जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्नुहोस्
१ तपाईंले जीवनमा कस्ता लक्ष्यहरू राख्नुभएको छ? थुप्रै जवानहरूले एउटा पनि आध्यात्मिक लक्ष्य राखेका छैनन्। तर आध्यात्मिक लक्ष्य राखेर त्यसलाई हासिल गर्दा पाइने आनन्द अनुभव गर्नु के राम्रो कुरा होइन र?
२ हाम्रा थुप्रै जवानहरूले उच्च शिक्षा हासिल गर्नुलगायत अन्य भौतिकवादी लक्ष्यहरूको पछि लाग्नु भनेको बतासलाई खेद्नु जस्तै हो भनेर बुझेका छन्। त्यस्ता लक्ष्यहरूको पछि लाग्दा खतरा आइपर्न सक्छ र ती खतरा मोल्नु भनेको बेकार हो भन्ने निष्कर्षमा तिनीहरू पुगेका छन्। तर अर्कोतर्फ परमेश्वरको शिक्षाको ज्योति पाएर राखिएका ईश्वरतान्त्रिक लक्ष्यहरूले अहिले सन्तुष्टि दिन्छ भने भविष्यमा अनन्त मुक्तितर्फ लैजान्छ।—उप. १२:१, १३.
३ ईश्वरतान्त्रिक लक्ष्यहरू: तपाईं जवानहरूले के लाभदायी ज्ञानको खोजी गर्नुभएको छ? हितोपदेश २:१-५ मा हामीलाई “परमेश्वरको ज्ञान प्राप्त” गर्न सल्लाह दिइएको छ। परमेश्वरको वचन अध्ययन नगरी तपाईंले उहाँको ज्ञान प्राप्त गर्नै सक्नुहुन्न। नियमित रूपमा व्यक्तिगत अध्ययन गर्दा यहोवासित नजिक हुन तयार पारिएका बाइबलआधारित प्रकाशनहरूले तपाईंको मनमस्तिष्कमा गहिरो छाप पार्छ। तपाईंले धेरै कुरा सिक्नुहुनेछ र सम्झनुहुनेछ। यसले तपाईंलाई महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा अझै सक्षम बनाउँछ।
४ यी सब रातारात गर्न सकिने कुरा त होइनन्। आध्यात्मिक परिपक्वता हासिल गर्न समय र धैर्य चाहिन्छ। तर तपाईंले व्यक्तिगत लक्ष्य राख्नुभयो र प्रगति गर्दै जानुभयो भने आध्यात्मिक परिपक्वता हासिल गर्न सक्नुहुन्छ।
५ सेवाका सुअवसरहरू पाउन के तपाईं अघि बढ्दै हुनुहुन्छ? हरेक हप्ता घर-घरको प्रचारकार्यमा यति समय बिताउँछु भनेर के तपाईंले लक्ष्य राख्नुभएको छ? पुनःभेट गर्दा र बाइबल अध्ययन सञ्चालन गर्दा अझै राम्रो शिक्षक बन्ने लक्ष्य राख्नुभएको छ कि? केही स्कूले भाइबहिनीहरूले एक महिना वा त्योभन्दा धेरै बिदा हुँदा वर्षमा एकचोटि सहायक अग्रगामी गर्ने लक्ष्य राखेका छन्। अर्को वर्ष वा त्यसपछिका वर्षहरूमा तपाईं कस्ता लक्ष्यहरू हासिल गर्न चाहनुहुन्छ? नियमित अग्रगामी सेवा सुरु गर्ने अथवा बेथेल सेवा गर्ने लक्ष्य राख्नुभए कसो होला? जवान भाइ हुनुहुन्छ भने के तपाईं सहायक सेवक बन्ने, अविवाहित भाइहरूका लागि बाइबल स्कूलमा उपस्थित हुने र कुनै दिन एल्डर बन्ने लक्ष्यका साथ अघि बढ्दै हुनुहुन्छ? लक्ष्यहरू राख्दा र त्यसलाई हासिल गर्न सक्दो प्रयास गर्दा तपाईंले आफ्नो जीवनलाई सही दिशा दिइरहनुभएको हुनेछ।
६ लक्ष्यहरूको भनेको व्यावहारिक र आफूले हासिल गर्न सक्ने हुनुपर्छ। आध्यात्मिक लक्ष्यहरूतर्फ अघि बढ्दा तपाईंले यहोवालाई खुसी बनाइरहनुभएको हुनेछ भनेर ढुक्क हुनुहोस्। लक्ष्यहरू राखेर त्यसलाई हासिल गर्न परिश्रम गर्दै हुनुहुन्छ भने आफूले सक्दो गर्न कटिबद्ध हुनुहोस्। तपाईंको परिश्रम व्यर्थमा जानेछैन। तपाईंले अहिले अनि भविष्यमा धेरै आशिष् पाइरहनुहुनेछ।—फिलि. ४:१३.