प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ३/१५ p. २४-p. २७ par. १०
  • प्रस्थानको पुस्तकका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रस्थानको पुस्तकका विशेषताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो”
  • (प्रस्थान १:१–४:३१)
  • उदेकलाग्दा चमत्कारहरूका कारण छुटकारा पाइन्छ
  • (प्रस्थान ५:१–१५:२१)
  • यहोवाले एउटा ईश्‍वरतान्त्रिक राष्ट्र संगठित गर्नुहुन्छ
  • (प्रस्थान १५:२२–४०:३८)
  • हाम्रो लागि साँचो अर्थ
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • परमेश्‍वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ३/१५ p. २४-p. २७ par. १०

यहोवाको वचन जीवित छ

प्रस्थानको पुस्तकका विशेषताहरू

‘कठोरतासाथ काममा लगाइएकाहरूको’ छुटकाराको यो एउटा साँचो कथा हो। (प्रस्थान १:१३) यो, एउटा राष्ट्रको जन्मको रोमाञ्चकारी विवरण पनि हो। उदेकलाग्दा चमत्कार, सर्वोच्च नियमकानुन र पवित्रस्थानको निर्माण यसका मनमोहक पक्षहरूमध्ये केही हुन्‌। सारांशमा भन्‍ने हो भने, बाइबलको पुस्तक प्रस्थान यिनै कुराहरूको सँगालो हो।

हिब्रू अगमवक्‍ता मोशाद्वारा लिखित प्रस्थानको पुस्तकमा सा.यु.पू. १६५७ मा यूसुफको मृत्युदेखि सा.यु.पू. १५१२ मा पवित्रस्थानको निर्माणकार्य पूरा नभएसम्मको अर्थात्‌ १४५ वर्षको दौडान इस्राएलीहरूले भोगेका अनुभवहरू लिपिबद्ध छन्‌। यद्यपि, लिपिबद्ध विवरणहरू ऐतिहासिक दृष्टिकोणले मात्र चासोका विषय होइनन्‌। यो, मानिसजातिको लागि परमेश्‍वरको वचन वा सन्देशको भाग हो। भन्‍ने हो भने, यो “जीवित र प्रबल छ।” (हिब्रू ४:१२) त्यसकारण प्रस्थानको पुस्तकले हाम्रो लागि साँचो अर्थ राख्छ।

“परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो”

(प्रस्थान १:१–४:३१)

मिश्रमा बसोबास गरिरहेका याकूबका सन्तानहरूको संख्यामा यत्ति धेरै वृद्धि हुन्छ कि तिनीहरूलाई दासको रूपमा सास्ती दिने शाही उर्दी दिइन्छ। फिरऊनले सबै इस्राएली बालकहरूलाई मार्ने हुकुमसमेत जारी गर्छन्‌। त्यस्तो मृत्यु भोग्नबाट बचेका एक जना तीन महिने बालक मोशा थिए जसलाई फिरऊनकी छोरीले आफ्नो धर्मपुत्र बनाउँछिन्‌। तिनको लालनपालन शाही घरानामा भएको भए तापनि ४० वर्षको उमेरमा मोशाले आफ्नै मानिसहरूको पक्ष लिन्छन्‌ र एक जना मिश्रीको हत्या गर्छन्‌। (प्रेरित ७:२३, २४) त्यहाँबाट भाग्न बाध्य भएको कारण तिनी मिद्यान जान्छन्‌। त्यहाँ तिनले बिहे गर्छन्‌ र गोठालोको रूपमा जीवन बिताउँछन्‌। चमत्कारपूर्ण ढङ्‌गमा जलिरहेको पोथ्राबाट यहोवाले मोशालाई, इस्राएलीहरूलाई दासत्वबाट मुक्‍त गर्ने काममा नेतृत्व लिनको लागि मिश्र फर्कन आज्ञा गर्नुहुन्छ। तिनका भाइ हारून तिनको प्रवक्‍ताको रूपमा नियुक्‍त हुन्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:१—यित्रो कस्तो प्रकारका पूजाहारी थिए? कुलपिताहरूको समयमा परिवारको शिरले आफ्नो परिवारको पूजाहारीको रूपमा पनि सेवा गर्थे। यित्रो स्पष्टतः मिद्यानी कुलको कुलपिता थिए। मिद्यानीहरू कतूराबाट अब्राहामका सन्तान भएकोले सम्भवतः तिनीहरूलाई यहोवाको उपासनाबारे थाह थियो।—उत्पत्ति २५:१, २.

४:११—यहोवाले कुन अर्थमा ‘लाटो, बहिरो र अन्धो बनाउनुहुन्छ’? यहोवाले कुनै-कुनै अवसरमा मानिसहरूलाई अन्धो र लाटो बनाउनुभए तापनि उहाँ त्यस्ता हरेक असक्‍तहरूको लागि जिम्मेवार हुनुहुन्‍न। (उत्पत्ति १९:११; लूका १:२०-२२, ६२-६४) ती जन्मजात पापको नतिजा हुन्‌। (अय्यूब १४:४; रोमी ५:१२) तथापि, यहोवाले यस्तो अवस्था रहिरहन अनुमति दिनुभएको कारण लाटो, बहिरो र अन्धो आफूले ‘बनाउँछु’ भनेर भन्‍न सक्नुभयो।

४:१६—मोशा हारूनको निम्ति कसरी “ईश्‍वरतुल्य” हुने थिए? मोशा परमेश्‍वरका प्रतिनिधि थिए। तसर्थ, हारूनको निम्ति मोशा “ईश्‍वरतुल्य” भए र तिनले मोशाको प्रतिनिधिको रूपमा कुरा गर्नुपर्थ्यो।

हाम्रा लागि पाठहरू:

१:७, १४. यहोवाले आफ्ना जनहरू मिश्रमा थिचोमिचोमा पर्दा तिनीहरूको समर्थन गर्नुभयो। त्यसै गरी उहाँले आफ्ना आधुनिक समयका साक्षीहरूलाई तीव्र सतावटको बेलामा समेत सँभाल्नुहुन्छ।

१:१७-२१. यहोवाले हाम्रो “हितको निम्ति” सम्झनुहुन्छ।—नहेम्याह १३:३१.

३:७-१०. यहोवा आफ्ना जनहरूको पुकाराप्रति सचेत हुनुहुन्छ।

३:१४. यहोवाले आफ्ना उद्देश्‍यहरू पक्कै पूरा गर्नुहुन्छ। त्यसकारण उहाँले बाइबल आधारित हाम्रा आशाहरूलाई यथार्थमा परिणत गर्नुहुनेछ भनी हामी विश्‍वस्त हुन सक्छौं।

४:१०, १३. आफ्नो बोल्ने क्षमताप्रति मोशामा विश्‍वस्ताको यति कमी थियो कि ईश्‍वरीय समर्थनको आश्‍वासन पाउँदा पनि तिनले फिरऊनकहाँ अरू कसैलाई पठाउन बिन्ती गरे। तैपनि यहोवाले मोशालाई नै चलाउनुभयो र तिनलाई आफ्नो कार्यभार पूरा गर्न आवश्‍यक बुद्धि र बल प्रदान गर्नुभयो। आफ्ना अयोग्यताहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा हामी यहोवामा भर परौं र विश्‍वासीपूर्वक प्रचार र शिक्षा दिने हाम्रो काम पूरा गरौं।—मत्ती २४:१४; २८:१९, २०.

उदेकलाग्दा चमत्कारहरूका कारण छुटकारा पाइन्छ

(प्रस्थान ५:१–१५:२१)

इस्राएलीहरूले उजाडस्थानमा यहोवाको निम्ति चाड मनाउन पाऊन्‌ भनेर अनुमतिको लागि मोशा र हारून फिरऊनसामु हाजिर हुन्छन्‌। मिश्री शासकले ठाडै अस्वीकार गर्छन्‌। यहोवाले एकपछि अर्को भयङ्‌कर विपत्ति ल्याउन मोशालाई चलाउनुहुन्छ। दसौं विपत्तिपछि मात्र फिरऊनले इस्राएलीहरूलाई जान दिन्छन्‌। तथापि, चाँडै तिनी र तिनका सेनाहरूले खेद्‌न थाल्छन्‌। तर यहोवाले लाल समुद्रमार्फत भाग्ने मार्ग खोल्नुभएर आफ्ना जनहरूको उद्धार गर्नुहुन्छ। तर खेदिरहेका मिश्रीहरूमाथि समुद्रको पानी बढेर आउँछ र सबै डुब्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

६:३—अब्राहाम, इसहाक र याकूबलाई कुन तरिकामा परमेश्‍वरको नाउँ थाह दिइएको थिएन? यी कुलपिताहरूले ईश्‍वरीय नाउँ प्रयोग गरे र यहोवाले तिनीहरूसित प्रतिज्ञाहरू गर्नुभयो। यद्यपि, तिनीहरूले यहोवालाई ती प्रतिज्ञाहरू पूरा गर्ने व्यक्‍तिको रूपमा चिनेनन्‌ वा ती पूरा भएको अनुभव गर्न पाएनन्‌।—उत्पत्ति १२:१, २; १५:७, १३-१६; २६:२४; २८:१०-१५.

७:१—मोशा कसरी “फिरऊनको निम्ति ईश्‍वरतुल्य” बनाइए? मोशालाई ईश्‍वरीय शक्‍तिका साथै फिरऊनमाथि अख्तियार दिइयो। तसर्थ, त्यस राजासँग डराउनुपर्दैन थियो।

७:२२—मिश्री पूजाहारीहरूले रगतमा परिणत नभएको पानी कहाँ भेट्टाए? यस विपत्तिअघि तिनीहरूले नील नदीको पानी चलाएका हुन सक्छन्‌। नील नदी वरिपरि ओसिलो जमिन भएको ठाउँमा इनार खनेर पिउनयोग्य पानी निकालेर जम्मा गर्न पनि सकिन्थ्यो।—प्रस्थान ७:२४.

८:२६, २७—इस्राएलीहरूले चढाउने बलिदेखि “मिश्रीहरू घिन मान्छन्‌” भनी मोशाले किन भने? मिश्रमा थुप्रै पशुहरूको उपासना गरिन्थ्यो। यहोवाको निम्ति बलि चढाउन इस्राएललाई जान अनुमति देऊन्‌ भन्‍ने मोशाको आग्रहलाई बलिदानहरूको उल्लेखले झनै बलियो र जोडदार बनायो।

१२:२९—कसलाई मात्र जेठो सन्तानको रूपमा लिइन्थ्यो? जेठो सन्तान भनेका छोराहरू मात्र हुन्थे। (गन्ती ३:४०-५१) फिरऊन जो आफै जेठा थिए, मारिएनन्‌। तिनको आफ्नै घरपरिवार थियो। दसौं विपत्तिको कारण परिवारको शिर होइन तर परिवारको जेठा छोराको मृत्यु भयो।

१२:४०—इस्राएलीहरू मिश्र देशमा कति वर्ष बसोबास गरे? यहाँ उल्लेख गरिएको ४३० वर्षमा इस्राएलीहरूले “मिश्र र कनानमा” बिताएको समय पनि समावेश छ। (NW, रेफरेन्स बाइबल, पादटिप्पणी) पचहत्तर वर्षीय अब्राहामले कनान जाने क्रममा सा.यु.पू. १९४३ मा युफ्रेटिस नदी पार गरे। (उत्पत्ति १२:४) त्यतिबेलादेखि १३० वर्षका याकूब मिश्र प्रवेश नगरेसम्म २१५ वर्ष भयो। (उत्पत्ति २१:५; २५:२६; ४७:९) यसको मतलब, यसपछि इस्राएलीहरूले मिश्रमा पनि उत्ति नै वर्ष अर्थात्‌ २१५ वर्ष बिताए।

१५:८—लाल समुद्रको ‘जमेको’ पानी के साँच्चै जमेकै थियो त? ‘जमेको’ भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थ खुम्चनु वा बाक्लो हुनु हो। अय्यूब १०:१० मा यो अभिव्यक्‍ति दही जमाउनेको सन्दर्भमा प्रयोग भएको छ। तसर्थ जमेको पानीले साँच्चै बरफ जस्तो जमेकै मात्र बुझाउँछ भन्‍ने छैन। प्रस्थान १४:२१ मा उल्लेख गरिएको ‘जोरको पूर्वीय बतास’ पानी जम्ने गरी चिसो हुँदो हो त निश्‍चय पनि असह्‍य जाडोबारे पनि केही सङ्‌केत गरिएको हुने थियो। कुनै पनि दृश्‍य कुराले पानीलाई रोकि नराखेको हुनाले त्यो जमेको, कडा वा बाक्लो भएजस्तो देखिएको थियो।

हाम्रा लागि पाठहरू:

७:१४–१२:३०. दस विपत्तिहरू केवल संयोगका कुरा थिएनन्‌। त्यसबारे पहिल्यै भविष्यवाणी गरिएको थियो र भनिएअनुसार ठीक समयमा भयो। दस विपत्तिहरूले कस्तो जीवन्त ढङ्‌गमा पानी, सूर्यको किरण, कीरा, पशु तथा मानिसहरूमाथि सृष्टिकर्ताको नियन्त्रण छ भन्‍ने कुरा प्रमाणित गर्छन्‌! विपत्तिहरूबाट के कुरा पनि प्रस्ट हुन्छ भने, परमेश्‍वरले आफ्ना उपासकहरूलाई सुरक्षित राख्दै आफ्ना शत्रुहरूमाथि छानि-छानि विपत्ति ल्याउन सक्नुहुन्छ।

११:२; १२:३६. यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिनुहुन्छ। इस्राएलीहरूले मिश्रमा गरेको कामको ज्याला अब पाऊन्‌ भनेर उहाँले स्पष्टतः पक्का गर्नुभयो। तिनीहरू मिश्र देशमा युद्धका बन्दीको रूपमा होइन स्वतन्त्र व्यक्‍तिहरूको रूपमा प्रवेश गरेका थिए।

१४:३०. आउनै लागेको “महा संकष्ट[बाट]” यहोवाले आफ्ना उपासकहरूलाई उद्धार गर्नुहुन्छ भनी हामी विश्‍वस्त हुन सक्छौं।—मत्ती २४:२०-२२; प्रकाश ७:९, १४.

यहोवाले एउटा ईश्‍वरतान्त्रिक राष्ट्र संगठित गर्नुहुन्छ

(प्रस्थान १५:२२–४०:३८)

मिश्रबाट छुटकारा पाएको तेस्रो महिनामा इस्राएलीहरू सीनै पर्वतको बेंसीमा पाल टाँगेर बस्छन्‌। त्यहाँ तिनीहरूले यहोवासँग करारमा बाँधिन र एउटा ईश्‍वरतान्त्रिक राष्ट्र हुन दस आज्ञा र अन्य व्यवस्थाहरू प्राप्त गर्छन्‌। मोशाले साँचो उपासना र यहोवाको पवित्रस्थान जुन यताउता लान मिल्ने थियो, त्यसको निर्माणको सन्दर्भमा निर्देशनहरू प्राप्त गर्दै पर्वतमा ४० दिन बिताउँछन्‌। त्यतिन्जेल, इस्राएलीहरूले सुनको बाछो बनाएर त्यसको पूजा गर्छन्‌। पर्वतबाट तल झर्दा मोशाले यो देख्छन्‌ र तिनी यति रिसाउँछन्‌ कि तिनले परमेश्‍वरले दिनुभएको दुईवटा पाटी फ्याँकेर फुटाइदिन्छन्‌। गल्ती गर्नेहरूलाई उपयुक्‍त सजाय दिएपछि मोशा फेरि पर्वतमा उक्लन्छन्‌ र तिनलाई अर्को पाटी दिइन्छ। मोशा फर्केपछि पवित्रस्थानको निर्माण सुरु हुन्छ। इस्राएलको स्वतन्त्रताको पहिलो वर्षको अन्तसम्ममा यस अद्‌भुत पाल र यसका सबै सजावटको काम पूरा हुन्छ अनि यहोवाले पाललाई महिमाले भर्नुहुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२०:५—यहोवाले भावी पुस्तामाथि “पिता-पुर्खाले गरेको अधर्म[को] . . . दण्ड” कसरी दिनुहुन्छ? जिम्मेवारी सम्हाल्न सक्ने उमेर पुगेपछि अथवा वयस्क भएपछि प्रत्येक व्यक्‍तिविशेषलाई तिनको आफ्नै आचरण र मनोवृत्तिको आधारमा न्याय गरिन्छ। तर जब इस्राएल राष्ट्रले मूर्तिपूजा गर्न थाल्यो यसले यसका नतिजाहरू त्यसपछिका पुस्ताहरूले पनि भोग्नुपऱ्‍यो। त्यस राष्ट्रको धार्मिक अपराधका असरहरू धर्मी इस्राएलीहरूले पनि महसुस गरे जसको कारण तिनीहरूलाई पनि आफ्नो निष्ठा कायम राख्न गाह्रो भयो।

२३:१९; ३४:२६—पाठा त्यसको माऊको दूधमा उमालेर नपकाओ भन्‍ने आज्ञाले कस्तो अर्थ राख्छ? पाठा (बाख्रा वा अन्य कुनै जनावरको बच्चा) त्यसको माऊको दूधमा उमाल्नु एउटा मूर्तिपूजक रीति थियो र यसो गर्दा पानी पर्छ भन्‍ने सोचाइ राखिन्थ्यो। यसबाहेक, माऊको दूध पाठाको पोषणको लागि भएकोले आफ्नो सन्तान दूधमा उमाल्नु त क्रूर काम हुने थियो। अनुकम्पापूर्ण हुनुपर्ने कुरा बुझ्न यस व्यवस्थाले परमेश्‍वरका जनहरूलाई मदत गऱ्‍यो।

२३:२०-२३—यहाँ उल्लेख गरिएको स्वर्गदूत को थिए र कसरी यहोवाको नाउँ “तिनैमा” थियो? सम्भवतः यी स्वर्गदूत उहाँको मानवपूर्व रूपमा येशू हुनुहुन्थ्यो। प्रतिज्ञा गरिएको देशसम्म इस्राएलीहरूलाई डोऱ्‍याउन उहाँलाई प्रयोग गरिएको थियो। (१ कोरिन्थी १०:१-४) यहोवाको नाउँ “तिनैमा” हुनुको अर्थ आफ्नो पिताको नाउँ उच्च र पवित्र पार्ने प्रमुख व्यक्‍ति येशू नै हुनुहुन्छ भन्‍ने हो।

३२:१-८, २५-३५—सुनको बाछो बनाएकोमा हारूनलाई किन दण्ड दिइएन? हारून मूर्तिपूजासित पूर्णतया सहमत थिएनन्‌। पछि, यहोवाको पक्षमा अडान लिन र मोशाको विद्रोह गर्नेहरूको विरोध गर्न तिनले आफ्ना सँगी लेवीहरूलाई साथ दिए। दोषीहरूको मृत्युपछि मोशाले आफ्ना जनहरूलाई तिनीहरूले ठूलो पाप गरेको र हारूनका साथै अरूले यहोवाको कृपा पाएको सङ्‌केत गरे।

३३:११, २०—परमेश्‍वरले मोशासित कसरी “आमने सामने” कुरा गर्नुभयो? यस अभिव्यक्‍तिले दुइतर्फी आत्मीय कुराकानीलाई सङ्‌केत गर्छ। मोशाले परमेश्‍वरको प्रतिनिधिसित कुरा गरे र तिनीमार्फत मौखिक रूपमा यहोवाबाट निर्देशन प्राप्त गरे। तर ‘मानिस परमेश्‍वरको अनुहार हेरेर जीवित रहन’ नसक्ने भएकोले मोशाले यहोवालाई देखेनन्‌। वास्तवमा भन्‍ने हो भने, यहोवाले व्यक्‍तिगत रूपमा मोशासित कुरा गर्नुभएन। “स्वर्गदूतहरूद्वारा मध्यस्थको हातबाट” व्यवस्था दिइएको थियो भनी गलाती ३:१९ ले उल्लेख गर्छ।

हाम्रा लागि पाठहरू:

१५:२५; १६:१२. यहोवाले आफ्ना जनहरूको राम्रो हेरविचार गर्नुहुन्छ।

१८:२१. मसीही मण्डलीमा जिम्मेवार स्थानका लागि नियुक्‍त भएका पुरुषहरू पनि योग्य, परमेश्‍वरको भय मान्‍ने, विश्‍वासयोग्य र निःस्वार्थ हुनै पर्छ।

२०:१–२३:३३. यहोवा सर्वोच्च कानुनदाता हुनुहुन्छ। उहाँका व्यवस्थाहरू पालन गर्दा त्यसले इस्राएलीहरूलाई व्यवस्थित र आनन्ददायी ढङ्‌गमा उहाँको उपासना गर्न सक्षम बनायो। यहोवाको आज ईश्‍वरतान्त्रिक संगठन छ। यो संगठन सँगसँगै काम गर्दा हामीले आनन्द र सुरक्षा पाउन सक्छौं।

हाम्रो लागि साँचो अर्थ

प्रस्थानको पुस्तकले यहोवाबारे के प्रकाश पार्छ? यस पुस्तकले उहाँलाई मायालु प्रबन्धक, अतुलनीय उद्धारक र आफ्ना उद्देश्‍यहरू पूरा गर्ने व्यक्‍तिको रूपमा प्रस्तुत गर्छ। उहाँ ईश्‍वरतान्त्रिक संगठनका परमेश्‍वर हुनुहुन्छ।

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको लागि साप्ताहिक बाइबल पढाइ तयारी गर्नुहुँदा प्रस्थानको पुस्तकबाट सिकेका कुराहरूले निश्‍चय पनि तपाईंलाई गहिरो प्रभाव पार्नेछ। “धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ” अन्तर्गतका विषयवस्तु पढ्‌नुहुँदा तपाईंले केही खास धर्मशास्त्रीय विवरणहरूमा थप अन्तरदृष्टि पाउनुहुनेछ। “हाम्रा लागि पाठहरू” अन्तर्गतका टिप्पणीहरू पढ्‌नुहुँदा तपाईंले साप्ताहिक बाइबल पढाइबाट कसरी लाभ उठाउन सकिन्छ भनेर थाह पाउनुहुनेछ।

[पृष्ठ २४,२५-मा भएको चित्र]

इस्राएलीहरूलाई दासत्वबाट निकाल्न यहोवाले विनम्र व्यक्‍ति मोशालाई आज्ञा गर्नुभयो

[पृष्ठ २५-मा भएको चित्र]

दस विपत्तिहरूले पानी, सूर्यको किरण, कीरा, पशु तथा मानवहरूमाथि सृष्टिकर्ताको नियन्त्रणको प्रमाण दिए

[पृष्ठ २६, २७-मा भएको चित्र]

मोशामार्फत यहोवाले इस्राएलीहरूलाई ईश्‍वरतान्त्रिक राष्ट्रको रूपमा संगठित पार्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने