२
हामीलाई कसले बताउन सक्छ?
१, २. रचित वस्तुको उद्देश्य थाह लगाउने उत्तम तरिका के हो?
१ वास्तवमा जीवनको अर्थ यही नै हो भनेर कसले बताउन सक्छ? तपाईंले कहिल्यै नदेख्नु भएको जटिल यन्त्रको पुर्जा एक जना यन्त्र रचनाकारले बनाउँदै गरेको देख्नुभयो भने त्यो मेसिन केको निम्ति हो भनेर कसरी थाह लगाउन सक्नुहुन्छ? यन्त्र रचनाकारलाई सोध्नु नै सबैभन्दा बेस होला, होइन त?
२ त्यसोभए एक कोषीय सूक्ष्म प्राणीदेखि लिएर पृथ्वी वरपर हामीले देख्ने सबै सजीव वस्तुहरूको विशाल रचनाबारे के भन्न सकिन्छ? एउटा कोषमा भएको अणु अनि परमाणुसमेत अद्भुत ढङ्गमा रचिएका र व्यवस्थित हुन्छन्। उदेकलाग्दो ढङ्गमा रचिएको मानव मस्तिष्क नि? अनि हाम्रो सौर्य मण्डल, तारापुञ्ज र ब्रह्माण्ड? मन्त्रमुग्ध पार्ने यी रचनाहरूको के कुनै रचनाकार हुनु पर्दैन र? निश्चय नै उहाँले यी सबै रच्नुको उद्देश्य बताउन सक्नुहुन्छ।
के जीवन संयोगले सुरु भएको हो?
३, ४. संयोगले जीवन उत्पन्न हुन सक्ने कति सम्भावना छ?
३ “सजीव प्राणीहरूको असाधारण जटिलता अनि सुसंगठित संरचना[को]” उल्लेख गर्दै दि इन्साइक्लोपीडिया अमेरिकाना यसो भन्छ: “फूलहरू, कीराहरू वा स्तनपायी प्राणीहरूलाई नियालेर हेर्ने हो भने एक-एक तत्त्वको यति निश्चित रचना पाइन्छ कि विश्वास गर्नै कठिन लाग्छ।” जीवको रासायनिक संरचनालाई लिएर बेलायती खगोलविद् बरनार्ड लोभेलले यसो भने: “संयोगद्वारा सूक्ष्म प्रोटिन परमाणु निर्माण हुन सक्ने सम्भावना अकल्पनीय . . . र असम्भव छ भने पनि हुन्छ।”
४ त्यस्तै गरी, खगोलविद् फ्रेड होएलले भने: “प्रचलित जीव विज्ञानको सम्पूर्ण प्रणालीले अझै पनि जीवन आकस्मिक प्रक्रियाबाट सुरु भएको हो भन्ने धारणा राख्छ। यद्यपि, जैविक रासायनविद्हरूले जीवनको विकट जटिलताको सम्बन्धमा अझ बढी कुराहरू पत्ता लगाइरहेको हुँदा अप्रत्याशित घटनाद्वारा जीवन सुरु हुने सम्भावना यति कम छ, त्यसलाई बेवास्ता गरे पनि हुन्छ। जीवन संयोगले सुरु भएको हुनै सक्दैन।”
५-७. संयोगले जीवन उत्पन्न हुन सक्दैन भनेर परमाणु जीवशास्त्रले कसरी पुष्टि दिन्छ?
५ विज्ञानका नवीनतम क्षेत्रहरूमध्ये जीन, परमाणु र अणुको स्तरमा गरिने सजीव वस्तुको अध्ययन, परमाणु जीवविज्ञान पनि हो। हालै पत्ता लगाइएका तथ्यहरूको सम्बन्धमा परमाणु जीवशास्त्री माइकल डेन्टन यसो भन्छन्: “अहिलेसम्म पत्ता लागेको सबैभन्दा सरल प्रकारको कोष पनि यति जटिल छ कि यी वस्तुहरू अनौठो र हुनै नसक्ने घटनाद्वारा एक्कासी बन्न पुगेको हो भनेर मानिलिनु असम्भव छ।” “तर चुनौतीपूर्ण पक्ष सजीव वस्तुको जटिलता मात्र होइन, तिनीहरूको रचनामा प्रायः देखिने अविश्वसनीय कौशलता पनि हो।” “परमाणु तहमा गरिने परीक्षणमा मात्र जैविक रचनाको विशिष्टता र कार्य उत्कृष्टता प्रष्ट देखिन्छ।”
६ डेन्टन अझै भन्छन्: “जहाँसुकै जतिसुकै गहिराइमा हेरौं, हामी उत्कृष्ट सौन्दर्य र कौशलता देख्छौं, जसले संयोगको विचारधारालाई आधारहीन बनाउँछ। एउटा सूक्ष्म प्राणी र त्यसको क्रियाशील प्रोटिन वा जीन हाम्रो आफ्नै कौशल क्षमताले भ्याउन सक्नेभन्दा जटिल अनि मानव मस्तिष्कको कुनै पनि उपजभन्दा हर तवरमा उत्कृष्ट छ भने, संयोग सिद्धान्तलाई रद्द गर्ने यस्तो वास्तविकता कुनै निरुद्देश्य प्रक्रियाबाट निर्माण भयो भनी भन्नु के विश्वसनीय कुरा हो?” तिनले यसो पनि भने: “एउटा जीवित कोष र क्रिस्टल अथवा हिमकणजस्ता अति व्यवस्थित अजैविक वस्तुबीच कल्पनै गर्न नसकिने विशाल भिन्नता छ।” त्यस्तै गरी भौतिक विज्ञानका प्राध्यापक चेट रेमो भन्छन्: “हरेक परमाणु आफ्नो काम गर्न अद्भुत रीतिमा सक्षम भएको देख्दा . . . म छक्क पर्छु।”
७ परमाणु जीवशास्त्री डेन्टन निष्कर्षमा यसो भन्छन्, “यस नयाँ वास्तविकतालाई पूर्णतया संयोगको फल हो भनी एकोहोरो विवाद गर्ने व्यक्तिले” दन्त्यकथामा विश्वास गरिरहेको हुन्छ। अझ भनौं भने संयोगले जीवन सुरु भयो भन्ने डार्विनको सिद्धान्तलाई तिनले “२० औं शताब्दीको प्रकृति संरचना विज्ञानको ठूलो दन्त्यकथा” भनी नामाकरण गरे।
रचनाको रचनाकार हुनु आवश्यक
८, ९. हरेक रचित वस्तुको रचनाकार हुनुपर्छ भनी बुझाउन एउटा उदाहरण दिनुहोस्।
८ कुनै संयोग अथवा दुर्घटनाले निर्जीव वस्तुबाट जीवन आउने सम्भावना यति कम हुन्छ, कि त्यसलाई असम्भवै भने पनि हुन्छ। हो, पृथ्वीका उत्कृष्ट ढङ्गमा रचित सबै सजीव वस्तुहरू कुनै दुर्घटनाद्वारा आएको हुनै सक्दैन किनकि रचना गरिएका हर वस्तुको रचनाकार हुनै पर्छ। के तपाईंलाई यसको कुनै अपवाद थाह छ? यसको कुनै अपवाद छैन। साथै रचना जति जटिल हुन्छ त्यति नै दक्ष रचनाकार हुनुपर्छ।
९ यसलाई हामी यसरी चित्रण गर्न सक्छौं: कुनै चित्रकला देखेपछि हामी त्यसको चित्रकार छ भनी मानिलिन्छौं। कुनै किताब पढ्दा लेखकको अस्तित्व स्वीकार्छौ। कुनै घर देख्दा त्यसको निर्माता छ भनी मान्छौं। त्यस्तै गरी ट्राफिक बत्तीहरू देख्दा कानुन बनाउने समिति छ भनेर हामी बुझ्छौं। यी सबै कुराहरूको निर्माताले उद्देश्यसहित त्यसको निर्माण गरे। ती वस्तुहरू रचना गर्ने व्यक्तिको सम्पूर्ण ज्ञान हामीसँग नहोला तैपनि हामी त्यस व्यक्तिको अस्तित्वमाथि शङ्का गर्दैनौं।
१०. सर्वोच्च रचनाकारको कस्तो प्रमाण देख्न सकिन्छ?
१० एवम् रीतिले पृथ्वीमा भएका सजीव वस्तुहरूको रचना, व्यवस्था र जटिलतामा सर्वोच्च रचनाकारको अस्तित्व छ भन्ने प्रमाण देख्न सकिन्छ। ती सबैले उत्कृष्ट बुद्धिको पुष्टि दिन्छ। अरबौं ताराहरू भएका अरबौं तारापुञ्जहरूसहितको ब्रह्माण्डको रचना, व्यवस्था र जटिलतामा पनि यही कुरा लागू हुन्छ। यी सबै आकाशीय पिण्डहरू गति, ताप, प्रकाश, ध्वनी, विद्युत, चुम्बकीय शक्ति र गुरुत्वाकर्षणजस्ता कुराहरूको अचूक नियमद्वारा नियन्त्रित छन्। के नियमदाताविनाको नियम हुन सक्छ? रकेट वैज्ञानिक डा. वर्नर भन ब्राउनले भने: “ब्रह्माण्डका प्राकृतिक नियमहरू यति अचूक छन्, हामी अन्तरिक्ष यान बनाएर चन्द्रमासम्म पुऱ्याउन अनि सेकेण्डको खण्ड-खण्डमा त्यसको उडान समय निर्धारण गर्न सक्छौं। ती नियमहरू कसैले निर्धारण गरेको हुनै पर्छ।”
११. हामीले देख्न सकेनौं भन्दैमा सर्वोच्च रचनाकारको अस्तित्वलाई किन इन्कार गर्नु हुँदैन?
११ हो, हामी आफ्नो शारीरिक आँखाले सर्वोच्च रचनाकार र नियमदातालाई देख्न सक्दैनौं। तर देखेनौं भन्दैमा के हामी गुरुत्वाकर्षण, चुम्बकीय शक्ति, विद्युत् वा रेडियो तरंग जस्ता कुराहरूको अस्तित्वलाई अस्वीकार गर्छौं? अहँ, गर्दैनौं किनभने हामी ती शक्तिका असरहरू देख्न सक्छौं। त्यसोभए सर्वोच्च रचनाकार र नियमदातालाई आँखाले देख्न सकिंदैन भन्दैमा उहाँको अस्तित्वलाई किन स्वीकार नगर्ने? आखिरमा उहाँका अद्भुत कार्यहरू पनि त हामीले देखिरहेका छौं।
१२, १३. सृष्टिकर्ताको अस्तित्वबारे प्रमाणले के बताउँछ?
१२ मानव अस्तित्व कुनै भाग्यको विडम्बना होइन भनेर भौतिक विज्ञानका प्राध्यापक पल डेभिस निष्कर्षमा पुग्छन्। तिनी भन्छन्: “हामी वास्तवमा यसै ठाउँमा बस्न बनिएका हौं।” ब्रह्माण्डको सम्बन्धमा तिनी भन्छन्: “आफ्नो वैज्ञानिक अनुसन्धानको दौडान मलाई यो भौतिक ब्रह्माण्ड अति आश्चर्यजनक कौशलताका साथ बनाइएको हो भनी धेरै विश्वास लागेको छ, म त्यसलाई विवेकहीन वास्तविकता भनेर स्वीकार्नै सक्दिनँ। मलाई लाग्छ त्यसको कुनै गहिरो स्पष्टिकरण हुनै पर्छ।”
१३ तसर्थ, प्रमाण स्पष्ट छ, यो ब्रह्माण्ड, पृथ्वी र पृथ्वीमा भएका सजीव वस्तुहरू कुनै संयोगले आएको हुनै सक्दैन। तिनीहरू आफैले सर्वज्ञानी शक्तिशाली सृष्टिकर्ताको मौन साक्षी दिन्छन्।
बाइबल के भन्छ
१४. सृष्टिकर्ताबारे बाइबलले निष्कर्षमा के बताउँछ?
१४ मानवजातिको सबैभन्दा प्राचीन पुस्तक बाइबल पनि त्यही निष्कर्षमा पुग्छ। उदाहरणको लागि, प्रेरित पावलद्वारा लिखित बाइबल पुस्तक हिब्रूमा हामीलाई यसो भनिएको छ: “किनभने हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) प्रेरित यूहन्नाले लेखेको बाइबलको अन्तिम पुस्तकले पनि यसो भन्छ: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”—प्रकाश ४:११.
१५. परमेश्वरका केही गुणहरू हामी कसरी चिन्न सक्छौं?
१५ परमेश्वरलाई देख्न नसकिए तापनि उहाँ कस्तो परमेश्वर हुनुहुन्छ, सो उहाँको हातको कामबाट बुझ्न सकिन्छ भनेर बाइबलले बताउँछ। बाइबल भन्छ: “[सृष्टिकर्ताको] अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति, ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाहा पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ।”—रोमी १:२०.
१६. मानिसहरूले परमेश्वरलाई देख्न नसकेकोमा हामी किन आनन्दित हुन सक्छौं?
१६ अतः बाइबलले हामीलाई नतिजा र त्यसको कारण बताउँछ। नतिजा—सृजिएका अद्भुत वस्तुहरू—र यो नै बुद्धिमान अनि शक्तिशाली कारण: परमेश्वरको प्रमाण हो। यसबाहेक उहाँ अदृश्य हुनुभएकोमा हामी आभारी हुन सक्छौं। निस्सन्देह उहाँसित अपार शक्ति भएको हुँदा मासु र रगतको शरीरले उहाँलाई हेरेर जीवित रहन सक्दैन। बाइबलले पनि त्यसै भन्छ: “[परमेश्वरको] अनुहार हेरेर मानिस जीवित रहनसक्तैन।”—प्रस्थान ३३:२०.
१७, १८. सृष्टिकर्ताको परिकल्पना हामीलाई किन महत्त्वपूर्ण हुनुपर्छ?
१७ सर्वोच्च अनि महान रचनाकार—परमेश्वरको परिकल्पना हाम्रो लागि अति महत्त्वपूर्ण हुनुपर्छ। यदि हामी सृष्टिकर्ताकै हातबाट सृजिएका हौं भने हामीलाई किन सृष्टि गरियो त्यसको कारण वा उद्देश्य हुनुपर्छ। हाम्रो जीवन कुनै उद्देश्यसहित सृष्टि गरिएको हो भने भविष्यमा हाम्रो लागि सबै कुरा राम्रै हुनेछ भनी हामी आशा गर्न सक्छौं। अन्यथा हामी आशाविहीन भएर बाँच्नेछौं अनि मर्नेछौं। अतः हाम्रो लागि परमेश्वरले राख्नुभएको उद्देश्य थाह लगाउनु ज्यादै महत्त्वपूर्ण छ। तब मात्र त्यस उद्देश्यअनुसार चल्ने वा नचल्ने छनोट गर्न सक्छौं।
१८ हाम्रो सृष्टिकर्ता मायालु परमेश्वर हुनुहुन्छ र हाम्रो धेरै चिन्ता गर्नुहुन्छ भनेर पनि बाइबल बताउँछ। यस सम्बन्धमा प्रेरित पत्रुसले यसो भने: “उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७; यूहन्ना ३:१६ र १ यूहन्ना ४:८, १६ पनि हेर्नुहोस्।) परमेश्वरले हाम्रो कति चिन्ता गर्नुहुन्छ भनेर जान्न सक्ने एउटा तरिका हाम्रो अद्भुत मानसिक तथा शारीरिक बनावट नियाल्नु पनि हो।
“आश्चर्य रीतिले बनिएको”
१९. भजन रचयिता दाऊदले कुन तथ्यप्रति हाम्रो ध्यानाकर्षण गर्छन्?
१९ बाइबलमा भजन रचयिता दाऊदले यसरी मानिलिए: “म भयानक र आश्चर्य रीतिले बनिएको छु।” (भजन १३९:१४) निस्सन्देह यो सत्य हो किनभने सर्वोच्च रचनाकारद्वारा अद्भुत रीतिमा मानव मस्तिष्क तथा शरीर रचिएका छन्।
२०. एउटा इन्साइक्लोपीडियाले मानव मस्तिष्कको कस्तो व्याख्या दिन्छ?
२० उदाहरणको लागि, हाम्रो मस्तिष्क कुनै पनि कम्प्युटरभन्दा धेरै जटिल छ। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “स्नायु प्रणालीमा हुने जानकारीको आदान-प्रदान बृहत् टेलिफोन एक्सचेन्जमा भन्दा जटिल हुन्छ; मानव मस्तिष्कको समस्या समाधान गर्ने क्षमता सबैभन्दा शक्तिशाली कम्प्युटरको भन्दा बढी छ।”
२१. मस्तिष्कको कार्यक्षमता देखेपछि हामी कुन निष्कर्षमा पुग्नुपर्छ?
२१ हाम्रो मस्तिष्कमा करोडौं तथ्य तथा मानसिक चित्र सञ्चित हुन्छ। तर मस्तिष्क तथ्यहरूको भण्डार मात्रै होइन। मस्तिष्कको प्रयोगद्वारा तपाईं सुसेली मार्न, पाउरोटी सेक्न, विदेशी भाषा बोल्न, कम्प्युटर चलाउन वा हवाइजहाज उडाउन सिक्न सक्नुहुन्छ। तपाईं विदाको रमाइलो कल्पना वा कुनै फलको मीठो स्वादको सम्झना गर्न सक्नुहुन्छ। तपाईं छानबिन गर्न र कुनै चीज बनाउन सक्नुहुन्छ। तपाईं योजना बनाउन सक्नुहुन्छ, मूल्यांकन अनि प्रेम गर्न सक्नुहुन्छ र भूत, वर्तमान र भविष्यसँग सम्बन्धित तपाईंको विचार पोख्न सक्नुहुन्छ। विस्मयकारी मानव मस्तिष्क जस्तो कुनै कुरा हामी मानिसहरूले रचना गर्न सक्दैनौं। अतः हाम्रो यस्तो मस्तिष्क रचना गर्ने व्यक्तिको बुद्धि तथा क्षमता स्पष्टतः कुनै पनि मानिसको भन्दा उत्कृष्ट छ।
२२. मानव मस्तिष्कको कुन पक्षलाई वैज्ञानिकहरूले मानिलिन्छन्?
२२ मस्तिष्कको सम्बन्धमा वैज्ञानिकहरू यसो भनी मानिलिन्छन्: “यस्तो भव्य बनावट, व्यवस्थित अनि अत्युत्तम जटिलता भएको पुर्जाले कसरी ती कामहरू गर्छन् भन्ने कुरा अस्पष्ट छ। . . . मस्तिष्कको एक-एक रहस्यलाई सायद मानिसहरूले कहिल्यै बुझ्न सक्नेछैनन्।” (साइन्टिफिक अमेरिकन) त्यस्तै गरी भौतिक विज्ञानका प्राध्यापक रेमो भन्छन्: “साँच्चै भन्ने हो भने, मानव मस्तिष्कले कसरी जानकारी सञ्चय गर्छ र चाहिएको बेला कसरी स्मृतिपटलबाट निकाल्छ भनेर हामीलाई अझै त्यति राम्ररी थाह छैन। . . . मानव मस्तिष्कमा झण्डै एक खरबभन्दा बढी स्नायु कोषहरू हुन्छन्। रूखको हाँगाझैं फैलिएको सिनाप्सीजद्वारा हरेक कोषले अर्को कोषसँग सञ्चार आदानप्रदान गरिरहेको हुन्छ। मस्तिष्कको यस्तो अन्तरसञ्चारको जटिलता साह्रै छक्कलाग्दो छ।”
२३, २४. अद्भुत रीतिमा रचित शरीरका केही अंगहरूको नाउँ बताउनुहोस्, यसबारे एक जना इन्जिनियरले के टिप्पणी गरे?
२३ तपाईंको आँखा कुनै पनि क्यामराभन्दा अचूक अनि दक्ष छ; वास्तवमा आँखा पूर्ण स्वचालित, स्वकेन्द्रित, रंगीन चलचित्र क्यामरा हो। तपाईंको कानले विभिन्न प्रकारका ध्वनीहरू चिन्न र तपाईंलाई सही दिशा तथा सन्तुलनको आभास दिन सक्छ। अहिलेसम्म कुनै दक्ष इन्जिनियरहरूले हाम्रो मुटुको पम्प गर्ने क्षमताको नकल उतार्न सकेका छैनन्। तपाईंको नाक, जिब्रो र हातहरूका साथै रक्त-सञ्चार अनि पाचनप्रणाली जस्ता केही अंगहरू पनि त्यत्तिकै उत्कृष्ट छन्।
२४ त्यसैकारण विशाल कम्प्युटरको रचना र निर्माण गर्ने ठेक्का लिएको इन्जिनियरले यस्तो टिप्पणी गरे: “मेरो कम्प्युटरको त कुनै रचनाकार हुनुपर्छ भने असीम सृष्टिको एउटा सूक्ष्म भाग, यस्तो जटिल शारीरिक-रासायनिक-जैविक मेसीन, मेरो शरीरको के कुनै रचनाकार हुनुपर्दैन र?”
२५, २६. महान रचनाकारले हामीलाई के बताउन सक्नुपर्छ?
२५ मानिसहरूले हवाइजहाज, कम्प्युटर, साइकल र अन्य उपकरणहरू एउटा उद्देश्यसहित निर्माण गर्छन् भने मानव मस्तिष्क तथा शरीरको रचनाकारले पनि त्यसको रचना गर्नुहुँदा अवश्य कुनै न कुनै उद्देश्य राख्नुभएको हुनै पर्छ। अनि आजसम्म कसैले उहाँका नमुनाहरूको नकल उतार्न नसकेको हुँदा निस्सन्देह त्यसको रचनाकारको बुद्धि हामी मानिसको भन्दा उच्च हुनै पर्छ। अतः हाम्रो रचना किन गरियो, पृथ्वीमा हामीलाई किन राखियो र हाम्रो भविष्य कस्तो छ, त्यो उहाँले मात्र बताउन सक्नु तर्कसंगत कुरा हो।
२६ यी कुराहरू जान्यौं भने परमेश्वरले दिनुभएको अद्भुत मस्तिष्क तथा शरीरलाई हामीले जीवनको उद्देश्य पूर्ति गर्नेतर्फ लगाउन सक्छौं। तर उहाँको उद्देश्य कहाँबाट जान्न सक्छौं? त्यस्तो जानकारी उहाँले कहाँ दिनुभएको छ?
[पृष्ठ ७-मा भएको चित्र]
कुनै वस्तु किन रचियो भनेर थाहा लगाउने उत्तम तरिका रचनाकारलाई सोध्नु हो
[पृष्ठ ८-मा भएको चित्र]
डि एन ए परमाणुमा सजीव वस्तुको जटिलता र रचना देख्न सकिन्छ
[पृष्ठ ९-मा भएको चित्र]
“मानव मस्तिष्कको समस्या समाधान गर्ने क्षमता सबैभन्दा शक्तिशाली कम्प्युटरको भन्दा बढी छ”