वैवाहिक बन्धनलाई कसरी बलियो बनाउने
महान शिक्षक, येशू ख्रीष्टलाई फँसाउने प्रयत्न गरिरहेका फरिसीहरूले उहाँलाई सोधे, “के कसैले कुनै पनि कारणले स्वास्नी त्याग्नसक्छ?” पहिलो मानव विवाहको उल्लेख गर्दै उहाँले यस प्रश्नको जवाफ दिनुभयो र यसो भन्नुहुँदै उहाँले एउटा स्तर कायम गर्नुभयो: “जसलाई परमेश्वरले एक साथ जोड्नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”
तर मोशाले “त्यागपत्र” दिएर पारपाचुके गर्न सक्ने प्रबन्ध गरेको छ भन्दै ती फरिसीहरूले उहाँसँग बहस गरे। यस सम्बन्धमा येशूले तिनीहरूलाई यसो भन्दै जवाफ दिनुभयो: “तिमीहरूको हृदयको कठोरताले गर्दानै मोशाले स्वास्नी त्याग गर्ने मञ्जूरी तिमीहरूलाई दिएका हुन्, तर शुरूदेखि ता यस्तो भएको थिएन। म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ।”—मत्ती १९:३-९.
आरम्भमा, विवाह एउटा स्थायी बन्धन हुनुपर्ने थियो। प्रथम विवाहित मानव दम्पतीलाई सिद्ध मानवको रूपमा अनन्त जीवनका लागि सृष्टि गरिएको हुँदा तिनीहरूलाई मृत्युले पनि छुटाउने थिएन। तथापि, तिनीहरूले पाप गरे। तिनीहरूको पापले गर्दा मानव विवाह भताभुङ्ग भयो। तिनीहरूको शत्रु मृत्युले विवाहित दम्पतीहरूलाई छुटाउन थाल्यो। मृत्युलाई परमेश्वर विवाहको अन्त मान्नुहुन्छ, र यस सम्बन्धमा बाइबलमा हामी यसो भनेको पाउँछौं: “पति बाँचुञ्जेल पत्नी पतिकै बन्धनमा रहन्छ, तर पति मरेपछि भने त्यसले जसलाई इच्छा गर्छे त्यससित विवाह गर्न स्वतन्त्र हुन्छ, तर प्रभुमा मात्र।” (१ कोरिन्थी ७:३९) सती प्रथा जस्ता धार्मिक विचार धाराहरूभन्दा यो धेरै भिन्न छ। यस प्रथामा मृत्यु पश्चात् अर्को जीवनमा पनि वैवाहिक बन्धन कायमै रहन्छ भन्ने धारणामा आफ्नो पतिसँगसँगै आफूलाई जीउँदै दाह गर्न पत्नीलाई राजी गराइन्छ वा जबरदस्ती सो गर्न लगाइन्छ।
मोशाको नियमको प्रबन्ध
मोशाको नियम दिउन्जेलसम्ममा वैवाहिक सम्बन्ध यति तल्लो स्तरसम्म झरिसकेको थियो कि इस्राएलीहरूको हृदयको कठोरताको कारण यहोवाले पारपाचुकेको प्रबन्ध गर्नुभयो। (व्यवस्था २४:१) तर सानो तिनो दोषका लागि पनि आफ्नी पत्नीहरूलाई पारपाचुके गरेर इस्राएलीहरूले यस नियमको दुरुपयोग गरोस् भन्ने परमेश्वरको उद्देश्य थिएन। यो कुरा आफ्नो आफन्तहरूलाई आफूलाई झैं प्रेम गर्नु भनेर परमेश्वरले दिनुभएको आज्ञाबाट स्पष्ट हुन्छ। (लेवी १९:१८) पारपाचुकेको त्यागपत्रले समेत एउटा अवरोधको काम गर्थ्यो किनभने त्यागपत्र लेख्ने प्रक्रियामा पारपाचुके चाहने पतिले विधिवत् अधिकार पाएका मानिसहरूको सल्लाह लिनुपर्थ्यो, जसले तिनीहरू बीच सम्झौता गराउने कोशिश गर्ने थिए होलान्। “कुनै पनि कारण”-मा आफ्नी पत्नीलाई पारपाचुके गर्ने अधिकार दिन परमेश्वरले त्यो नियम दिनुभएको थिएन।—मत्ती १९:३.
तथापि, इस्राएलीहरूले अन्ततः यस नियमको मूल आशय वा वास्तविक अर्थलाई बेवास्ता गरे र आफ्नो मनको तरङ्गअनुसार मेल खाने आधारहरूमा पारपाचुके गर्न तिनीहरूले त्यस वाक्यांशको अनुचित लाभ उठाए। सा०यु०पू० पाचौं शताब्दीसम्ममा, तिनीहरू आफ्नो जवानीको पत्नीसँग छली व्यवहार गरेर मनलागि कारणहरूको आधारमा पारपाचुके गरिरहेका थिए। पारपाचुकेलाई उहाँ घृणा गर्नुहुन्छ भनेर यहोवाले तिनीहरूलाई कडाइपूर्वक भन्नुभयो। (मलाकी २:१४-१६) यही पृष्ठभूमिको आधारमा येशूले त्यतिबेलाका इस्राएलीहरूले गरिरहेका पारपाचुकेलाई दोषी ठहराउनुभयो।
पारपाचुके गर्ने एउटै कानुनी आधार
यद्यपि, येशूले पारपाचुकेका लागि एउटा कानुनी आधार उल्लेख गर्नुभयो, त्यो हो व्यभिचार। (मत्ती ५:३१, ३२; १९:८, ९) “व्यभिचार” भनेर यहाँ अनुवाद गरिएको शब्दले शास्त्रीय आधारअनुसार गरिएका विवाह बाहिर गरिने सबै प्रकारका अवैध लैङ्गिक सम्भोगलाई समावेश गर्छ, चाहे त्यो समलिङ्गी होस्, विपरित लिङ्गी वा जनावरसित।
तापनि, येशूले विश्वासघाती पति वा पत्नीलाई पारपाचुके गर्न सिफारिस गरिरहनु भएको थिएन। पारपाचुके गरेमा हुन सक्ने सबै नतिजाहरूलाई विचार गरिसकेपछि पारपाचुके गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार निर्दोष व्यक्ति आफैको हो। शास्त्रीय आधारमा पारपाचुके गर्ने विचार गरिरहेका पत्नीहरूले प्रथम स्त्रीलाई तिनको पापको दण्ड स्वरुप सुनाइएको परमेश्वरको वचनलाई पनि याद गर्नुपर्छ। दण्डाज्ञा बाहेक, हव्वालाई तोकेर परमेश्वरले यसो भन्नुभयो: “तेरो इच्छा [लालसा न्यु व०] पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) सी० एफ० किल र एफ० डेलीट्सको कमेन्ट्री अन द वोल्ड टेस्टामेन्ट नामक पुस्तकले “लालसा”-लाई “एउटा रोगजस्तै प्रबल इच्छा” भनेर परिभाषित गरेको छ। निश्चय नै, सबै पत्नीहरूमा यस्तो इच्छा प्रबल हुँदैन तर एक जना निर्दोष पत्नीले पारपाचुके गर्ने विचार गर्दा हव्वाबाट स्त्रीजातिले पाएको भावानात्मक आवश्यकताहरूलाई ध्यानमा राख्नु बुद्धिमानी हुनेछ। तथापि, विवाह बाहिर यौन सम्बन्ध राख्ने दोषी पतिबाट निर्दोष पत्नीमा एड्स लगायत लैङ्गिक सम्बन्धद्वारा सर्ने अन्य रोगहरू सर्न सक्ने हुँदा कसै कसैले येशूले वर्णन गर्नु भएझैं पारपाचुके गर्ने निर्णय गरेका छन्।
पारिवारिक समस्याको प्रारम्भ
प्रथम मानव दम्पतीले परमेश्वरको विरुद्धमा गरेको पापबाट मानिसहरूको हृदयको कठोरताको प्रारम्भ भयो। (रोमी ५:१२) स्वर्गमा हुनुहुने आफ्नो पिताको विरुद्धमा प्रथम मानव जोडीले पाप गरेपछि पारिवारिक कलहको बीउ रोपियो। तर कसरी? निषेधित फल खान शैतानद्वारा प्रलोभित हुँदा प्रथम स्त्री, हव्वाले केही कुराको विचारै नगरिकन त्यस फललाई खाइन्। त्यत्रो ठूलो निर्णय आफैले गरेपछि मात्र तिनले आफ्नो पतिलाई सर्पले भनेका कुराहरू भनिन्। (उत्पत्ति ३:६) हो, आफ्नो पतिको सल्लाह नलिइकन तिनले फल खाइन्। यहाँ निर आज धेरै परिवारहरूले भोगिरहेका समस्याहरूको प्रारम्भिक नमूना देख्छौं—अर्थात् खुलस्त आपसी कुराकानीको कमी।
पछि आफ्नो पापको नतिजाको सामना गर्नुपर्दा आदम र हव्वा दुवैले अरूलाई दोष दिए। आज पनि थुप्रै दम्पतीहरू आफू समस्यामा पर्दा त्यस्तै गर्ने गर्छन्। प्रथम मानव, आदमले आफूले गरेको कामको दोष आफ्नी पत्नी र यहोवामाथि यसोभन्दै थोपारे: “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” बदलामा स्त्रीले यसो भनिन्: “साँपले पो मलाई छल गऱ्यो, र मैले त्यो खाएँ।”—उत्पत्ति ३:१२, १३.
आदम र हव्वालाई यहोवाले दिनुभएको दण्डाज्ञाले पछि भविष्यमा बढ्ने अर्को एउटा समस्याको पूर्ववाणी गर्दछ। पतिसँग तिनको सम्बन्धलाई लिएर यहोवाले हव्वालाई यसो भन्नुभयो: “त्यसले तँलाइ अधीनमा राख्नेछ।” यो भन्दा अघिल्लो लेखमा उल्लेख गरिएको इसाओले झैं आज धेरै पतिहरू आफ्नी पत्नीहरूको भावनाहरूको कुनै खयालै नराखी कठोरतापूर्वक अधीनमा राख्छन्। तैपनि, धेरै स्त्रीहरू अझै पनि आफ्नो पतिको ध्यान आकर्षणको लालसा गर्छन्। यो लालसा पूरा नहुँदा, पत्नीहरू त्यसको माग गर्छन् र स्वार्थपूर्ण व्यवहार गर्छन्। यसप्रकार थुप्रै पतिहरू प्रभुत्त्व जमाउने र पत्नीहरू चाहिं पतिहरूको ध्यानको लालसा गर्ने गर्दा स्वार्थपन फैलन्छ र शान्ति हराउँछ। “आजका पारपाचुकेहरूलाई कसरी केलाएर हेर्ने?” भन्ने शीर्षक भएको एउटा रिपोर्टमा सुन्सकी सेरिजावाले यसो भने: “यस विवादको आधारभूत समस्या अर्थात् आफ्नो चाहनाहरूलाई बढ्ता महत्त्व दिने मानिसहरूको प्रवृत्तिलाई अनदेखा गऱ्यौं भने वर्तमान समयमा भइरहेका पारपाचुकेलाई केलाएर हेर्न असम्भव हुनेछ।”
यद्यपि, आफ्नो असिद्ध स्थितिमा केही हदसम्म भए पनि आज्ञाकारी विवाहित जोडीहरूले वैवाहिक आनन्द उठाउन सकोस् भनेर यहोवाले आफ्नो वचनमा निर्देशनहरू दिनुभएको छ। इसोओले पनि परमेश्वरका निर्देशनहरू पालना गरे र अहिले आनन्दित पारिवारिक जीवनको आनन्द उठाइरहेका छन्। वैवाहिक बन्धनलाई बलियो बनाउन बाइबलका सिद्धान्तहरूले मानिसहरूलाई कसरी मदत गर्छ, आउनुहोस् एकछिन विचार गरौं।
खुलस्त कुरा गर्नुहोस्
धेरैजसो वैवाहिक जीवनमा सञ्चारको कमी, एकअर्कालाई दोष दिने झुकाव र स्वार्थी प्रवृत्तिले गर्दा पति-पत्नीलाई एक आपसको भावनाहरूलाई बुझ्न कठिन परिरहेको हुन्छ। अनुसन्धानकर्त्ता क्यारिल एस० एभरी यसो भन्छिन् कि, “एक आपसमा भावनाहरू बाँडन आत्मीयता हुनु आवश्यक छ र आत्मीयता हुन पूर्ण भरोसा चाहिन्छ। तर आज संसारमा भरोसा ज्यादै कम पाइन्छ।” गहिरा भावनाहरू आपसमा बाँड्दै जाँदा भरोसा पनि बढ्दै जान्छ। यसका लागि पति र पत्नी बीच खुलस्त कुराकानी हुनुपर्छ।
आपसमा गहिरा विचारहरू बाँड्न प्रोत्साहन दिन हितोपदेशले एउटा उदाहरणको प्रयोग गर्दै यसो भन्छ: “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” (हितोपदेश २०:५) विवाहित जोडीहरू समझदार हुनुपर्छ र आफ्नो पति वा पत्नीको मनभित्र गहिरिएर रहेका विचारहरूलाई निकाल्न सक्नुपर्छ। मानिलिनुहोस् आफ्नो पति वा पत्नी चिन्तित छन्। यस्तो परिस्थितिमा “दिनभरि काम गर्दा गर्दा म त थाकें” भन्नुको सट्टा मायालुपूर्वक “तिम्रो दिन आज कस्तो भयो?” के भयो तिमीलाई?” भनेर किन सोध्नु हुन्न। तपाईंको पति वा पत्नीले भनेको कुरालाई सुन्न समय र प्रयासको जरुरत पर्ला तर आफ्नो जीवन साथीलाई बेवास्ता गरेर पछि नमिठो भावनाका साथ व्यवहार गर्नुभन्दा त्यसरी सुनिदिनु झन् आनन्ददायी, सन्तुष्टीकर हुन्छ र समय पनि बच्छ।
एक अर्काको भरोसा जित्न, दुवै जना एकअर्का प्रति इमान्दार हुनुपर्छ र आफ्नो पति वा पत्नीले बुझ्ने ढङ्गमा आफ्ना भावानाहरू व्यक्त गर्नुपर्छ। “सत्य बोल,” परमेश्वरको वचनले आग्रह गर्छ “किनकि हामी एक दोस्राका अङ्ग हौं।” (एफिसी ४:२५) सत्य कुरा बोल्न समझदार पनि हुनुपर्छ। एकजना पत्नीले आफ्नो कुरा कसैले सुनिदिदैंन भनेर महसुस गर्नसक्छे। यस अवस्थामा आफू बोल्नु भन्दा अगाडि, पत्नीले यस हितोपदेशलाई विचार गर्नुपर्छ: “अनुभवीले थोरै शब्द मात्र बोल्छ, समझ-शक्ति भएकोले ठण्डा मिजास राख्छ।” (हितोपदेश १७:२७) “मैले भनेको कुरा तपाईं कहिल्यै सुन्नुहुन्न!” भनेर आफ्नो पतिलाई दोष लगाउनुको सट्टा आफू भित्र नैराश्य बढ्दै जानुभन्दा अगावै आफ्ना भावनाहरूलाई शान्तपूर्वक व्यक्त गर्नु धेरै राम्रो हुनेछ। आफ्नो मनमा लागेका कुराहरूलाई व्यक्त गर्न तिनले यसो पनि भन्न सक्छिन् कि, “तपाईं एकदम व्यस्त हुनुहुन्छ भनेर मलाई थाहा छ तैपनि मेरो लागि अलिकता समय निकाल्नु भयो भने मलाई साह्रै खुशी लाग्नेछ।”
निस्सन्देह “परामर्श बिनाको योजना विफल हुन्छ।” (हितोपदेश १५:२२) तपाईंकी पत्नीले तपाईंलाई प्रेम गर्छिन् तर यसको अर्थ तिनले तपाईंको मनको कुरा पढ्न सक्छिन् भनेको होइन। आफ्ना भावनाहरूलाई चतुरताका साथ तपाईंले आफ्नी पत्नीलाई थाहा दिनुपर्छ। यसो गरेमा “आत्माको एकता राख्नालाई शान्तिको बन्धन”-मा रहन एकजना विवाहित मसीही दम्पतीको रूपमा मायालु छाँटकाँट गर्न सक्नु हुनेछ।—एफिसी ४:२, ३.
उदाहरणको लागि काजुओलाई लिनुहोस्। तिनी आफ्नी पत्नीसँग साह्रै डराउँथे र तिनलाई असाध्यै जुवा खेल्न मन लाग्थ्यो। यसले गर्दा तिनी लाखौं रूपैयाको ऋणमा डुब्न पुगे। सापटी लिएर ऋण तिर्न खोज्दा तिनी झन् ऋणमा डुबे। त्यसपछि तिनले बाइबलको अध्ययन गर्न सुरु गरे र अन्ततोगत्वा आफ्नी पत्नीलाई समस्या बताउन भएभरको साहस बटुले। आफ्नी पत्नीले लगाउने दोषका लागि तिनी तयार थिए। तथापि, निकै समयदेखि बाइबल अध्ययन गरिरहेकी तिनकी पत्नीले, “हामी दुवै जना मिलेर यस ऋणलाई कसरी तिर्नसक्छौं भनेर विचार गरौं,” भनेर शान्तपूर्वक जवाफ दिंदा तिनी तीन छक्क परे।
अर्को दिनदेखि, तिनीहरूले आफ्नो सबै ऋणदाताहरूकहाँ गएर ऋण तिर्न सुरु गरे र ऋण तिर्न घर समेत बेचे। सबै ऋण तिर्न तिनीहरूलाई झन्डै एक वर्ष जति लाग्यो। कुन कुराले गर्दा तिनकी पत्नी किमीमा यस्तो परिवर्तन आयो? तिनी भन्छिन्: “फिलिप्पी अध्याय ४, पद ६ र ७-मा लेखिएको यो कुरा मलाई साँच्चैनै सार्थक लाग्यो। ‘केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।’” तिनले अझ भनिन्: “त्यस्तो कठिनाइको बावजुद पनि म आनन्दित भएको देखेर मेरो एक जना साथी छक्क परिन् र तिनले मसँग बाइबल अध्ययन गर्न सुरु गरिन्।” काजुओ र तिनकी पत्नीले बप्तिस्मा लिइसकेका छन् र अहिले तिनीहरू सुखी परिवारको आनन्द उठाइरहेका छन्।
साँचो कुरा बताएर एकअर्कामाथि भरोसा गर्नुको साथै, माथि उल्लिखित अनुभव भएका पतिहरू र पत्नीहरूले आफ्नो वैवाहिक समस्याहरूको समाधान गर्न अर्को काम पनि गरे। तिनीहरूले वैवाहिक प्रबन्धको आरम्भक, यहोवा परमेश्वरको कुरा सुने। दम्पतीहरूले उहाँका सिद्धान्तहरूलाई प्रयोग गर्न भरसक प्रयत्न गर्दै बाँकि कुरा परमेश्वरको हातमा छाड्नुपर्छ। यसो गरेमा तिनीहरूले भोग्ने दबाव र कठिनाइहरूको बावजुद सारा समझलाई माथ गर्ने परमेश्वरको शान्तिको आशिष उहाँले दिनुहुनेछ। दुवैजना एकसाथ मिलेर प्रार्थना गर्नु झन् मदतकारी हुन्छ। यस कुरामा पतिले अगुवाई लिनुपर्छ र आफू र आफ्नी पत्नीले भोगिरहेको कुनै पनि समस्याको निम्ति निर्देशन र डोऱ्याइ खोज्दै परमेश्वरको सामने आफ्नो ‘हृदय पोख्नु पर्छ।’ (भजनसंग्रह ६२:८) यहोवा परमेश्वरले निश्चय नै यस्ता प्रार्थनाहरू सुन्नु हुनेछ।
हो, वैवाहिक बन्धनलाई बलियो बनाउनु सम्भव छ। अहिले यस्तो गोलमालले भरिएको समाजमा आफ्नो सम्पूर्ण असिद्धताका साथ बाँच्नु पर्दा पनि विवाहित दम्पतीहरूले आफ्नो दाम्पत्य जीवनमा निकै आनन्द पाउन सक्छन्। यस सम्बन्धमा थप व्यावहारिक सुझावहरू र ईश्वरीय सल्लाह तपाईं वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित मेकिङ्ग योर फैमली लाइफ हैप्पी नामक पुस्तकमा पाउन सक्नुहुन्छ। यसबाहेक बाइबलका सिद्धान्तहरूलाई प्रयोगमा ल्याउन गम्भीरतापूर्वक मेहनत गर्नेहरूका लागि परमेश्वरले चाँडै नै ल्याउनु हुने नयाँ संसारमा प्रेममा बाँधिएर रहने आशा छ। (w93 8/15)