प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१ pp. १६-२०
  • यहोवा हाम्रो गोठाला हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो गोठाला हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुहाउँदिलो तुलना
  • ‘उहाँले मलाई अगुवाई गर्नुहुन्छ’
  • “म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ”
  • “मेरा . . . सामुन्‍ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ”
  • “परमप्रभुको घरमा म सदा रहनेछु”
  • सान्त्वना कहाँ पाउने?
    महान्‌ शिक्षकबाट सिकौं
  • येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१ pp. १६-२०

यहोवा हाम्रो गोठाला हुनुहुन्छ

“परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” —भजन २३:१.

१-३. दाऊदले यहोवालाई गोठालासित तुलना गर्नु स्वाभाविकै थियो, किन?

यहोवा आफ्ना जनहरूको हेरचाह कसरी गर्नुहुन्छ, वर्णन गर्नुहोस्‌ भनेर तपाईंलाई भनियो भने तपाईं के भन्‍नुहुन्छ? आफ्ना विश्‍वासी सेवकहरूको कोमलतासाथ हेरचाह गर्ने यहोवाको तौरतरिकालाई तपाईं केसित तुलना गर्नुहुन्छ? तीन हजार वर्षअघि भजनहार राजा दाऊदले जवान छँदा आफूले गरेको कामको उदाहरण दिंदै सुन्दर ढङ्‌गमा यहोवाको बयान गरे।

२ जवान छँदा दाऊद गोठालो काम गर्थे। त्यसैकारण त भेडाको हेरचाह कसरी गर्नुपर्छ भनेर तिनलाई थाह थियो। भेडालाई त्यतिकै छोडिदियो भने हराउन बेर लाग्दैन र चोर अथवा जङ्‌गली जनावरको फेला पर्न सक्छ भनेर तिनले राम्रोसँग बुझेका थिए। (१ शमूएल १७:३४-३६) राम्रोसँग हेरचाह गर्ने गोठाला छैन भने भेडाले प्रशस्त घाँस भएको चरन पाउन सक्दैन। आफूले भेडाको अगुवाई गरेको, भेडाको रक्षा गरेको र भेडालाई प्रशस्त घाँस भएको ठाउँमा चराउन लगेको समय बुढेसकालमा दाऊदलाई पक्कै याद आएको हुनुपर्छ।

३ आफ्ना जनहरूलाई यहोवाले गर्नुहुने हेरचाहबारे वर्णन गर्न दाऊद उत्प्रेरित भएको बेला तिनलाई गोठालाको काम याद आउनु स्वाभाविकै थियो। दाऊदले लेखेको भजन अध्याय २३ यी शब्दहरूबाट सुरु हुन्छ: “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” आउनुहोस्‌, यो भनाइ अत्यन्त सुहाउँदिलो हुनुको कारण बुझौं। त्यसपछि, भजन अध्याय २३ पढेर गोठालाले आफ्नो भेडाको हेरचाह गरेझैं यहोवाले कुन-कुन तरिकामा आफ्ना उपासकहरूको हेरचाह गर्नुहुन्छ, त्यसबारे हामी विचार गर्नेछौं।—१ पत्रुस २:२५.

सुहाउँदिलो तुलना

४, ५. भेडाको स्वभावबारे बाइबलमा के भनिएको छ?

४ बाइबलमा यहोवालाई थुप्रै पदवी दिइएको छ तर तीमध्ये सबैभन्दा कोमलचाहिं “गोठाला” भन्‍ने पदवी हो। (भजन ८०:१) यहोवालाई गोठाला भन्‍नु एकदमै सुहाउनुको कारण राम्रोसँग बुझ्न हामीले दुईवटा कुरा बुझ्नु जरुरी छ। पहिलो: भेडाको स्वभाव र दोस्रो: असल गोठालाका जिम्मेवारी तथा गुणहरू।

५ भेडाले गोठालाको माया तुरुन्तै महसुस गर्न सक्छ, (२ शमूएल १२:३) तिनीहरू शान्त स्वभावका (यशैया ५३:७) र असहाय (मीका ५:८) हुन्छन्‌ भनेर बाइबलमा भेडाको स्वभावबारे अक्सर उल्लेख गरिएको पाइन्छ। धेरै वर्षसम्म भेडा पालेका एक जना लेखकले यस्तो लेखे: “कसै-कसैले सोचेझैं ‘भेडाले आफ्नो ख्याल आफै गर्न सक्दैन।’ अरू घरपालुवा पशुहरूलाई भन्दा भेडालाई बढी ध्यान दिनुपर्छ र पाइला-पाइलामा उनीहरूको हेरचाह गर्नुपर्ने हुन्छ।” साँच्चै भन्‍ने हो भने, मायालु गोठालाविना यी असहाय प्राणीहरू बाँच्न सक्दैनन्‌।—इजकिएल ३४:५.

६. पुरातन समयका गोठालाको दिनचर्याबारे एउटा बाइबल शब्दकोश के भन्छ?

६ पुरातन समयका गोठालाको दिन कसरी बित्थ्यो? एउटा बाइबल शब्दकोश यसो भन्छ: “गोठालाले एकाबिहानै आफ्नो बगाललाई गोठबाट निकाल्थे र अगुवाई गरेर चराउन लैजान्थे। तिनले दिनभरि भेडाहरूको रेखदेख गर्थे। बगालबाट छुट्टिएर कुनै भेडा यताउता नजाओस्‌ भनेर तिनको नजर हरपल भेडाहरूमाथि हुन्थ्यो। बगालबाट कुनै भेडा हराउनासाथ त्यसलाई धुइँधुइँती खोजेर भए पनि बगालमा फर्काएर ल्याउँथे . . . साँझ परेपछि तिनी आफ्नो बगाललाई गोठमा ल्याउँथे। भेडाहरू गोठभित्र पस्नुअघि तिनले सबै भेडाहरू गन्ती गर्थे . . . राती तिनले जङ्‌गली जनावर र दाउ पारेर चोर्ने चोरहरूबाट भेडालाई जोगाउनुपर्थ्यो।”a

७. कहिलेकाहीं गोठालाले अलि बढी धैर्यपूर्वक र कोमलतासाथ हेरचाह गर्नुपर्ने हुन्थ्यो, किन?

७ विशेष गरी ब्याउन लागेको भेडी र पाठाहरूलाई कहिलेकाहीं अलि बढी धैर्यपूर्वक र कोमलतासाथ हेरचाह गर्नुपर्ने हुन्थ्यो। (उत्पत्ति ३३:१३) बाइबलबारे जानकारी दिने एउटा पुस्तक यसो भन्छ: “भेडीले अक्सर पाखा-पखेरामा ब्याउँछ। माऊ केही गर्न नसक्ने अवस्थामा हुँदा गोठालाले नै उसको रखवाली गर्छन्‌ र पाठोलाई बोकेर गोठमा ल्याउँछन्‌। पाठो हिंड्‌न सक्ने नहोउन्जेल गोठालाले नै उसलाई हातमा अथवा आफ्नै लुगाले बेरेर बोक्नुपर्ने हुन्छ।” (यशैया ४०:१०, ११) असल गोठाला बलियो र कोमल हुनुपर्छ भनेर यसबाट स्पष्ट हुन्छ।

८.दाऊदले यहोवामाथि भरोसा गर्नुका तीनवटा कारण छन्‌, ती के-के हुन्‌?

८ “परमप्रभु मेरा गोठाला हुनुहुन्छ”—यो भनाइ स्वर्गमा बस्नुहुने हाम्रो पितालाई एकदमै सुहाउँछ, होइन र? भजन अध्याय २३ केलाएर हेऱ्‍यौं भने, त्यहाँ हामी यहोवा शक्‍तिशाली हुनुहुन्छ र कोमल ढङ्‌गमा कसरी हाम्रो हेरचाह गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नेछौं। आफ्नो भेडालाई ‘केही कुराको खाँचो’ नहोस्‌ भनेर परमेश्‍वरले आवश्‍यक सबै कुराको बन्दोबस्त मिलाउनुहुनेछ भन्दै भजन २३:१ मा दाऊद आफ्नो भरोसा प्रकट गर्छन्‌। त्यसरी भरोसा गर्न सक्नुको तीनवटा कारण त्यसपछिका पदहरूमा दाऊद प्रस्ट पार्छन्‌: यहोवाले आफ्नो भेडालाई अगुवाई गर्नुहुन्छ, रक्षा गर्नुहुन्छ र खुवाउनुहुन्छ। आउनुहोस्‌, यी तीन कारणलाई हामी एक-एक गरेर छलफल गरौं।

‘उहाँले मलाई अगुवाई गर्नुहुन्छ’

९. दाऊद कस्तो शान्त अवस्थाबारे वर्णन गर्छन्‌ र भेडा यस्तो ठाउँमा कसरी आइपुग्न सक्थ्यो?

९ पहिलो: यहोवाले आफ्ना जनहरूलाई अगुवाई गर्नुहुन्छ। दाऊद यस्तो लेख्छन्‌: “उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ। उहाँले मलाई सुख-चैनको पानीनेर डोऱ्‍याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाई गर्नुहुन्छ।” (भजन २३:२, ३) हरियो घाँस प्रशस्त भएको ठाउँमा भेडाको बगाल शान्तसित सुतिरहेको छ—यी शब्दहरूद्वारा दाऊद सन्तुष्टि, स्फूर्ति र सुरक्षित अवस्थाबारे वर्णन गर्छन्‌। “खर्क” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “रमणीय ठाउँ” पनि हुन सक्छ। शान्तसित सुत्न सकिने स्फूर्तिदायी ठाउँ सम्भवतः भेडा आफैले भेट्टाउन सक्दैन थियो। तसर्थ, गोठालाले नै तिनीहरूलाई यस्तो “रमणीय ठाउँ”-मा अगुवाई गरेर लैजानुपर्थ्यो।

१०. हामीलाई भरोसा गर्नुभएको कुरा परमेश्‍वर कसरी देखाउनुहुन्छ?

१० आज यहोवाले हामीलाई कसरी अगुवाई गर्नुहुन्छ? उहाँले अगुवाई गर्नुहुने एउटा तरिका उदाहरणद्वारा हो। “परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ” भनी उहाँको वचन हामीलाई आग्रह गर्छ। (एफिसी ५:१) यस पदको अघि र पछिका पदहरूमा कोमल मनको र क्षमाशील होओ अनि प्रेममा चल भनिएको छ। (एफिसी ४:३२; ५:२) यस्ता मनमोहक गुणहरू देखाउने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। तर हामीलाई उहाँको देखासिकी गर भन्‍नु अव्यावहारिक भएन र? अहँ, भएन। वास्तवमा यो सल्लाह उहाँले हामीलाई भरोसा गर्नुभएको एउटा सुन्दर अभिव्यक्‍ति हो। कुन अर्थमा? हामी परमेश्‍वरको स्वरूपमा सृष्टि भएका छौं अर्थात्‌ हामीसित नैतिक गुण र आध्यात्मिक चेतना छ। (उत्पत्ति १:२६) त्यसैकारण त हामी असिद्ध नै भए पनि यहोवाले प्रकट गर्नुहुने गुणहरू हामी खेती गर्न सक्छौं भनेर उहाँलाई थाह छ। सोच्नुहोस्‌—हामी पनि यहोवाजस्तै हुन सक्छौं भन्‍ने कुरामा हाम्रो मायालु परमेश्‍वर विश्‍वस्त हुनुहुन्छ। उहाँको उदाहरण पछ्यायौं भने गोठालाले भेडालाई ‘सुख-चैनको ठाउँ’ अर्थात्‌ रमणीय ठाउँमा अगुवाई गरेझैं उहाँले हामीलाई पनि अगुवाई गर्नुहुनेछ। हिंसै-हिंसाले भरिएको यस संसारमा हामी “सुरक्षित” रहनेछौं र परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुभएको छ भनेर थाह पाउँदा प्राप्त हुने शान्ति महसुस गर्नेछौं।—भजन ४:८; २९:११.

११. आफ्नो भेडालाई अगुवाई गर्दा यहोवा कुन कुरालाई ध्यान दिनुहुन्छ अनि उहाँले हामीबाट माग गर्नुहुने कुरामा यो कसरी झल्किन्छ?

११ यहोवाले हामीलाई कोमल ढङ्‌गमा र धैर्यपूर्वक अगुवाई गर्नुहुन्छ। गोठालालाई आफ्नो भेडाको सीमितता थाह हुने भएको कारण तिनले आफ्नो बगालको “चालअनुसार” अगुवाई गर्छन्‌। (उत्पत्ति ३३:१४) त्यस्तै गरी यहोवाले आफ्नो भेडाको “चालअनुसार” अगुवाई गर्नुहुन्छ। उहाँ हाम्रो क्षमता र परिस्थितिलाई ध्यानमा राख्नुहुन्छ। हाम्रो क्षमताले नभ्याउने कुरा कहिल्यै माग नगरेर उहाँ आफ्नो चाल हाम्रो चालसँग मिलाउनुहुन्छ। उहाँ हामीबाट केवल तनमनको सेवा चाहनुहुन्छ। (कलस्सी ३:२३) तर तपाईंलाई बुढेसकालले छोएको छ र पहिला जस्तो अहिले गर्न सक्नुहुन्‍न भने नि? अथवा ठूलो रोग लागेको कारण आफूले चाहे जति गर्न सक्नुभएन भने? तनमनले सेवा गर्नू भन्‍ने सल्लाह कत्ति राम्रो छ भन्‍ने कुरा यतिबेला स्पष्ट हुन्छ। हरेक मानिसको परिस्थिति फरक-फरक हुन्छ। मनतनले सेवा गर्नुको अर्थ आफ्नो सारा बल-तागत लगाएर परमेश्‍वरको सेवा गर्नु हो। शारीरिक कमजोरीले गर्दा हामी यहोवाको सेवा धेरै गर्न नसकौंला तर यहोवाले हाम्रो मनतनको उपासनालाई कम मूल्यवान्‌ ठान्‍नुहुन्‍न।—मर्कूस १२:२९, ३०.

१२. यहोवाले आफ्नो भेडाको “चालअनुसार” अगुवाई गर्नुहुन्छ भन्‍ने कुरा मोशाको व्यवस्थामा उल्लिखित कुन उदाहरणले प्रस्ट पार्छ?

१२ यहोवाले आफ्नो भेडाको “चालअनुसार” अगुवाई गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न कुनै-कुनै दोषबलिबारे मोशाको व्यवस्थामा के भनिएको छ, विचार गर्नुहोस्‌। कृतज्ञताले ओतप्रोत भएर चढाएको बलि यहोवा चाहनुहुन्थ्यो। तर बलि चढाउने व्यक्‍तिको औकातअनुसार बलिदानहरूलाई वर्गीकरण पनि गरिएको थियो। व्यवस्थामा यसो भनिएको थियो: “पाठी ल्याउने त्यसको औकात पुग्दैन भने, त्यसले . . . दुईवटा ढुकुर कि परेवाका दुईवटा बच्चा . . . ल्याओस्‌।” तर दुईवटा ढुकुर कि परेवाका दुइवटा बच्चा ल्याउने पनि त्यसको औकात पुग्दैन भने नि? त्यसो हो भने, त्यसले “मसिनो पीठो” ल्याउन सक्थ्यो। (लेवी ५:७, ११) बलि चढाउने व्यक्‍तिको औकातले नभ्याउने कुरा परमेश्‍वरले माग गर्नुभएन भनेर यसबाट पुष्टि हुन्छ। परमेश्‍वर परिवर्तन हुनुहुन्‍न। त्यसैकारण हामीले दिन सक्नेभन्दा बढ्‌ता कुरा उहाँ कहिल्यै माग गर्नुहुन्‍न भनेर थाह पाउनु निकै सान्त्वनादायी छ। बरु, हाम्रो औकातले भ्याउने कुरा उहाँ खुसीसाथ ग्रहण गर्नुहुन्छ। (मलाकी ३:६) यस्तो बुझकी गोठालाले हाम्रो अगुवाई गरिरहनुभएकोमा हामी अत्यन्त खुसी छौं!

“म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ”

१३. भजन २३:४ मा दाऊदले कसरी यहोवालाई नजिकबाट चिनेझैं गरी कुरा गरेका छन्‌ र यसमा किन अचम्म मान्‍नु पर्दैन?

१३ यहोवामाथि भरोसा गर्नुको दोस्रो कारण दाऊद यसरी खुलाउँछन्‌: यहोवा आफ्नो भेडाको रक्षा गर्नुहुन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “घोर अन्धकारमा मैले हिंड्‌नु परे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरो, तिनैले मलाई सान्त्वना दिन्छन्‌।” (भजन २३:४) यस पदमा दाऊदले यहोवालाई उहाँ भन्‍नुको सट्टा “तपाईं” भनेका छन्‌ र मूल हिब्रूमा यस शब्दले एकदमै नजिकको सम्बन्धलाई बुझाउँछ। यसमा अचम्म मान्‍नु पर्दैन किनभने दाऊदले यहाँ परमेश्‍वरले तिनलाई आपत्‌विपद्‌ सहन कसरी मदत गर्नुभयो भनी बताइरहेका छन्‌। जीवनमा दाऊदले धेरैपल्ट घोर अन्धकारको सामना गरे। त्यसबखत तिनको जीवन खतरामा परेको थियो। तर डरले गर्दा तिनी विचलित भएनन्‌ किनकि आपत्‌को घडीमा तिनलाई बचाउन यहोवा आफ्नो “लट्ठी” र “लौरो” लिएर मदत गर्न तयार रहनुभएको दाऊदले महसुस गरे। यस्तो सुरक्षा पाएको अनुभव गरेपछि दाऊदले सान्त्वना पाए र यहोवासित अझ घनिष्ठ भए।b

१४. यहोवाको सुरक्षाबारे बाइबलमा कस्तो आश्‍वासन दिइएको छ तर यसको मतलब के चाहिं होइन?

१४ आज नि, यहोवाले आफ्नो भेडाको रक्षा कसरी गर्नुहुन्छ? चाहे शैतान र त्यसका आसेपासेहरू होस्‌ वा मानिस, कुनै पनि विरोधीले उहाँको भेडालाई पृथ्वीबाट नामेट पार्न सक्नेछैन भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। यहोवाले कदापि यस्तो हुन दिनुहुनेछैन। (यशैया ५४:१७; २ पत्रुस २:९) तर यसको मतलब हाम्रो गोठाला यहोवाले हामीलाई हरेक विपत्तिबाट जोगाउनुहुन्छ भन्‍न खोजिएको चाहिं पटक्कै होइन। मानिसले झेल्ने सामान्य समस्याहरू हामी पनि झेल्छौं र सबै साँचो मसीहीहरूलाई आइपर्ने विरोध हामीलाई पनि आइपर्छ। (२ तिमोथी ३:१२; याकूब १:२) कहिलेकाहीं त हामी एक किसिमले ‘घोर अन्धकारमा हिंड्‌नुपर्ला।’ उदाहरणको लागि, सतावट वा स्वास्थ्य समस्याको कारण हामी मृत्युको मुखैमा पर्न सक्छौं। अथवा हाम्रो प्रियजन जीवन र मरणको दोसाँधमा पुग्न सक्छन्‌ वा उनीहरूको मृत्युसमेत हुन सक्छ। यस्तो अवस्थामा घोर अन्धकारले छोपेजस्तो लाग्दा हाम्रो गोठाला हाम्रो साथमा हुनुहुनेछ र उहाँले हामीलाई रक्षा गर्नुहुनेछ। तर कसरी?

१५, १६. (क) बाधाअड्‌चनलाई चिरेर अघि बढ्‌न यहोवाले हामीलाई कुन-कुन तरिकामा मदत गर्नुहुन्छ? (ख) परीक्षाको घडीमा यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ, एउटा अनुभव बताउनुहोस्‌।

१५ यहोवा चमत्कारपूर्ण ढङ्‌गमा केही गरिहाल्ने प्रतिज्ञा गर्नुहुन्‍न।c तर हामी यस कुरामा भने पक्का हुन सक्छौं: हाम्रो सामने जस्तोसुकै बाधाअड्‌चन आइपरोस्‌, त्यसलाई चिरेर अघि बढ्‌न यहोवाले हामीलाई मदत गर्नुहुनेछ। “अनेक किसिमका परीक्षाहरू[को]” डटेर सामना गर्न उहाँ हामीलाई बुद्धि दिन सक्नुहुन्छ। (याकूब १:२-५) गोठालाले आफ्नो लट्ठी अथवा लौरो सिकारीहरूलाई खेद्‌न मात्र होइन तर भेडालाई ठीक बाटोमा हिंडाउन तिनीहरूलाई बिस्तारै ठेल्न पनि चलाउँछन्‌। हाम्रो अवस्था सुधार्न सक्ने बाइबल आधारित सल्लाह लागू गराउन यहोवाले कुनै भाइ वा बहिनीमार्फत हामीलाई “बिस्तारै ठेल्न” सक्नुहुन्छ। यसबाहेक, यहोवाले हामीलाई सहने बल दिन सक्नुहुन्छ। (फिलिप्पी ४:१३) आफ्नो पवित्र आत्माद्वारा “असामान्य शक्‍ति” दिएर उहाँले हामीलाई सुसज्जित पार्न सक्नुहुन्छ। (२ कोरिन्थी ४:७, NW) परमेश्‍वरको आत्माले हामीलाई शैतानले हामीमाथि ल्याउने जस्तोसुकै परीक्षा पनि सहने बल दिन सक्छ। (१ कोरिन्थी १०:१३) हामीलाई मदत गर्न यहोवा हरघडी तयार हुनुहुन्छ भन्‍ने कुरा थाह पाउनु के सान्त्वनादायी छैन र?

१६ हो, जीवनमा हामीलाई जस्तोसुकै घोर अन्धकारले छोपे तापनि यस्तो अन्धकारमा हामी एक्लै हिंड्‌नु पर्दैन। हाम्रो गोठाला हाम्रो साथमा हुनुहुन्छ र सुरुमा हामीलाई थाह नहुने विभिन्‍न तरिकामा उहाँ हामीलाई मदत गर्नुहुन्छ। घातक ब्रेन ट्युमर रोग लागेको एक जना मसीही प्राचीनको अनुभव विचार गर्नुहोस्‌। तिनी यसो भन्छन्‌, “सुरु-सुरुमा त मलाई यहोवा मसँग रिसाउनुभएको छ होला अथवा उहाँ मलाई माया नै गर्नुहुन्‍न जस्तो लागेको थियो। तर यहोवाबाट टाढा नहुन म कटिबद्ध थिएँ। मैले आफ्नो मनका सारा पीरव्यथा उहाँलाई पोखाएँ। मसीही भाइबहिनीमार्फत सान्त्वना दिनुभएर यहोवाले पनि मलाई मदत गर्नुभयो। धेरै भाइबहिनीले गम्भीर रोगले थला पर्दाखेरिको आफ्नो अनुभव सुनाए। उनीहरूको त्यस्तो अनुभव सुनेपछि मैले बुझें कि यस्तो रोगले मलाई मात्र होइन अरूलाई पनि सताएको रहेछ। चाहिएकै बेला भाइबहिनीहरूले मलाई मदत गरे। यी सबै कुराबाट म पक्का भएँ—यहोवा मसँग रिसाउनुभएको छैन। हुन त हो, यस रोगसँग मैले सङ्‌घर्ष गरिनै रहनुपर्नेछ र पछि के हुने हो मलाई केही थाह छैन। तर यहोवा मेरो साथमा हुनुहुन्छ र यस रोगसँग लड्‌न उहाँले मलाई मदत गरिरहनुहुनेछ भन्‍ने कुरामा म ढुक्क छु।”

“मेरा . . . सामुन्‍ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ”

१७. भजन २३:५ मा दाऊद यहोवाको वर्णन कसरी गर्छन्‌ र गोठालाको दृष्टान्तसित यो दृष्टान्त किन बाझिंदैन?

१७ आफ्नो गोठालामाथि भरोसा गर्नुको तेस्रो कारण दाऊद यसरी उल्लेख गर्छन्‌: यहोवाले आफ्नो भेडालाई खुवाउनुहुन्छ, त्यो पनि प्रशस्त पुग्ने गरी। दाऊद लेख्छन्‌: “मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ, मेरो कचौरा भरेर पोखिन्छ।” (भजन २३:५) यस पदमा दाऊद आफ्नो गोठालालाई दिल खोलेर पाहुनाको मान गर्ने व्यक्‍तिको रूपमा वर्णन गर्छन्‌, जसले खाने-पिउने कुराको पर्याप्त बन्दोबस्त मिलाउँछ। राम्रो हेरचाह गर्ने गोठाला र दिल खोलेर पाहुनाको मान गर्ने व्यक्‍ति—यी दुई दृष्टान्त आपसमा बाझिंदैन किनभने आफ्नो बगाललाई ‘केही कुराको खाँचो’ नहुने हो भने, असल गोठालालाई प्रशस्त घाँस र पानी भएको खर्क थाह हुनै पर्छ।—भजन २३:१, २.

१८. यहोवा दिल खोलेर पाहुनाको मान गर्ने व्यक्‍ति हुनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

१८ के हाम्रो गोठाला पनि दिल खोलेर पाहुनाको मान गर्ने व्यक्‍ति हुनुहुन्छ? यसमा शङ्‌का नगरे हुन्छ! अहिले हामीले खान पाइरहेको आध्यात्मिक भोजन कत्ति गुणस्तरीय, कत्ति धेरै र कत्ति थरी-थरीका छन्‌, विचार गर्नुहोस्‌। विश्‍वासी र बुद्धिमान्‌ दास वर्गमार्फत यहोवाले हाम्रो लागि अत्यन्त उपयोगी प्रकाशनहरू र सभा, सम्मेलन तथा अधिवेशनहरूमा शिक्षामूलक कार्यक्रमको प्रबन्ध मिलाउनुभएको छ। यी सबै कार्यक्रमले हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्छ। (मत्ती २४:४५-४७) साँच्चै भन्‍ने हो भने, आध्यात्मिक भोजनको त छेलोखेलो नै छ। “विश्‍वासी र बुद्धिमान दास[ले]” लाखौंको संख्यामा बाइबल तथा बाइबल सहायकहरू प्रकाशित गरेका छन्‌ र यस्ता प्रकाशनहरू ४१३ भाषामा पाइन्छन्‌। यहोवाले “दूध” अर्थात्‌ बाइबलका आधारभूत शिक्षाहरूदेखि लिएर “खँदिलो खानेकुरा” अर्थात्‌ बाइबलका गहिरा-गहिरा कुराले भरिएका थरी-थरीको आध्यात्मिक भोजन पस्किदिनुभएको छ। (हिब्रू ५:११-१४) त्यसैकारण त समस्याहरू आइपर्दा वा निर्णयहरू गर्नुपर्दा आफूलाई चाहिएकै कुरा हामी ठ्याक्क पाउन सक्छौं। यस्तो आध्यात्मिक भोजन नहुँदो हो त हामीले विपत्तिजनक परिणामहरू भोगिसकेका हुन्थ्यौं। साँच्चै, हाम्रो गोठाला दिल खोलेर पाहुनाको मान गर्ने व्यक्‍ति हुनुहुन्छ!—यशैया २५:६; ६५:१३.

“परमप्रभुको घरमा म सदा रहनेछु”

१९, २०. (क) भजन २३:६ मा दाऊदले कस्तो भरोसा व्यक्‍त गरेका छन्‌ र कसरी हामी पनि यस्तै भरोसा राख्न सक्छौं? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

१९ आफ्नो गोठाला र प्रबन्धकर्ताको तौरतरिकाबारे चिन्तन-मनन गरिसकेपछि दाऊद यस्तो निष्कर्षमा पुग्छन्‌: “निश्‍चय मेरो जीवनभरि भलाइ र करुणा मपछि लाग्नेछ। र परमप्रभुको घरमा म सदा रहनेछु।” (भजन २३:६) दाऊद कृतज्ञता र विश्‍वासले ओतप्रोत भएको हृदयबाटै बोल्छन्‌। विगतलाई फर्केर हेर्दा तिनी कृतज्ञताले ओतप्रोत हुन्छन्‌ भने, भावी दिनहरूलाई विचार गर्दा तिनको विश्‍वास दरिलो भएर आउँछ। स्वर्गमा बस्नुहुने गोठाला यहोवाको घरमा बसेजस्तै गरी उहाँको नजिक रहेसम्म एक समयका यी गोठाला दाऊद सुरक्षित छन्‌ र यहोवाले सधैं तिनको हेरचाह गरिरहनुहुनेछ।

२० भजन अध्याय २३ मा सुन्दर शब्दहरू लिपिबद्ध गरिएकोमा हामी साह्रै कृतज्ञ छौं! आफ्नो भेडालाई अगुवाई गर्ने, रक्षा गर्ने र खुवाउने यहोवाको तौरतरिका दाऊदले अत्यन्तै सुहाउँदिलो ढङ्‌गमा वर्णन गरे। हामी पनि यहोवालाई आफ्नो गोठाला बनाउन सक्छौं भन्‍ने कुरामा हामीलाई विश्‍वस्त पार्न दाऊदका मनछुने अभिव्यक्‍तिहरू अहिलेसम्म पनि साँचेर राखिएका हुन्‌। हो, जबसम्म हामी यहोवाको नजिक रहन्छौं, तबसम्म मायालु गोठाला बनेर उहाँले “सदा” हाम्रो हेरचाह गरिरहनुहुनेछ। तर हामी उहाँका भेडाहरू भएकाले हाम्रो महान्‌ गोठाला यहोवासित हिंड्‌ने हाम्रो पनि जिम्मेवारी छ। उहाँसित हिंड्‌नुमा कुन-कुन कुरा समावेश छ, त्यसबारे अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोट]

a उत्पत्ति २९:७; अय्यूब ३०:१; यर्मिया ३३:१३; लूका १५:४; यूहन्‍ना १०:३, ४ हेर्नुहोस्‌।

b दाऊदले थुप्रै भजनहरू लेखे र यहोवाले खतराहरूबाट छुटकारा दिनुभएकोमा तिनले ती भजनहरूमा उहाँको प्रशंसा गरेका छन्‌।—उदाहरणको लागि, भजन अध्याय १८, ३४, ५६, ५७, ५९ र ६३ को सुरुमा लेखिएका शीर्षकहरू हेर्नुहोस्‌।

c सन्‌ २००३ अक्टोबर १ अंकको प्रहरीधरहरा-मा छापिएको “ईश्‍वरीय हस्तक्षेप—हामी के आशा गर्न सक्छौं?” भन्‍ने लेख हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• दाऊदले यहोवालाई गोठालासित तुलना गर्नु किन अत्यन्तै सुहाउँछ?

• यहोवाले हाम्रो अवस्था बुझेर कसरी अगुवाई गर्नुहुन्छ?

• यहोवाले कुन-कुन तरिकामा परीक्षाहरू सहन मदत गर्नुहुन्छ?

• यहोवा दिल खोलेर पाहुनाको मान गर्ने व्यक्‍ति हुनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

[पृष्ठ १८-मा भएको चित्र]

पुरातन इस्राएलका गोठालाले जस्तै यहोवाले आफ्नो भेडालाई अगुवाई गर्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने