अध्ययन लेख २४
“तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्”
“तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्। हे यहोवा, मेरा परमेश्वर, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु।”—भज. ८६:११, १२.
गीत ७ यहोवा हाम्रा बल
परिचयa
१. परमेश्वरको डर मान्नु भनेको के हो? यहोवालाई प्रेम गर्नेहरूले यस्तो डर मान्नु किन आवश्यक छ?
ख्रिष्टियनहरू परमेश्वरलाई प्रेम गर्छन् र तिनीहरू उहाँको डर पनि मान्छन्। कसै-कसैलाई यो कुरा बाझिएको जस्तो लाग्न सक्छ। तर यहाँ हामी त्रसित बनाउने डरबारे कुरा गरिरहेका छैनौँ। बरु विशेष किसिमको डरबारे छलफल गर्दै छौँ। यस्तो किसिमको डर मान्ने व्यक्तिहरू परमेश्वरको श्रद्धा र गहिरो आदर गर्छन्। तिनीहरू स्वर्गमा बस्नुहुने बुबालाई अप्रसन्न बनाउन चाहँदैनन् किनभने तिनीहरू उहाँसितको मित्रताको मोल गर्छन्।—भज. १११:१०; हितो. ८:१३.
२. भजन ८६:११ मा राजा दाउदले लेखेका शब्दहरूमा आधारित कुन दुइटा कुरा हामी छलफल गर्नेछौँ?
२ भजन ८६:११ पढ्नुहोस्। यी शब्दहरूबारे विचार गर्दा वफादार राजा दाउदले परमेश्वरको डर मान्नु महत्त्वपूर्ण छ भनेर राम्ररी बुझेका थिए भन्न सक्छौँ। आउनुहोस्, परमेश्वरको प्रेरणा पाएर दाउदले लेखेका यी शब्दहरू हामी कसरी लागू गर्न सक्छौँ, विचार गरौँ। पहिलो, हामीले परमेश्वरको नामको श्रद्धा गर्नुपर्ने केही कारण केलाउनेछौँ। दोस्रो, आफ्नो दैनिक जीवनमा परमेश्वरको नामको श्रद्धा गरेको कसरी देखाउन सक्छौँ भनेर छलफल गर्नेछौँ।
हामीले किन यहोवाको नामको श्रद्धा गर्नुपर्छ?
३. परमेश्वरको नामको श्रद्धा गर्न मोसालाई कुन अनुभवले मदत गरेको हुनुपर्छ?
३ मोसा चट्टानको धाँजोमा बसिरहेको बेला यहोवाको महिमाको ज्योति तिनीसामु भएर जाँदा तिनलाई कस्तो लाग्यो होला, सोच्नुहोस् त! येसु ख्रिष्ट पृथ्वीमा आउनुभन्दा अघि मानिसले यस्तो उदेकलाग्दो अनुभव पहिला कहिल्यै गरेका थिएनन् होला। यहोवाले स्वर्गदूतमार्फत बोल्नुभएका यी शब्दहरू मोसाले सुने: “यहोवा, हो म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु।” (प्रस्थ. ३३:१७-२३; ३४:५-७) मोसाले यहोवाको नाम लिँदा सायद तिनले त्यो घटना सम्झे होलान्। त्यसैले पछि मोसाले परमेश्वरका जन इस्राएलीहरूलाई ‘परमेश्वरको महिमित र श्रद्धा जगाउने नामको डर मान्न’ चेतावनी दिए।—व्यव. २८:५८.
४. यहोवाका कस्ता गुणहरूबारे सोच्दा हामी उहाँप्रति श्रद्धाले भरिन्छौँ?
४ यहोवाको नामबारे विचार गर्दा हामीले त्यो नामले चिनिनुहुने परमेश्वरबारे मनन पनि गर्नुपर्छ। हामीले उहाँका गुणहरू सम्झनुपर्छ, जस्तै: उहाँको शक्ति, बुद्धि, न्याय र प्रेम। यी र अन्य गुणहरूबारे सोच्दा हामी उहाँप्रति श्रद्धाले भरिन्छौँ।—भज. ७७:११-१५.
५-६. (क) परमेश्वरको नामको अर्थ के हो? (ख) प्रस्थान ३:१३, १४ र यसैया ६४:८ अनुसार यहोवा कसरी आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ?
५ हामीलाई परमेश्वरको नामको अर्थबारे के थाह छ? यहोवाको नामको अर्थ “बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ” हो भन्ने कुरामा धेरै जना शास्त्रविद् सहमत छन्। यहोवा नामको यस अर्थले उहाँलाई आफ्नो इच्छा पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन र उहाँले त्यो पूरा गरेरै छोड्नुहुन्छ भनेर बुझाउँछ। कसरी?
६ यहोवा आफ्नो उद्देश्य पूरा गर्न जे पनि बन्न सक्नुहुन्छ। (प्रस्थान ३:१३, १४ पढ्नुहोस्) हाम्रा प्रकाशनहरूमा परमेश्वरको व्यक्तित्वको यस आश्चर्यजनक पक्षबारे सोच्न धेरै चोटि प्रोत्साहन दिइएको छ। यहोवाको सेवा गर्न र उहाँको उद्देश्य पूरा गर्न उहाँ आफ्ना त्रुटिपूर्ण मानव सेवकहरूलाई समेत जे पनि बनाउन सक्नुहुन्छ। (यसैया ६४:८ पढ्नुहोस्) यी तरिकाहरूमा यहोवा आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ। उहाँका उद्देश्यहरू पूरा गर्नदेखि उहाँलाई कुनै पनि कुराले रोक्न सक्दैन।—यसै. ४६:१०, ११.
७. स्वर्गमा बस्नुहुने हाम्रा बुबाप्रति कसरी कृतज्ञता बढाउन सक्छौँ?
७ स्वर्गमा बस्नुहुने हाम्रा बुबाले गर्नुभएका र हामीलाई गर्न सक्षम बनाउनुभएका कुराहरूबारे मनन गरेर उहाँप्रतिको कृतज्ञता बढाउन सक्छौँ। उदाहरणको लागि, यहोवाको अद्भुत सृष्टिबारे मनन गर्दा उहाँले गर्नुभएका कुराहरूप्रति र उहाँले गर्दा अस्तित्वमा आएका कुराहरूप्रति हामी श्रद्धाले भरिन्छौँ। (भज. ८:३, ४) अनि हामीले यहोवाको इच्छा पूरा गर्न सकौँ भनेर उहाँले हामीलाई के बन्न मदत गर्नुभएको छ, त्यसबारे मनन गर्दा हाम्रो मनमा उहाँप्रति गहिरो आदर जाग्छ। यहोवा नामले हामीमा साँच्चै श्रद्धा जगाउँछ! यस नाममा उहाँ कस्तो बुबा हुनुहुन्छ, उहाँले हाम्रो लागि के-के गर्नुभएको छ र भविष्यमा के-के गर्नुहुनेछ, यी सबै कुरा समावेश छन्।—भज. ८९:७, ८.
“यहोवाको नाम म घोषणा गर्नेछु”
मोसाको शिक्षाले इस्राएलीहरूलाई स्फूर्ति दियो, जुन यहोवा परमेश्वरको नाम र उहाँका राम्रा गुणहरूमा केन्द्रित थियो (अनुच्छेद ८ हेर्नुहोस्)b
८. व्यवस्था ३२:२, ३ अनुसार यहोवा आफ्नो नामप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
८ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा यहोवाले मोसालाई एउटा गीतका शब्दहरू सिकाउनुभयो। (व्यव. ३१:१९) त्यसपछि मोसाले त्यो गीत इस्राएलीहरूलाई सिकाउनुपर्ने थियो। (व्यवस्था ३२:२, ३ पढ्नुहोस्) पद २ र ३ मनन गऱ्यौँ भने यहोवा आफ्नो नाम लुकाइएको र यो नाम अतिपवित्र भएकोले उच्चारण गर्नै नहुने जस्तो ठानिएको चाहनुहुन्न भनेर स्पष्ट हुन्छ। उहाँ आफ्नो सम्पूर्ण सृष्टिले त्यो नाम थाह पाएको चाहनुहुन्छ! यहोवा र उहाँको महिमित नामबारे मोसाबाट सिक्न पाउनु ती इस्राएलीहरूको लागि कस्तो अनमोल सुअवसर थियो! सिमसिम पानीले बोटबिरुवालाई सप्रन मदत गरेझैँ मोसाले सिकाएका कुराहरूले इस्राएलीहरूलाई आध्यात्मिक पोषण र स्फूर्ति दियो। हामी पनि कसरी त्यस्तै तरिकामा सिकाउन सक्छौँ?
९. हामी कसरी यहोवाको नाम पवित्र पार्ने काममा भाग लिन सक्छौँ?
९ घरघरको प्रचारकार्य वा सार्वजनिक साक्षीकार्यमा भाग लिँदा हामी मानिसहरूलाई परमेश्वरको व्यक्तिगत नाम यहोवा हो भनेर बाइबलबाटै देखाउन सक्छौँ। यहोवाको महिमा गर्ने सुन्दर प्रकाशन, राम्रा-राम्रा भिडियो र हाम्रो वेबसाइटबाट केही सामग्री देखाउन सक्छौँ। काम गर्ने ठाउँमा, स्कुलमा वा यात्रा गर्दा हाम्रा मायालु परमेश्वरबारे कुरा गर्ने र उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर बताउने मौका पाउँछौँ। हामी आफूले भेट्ने व्यक्तिहरूलाई मानिसजाति र पृथ्वीको लागि यहोवाको मायालु उद्देश्यबारे बताउन सक्छौँ। तिनीहरूले यो कुरा सुन्दा यहोवा हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर पहिलो चोटि थाह पाउँछन्। हाम्रा मायालु बुबाबारे अरूलाई सत्य कुरा बताउँदा हामीले परमेश्वरको नाम पवित्र पारिरहेका हुन्छौँ। मानिसहरूले यहोवाबारे सुनेका झूटा कुराहरू र निन्दा वास्तवमा सही होइनन् भनेर बुझ्न मदत गरिरहेका हुन्छौँ। यसरी बाइबलको सत्य सिकाउँदा मानिसहरूले आध्यात्मिक पोषण र स्फूर्ति पाउँछन्।—यसै. ६५:१३, १४.
१०. हामीले विद्यार्थीहरूलाई परमेश्वरका धार्मिक स्तरहरू र उहाँले हामीबाट चाहनुहुने कुराहरूबारे सिकाएर मात्र किन पुग्दैन?
१० बाइबल अध्ययन सञ्चालन गर्दा हामी आफ्ना विद्यार्थीहरूलाई यहोवाको नामबारे थाह पाउन र त्यो प्रयोग गर्न मदत दिन चाहन्छौँ। साथै उहाँको नामको अर्थमा के-के समावेश छन् भनेर बुझ्न मदत दिन चाहन्छौँ। विद्यार्थीहरूलाई परमेश्वरका निर्देशनहरू, स्तर र नीतिनियम मात्र बतायौँ भने के तिनीहरूलाई यहोवाको नामको अर्थमा के-के समावेश छन् भनेर थाह हुन्छ र? राम्रो विद्यार्थीले परमेश्वरका नियमहरूबारे सिकेर त्यसको कदर पनि गर्लान्। तर के तिनले यहोवालाई राम्ररी चिनेकोले र उहाँलाई प्रेम गर्ने भएकोले उहाँको आज्ञा पालन गर्नेछन्? नबिर्सनुहोस्, हव्वालाई परमेश्वरको नियम थाह थियो तर तिनले त्यो नियम दिनुहुनेलाई साँच्चै प्रेम भने गरेकी थिइनन्; आदमको कुरा पनि त्यस्तै हो। (उत्प. ३:१-६) त्यसैले हामीले अरूलाई परमेश्वरका धार्मिक स्तरहरू र उहाँले हामीबाट चाहनुहुने कुराहरूबारे सिकाएर मात्र पुग्दैन।
११. परमेश्वरका नियमहरूबारे सिकाउँदा हामी विद्यार्थीहरूलाई ती नीतिनियम दिनुहुनेलाई प्रेम गर्न कसरी मदत गर्न सक्छौँ?
११ यहोवाले तोक्नुभएको स्तर र उहाँले माग गर्नुभएका कुराहरू असल छन् र ती हाम्रै हितका लागि हुन्। (भज. ११९:९७, १११, ११२) तर हाम्रा विद्यार्थीहरूले ती नियमहरूपछाडि यहोवाको प्रेम लुकेको छ भनेर बुझेका छैनन् भने तिनीहरूलाई त्यसले हाम्रो हित गर्छ भन्ने नलाग्न सक्छ। त्यसैले हामी विद्यार्थीहरूलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: “तपाईँको विचारमा परमेश्वर किन आफ्ना सेवकहरूलाई ‘यस्तो गर्न हुन्छ वा त्यस्तो गर्न हुँदैन’ भन्नुहुन्छ? यसबारे मनन गर्दा तपाईँलाई उहाँ कस्तो व्यक्ति हुनुहुन्छ जस्तो लाग्छ?” हामीले विद्यार्थीहरूलाई यहोवाबारे सोच्न र उहाँको महिमित नामप्रतिको प्रेम विकास गर्न मदत गऱ्यौँ भने हामी तिनीहरूको हृदयसम्म पुग्ने सम्भावना धेरै हुन्छ। हाम्रा विद्यार्थीहरूले नीतिनियमलाई मात्र होइन, ती दिनुहुने परमेश्वरलाई पनि प्रेम गर्न थाल्नेछन्। (भज. ११९:६८) तिनीहरूको विश्वास बलियो हुँदै जानेछ र पछि आइपर्ने कठिन परीक्षाहरू सामना गर्न बल पाउनेछन्।—१ कोरि. ३:१२-१५.
“हामी . . . यहोवा हाम्रा परमेश्वरको नाममा हिँड्नेछौँ”
एकचोटि दाउद आफ्नो हृदय एकाग्र पार्नदेखि चुके (अनुच्छेद १२ हेर्नुहोस्)
१२. एकचोटि दाउद आफ्नो हृदय एकाग्र पार्नदेखि कसरी चुके र परिणाम कस्तो भयो?
१२ भजन ८६:११ मा पाइने एउटा महत्त्वपूर्ण वाक्यांश हो, “मेरो हृदयलाई एकाग्र पार्नुहोस्।” परमेश्वरको प्रेरणा पाएर राजा दाउदले यी शब्दहरू लेखे। तिनले मानिसको हृदय कति सजिलै विभाजित हुन सक्छ भनेर आफैले अनुभव गरे। एकचोटि छतमा बसिरहेको बेला तिनले अर्काकी पत्नी नुहाइरहेकी देखे। त्यतिबेला दाउदको हृदय एकाग्र थियो कि विभाजित? तिनलाई यहोवाको यो स्तर थाह थियो: “तिमीहरूले . . . छिमेकीकी पत्नी[को] . . . लोभ नगर्नू।” (प्रस्थ. २०:१७) तैपनि तिनले त्यस स्त्रीलाई हेरिरहे। बेतसेबालाई आफ्नो बनाउने चाहना र यहोवालाई खुसी पार्ने चाहनाबीच तिनको हृदय विभाजित भयो। दाउदले यहोवालाई प्रेम गरेको र उहाँको डर मान्न थालेको धेरै समय भइसके तापनि तिनी आफ्नो स्वार्थी चाहनाको वशमा परे। त्यतिबेला तिनले असाध्यै गलत कदम चाले। तिनले यहोवाको नामको बदनाम गरे। तिनले गर्दा निर्दोष मानिसहरूले ठूलो क्षति बेहोर्नुपऱ्यो र तिनको आफ्नै परिवारले पनि दुःख भोग्नुपऱ्यो।—२ समु. ११:१-५, १४-१७; १२:७-१२.
१३. दाउदको हृदय फेरि एकाग्र भयो भनेर किन भन्न सक्छौँ?
१३ यहोवाले दाउदलाई अनुशासन दिनुभयो र तिनले यहोवासित फेरि राम्रो सम्बन्ध कायम गर्न सके। (२ समु. १२:१३; भज. ५१:२-४, १७) आफ्नो हृदयलाई विभाजित हुन दिँदा भोग्नुपरेको दुःख र पीडा दाउदले सम्झे। भजन ८६:११ मा पाइने तिनका शब्दहरूलाई यसरी पनि लेख्न सकिन्छ: “मलाई एकचित्तको बनाउनुहोस्।” के यहोवाले दाउदलाई तिनको हृदय एकचित्तको अर्थात् अविभाजित बनाउन मदत गर्नुभयो? अवश्य गर्नुभयो किनभने यहोवाको वचनले दाउदलाई “हृदयदेखि नै यहोवाप्रति वफादार” व्यक्ति भनेको छ।—१ राजा ११:४; १५:३.
१४. हामीले आफूलाई कस्तो प्रश्न सोध्नुपर्छ र किन?
१४ दाउदको उदाहरणबाट हामी प्रोत्साहन र चेतावनी दुवै पाउँछौँ। तिनी गम्भीर पापमा फसेको घटना आज परमेश्वरका सेवकहरूको लागि चेतावनी हो। हामीले भर्खरै यहोवाको सेवा गर्न थालेका होऔँ वा वर्षौँदेखि, आफूलाई यो प्रश्न सोध्नुपर्छ, ‘मेरो हृदयलाई विभाजित पार्ने सैतानको प्रयासलाई के म प्रतिरोध गर्दै छु?’
तपाईँको हृदय विभाजित पार्न सैतानले अनेक प्रयास गर्नेछ। त्यसलाई सफल हुन नदिनुहोस्। (अनुच्छेद १५-१६ हेर्नुहोस्)c
१५. कामवासना जगाउने चित्रहरू देख्यौँ भने परमेश्वरप्रतिको डरले हामीलाई कसरी जोगाउन सक्छ?
१५ उदाहरणको लागि, तपाईँले टिभी वा इन्टरनेटमा कामवासना जगाउन सक्ने चित्र देख्नुभयो भने के गर्नुहुन्छ? त्यस्तो चित्र वा चलचित्रलाई अश्लील सामग्री भन्न खासै मिल्दैन भन्ने तर्क गर्नु सजिलो छ। तर त्यो तपाईँको हृदयलाई विभाजित पार्ने सैतानको प्रयास पो हो कि? (२ कोरि. २:११) त्यस चित्रलाई एक जना मानिसले बडेमाको मुढोलाई दुई फ्याक पार्न प्रयोग गर्ने बन्चरोसित तुलना गर्न सकिन्छ। सुरुमा त्यस मानिसले बन्चरोको धारिलो भागले मुढोमा हिर्काउँछ। अनि बन्चरोको धार भित्रसम्म छिरेपछि मुढो दुई फ्याक हुन्छ। कामवासना जगाउने चित्रहरूले कतै तपाईँको हृदयमा त्यो बन्चरोको धारले जस्तै काम गरिरहेको छ कि? झट्ट हेर्दा सानो र अहानिकारकजस्तो देखिने कुराले मानिसको हृदयलाई विभाजित बनाउन सक्छ, जसले गर्दा तिनी पापमा फस्न सक्छन् र तिनले आफ्नो सत्यनिष्ठा तोड्न सक्छन्। त्यसैले आफ्नो हृदयमा कुनै पनि किसिमको अनुचित कुरा छिर्न नदिनुहोस्! यहोवाको नामको डर मान्न आफ्नो हृदयलाई एकाग्र बनाइराख्नुहोस्!
१६. प्रलोभनहरू आइपर्दा आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१६ सैतानले हामीलाई गलत काम गराउन कामुक चित्रहरूको अलावा अन्य थुप्रै प्रलोभन ल्याउँछ। त्यस्तो अवस्थामा हामी के गर्छौँ? हाम्रो मनमा यस्ता कुराहरू त्यत्ति खराब होइनन् भन्ने सोचाइ सजिलै आउन सक्छ। उदाहरणको लागि, हामीले यस्तो तर्क गर्न सक्छौँ: ‘यो काम गर्दा बहिष्कार हुँदैन, त्यसैले त्यति गम्भीर कुरा होइन।’ तर यस्तो तर्क गर्नु एकदमै गलत हो। बरु हामीले आफूलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘के सैतानले यो प्रलोभन चलाएर मेरो हृदयलाई विभाजित गर्न खोज्दै छ? म कुइच्छाको वशमा परेँ भने के मैले यहोवाको नामको बदनाम गर्नेछु? यो कदम चाल्दा म परमेश्वरसित नजिक हुन्छु कि झनै टाढा?’ यी प्रश्नहरूमा मनन गर्नुहोस्। यी प्रश्नहरूको इमानदार भई जवाफ दिन सकूँ भनेर बुद्धिको लागि प्रार्थना गर्नुहोस्। (याकु. १:५) यसो गर्दा साँच्चै हाम्रो सुरक्षा हुनेछ। यसले हामीलाई येसुजस्तै दृढ भई प्रलोभनलाई तिरस्कार गर्न मदत गर्नेछ, जसले यसो भन्नुभयो: “ए सैतान, पर गइहाल्!”—मत्ति ४:१०.
१७. विभाजित हृदय किन बेकामको हुन्छ? उदाहरणसहित बताउनुहोस्।
१७ विभाजित हृदय बेकामको हुन्छ। मानिलिनुहोस्, एउटा खेलकूद टिमका सदस्यहरू एकअर्कासित मिल्दैनन्। कोही आफ्नै महिमा चाहन्छन्, कोही खेलको नियमअनुसार खेल्न चाहँदैनन्, अरू कोहीचाहिँ कोचको आदर गर्दैनन्। यस्तो टिमले खेल जित्ने सम्भावना हुँदैन। तर सबै सदस्य एकजुट भएको टिमले जित्ने सम्भावना धेरै हुन्छ। तपाईँको सोचाइ, इच्छा र भावना यहोवाको सेवा गर्न एकाग्र छन् भने हृदय सफल टिमजस्तो हुनेछ। नबिर्सनुहोस्, सैतान तपाईँको हृदयलाई विभाजित पार्न चाहन्छ। त्यसले तपाईँको सोचाइ, इच्छा र भावनाबीच बेमेल ल्याउन र तपाईँलाई यहोवाको स्तरसित मेल नखाने कदम चाल्न उक्साउँछ। तर यहोवाको सेवा गर्न तपाईँले आफ्नो हृदयलाई एकचित्तको बनाउनुपर्छ। (मत्ति २२:३६-३८) तपाईँको हृदयलाई विभाजित पार्न सैतानलाई कहिल्यै मौका नदिनुहोस्!
१८. मिका ४:५ का शब्दहरूअनुरूप तपाईँले के गर्ने सङ्कल्प गर्नुभएको छ?
१८ दाउदले जस्तै यसरी प्रार्थना गर्नुहोस्: “तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्।” यही प्रार्थनाअनुरूप जीवन बिताउन यथासक्दो प्रयास गर्नुहोस्। हरेक दिन तपाईँले गर्ने साना-ठूला निर्णयहरूमा यहोवाको पवित्र नामको गहिरो श्रद्धा गरेको देखाउनुहोस्। यसो गर्नुभयो भने तपाईँ यहोवाको साक्षी भएकोले उहाँको नाममा कलङ्क लाग्ने कुनै काम गर्नुहुनेछैन। (हितो. २७:११) अनि हामी सबै जना भविष्यवक्ता मिकाले जस्तै यसो भन्न सक्नेछौँ: “हामी . . . सदासर्वदा यहोवा हाम्रा परमेश्वरको नाममा हिँड्नेछौँ।”—मिका ४:५.
गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्
a यस लेखमा हामी भजन ८६:११, १२ मा दाउदले यहोवालाई प्रार्थना गर्दा भनेका शब्दहरूबारे छलफल गर्नेछौँ। यहोवाको नामको डर मान्नुको अर्थ के हो? हामीले किन त्यस महान् नामको श्रद्धा गर्नुपर्छ? अनि परमेश्वरको नामको डर मान्दा हामी कसरी गलत काम गर्ने प्रलोभनमा फस्नदेखि जोगिनेछौँ?
b चित्रको व्याख्या: मोसाले परमेश्वरका जनहरूलाई यहोवाको महिमा हुने एउटा गीत सिकाए।
c चित्रको व्याख्या: हव्वाले कुइच्छाहरूलाई तिरस्कार गरिनन्। तर हामी कुइच्छा जगाउने र हामीलाई परमेश्वरको नामको बदनाम गर्ने हदसम्म पुऱ्याउने चित्रहरू हेर्नेछैनौँ वा मेसेजहरू पढ्नेछैनौँ।