइन, त्यो प्राप्त गर्ने गलत इच्छा मनमा पाल्न निषेध गरेको थियो। (व्यव. ५:२१; रोमी ७:७) यहोवाले एउटा महत्त्वपूर्ण पाठ सिकाउन यो आज्ञा दिनुभएको थियो: उहाँका जनहरूले आफ्नो हृदयलाई सुरक्षित राख्नुपर्थ्यो अर्थात्‌ आफ्नो सोचाइ र भावनालाई नियन्त्रणमा राख्नुपर्थ्यो। दुष्ट विचारले नै दुष्ट कामसम्म पुऱ्‍याउँछ भनेर उहाँलाई थाह छ। (हितो. ४:२३) यदि कुनै इस्राएलीले आफ्नो मनमा गलत इच्छा जाग्न दिएमा तिनले अरूसित उचित व्यवहार गर्न सक्ने थिएनन्‌। उदाहरणको लागि, राजा दाउद यस्तै पासोमा परे। दाउद वास्तवमा असल मानिस थिए। तर एक पटक भने तिनले अर्काकी श्रीमतीमाथि आँखा लगाए। गलत इच्छाले गर्दा तिनी पाप गर्न पुगे। (याकु. १:१४, १५) दाउदले व्यभिचार गरे, त्यस स्त्रीको पतिलाई झुक्क्याउन खोजे र पछि तिनलाई मार्ने षड्यन्त्र रचे।—२ समु. ११:२-४; १२:७-११.

१० लोभ नगर्नू भन्‍ने आज्ञा कुनै इस्राएलीले उल्लङ्‌घन गर्दा यहोवालाई त्यो थाह हुन्थ्यो किनकि उहाँ मानिसको हृदय पढ्‌न सक्नुहुन्छ। (१ इति. २८:९) लोभ नगर्नू भन्‍ने आज्ञाले गलत कामसम्म पुऱ्‍याउन सक्ने विचार मनबाट हटाइहाल्नुपर्छ भनेर यहोवाका जनहरूलाई सिकाउँथ्यो। यहोवा कत्ति बुद्धिमान्‌ अनि मायालु बुबा हुनुहुन्छ!

११ पाठ: यहोवा मानिसको बाहिरी रूप मात्र हेर्नुहुन्‍न। हामी भित्र वास्तवमा कस्तो छौँ, उहाँ त्यो हेर्नुहुन्छ। हो, उहाँ हाम्रो हृदय हेर्नुहुन्छ। (१ समु. १६:७) कुनै पनि सोचाइ, कुनै पनि भावना वा कुनै पनि काम उहाँको नजरबाट लुक्न सक्दैन। उहाँ हामीमा भएको असल कुरा हेर्नुहुन्छ र हामीलाई असल काम गर्न प्रोत्साहन दिनुहुन्छ। तर कुनै गलत सोचाइ बढेर गलत काम गर्न पुग्नुअघि नै हामीले त्यो थाह पाएको अनि त्यसलाई वशमा राखेको उहाँ चाहनुहुन्छ।—२ इति. १६:९; मत्ति ५:२७-३०.

न्यायी हुन सिकाउने व्यवस्था

१२. मोसाको व्यवस्थाले के सिकाउँछ?

१२ व्यवस्थाले हामीलाई यहोवा न्याय मन पराउनुहुने परमेश्‍वर हुनुहुन्छ भनेर पनि सिकाउँछ। (भज. ३७:२८; यसै. ६१:८) अरूलाई निष्पक्ष व्यवहार गर्ने सन्दर्भमा उहाँले उत्कृष्ट उदाहरण बसाल्नुभयो। इस्राएलीहरूले यहोवाका आज्ञाहरू पालन गर्दा उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो। तर उहाँका न्यायी र धार्मिक स्तरहरूलाई बेवास्ता गर्दा तिनीहरूले दुःख पाए। दस आज्ञामा पर्ने अर्को दुई वटा आज्ञालाई विचार गरौँ।

१३-१४. दस आज्ञाको पहिलो दुई आज्ञाले के गर्न निषेध गरेको थियो? ती आज्ञाहरू पालन गर्दा कसरी इस्राएलीहरूको भलो हुन्थ्यो?

१३ यहोवाबाहेक अरू कसैको उपासना नगर्नू। दस आज्ञाको पहिलो दुई आज्ञाले यहोवाबाहेक अरू कसैको उपासना गर्न निषेध गरेको थियो अनि मूर्तिहरूलाई नपुज्नू भनी चेतावनी दिएको थियो। (प्रस्थ. २०:३-६) यहोवाले आफ्नो फाइदाको लागि ती आज्ञाहरू दिनुभएको थिएन। बरु ती आज्ञाहरू पालन गर्दा उहाँका जनहरूको भलो हुन्थ्यो। यहोवाका जनहरू उहाँप्रति वफादार रहँदा तिनीहरूको फलिफाप हुन्थ्यो। तर अरू राष्ट्रका देवताहरूलाई पुज्दा भने तिनीहरूले दुःख पाउँथे।

१४ कनानीहरूलाई विचार गर्नुहोस्‌। तिनीहरू साँचो र जीवित परमेश्‍वरको नभएर निर्जीव मूर्तिहरूको उपासना गर्थे। फलस्वरूप तिनीहरू नैतिक रूपमा खस्किए। (भज. ११५:४-८) मूर्तिहरूको उपासना गर्ने नाममा तिनीहरू घिनलाग्दा यौन क्रियाकलापहरूमा मुछिए र निर्ममतापूर्वक आफ्नै छोराछोरीको बलिदान चढाए। त्यसैगरि, इस्राएलीहरूले यहोवाको कुरा नसुनेर मूर्तिपूजा गर्ने छनौट गर्दा तिनीहरू पनि नैतिक रूपमा खस्किए अनि तिनीहरूको परिवारले निकै दुःख पायो। (२ इति. २८:१-४) अख्तियार पाएकाहरूले यहोवाका न्यायी स्तरहरूको बेवास्ता गरे। तिनीहरूले आफ्नो अख्तियारको दुरुपयोग गरे अनि कमजोर र असहायहरूलाई थिचोमिचो गरे। (इज. ३४:१-४) असहाय स्त्रीहरू अनि केटाकेटीमाथि अत्याचार गर्नेहरूलाई सजाय दिनेछु भनी यहोवाले इस्राएलीहरूलाई चेतावनी दिनुभयो। (व्यव. १०:१७, १८; २७:१९) अर्कोतर्फ, तिनीहरू उहाँप्रति वफादार रहँदा अनि एकअर्कासित निष्पक्ष व्यवहार गर्दा उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो।—१ राजा १०:४-९.

अन्याय सहनुपरेकोले एउटी बहिनी निराश छिन्‌

यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र हामीले भोगेको अन्याय देख्नुहुन्छ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. हामी यहोवाबारे कस्ता पाठ सिक्छौँ?

१५ पाठ: यहोवाको सेवा गर्छु भनी दाबी गर्ने व्यक्‍तिले उहाँका स्तरहरूलाई बेवास्ता गर्छ र उहाँका जनहरूलाई दुःख दिन्छ भने त्यसको दोष यहोवालाई दिन मिल्दैन। तर यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र हामीले भोगेको अन्याय देख्नुहुन्छ। एउटी आमाले आफ्नो बच्चाको दुःख जति राम्ररी बुझ्छिन्‌, त्योभन्दा पनि राम्ररी यहोवा हाम्रो दुःख बुझ्नुहुन्छ। (यसै. ४९:१५) हुनत उहाँले तुरुन्तै कुनै कदम नचाल्नुहोला तर पश्‍चात्ताप नगरी गलत काम गरिरहेर अरूलाई दुःख दिने मानिसहरूको उहाँले उचित समयमा लेखा लिनुहुनेछ।

अख्तियार पाएकाहरूले व्यवस्थाका आज्ञाहरू कसरी लागू गर्नुपर्थ्यो?

१६-१८. मोसाको व्यवस्थाले के-कस्ता पक्षहरूलाई समेट्‌थ्यो? यसबाट हामी कस्ता पाठ सिक्छौँ?

१६ मोसाको व्यवस्थाले इस्राएलीहरूको जीवनको विभिन्‍न पक्षलाई समेट्‌थ्यो। त्यसकारण नाइकेको रूपमा नियुक्‍त भएका पुरुषहरूले यहोवाको धार्मिक स्तरअनुसार उहाँका जनहरूको न्याय गर्नु अत्यन्तै महत्त्वपूर्ण थियो। तिनीहरूले यहोवाको उपासनासित सम्बन्धित मामिलाहरूको समाधान गर्नुका साथै झैझगडा र आपराधिक घटनाहरू हुँदा पनि न्याय कार्यान्वयन गर्नुपर्थ्यो। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

१७ यदि कुनै इस्राएलीले कसैको हत्या गऱ्‍यो भने हत्यारालाई स्वतः मृत्युदण्ड दिन मिल्दैनथ्यो। पहिला त्यस सहरका नाइकेहरूले परिस्थितिलाई राम्ररी केलाउनुपर्थ्यो र मृत्युदण्ड दिनु उचित छ कि छैन भनेर विचार गर्नुपर्थ्यो। (व्यव. १९:२-७, ११-१३) नाइकेहरूले मानिसहरूको दैनिक जीवनका विभिन्‍न मामिलाहरूको पनि छिनोफानो गर्नुपर्थ्यो। सरसम्पत्तिबारे सार्वजनिक मुद्दा-मामिलादेखि लिएर वैवाहिक जीवनसित सम्बन्धित निजी मामिलाहरूको पनि तिनीहरूले छिनोफानो गर्नुपर्थ्यो। (प्रस्थ. २१:३५; व्यव. २२:१३-१९) नाइकेहरूले निष्पक्ष हुँदै न्याय गरेमा अनि इस्राएलीहरूले व्यवस्था पालन गरेमा त्यसले सबैलाई लाभ पुऱ्‍याउँथ्यो र यसरी इस्राएल राष्ट्रले यहोवाको महिमा गरिरहेको हुन्थ्यो।—लेवी २०:७, ८; यसै. ४८:१७, १८.

१८ पाठ: यहोवा हाम्रो जीवनको हरेक पक्षमा गहिरो चासो राख्नुहुन्छ। हामीले अरूसित निष्पक्ष र मायालु व्यवहार गरेको उहाँ चाहनुहुन्छ। अनि चाहे हामी घरमा हुँदा नै किन नहोस्‌, हामी के बोल्छौँ र के गर्छौँ भन्‍ने कुरामा यहोवा ध्यान दिनुहुन्छ।—हिब्रू ४:१३.

१९-२१. (क) नाइकेहरू र न्यायकर्ताहरूले परमेश्‍वरका जनहरूसित कस्तो व्यवहार गर्नुपर्थ्यो? (ख) आफ्ना जनहरूमाथि कसैले पक्षपात नगरोस्‌ भनेर यहोवाले कस्ता नियमहरू दिनुभएको थियो? यसबाट हामी कस्ता पाठ सिक्छौँ?

१९ यहोवा आफ्ना जनहरूलाई वरपरका राष्ट्रहरूको कुप्रभावबाट जोगाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले नाइकेहरू र न्यायकर्ताहरूलाई निष्पक्ष हुँदै व्यवस्था लागू गर्ने आज्ञा दिनुभएको थियो। तर न्याय गर्नेहरूले उहाँका जनहरूसित रुखो वा कडा व्यवहार गर्नु हुँदैनथ्यो। बरु तिनीहरूले न्यायलाई प्रेम गर्नुपर्थ्यो।—व्यव. १:१३-१७; १६:१८-२०.

२० यहोवा आफ्ना मानिसहरूलाई माया गर्नुहुने भएकोले तिनीहरूमाथि कसैले पक्षपात गरेको उहाँ चाहनुहुन्‍नथ्यो। त्यसैले उहाँले केही नियमहरू दिनुभएको थियो। उदाहरणको लागि, व्यवस्थामा दिइएको नियमले गर्दा कुनै व्यक्‍तिलाई अपराध गरेको झूटो आरोप लाग्ने सम्भावना कम थियो। आरोपित व्यक्‍तिले आफूलाई कसले आरोप लगाएको हो भनेर जान्‍न पाउने अधिकार व्यवस्थाले दिएको थियो। (व्यव. १९:१६-१९; २५:१) अनि आरोपित व्यक्‍तिलाई दोषी ठहराउनुअघि कम्तीमा दुई जना साक्षीले बयान दिएको हुनुपर्थ्यो। (व्यव. १७:६; १९:१५) तर कुनै इस्राएलीले गरेको अपराध एक जना साक्षीले मात्रै देखेको छ भने नि? तिनले आफू सजायबाट उम्कन्छु भनेर सोच्न मिल्दैनथ्यो। तिनले गरेको काम यहोवाले देख्नुहुन्थ्यो। यहोवाले परिवारमा बुबाहरूलाई केही अख्तियार दिनुभएको थियो तर त्यसका सीमाहरू थिए। कुनै-कुनै पारिवारिक कलह सम्हाल्ने जिम्मा सहरका नाइकेहरूको थियो र तिनीहरूले सुनाएको फैसला नै अन्तिम फैसला हुन्थ्यो।—व्यव. २१:१८-२१.

२१ पाठ: यहोवाले कहिल्यै पक्षपात गर्नुहुन्‍न। यस सन्दर्भमा उहाँले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (भज. ९:७) वफादार भई उहाँका स्तरहरूलाई समर्थन गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ अनि अख्तियारको दुरुपयोग गर्नेहरूलाई उहाँ सजाय दिनुहुन्छ। (२ समु. २२:२१-२३; इज. ९:९, १०) कोही-कोही भने दुष्ट काम गरेर पनि सजायबाट उम्किएको जस्तो देखिएला तर यहोवाले उचित समयमा तिनीहरूको लेखा लिनुहुन्छ। (हितो. २८:१३) त्यस्ता मानिसहरूले पश्‍चात्ताप गर्दैनन्‌ भने “जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो” भनेर तिनीहरूले चाँडै थाह पाउनेछन्‌।—हिब्रू १०:३०, ३१.

व्यवस्थाले खासगरि कसको रक्षा गर्थ्यो?

प्राचीन इस्राएलमा एक जना व्यापारीबाट दुर्व्यवहार भोगेकी विधवा र तिनको छोरालाई सहरको मूलढोकामा भएका नाइकेहरूले दयालु व्यवहार गर्छन्‌

नाइकेहरूले मुद्दा-मामिलाको छिनोफानो गर्दा यहोवाले जस्तै मानिसहरूलाई प्रेम गर्नुपर्थ्यो र न्याय मन पराएको देखाउनुपर्थ्यो (अनुच्छेद २२ हेर्नुहोस्‌)c

२२-२४. (क) व्यवस्थाले खासगरि कसको रक्षा गर्थ्यो र यसबाट हामी यहोवाबारे के सिक्छौँ? (ख) प्रस्थान २२:२२-२४ मा हामी कस्तो चेतावनी पाउँछौँ?

२२ व्यवस्थाले खासगरि अनाथहरू, विधवाहरू र विदेशीहरूजस्ता असहायहरूको रक्षा गर्थ्यो। इस्राएलका न्यायकर्ताहरूलाई यस्तो आज्ञा दिइएको थियो: “विदेशी र अनाथहरूको मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्‌ग्याएर तिनीहरूलाई अन्याय नगर। विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।” (व्यव. २४:१७) इस्राएलीहरूको समुदायमा जो सबैभन्दा असहाय थिए, तिनीहरूलाई यहोवा व्यक्‍तिगत चासो देखाउनुहुन्थ्यो र तिनीहरूसित कोमल व्यवहार गर्नुहुन्थ्यो। तिनीहरूसित दुर्व्यवहार गर्नेहरूलाई उहाँ सजाय दिनुहुन्थ्यो।—प्रस्थान २२:२२-२४ पढ्‌नुहोस्‌।

२३ साथै व्यवस्थाले सबै प्रकारको हाडनाता करणीलाई निषेध गरेको थियो र यसले परिवारका सदस्यहरूलाई यौनजन्य अपराधबाट जोगाउँथ्यो। (लेवी १८:६-३०) इस्राएल राष्ट्रवरपरका मानिसहरू यस्ता कामहरूप्रति कुनै आपत्ति जनाउँदैन थिए, त्यसको समर्थनसमेत गर्थे। तर यहोवाका जनहरूले भने त्यस्ता कामहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्दै त्यसलाई घृणा गर्नुपर्थ्यो।

२४ पाठ: यहोवा ज-जसलाई अख्तियार दिनुहुन्छ, तिनीहरूले आफ्नो निगरानीमा भएका सबैलाई मायालु व्यवहार गरेको र चासो देखाएको उहाँ चाहनुहुन्छ। उहाँ यौनजन्य अपराधहरूलाई घृणा गर्नुहुन्छ र सबैले अनि खासगरि असहायहरूले सुरक्षा र न्याय पाऊन्‌ भन्‍ने चाहनुहुन्छ।

व्यवस्था—“आउन लागेका असल कुराहरूको छाया”

२५-२६. (क) प्रेमविना न्याय सम्भव छैन भनेर किन भन्‍न सक्छौँ? (ख) यस शृङ्‌खलाको अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२५ जसरी सासविना जीवन सम्भव छैन, त्यसरी नै प्रेमविना न्याय सम्भव छैन। यहोवाले हामीसित न्यायपूर्ण व्यवहार गर्नुभएको छ भनेर थाह पाउँदा उहाँप्रतिको हाम्रो प्रेम बढ्‌छ। जब हामी परमेश्‍वरलाई र उहाँका धार्मिक स्तरहरूलाई प्रेम गर्छौँ, तब अरूलाई पनि प्रेम गर्न र निष्पक्ष व्यवहार गर्न उत्प्रेरित हुन्छौँ।

२६ मोसाको व्यवस्थाविना इस्राएलीहरूले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सम्भव हुने थिएन। तर येसुले त्यो व्यवस्था पूरा गर्नुभएपछि परमेश्‍वरका जनहरूले व्यवस्था पालन गर्नुपरेन र त्यसको साटो परमेश्‍वरले तिनीहरूलाई अझै उत्तम कुरा दिनुभयो। (रोमी १०:४) प्रेषित पावलले व्यवस्थालाई “आउन लागेका असल कुराहरूको छाया” भने। (हिब्रू १०:१) ती असल कुराहरूमध्ये केही के-के हुन्‌ भनेर हामी यस शृङ्‌खलाको अर्को लेखमा छलफल गर्नेछौँ। साथै ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय कत्तिको महत्त्वपूर्ण छ भनेर पनि बुझ्नेछौँ।

मोसाको व्यवस्थाले कसरी . . .

  • आफ्ना जनहरूप्रतिको यहोवाको प्रेम प्रकट गर्छ?

  • यहोवा न्याय मन पराउनुहुन्छ भन्‍ने कुरा प्रकट गर्छ?

  • असहायहरूप्रतिको यहोवाको दृष्टिकोण प्रकट गर्छ?

गीत १०९ प्रगाढ प्रेम

a यो लेख चार भाग भएको शृङ्‌खलाबद्ध लेखहरूमध्ये पहिलो हो। यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनी हामी किन ढुक्क हुन सक्छौँ भनेर यी लेखहरूमा छलफल गरिनेछ। यसपछिका तीन वटा लेख मे २०१९ अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित गरिनेछ। ती लेखहरूको शीर्षक यसप्रकार छन्‌: “ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय,” “दुष्ट संसारमा प्रेम र न्याय” र “दुर्व्यवहारको शिकार भएकाहरूलाई सान्त्वना।”

b थप व्याख्या: यहोवाले मोसामार्फत इस्राएलीहरूलाई दिनुभएको ६०० भन्दा धेरै नियमहरूलाई “व्यवस्था,” “मोसाको व्यवस्था” अनि “आज्ञाहरू” भन्‍ने गरिन्छ। त्यसका साथै बाइबलको पहिलो पाँच वटा किताबलाई (उत्पत्तिदेखि व्यवस्था) पनि अक्सर “व्यवस्था” भन्‍ने गरिन्छ। परमेश्‍वरको प्रेरणा पाएर लेखिएको पूरै हिब्रू धर्मशास्त्रलाई बुझाउन पनि कहिलेकाहीँ यही शब्द प्रयोग गरिन्छ।

चित्रको व्याख्या: एउटी इस्राएली आमा छोरीहरूसित रमाइलो कुराकानी गर्दै खाना तयार गर्छिन्‌। पछाडितिर चाहिँ बुबाले छोरालाई भेडाको हेरचाह गर्न सिकाउँदै छन्‌।

c चित्रको व्याख्या: एक जना व्यापारीबाट दुर्व्यवहार भोगेकी विधवा र तिनको छोरालाई सहरको मूलढोकामा भएका नाइकेहरूले दयालु व्यवहार गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने