प्रकृतिमा देखिने परमेश्वरको बुद्धि
“तर तिनीहरूमध्येका कसैले पनि यसो भनेर सोद्धैनन्, ‘. . . मेरा सृष्टिकर्ता कहाँ हुनुहुन्छ? जसले हामीलाई पृथ्वीका पशुहरूलाईभन्दा बढी बुद्धि दिनुहुन्छ, र आकाशका चराहरूलाई भन्दा हामीलाई अझ ज्ञानी तुल्याउनुहुन्छ।’ ”—अय्यूब ३५:१०, ११.
चराहरूसित अचम्म-अचम्मको क्षमता हुन्छ। तिनीहरू आकासमा जुन दक्षताका साथ उड्छन् त्यो देखेर हवाईजहाजका डिजाइनरहरू आरिस गर्छन्। चराका केही प्रजातिहरू आफ्नो बाटो चिन्न कुनै खास चिह्न नभएको अथाह समुद्रमाथि हजारौं किलो मिटर पार गर्दै फरकै नपर्ने गरी आफ्नो गन्तव्य पुग्न सक्छन्।
चराहरूको अर्को विशेषता भनेको आवाज र गीतद्वारा आपसमा कुरा गर्न सक्नु हो। यसले सृष्टिकर्ताको बुद्धिलाई अझ स्पष्ट पार्छ। आउनुहोस्, केही उदाहरणहरू विचार गरौं।
चराहरूले आपसमा कुरा गर्दा
चराका कुनै-कुनै प्रजातिका चल्लाहरू कोरलिनुअघि नै आपसमा कुरा गर्न थाल्छन्। एउटा उदाहरणलाई विचार गरौं। पोथी बट्टाईले एक छिमलमा दिनको एउटाको दरले आठ वटासम्म अण्डा पार्छ। सबै चल्ला एउटै गतिमा बढ्यो भने ती सबै आठ दिनभित्रमा काढिन्छन्। यसो भयो भन्ने त माउलाई धौ-धौ पर्छ किनभने तिनलाई एक हप्ता भएका फुर्तिला बचरा-बचरीलाई हेर्ने कि अझै कोरल्न बाँकी अण्डालाई छोपेर बस्ने हुन्छ। बरु त्यो आठैवटा अण्डा छ घण्टाको अवधिमा काढिन्छन्। त्यो कसरी सम्भव छ? अनुसन्धानकर्ताहरूका अनुसार यसको एउटा मुख्य कारण के हो भने, बचरा-बचरीहरूले कोरलिनुअघि नै अण्डाभित्रबाट आपसमा कुरा गर्न थालिसकेका हुन्छन् र कुनै-न-कुनै तरिकामा एउटै समयमा निस्कन कुरा मिलाउँछन्।
अक्सर भाले चल्लाले मात्र हुर्केपछि गीत गाउँछ। भालेले विशेष गरी जोडी खोज्ने बखतमा आफ्नो सीमाना कोर्न वा पोथीलाई फकाउन गीत गाउँछ। चराका हजारौं प्रजाति छन् र भन्ने हो भने सबैको आ-आफ्नै भाषा हुन्छ र यसले पोथीलाई आफ्नो प्रजातिको भाले चिन्न मदत गर्छ।
चराहरूले विशेष गरी झिसमिसे बिहान र सूर्य अस्ताउने समयमा गीत गाउँछन् र यसको एउटा राम्रो कारण छ। त्यतिबेला धेरै हावा चलेको हुँदैन र अरू हल्ला पनि त्यति हुँदैन। मध्य दिनमा भन्दा झिसमिसे बिहान र साँझको समयमा चराको गीत २० गुणा बढी राम्ररी सुनिने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।
चराहरूमा ‘गायक’ प्रायजसो भाले नै भए तापनि भाले-पोथी दुवैले विभिन्न आवाज निकाल्छन् र प्रत्येक आवाजको आ-आफ्नै अर्थ हुन्छ। उदाहरणको लागि, भँगेरा जस्तै चाफिन्च भन्ने एक प्रकारको चराले नौ वटा भिन्नाभिन्नै आवाज निकाल्न सक्छ। आकासबाट कुनै खतरा आउँदा—जस्तै सिकारी चरा देख्दा एक प्रकारको आवाज निकालेर चेतावनी दिन्छ भने स्थलप्राणीबाट खतरा आउँदा अर्कै आवाज निकालेर चेताउनी दिन्छ।
सर्वोत्कृष्ट वरदान
चराहरूमा हुने सहज-ज्ञान साँच्चै विशेष छ। तर आपसमा कुरा गर्ने क्षमताबारे भन्नुपर्दा मानिसहरू अझै विशिष्ट छन्। परमेश्वरले मानिसलाई ‘आकाशका चराहरूलाई भन्दा अझ ज्ञानी तुल्याउनुभयो’ भनी बाइबलको पुस्तक अय्यूब ३५:११ बताउँछ। हावा, प्रेम जस्ता अनुभव मात्र हुने अमूर्त कुरा र जटिल विचारहरूलाई मानिसले मात्रै इसारा वा स्वरग्रन्थीबाट निस्कने आवाजद्वारा व्यक्त गर्न सक्छ।
मान्छेको बच्चा जटिल भाषाहरू सिक्ने क्षमतासहित बनाइएका हुन्छन् जस्तो देखिन्छ। अरू प्राणीसित त्यस्तो क्षमता हुँदैन। एउटा प्रकाशनअनुसार “आमाबाबुले बच्चासित कुरै नगरे तापनि उनीहरूले आफै भाषा सिक्छन्। अझ, बहिरा बच्चाहरूलाई घरमा सांकेतिक भाषा सिकाइएको छैन भने पनि तिनीहरू आफैले सांकेतिक भाषा सृजना समेत गर्न सक्छन्।”—अनलाइन पत्रिका अमेरिकन साइन्टिस्ट।
बोली वा इसाराद्वारा आफ्नो विचार र भावना व्यक्त गर्न सक्नु परमेश्वरले दिनुभएको साँच्चै एउटा अद्भुत वरदान हो। तर हामीले पाएको अझै एउटा विशेष वरदान भनेको प्रार्थनाद्वारा परमेश्वरसित कुरा गर्न सक्नु हो। अझ भन्ने हो भने, यहोवा परमेश्वरले हामीलाई उहाँसित कुरा गर्न निमन्त्रणा दिनुहुन्छ। परमेश्वरको वचन बाइबल यसो भन्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।”—फिलिप्पी ४:६.
यहोवाले बाइबलमा बुद्धिको भण्डार साँचेर राखिदिनुभएको छ र कठिन निर्णयहरू गर्नुपर्दा त्यसको सदुपयोग गरेको उहाँ चाहनुहुन्छ। बाइबलमा पाइने सल्लाह कसरी व्यवहारमा उतार्ने भनेर पनि उहाँ हामीलाई मदत दिनुहुन्छ। बाइबल लेखक याकूब यसो भन्छन्: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्वरसित त्यसले मागोस्, र त्यसलाई सो दिइनेछ।”—याकूब १:५.
तपाईंलाई कसरी असर गर्छ?
चराको चिरबिर आवाज वा बच्चाको बोली फुटेको सुन्दा तपाईंलाई कसरी असर गर्छ? के तपाईं परमेश्वरका यी सृष्टिमा उहाँको बुद्धि देख्नुहुन्छ?
आफ्नो बनावटबारे गहिरोसित सोचेपछि भजनहार दाऊद परमेश्वरबारे यसो भन्न उत्प्रेरित भए: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्चर्यका छन्। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजन १३९:१४) कृतज्ञ हुँदै सृष्टिमा देखिने परमेश्वरको बुद्धिलाई जाँचेर हेर्दा भरपर्दो डोऱ्याइ दिन सक्ने उहाँको क्षमतामाथि तपाईंको विश्वास पक्कै बलियो हुनेछ। (w08 5/1)
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
कुरा गर्न सक्नु परमेश्वरले दिनुभएको एउटा वरदानहो
[पृष्ठ ४-मा भएको चित्रको स्रोत]
© Dayton Wild/Visuals Unlimited