प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 डिसेम्बर pp. २४-२८
  • युवाहरू हो, तपाईँ सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू हो, तपाईँ सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको आज्ञा पालन गर्नुहोस्‌ र सफल हुनुहोस्‌
  • आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌
  • साँचो मित्रहरू बनाउनुहोस्‌
  • अर्थपूर्ण लक्ष्यहरू राख्नुहोस्‌
  • परमेश्‍वरले दिनुभएको स्वतन्त्रताको कदर गर्नुहोस्‌
  • युवाहरू हो, तपाईँ आनन्दित भएको सृष्टिकर्ता चाहनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 डिसेम्बर pp. २४-२८
दाउद रणभूमिमा गोल्यतको सामना गर्छन्‌; यहोसु र तिनका मानिसहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न लागेका

युवाहरू हो, तपाईँ सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ

“तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ।”—भज. १६:११.

गीत: १३३, ८९

भजन १६ ले तपाईँलाई यी कुराहरू गर्न कसरी मदत गर्छ:

  • यहोवालाई आफ्नो “अंश” बनाउन?

  • असल मित्रहरू बनाउन र अर्थपूर्ण लक्ष्यहरू राख्न?

  • असल कुरालाई प्रेम गर्न र खराब कुरालाई घृणा गर्न?

१, २. एक जना विद्यार्थीको अनुभवले देखाएअनुसार जीवनमा कस्ता परिवर्तनहरू गर्न सम्भव छ?

टोनी स्कुलको पढाइ पूरा नगरी बीचमै पढाइ छोड्‌ने सुरमा थिए। तिनका बुबा थिएनन्‌ अनि तिनलाई पढाइमा त्यति चासो थिएन। तिनी छुट्टीको दिन फिल्म हेरेर वा साथीहरूसित घुमेर बिताउँथे। हुनत तिनी हिंस्रक स्वभावका थिएनन्‌ र लागू औषधको कुलतमा पनि फसेका थिएनन्‌ तर तिनको जीवनको कुनै उद्देश्‍य नै थिएन। अनि ईश्‍वर छन्‌ भन्‍ने कुरामा पनि तिनलाई शङ्‌का लाग्थ्यो। एकदिन, तिनले एक साक्षी दम्पतीलाई भेटे अनि आफ्ना शङ्‌काहरू र मनमा उठेका प्रश्‍नहरूबारे तिनीहरूसित कुरा गरे। ती साक्षीहरूले तिनलाई जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न (अङ्‌ग्रेजी) र के जीवन सृष्टि गरिएको थियो? (अङ्‌ग्रेजी) पुस्तिकाहरू दिए।

२ ती साक्षीहरू टोनीलाई फेरि भेट्‌न जाँदा तिनको मनोवृत्ति परिवर्तन भइसकेको थियो। तिनले ती पुस्तिकाहरू यत्ति धेरै पटक दोहोऱ्‍याएर पढेछन्‌ कि त्यसका पानाहरू त छेउछेउमा दोब्रिसकेका रहेछन्‌ अनि पुरानो जस्तो देखिने भइसकेछन्‌। तिनले ती साक्षीहरूलाई यसो भने, “एक न एक जना ईश्‍वर त पक्कै हुनुपर्छ!” तिनले बाइबल अध्ययन गर्ने प्रस्ताव स्विकारे अनि जीवनप्रतिको तिनको दृष्टिकोण बिस्तारै परिवर्तन भयो। तिनको स्कुलको पढाइ पहिला राम्रो थिएन तर तिनले एकदमै राम्रो अङ्‌क ल्याउन थाले। यो देखेर तिनको स्कुलको प्रिन्सिपल पनि छक्क परे। टोनी अहिले बाइबलको कुरा सिकिरहेका छन्‌ भनेर उनलाई थाह थियो। उनले टोनीलाई यसो भने: “तिमी आजकाल धेरै ज्ञानी भएका छौ अनि पढाइमा पनि निकै उन्‍नति गरिरहेका छौ। यहोवाका साक्षीहरूसितको सङ्‌गतले गर्दा यस्तो भएको हो?” टोनीले हो भनेर जवाफ दिए अनि प्रिन्सिपललाई राम्रो साक्षी दिए। तिनले स्कुलको पढाइ राम्ररी पूरा गरे अनि अहिले नियमित अग्रगामी र सहायक सेवकको रूपमा सेवा गरिरहेका छन्‌। आफूले सबैभन्दा असल बुबा यहोवा पाएकोमा पनि तिनी अहिले खुसी छन्‌।—भज. ६८:५.

यहोवाको आज्ञा पालन गर्नुहोस्‌ र सफल हुनुहोस्‌

३. यहोवा तपाईँ जवानहरूलाई कस्तो सल्लाह दिनुहुन्छ?

३ तपाईँ जवानहरूमा यहोवा गहिरो चासो राख्नुहुन्छ भनेर टोनीको अनुभवले देखाउँछ। तपाईँले साँचो अर्थमा सफल अनि सन्तोषजनक जीवन बिताएको उहाँ चाहनुहुन्छ। त्यसैले उहाँ तपाईँलाई यस्तो सल्लाह दिनुहुन्छ: “युवावस्थामै आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना गर।” (उप. १२:१) अहिलेको संसारमा त्यसो गर्नु सधैँ सजिलो छैन तर असम्भव पनि छैन। परमेश्‍वरको मदत पाएर तपाईँको युवावस्था मात्र होइन पूरै जीवन सफल हुन सक्छ। यो कुरा बुझ्न हामी इस्राएलीहरूले प्रतिज्ञा गरिएको देश कब्जा गरेको विवरण अनि दाउदले गोल्यतको सामना गरेको विवरणबाट सिक्न सकिने पाठ विचार गरौँ।

दाउद रणभूमिमा गोल्यतको सामना गर्छन्‌; यहोसु र तिनका मानिसहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न लागेका

४, ५. इस्राएलीहरूले कनानीहरूलाई हराएको अनि दाउदले गोल्यतको सामना गरेको विवरणबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

४ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशनजिकै पुग्दा यहोवाले तिनीहरूलाई आफ्नो युद्धकला तिखार्ने वा युद्धको लागि तालिम लिने आज्ञा दिनुभएन। (व्यव. २८:१, २) बरु उहाँको व्यवस्था पालन गर्न अनि उहाँमाथि भरोसा राख्न भन्‍नुभयो। (यहो. १:७-९) मानिसको नजरबाट हेर्ने हो भने त्यो सल्लाह पटक्कै व्यावहारिक देखिँदैन थियो। तर त्यो सबैभन्दा उत्तम सल्लाह थियो किनकि यहोवाले आफ्ना जनहरूलाई एकपछि अर्को गर्दै कनानीहरूमाथि विजयी तुल्याउनुभयो। (यहो. २४:११-१३) हो, परमेश्‍वरप्रति आज्ञाकारी हुन विश्‍वास चाहिन्छ तर त्यस्तो विश्‍वासले सधैँ सफलतातर्फ डोऱ्‍याउँछ। इस्राएलीहरूको समयदेखि आज हजारौँ वर्ष बितिसकेको भए तापनि आज पनि त्यही कुरा लागू हुन्छ।

५ गोल्यत एक वीर योद्धा थियो। ऊ करिब साढे नौ फिट अग्लो थियो अनि हातहतियारले सुसज्जित थियो। (१ समु. १७:४-७) तर दाउदसित भने दुई वटा कुरा मात्रै थियो: घुयेँत्रो अनि आफ्ना परमेश्‍वर यहोवामाथिको विश्‍वास। विश्‍वासको कमी भएकाहरूको नजरमा दाउद पक्कै मूर्ख देखिएको हुनुपर्छ। तर तिनीहरूको सोचाइ कत्ति गलत थियो! वास्तवमा मूर्ख त गोल्यत थियो।—१ समु. १७:४८-५१.

६. हामी कुन कुरा अझै केलाउनेछौँ?

६ जीवनमा आनन्द अनि सन्तुष्टि दिने यी चार वटा कुराबारे हामीले अघिल्लो लेखमा छलफल गऱ्‍यौँ: आध्यात्मिक आवश्‍यकता पूरा गर्नु, परमेश्‍वरले दिनुभएका साथीहरूको मोल गर्नु, अर्थपूर्ण लक्ष्यहरू राख्नु अनि परमेश्‍वरका जनको रूपमा पाएको स्वतन्त्रताको कदर गर्नु। आउनुहोस्‌, भजन १६ मा पाइने केही सिद्धान्तहरू विचार गर्दै यी चार वटा कुरालाई अझै केलाऔँ।

आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌

७. (क) आध्यात्मिक व्यक्‍ति कस्तो हुन्छ? (ख) दाउदले पाएको “अंश” के थियो अनि त्यसले तिनमा कस्तो प्रभाव पाऱ्‍यो?

७ आध्यात्मिक व्यक्‍तिले परमेश्‍वरमाथि विश्‍वास गर्छ अनि हरेक कुराप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्छ। उसले परमेश्‍वरको डोऱ्‍याइ खोज्छ अनि उहाँको आज्ञा पालन गर्ने सङ्‌कल्प गरेको हुन्छ। (१ कोरि. २:१२, १३) यस सन्दर्भमा दाउदले राम्रो उदाहरण बसाले। तिनले यसरी गाए: “यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।” (भज. १६:५) दाउदले पाएको “अंश”-मा परमेश्‍वरसितको तिनको घनिष्ठ सम्बन्ध पनि पर्थ्यो र तिनले परमेश्‍वरमै शरण लिए। (भज. १६:१) यसको नतिजा कस्तो भयो? तिनले यसो भने: “म धेरै खुसी हुन्छु।” हो, परमेश्‍वरसित नजिक हुन पाउनुजस्तो खुसीको कुरा दाउदको लागि अरू कुनै थिएन।—भजन १६:९, ११ पढ्‌नुहोस्‌।

८. जीवनमा साँचो सन्तुष्टि दिने केही कुरा के-के हुन्‌?

८ मोजमज्जा गर्नु वा धनसम्पत्ति कमाउनुलाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्‍नेहरूले दाउदको जस्तो खुसी अनुभव गर्न सक्दैनन्‌। (१ तिमो. ६:९, १०) क्यानाडाका एक भाइ यसो भन्छन्‌: “साँचो सन्तुष्टि भनेको जीवनमा के प्राप्त गर्छौँ, त्यसबाट होइन बरु हामीलाई हरेक असल वरदान दिनुहुने यहोवा परमेश्‍वरलाई के दिन सक्छौँ, त्यसबाट पाइन्छ।” (याकु. १:१७) हो, यहोवामाथिको विश्‍वास बढाउँदै लैजाँदा अनि उहाँको सेवा गर्दा तपाईँको जीवन अर्थपूर्ण हुन्छ अनि तपाईँले साँचो सन्तुष्टि पाउनुहुन्छ। तपाईँ आफ्नो विश्‍वासलाई कसरी बढाउँदै लैजान सक्नुहुन्छ? त्यसको लागि तपाईँले परमेश्‍वरसित समय बिताउनुपर्छ। भन्‍नुको मतलब, परमेश्‍वरको वचन पढ्‌न, उहाँको सृष्टिलाई नियाल्न अनि तपाईँप्रति उहाँको प्रेमलगायत उहाँका अन्य गुणहरूबारे मनन गर्न समय दिनुपर्छ।—रोमी १:२०; ५:८.

९. दाउदले जस्तै तपाईँ पनि परमेश्‍वरको वचनअनुसार आफूलाई ढाल्न के गर्न सक्नुहुन्छ?

९ हामीलाई मायालु बुबाको रूपमा आवश्‍यक सुधार दिएर पनि परमेश्‍वर हामीलाई प्रेम देखाउनुहुन्छ। दाउदले त्यस्तो मायालु सल्लाह स्विकारे। तिनले भने: “मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु। रातमा पनि मेरा भित्री विचारहरूले मलाई सुधार्छन्‌।” (भज. १६:७) हो, तिनले परमेश्‍वरका विचारहरूमा मनन गरे र त्यसलाई आफ्नै सोचाइ बनाउनुका साथै त्यसैअनुसार आफूलाई ढाल्न कोसिस गरे। तपाईँले पनि त्यसै गर्नुभयो भने परमेश्‍वरप्रतिको तपाईँको प्रेम र उहाँको आज्ञा पालन गर्ने तपाईँको इच्छा बढ्‌दै जानेछ। तपाईँ आध्यात्मिक तवरमा परिपक्व र बलियो हुनुहुनेछ। क्रिस्टिन नाम गरेकी बहिनीले यसो भनिन्‌: “आफूले पढेको कुरामा अनुसन्धान र मनन गर्दा यहोवाले यो कुरा मेरै लागि लेख्न लगाउनुभएको रहेछ भन्‍ने महसुस गर्छु।”

१०. यसैया २६:३ मा बताइएअनुसार आध्यात्मिक दृष्टिकोण राख्दा कस्ता फाइदाहरू हुन्छन्‌?

१० आध्यात्मिक दृष्टिकोण राखेर जिउँदा तपाईँले यस संसार र यसको भविष्यप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्न सक्नुहुनेछ। परमेश्‍वर तपाईँलाई त्यस्तो असाधारण ज्ञान र अन्तर्दृष्टि किन दिनुहुन्छ? किनभने उहाँ तपाईँले जीवनमा सही कुरालाई प्राथमिकता दिएको, बुद्धिमानी निर्णयहरू गरेको र निर्धक्क भई भविष्यको सामना गरेको चाहनुहुन्छ! (यसैया २६:३ पढ्‌नुहोस्‌) अमेरिकामा बस्ने जसुआ नाम गरेका भाइ यसो भन्छन्‌, “यहोवासित नजिक हुनुभयो भने बाँकी सबै कुरालाई त्यसको उचित ठाउँमा राख्न सक्नुहुन्छ।” यो साँच्चै सही हो र यसो गर्दा गहिरो सन्तुष्टि पाउन सक्नुहुन्छ!

साँचो मित्रहरू बनाउनुहोस्‌

११. साँचो मित्रहरू बनाउनेबारे दाउदले के भने?

११ भजन १६:३ पढ्‌नुहोस्‌। साँचो मित्र बनाउन के गर्नुपर्छ भनेर दाउदलाई थाह थियो। तिनी यहोवालाई प्रेम गर्ने मानिसहरूसित सङ्‌गत गर्न ‘रमाउँथे।’ दाउदले आफ्ना साथीहरूलाई “पवित्र जनहरू” भने किनभने उनीहरू नैतिक तवरमा स्वच्छ र चोखा थिए। साथीहरू छनौट गर्नेबारे अर्को भजनहारले पनि त्यस्तै महसुस गरे। तिनले यस्तो लेखे: “तपाईँको डर मान्‍नेहरू र तपाईँका आदेश पालन गर्नेहरू सबैको म मित्र हुँ।” (भज. ११९:६३) अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवाको डर मान्‍ने र उहाँको आज्ञा पालन गर्नेहरूमाझ तपाईँ पनि थुप्रै असल साथी भेट्टाउन सक्नुहुन्छ। अनि ती साथीहरू विभिन्‍न उमेरका हुन सक्छन्‌।

१२. दाउद र जोनाथनबीचको मित्रताको जग के थियो?

१२ भजनहार दाउदले आफ्ना दौँतरीहरूलाई मात्र साथी बनाएनन्‌। तिनले आफ्नो घनिष्ठ मित्र बनाएका एक जना “महिमित मानिस”-को नाम के तपाईँलाई थाह छ? तिनको नाम जोनाथन हो। साँचो मित्रताबारे बाइबलमा पाइने विवरणहरूमध्ये दाउद र जोनाथनबीचको मित्रता अत्यन्तै उल्लेखनीय छ। तर जोनाथन दाउदभन्दा झन्डै ३० वर्ष जेठा थिए भनेर के तपाईँलाई थाह थियो? त्यसोभए तिनीहरूबीचको मित्रताको जग के थियो? परमेश्‍वरमाथिको विश्‍वास, एकअर्काप्रतिको आदर अनि परमेश्‍वरका शत्रुहरूसित लड्‌दा तिनीहरूले देखाएको साहस।—१ समु. १३:३; १४:१३; १७:४८-५०; १८:१.

१३. तपाईँ कसरी अझ धेरै साथी बनाउन सक्नुहुन्छ? उदाहरण दिनुहोस्‌।

१३ दाउद र जोनाथनले जस्तै यहोवालाई प्रेम गर्ने र उहाँमाथि विश्‍वास राख्ने मानिसहरूलाई साथी बनाउँदा हामी पनि ‘रमाउँछौँ।’ लामो समयदेखि परमेश्‍वरको सेवा गरिरहेका किएरा यसो भन्छिन्‌, “मैले विभिन्‍न ठाउँ, फरक-फरक पृष्ठभूमि र संस्कृतिका मानिसहरूलाई साथी बनाएको छु।” तपाईँले पनि यसो गर्नुभयो भने परमेश्‍वरको वचन र उहाँको पवित्र शक्‍तिले मानिसहरूलाई कसरी एकतामा बाँध्दो रहेछ भनेर अनुभव गर्नुहुनेछ।

अर्थपूर्ण लक्ष्यहरू राख्नुहोस्‌

१४. (क) तपाईँ कसरी जीवनमा अर्थपूर्ण लक्ष्यहरू राख्न सक्नुहुन्छ? (ख) आध्यात्मिक लक्ष्यहरू राख्नेबारे केही जवानले कस्तो महसुस गरेका छन्‌?

१४ भजन १६:८ पढ्‌नुहोस्‌। दाउदले परमेश्‍वरको सेवामा आफ्नो जीवन केन्द्रित गरेका थिए। तपाईँले यहोवाको सेवालाई प्राथमिकता दिनुभयो र उहाँको इच्छासित मेल खाने लक्ष्यहरू राख्नुभयो भने तपाईँले पनि सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ। स्टिभन नाम गरेका भाइले यसो भने, “कुनै लक्ष्यतर्फ अघि बढ्‌दा, त्यो लक्ष्य हासिल गर्दा अनि आफूले गरेको प्रगतिलाई फर्केर हेर्दा म असाध्यै सन्तुष्ट महसुस गर्छु।” जर्मनीका एक जवान भाइ, जो अहिले अर्कै देशमा सेवा गर्छन्‌, तिनले यसो भने, “बूढो भएपछि आफ्नो जीवनलाई फर्केर हेर्दा म के चाहन्छु भने, आफूले जे-जति गरेँ, त्यो सबै आफ्नै लागि मात्र गरेछु भन्‍ने नहोस्‌।” तपाईँ पनि त्यस्तै चाहनुहुन्छ होला, होइन र? त्यसो हो भने आफूसित भएको सीप र क्षमता परमेश्‍वरको आदर गर्न र अरूको भलाइ गर्न प्रयोग गर्नुहोस्‌। (गला. ६:१०) आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌ अनि ती हासिल गर्न यहोवालाई प्रार्थनामा मदत माग्नुहोस्‌। यस्तो प्रार्थनाको जवाफ उहाँले पक्कै दिनुहुनेछ!—१ युह. ३:२२; ५:१४, १५.

एक जवान भाइ प्रचारकार्यमा भिडियो देखाउँछन्‌

केही व्यावहारिक लक्ष्यहरू

  • बाइबल पढाइबाट अझ धेरै लाभ उठाउने

  • प्रचारकार्यमा कुराकानी गर्न अझ सिपालु हुने

  • समर्पण र बप्तिस्मा गर्न योग्य हुने

  • सहायक सेवक बन्‍ने

  • अझ निपुण शिक्षक बन्‍ने

  • बाइबल अध्ययन सुरु गर्ने

  • सहायक वा नियमित अग्रगामीको रूपमा सेवा गर्ने

  • बेथेलमा सेवा गर्ने

  • अर्को भाषा सिक्ने

  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने

  • राज्यभवन निर्माणकार्यमा वा राहतकार्यमा भाग लिने

१५. तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? (“केही व्यावहारिक लक्ष्यहरू” भन्‍ने पेटी हेर्नुहोस्‌)

१५ तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? मण्डलीका सभाहरूमा आफ्नै शब्दमा टिप्पणी दिने, अग्रगामी सेवा गर्ने वा बेथेलमा सेवा गर्ने जस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ। विदेशी भाषाको इलाकामा सेवा गर्ने उद्देश्‍य राखेर नयाँ भाषा सिक्ने कोसिस गर्न सक्नुहुन्छ। पूर्ण-समय सेवा गरिरहेका बाराक यसो भन्छन्‌, “आफ्नो भएभरको बलबर्कत यहोवाको सेवा गर्न प्रयोग गर्दै छु भन्‍ने सोचेर हरेक दिनको सुरुवात गर्न पाउँदा अरू कुनै कामले दिन नसक्ने सन्तुष्टि पाउँछु।”

परमेश्‍वरले दिनुभएको स्वतन्त्रताको कदर गर्नुहोस्‌

१६. यहोवाका धार्मिक स्तरहरू दाउदलाई कस्तो लाग्थ्यो र किन?

१६ भजन १६:२, ४ पढ्‌नुहोस्‌। अघिल्लो लेखमा छलफल गरिएझैँ परमेश्‍वरका धार्मिक नियम र सिद्धान्तहरूअनुसार जीवन बिताउँदा हामी स्वतन्त्र हुन्छौँ। किनकि हामी असल कुरालाई प्रेम गर्न र खराब कुरालाई घृणा गर्न सिक्छौँ। (आमो. ५:१५) भजनहार दाउदले यहोवालाई “भलाइको स्रोत”-को रूपमा स्विकारेका थिए। भलाइ भनेको नैतिक श्रेष्ठता अर्थात्‌ सद्‌गुण हो। दाउदले परमेश्‍वरको अनुकरण गरे र उहाँले जस्तै अरूको भलाइ गर्न प्रयत्न गरे। दाउदले यहोवाको नजरमा खराब कुराहरूलाई घृणा गर्न पनि सिके। जस्तै, मूर्तिपूजा किनकि मूर्तिपूजा गर्नेले आफ्नै बेइज्जती गर्छ र यहोवालाई दिनुपर्ने महिमा अरू नै कुरालाई दिन्छ।—यसै. २:८, ९; प्रका. ४:११.

१७, १८. (क) झूटो उपासनामा लाग्दा हुने नतिजाबारे दाउदले के भने? (ख) मानिसहरू अहिले कसरी “आफैमाथि दुःख थप्छन्‌”?

१७ बाइबलकालीन समयमा झूटो उपासनामा अक्सर घोर यौन अनैतिकता पनि मुछिएको हुन्थ्यो। (होसे ४:१३, १४) आफ्नो पापी शरीरको कुइच्छा पूरा गर्न पाउने भएकोले थुप्रै मानिस त्यस्तो झूटो उपासनामा लागेका थिए। तर त्यसले दिने आनन्द क्षणिक थियो। दाउदले भनेझैँ ‘अरू देवता पुज्नेहरूले आफैमाथि दुःख थपे।’ यसले गर्दा तिनीहरूका छोराछोरीले पनि हदैसम्मको दुःख भोग्नुपऱ्‍यो। (यसै. ५७:५) यहोवाले त्यस्तो क्रूरतालाई घृणा गर्नुभयो। (यर्मि. ७:३१) यदि तपाईँ त्यो समयमा जीवित हुनुभएको भए तपाईँका आमाबुबाले यहोवामाथि विश्‍वास राखेको र उहाँको आज्ञा पालन गरेकोमा पक्कै उहाँहरूप्रति कृतज्ञ हुनुहुने थियो।

१८ आज पनि झूटो उपासनाले अक्सर यौन अनैतिकता र समलैङ्‌गिकतालाई स्वीकार्य ठान्छ। तर त्यसो गर्न पाउनुलाई स्वतन्त्रता ठान्‍नेहरूले बाइबलकालीन समयमा जस्तै नतिजा भोग्नुपर्ने हुन्छ। (१ कोरि. ६:१८, १९) ती मानिसहरूले ‘आफैमाथि दुःख थपेको’ तपाईँले पनि देख्नुभएकै होला। त्यसैले जवानहरू हो, स्वर्गमा हुनुहुने तपाईँको बुबाको कुरा सुन्‍नुहोस्‌! उहाँप्रति आज्ञाकारी हुनुमा तपाईँको सर्वोत्तम हित हुन्छ भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌। गलत काम गर्दा पाइने क्षणिक रमाइलोभन्दा त्यसले पुऱ्‍याउने हानि कता हो कता पीडादायी हुन्छ भनेर आफ्नो मनमा ठप्प राख्नुहोस्‌। (गला. ६:८) अनुच्छेद १० मा उल्लेख गरिएका जसुआले यसो भने, “हामी आफ्नो स्वतन्त्रतालाई आफूले चाहेअनुसार प्रयोग गर्न सक्छौँ तर त्यसको दुरुपयोग गऱ्‍यौँ भने त्यसले हामीलाई खुसी बनाउँदैन।”

१९, २०. यहोवामाथि विश्‍वास राख्ने र उहाँको आज्ञा पालन गर्ने जवानहरूले भविष्यमा कस्ता आशिष्‌हरू पाउनेछन्‌?

१९ येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (युह. ८:३१, ३२) यो स्वतन्त्रतामा झूटो धर्म, अज्ञानता र अन्धविश्‍वासबाट स्वतन्त्रता समावेश छ। त्यति मात्र होइन, हामीले भविष्यमा ‘परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछौँ।’ (रोमी ८:२१) ‘ख्रिष्टको वचनमा रहेर’ अर्थात्‌ उहाँको शिक्षाअनुसार चलेर अहिल्यै त्यो स्वतन्त्रता चाख्नुहोस्‌। यसरी सत्यअनुसार जीवन बिताउनुभयो भने तपाईँले साँचो अर्थमा ‘सत्य थाह पाउनुहुनेछ,’ केवल सिकेको भरमा मात्र होइन।

२० जवानहरू हो, परमेश्‍वरले तपाईँलाई दिनुभएको स्वतन्त्रताको कदर गर्नुहोस्‌। त्यो स्वतन्त्रता बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्‌ र त्यसैको आधारमा भविष्यको लागि बलियो जग बसाल्नुहोस्‌। एक जना जवान भाइले यसो भने: “जवान छँदा बुद्धिमानीपूर्वक स्वतन्त्रता प्रयोग गर्नुभयो भने पछि ठूलठूला निर्णयहरू गर्नुपर्दा तपाईँलाई सजिलो हुनेछ। जस्तै: उचित किसिमको जागिर भेट्टाउन, विवाह गर्ने कि नगर्ने वा केही समयको लागि अविवाहित रहने भनी निर्णय गर्न।”

२१. तपाईँ कसरी “साँच्चैको जीवन”-तर्फ लैजाने मार्गमा हिँडिरहन सक्नुहुन्छ?

२१ अहिलेको संसारमा मानिसहरूले राम्रो ठान्‍ने जीवन पनि वास्तवमा अनिश्‍चित र छोटो छ। भोलि के हुन्छ, हामीलाई थाह छैन। (याकु. ४:१३, १४) त्यसैले “साँच्चैको जीवन” अर्थात्‌ अनन्त जीवनतर्फ लैजाने मार्गमा हिँडिरहनु बुद्धिमानी हो। (१ तिमो. ६:१९) त्यो मार्गमा हिँड्‌न परमेश्‍वर कसैलाई पनि जबरजस्ती गर्नुहुन्‍न। त्यो मार्गमा हिँड्‌ने कि नहिँड्‌ने भनेर हामी आफैले छनौट गर्नुपर्छ। यहोवालाई तपाईँको “अंश” बनाउनुहोस्‌। उहाँले तपाईँलाई दिनुभएका थुप्रै “असल कुरा”-को मोल गर्नुहोस्‌। (भज. १०३:५) अनि उहाँले तपाईँको जीवन ‘आनन्दले भरिदिनुहुनेछ’ र तपाईँ ‘सदा आनन्दित हुनुहुनेछ’ भनेर विश्‍वस्त हुनुहोस्‌।—भज. १६:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने